९०० मेगावाटको अरूण तेस्रो दिल्लीमा शिलान्यास लगत्तै निर्माण सुरू, २०७९ असाेजमा बत्ति बल्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका बेला समकक्षी नरेन्द्र मोदीसंग संयुक्त रूपमा अरूण तेस्रो जलविद्युत आयोजनाको सिलान्यास गरेपछि निर्माण औपचारिक रुपमा अगाडी बढ्ने भएको छ। भारत सरकारको स्वामित्वमा रहेको एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजना बनाउन लागेको हो । लगानी बोर्डले एसजेवीएनलाई विद्युत उत्पादन अनुमातिपत्र (लाइसेन्स) दिने तयारी थालेको छ । केही दिनभित्रै उसले विद्युत उत्पादनको लाइसेन्स पाउदैछ । जग्गा प्राप्ती, वन तथा सडकको समस्या हल भइसकेकाले आयोजना निर्माणमा समस्या नभएपछि प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला शिलन्यास हुन लागेको हो । भ्रमणको दोस्रो दिन चैत्र २४ गते हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा स्विच थिचेर अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।आयोजनाका केही कामहरू शुरू भइसकेको बताउँदै लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । उनकाअनुसार आयोजनामा ठेकेदार परिचालन भई बाँध र सुरुङको काम सुरु भइसकेको छ । यस्तै निर्माणस्थलमा निर्माण र प्राविधिक कामको पनि शुरूवात भइसकेको छ ।एसजेवीएनले आउँदो ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । एसजेविएनले आउँदो २०७९ असोजसम्म अर्थात सन् २०२२ को सेप्टेम्वरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको बाँध निर्माण काम शुरु भइसकेको एसजेवीएनका प्रमुख कार्र्यकारी अधिकृत (सीईओ) सतिशकुमार शर्माले जानकारी दिएका छन् । उनले यो महिनामा विद्युतगृह निर्माणको ठेक्का सम्झौता हुने बताए । शर्माकाअनुसार अर्को महिना हाइड्रोमेकानिकल, इलोक्ट्रोमेकानिकलको ठेक्कापट्टाको काम सकिने छ । आयोजना निर्धारित समयमा सम्पन्न हुने उनले जानकारी दिए । ४ लटमा आयोजनाको काम हुनेछ । भारत निकासीका लागि निर्माण हुन लागेको आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजनाबाट वार्षिक ४ अर्ब १ करोड ९० लाख युनिट बिजुली उत्पादन हुने सतलजले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) ले देखाएको छ । आयोजना प्रभावित स्थानियबासिन्दालाई १ अर्ब ६० करोड रुपैयाँको सेयर वितरण र मासिक ३० युनिट बिजुली निःशुल्क दिने छ । निर्माण अवधी बाहेक आयोजनाको अवधि २५ वर्ष रहेको छ । प्रभावित ६ गाविसमा एसजेवीएनले निःशुल्क विद्युतीकरण गर्नेछ । यस्तै आयोजनामा नेपाली बैंकले पनि ऋण लगानी गर्ने भएका छन् । एभरेष्ट बैंकले अरुण तेस्रो जलविद्युत आयोजनामा ऋण लगानी गर्ने भएको छ । एभरेष्टले ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्ने भएको हो । एभरेष्ट र आयोजनाको प्रवद्र्धक एसजेविएन बीच ऋण लगानी सम्झौता भएको छ । एभरेष्टले संखुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म ४ सय केभी क्षमताको १६८ किलोमिटर लामो प्रसारणलाइन बनाउन ऋण लगानी गर्ने सम्झौता गरेको छ । यो प्रसारणलाइनका लागि पञ्जाव नेसनल बैंकसँग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ । यस्तै नेपाली बैंकबाट थप ४ अर्ब ६ करोड रुपैयाँ ब्रिजलोन लिने छ । यसका लागि नेपाली बैंकसँग प्रस्ताव मागिसकेको छ । भारत सरकारले अरुण तेस्रोमा ९२ अर्ब रुपैयाँ लगानी गर्न एसजेवीएनलाई स्वीकृत दिइसकेको छ । विद्युत उत्पादनका लागि उक्त रकम लगानी गर्ने तयारी एसजेवीएनको छ । विद्युत उत्पादन प्याकेजका लागि भारतको पावर फाइनान्स कर्पोेरेशन र अन्य बैंकसँग छलफल चलिरहेको छ । आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश एसोसियट्स लिमिटेडले पाएको छ । प्याकेज १ अन्र्तगत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । प्रवद्र्धक एसजेवीएन र जेपीबीच नयाँदिल्लीमा ठेक्का सम्झौता भएको छ । