विकासन्युज

१११ मेगावाट रसुवागढीको सुरुङ खन्न अब ५७० मिटर मात्रै, ३ महिनाभित्रै ब्रेक थ्रु हुने

काठमाडौं । निर्माणधिन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । कुल ४ हजार २०० मिटर लामो सुरुङ मध्ये अब ५७० मिटर मात्र बाँकी रहेको छ । ३ हजार ६७० मिटर सुरुङ खन्ने काम सकिएको छ । आउदो जुलाइसम्म सुरुङ छिचोलिने (ब्रेक थ्रु ) हुने प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए । सुरुङ खन्ने काम दुई फेसबाट भइरहेको बताउदै ढिलोमा जुलाइसम्म सकिने लक्ष्य लिएको उनले जानकारी दिए । उनकाअनुसार हालसम्म आयोजनाको ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । आयोजना सन् २०१९को डिसेम्बरमा सकिने गरी तिब्र गतिमा भइरहेको छ । आयोजना नेपाल–चीन सीमा रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा पर्छ । आयोजनाको निर्माण चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशन (सीडब्ल्यूई) ले गरिरहेको छ । यस्तै इलेक्ट्रोमेकानिकलको ठेक्का भारतको भ्वाइथ हाइड्रो लिमिटेड भारतले गरिरहेको छ । निर्माण अवधिको ब्याज (आईडीसी) बाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख युनिट बिजुली उत्पादन हुने छ । रसुवागढीमा चिलिमे हाइड्रोपावर लिमिटेडको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी र विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी साढे ३ प्रतिशत र सञ्चयकर्ताको साढे १९ प्रतिशतको लगानी संरचना बनेको छ ।  

विकसित राष्ट्रहरूले अन्तर्राष्ट्रिय व्यापारका ढोका बन्द गर्ने सुरसार कस्दैछन्: चौधरी

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले विश्वका विकसित राष्ट्रहरू नै विश्व ब्यापीकरणको विपक्षमा सक्रिय हुन थालेको बताएका छन् । अमेरिकाको लस एन्जलसमा मिल्केन इन्टिटयुटद्धारा आयोजित विश्व सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भने, ‘विकसित राष्ट्रहरूले आज अन्तर्राष्ट्रिय व्यापारका ढोका बन्द गर्ने सुरसार कस्दैछन् र आफ्नो बजार र रोजगारीलाई सुरक्षित गर्न लागिपरेका छन् । यसको मतलब के अब हामीले विश्व ब्यापीकरणको मान्यतालाई अन्त्य गर्न चाहिरहेका छौँ?’ पछिल्लो समय अमेरिकी ट्रम्प प्रशासनले चिनियाँ उत्पादनलाई अमेरिकी बजार प्रवेशमा अवरोधका नीति लिए सँगै यो बिषय विश्व ब्यापी वहशमा आएको छ । अमेरिकी सरकारले लिएको नीतिको प्रतिक्रिया स्वरूप चीन सरकारले पनि अमेरिकी उत्पादन माथि आफ्नो बजारमा कडाइको नीति अवलम्वन गर्ने सम्भावना बढेर गएको छ । विश्व ब्यापीकरण विरूद्ध चालिएका यि कदमले विश्व बजारलाई नकारात्मक प्रभाव पार्ने देखिएको छ । ‘विश्व ब्यापीकरणलाई प्रवर्धन गर्न विगतमा चालिएका कदमहरू गलत थिए भनेर निश्कर्षमा पुग्ने समय आएको हो ?’ अध्यक्ष चौधरीले भने, ‘विश्वब्यापी रूपमा गम्भिर समिक्षा विना आफ्नो बजार र रोजगारी सुरक्षाका नाममा चालिएका यी कदमहरू संभवतः राजनीतिक लोकप्रियताका लागि हुन सक्छ । तर, त्यसले विश्वमा अर्कै वातावरण तयार गरिदिनेछ । अध्यक्ष चौधरीले लगानीकर्ताका लागि विकासशिल राष्ट्रहरू (इमर्जिङ इकोनोमी)मा मात्रै बढि जोखिम हुने विश्लेषण सत्य नरहेको र विकसित राष्ट्रहरूले पनि सोही चरित्र अवलम्बन गरिरहेको भन्दै आलोचना गरेका छन् । ‘अमेरिका लगायतका पश्चिमा विकसित राष्ट्रहरूले पनिकुन बेला कुन नीति लिनेछन् भनेर लगानीकर्ताहरू ढुक्क हुन सक्ने अवस्था छैन ।’ विकासशिल राष्ट्रहरूको प्रमुख एजेण्डा अहिले आर्थिक विकास र सामाजिक रूपान्तरण भइरहेको बताउँदै अध्यक्ष चौधरीले ति देशहरूमा राजनीतिक तहबाटै लगानी–मैत्री वातावरण तयार गर्ने तर्फ ध्यान पुर्याइएको महसुस आफुले गरेको अनुभव सुनाए । विकासशिल देशहरूमा उदाउँदै गरेको ‘मिडिल क्लास’उपभोक्तातर्फ पनि लगानीकर्ताले ध्यानदिन जरूरी रहेको उनले बताए । ‘विकसित मुलुकमा सफल भएका व्यवसायिक अवधारणाहरू विकासशिल मुलुकहरूमा हस्तारन्तरण गरिनुपर्छ’ अध्यक्ष चौधरीले भने ‘यसले ति देशको आर्थिक विकास अभियानलाई अगाडि बढाउन सहयोग पुग्छ ।’ विश्व सम्मेलनमा अध्यक्ष चौधरीले नेपालका बारेमा जानकारी दिँदै नेपाल आर्थिक विकासको सकारात्मक बाटोमा अगाडि बढिरहेको छ र यो प्रयासमा साथ दिन आग्रह गरेका छन् ।

