एनआईडीसीलाई गाभेपछि राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब १२ करोड पुग्यो
काठमाडौं । सबैभन्दा बढी नाफा गर्नेमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक भएको छ । एनआईडीसी डेभलपमेन्ट बैंकलाई गाभेपछि राष्ट्रिय वाणिज्यको नाफा बढेर ३ अर्ब १२ करोड ६४ लाख ७९ हजार रुपैयाँ पुगेको छ । एनआईडीसीलाइ नगाभ्दा पनि राष्ट्रिय वाणिज्यको नाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले एनआईडीसीलाई गाभेपछि शाखा संख्या बढेर १९१ वटा पुगको जानकारी दिए । उनकाअनुसार चुक्तापूँंजी बढेर ९ अर्ब ४७ लाख रुपैयाँ पुगेको छ । जगेडा तथा कोषको आकार पनि बढेर ८ अर्व ३० करोड ५६ लाख रुपैयाँ भएको छ । बैंकको निक्षेप परिचालन बढेर १ खर्ब ५४ अर्व १७ करोड ६३ लाख कर्जा तथा सापट १ खर्ब, १५ अर्व ७३ करोड ९ लाख रुपैयाँ पुगेको श्रेष्ठले जानकारी दिए । सबैभन्दा बढी निक्षेप संकलन र कर्जा प्रवाह गर्नेमा राष्ट्रिय वाणिज्य भएको छ । दुबै संस्था एक आपसमा गाभिएपछि बैंक तथा वित्तीय संस्थाको संख्यामा कमी आई गुणात्मक बृद्धि हुने, बैंकको पूंजीकोष बृद्धि हुन गई बैंकले देशको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रलाई थप सकारात्मक योगदान पुग्ने उनको भनाई छ ।
सिँचाइबाट सिँगो अर्थतन्त्रको आकार बढछ : उर्जामन्त्रीको भनाई
काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सिँचाइले कृषिमात्र नभई सिँगो अर्थतन्त्र र विकासको आकार बढाउने बताएका छन् । अन्र्तराष्ट्रिय सिँचाइ तथा जल निकास नियोग (आइसिआइडी) को ८ औं एसियाली क्षेत्रीय सम्मेलनमा बोल्दै मन्त्री पुनले उक्त धारणा राखेका हुन् । मन्त्रीपुनले नेपालले सन् २०२२ सम्म विकासोन्मुख र सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा स्तरोन्नती हुने लक्ष्य राखेको जानकारी समेत दिए । उनले उक्त लक्ष्य पूरा गर्न पानी निकास तथा व्यवस्थापन जरुरी रहेको धारणा समेत कार्यक्रममा व्यक्त गरे । ‘सदा हरित क्रान्तिका लागि सिँचाइ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलन ३ दिनसम्म चल्नेछ । आइसिआइडी सिँचाइ, नदी नियन्त्रण एवं कृषियोग्य जमीनबाट पानी निकासका क्षेत्रमा वैज्ञानिक अनुसंधान र प्राविधिक ज्ञान अन्तराष्ट्रिय रूपमा आदान–प्रदान गर्न गठित अन्तराष्ट्रिय गैर सरकारी संस्था हो । सम्मेलनमा ३० देशका सय भन्दा बढी जलस्रोत तथा सिँचाइसँग सम्बन्धित विदेशी वैज्ञानिक र प्राविधिकको उपस्थिति छ । सम्मेलनमा नेपालबाट करिब ५ सय प्राविधिक एवं वैज्ञानिक सहभागी रहेका छन् ।
आइएमईको कस्टमर कार्ड प्रयोगमा २० प्रतिशतसम्म छुट
काठमाडौं । आइएमई लिमिटेडले आइएमई कस्टमर/प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यो नयाँ व्यवस्था वैशाख १९ गते(अाज)बाट लागु भएकाे छ । हाल यो सेवा बाजेको सेकुवा, चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौं फनभ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफीलाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजीबजार, भेलोसिटी एरिना र सीमीशो जस्ता स्थानहरुबाट उपलब्ध हुनेछ । यो सेवा लिनको लागि सेवाग्राहीहरुले बील जारी गर्नुपूर्व आफुले बोकेको आइएमई प्रिभिलेज÷कस्टमर कार्ड देखाउनुपर्ने छ ।
साढे ३३ किलो सुन काण्ड: ६३ जना विरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता
काठमाडौं । लामो समयको अनुसन्धान पछि साढे ३३ किलो सुन तस्करीमा सहभागी भएको आरोपमा ६३ जनाविरूद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता गरिएको छ । तस्करीमा पक्राउ परेका प्रहरी अधिकारी, विमानस्सथलका कर्मचारी र फरार समेतलाई आधारमानी मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता हुनेहरुमा प्रहरीतर्फ दिवेश लोहानी, गोविन्द निरौला, विकासराज खनाल, प्रजित केसी, सञ्जय राउत, बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काविरुद्ध मुद्दा दर्ता भएको छ । यसैगरी विमानस्थलका कर्मचारीहरुमा राजु महर्जन, अमर डंगोल, तुलाराम थारू, लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङविरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ । यसैगरी मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भन्ने मोहन घिमिरेलाई कर्तव्य ज्यान र संगठित अपराध मुद्दा चलाइएको छ । सुन तस्करका प्रमुख नाइके मानिएको चुडामणि उप्रेतीलाई फरार मानेर मुद्दा दर्ता गरिएको छ ।