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ ।भारत निकासीका आयोजना बन्न लागेको हो । आगामी २५ वर्षका लागि एसजेभीएनले अरुणको लाइसेन्स पाउनेछ । प्रतिस्पर्धाबाट सबैभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना पाएको हो । आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युतगृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।
सस्तो कर्जा चाहियो ? जानुस स्ट्याण्डर्ड चाटर्ड बैंक, न्युनतम् ८.३ देखि बढीमा ११.८ प्रतिशतमा पाइन्छ
काठमाडौं । महंगो कर्जाका कारण आफुले सोचेको व्यवसाय सञ्चालन गर्न समस्या परेको छ ? महंगो कर्जाका कारण काम नयाँ व्यवसाय सुरु गर्न अलमलमा परिरहनु भएको छ ? सस्तो कर्जा दिने बैंक खोजिरहनु भएको छ ? अब चिन्ता नलिनुस स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यवसाय गर्न सस्तोमा कर्जा दिने भएको छ । बैंकले बिहीबारदेखि न्युनतम ८.३ देखि ११ं.८ प्रतिशत ब्याजमा कर्जा दिने भएको छ । आधार ब्याजदर ५.८ मा प्रिमियम जोडेर नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले कर्जा तथा निक्षेपको नयाँ ब्याजदर योजना सार्वजनिक गर्दै सस्तोमा कर्जा दिने जानकारी दिएको छ । स्ट्याण्डर्ड चाटर्डले ल्याएको ब्याजदर सबैभन्दा सस्तो हो । हाल बजारमा ब्याजदर बढेर १४ प्रतिशत नाघेको छ । अधिकाँश बैंकको कर्जाको आधार ब्याजदर बढेर १० प्रतिशत माथि रहेको अवस्थामा स्ट्याण्डर्ड चाटर्डले सस्तो ब्याजमा कर्जा दिने भएको छ । बैंकले बिहीबारदेखि सवारीसाधन कर्जा (अटोलोन) न्युनतम् ८.८ देखि ११.८ प्रतिशत ब्याजमा दिनेछ । अटोलोनमा ५.८ प्रतिशत आधारदरमा प्रिमियम न्युनतम ३ देखि ६ प्रतिशत जोडेको छ । यसैगरी आवास कर्जा (होमलोन) न्युनतम् ८.३ देखि ११.३ प्रतिशतसम्म दिने छ । होमलोनमा पनि ५.८ प्रतिशत न्युनतम साढे २ प्रतिशतदेखि साढे ५ प्रतिशतसम्म प्रिमिय जोडेर ब्याज लिने जानकारी दिएको छ । घर बनाउन र सवारीसाधन किन्नलाई ११.८ प्रतिशत भन्दा बढी ब्याज तिर्नुपर्दैन । ओभर ड्राफट, आयात, टर्म लोन पनि ९.३ देखि अधिकतम् १२.३ प्रतिशतमा पाइने बैंकले जानकारी दिएको छ । बैंकको आधार ब्याजदर ( वेसरेट) सबैभन्दा सस्तो ५.८ प्रतिशत मात्र भएपछि कर्जा सस्तो भएको छ । अधिकाँश बैंकको आधार ब्याजदर १० प्रतिशत छ । नेपाल इन्भेष्टेमेन्ट, नविललगायत केही बैंकको आधार ब्याजदर १० प्रतिशत भन्दा तल छ । यस्तै बैंकले लिने निक्षेपको ब्याजदर कम भएपछि कर्जाको ब्याजदर सस्तीएको हो ।
लहानमा जेसीबीको आधिकारिक आउटलेट
काठमाडौं । नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सिराहाको लहानमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउने जनाइएको छ । निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको हो । नयाँ ‘एआरओ’को उद्घाटन प्रदेश नं २ का सांसद लगनलाल चौधरीले गरेका थिए । उद्घाटन कार्यक्रममा नयाँ ‘एआरओ’का प्रबन्ध निर्देशक धनवीर महतोले सहज सेवा दिने र यसमा कुनै सम्झौता नहुने बताएका थिए । उक्त नयाँ ‘एआरओ’बाट जेन्युइन पार्टस्को विक्री गरिने बताइएको छ । एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिनको संख्या बढिरहेका अन्य स्थानमा पनि एआरओ स्थापना गर्ने लक्ष्य लिएको छ । नेपालमा जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् ।
