दिगो शहरी यातायातले जेठदेखि राजधानीमा ठूला बस चलाउने, सबै बस यूराे ४ मापदण्डको हुने
काठमाडौं । दिगो शहरी यातायातले नयाँ वर्षकाे अवसर पारेर बैशाख १ गतेबाट सुरु गर्ने भनिएको ठूला बस सेवा सञ्चालन केहि ढिलो हुने भएको छ । बस निर्माणको जिम्मा दिएको कम्पनीले यूरो ४ को मापदण्डको मात्र बस निर्माण गर्ने भएपछि बस आउन ढिला हुने भएको हो । यातायातले युरो ३ मापदण्डको बस सिप्रदी ट्रेडिङ कम्पनीसँग अर्डर गरेको थियो तर कम्पनीलाई युरो ४ को मापदण्ड मात्र बिक्री गर्न पाउने भएपछि बस आउन केहि ढिला भएको शहरी यातायातका प्रमुख लालप्रसाद गुराँगाईले बताए । ‘हामी बैशाख १ गतेबाट बस सञ्चालनमा ल्याउने गरी काम गरिरहेका थियौं, जस अनुसार चैत १७ गते बस काठमाडौं आइपुग्नु पर्ने थियो तर कम्पनीले युरो ४ को मापदण्डको कारण देखाउँदै बैशाखको अन्तिममा मात्रै बस उपलब्ध गराउने भनेपछि तोकिएको मितीमा बस सञ्चालन गर्न सकेनौं,’ गुरागाँईले विकासन्युजसँग भने । अब दिगो सहरीको युरो ४ मापदण्डको १७ बस बैशाख अन्तिम साता मात्रै काठमाडौं आइपुग्नेछ । यातायातको अनुसार अहिले बस पाकिङ गर्ने डिपो निर्माण भैरहेको छ । बसको लागि आवश्वस्यक पर्ने चालक र सहचालकको पनि व्यवस्था भैरहेको छ । बस खरिद गर्न प्रालीले १० करोड रुपैंया खर्च गरेको छ । खरिदका लागि नगर विकास कोषले ८० प्रतिशत ऋण दिएको छ भने एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान दिएको छ । बाँकी ५ प्रतिशत दिगो सार्वजनिक यातायात प्रालीको लगानी रहेको छ । प्रालिले ५० लाख रुपैंया जम्मा गरेर नगर विकास कोषसँग ऋण सम्झौता गरेको हो । आयोजनाले पाइलट प्रोजेक्टका रुपमा अघि सारेको यो रुटलाई एस ५ नाम दिएको छ । बसमा यस्तो सुविधा हुनेछ ५० यात्रु क्षमताको बसमा २४ वटा पेसेन्जर सिट, एउटा ह्विचर बेस रहनेछ । ती बसहरुमा लोकेशन पत्ता लगाउने जिपिआरएस, सिसिटिभी, ट्राफिक सेन्सर जडान गरिएका हुनेछन् । बस गुड्ने रुट ५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगबु हुँदै नयाँ बसपार्कसम्म सञ्चालन हुनेछ । यो रुट १०.२ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ ।यो रुटको रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डमा ३५ वटा टेम्पो सञ्चालनमा छन् । विवाद मिलिसक्यो सो रुटमा चलिरहेको ३५ वटा टेम्पो र ३६ वटा माइक्रो सञ्चालकबिच विवाद मिलिसकेको प्रालिले जनाएको छ । ती माइक्रो तथा टेम्पोलाई प्रालीले पहिचान गरेको ६४ रुट मध्येको सी ग्रेडका रुटहरुमा स्थानान्तरण गरिनेछ । यस्तो छ प्रालिले पहिचान गरेको रुट एडिबीसँगको सहकार्यमा प्रालीले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटर भन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवत जावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजार देखि एक लाखसम्म यात्रु आवात जावत गर्ने सडक लाई बी ग्रेडमा राखिएको छ । ६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । ए ग्रेडमा ठुला बस, बी ग्रेडमा मझौला बस र सी ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो । त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरूलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एभरेष्ट बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकातर्फबाट प्रमुख कर्पोरेट मार्केटिङ पवनकुमार खड्का र एभरेष्ट बैंक लिमिटेडकातर्फबाट