विकासन्युज

९०० मेगावाटको अरुण तेस्रो बनाउन भारतीय कम्पनीले पायो लाइसेन्स, २०७९ असोजदेखि बिजुली बल्ने

काठमाडौं । सरकारले भारतीय कम्पनीलाई ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाबाट बिजुली उत्पादन गर्न अनुमति (लाइसेन्स) दिने निर्णय गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको ३०औ बैठले प्रवद्र्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडलाई २५ वर्षका लागि विद्युत उत्पादनको लाइसेन्स दिने निर्णय गरेको हो । बोर्डको निर्णयसंगै एसजेवीएनलाई लाइसेन्स दिन बाटो खुला भएको छ । वोर्डले आउदो साताभित्र एसजेवीएनलाई लाइसेन्स दिने भएको छ । बैठकले आयोजना निर्माणका लागि लगानी जुटाउन प्रवद्र्धक एसजेवीएनलाई आगामी असोज १२ गतेसम्मलाई म्याद थप गरेको छ । लाइसेन्स नपाएपछि एसजेवीएनले आयोजनाको निर्माण सुरु गरिसकेको छ । एसजेवीएनले आउँदो ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । भारत सरकार स्वामित्वको एसजेविएनले आउँदो २०७९ असोजसम्म अर्थात सन् २०२२ को सेप्टेम्वरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको बाँध निर्माण काम शुरु भइसकेको छ । ४ लटमा आयोजनाको काम हुनेछ । भारत निकासीका लागि निर्माण हुन लागेको आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजना प्रभावित स्थानियबासिन्दालाई १ अर्ब ६० करोड रुपैयाँको सेयर वितरण र मासिक ३० युनिट बिजुली निःशुल्क दिने छ । निर्माण अवधी बाहेक आयोजनाको अवधि २५ वर्ष रहेको छ । प्रभावित ६ गाविसमा एसजेवीएनले निःशुल्क विद्युतीकरण गर्नेछ । भारत सरकारले अरुण तेस्रोमा ९२ अर्ब रुपैयाँ लगानी गर्न एसजेवीएनलाई स्वीकृत दिइसकेको छ । विद्युत उत्पादन प्याकेजका लागि स्टेट बैंक अफ इण्डियाले ८० अर्ब रुपैयाँ ऋण लगानी गर्न सहमत भएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । यस्तै २६८ किलोमिटर लामा ४०० केभी क्षमताको प्रसारणलाइन बनाउन पञ्जाव नेसनल बैंकसंग ऋण सम्झौता भइसकेको छ । पञ्जावको मुख्य लगानी रहेको एभरेष्ट बैंकले प्रसारणलाइनमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्नेछ । आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश एसोसियट्स (जेपी) लिमिटेडले पाएको छ । प्याकेज १ अन्र्तगत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ । दोस्रो प्याकेजको काम गर्न पटेल इन्जिनियरिङ लिमिटेडले पनि १८ अर्ब रुपैयाँमा ठेक्का पाएको छ । दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण, तेस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र चौथो प्याकेजमा हाइड्रोमेकानिकल र प्रसारणलाइनको अन्र्तगत काम हुने भएको छ । सबै प्याकेजको ठेक्काको काम भइरहेको छ । आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युतगृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।

