विकासन्युज

बर्दिबास-लालबन्दी रेलमार्गमा ७० प्रतिशत माटो भर्ने काम सकियो, जमिनबाट ५ मिटर माथीसम्म माटो भरिँदै

काठमाडौं । पुर्व पश्चिम रेलमार्गको बर्दिबास– लालबन्दी खण्डमा ७० प्रतिशत माटो बिछ्याउने काम सम्पन्न भएको छ । रेलवेको भाषमा यसलाई सिभिल इञ्जिनियरिङको काम भनिन्छ । कुल २५ किलोमिटर लम्बाईको बर्दिबास–लालबन्दीमा बिभिन्न ६ वटा प्याकेजमा काम भैरहेको छ । ‘औषतमा ७० प्रतिशत माटो भर्ने काम सम्पन्न भएको छ, अब बर्खा लागेकाले काम द्रुतगतिमा अघि बढाउन मुस्किल छ, तै पनि मौसमी अनुकुलता रहुञ्जेल काम जारी रहन्छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने । सागरनाथ वन विकास परियोजनाले ओगटेको १० किलोमिटर क्षेत्रमा भने रुख काटेर माटो भर्ने काम थालिएको छ । ४ र ५ नम्बर प्याकेजमा पर्ने सो खण्डमा भने जम्मा २० प्रतिशत मात्रै काम भएको छ । अन्यत्र भने ८० प्रतिशतसम्म काम सम्पन्न भैसकेको छ । आगामी मंसिरसम्ममा माटो भर्ने काम सम्पन्न भैसक्ने उपाध्यायले बताए । रेलमार्गको प्रत्येक ३ सय मीटरमा एउटा क्रसिङ लाइन निर्माण हुने पनि उनले बताए । तल र माथीका नागरिकलाई आवातजावत गर्नका लागि रेल लिकको तलबाट त्यस्तो बाटो निर्माण गरिनेछ । ‘प्रत्येक ३ सय मिटरमा मालवाहक सवारी साधन छिर्न सक्ने अण्डर पास(पासिङ लाइन) निर्माण हुनेछ’, उपाध्यायले भने । रेल विभागले आगामी आर्थिक बर्षका लागि ४ अर्ब २ करोड बजेट पाएको छ । एक किलोमिटर रेलमार्ग निर्माणका लागि करिब ३५ देखि ४० करोेड लागत आवश्यक पर्ने अनुमान गरिएको छ । विभागले आगामी आर्थिक बर्षमा लालबन्दी देखि निजगढसम्म रेलमार्ग निर्माणको काम अघि बढाउने तयार गरेको छ ।

नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार, आइतबार ७३ करोडको सेयर कारोबार

काठमाडौं । आइतबारको नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार भएको छ । साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक ८ दशमलब २३ अंकले बढेर १५६७ दशमलब ७२ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । सो दिन बजारमा ७३ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १४८ कम्पनीको कारोबार भएको बजारमा १५ लाख ८५ हजार ९६७ कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी प्रभु बैंकको सस्थापक सेयर कारोबार भएको छ । बैंकको ११ करोड ७२ लाख कित्ता संस्थापक सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १९० रुपैयाँ रहेको छ । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको ५ करोड १५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । कारोबार भएका मध्ये बीमा समूहको परिसूचक ओरालो लागेको छ भने बाँकी रहेका समूहको परिसूचक उकालो लागेका छन् । बैंकिङ र होटल समूहको परिसूचक दोहोरो अंक क्रमशः १२ र ११ अंकले उकालो लागेका छन् । त्यस्तै, अन्य बाँकी रहेका समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । सो दिन सबैभन्दा बढी रिलायन्स फाइनान्सका लगानीकर्ताले ८ प्रतिशत कमाएका छन् । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२८ रुपैयाँ रहेको छ ।

वल्ड मर्चेन्ट बैंकिङको साधारणसभा वार्षिक असार ३१ गते हुँदै, १५ गतेदेखि बुक क्लोज

काठमाडौं । वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको वार्षिक साधारणसभा असार ३१ गते हुने भएको छ । सो प्रयोजनको लागि असार १५ गतेदेखि असार ३१ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

टेलिकमको जिएसएम सेवा अब बाग्लुङमा पनि, छ सय घरधुरीका बासिन्दा प्रभावित

काठमाडौं । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको बिकट स्थान तमान खोलामा विटिएस  स्थापना गरि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा नपुगेकाले कम्पनीले असार ९ गते देखि उक्त स्थानमा यस सेवा सञ्चालनमा ल्याएको हो । तमानखोला गाउँपालिका वडा नं. ३ तमानखोलामा स्थापित विटिएसबाट तमानखोला गाउँपालिकाको वडा नं.३ र ४ का करिव छ सय घरधुरीका बासिन्दा र खुङखानीको वडा नं. ६ का वासिन्दालगायत सो क्षेत्रका अन्य वासिन्दालाई मोवाइल फोन मार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको छ । तमान खोला बाग्लुङ जिल्ला सदरमुकामबाट ११६ किलोमिटर सडक मार्गको यात्रा पश्चात करिव डेढ घण्टाको पैदल मार्गको दुरीमा रहेको छ । उक्त स्थान छिमेकी जिल्ला म्याग्दीको सिमानासंँग जोडिएको छ । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र  तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको  बताएको छ ।

नेप्सेमा दुई कम्पनीको ६४ लाख कित्ता हकप्रद सेयर सूचिकृत, हेरौँ क-कसको कति?