जेविल्स फाइनान्सले पायो हकप्रद निष्कासनको अनुमति, २३ करोड ११ लाखको सेयर आउदै

काठमाडौं । जेविल्स फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।  धितोपत्र बोर्डले जेविल्सलाई चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । जेविल्सले २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको २३ लाख ११ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । फाइनान्सको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

बर्जर रंग म्याजिकल योजना अन्तर्गत न्यौपानेले जिते रेनो क्विड कार

काठमाडौं । बर्जर पेन्ट्सले आफ्नो सफल योजना बर्जर रंग म्याजिकल योजनाका विजेताहरुको घोषणा गरेको छ । सो कार्यक्रममा योजना प्रबद्र्धक अनुपविक्रम शाहीले योजनामा सहभागी करिब ४४०० घरधनीहरुमध्येबाट २० जना भाग्यशाली विजेताहरुको नाम लक्की ड्र मार्फत निकालेका थिए । विजेताहरुमध्ये विराटनगर (पूर्वाञ्चल)का रामप्रसाद न्यौपानेले रेनो क्विड कार बम्पर उपहार स्वरुप जितेका छन् भने काठमाण्डौंका रामकुमार श्रेष्ठ र सृजना योगीले प्रथम पुरस्कार स्वरुप प्रत्येकले १–१ लाख रुपैयाँ जितेका छन् । यसैगरी, पूर्वाञ्चलकी लक्ष्मी बोहरा, र पश्चिमाञ्चलका निरक ओली र राजेन्द्रप्रसाद पन्तले दोस्रो पुरस्कार स्वरुप ५०-५० हजार रुपैयाँ नगद उपहार जितेका छन् । पूर्वाञ्चलका पुष्पलाल अधिकारी, मध्यमाञ्चलका झविलाल गैरे र शम्भु शाह, र काठमाडौंकी इश्वरी श्रेष्ठले तेस्रो पुरस्कार स्वरुप जनही २५ हजार रुपैयाँ नगद पुरस्कार जिते भने १० जना विजेताले सान्त्वना पुरस्कार स्वरुप १०-१० हजार रुपैयाँ जितेका छन् । साथै, क्षेत्रगत रुपमा प्रथम हुनेले १ लाख र द्वितीय हुनेले ५० हजार तृतीय हुनेले २५ हजार र सान्त्वना स्वरुप १० हजार रुपैयाँ गरि ६ क्षेत्रका ६० उत्कृष्ट घरधनीहरुले उपहार स्वरुप नगद पुरस्कार जितेका छन् । शहरोन्मुख शहरका उत्कृष्ट २० घरधनीहरुले २०-२० हजार रुपैयाँ जितेका छन् । विजेताहरुले आफ्नो उपहार दावी गर्नका लागि बर्जर पेन्ट्स नेपालको नजिकको बिक्रि शाखामा सम्पर्क गर्नुपर्नेछ ।