निर्माणाधीन आयोजना समयमै सक्न ऊर्जाको पहल, आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना समयमै सक्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विशेष पहल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सम्बन्धित आयोजनाका प्रमुखसहितको टोलीले संयुक्त रुपमा माथिल्लो त्रिशूली थ्री ए, रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ । ऊर्जामा आत्मनिर्भर बनाउन र पेट्रोलियम पदार्थको आयात कम गर्दै जाने लक्ष्यका साथ मन्त्रालयले निर्माणाधीन आयोजनालाई तोकिएको समयमा पूरा गर्न विशेष पहल गरेको हो । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण निर्माणमा ढिलाइ भएका आयोजनालाई समयमै सक्दामात्रै भारतबाट आयात भइरहेको विद्युत् ल्याउनु नपर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सहयोग पुग्ने लक्ष्यका साथ उच्च सरकारी अधिकारीले स्थलगत अनुगमन तथा निरीक्षण कार्यलाई तीव्र पारेका हुन् । उच्च सरकारी टोलीले शुक्रबार माथिल्लो त्रिशूली थ्री ए आयोजनाको स्थलगत निरीक्षण गरेको थियो । आयोजनाको हाल ७० प्रतिशतभन्दा बढी भौतिक निर्माण सकिएको छ । तर आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि निर्माण गरिराखिएको प्रसारण लाइन निर्माणको काम भने प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन । नुवाकोटमा केही सामुदायिक वनमा जग्गा प्राप्तिको विषयमा सहमति हुन नसक्दा समस्या भएको छ । लामो समय भूकम्पका कारण आयोजना निर्माणमा समस्या आएको थियो । आयोजनालाई आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि प्रसारण लाइन निर्माणमा देखिएको समस्याका कारण जटिलता कायम रहेको पाइएको छ । आयोजनाका प्रमुख फणीन्द्रराज जोशीका अनुसार आयोजना निर्माण प्रक्रियाले गति लिएको र तोकिएको समयमा नै निर्माण सम्पन्न गराउन आफूहरु तयार रहेको बताएका थिए । कूल ६० मेगावाट क्षमताको सो आयोजना प्राधिकरणको लगानीमा निर्माण भइरहेको आयोजना हो । नुवाकोटमा निर्माणाधीन यो आयोजनाले १४२ वटा टावरको निर्माण गर्नुपर्छ, जसमध्ये ७० वटा टावर निर्माण भएका छन् । ती टावरसहित ११० वटा टावरको फाउण्डेसनको काम पनि सकिएको छ । साथै थप १० वटा टावरमा अहिले फाउण्डेसनको काम भइरहेको छ । सरकारले निर्धारण गरेको मुआब्जामा स्थानीयले चित्त बुझाएका छैनन् । २०७० सालमै सरकारले उक्त क्षेत्रको मुआब्जाको टुंगो लगाएको भए पनि स्थानीयवासीले अहिलेसम्म रकम बुझ्न नमानेका कारण समस्या थपिएको छ । “स्थानीय शान्तिबजारदेखि त्रिशूली थ्री बी हबसम्मको भागमा १३२ केभीका छवटा टावर निर्माण गर्नुपर्छ तर स्थानीयवासीको विरोधका कारण फाउण्डेसनको कामसमेत शुरु गर्न सकिएको छैन”, आयोजना प्रमुख जोशीले भने । यस्तै चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य ६० प्रतिशत सकिएको छ । आयोजना सन् २०१९ को डिसेम्बरमा सक्ने लक्ष्य राखिएको छ । तर आयोजनास्थलदेखि चिलिमे हवसम्म निर्माण गर्नुपर्ने प्रसारण लाइन र चिलिमे हवदेखि त्रिशूली थ्री बीसम्म निर्माण गर्नुपर्ने प्रसारण लाइन निर्माणको काम अगाडि बढ्न सकेको छैन । कूल १११ मेगावाट क्षमताको सो आयोजनाले केही समय पहिलेमात्रै सीमित साधारण शेयरसमेत निष्काशन गरिसकेको छ । आयोजनाका प्रमुख माधव कोइरालाले आयोजनाको पछिल्लो अवस्था र भोग्नुपरेको समस्याका बारेमा मन्त्री पुन, सचिव उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई जानकारी गराएका थिए । यस्तै चिलिमे कम्पनीकै सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो साञ्जेन १४ दशमलव ८ मेगावाट र साञ्जेन ४२ दशमलव ५ मेगावाट क्षमताका दुई आयोजना निर्माणका क्रममा छन् । आयोजना प्रमुख किरण श्रेष्ठले आयोजनाको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै प्रसारण लाइन निर्माणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्। मन्त्री पुनसहितको उच्चस्तरीय टोलीले आयोजना प्रमुख, निर्माण व्यवसायी, परामर्शदाता र स्थानीय जनप्रतिनिधिसँग संयुक्त छलफल गरी आयोजना तोकिएको समयमा निर्माण सक्नुपर्नेमा जोड दिएको थियो । मन्त्री पुनले भने, “आयोजना तोकिएको समयमा पूरा हुनुपर्छ, समस्या भए सरकारलाई भन्नुहोस्, समाधान गर्न तयार छ, कुनै पनि बहानामा आयोजना रोकिनु हुँदैन ।” ऊर्जा सचिव उपाध्यायले आयोजनाको महत्वलाई आत्मसात् गरेर काम गर्न सम्बद्ध पक्षलाई आग्रह गरेका छन् ।प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजनालाई तोकिएको समयमा पूरा गराउन प्राधिकरणका तर्फबाट हरसम्भव प्रयास गरिएको र कुनै समस्या देखिए तत्काल समाधान गरिने गरिएको बताए । रासस

