विकासन्युज

काठमाडौं महानगरपालिका भित्र निजी स्कुल सञ्चालनमा रोक, गुठीमा जानै पर्ने

काठमाडौं । काठमाडौ महानगरपालिकाले कम्पनी मोडेलमा नयाँ बोडिङ स्कूल खोल्न रोक लगाएको छ । महानगरले गुठी अन्तर्गत मात्र बोर्डिङ स्कूल खोल्न पाइने नयाँ व्यवस्था गरेको छ । कम्पनी मोडेलमा खुलेका बोर्डिङ स्कूलले चर्को शुल्क लिएपछि सबै निजी विद्यालयललाई गुठी मार्फत मात्र सञ्चालन गर्न लागेको महानगरपालिकाले जनाएको छ । कम्पनीमार्फ संञ्चालन भएका विद्यालयहरुलाई पनि गुठीमा ल्याउने प्रक्रिया अगाडि बढिरहेको छ । महानगरमा ९४ वटा समुदायिक विद्यालय र ६५० निजी विद्यालय सञ्चालन हुँदै आएका छन् । जसमा १ लाख ६५ हजार विद्यार्थी अध्ययनरत छन् । नयाँ संविधानले स्थानीय तहलाई दिइएको अधिकार अनुरुप महानगरपालिकाले आफनो क्षेत्रभित्रका सबै विद्यालय सञ्चालनको जिम्मा पाएको छ । चालू आर्थिक वर्षमा एक दर्जन नयाँ बोर्डिङ स्कूल खोल्नका लागि आवेदन परेको छ । उनीहरू गुठी मोडलमा मात्र सञ्चालन गर्न पाउने भएका छन् ।  नयाँ विद्यालयका विषयमा अध्ययन गरिरहेको महानगरका शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले जानकारी दिए । जिरो प्लस्टुलाई पनि गुठीमा नै आएमात्र समन्धन दिने तयारी भैरहेको छ । अब विद्यालयहरुमा २५ प्रतिशत स्थानीय संस्कृतिका बारेमा पढाउनु पर्ने भएको छ । यसका लागि पाठ्यक्रम भने तयार भएको छैन ।  

प्रतिनिधि र राष्ट्रिय सभालाई परिसंघको समृद्धिको मार्गचित्र

काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले आर्थिक समृद्धिको लागि विद्यमान कानूनमा समसामयिक सुधार आवश्यक रहेको बताए । त्यसतर्फ समेत सरकारले पहल गर्ने उनको भनाइ छ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा बुधबार गएको परिसंघका प्रतिनिधि मण्डलसँगकाे भेटको क्रममा सभामुख महराले अर्थिक समृद्धिको लागि अवश्यक कानूनलाई सुधार गर्दै लैजाने प्रतिवद्धता जनाए । उक्त भेटमा प्रतिनिधि र राष्ट्रिय सभाका प्रमुखरु समक्ष परिसंघ—प्रवुद्ध परिषदले तयार पारेको आर्थिक समृद्धिको मार्ग चित्र प्रस्तुत गरिएको थियो । प्रतिनिधि सभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे समेत उपस्थित रहेको सो वैठकमा परिसंघका अध्यक्ष शर्माले सभामुख र उपसभामुखलाई मार्गचित्र सहितको उक्त दस्तावेज बुझाएका थिए । जसबाट सरकारलाई आर्थिक विकासका एजेण्डा तयार गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