बजारमा सामान्य वृद्धिसँगै ७६ करोडको कारोबार, सबैभन्दा बढी नेपाल बैंकको

काठमाडौं । बिहीबारको कारोबारमा सामान्य सुधार भएको छ । बजार समान्य अंकले बढ्दा ७६ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ३८ करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा ३८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । कूल १६९ कम्पनीको कारोबार भएको बिहीबारको बजारमा सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । यस कम्पनीको कारोबार रकमका साथै सबैभन्दा बढी सेयर किनबेच भएको छ । यस कम्पनीको एकैदिन एक लाख ६० हजार ६३६ कित्ता सेयर ५ करोड ७३ लाख ४९ हजार ६८८ रुपैयाँमा कारोबार भएको छ । यस कम्पनीको नाफा र सेयर मूल्य सस्तो भएकाले लगानीकर्ताहरु यस कम्पनीमा आकर्षित भएका सेयर बजारका विश्लेशकहरु बताउँछन् । नेपाल बैंकले चालु आर्थिक वर्षको ९ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ बराबर नाफा कमाएको छ । साथै, बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५६ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । एकैदिन यस कम्पनीको सेयर मूल्य ९.५२ प्रतिशतले बढेको छ । बिहीबार होटल र अन्य बाहेक बाँकी समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह ७५ अंकले उकालो लागेको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र उत्पादनमूलक समूह दोहोरो अंकले उकालो लागेका छन् । समग्रमा नेप्से परिसूचक ५.७७ अंकले बढेर १३६६ अंकमा पुगेको छ । सो दिन नेप्सेमा ०.४२ प्रतिशत वृद्धि भएको छ ।

