सार्वजनिक बिदा कटौतीप्रति चेम्बर खुसी, मागको सुनुवाई गरेकोमा सरकालाई धन्यवाद
काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले सरकारले सार्वजनिक विदा कटौती गरेकोमा खुशी व्यक्त गरेको छ । चेम्वरले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी सरकारले गरेको यस कार्यप्रति धन्यवाद व्यक्त गरेको छ । ‘हामीले निरन्तर राख्दै आएको मागको सुनुवाई गरी बिदा कटौती गरेकोमा हामी सरकारप्रति आभार व्यक्त गर्दछौ’, चेम्बरद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । बढी सार्वजनिक विदाका कारण मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पारेको भन्दै चेम्वरले बिदा कटौती गर्न सरकारसँंग निरन्तर माग राख्दै आएको थियो । प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चपदस्थ सरकारी अधिकारीहरुसँंगको भेटघाटमा चेम्वरले यो माग राख्दै आएको थियो । साथै चेम्वरले सार्वजनिक बिदाहरुमा बैंक तथा वितीय संस्थाहरु सञ्चालनको माग पनि राख्दै आएको थियो । सरकारले आगामी २०७५ सालको सार्वजनिक बिदा कटौती गरेको हो । मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले नयाँ वर्षदेखि बिदा कटौती गर्ने निर्णय गरेको थियो । सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि २२ दिन बिदा र सबैलाई हुने सार्वजनिक बिदा ६७ दिन कायम गरिएको नेपाल चेम्बर अफ कमर्शका प्रमुख कार्यकारी अधिकृत कैलाश कुमार बजियमले बताएका छन् । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो ।
पेट्रोलियम इन्धनका सवारी हटाउँदै भारत, पाइपलाइन बनाउँदै नेपाल
काठमाडौं । भारतले सन २०३० पछि पेट्रोलियम इन्धनका सवारी साधनको बिक्रिमा रोक लगाउने तयारी थालिसकेको छ । तर नेपाल भने दिर्घकालिन उपयोगको रणनीति अनुसार पेट्रोलियम पाइपलाइन निर्माणको बाटोमा जुटेको छ । भारतीय उर्जा मन्त्री पियुस गोयलले भनेका छन–‘हामी ठुलो मात्रामा विद्युतिय सवारी साधनको उत्पादनमा जोड दिँदैछौं, हामी उजाला अभियानमा जस्तै विद्युतिय सवारी साधनमा पनि आत्म निर्भर बन्न गैरहेका छौं, सन २०३० पछि भारतमा एउटा पनि पेट्रोलियम इन्धनका सवारी साधन बिक्रि हुने छैनन् ।’ भारतले त्यसका लागि विद्युतिय तथा सौर्य उर्जाबाट गुड्ने सवारी साधन उद्योगको प्रवद्र्धनका कार्यक्रम समेत अघि सारिसकेको छ । भारतको नीति आयोगले गरेको सिफारिसका आधारमा सरकारले सन २०३० पछि विद्युतिय सवारी साधन मात्रै उपयोगमा ल्याउने कार्यक्रम ल्याएको हो । भारतमा बायु प्रदुषणका कारण बर्षेनी १२ लाख मानिसको मृत्यु भैरहेको अध्ययनहरुले देखाएका छन् । भारतले पेट्रोलियम इन्धनका सवारी साधनको बिक्रि कटौती अभियान सुरु गर्ने वित्तिकै भारतमा गाडी बनाउने कम्पनीहरुले पनि धमाधम विद्युतिय सवारी साधन निर्माणको अभियानलाई तिब्र बनाईरहेका छन् । तर नेपाल भने त्यहि भारतबाट पेट्रोलियम पदार्थ भित्र्याउन भन्दै पाइपलाइन निर्माणमा जुटिरहेको छ, त्यो पनि १५ बर्षसम्म