ग्लोबल आइएमई र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने
काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल मेडिसिटी अस्पतालबीच मंगलबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुई पक्षीय सम्झौता गरेको हो । उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल बीच हस्ताक्षर भएको थियो । सम्झौतापश्चात अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट क्रेडिट र डेबिट कार्ड लिएका बैैंकका ग्राहक तथा बैंकका कर्मचारी एंव कर्मचारीका परिवारले हस्पिटलले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्म छुट प्रप्त गर्ने व्यवस्था छ । यद्मपि, औषधी, उपभोग्य वस्तु, प्रयारोपण सामाग्री एंव चिकित्सकको परामर्श शुल्कमा भने छुट पाइने छैन । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १२० वटा शाखा, १२८ वटा एटीएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७९ वटा शाखा रहित बैंकिङ सेवामाफर्त आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
नेपाल खुला विश्वविद्यालयले शैक्षिक क्षेत्र विस्तार गर्दै, सातवटै प्रदेशमा जाने तयारी
काठमाडौं । नेपाल खुला विश्वविधालय देशका ७ वटै प्रदेशमा जाने भएको छ । प्रदेशमा कार्यक्षेत्र विस्तारका लागि विश्विद्यालयले आन्तरिक तयारी थालेको छ । पहिलो चरणमा विश्वविद्यालयले सरोकारवालासंग शैक्षिक कार्यको अभिमुखिकरण कार्यक्रम र प्रदेश स्तरमा स्थापना हुने प्रादेशीक अध्ययन केन्द्र स्थापनका लागि छलफल थाल्ने भएको छ । खुला विश्वविद्यालयका रजिष्ट्रार कमल ढकालले ७ वटै प्रदेशमा कार्यक्षेत्र विस्तारको तयारीमा लागेको जानकारी दिए । उनले कार्य क्षेत्र विस्तारमा जानुअघि सबै प्रदेशमा अन्तरक्रिया गरिने बताए । विश्वविद्यालयका लागि भवन वा जग्गा उपलब्ध गराउने बारेमा छलफल गर्ने पनि ढकालले सुनाए । खुला विश्वविद्यालयका प्रा.डा. लेखनाथ शर्माकाअनुसार पहिलो चरणमा ७ वटा प्रदेशमा अध्ययन केन्द्रहरु राखिने छ । त्यसमा विद्यार्थीहरुको चापलाई हेरेर सिकाई सहयोग केन्द्र पनि स्थापना गरिने उनले बताए । कुनै विद्यार्थीको नेटमा समस्या आएमा नजिकैको अध्ययन केन्द्र वा सिकाई केन्द्रवाट पेन्ड्राइपमा हालेर घरमानै लगेर समेत अध्ययन गर्न सकिने बताए । विश्वविद्यालयले पहिलो चरणमा समाजशास्त्र तथा शिक्षा र विज्ञान स्वास्थ्य तथा प्रविधि संकायमा स्नातकोत्तरसम्मका लागि भर्ना खुलाएको छ । सामाजिक तथा शिक्षा संकायअन्तर्गत डेढ वर्षका लागि अर्थशास्त्र, समाजशास्त्र र राजनीतिकशास्त्रका लागि एमफीलका लागि भर्ना खुलाएको छ । शिक्षातर्फ नेपाली, अंग्रेजी, स्वस्थ्य, शिक्षा, सामाजिक विज्ञान र गणितका लागि एमफीलका लागि भर्ना खुलाएको विश्वविद्यालयले जनाएको छ । यस्तै पोस्टग्राजुयट डिप्लोमा इन डिस्ट्यान्स एन्ड ई लर्निङ र डिप्लोमा इन लाइब्रेअरी एन्ड इन्फरमेशन म्यानेजमेन्टको एक वर्षे कोर्सका लागि पनि भर्ना खुलेको छ । विज्ञान संकयातर्फ आईसीटीमा एमफील र मास्टर्स इन ई गभरनेन्स दुई वर्षे कार्यकालका लागि भर्न खुला गरेको हो । विश्वविद्यालयले त्रिभुवनको भन्दा नयाँ कोर्ष सञ्चालनमा ल्याएको छ ।
नेपाली बजारमा वार्सटाइनर वियरको आगमन