ध्रुव अधिकारीको नेतृत्वमा नेपाल कुराँश संघ गठन

काठमाडौं । नेपाल कुराँस संघ गठन भएको छ । प्रथम साधारण सभाले ध्रुवराज अधिकारीको नेतृत्वमा कार्य समिति चयन गरेको हो ।  कुराँश खेल मार्सट आर्टको एउटा बिधा अन्तर्गत पर्छ । राष्ट्रिय खेलकुद परिषदमा दर्ता भैसकेको संघको बरिष्ठ उपाध्यक्षमा जीवन राई चयन भएका छन् भने सचिवमा हरिराम ढुंगाना निर्वाचित भएका छन् ।सदस्यहरुमा भने सञ्जिव गुरुङ, यसु लामा र पद कुँवर निर्वाचित भएका छन् । उज्वेकिस्तानबाट सुरु भएको कुराँश खेल पछिल्लो समय संसारभर लोकप्रिय बन्दै गैरहेको छ । नेपालमा पनि कुराँश खेलको विकासका लागि संघ गठन गरिएको नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष जीवन राईले बताए ।

मन्त्री यादवले भने- नचलाइएका उद्योग राष्ट्रियकरण र चलिरहेकालाई सहयोग गर्छौ

चितवन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताएका छन् । चितवनमा शनिबार आयोजित एक पत्रकार सम्मेलनमा उनले चलिरहेका उद्योगलाई भने सरकारले सहयोग गर्ने बताए । मन्त्री यादवले भने, “जतिपनि उद्योगधन्दा निजी क्षेत्रलाई दिइएको छ, तिनीहरुको रिपोट तयार गर्दैछौं । जतिले चलाएको छ उनीहरुलाई सहयोग गर्छौ जसले चलाएको छैन तिनीहरुको बारेमा ठोस् निर्णय गर्छौ त्यो राष्ट्रियकरण हो ।” सरकारले निजीकरण गरेका कतिपय उद्योग चलाउन भन्दा पनि व्यापार भइरहेको भन्दै उनले साइनबोड झुड्याउने, त्यसको नाममा व्यापार गर्ने बताएका छन् । विगतमा राष्ट्रिय उद्योग धन्दा बेचेर खाने प्रचलन बढेको भन्दै उनले भने, “त्यसलाई विकास गर्ने, चलाउने भन्दा पनि बेचेर खाने गरियो, नेतालाई पनि कमिसन आउँछ मिहेनत नै गर्नुपर्दैन, बेचेपछि कमिसन आइहाल्छ ।” खुल्ला बजार र निजीकरण, उदारीकरणको गलत प्रयोग भएको भन्दै मन्त्री यादवले धरातलमा टेकेर प्रयोग नभएको विचार व्यक्त गरेका छन् । उनले सरकारी धन देखेपछि जस्ले पनि लुट्न खोज्ने भन्दै अलिकति खाइहालौँ भन्ने मानसिकता हामी सबैमा भएकाले उद्योग फस्टाउन नसकेको बताएका छन्। मन्त्री यादवले सरकारले केही नयाँ उद्योग शुरु गर्ने भन्दै त्यसमा आम जनता र विदेशीको पनि लगानी हुनसक्ने बताएका छन् । निकट भविष्यमै फलामको उद्योग शुरु गर्ने भन्दै उनले अन्य उद्योग क्रमश थप्दै लगिने बताए । साथै, उनले जनताको जनादेश पार्टी एकता भएकाले नेकपा एमाले र माओवादी बीचको एकता आवश्यक रहेको बताएका छन् ।

नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण

काठमाडौँ । धितोपत्र बजारमा यस साता ४ अर्ब ६९ करोड ६१ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडका अनुसार यस साता कूल १८२ कम्पनीको १ करोड १ लाख ८५ हजार कित्ता सेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १४.८६ प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको ४ अर्ब ८ करोड ८७ लाख ५७ हजार बराबरका ८८ लाख ५९ हजार ४१० कित्ता सेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८१.२७ अंकले घटेर अन्तिम दिन १३५७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १७ अंकले घटेर २८७ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको १९ करोड १५ लाख १० हजार बराबरको शेयर कारोबार भएको स्टकले जनाएको छ । चालु आर्थिक वर्षको ९ महिनामा राम्रो नाफा गरेपछि प्रतिफल पाइने आशामा लगानीकर्ताले नेपाल बैंकको सेयर किनेका हुन् । ९ महिनामा बैंकले २ अर्ब ५६ करोड रुपैयाँ खुदनाफा गरेको छ । यस्तै बैंकको सेयर सस्तो भएको र जोखिम पनि न्यन देखिएपछि नेपाल बैंकको सेयर बढी कारोबार भएको ब्रोकरको भनाई छ । बैंकले सर्वसाधारणलाइ लक्षित गरी थप निष्कासन (एफपीओ) ल्याउदै छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको ७ लाख २४ हजार कित्ता सेयर कारोबार भएको छ । रासस  