नगद कारोबार निरुत्साहित गर्दै राष्ट्र बैंक,१८ कम्पनीले पाए विद्युतीय भुक्तानी सेवा सञ्चालनको आशयपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवाको काम गर्न डेढ दर्जन निजी कम्पनीलाई आशयपत्र (एलओआई) दिएको छ । विद्युतीय भुक्तानी प्रणालीलाई अझ व्यवस्थित र जनतामाझ पुर्याउन केन्द्रीय बैंकले निजी क्षेत्रका १८ कम्पनीलाई एलओआई दिएको हो । राष्ट्र बैंकले हालसम्म भुक्तानी सेवा प्रदाय र संचालकको काम गर्न ५ वटा संस्थालाई अनुमति दिइसकेको छ । विद्युतीय भुत्तानी सेवा सञ्चालन गर्न ई सेवा प्राइभेट लिमिटेड, आईएमई पे प्राइभेट लिमिटेड, प्रभु पे,  सेलकम प्राइभेट लिमिटेड लगायतलाई इजाजत दिएको छ । आवश्यक पूर्वाधारको काम सकेपछि १८ वटैलाईलाई भुक्तानी प्रणाली सञ्चालनका लागि इजाजत दिने राष्ट्र बैंक स्रोतले बतायो । आशयपत्र पाएको एक वर्षभित्र आवश्यक पूर्वाधार तयार गरेर अन्तिम स्वीकृति लिन केन्द्रीय बैंक आउनु पर्ने  स्रोतले जानकारी दियाे । एक वर्षभित्र पनि नआएमा आशयपत्र स्वतः रद्द हुनेछ । आशयपत्र लिएका कम्पनीले भुक्तानी प्रणाली सञ्चालनका लागि आवश्यक पुर्वाधार, व्यवसायीक योजना, प्रवन्धपत्र नियमावली र कर्मचारीको संख्या सहित न्युनतम पुर्वाधार तयारीको विवरण पेश गरेपछि मात्र अनुमति पाउने छन् । केन्द्रीय बैंकले कागजी नोटको प्रचलन घटाउन विद्युतीय भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको हो । राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालन गर्न अपरेट तथा क्लियरिङको काम र अर्को वालेट सेवा सञ्चालनका लागि स्वीकृति दिने गरेको छ । वालेटबाट बिजुलीको बिल, टेलिफोन, इन्टरनेटको बिललगायत सबै प्रकारको भुक्तानीका आरित्त बैंकमा रकम जम्मा गर्दा र झिक्दा समेतको जानकारी मोवाइलमार्फत आउने छ । वालेटको काम हाल ई सेवा प्राइभेट लिमिटेडले प्रभावकारी रुपमा गरिरहेको छ । केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायकको काम गर्न बैंक तथा वित्तीय संस्थालाई कार्ड सेवा, इन्टरनेट बैकिङ्ग, एसएमएस बैकिङ्ग, मोबाइल बैकिङ्ग, आदि सेवा सञ्चालन गर्न अनुमति प्रदान गरिएको छ । हालसम्म २८ वाणिज्य बैंक, २ वटा विकास बैंक र १ वित्त कम्पनीले इजाजत पाएका छन् । विद्युतीय भुक्तानीलाई सुरक्षित, विश्वसनीय एवम् व्यावहारिक बनाउन बैंक तथा वित्तीय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुने गरी जारी गरिएका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवा लगायतका विद्युतीय माध्यमबाट गरिने कारोबारको मापदण्ड, प्रक्रिया र सीमाका सम्बन्धमा निर्देशन जारी गरिएको छ । सेलकम हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ : सम्पादक

सरकारले राजा महेन्द्रको पालामा स्थापना भएका जिर्ण कृषि कार्यक्रम पुनःसञ्चालन गर्ने

काठमाडौं । सरकारले राजा मेहेन्द्रको पालामा स्थापना भएका कृषि विकासका कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । कृषि भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले राजा महेन्द्रको पालामा स्थापना भएका कृषिका कार्यक्रमहरु पुनः सञ्चालन गर्ने बताए । उनले बिहीबार मन्त्रालयमा पत्रकारहरुसँगको छलफल कार्यक्रममा राजा महेन्द्र विर विक्रम शाहाको पालमा सञ्चालन भएको कृषि कार्यक्रम पुनःसञ्चालन गर्ने बताए । ‘महेन्द्रको पालामा कृषि क्षेत्रको राम्रा कन्सेप्टका कार्यक्रमहरु सञ्चालन भएका रहेछन्,’ उनले भने ‘त्यतिखेर सञ्चालन भएका ठुला कृषि फार्मिङहरु बीचमा सञ्चलन हुन नसकेर जिर्ण भएका छन् । त्यसलाई पुनः सञ्चालन गरिनेछ ।’ त्यसको अध्ययनको लागि मन्त्रालयका राज्यमन्त्री राजकुमारी चौधरिको नेतृत्वमा अध्ययन समिति बनेको उनको भनाइ छ । उनको अनुसार उक्त समितिले राजा महिन्द्राको पालादेखि कृषि क्षेत्रमा भएका कार्यक्रमहरुको अध्ययन गर्नेछ । त्यस्तै निजी क्षेत्रबाट कृषिमा भएका सकरात्मक पाटोको अध्ययन, प्याक्ट र राज्यको लगानीमा भएका दुरदसाको सम्बन्धमा अध्ययन, अनुगमन गर्ने मन्त्री खनालले जानकारी दिए । उनले ती अध्ययनको क्रममा आवश्यकता अनुसार छानविन कमिटी समेत बनाउने घोषणा गरे ।

हाम्रो विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । बिहीबार हाम्रो विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको ७.३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४९.११ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता २२५.५६ रुपैयाँ रहेको थियो ।