विकासन्युज

सेञ्चुरी कमर्सियल बैंकको क्यालेन्डर बिमोचन

काठमाडाै‌ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २०७५ सालको क्यालेन्डर चैत्र शुक्रबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठका साथमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईद्वारा बिमोजन गरिएको छ । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको जनाइएको छ । बैकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ गरि कुल १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जानकारी दिएको छ ।

झारलाङ र रिगाँउ गाविसमा स्थानीय बाटो निर्माणको लागि ३ करोड ३१ लाख वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हङ्गर लाइफको सहकार्यमा चैत्र ११ देखि १८ गतेसम्म नगद वितरण कार्यक्रमको आयोजना गरेको थियो । विशेष गरि भुकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापतको कामका लागि नगद वितरण योजना अन्तर्गत नगद भुक्तानी गरिएको हो । धादिङ जिल्लाको झारलाङ र रिगाँउ गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरी बैंकले २ हजार ६५० परिवारलाई ३ करोड ३१ लाख १४ हजार वितरण गरेको छ । बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको भनाइ छ ।

सरकारी कम्पनीको सिटामोल बजारमा, पहिलो दिन बिरअस्पतालले किन्यो ३० हजार ट्याब्लेट

काठमाडौं । सरकारी स्वामित्वको कम्पनी नेपाल औषधी लिमिटेडले सात वर्षपछि उत्पादन गरेको सिटामोल शुक्रबारबाट बजारमा ल्याएको छ । करिब डेढ महिनाअघिदेखि कम्पनीले सिटामोलको उत्पादन सुरु गरेको थियो । कम्पनीले ५ लाख ट्याब्लेट तयार गरेपश्चात मात्रै बजारमा बिक्रीको लागि सार्वजनिक गरेको कम्पनीका महाप्रबन्धक डा.रोभस कुसम सुवेदीले बताए । ‘बजारमा सरकारी सिटामोलको माग अत्यधिक रहेको कारणले ५ लाख ट्याब्लेट उत्पादन गरिसकेपछि मात्र बिक्री शुरु गरेका छौं,’ उनले भने ‘अर्को ५ लाख ट्याब्लेट तयारी हुने अबस्थामा छ ।’ शुक्रबार बिर अस्पताललाई औषधी बिक्री गरेता पनि मुलकभर आइतबारदेखि मात्रै बिक्रीको लागि लैजाने उनको भनाइ छ । उनले मुलकभर रहेका औषधी स्टकीसहरुसँग बिक्री सम्बन्धमा कुरा भइरहेको जानकारी दिए । प्रतिट्याब्लेट सिटामोलको बजार मुल्य कम्पनीले तोके अनुरुपको १ रुपैयाँमा रहेको छ । पहिलो चरणमा सिटामोल उत्पादन गरेको कम्पनीले आगामी दिनहरुमा आइरन चक्की, भिटामिन, कोडिन, खोकी, पिसाब लगायतका ८ भन्दाबढी थरी औषधी ट्याब्लेट उत्पदान गर्ने कम्पनीको योजना छ । पछिल्लो समय कम्पनीले दैनिक ३ लाख २० हजार ट्याब्लेट सिटामोल उत्पादन गर्न सक्ने क्षमताको उपकरण जडान गरेको छ । उक्त उपकरण जडान गरेसँगै सिटामोल उत्पादन शुरु गरेको हो । २०२९ सालमा स्थापना भएको कम्पनी २०६६ सालमा पूर्ण रुपमा बन्द भएको थियो । यसै वर्ष वैशाख २४ गते तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा कम्पनीले जीवन जलको उत्पादन सुरु गर्दै पुनःसञ्चालनमा आएको हो ।