पानीट्यांकी नाकामा भारतले रोक्यो ११ नेपाली ट्रक

काठमाडौं । भारतीय अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चियाको निर्यात हुन सकेको छैन । चियाको गुणस्तर परीक्षणलाई झण्झटिलो बनाएर भारतले अवरोध गरेपछि चिया निर्यातमा अवरोध सिर्जना भएको हो । हाल भन्सार जाँचपास भएका ११ वटा ट्रक एक सातादेखि भारतीय भन्सार पानीट्यांकीमा रोकिएको चिया विस्तार योजना, फिक्कलका प्रमुख इन्द्रप्रसाद अधिकारीले जानकारी र्दिए । उनका अनुसार गुणस्तर नेपालबाट तयारी चिया कोलकातास्थित ‘सेन्ट्रल फुड ल्याबोरेटरी’ मा नमूना परीक्षण गराएपछि मात्र निर्यातको इजाजत दिने गरिएको छ । “झण्झटिलो प्रक्रियाले नेपाली चिया निर्यातमा समस्या सिर्जना भएको छ”, उनले भने, “यसले नेपाली किसान र व्यापारी दुवै मारमा परेका छन् ।” पानीट्यांकी भन्सारमा रोकिएको ट्रकमा १७ हजार किलोभन्दा बढी तयारी चिया रहेको व्यवसायी रोशन अग्रवालले जानकारी दिए । “चिया बोकेको ट्रक वर्षाका बेला खुला ठाउँमा राख्दा चियाको गुणस्तर बिग्रिन्छ”, उनले भने, “निर्यात रोकिँदा ठूलो नोक्सान हुन सक्छ ।” अहिले ट्रकैपिच्छेको नमूना कोलकाता पठाएर गुणस्तर परीक्षण गर्नुपर्ने झण्झटिलो व्यवस्था भारतले लागू गरेपछि चिया निर्यात रोकिएको अग्रवालले जानकारी दिए । एकपटक चियाको नमूना परीक्षण गराउँदा भारु २५ हजार खर्च लाग्ने गरेको छ । भारत निर्यात हुने चिया मात्रै होइन, तेस्रो देश निकासीका लागि भारतीय भन्सार पुगेका चियाका ट्रक पनि रोकिएका छन् ।रासस

भार्गव विकास बैंकको ७ लाख ५३ हजार कित्ता हकप्रद सेयर लिलामीमा, जेठ ३ देखि बिक्री खुला

काठमाडौं । भार्गव विकास बैंकको हकप्रद बिक्री नभएपछि पुनः लिलामी हुने भएको छ । चुक्तापूँजी बढाउन बैंकले निष्कासन गरेकोमध्ये संस्थापक र सर्वसाधारणको गरी ७ लाख ५३ हजार कित्ता हकप्रदका लागि आवेदन नपरेपछि बैंकले पुनः लिलामी गर्न लागेको हो । संस्थापक समूहको ६ लाख ६७ हजार ७०६ र सर्वसाधारणको ८५ हजार ६६४ कित्ता सेयर रहेको छ । सेयर खरिद खुला जेठ २ गतेबाट सुरु भई १० गते बन्द हुने बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले कात्तिक २४ देखि पुस १४ गतेसम्म हकप्रद निष्कासन गरेको थियो ।

सिद्धार्थ बैंकको हकप्रद सेयर लिलामीमा, जेठ १० गते बोलपत्र पेश गर्ने अन्तिम दिन

काठमाडौं । सिद्धार्थ बैंकको आवेदन नपरेका हकप्रद सेयर पुनः लिलामी हुने भएको छ । चुक्तापुँजी बढाउन बैंकले निष्कासन गरेको मध्ये सर्वसाधारण र संस्थापक गरी २ लाख १४ हजार ३३५ कित्ता हकप्रदको जेठ २ देखि खुला हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । बिक्री बन्द जेठ १० गते हुने छ ।  बैंकको सर्वसाधारण समूहको १ लाख ७४ हजार ३१५ र संस्थापकको ४० हजार २० कित्ता रहेको छ । हकप्रद सेयर खरिदका लागि सिद्धार्थ क्यापिटलको राजधानीको नक्साल, र बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढीबाट सिलबन्दी बोलपत्र पेश गर्न सकिने छ ।