नायब महाप्रबन्धक केशवराज पौडेलले एक कार्यक्रमबीच हस्ताक्षर गरेका थिए । सम्झौतासँगै अब एभरेष्ट बैंक लिमिटेडका नेपालभर रहेका सबै शाखाहरूबाट बैंकका ग्राहकहरूले छिटो छरितो तथा सहज रूपमा बीमालेख प्राप्त गर्न र बीमा शुल्क भुक्तानी गर्न सहज हुने जानकारी दिएइको छ । साथै जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सुबिधा प्राप्त गर्न सक्ने बताइएको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना १ सय २४ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । नेपालको बीमा बजारमा एकतिहाइ बजार हिस्सा ओगटेको कम्पनीले दावी गरेको छ । कम्पनीको हाल अधिकृत पूँजी रु ५ अर्ब, चुक्ता पूँजी रु ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २४ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका जनाएको छ ।
दुर्लभ जनावर सिकारको मुद्दामा अभिनेता सलमान खान दोषी ठहर, ५ वर्षस जेल
काठमाडौं । भारतको एउटा अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई सन् १९९८ मा दुर्लभ जनावरको सिकार गरेको सम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। खानले दुईवटा कालो हरिणलाई एउटा चलचित्रको छायाङ्कनका क्रममा पश्चिम राज्य राजस्थानमा मारेका थिए। उक्त अभियोग लागेका अन्य तीन अभिनेताहरूलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ। खानले अब १ देखि ६ वर्षसम्म जेल सजायको सामना गर्नुपर्ने हुनसक्छ। तर अहिलेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छन्।
शिखर इन्स्योरेन्सको संस्थापक सेयर ६० साधारण ४० हुने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर घटेर ६० प्रतिशत कायम हुने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले संस्थापक सेयर घटाउने र साधारण सेयर बढाएर ४० प्रतिशत पुर्याउने निर्णय गरेको छ । १० प्रतिशत संस्थापक सेयर साधारणमा परिणत हुने कम्पनीले जनाएको छ ।
२०७५ सालमा बैंकलाई ३६ दिन सार्वजनिक बिदा, यस्तो छ बैंक बिदाको विवरण
काठमाडौं । २०७५ सालमा बैंकिङ क्षेत्रलाई ३६ दिन सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकको अनुसार जात धर्म लिङ्गलाई आधार मानेर सार्वजनिक बिदा निर्धारण गरेको हो । राष्ट्र बैंकले बिदालाई दुई भागमा वर्गिकरण गरेको छ । जसअनुसार पुरै दिन हुने बिदालाई ‘क’ वर्गमा राखेको छ भने आदी दिन हुने बिदालाई ‘ख’ वर्गमा राखेको छ । ‘ख’ वर्गको बिदामा बैंक बिहान १० बजेदखि ३ बजेसम्म खुल्नेछ । बैंकहरुलाई अब दशैमा ५ दिन मात्रै बिदा हुनेछ भने तिहारमा ३ दिन बिदा हुनेछ । ०७५ सालमा बैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत्र मसान्तसम्म बिहान १० बजेदेखि ५ बजेसम्म कार्यालय खुल्ने छ । त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बैंक खुल्नेछ । थप विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
बजार अनुगम बढी गरेको भन्दै उद्योगमन्त्री मातृका यादवले हटाए अापूर्ति विभागका महानिर्देशक