कलेज पढ्ने १५ हजार केटीहरुले गरे गर्भपतन, बाँझोपनकाे जोखिम अधिक

काठमाडौं । २० वर्षभन्दा कम उमेरमा छोरीको विवाह गर्नु स्वास्थ्यको लागि हानिकार हुन्छ भनेर स्वास्थ्यकर्मीहरु, महिला अधिकारकर्मीहरुले बताउँदै आएको हामी धेरैले सुनेकै छौं । तर धेरैलाई थाहा छैन कि २० वर्षभन्दा कम उमेरमा नै यौन सम्पर्क गर्ने, गर्भधारण गर्ने र गर्भपतन गर्ने युवतीहरुको संख्या कहाली लाग्दो ढंगले वृद्धि भईरहेको छ । एक वर्ष अवधिमा स्कूल र कलेज बढ्ने उमेरका २० वर्ष मुनिका करिव १५ हजार केटीहरुले गर्भपतन गर्ने गरेको सरकारी आँकडाले देखाएको छ । स्वास्थ्य सेवा विभागको तथ्याङ्क अनुसर नेपालमा आर्थिक वर्ष २०७२÷७३ को १४ हजार ६ सय ९९ जना केटीहरुले २० वर्ष नपुदै गर्वपतन गराएका थिए । त्यसमा ७ हजार ३ जना केटीहरुले औषधी प्रयोग गरी गर्भ तुहाएका थिए भने ७ हजार ६ सय ९६ जना केटीहरुले शैल्यक्रिया गरी गर्भ फालेका थिए । यसरी गर्भपतन गराउँदा महिलामा रक्त अल्पता, सेतो पानी बग्ने, बाँझोपन हुने, तल्लो पेट दुख्ने, कमजोर हुने जस्ता समस्या आउने गरेको काठमाडौँ जिल्ला जनस्वस्थ्यका सूचना अधिकारी पुस्कर विजुक्षे बताउछन् । सबै भन्दा धेरै गर्भपतन काठमाडौँ जिल्लामा गराइन्छ । विभागका अनुसार काठमाडौंमा उक्त एक वर्षमा ४ हजार ७ सय १७ जना केटीहरुले २० वर्ष नपुदै गर्भपतन गराएका थिए । जसमा २ हजार ७ सय ८१ जनाले औषधी प्रयोग गरेका थिए भने १ हजार ९ सय ३६ जनाले अप्रेसन मार्फत गर्वपतन गराएका थिए । दाङ जिल्लाका १ हजार ६ सय २९ जना केटीहरुले २० वर्ष नपुदै गर्भपतन गराएका थिए भने सर्लाही जिल्लाका ८ सय १ जना केटीहरुले २० वर्ष नपुदै गर्वपतन गराएका थिए । ६ वटा जिल्लामा २० वर्ष मुनिका केटीहरुले गर्वपतन नै गराएका छैनन् । रुकुम, बझाङ, मुस्ताङ, मनाङ, तेह्रथुम र रसुवामा कसैले पनि गर्भपतन गराएका थिएनन् । सुरक्षीत गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो । नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० ले १२ हप्तासम्मको गर्भ ‘गर्भवती महिला’को मञ्जुरीमा पतन गर्न सकिने व्यवस्था गरेको छ । त्यस्तै, महिलको स्वास्थ्यमा असर र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भ फाल्न पाइने व्यबस्था छ । लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिविना र १२ हप्ताभन्दा बढिको गर्भपतन गराउन कानूनले बन्देज लगाएको छ । अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ । सकेसम्म गर्भ रहन नदिनको लागि यौन सम्पर्कको समयमा परिवार नियोजनका अस्थायी र स्थायी साधनहरुको प्रयोग स्वाथ्यकर्मीहरुले सुझाव दिने गरेका छन् । गर्भपतन गरेको १० दिन भित्र तुरुन्तै अर्को गर्भ रहनसक्ने सम्भावना भएकोले गर्भपतन गरिसकेपछि तत्काल परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्ने चिकित्सकहरु बताउछन् । असुरक्षा र अज्ञानता असुरक्षित यौन सम्पर्क र गर्भपतन गम्भिर समस्याको रुपमा अगाडि आईरहेको बताउँछिन् महिला अधिकारकर्मी एवं वरिष्ठ अधिबक्ता मिरा ढुंगाना । सुरक्षा व्यवस्था कमजोर भएकोले बलजफ्ती करणी बढेकोले र गर्भपतन पनि बढेको उनले बताइन् । समाजमा अरु धेरै कुरा कुलेर हुने भएपनि अझै स्कूल, कलेज र परिवारमा यौन शिक्षाको विषयमा खुलेर छलफल गर्ने अभ्यास नभएकोले पनि समस्या बढेको उनी बताउँछिन् ।