काठमाडौं । वार्सटाइनर बियर जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज अन्तर्गतको राजब्रुअरी प्रालिको हाकुई नवलपरासी स्थित अत्याधुनिक फ्याक्ट्रीमा बुधबार औपचारिक रुपमा सार्वजनिक गरिएको छ । उक्त कार्यवक्रममा वार्सटाइनर ग्रुप बोर्डको प्रमुख थरिना क्रेमर तथा जर्मन प्रतिनिधि, राजब्रुअरी प्रालिका प्रतिनिधि, लगायतको उपस्थित रहेको जनाएको छ । कम्पनीले आफ्नो वितरण सञ्जालद्वारा उक्त वार्सटाइनर प्रिमियम बियर देशभरका बियर पारखीहरुमाझ उपलब्ध गराउने जानकारी दिएको छ । वार्सटाइनर ग्रुप जर्मनीको अग्रणी स्वतन्त्र ब्रुअरी रहेको हो । जो उत्कृष्ट बियर उत्पादन गर्न २६० बर्ष भन्दा पहिलेदेखि लोकप्रिय रहेको कम्पनीको भनाइ छ । वार्सटाइनर प्रिमियम बियर ६० भन्दा बढी अन्तर्राष्ट्रिय बजारहरुमा उपलब्ध छ ।
सोल्फी क्यामेरा २५ मेगापिक्सेलको ओपोको एफसेवेन सार्वजनिक हुदै
काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले आफ्नो सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ स्मार्टफोन एफसेवेन सार्वजनिक गर्ने तयारी गरेको छ । नवप्रबर्तनात्मक प्रविधिमा केन्द्रित नयाँ ओपो एफसेवेनमा नेपाली युवामाझ रहेको सेल्फी एक्स्पर्ट एण्ड लिडरको छवी अझ सुदृढ बनाउन अन्य अत्याधुनिक सुविधाहरु पनि समाहित गरेर कम्पनीले उक्त स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । कम्पनीका अनुसार अप्रिलभित्रै फोन सार्वजनिक गरिनेछ । सार्वजनिक हुन लागेको स्मार्टफोनमा २५ एमपी एआई ब्यूटी फ्रण्ट क्यामेरा र रियल टाइम एचडीआर प्रविधिका कारण ओपो एफसेवेनद्वारा खिचिएका फोटो उज्यालो तथा छायाँ परेको स्थान दुबै अवस्थामा चहकिलो तस्विर सम्प्रेषण गर्न सकिनेछ । सेल्फीलाई थप वास्तविक, प्राकृतिक र ब्यक्तिगत तवरमा आकर्षक बनाउने सोचका साथ ओपोले एफफाइभको माध्यमबाट एआई ब्यूटी रेगक्निशन प्रविधि सार्वजनिक गरेको थियो । यसलाई थप परिस्कृत गरी ओपो एफसेवेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० उपलब्ध गरिएको छ । फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज (एचडीआर) प्रविधि सहित २५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेराको प्रयोग हुने कम्पनीको भनाइ छ । यसमा एआई ब्यूटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी (एआर) स्टिकर्स समेत उपलब्ध गरिएको छ । नयाँ ओपो एफसेवेनले सेल्फीको गुणस्तरलाई नयाँ आयाम दिने मात्र नभइ सेल्फी लिने प्रकृयालाई थप रमाइलो र रोचक बनाउने कम्पनीको दावी छ ।
चीन र बंगलादेशसंग पीटीए गर्ने उर्जामन्त्रीको घोषणा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।थाइल्यान्डको बैंककमा आयोजित दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय इनर्जी फोरमलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा स्थायित्व र विकासको युग सुरु भएको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । उनले विगतको तुलनामा ऊर्जा तथा जलविद्युत विकासमा उल्लेख्य सुधार भएको दावी समेत गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले चीन र बंगलादेशसंग द्विपक्षीय विद्युत व्यापार तथा समन्वय प्रक्रिया सुरु भएको जानकारी दिएका थिए । उनले भारतसंग विद्युत व्यापार सम्झौता (पिटिए) भइसकेको जानकारी दिंदै अव वंङगलादेश र चीनसंग पनि छिट्टै उक्त सम्झौता हुने बताए । मन्त्री पुनले उर्जा तथा विद्युतको क्षेत्रमा चीनसहित सार्क र विमस्टेक स्तरमा क्षेत्रीय सहकार्य हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा मन्त्री पुनले क्षेत्रीय सम्बन्ध विस्तार, आर्थिक विकास र विद्युत उत्पादन विस्तार गर्न आवश्यक रहेको बताउनुभएको थियो ।‘हामीले भारतसंग पिटिए सम्झौता गरिसकेका छौ, अव चीन र बंगलादेशसंग पनि हामी पिटिए गर्ने तयारीमा छौ, यसबाट क्षेत्रीय विकासमा योगदान पुग्ने विश्वास हामीले लिएका छौं । ’ मन्त्री पुनले भने ।