विकासन्युज

एनएमबि बैंकले पर्वतीय क्षेत्रको सम्वृद्धि गर्ने, आईसीआईएमओडीसँग सम्झौता

काठमाडौं । एनएमबि बैंकले नेपालको पर्वतीय क्षेत्रको आर्थिक, सामाजिक सम्बृधिका लागि र इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट(आईसीएमओडी)सँग सहकार्य गर्ने भएको छ । सहकार्य सम्बन्धि सम्झौतापत्रमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आईसीएमओडीका डाइरेक्टर जेनेरल डा. डेभिड मोलडेनले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार दुबै संस्थाले आफ्नो नेपाल भरी फैलिएको सन्जाल मार्फत आफ्नो प्राबिधिक सीप तथा दक्षता प्रयोग गरी स्थानीय समुदायको सामाजिक आर्थिक बिकासका लागि काम गर्ने छन् । सम्झौताले पर्वतीय क्षेत्रको स्थानीय समुदायहरुका लागि मुख्य तीन कार्य क्षेत्रलाई संबोधन गर्नेछ जसमा बित्तिय क्षेत्रमा पँहुच, लगानीको प्रभाव र संस्थागत सामाजिक उत्तरदायित्व रहेको छ । एनएमबि बैकले “समृद्घ नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला व्यवसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले सहकार्यहरु गर्दै आएको छ ।

मुक्तिनाथ विकास बैंक मोरङ्गको विराटनगरमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विराटनगरको मेनरोड जलजला चोकमा आफ्नो ७८औं शाखा विस्तार गरेको छ । बुधबार नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन् । खड्काले बैंकले नेपाल राज्यभर ग्राहकमैत्री सेवा सुविधा प्रदान गर्ने बताएका छन् । साथै, प्रदेश नं. १ मा रहेका ग्रामिण तथा शहरी सम्भावित बजार क्षेत्रमा पनि अन्य शाखाहरु विस्तार गर्ने बैंकले जनाएको छ । कार्यक्रममा बैंकका ब्राण्ड एम्बास्डर सिताराम कट्टेल(धुर्मुश) र कुञ्जना घिमिरे(सुन्तली) ले यस बैंक बैंकिङ्ग कारोबारसंग मात्र आवद्ध नभई सामाजिक उत्तरदायित्वमा पनि संगसंगै अगाडि बढेको बैंक भएकोले सम्पूर्ण नगरवासीलाई बैंकसंग आवद्ध हुन आग्रह गरेका छन् । कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहूँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने उनले बताए ।  

९३ कम्पनीको ३० अर्बको बोनस सेयर कारोबारका लागि सुचिकरण, कसको कति ?(विवरणसहित)

काठमाडौं । साउनयता विभिन्न ९३ कम्पनीको ३० अर्ब रुपैयाँ बोनस सेयर कारोबारका लागि सुचिकृत भएको छ । बैंक तथा वित्तीय संस्था, बीमा, जलविद्युत र उत्पादनमुलक कम्पनीको सेयर कारोबारका लागि सुचिकृत भएको हो । यो बोनस सेयर मात्र हो । लगानीकर्तालाई यी कम्पनीले अर्बौ रुपैयाँ नगद लाभांश पनि वितरण गरेका छन् । सबैभन्दा बढी बोनस सेयर दिनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । राष्ट्रिय बीमाले लगानीकर्तालाई गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११४ प्रतिशत बोनस सेयर दिएको छ । यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले १००, कालिका लघुवित्त विकास बैंकको ६५, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० र एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस सेयर सुचिकृत भएको हो । अधिकाँश कम्पनीले औसत २० प्रतिशत हारहारीमा बोनस सेयर दिएका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन बोनस सेयर वितरण गरेका छन् । अधिकाँश बैंक तथा वित्तीय संस्थाको चुक्तापूँजी पुगिसकेकाले आउँदो आर्थिक वर्षदेखि नगद लाभांश बढी हुने छ ।(विवरण हेर्नको लागि यसमा क्लिक गर्नुहोस्)

असारदेखि दैनिक २५०० स्मार्ट लाइसेन्स छापिने, तपाईको पालो कहिले ?