थोरै ब्याजदरमा ऋण चाहियो ? राष्ट्रिय वाणिज्य बैंक जानुस्

काठमाडौं । तपाईले महंगो ब्याजदरका कारण व्यवसाय सञ्चालन गर्न सक्नु भएको छैन ? सस्तो ब्याजको खोजिमा हुनुहुन्छ ? अब चिन्ता नलिनुस् सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर सबैभन्दा सस्तो छ । बैंकले बिहीबार सार्वजनिक गरेको नयाँ ब्याजदरले २८ बैंकमध्ये सबैभन्दा सस्तो देखाएको हो । गत चैतसम्म राष्ट्रिय वाणिज्यको आधार ब्याजदर ६.२० प्रतिशत छ । यसमा ५ प्रतिशत प्रिमियम जोड्दा राष्ट्रिय वाणिज्यको ११ प्रतिशत ब्याजमा कर्जा पाउन सकिने सार्वजनिक नयाँ दरले देखाएको छ । आधार र स्प्रेडदर जोड्दा ११.१५ प्रतिशत हुने बैंकले जनाएको छ । अघिल्लो ३ महिनामा सबैभन्दा सस्तो ब्याजदर स्ट्याण्डर्ड चाटर्ड बैंकको थियो । स्ट्याण्डर्डलाई पछि पार्दै राष्ट्रिय वाणिज्य सस्तो दरमा कर्जा दिने भएको हो । कर्जाको सस्तो ब्याजदर हुनेमा राष्ट्रिय वाणिज्यपछि नेपाल बैंक र त्यसपछि मात्र स्ट्याण्डर्ड चाटर्ड देखिएको छ । अधिकाँश बैंकको आधार ब्याजदर १० प्रतिशत माथि छ । तर राष्ट्रिय वाणिज्यको आधार दर सबैभन्दा कम रहेकाले कर्जाको ब्याजदर अन्यको भन्दा सस्तो हुन पुगेको हो । केही वाणिज्य बैंकको ब्याजदर आधारमा प्रिमिय जोड्दा १८ प्रतिशतसम्म पुगेको छ । बैंकले निक्षेपमा दिने ब्याज कम भएपछि कर्जाको ब्याजदर अन्य बैंकको भन्दा सस्तो हुन गएको हो । बैंकले सामान्य वचतमा २ देखि ४ प्रतिशत ब्याज दिने गरेको छ । मुद्धति निक्षेपमा न्युनतम साढे ५ देखि ७ प्रतिशत हारहारीमा छ । अधिकाँश बैंकले साधारण निक्षेपमा ८ र मुद्धतिमा ११ प्रतिशतसम्म ब्याज दिएका छन् । राष्ट्रिय वाणिज्यको औद्योगिक र हाउजिङ तथा रियलस्टेट कर्जा न्युनतम ९.७ देखि अधिकतम ११.७ प्रतिशतसम्म छ । यस्तै आवास कर्जा (होमलोन) वर्षअनुसार फरक छ । ५, १० र १५ वर्षको होमलोनको ब्याजदर भने फरक छ । होम लोनको ब्याजदर न्युनतम ९.२ देखि अधिकतम १२.२ प्रतिशतसम्म रहेको बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ दरमा सवारीसाधन कर्जा (अटोलोन) न्युनतम ९.२ देखि अधिकतम् १०.२ प्रतिशतसम्म रहेको छ । सेयरधितो कर्जा पनि न्युनतम १०.२ देखि अधिकतम १२.६ प्रतिशत छ । यसैगरी कृषि, व्यक्तिगत, ओभर ड्राफट कर्जा पनि सस्तो छ । सबैभन्दा महंगो ब्याजदर हुनेमा सरकार स्वामित्वकै कृषि विकास बैंक रहेको छ । कृषि विकासको आधार ब्याजदर सबैभन्दा बढी १२.७२ प्रतिशत छ । यो आधार दर राष्ट्रिय वाणिज्यको भन्दा दोब्बर बढी छ । कृषि विकासले ५ प्रतिशत प्रिमियम जोड्दा उसको ब्याजदर १८ प्रतिशत पुग्ने देखिन्छ । नेपाल बैंकको ७.११ प्रतिशत छ । यसपछि स्ट्याण्डर्ड चाटर्ड बैंकको ७.२० प्रतिशत छ । अघिल्लो ३ महिनामा सबैभन्दा सस्तो ब्याज स्ट्याण्डर्ड चाटर्डको थियो । स्ट्याडर्ड चाटर्डको आधारदर ५ प्रतिशत तल रहेकोमा बढेर ७ प्रतिशत कटेको छ । अघिल्लो त्रैमाशमा बैंकको आधारदर ५.८ प्रतिशत मात्र थियो । यस्तै नविल बैंकको आधार दर ७.३३ र नेपाल इन्भेष्टमेन्ट बैंकको ९.१२ प्रतिशत छ । अधिकांश बैंकको आधार ब्याजदर १० प्रतिशत माथि रहेको हालै सार्वजनिक गरिएको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणमा उल्लेख छ । महंगोमा निक्षेप उठाएपछि लागत बढ्न गई आधार ब्याजदर महंगो हुन गएको हो ।  गत फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.९६ र निक्षेपको ६.४५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । बढी आधार ब्याजदर हुनेमा कृषि विकासपछि निजी क्षेत्रको सिभिल बैंक भएको छ । सिभिलको आधारदर १२.३६ प्रतिशत छ । १२ प्रतिशत भन्दा बढी आधार ब्याजदर हुनेमा सेञ्चुरी कमर्शियल बैंकको १२.६ र नेपाल क्रेडिट एन्ड कमर्श बैंकको १२.३ प्रतिशत रहेको वित्तीय विवरणले देखाएको छ । पछिल्लो समयमा बैंकर्सले मुद्धति निक्षेपमा ११ र साधारणमा ८ प्रतिशत ब्याज लिने आन्तरिक सहमति जनाएका छन् ।