यसरी गरियो प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीमा स्वागत (भिडीयोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको त्रिदिवसीय राजकीय भ्रमणका क्रममा नयाँदिल्ली आइपुग्नुभएको छ । उनलाई  इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र अर्थराज्यमन्त्री प्रताप शुक्लाले स्वागत गरेका छन् । नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मी र नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीलगायतले स्वागत गरेका थिए।   भिडीयो  

हिमाली जिल्लामा हवाई टिकट पाउन हप्ता दिन कुर्नुपर्ने बाध्यता

काठमाडौं । दुर्गम हिमाली जिल्लामा यातायातको एकमात्रको विकल्पको रुपमा रहेको हवाइ सेवाको टिकट पाउन हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले गुनासो गरेका छन् । अहिले जुफाल विमानस्थलमा हवाई नियमित उडान गरिरहेका सीता र गोमा एअरले झन्डै दुई सातादेखि पश्चिम उडान बन्द गरेर पूर्व उडान शुरु गरेपछि जुफाल विमानस्थलमा हवाई टिकट पाउन कठिनाइ भएको छ । जुफाल विमानस्थलमा सर्वसाधारणलाई हवाई टिकेटको समस्या बड्दो छ, पहुँच र भनसुनको आधारमा हवाई टिकट बाँड्ने परिपाटीले सर्वसाधारणलाई हरेक दिन समस्या हुने गरेको बुटवल निवासी गोपाल पौडेलले बताए । लामो समयसम्म सदरमुकाम दुनैमा रहेको निर्दन उत्थान बैँकमा काम गरेर सरुवा भएपछि घर फर्कन थाल्नुभएका पौडेललाई पनि टिकट नपाएर जुफाल विमानस्थलमा तीन दिन रोकिनुप¥यो । जुफाल विमानस्थलमा नियमअनुसार जो अगाडि आउँछ त्यसैलाई प्राथमिकता दिनुका साथै फोनबाट टिकट ‘बुक’ गराउने परिपाटिको अन्त्य गरेपछि मात्र सर्वसाधारणलाई सहज हुने उनको बुझाइ छ । सीता र गोमा एअर सेवामुखी भन्दा नाफामुखी भएकाले जुफाल विमानस्थलमा यात्रको चाँप भएको बेला पूर्वतिर उडान गर्ने गरेकाले सीता र गोमा एयरप्रति डोल्पालीले आपत्ति जनाएका छन् । “अहिले जुफाल विमानस्थलमा यात्रुको चाप छ, उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बिरामी पनि बढेका छन् सीता र गोमा एयर भने हप्तामा नियमित उडानसमेत गर्न छोडेर पूर्वतिर उडान शुरु गरेको छ” ठूलीभेरी नगरपालिका–९ का स्थानीयवासी अमर कठायतले भने । उडान थप्न दुई मन्त्रीलाई माग हवाई टिकटको समस्या भएपछि जिल्लाबाट प्रदेश नं ६ मा मन्त्री बन्नुभएका कृषि, वन, उद्योग वातावरण तथा पर्यटनमन्त्री नन्द सिंह बुढा र संस्कृति नागरिक उड्डयन पर्यटन राज्यमन्त्री धनबहादुर बुढासँग पनि जिल्लावासीले सहजरुपमा हवाई उडान सुचारु गर्न अनुरोध गरेका छन् । “डोल्पामा हवाई यातायातको विकल्प छैन्, जाजरकोट डोल्पा मोटरबाटो निर्माणाधीन छ, डोल्पामा सडक यातायातको पहुँच विस्तार नहुञ्जेल सम्मको लागि हवाई टिकटमा सिण्डिकेट घटाउनेदेखि सरकारी तथा निजी विमान कम्पनीलाई नियमित उडान गराउन मन्त्रीहरुले विशेष पहल गर्नुपर्छ” त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीयवासी पूर्णकेशर न्यौपानेले भने । नेपाल एयरलाइन्स, सीता गोमा एयरले गर्दै आएको नियमित उडान समेत घटाएकाले हवाई टिकटको समस्या दिनप्रतिदिन बड्दै गएको हो । सरकारी विमान कम्पनी नेपाल एयरलाइन्सले पनि हप्तामा दुई पटक गर्ने उडान घटाएर एउटा बनाउँदा सर्वसाधारणलाई झनै समस्या भएको छ । उडान कम भएपछि जुफाल विमानस्थलमा यात्रुको चाप बढ्दै गएको नागरिक उड्डयको कार्यालयले जनाएको छ । जुफाल विमानस्थलमा तारा एयर जस्तै नियमित उडान गर्न सीता, गोमा एयरलाइन्सलाई पनि डोल्पालीले आग्रह गरेका छन् । सडक यातायातको पहुच नभएको डोल्पामा जिल्ला बाहिर जानका लागि हवाई यातायात नै प्रयोग गनुपर्ने बाध्यता छ । रासस