काठमाडौं । यातायात व्यवस्था विभागले असारदेखि मोटरसाइकल लगायत सवारी साधनको स्मार्ट लाइसेन्स दैनिक २५ सयको दरले छाप्ने भएको छ । लाइसेन्स छपाई गर्न लामो समय लागेपछि विभागले मेसिन थप गर्न लागेको हो । अहिले विभागसँग ५ वटा मेसिन रहेको छ, यी मेसिनबाट दैनिक १५ सय वटा डिजिटल लाइसेन्स छापिइरहेको छ । नयाँ मेसिन ल्याएपछि दैनिक २५ सय डिजिटल लाइसेन्सको निर्माण हुनेछ । नयाँ मेसिन २ महिनाभित्रमा आइपुग्ने विभागका निर्देशक तुलसीराम अर्यालले बताए । ‘२ महिनामा नयाँ मेसिन आइपुग्नेछ, अहिले ५ वटा मेसिनले ५ लाख लाइसेन्स् निर्माण गरिसकेको छ, थपिएको मेसिनबाट लाइसेन्स निर्माणमा छरितो हुनेछ, निर्देशक अर्यालले विकासन्युजसँग भने ।’ डिजिटल लाइसेन्स समयमै निर्माण नहुँदा हजारौं व्यक्तिहरु विभागको रसिदबाट सवारी सञ्चालन गरिरहेका छन् । ‘मैले मोटरसाइकलको लाइसेन्स परिक्षा पास गरेको ११ महिना भयो तर लाइसेन्सस् पाएको छैन, अहिले राजस्व तिरेको बिलले चलिराखेको छु, सेवाग्राही सञ्जय श्रेष्ठले भने ।’ उनको सिरियल नम्बर २ लाख ७२ हजार रहेको छ । अहिले दैनिक ४ हजार लाइसेन्स निर्माणको माग रहेको छ । नयाँ थपिएको ४ मेसिनबाट १२ सय जति डिजिटल लाइसेन्स बनाउन सकिनेछ । यसबाट अझै दैनिक १३ सय लाइसेन्स निर्माण गर्ने मेसिन आवश्यकता हुन्छ । त्यसैगरी नयाँ लाइसेन्सस वितरणमा दैनिक अनलाइन फारम मार्फत ३ सय ६० कोटा मात्र लिने गरेकाे छ । विभागको अनुसार अहिले सबैभन्दा धेरै मोटरसाइकलको लाइसेन्स निर्माण गर्न बाँकी रहको छ । विभागमा ३० लाख ५३ हजार सवारीसाधन दर्ता भएका छन् । त्यसमध्ये २४ लाख ६ हजार मोटरसाइकल, ४८ हजार ४५८ ठुलाबस, २४ हजार ८७२ मिनीबस, ८३ हजार ७१० ट्रक, कार र जीपको संख्या २ लाख ७० हजार ६६५, पिकअप ५१ हजार ९०, माइक्रोबस ६ हजार ६५७, ट्याम्पु ३९ हजार ५७५ रहेका छन् । ट्याक्टर र पावर टेल १ लाख ८५६ रहेको विभागले जनाएको छ ।  

राष्ट्रिय प्रसारण ग्रीडले २ अर्ब ८३ करोड सेयर रकम माग्यो

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले सरकारसंग सेयर वापतको रकम मागेको छ । कम्पनीले २ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ सेयर वापतको रकम मागेको हो । कम्पनीले अर्थ मन्त्रालय, ऊर्जा, जस्रोत तथा सिंचाई, रक्षा, गृह, वन तथा वातावरण, शिक्षा विज्ञान तथा प्रविधि, कृषि भुमिसुधार तथा व्यवस्था, कृषि भुमि व्यवस्था, नेपाल विद्युत प्राधिकरणलाई सो रकम जम्मा गर्नलाई अनुरोध गरेको हो । कम्पनीको सञ्चालक समिति बैठकले लिन कवुल गरेको सेयर वातपतको रकम जम्मा गर्न सरकारको ध्यानकर्षण गराएको हो । राष्ट्रिय प्रसारणमा सबैभन्दा बढी लगानी नेपाल विद्युत प्राधिकरणको रहेको छ । विद्युत प्राधिकरणले कम्पनीमा १ अर्ब ८३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख ७३ हजार ३३३ कित्ता सेयर लिने छ । यस्तै ऊर्जा तथा जलस्रोतले ४६ करोड ६६ लाख ६६ हजार रुपैयाँ बराबरको ९२ लाख ८६ हजार ६६८, अर्थको २१ करोड ३३ लाख ३३ हजार रुपैयाँ बराबरको ४२ लाख ४५ हजार कित्ता सेयर लिने कबोल गरेका छन् । बाँकी मन्त्रालयले ५ करोड ३३ लाख ३३ हजार कित्ता सेयर लिन भनेको छ ।