डिजिटल बन्दै कर्णाली प्रदेश, महशुल तिर्न कार्यालय धाउन नपर्ने

काठमाडौं । पछिल्लो समय समृद्ध कर्णालीको नारा लिएर अगाडी बढिरहेको प्रदेश नं ६ मा अवस्थित सुर्खेतबासीले पनि इसेवाबाट खानेपानीको महशुल तिर्न सक्ने भएका छन् । १६ हजार ग्राहक रहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्त संस्थाले आफ्नो संस्थालाई डिजिटलाइज गर्नुका साथै इसेवाबाट महशुल भुक्तानी गर्न सकिने सेवा दिएको हो । कम्पनीले आफ्ना सबै क्रियाकलाप अटोमेशनमा लगेको जानकारी दिएको छ । त्यस्तै विरेन्द्रनगर नगरपालिकाका स्थानीय खानेपानीको महशुल भुक्तानीकै लागि संस्थाको कार्यालयसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको छ । संस्थाले अनलाइन पेमेन्टका साथै कार्यालयका सम्पूर्ण कार्यलाई अटोमेशनमा लगेको छ । दियालो टेक्नालोजिजले बनाएको ‘वाटरमार्क’ नामक अत्याधुनिक सफ्टवेयर प्रयोग गरि सबै कार्यलाई अटोमेशनमा लगेको हो । यो सफट्वेयरले बिलिङ, लेखा पद्धती, जिन्सी व्यवस्थापनदेखि मिटर रिडिङसम्मका कार्यलाई डिजिटलाइज गर्ने कम्पनीको भनाइ छ । संस्थाका अध्यक्ष कुलमणी देवकोटाले भने ‘प्रविधिको प्रयोग नगर्दा हामीलाई सेवा दिन निकै गाह्राे भइरहेको थियो । ग्राहक धेरै हुँदा  ३/४ घण्टा लाइनमा बसी महशुल भुक्तानी गर्नुपर्ने बाध्यता थियो ।’ इसेवासँगको सहकार्यले अब लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको छ उनकाे भनाइ छ । यसअघि सुनसरीकोे इटहरी खानेपानी, भक्तपुरको बालकोट खानेपानी र दधिकोट खानेपानी, पर्वतको कुश्मा खानेपानी लगायत करिब दुई दर्जन खानेपानी संस्थाले अनलाइनबाट महशुल तिर्न सकिने सुविधा उपभोक्तालाई दिइसकेका जानकारी दिइएको छ । कम्पनीकोअनुसार प्रविधिमार्फत खानेपानीको मिटर रिडिङ ‘मिटरमार्क’ नामक मोबाइल एप्लिकेशनबाट गर्न सकिन्छ । आफ्नो मोबाइल तथा इन्टरनेटबाट महशुल भुक्तानी गर्न सकिन्छ । अनलाइनबाट महशुल भुक्तानी गर्न सकिने भएपछि महशुल बुझाउन जाने समय र खर्चमा कटौती हुँदा उपभोक्तालाई ठूलो राहत भएको छ । सन् २००९ देखि सञ्चालनमा रहेको इसेवाले नेपालका ७५ वटै जिल्लामा सेवा दिँदै आएको छ ।