३० सचिवको सरुवा, अर्थमा ल्याइए राजन खनाल

काठमाडौं । सरकारले ४ जना सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयमा राजन खनाललाई ल्याएको छ । खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए । यस्तै राजश्व सचिव शिशीरकुमार ढुङानालाई यथावत राखिएको छ। गृह मन्त्रालयमा प्रेमकुमार राई, र युवाखेलकुदमा मोहनकृष्ण सापकोटलाई सरुवा गरेको छ । अर्थमा रहेका शंकर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । यस्तै सञ्चार मन्त्रालयमा सचिवमा महेन्द्र गुरुङलाई सरुवा गरिएको छ । भौतिक पुर्वाधारका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रष्ट र नेपाल ट्रष्टका अर्जुनकुमार कार्कीलाई राष्ट्रिय पुननिर्माण प्राधिकरणमा ल्याइएको छ । भौतिकमा प्राधिकरणका सचिव मधुसुदन अधिकारीलाई पठाएको छ । अर्थमा रहेका शंकर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । आफनो काम सहज बनाउन मन्त्रिहरुको शिफारिशमा सचिवको सरुवा गरिएको हो । कुन सचिवको कता सरुवा प्रेमकुमार राई –गृह मन्त्रालय मोहनकृष्ण सापकोटा –युवा तथा खेलकुद खगराज बराल –शिक्षा महेन्द्रमान गुरुङ –सूचना तथा सञ्चार राजन खनाल –अर्थ मधुसुदन मैनाली –भौतीक पूर्वाधार तथा यातायात राजीव गौतम –कानून महेश दाहाल –श्रम तथा रोजगार अर्जुन कार्की –राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पर्यटन – कृष्णप्रसाद देवाकोटा, यथावत सामान्य प्रशासन र संघीय मामिला तथा स्थानीय यथावत डा. युवकध्वज जीसी –कृषि विष्णु ओली –वन लक्ष्यमण मैनाली –प्रधानमन्त्री कार्यालय विष्णु लम्साल –रक्षा मन्त्रालय सरच्चन्द्र पौडेल –योजना आयोग

जगदम्बाले सिमेन्ट उत्पादन दोब्बर बनायो, तेस्रो उद्योग सञ्चालमा ल्याएर दैनिक १ लाख १० हजार बोरा पुर्याउने

