विकासन्युज

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण अघि बढ्यो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेको छ । बारा जिल्लामा प्रस्तावित सो विमानस्थलको निर्माण कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघि बढाउने निर्णय गरेको हो । लामो समयदेखि प्रतिक्षारत उक्त परियोजनालाई शीघ्र अगाडि बढाई निर्माणलाई तीव्रता दिन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । उक्त विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस)का लागि उक्त मन्त्रालय र कोरियन कम्पनी ल्याण्डमार्क बल्र्डवाइड (एलएमडब्लु) बीच सन् २०१० मार्चमा सम्झौता भएको थियो । सम्झौताबमोजिम कोरियन कम्पनलीले डिएफएस तयारी गरी सन् २०११ अगष्टमै मन्त्रालयसमक्ष प्रतिवेदन पेश गरेकामा मन्त्रालयले लामो समयसम्म प्रतिवेदनअनुरुपका कार्य अघि बढाउन सकेको थिएन । सरकारले घोषणा गरेको राष्ट्रिय गौरबको परियोजनाको रुपमा घोषित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकतामा राखेको उक्त मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । ‘विविध किसिमका समस्या समाधान गर्दै यस परियोजनालाई शीघ्र अगाडि बनाई मुलुकको आर्थिक समृद्धि र विकासमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यले कोरियन कम्पनीले पेश गरेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई सरकारले ग्रहण गरी यसको अध्ययन अगाडि बढाइएको’ विज्ञप्तिमा जनाइएको छ । रासस

रानीपोखरी पुनः निर्माणमा पराम्परागत सामानको प्रयोग गर्ने, जेठ १५ देखि काष्ठमण्डपको काम थाल्ने

काठमाडौं । राजधानीको रानीपोखरीस्थित बालगोपालेश्वरको मन्दिर पराम्परागत निर्माण सामाग्रीको प्रयोग हुने भएको छ । काठमाडौं महानगरपालिकाको बिहिबार बसेको वोर्ड बैठकले हाल प्रयोग भइरहेको आधुनिक निर्माण सामाग्री हटाइ पराम्परागत सामानको प्रयोग गराउने निर्णय गरेको छ । परम्परागत सौन्दर्यता कायम राखी रानीपोखरीको पुनःनिर्माण गर्ने निर्णय भएको छ । रानीपोखरीलाई सुन्दर बनाउन महानगरपालिका र पुरात्व विभागबीच समन्वय गरिने भएको छ । यस्तै भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्ड मन्दिरको पुनःनिर्माण जेठ १५ गतेदेखि गर्ने महानगरले निर्णय गरेको छ ।

जावलाखेलमा यामाहा मिनी मेला, मोटरसाइकल एक्सचेन्जदेखि विभिन्न उपहार याेजना

काठमाडौं । यामाहाको आधिकारिक विक्रेता रिसिक अटोमोबाइल्स प्रालिले नयाँ वर्ष २०७५ को अवसरमा ललितपुरको जावलाखेलमा यामाहा मिनी मेला आयोजना गरेको छ । मेलाको उद्घाटन मिस इन्टरनेशनल २०१७ तथा फेस अफ फेसिनो निती शाहले बुधबार गरेकी हुन् । आयोजकको अनुसार मेला बुधबारदेखि चार दिनसम्म चल्ने छ । मेलामा यामाहाका सबै मोडेलका मोटरसाइकल तथा स्कुटरहरु खरिदका लागि उपलब्ध गरिनेछ । साथै ‘एट दी स्पट’ फाइनान्सको व्यवस्था पनि रहेको छ । मेलामा कुनै पनि ब्रान्डको मोटरसाइकल र स्कुटरको एक्सचेन्जमा न्युनतम २५ हजार रुपैयाँ न्युनतम मूल्यांकन तोकिएको छ । यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले निःशुल्क हेल्मेट, ब्याग, बाइक कभर, रेनकोट र लेगगार्ड वा फुट म्याट उपलब्ध गराउने रिसिक अटोमोबाइल्सका प्रबन्ध निर्देशक मिलनबाबु मल्लले बताए । ‘हरेक ग्राहकले यामाहाको नयाँ वर्ष स्किम प्राप्त गर्नका साथै थप उपहारको व्यवस्था गरिएको छ,’ उनले भने । यामाहा मोटरसाइकल वा स्कुटरको टेस्ट राइड गर्नेलाई समेत आकर्षक उपहारको व्यवस्था गरिएको जनाइएको छ ।