काठमाडौं । नेप्सेमा एकैदिन दुई कम्पनीको ६४ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । आइतबार मात्रै एक्सेल डेभलपमेन्ट बैंक र देवः विकास बैंकको बोनस र हकप्रद सेयर गरी सो मात्राको हकप्रद सेयर सूचिकृत भएको हो । बजारमा जम्मा २० लाख २ हजार कित्ता बोनस र ४४ लाख ५ हजार कित्ता हकप्रद सेयर थपिएको छ । एक्सेलको ७ लाख ६९ हजार १२५ कित्ता बोनस थपिएको छ । त्यस्तै, देवः विकास बैंकको १२ लाख ३३ हजार ५२३ कित्ता बोनस र ४४ लाख ५ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

कन्काई विकास बैंकको असार १९ गते बुक क्लोज, २१४ प्रतिशत हकप्रद निष्काशन गर्दै

काठमाडौं । कन्काई विकास बैंकको आगामी असार १९ गते बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि सो दिन कम्पनीकोे बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकले २१४ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको सेयर प्रतिकित्ता ५७३ रुपैयाँमा कारोबार भइरहेको छ ।

एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता २४४२ रुपैयाँ

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । आइतबार नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २४४२ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य १३९२ रुपैयाँ रहने भएको छ ।

मेयर विद्यासुन्दर शाक्यको पहिलो गाँसमै ढुंगा, स्मार्ट मोबाइल वितरण सम्बन्धि निर्णय फिर्ता

काठमाडौं । महानगरवासीले ‘स्मार्ट’ ठानेर जिताएका मेयर विद्यासुन्दर शाक्यको पहिलो गाँसमै ढुंगा लागेको छ । ‘स्मार्ट मोबाइल’ बाड्ने निर्णयसँगै विवाद्मा तानिएका मयेरले अन्ततः मोबाइल वितरण प्रक्रियालाई रोकेर आफ्नो निर्णयलाई उल्टाएका छन् । काठमाडौं महानगरको नगर कार्यपालिकाले नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख र सदस्यहरूका लागि मोबाइल फोन खरिद गर्ने निर्णय कार्यान्वयन नहुने भएको छ । नगरपालिका पदाधिकारीलाई महँगो मोबाइल बाड्ने सम्बन्धमा जनस्तरबाट चर्को विवाद् आएपछि महानगरले आफ्नो निर्णयलाई उल्टाएको हो । महानगरपालिकाका नवनिवार्चित जनप्रतिनिधिहरूको सुरुवाती शैली नै सुविधा भोगी र विलासी देखिएको भन्दै जनस्तरबाट विरोध आएको हो । नगर कार्यपालिकाको गत ६ असारमा बसेको दोस्रो बैठकले नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख र सदस्यहरूका लागि महँगो मूल्यको मोबाइल फोन खरिद गर्ने निर्णय गरेको थियो । बैठकले प्रमुख र उपप्रमुखका लागि जति महँगो भए पनि मोबाइल किनेर बिल पेश गर्नुपर्ने र नगर कार्यपालिका सदस्यहरूका लागि बढीमा ३० हजार रुपैयाँसम्मको मोबाइल किन्न सकिने निर्णय गरेको थियो। आफ्नो निर्णय सर्वत्र विरोध भएपछि नगर कार्यपालिकाको बैठक बसी हाललाई सो निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको छ । महानगरका नवनिर्र्वािचत प्रमुख विद्यासुन्दर शाक्यले बैठकपछि बढीमा ३० हजार रुपैयाँसम्मको मोबाइल किन्ने गरिएको निर्णय हाललाई कार्यान्वयन नगर्ने उल्लेख छ। निर्वाचित कार्यपालिका सदस्यहरूलाई जनताको सेवा गर्न, जनप्रतिनिधि र जनताबीच सूचना र सम्पर्क जीवन्त गर्न, समग्र सेवा र विकास कार्य प्रभावकारी बनाउने उद्देश्यले असल नियतका साथ मोबाइल फोन प्रयोग गर्न बढीमा ३० हजार रुपैयाँ निकासा दिर्ने निर्णय भएकोमा सो निर्णय हाल कार्यान्वयन नगर्ने निर्णय गरिएको काठमाडौं महानगरपालिका मेयर शाक्यले बताए ।