अर्थमन्त्रीको प्रश्नः भेडा उफ्रे जसरी लगानी गर्ने अनि घाटा हुँदा म तिर किन फर्कनु ?

काठमाडौं । पुँजी बजारका बारेमा धेरै पढियो, लेखियो र बोलियो । हल्लै हल्लाको बजार भन्ने चर्चा हुन्थ्यो, के भनेको होला भन्ने लाग्थ्यो आज देख्दैछु । कहिले काँही एउटा कुरा गर्यो अर्काे व्याख्या गरिदिने । अर्थमन्त्रीले यसो भने भनेर बजारलाई बेवकुफ बनाएर फाइदा लिएर हिडिदिने । त्यसकारण आज मैले प्र्रत्यक्ष संवाद गर्न पनि चाहेको हो । कसैले लुकिछिपी रेकर्ड गर्नु पनि नपरोस् र अर्थमन्त्रीले यसो भने भनेर गलत सूचना पनि नजाओस भन्नका लागि म यहाँ आएको हुँ । यो सरकारमा हुनु भन्दा पहिले नै म युवराज खतिवडा हो । नेपाल राष्ट्र बैंकको कर्मचारी हुँदा देखि नै युवराज खतिवडाले दर्जनौं अनुसन्धान गरेको छ । तपाईहरुले पुँजी बजारके क, ख, ग, घ जान्न नपाउँदै मैले किताब लेखेर छापिसकेको थिए २०४२।४३ सालमा । त्यतिबेलाको पुँजी बजारको तुलनामा अहिलेको बजारले धेरै फड्को मारिसकेको छ । त्यतिबेला नेप्सेमा जम्मा जम्मी ५० को हाराहारीमा कम्पनी थिए । आज त्यो संख्या १९६ वटा पुगेको छ । तर संख्या बढेको भएपनि एकै खालका कम्पनीहरुको हिस्सा धेरै छ त्यहाँ । उत्पादन, निर्माण, सेवासँग सम्बन्धित कम्पनी नेप्सेमा किन सूचिकृत हुँदैनन् ? मलाई मान्छेहरुले भन्ने गरेका छन्, बैंक तथा वित्तिय संस्थाहरुले वासलात नियमित प्रकाशित गर्छन् । समयमै साधारण सभा गर्छन्, समयमै अडिट भएको विवरण सार्वजनिक गर्छन् । राम्रो नगरे केन्द्रिय बैंकले कारवाही गर्छ । त्यसकारण लगानी कर्ता बैंक तथा वित्तिय संस्थामा लगानी गर्न तयार भएका हुन रे । त्यसमा आंशिक सत्यता छ तर के नेपालमा अरु व्यवसाय नै छैनन् । ५० औं अर्ब नाफा कमाउने कम्पनी पनि त नीजी क्षेत्रमै छन् नी । एक करोड पुँजी भएको लघुवित्त चाँही पुँजी बजारमा अनि ५० अर्ब नाफा कमाउने कम्पनी चाँही धितोपत्र बजार बाहिर । यस्तो पनि कहिँ हुन्छ ? यो अब हुँदैन र यो व्यवस्थाले धितोपत्र बजार कहिले सफल हुन्न, विस्तार हुन्न र कहिले पनि जोखिम रहित हुन्न । वित्तिय प्रणालीमा भनेको अलिकति तलमाथी हुन्छ । तर नियमनकारी निकाय राम्रो भयो भने त्यसले संकट आउन दिँदैन् । कम्पनीहरुको पनि कारोबार तलमाथी हुन्छ । तर वित्तिय संस्था भन्दा बाहिरका कम्पनी पनि पारदर्शी हुनु पर्छ । समयमै बासलात बनाउने, आफ्नो वासलातले भ्याउने गरि बैंकबाट ऋण लिनुभयो र त्यस्तो कम्पनी धितोपत्र बजारमा आउनुभयो भने राम्रो हुन्छ । कम्पनी र धितोपत्र बजारका लगानी कर्ताहरुले लगानीलाई बिबिधिकरण गर्नु आवश्यक छ । त्यसले जोखिम घटाउँछ । त्यस्ता कम्पनीहरुलाई सरकारले पनि नीतिगत सहयोग गर्छ । सरकारले पब्लिक कम्पनी बन्नका लागि सहजीकरण गर्छ, सुबिधा दिन्छ । लगानीकर्ताले अबका दिनमा बुझ्नै पर्ने कुरा भनेको बजारमा अब नयाँ कम्पनीहरु आउँछन् । जलविद्युत कम्पनी, उत्पादनमुलक कम्पनी, सेवा मुलक कम्पनीहरु पनि आउँदैछन् । ती कम्पनीहरु चाँडै सेयर बजारमा आउँदैछन् भन्ने हेक्का लगानी कर्ताले राख्नु पर्छ । त्यस्ता कम्पनीमा सेयर बजारमा ल्याउन सरकारले केहि न केहि गर्छ । सेयर बजारलाई अघि बढाउन सरकारको ध्यान जानु परेको छ । यो सरकार भनेको राष्ट्रिय पुँजी निर्माण गर्ने सरकार हो । त्यसको आधार भनेको बचत परिचालन हो । बचत परिचालन भनेको वित्तिय बचत परिचालन मात्रै हो । उत्पादन विनियोजन हुनका लागि पुँजी बजार मार्फत पुँजी परिचालन हुनु पर्छ । धेरै मानिस पुँजी बजारमा प्रवेश गर्नु पर्छ । त्यसका लागि संस्थागत सुधार, बजारको पहुँच विस्तार, छरितो सेवा, विद्युतिय माध्यमको कारोबार, लगानी कर्तालाई धेरै रोजाईका अवसर दिने नै हो । धेरै भन्दा धेरै नेपालीहरु सेयरका मालिक बनुन् भन्ने सरकारको चाहाना हो । खासगरि जलविद्युतका क्षेत्रको सेयरमा नागरिकहरुको पहुच बढोस भन्ने हो । पुँजी बजारको विस्तारका लागि भौतिक पुर्वाधार, प्राबिधिक, कानुनी र संस्थागत क्षमताका क्षेत्रमा सरकारले सहयोग गर्छ । बीमा, धितोपत्र र वित्तिय क्षेत्रमा स्वस्थ प्रतिष्पर्धा गराउन सरकार सहयोगी बन्नेछ । अहिले हामी हेज फण्डको कुरा गरिरहेका छौं । स्वास्थ्य बीमा त झन सरकारले नै चलाईरहेको छ । हामीले केन्द्रिय बैंकमा हुँदा म्युचुअल फण्ड ल्याएका थियौं तर त्यो अझै राम्रोसँग अघि बढ्न सकेन् । एनआरएनहरुलाई म्युचुअल फण्डमा आउनुस भनेर मैले नै भनेको हुँ तर उहाँहरु अझै पनि आउनु भएन् । साना बचत कर्ताहरुको