द्रुतमार्गको निमार्ण प्रभावकारी बनाउन छुट्टै ऐन ल्याइने
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौं तराई/मधेस द्रुतमार्ग’ निर्माणमा देखिएका कानूनी र प्राविधिक समस्या समाधान गर्न रक्षा मन्त्रालयले आयोजना सम्बन्धी छुट्टै ऐनको मस्यौदा तयार गरेको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज सरोकार भएका मन्त्रालयका सचिव र निकायका प्रतिनिधिसहितको छलफलमा रक्षामन्त्री ईश्वर पोखरेलले सामान्य विषयमा पनि एक निकायले अर्को निकायलाई अड्काएर महत्वपूर्ण कामलाई असर पार्ने स्थिति अन्त्य गर्न छुट्टै ऐन (सनसेक्ट एक्ट) ल्याउन लागिएको जानकारी दिए । उनले आयोजना निर्माणमा देखिएका समस्या समाधानका लागि मन्त्रिपरिषद् वा अन्य सम्बन्धित मन्त्रालयबाट गरिनुपर्ने निर्णयका विषयमा सिफारिस गरिने जानकारी दिए । मन्त्री पोखरेलले भने, “सरकारको केन्द्रीय महत्वको विषय भएकाले कहाँ/कहाँ के/के मिलाउनपर्छ, त्यसमा हामी लाग्नेछौँ, राजनीतिक नेतृत्व विगतमा अलमलमा थियो होला, अहिले स्पष्ट छ, अब कर्मचारीतन्त्रमा पनि अलमल रहनु आवश्यक छैन ।” रक्षा सचिव विष्णुप्रसाद लम्सालले ऐनको मस्यौदा भई सम्बन्धित मन्त्रालयसँग परामर्श भइरहेको बताउँदै सरकारको प्राथमिकता प्राप्त कामको जिम्मेवारी लिएको नेपाली सेनालाई निर्वाधरुपमा काम गर्ने वातावरण मिलाउन ऐन आवश्यक रहेको बताए । छलफलमा द्रुतमार्गको प्रवेशविन्दु ललितपुरको खोकना क्षेत्रमा मुअब्जा पुनरावलोकन र सांस्कृतिक सम्पदा सिकाली मन्दिर जोगाएर पूर्व निर्धारत सडकको रेखाकङ्कनमा सामान्य परिवर्तन गर्नेलगायत समस्या समाधान गर्ने निष्कर्ष निकालिएको छ । ललितपुरको सैँबू, खोकना, बुङ्गमति क्षेत्रमा आयोजनाका लागि आवश्यकपर्ने करीब ८०० रोपनी जग्गा अधिकरण हुनुपर्नेमा २५० रोपनीको अधिकरण गरी मुअब्जा वितरण भइसकेको छ । यस्तै आयोजनाको कार्यविधि परिवर्तन गरी उच्चस्तरीय अनुगमन र सहजीकण समिति गठन गर्ने, आगामी आर्थिक वर्षका लागि ३८ अर्ब रुपैयाँ प्रक्षेपण गर्ने, ऐलानी जग्गामा रहेका घर टहराका बासिन्दालाई पुनःस्थापना, स्थानीय नदीनाला र खानीको उत्खनन गरी निर्माण सामग्री निर्वाध प्रयोग गर्र्ने, स्थलमा कार्यरत जनशक्तिलाई साधारण र जोखिम भत्ता दिने, सञ्चार र विद्युतीकरण गर्ने विषयमा सम्बन्धित मन्त्रालय र निकायले सहजीकरण गर्नेछन् । नेपाली सेनाले नेपाल सरकारले समन्वय र अनुगमनको संयन्त्र बनाउन तथा छिमेकी र तेस्रो मुलुकबाट आउने निर्माण सामग्रीमा भन्सार छुट दिन पनि माग गरेको छ । ललितपुरको खोकनाबाट बाराको निजगढसम्म ७६ दशमलव २ किमी हुने दक्षिण एसियालीस्तरको सो मार्गको नेपाली सेनाले निर्माण गरिरहेको छ । २०७४ वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयबाट सो आयोजना निर्माणको जिम्मा सेनालाई दिएको थियो भने २०७४ जेठ १४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढमा त्यसको शिलान्यास गर्नुभएको थियो । आयोजनाका लागि चालु आवमा रु १० अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ । छलफलमा गृह सचिव प्रेमकुमार राई, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगाना र भौतिक योजना तथा पूर्वाधार, वन तथा भू संरक्षण मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो । रासस
सय रुपैंया घुस खुवाउन खोज्दा यसरी पक्राउ परे सहचालक अनिल खड्की
काठमाडौं । डीउटीमा खटिएको प्रहरीलाई सय रुपैंया घुस रकम दिन खोज्ने एक सहचालक पक्राउ परेका छन् । प्रहरी हवल्दार सनिचर थारुलाई घुस दिन खोज्ने अनिल खड्की पक्राउ परेका हुन् । खड्कीलाई चन्द्रागिरी नगरपालिका वडा नं ११ सिप्रदी स्थित सडक खण्डमाबातट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुटवल बाट काठमाडौं तर्फ आउदै गरेको लु १ ख ९४६९ नं को यात्रुबाहक बस चेकजाच गर्ने क्रममा खड्कीले आर्थिक प्रलोभन देर्खाका थिए । खड्कीमाथी थप अनुसन्धान भैरहेको थानकोट प्रहरीले जनाको छ ।
२ वर्षदेखि आधा दर्जन कम्पनीको १ करोड ७४ लाख कित्ता आईपीओ रोकियो, हेर्नुस कसको कति ?