पूर्वाधारमा एक करोड ५० लाख बढी लगानी, पर्यटनकाे विकासमा जाेड

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले सौराहा र कुमरोजको पर्यटनलाई जोडेर पर्यटन पूर्वाधार विकासमा लगानी बढाएको छ । खैरहनी नगरपालिकाको धेरै क्षेत्र पर्यटकीय सम्भावना बोकेकाले यसतर्फ ध्यान केन्द्रित गरी पर्यटन पूर्वाधारमा लगानी बढाएको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिएका छन् । उनका अनुसार अहिले पहिलो चरणमै नगरपालिकाले यहाँका विभिन्न क्षेत्रको पर्यटकीय पूर्वाधारको विकासका लागि एक करोड ५० लाख रुपैयाँभन्दा बढी लगानी गर्न लागेको छ । पर्यटकलाई एकरात खैरहनीमै राख्ने योजनाका साथ पर्यटन पूर्वाधारमा लगानी बढाइएको हो । केही योजना शुरुसमेत भइसकेका छन् । “कतिपय कार्यक्रम शुरु भए, कतिपय शुरु हुन बाँकी छ, नगरप्रमुख चौधरीले भने, अब एकदिन पर्यटकको बास खैरहनीमै राख्ने गरी पर्यटकीय पूर्वाधार बनाइन्छ ।” चितवनको खैरहनी नगरपालिकाको कुमरोज क्षेत्र सौराहापछिकै पर्यटकीय केन्द्रका रुपमा विकास भइरहेको छ । पर्यटकले सौराहामा पाउने मनोरञ्जन लगभग सबै कुमरोजमा नै पाइने कुमरोज वनका अध्यक्ष हिराबहादुर गुरुङ बताउँछन् । त्यसैले सौराहासँग जोडेर खैरहनीको कुमरोज, कठार लोथर र कंकालीकोटसम्मको पर्यटक पूर्वाधार विकासमा खैरहनी नगरपालिका लागेको छ । नगरपालिकाले दिएको जानकारीअनुसार पूर्वी चितवनको कंकाली क्षेत्रमा यसअघि निर्माण भएको वनभोज स्थलको स्तरोन्नति गरी पर्यटकीय पूर्वाधार निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएकोे छ । यहाँ भइरहेको संरचनालाई मर्मत सम्भार गरी आकर्षक पार्क बनाइने नगरप्रमुख चौधरीले बताए । यस्तै ५९ लाख रुपैयाँमा कंकाली सामुदायिक वनको माथि दुईवटा भ्यू टावरसमेत बनाइँदै छ । कंकाली पार्कबाट कंकालीगढी जानका लागि पर्यटकलाई आगामी वर्ष घोडा सयर गराउने योजना रहेको चौधरी बताउँछन् । कंकाली र अजिङ्गरे क्षेत्रमा आकर्षक पोखरीसमेत निर्माण गरेर डुंगा सञ्चालन गर्ने योजनासमेत खैरहनी नगरपालिकाले अघि सारेको छ । पर्यटकीय क्षेत्र कुमरोजमा अहिले पनि पर्यटकले हात्ती, जिप तथा डुंगा सफारीमा पर्यटक रमाउँदै आएका छन् । यहाँ आएका पर्यटक बाघ, गैँडा, हात्ती, चित्तललगायत संरक्षित वन्यजन्तु अवलोकन गर्न सक्छन् भने राप्ती नदीमा डुंगा सयर गरेर सुतिरहेका गोही र पानी खान आएका वन्यजन्तु सजिलै देख्न सक्छन् । कुमरोजमा अझै पर्यटकीय पूर्वाधार विकासका लागि भनेर अहिले खैरहनी नगरपालिकाले ४० रुपैयाँ लाख बजेट विनियोजन गरेको छ । उक्त रकमले टावर निर्माण गरिने छ । यहाँ रहेको बोटे ताल र दराई तालको पुनःनिर्माणका लागि १० लाख रुपैयाँ बजेट छुट्याइएको नगरपालिकाले जानकारी दिएको छ । यस्तै कठारको कुचकुचे मध्यवर्ती सामुदायिक वनमा समेत पर्यटन प्रवद्र्धनका लागि जिप सफारी शुरु भइरहेको नगरप्रमुख चौधरीले बताए । अब कुमरोज, कुचकुचेर कंकालीलाई जोडेर खैरहनीको पर्यटकमा नयाँ आयाम थपिने विश्वास नगरपालिकाको छ । पूर्वाधार निर्माणपछि खैरहनीले होमस्टेको विकासमा ध्यान दिने जनाइएको छ । हाल पनि चितवनको कुमरोज, कठार क्षेत्रमा दुई दर्जन होमस्टे सञ्चालन भइसकेका छन् । बूढीराप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिनाले यहाँको होमस्टेमा पर्यटक आएर बस्ने गरेको बताएका छन्। कुमरोजमा ठूला होटल निर्माणको क्रमसमेत शुरु भएकाले पर्यटकीय गतिविधि बढ्दो रहेको कुमरोज वनका अध्यक्ष हिराबहादुर गुरुङले जानकारी दिए । उता जिप सफारी र शुरु भएपछि कठार क्षेत्रमा समेत पर्यटकीय चहलपहल बढेको स्थानीय संरक्षणकर्मी एवं नेचर गाइड रामेश्वर चौधरीले बताए । रासस