शनिबार अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्र सम्वन्धि सम्मेलन, २३ मुलुक सहभागी हुदै

काठमाडौं । शनिबार काठमाडौंमा अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्र सम्बन्धि सम्मेलन हुने भएको छ । नेपाल चार्टर एकाउन्टेन संस्था (आइक्यान) को आयोजनामा उक्त सम्मेलन हुन लागेको हो । आइक्यानका अध्यक्ष सिए प्रकाश थापाले सम्मेलनमा अन्तर्राष्ट्रिय वित्तीय व्यवस्थापन प्रणाली, संघियतामा वित्तीय प्रवन्ध, सार्वजनिक क्षेत्रमा लेखा परीक्षणको कार्य, सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धमा विभिन्न देशको अभ्यासका विषयमा सत्रहरु सञ्चालन हुने बताए । उनका अनुसार सम्मेलनमा २३ देशका ३२ वटा संस्थाका प्रतिनिधिसहित २५० भन्दा बढीको प्रतिनिधित्व हुनेछ । काप्पा र सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायीत्व (पेफा) कार्यालयको सहकार्यमा हुने उक्त कार्यक्रमा पेफा सचिवालयले नेपालमा वित्तीय व्यवस्थापनको सम्बन्धमा कार्यपत्र पस्तुत गर्नेछ । ‘सम्मेलनले सार्वजनिक वित्त अवधारणा कार्यन्वयनमा रहेका चुनौती र सार्वजनिक वित्त व्यवस्थापनलाई सुदृढ गर्नमा सम्वद्ध पक्षको तयारीलाई सहयोग पुग्नेछ,’ अध्यक्ष थापाले भने । आयोजकका अनुसार सम्मेलन अवधिमा काप्काका विभिन्न समितिको बैठक र साधरण सभा पनि नेपालमै हुने बताइएको छ । सोमबार सिए शिक्षा मेला त्यस्तै आइक्यानले सोमबार ‘सिए शिक्षा मेला–२०१८ ‘ गर्ने भएको छ । राजधानीको पुलिस क्लवमा आयोजना हुने मेलामा आइक्यान तथा आइक्यानबाट सम्वन्धन प्राप्त कोचिङ सेन्टरहरूका स्टल राखिने जनाइएको छ । मुलुकमा आइक्यानका हालसम्म ८ हजार ४ सय सदस्य रहेका छन् भने लेखा व्यवसायमा प्रवेश गर्न चाहने ७ हजार विद्यार्र्थी अध्ययनरत रहेका छन्