काठमाडौं । जगदम्बा ग्रुपले सिमेन्ट उत्पादन विस्तार गरी दोब्बर बनाउने भएको छ । सञ्चालनमा आउन लागेका ठुला सिमेन्ट उद्योगसंग प्रतिस्पर्धा गर्न जगदम्बाले सिमेन्ट उत्पादन थप्न लागेको हो । ग्रुपअन्तर्गतको शुभश्री जगदम्बा सिमेन्टले दैनिक ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने ग्रुपका सिनियर ब्राण्ड म्यानेजर जगन्नाथ दाहालले बताए । उनका अनुसार यसअघि उद्योगले  दैनिक ४५ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको थियाे । सिमेन्ट उत्पादन बढाउन उद्योगले नयाँ विदेशी प्रविधिको जडान गरेको छ । विश्वकै उत्कृष्ट युरोपियन ‘एफएल स्मिथ’ कम्पनीबाट भर्टिकल रोलिङ मिल ‘भिआरएम’ प्रविधि भित्रयाइ सञ्चालनमा ल्याएको दाहालले जानकारी दिए । पूर्ण रुपमा प्रविधि सञ्चालन भएपश्चात उद्योगले दैनिक ८० हजार बोरा सिमेन्ट उत्पादन हुने उनको भनाइ छ । ‘नयाँ प्रविधि सञ्चालनमा ल्याएको २ साता नाघिसकेको छ,’ उनले भने ‘उक्त प्रविधि सञ्चालनमा आएसँगै सिमेन्टको उत्पादन तथा गुणस्तर बृद्धि हुन थालेको छ ।’ उनका अनुसार १/२ महिनाभित्रै पूर्ण क्षमतका साथ लक्ष्यअनुसार सिमेन्ट उत्पादन हुनेछ । पहिलेदेखि सञ्चालित उद्योग हाताभित्रै जगदम्बाले आफ्नो नविन प्रविधि सञ्चालनमा ल्याएको हो । पहिले कम्पनीले प्रतिदिन ४५ हजार बोरा मात्रै सिमेन्टको उत्पादन गर्दै आएको थियो । नयाँ प्रविधि जडानसँगै उत्पादन झण्डै दोब्बर हुने भएको हो । ‘भिआरएम’ प्रविधिमार्फत उत्पादित सिमेन्ट गुणस्तरीय हुनका साथै कुनै पनि संरचनाको पकड शक्ति समेत मजबुत हुने कम्पनीको दाबी छ । कम्पनीको अनुसार पुरानो प्रविधिको तुलनामा विद्युतको खपत निकै कम गर्ने ‘भिआरएम’ प्रविधि वातावरणमा प्रदुषण नफैलाउने किसिमको छ । नेपाली सिमेन्ट उद्योगको क्षेत्रमा लगानी बृद्धि गर्दै नवीन अत्याधुनिक प्रविधिको प्रयोग शुरु गरेको उनले बताए । मुलुकमा हाल भइरहेको पुनर्निर्माणसँगै सिमेन्ट लगायको निर्माण सामाग्रीको अत्यधिक मागलाई मध्यनजर गर्दै कम्पनीले उक्त प्रविधि प्रयोग गर्न शुरु गरेको उनकाे भनाइ छ । उनका अनुसार प्रविधि वातावरणमैत्री हुनकासाथै कम उर्जाको खपत गर्नमा सहयोगी रहेको छ । ग्रुपल तेस्रो सिमेन्ट उद्योग स्थापनाको योजनामा पनि अघि सारकेको छ । त्यसको लागि  कम्पनीले काम अघि बढाइसकेकाे छ । ‘त्यसमा पनि ‘भिआरएम’ प्रविधि नै राख्ने तयारी भइरहेको दाहालले जानकारी दिए । सोही प्रविधिद्वारा सुसज्जित तेस्रो उद्योगको उत्पादन आएसंगै जगदम्बा ग्रुपले उत्पादन बढाएर १ लाख १० हजार बोरा प्रतिदिन सिमेन्ट उत्पादन गर्ने भएकाे छ । नेपालमा पछिल्लो समय सिमेन्ट उत्पादनमा विदेशी लगानी समेत अाेइरिन थालेकाे छ ।  चीन र नेपाली संयुक्त लगानीमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने गरी होङसी सिवम् सिमेन्ट उद्योग आउदो बैशाखदेखि सञ्चालनमा आउदै छ । यो उद्योगले नेपालमा ३७ अर्ब रुपैयाँ लगानी गरेको छ । यस्तै चीनियाँ लगानीमा दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यकासाथ हुवासिन नारायणी सिमेन्ट उद्योग पनि सञ्चालनमा आउने तयारीमा छ । उक्त उद्योगले पनि १५ अर्ब रुपैयाँ वैदेशिक लगानी ल्याउने भएको छ ।