काठमाडौं । अनुमन बढी गरेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशक कुमारप्रसाद दाहाललाई हटाएका छन् । मन्त्री यादवको ठाडो आदेशमा महानिर्देशक दाहाललाई मंगलबार सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्री नियुक्त हुनसाथ बजार अनुगमनलाई अझ तिब्र बनाउने घोषणा गरेका मन्त्री यादवले व्यवसायीको दवावमा महानिर्देशकलाई हटाएका छन् । महानिर्देशक हटाइएपछि कर्मचारीले बजार अनुगमन छाडेका छन् । विभागका महानिर्देशक दाहालले आफुलाइ सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको जानकारी दिए । ‘मलाई मंगलबार सरुवा गरेको हो,’ उनले भने ‘आइतबारदेखि हाजिर गर्नेछु ।’ पछिल्लो समय विभागले सम्वेदनशिल ठूला माछा भनिएका मुलुकको स्वास्थ्य, अटोमोबाइल, सुन, निर्माण सामाग्री लगायतको क्षेत्रमा व्यापक अनुगमन गरेको थियो । जसअन्तर्गत अनियमित गर्ने विभिन्न अस्पताल, गाडी कम्पनीहरु, सुन व्यवसायी लगायतलाई कानुनको दायरामा ल्याएका थिए । त्यसो त निजी क्षेत्रको दवावमा चैतदेखिनै मन्त्रालयले अनुगमन नगर्न निर्देशन दिएको कारणले विभागले गर्दै आएको दैनिक अनुगमन ठप्प भएको थियो । अहिले कर्मचरीहरुले कामविहिन भएर बस्नु परेको गुनासो सुनाउछन् ।
ओलीले भारत भ्रमणमा विद्युत बैंकिङको कुरा उठाउने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्न लाग्नुभएको भारतको राजकीय भ्रमणमा इनर्जी बैंकिङको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाजस्ता केही महत्वपूर्ण परियोजना निर्माण सम्पन्न भएपछि बर्खायाममा विद्युत् खेर जाने भएकाले त्यसलाई जोगाउन पनि इनर्जी बैंकिङको अवधारणालाई विशेष प्राथमिकतामा राखिएको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना २०७५ मंसिर मसान्तसम्म निर्माण सम्पन्न हुने क्रममा रहेको छ । यस्तै अन्य केही ठूला परियोजनासमेत सो अवधिभित्र सम्पन्न हुने चरणमा रहेका छन् । ती आयोजना सम्पन्न भएपछि बर्खाको समयमा ती परियोजनाबाट उत्पादित विद्युत् खेर जाने र हिउँदमा पुनः भारतबाट आयात गर्नुपर्ने अवस्था भएकाले इनर्जी बैंकिङको अवधारणा अगाडि सारिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश घिमिरेले प्रधानमन्त्रीको भ्रमणका क्रममा सो विषयलाई नेपालको तर्फबाट एजेण्डाका रुपमा राखिएको जानकारी दिनुभयो । नेपालमा बर्खाको समयमा सञ्चालनमा रहेका सबै आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने र हिउँदमा न्यून मात्रामा मात्रै विद्युत् उत्पादन हुने भएकाले माग व्यवस्थापनका लागि इनर्जी बैंकिङ अवधारणा ल्याइएको नेपाल विद्युत् प्राधिकरणको भनाइ छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि भारतीय समकक्षीहरुसँगको भेटमा सो अवधारणालाई उठाउँदै आउनुभएको छ । उच्च राजनीतिक तहमा नै छलफल र संवाद भएपछि मात्रै एउटा निर्णयमा पुग्न सकिने भारतीय पक्षको रायपछि प्रधानमन्त्रीको यस पटकको भ्रमणलाई सो विषयलाई समावेश गरिएको हो । भारतलाई वर्षाको समयमा बढी ऊर्जा आवश्यक पर्ने र नेपालमा कम खपत हुने भएकाले पनि इनर्जी बैंकिङको अवधारणा अगाडि सारिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीको भनाइ छ । इनर्जी बैंकिङ विशुद्ध ऊर्जा बचतको एउटा विधि हो । यसमा व्यापारिक र आर्थिक विषयलाई कम महत्व दिइन्छ । नेपालले बढी भएको समयमा भारत निकासी गर्ने र कम भएको समयमा आयात गर्ने विधि यसमा अपनाइन्छ । प्राधिकरणले हाल भारतबाट ४८० मेगावाटको हाराहारीमा विद्युत् आयात गरिरहेको छ । हिउँदको समयको ऊर्जा व्यवस्थापनका लागि उक्त परिमाणको विद्युत् आयात गरिएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितको टोलीले २०१७ अगष्ट ८ मा भएको छलफलमा सो विषयलाई भारतीय अधिकारीमाझ प्रवेश गराएको थियो । नेपाल–भारत पावर एक्स्चेञ्ज