नेपाल इन्स्योरेन्सको हकप्रद धेरै, बोनस सेयर थोरै

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर थोरै हकप्रद सेयर धेरै भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे ४ प्रतिशत अर्थात १ करोड ३६ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन शत्प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । नेपाल इन्स्योरेन्सले ३० करोड १९ लाख ८८ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्दैछ । हकप्रद निष्कासन पछि चुक्तापुँजी बढाउन पुनः ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । हकप्रद निष्कासनपछि चुक्तापुँजी १ अर्ब १ करोड रुपैयाँ पुग्ने छ । यस्तै बैशाख ७ गते कम्पनीको सेयर दाखिला बन्द हुने छ । ६९ औं साधारणसभा बैशाख २१ गते बस्ने भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बैंकास्योरेन्स सम्बन्धि ४० जनालाई तालिम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकद्वारा चैत्र तेस्रो साता केएफएसँगको सहयोग तथा सहकार्यमा बैंकास्योरेन्स सम्बन्धी एक दिने तालिम पोखरामा सम्पन्न भएको थियो । उक्त तालिममा बैंककातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली तथा केएफएकातर्फबाट रेष्टा झा तथा जस्मीन हाटा उपस्थीत भएका थिए । उक्त तालिममा बैंकका बिभिन्न तहका ४० भन्दा बढी कर्मचारी लाभान्वीत भएको बैंकको भनाइ छ । बैँकले बिभिन्न बिमा कम्पनीसँग सहकार्य गरि आफ्ना ग्राहक बर्गलाई जीवन र निर्जिवन बिमाका बिबिध सेबाहरु प्रदान गर्ने गरेको नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताएका छन् । त्यस्तै बैंकले देशका बिभिन्न स्थानहरुमा शाखा बिस्तार गर्दै सेवा प्रदान गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

सेञ्चुरी कमर्सियल बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने छ । उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका थिए । बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टरका साथै १० वटा शाखारहित बैंकिङ गरि जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

टुरिजम डेभलपमेन्ट बैंकको ३० करोड बोनस सेयर स्वीकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकले टुरिजम डेभलपमेन्ट बैंकको बोनस सेयर दिने प्रस्तावलाई स्वीकृत गरेको छ । बैंकले चुक्तापुँजीको १५ प्रतिशतका दरले हुने ३० करोड १५ लाख ९२ हजार रुपैयाँको बोनस सेयर वितरणको लागि स्वीकृति पाएको जानकारी दिएको छ । साधारणसभाबाट अनुमोदन भएपछि बोनस सेयर वितरण गर्ने बैंकले जानकारी दिएको छ ।

गण्डकी विकास बैंकको प्रस्तावित बोनस राष्ट्र बैंकबाट स्विकृत

काठमाडौं । गण्डकी विकास बैंकको सञ्चालक समितिले आव २०७३।०७४ सम्मको संचित मुनाफाबाट चुक्ता पुजींको १९ः३१ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय नेपाल राष्ट्र बैंकबाट स्विकृत भएको छ । प्रस्तावित बोनस शेयर बैंकको यस पश्चात बस्ने बार्षिक साधारणबाट पारित भएपछि लागू हुने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम राष्ट्रियस्तरको विकास बैंकले न्युनतम रु.२ अर्व ५० करोड चुक्ता पूँजी पुर्याउनु पर्नेमा बोनस शेयरपश्चात बैंकको चुक्ता पुजीं रु.२ अर्व ७५ करोड हुन जाने जनाइएको छ । चुक्ता पुजींको आधारमा गण्डकी विकास बैंक नेपालको विकास बैंक मध्य सबैभन्दा ठूलो बिकास बैंक हुने समेत दावी गरेको छ । न्युनतम चुक्ता पूँजी पूर्याउन बैंकले पहिल्यै २५ प्रतिशत हकप्रद शेयर निश्काशन गरेको थियो र हकप्रदमा जम्मा नभएको बाँकी शेयर समेत लिलाम विक्री भै बाडफाड भैसकेको छ । बैंकले हाल ५१ वटा शाखा कार्यालायहरुबाट पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको छ । थप २६ वटा शाखाहरु नेपाल राष्ट्र बैंकबाट स्विकृती लिई कार्यालय निर्माणको प्रकृयामा रहेको जनाएको छ । बैंकले सम्पूर्ण शाखाहरुबाट पूर्ण वैंकिङ, निक्षेप, कर्जा एटीएम, मोबाइल बैंकिङ लगायतका सुविधाहरु प्रदान गरिरहेको छ ।