काठमाडौं । आवेदन दिएको २ वर्ष बितिसक्दा पनि आधा दजर्न कम्पनीले साधारण सेयर (आईपीओ) र एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएका छैनन् । लामो समयदेखि आईपीओ निष्कासन गर्न अनुमति नपाउनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड, गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड, लाफिङ बुद्ध पावर नेपाल लिमिटेड, युनिक हाइडेल लिमिटेड, एनएमबी बैंक र सीईडीबी हाइड्रो फण्ड लिमिटेड रहेका छन् । यी कम्पनीको १ करोड ७४ लाख ३२ हजार ४६३ कित्ता आईपीओ रहेको छ । यसमध्ये एनएमबीको १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ र बाँकी आईपीओ रहेको छ । एनएमबीले प्रिमियम दरमा एफपीओ निष्कासन गर्न लागेकाले उसको मूल्य तय भएको छैन । तर अन्य कम्पनीले अंकित मूल्य १०० रुपैयाँ रहेको छ । ६ मध्ये ५ वटा जलविद्युत कम्पनी रहेका छन् । आँखुखोलाले ०७३ जेठ ३१ गते सर्वसाधारणलाई २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको थियो । आवेदन दिएको २ वर्षसम्म उसको आईपीओको आवेदन प्रारम्भीक अध्ययनको क्रममा रहेको बोर्डले जनाएको छ । यस्तै लफिङबुद्ध हाइड्रोपावरले गत जेठ ३१ गते ९ करोड ७८ लाख रुपैयाँ बराबरको ९ लाख ७८ हजार कित्ता आईपीओ निष्कासन गर्न बोडमा निवेदन दिएको थियो । उसको पनि प्रारम्भीक अध्ययनको चरणमा रहेको बोर्डले जनाएको छ । गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि ०७३ असोज १४ गते २ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको थियो । युनिक हाइडेल लिमिटेडले गत वर्ष जेठ २१ गते निवेदन दिएको थियो । सीईडीबी हाइड्रो फण्ड लिमिटेडले पनि २२ करोड ८९लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न गत असार २७ गते निवेदन दिएको थियो । एनएमबी बैंकले चुक्तापुँजी बढाउन गत जेठ २७ गते १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको थियो ।
नेप्से दोहोरो अंकले उकालो लाग्दा बीमा समूह १०७ अंक माथि, कसले कमायो बढी ?
काठमाडौं । लगातार दुई दिन बन्द भएर खुलेको बुधबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सो दिनको नेप्से परिसूचक ११.३७ अंकले उकालो लागेर १३६०.३८ अंकमा पुगेको छ । सोही दिन कूल १५८ कम्पनीको ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको बजारमा जम्मा ७ लाख ८५ हजार ५४४ कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा स्वदेशी लघुवित्त वित्तीय संस्थाको २ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७७६ रुपैयाँ रहेको छ । बुधबार कारोबारमा आएका मध्ये बीमा समूहको सूचक सबैभन्दा बढी अंकले उकालो लागेको छ । सो दिन बीमा १०७, माइक्रोफाइनान्स ४६, हाइड्रोपावर २६, होटल २३, अन्य १६ र बैंकिङ समूह २.७१ अंकले बढेका छन् । त्यस्तै, बाँकी समूहको सूचक राताम्मे भएका छन् । बजारमा सबैभन्दा बढी मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका सेयरधनीले एकैदिन १० प्रतिशत कमाएका छन् । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५२ रुपैयाँ रहेको छ । त्यसैगरी, अघिल्लो दिनको तुलनामा स्वदेशी लघुवित्तको ९.९७ र स्वरोजगार लघुवित्तको ६.२५ प्रतिशतले सेयर मूल्यम वृद्धि भएको छ ।