कमिटीको बैठकमा सो विषयलाई एजेण्डाका राख्ने सहमतिसमेत सोही समयमा भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । सामान्यतः इनर्जी। बैंकिङ अवधारणामा जाँदा नेपालले पनि फाइदा लिन सक्ने र भारतलाई त झन् महत्वपूर्ण फाइदा हुने बताइएको छ । नेपालमा उत्पादित विद्युत् बर्खाकालमा भारतका लागि आवश्यक पर्ने, कृषि तथा सिँचाइमा समेत प्रयोग हुने भएकाले त्यसबाट फाइदा लिने र हिउँदमा त्यही विद्युत् नेपाललाई उपयोग गर्न सकिने भएकाले बैंकिङको अवधारणा ल्याइएको हो । ऊर्जा मन्त्रालयका प्रवक्ता घिमिरेका अनुसार व्यावसायिक तथा व्यापारिक रुपमा भारतले नेपालको विद्युत् तत्काल लिइहाल्ने अवस्था नभएकाले पनि नयाँ अवधारणा अगाडि सारिएको हो । युरोपका केही देशमा इनर्जी बैंकिङ अवधारणा कार्यान्वयनमा ल्याइएको छ । नेपालले पनि त्यस्तो अवधारणा कार्यान्वयनमा ल्याउँदा माग र आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने बुझाइ सरकारको छ । यस्तै, भारत भ्रमणका क्रममा भारतले तयार पारेको ऊर्जा रणनीतिका कारण नेपाललाई पर्ने असरका बारेमा समेत छलफल गर्ने तयारी गरिएको छ । भारतले नेपालका जलविद्युत् आयोजनामा नेपाल सरकारको स्वामित्व भएका तथा भारतका कम्पनीले लगानी गरेका परियोजनाबाट मात्रै विद्युत् खरिद गर्न सकिने गुरुयोजना ल्याएको छ । नेपालले सो गुरुयोजना सन् २०१४ मा भएको नेपाल–भारत विद्युत् व्यापार सम्झौता पिटिए को मर्म विपरीत भएको भन्दै त्यसलाई सच्याउन आग्रह गर्ने भएको छ । भारतको सो गुरुयोजनाका कारण नेपालमा लगानीमैत्री वातावरण नबन्ने र समस्यामा पर्ने भएकाले सो विषयलाई समेत प्राथमिकतामा राखिएको प्रवक्ता घिमिरेको भनाइ छ । रासस
८ करोड ७० लाख फेसवुक प्रयोगकर्ताका विवरण चोरी
काठमाडौं । केम्ब्रिज एनालिटिका नामक राजनीतिक परामर्शदातृ संस्थाले पहिला सोचिए भन्दा निकै बढी अर्थात् ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण चोरेको फेसबुक इंकले बताएको छ। ती मध्ये ११ लाख प्रयोगकर्ता वेलायतका रहेको बीबीसीलाई बताइएको छ।गोप्य जानकारी सार्वजनिक गरेका क्रिस्टोफर विलीले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको यसअघि बताएका थिए। फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जकर्बर्गले प्रयोगकर्ताका विवरण चुहावटका विषयमा ूअझै धेरै गर्न सकिन्थ्यो भन्दै त्यसविषयमा ूथप काम गरिने बताएका छन्। पत्रकार सम्मेलनमा जकर्बर्गले भने, मलाई लाग्छ हामीले हाम्रो जिम्मेवारीको दायरा फराकिलो बनाउन आवश्यक छ । फेसबुकको काम औजारहरू बनाउने मात्र नभई ती औजारहरूलाई प्रयोगकर्ताहरूले कसरी प्रयोग गर्छन् र त्यसबाट के परिणाम निस्कन्छ भन्ने विषयमा समेत जिम्मेवारीू लिनुपर्नेमा जोड दिए। जकर्बर्गको भनाइमा प्रयोगकर्ताका विवरण चुहिने सुविधालाई बन्द गरिसकेको छ र पछिल्लो प्रकरणका विषयमा फेसबुकले आउने दिनमा आन्तरिक छानबिन गर्नेछ। फेसबुकका प्रमुख प्रविधि अधिकृत माइक स्क्रोएफरको ब्लगमा प्रयोगकर्ताका विवरण कसरी चुहिन पुग्यो भन्ने विषयमा लेखिएको छ। बीबीसीले बुझे अनुसार दिस इज योर डिजिटल लाइफ भनिने प्रश्नोत्तर जडान गर्ने ३ लाख ५ हजार प्रयोगकर्ताको माध्यमबाट विवरणहरू चुहिएको फेसबुकको अनुमान छ। ती मध्ये अधिकांश प्रयोगकर्ता अमेरिकाका भएको बताइएको छ। १६ प्रतिशतभन्दा केही बढी प्रयोगकर्ता चाहिँ अन्य देशका भएको अनुमान छ। स्रोत: बीबीसी