शनिबार मात्रै उपत्यकाबाट ३४ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं । शनिबार(आज) उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३४ मेट्रिक टन फोहर व्यवस्थापन भएकाे छ। वाग्मती सफाइ महाअभियानको २५९औँ हप्तामा आज सिनामंगलअघिको नदी क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाईलगायत संस्थाका गरी २५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियन्ता माला खरेलले जानकारी दिए । सफाइमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलगायतका अभियानकर्मीको सहभागिता थियो । वाग्मती सफाइमा ब्लु क्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२०औँ हप्ताको कार्यक्रमअन्तर्गत आज कागेश्वरी मनोहरा नगरपालिकास्थित कोलमतेश्वर महादेव मन्दिर र त्यसअघिको नदी किनारमा सफाइ गरियो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले बताए । फोहर गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन गर्यो । सफाइमा पुडासैनीमैत्री समाज, राम्रो जोरपाटी, हाम्रो जोरपाटीलगायत स्थानीयवासी गरेर १०० भन्दा बढीको सहभागिता थियो । सफाइमा कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख बिन्दु सिम्खडा, विभिन्न विद्यालयका विद्यार्थीको पनि सक्रिय सहभागिता थियो । रुद्रमती सफाइको २१४औँ हप्तामा रातोपुलबाट सेतोपुलसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायतको संस्थागत सहभागिता थियो । सफाइमा २०० भन्दा बढी अभियन्ता सक्रिय थिए । तिलगंगाखण्डको वाग्मती सफाइको १६२औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सो अवसरमा घर घरमा गएर जनचेतनामूलक अभियानसमेत गरिएको थियो । विष्णुमती सफाइ अभियानको १८६औँ हप्तामा टोखा र तारकेश्वर नगरपालिकाको सीमास्थित मनमैँजु पुल क्षेत्र सफाइ गरियो । आजको सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता अनिल धरेलले जानकारी दिएका छन् । चक्रपथ सफाइको ५५औँ हप्तामा आज तिलगंगाबाट गौशालासम्म सफाइ गरियो । सफाइमा क्रममा सडक र सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा पनि भत्काइयो । तिलगंगा आँखा केन्द्रले सार्वजनिक जग्गा मिचेर बनाएको टहरा भने आजैदेखि आफैँ भत्काउन शुरु गरेको सफाइ संयोजक लोकबहादुर टण्डनले बताए । सफाइ शुरु गर्ने समयमा पानी परे पनि आजको चक्रपथ सफाइबाट १८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको जनाइएको छ । काठमाडौं महानगरपालिका वडा नं ३१ स्थित आलोकनगर सफाइको ५५औँ हप्तामा मातृशक्ति सफाइ समूहले डष्टबिन व्यवस्थापन, घरदैलो जनचेतनामूलक अभियान सञ्चालन गर्यो । वर्षाद्सँगै गरिएको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक प्रमिला पौडेलले जानकारी दिएका छन् । चक्रपथ बाफल खण्ड सफाइको ३७औँ हप्तामा सीतापाइलाचोकमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशका ४५ भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भएको छ । रासस

राष्ट्रिय वाणिज्य बैंकले कमायो सबैभन्दा बढी नाफा, ९ महिनामै ३ अर्ब ८ करोड

काठमाडौं । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ । जुन रकम अघिल्लो वर्षको तुलनामा एक अर्ब रुपैयाँ बढी हो । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ७ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणका अनुसार बैंकको ब्याज आम्दानी बढेर ८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १९ करोड रुपैयाँ रहेको छ । गत त्रैमासमा बैंकले ५ अर्ब ३२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । त्यस्तै, बैंकको कूल निष्क्रिय कर्जा घटेर १३५.४५, कर्जा/स्वदेशी निक्षेप तथा प्राथमिक पूँजी अनुपात (सीसीडी रेसियो) ७३.६२ र आधार ब्याजदर ६.२०० प्रतिशत रहेको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । हाल कम्पनीले एक खर्ब ५३ करोड रुपैयाँ निक्षेप परिचालन गरी एक खर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।