संस्थागत रुपमा जोखिम वहन गरिदिनका लागि म्युचुअल फण्डहरु ल्याएका थियौं, त्यसले राम्रो काम गर्नु पर्छ । १९८७ मा ब्ल्याक मण्डे भनिन्छ, जुन दिन न्युयोर्क स्टक एक्सचेञ्ज कोल्याप्स भएको थियो । सेयरमा हर्ड साइकल भन्ने शब्द हुन्छ । भेडालाई अघि राख्नुस् । डोरीले बाँधेर उफ्रन लगाउनुस् । त्यसपछि डोरी झिक्नुस्, तर अरु सबै भेडाहरु धमाधम उफ्रन थाल्नेछन् । अघिल्लो भेडाले जे गरेको थियो बाँकी सबैले त्यहि गर्छन् । डोरी छैन भन्ने ख्यालै गर्दैनन् । यो मनोविज्ञानबाट सेयरमा लगानी नगर्नुस् । डोरी छ की छैन भनेर लगानीकर्ता आफैंले हेर्नुस्, अर्काको डोरीका भरमा उफ्रेर लगानी गर्न थाल्नुभयो भने बजार कस्तो होला ? तपाईको लगानी के होला ? सेयर बजार भनेको जोखिमको व्यवसाय हो । व्यक्तिगत जोखिम लिन सक्नु हुन्न भने म्युचुअल फण्डमा लगानी गर्नुस् । मेरो एक जना साथीले जागिर छाडेपछि सञ्चय कोषबाट सबै पैसा झिकेर सेयरमा लगानी गर्नु भएछ, मसँग आएर म त डुबेँ भन्नुभयो । मैले उत्तर दिएँ, मैले पनि जागिर छाडेको हुँ, मैले पैसा बैंकमा राखेको छु र म सुरक्षित छु । मलाई थोरै मुनाफाले पुग्ने भएकाले मैले सेयर बजारमा लगानी गरिन् । मेरो साथीले सेयर बजारमा भोली नै दोब्बर हुन्छ की भन्ने ठानेर जोखिम लिनु भयो । धेरै नाफा लिन चाहनेले धेरै जोखिम भोग्न पनि तयार हुनुपर्छ । नाफा धेरै खोज्नेले घाटा सहन पनि तयार हुनुपर्छ । नाफा पनि आफैं खाने हो, जोखिम पनि आफैं व्यहोर्ने हो । नाफा भयो भने आफु खाने तर घाटा भयो भने हामी तिर धारे हात नलगाउनु होला । हामीले बिगार्ने काम कहिल्यै गर्दैनौं । सरकारको काम धितोपत्रको स्वस्थ, व्यवस्थित र पारदर्शी विकास गर्ने हो, त्यहाँ बिगार्यौं भने भन्नु होला । करका दरमा अनिश्चितता छ, कर प्रणालीबारे दुविधा छ । करलाई पारदर्शी र स्पष्ट पार्ने काम हामी गर्छाै । पुँजी बजारलाई अस्वस्थ ढंगले अघि बढ्न प्रेरित गर्ने खालका कुनै कानुनहरु बनायौं भने हामी त्यसको जिम्मेवार हुन्छौं । पुँजी बजारमा कहिले काँही तरलता तलमाथी हुन्छ । त्यसको व्यवस्थापनको काम सरकारले गर्छ, हामी गरिरहेकै छौं । पुँजी बजारको स्वस्थ र दिगो विकास नै सरकारको एजेण्डा हो । तर जोखिम लिने र तपाईको सेयरको मूल्य तोक्ने काम सरकारको होइन् । घटबढ हुँदैन भनेर तय गरिदिने काम सरकारको होइन् । सेयरको मूल्य र प्रतिफल तपाईले लगानी गरेको कम्पनी र बजारले निर्धारण गर्छ । मुनाफा, लाभ, सेयर मूल्य तपाईहरुले तयार पार्ने हो, सरकारले केहि पनि हेर्दैन् । म केन्द्रिय बैंकमा हुँदा भन्ने गरेको थिए, तपाईहरुलाई बैंकमा निक्षेप राख्नुस भन्छौं तर सबै निक्षेपको ग्यारेण्टी हुन्न, २ लाखसम्मको निक्षेपको मात्रै सुरक्षा गरिएको हुन्छ । त्यो पनि कर्जा सुरक्षण निगमले ग्यारेण्टी गर्ने हो । सेयर बजारको लगानीको ग्यारेण्टी सरकारले गर्दैन् । सरकारले त लगानीको वातावरण बनाईदिने हो । बजारलाई स्वस्थ र स्थिर ढंगले अघि बढाउने सघाउने हो । कतिमा सेयर किन्ने, कतिमा बेच्ने भन्ने कुरा तपाईहरुकै कुरा हो । मैले भन्नै पर्ने हुन्छ, लगानी गर्ने बेलामा मलाई सोधेर गर्नु भएको थियो र ? अनि नाफा कमाउँदा पनि मलाई त बाढ्नु हुन्न र बाढ्ने कुरा पनि भएन् । घाटा भएको दिन चाँही म तिर किन फर्कनु ? यस्तो दोहोरो मापदण्डका कुरा नगर्नु होला । हेज फण्ड अनिवार्य छ । भेञ्चर क्यापिटलमा जानै पर्छ । पुँजी लगानी गर्दा जोखिम हुन्छ । जोखिम बाडफाँट गरिनुपर्छ । बैंकहरुको चाहना हुन्छ, जोखिम व्यवसायीलाई सारौं अनि नाफा आफु कमाऔं भन्ने प्रवृत्ति हुन्छ । व्यवसायीमा पनि जोखिम चै बैंक तिर सारेर नाफा चाँही आफु मात्रै कमाऔं भन्ने सोँच देखिन्छ । अब जोखिम बाढ्नु पर्छ । इक्वीटी होल्डर र बैंक दुबैले बाढ्नु पर्छ, त्यसका लागि भेञ्चर क्यापिटल ल्याउनु पर्छ । अलि लामो समयका लागि विनिमय दर कायम गराउनका लागि पनि अब सोच्ने बेला भएको छ । त्यसले वैदेशिक लगानी भित्र्याउन सघाउँछ । फरवार्ड एक्सचेञ्ज रेट कायम गराउनका लागि हेज फण्ड ल्याउनु अघि अर्काे कुनै उपाय खोज्नुपर्ने देखिएको छ । समग्रमा धितोपत्रको बजारमा बोर्डको नियमनमा नेप्से बस्नु पर्यो र नेप्सेको अण्डरमा ब्रोकर, मार्केट मेकर बस्नु पर्छ । जोखिम लिन सक्छु भन्ने आश्वस्त भएर मात्रै लगानीकर्ताहरुले लगानी गर्नु पर्छ ।(प्रथम पुँजी बजार प्रदर्शनीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले व्यक्त गरेको विचार)  

नबिल बैंकको एकैसाथ थप ४ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । नबिल बैंकले एकैसाथ थप ४ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार सिराहाकाे लहान, महोत्तरीकाे बर्दिबास, सर्लाहीकाे हरिवन तथा चितवनकाे टाँडीमा गरि चार वटा नयाँ शाखाहरुको उद्घाटन गरेको हाे । सो शाखा कार्यालयहरुका उद्घाटन बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले गरेका थिए । कार्यक्रममा बैंकका अध्यक्ष पौड्यालले ग्राहक सुविधा उपलब्धताको लागि धेरै शाखा विस्तार गर्ने योजना रहेको बताएका छन् । व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र ग्राहकको बैंकिङ्ग आवश्यकता परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने उनको प्रतिबद्धता रहेको छ । उक्त अवशरमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकको थप नयाँ शाखाहरुबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त सक्ने बताएका छन् । साथै, ग्राहकको सेवा तथा सुबिधाहरुलाई मध्यनजर गर्दै बैंकले विभिन्न ठाँउमा आफ्नो शाखा कार्यालयको संजाल बढाउदै लगिरहेको छ ।” हाल बैंकले ६२ वटा शाखा, १११ वटा एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथ सम्पूर्ण बैंकिङ् सेवा प्रदान गरिरहेको छ ।

आशा लघुवित्तको त्रैमासिक समिक्षा गोष्ठि सम्पन्न, लघुबीमाका बारेमा जानकारी

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले त्रैमासिक समिक्षा तथा बार्षिक बजेट तर्जुमा गोष्ठि २०७५ सम्पन्न गरेको छ । रुपन्देहीको मंगलापुरमा हालै २ दिन सम्म संचालन भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले कार्यक्रमको उद्धेश्यको बारेमा जानकारी दिएका थिए । सो कार्यक्रममा संस्थाका विभागिय प्रमुखहरु प्रमोद भट्टराई, जीवन खनाल, रविन खतिवडा र दिपेन्द्र खनालले क्रमशः आ.व. २०७५/०७६ को योजना र बजेट, कर्मचारी मुल्यांकनको व्यवस्था, कर्जा ब्यवस्थापन, कार्यसंचालन ब्यवस्थापन आदिका बारेमा बताएका थिए । कार्यक्रममा प्रभु लाइफ इन्स्योरेन्सकातर्फबाट विवेक अधिकारीले लघु बीमाका बारेमा जानकारी दिएका थिए । साथै, उक्त कार्यक्रममा ३६ वटा शाखा कार्यालयका प्रबन्धकहरुको उपस्थिति थियो ।