भारतीय एकाधिकार रहनेगरि । बेलायतले सन २०४० पछि पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनमा रोक लगाउँदैछ । बेलायतमा बर्षनी ४० हजार मानिस वायु प्रदुषणका कारण मर्ने गरेको बताइन्छ । फ्रान्सले पनि सन २०४० बाटै पेट्रोलियम इन्धनका सवारी साधनमा रोक लगाउने बताएको छ । नर्वेले सन २०२५ बाटै डिजेल र पेट्रोलका कार हटाउने निर्णय गरिसकेको छ । नेदरल्याण्डले पनि सन २०३० बाटै पेट्रोलियम इन्धनका कारहरुमा रोक लगाउने निर्णय गरिसकेको छ । नेदरल्याण्डले सन २०२० सम्ममा २ लाख विद्युतिय सवारी साधन गुडाउने योजनामा काम गरिरहेको छ । जर्मनीले सन २०२० मा १० लाख विद्युतिय सवारी साधन सडकमा गुडाउने लक्ष्य तय गरेको छ । उसले सन २०३० देखि नै पेट्रोलियम इन्धनका सवारी साधनको बिक्रिमा रोक लगाउने कानुनै बनाईसकेको छ । अष्ट्रेलिया, जापान, डेनमार्क, आयरल्याण्ड, पोर्चुगल, स्पेन र दक्षिण कोरिया लगायतका देशहरु पनि पेट्रोलियम इन्धनबाट गुड्ने सवारी साधनहरुको कटौती अभियानमा जुटिसकेको छन् । पेट्रोलियम पदार्थको खानी मानिएको साउदी अरबले पनि सन २०३० बर्षभित्र सम्पन्न हुने गरि २०० गिगावाट क्षमताको सौर्य उर्जा प्रणालीको निर्माण सुरु गरिसकेको छ ।
दैनिक ९० लिटर दुध बेच्दै कृष्ण अर्याल कमाउछन् मासिक डेढ लाख
काठमाडौं । विजयपुरका कृष्ण अर्यालले व्यावसायिक भैँसीपालनबाट मासिक रु एक लाख ५० आम्दानी गर्न सफल भएका छन् । उनले उन्नत जातका मुर्रा भैँसी पालेर दैनिक ८० देखि ९० लिटरसम्म दूध बिक्री गर्दै आएका छन् । उनले उत्पादन गरेको दूध स्थानीय रामपुर बजारमा खपत हुन्छ । पैसा कमाउनका लागि विदेश चाहर्नेका लागि स्वदेशमा कृषि, पशुपालन तथा अन्य व्यवसायबाट मेहनतअनुसार आम्दानी हुन्छ भन्ने उनी नमुना साबित भएका छन् । कृष्ण उन्नत भैँसी विकास तथा बीउबिजन उत्पादन स्रोत केन्द्रमार्फत अर्यालले भैँसीपालन गरिरहेका छन् । भैंसीपालन केन्द्रमा भैँसीको दूधसँगै मुर्रा जातका भैँसीका पाडापाडीसमेत उत्पादन हुदैं आएको छ । केन्द्रमा अहिले २२ वटा मुर्रा भैँसी रहेका छन् । हाल नौवटा भैँसी र दुईवटा गाई दुहुना छन् । केन्द्रमा रहेको एउटा भैँसीले तीन पटकसम्म दिनमा दूध दिँदै आएको उनले बताए । पचास रोपनी जग्गामा भैसीका लागि आवश्यकताअनुसार घाँस खेती गर्दै आउनुभएका अर्यालको भैंसीपालन केन्द्र यतिबेला आकर्षणको केन्द्र बन्दै गएको छ । यसबाट अहिले पाँच जनाले रोजगार पाएका छन् । स्थानीय सीताकुण्ड दुग्ध सहकारी संस्था रामपुरले सहुलियत दरमा ऋण, भैँसी तथा गाईको बीमा, घाँसको बीउ तथा प्राविधिक सहयोग गर्दै आएको सहकारीका अध्यक्ष कमल भट्टराईले बताए । सहकारीको सहयोगकै कारण रामपुर क्षेत्रमा करीव १०० भन्दा बढी युवा पशुपालन व्यवसायमा संलग्न रहेका छन् । पछिल्ला वर्षमा रामपुरमा दूधको खपत हुँदै आएको छ । सहकारीले सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्न थालेपछि विपन्न समुदायका महिला तथा पुरुष पशुपालनमा जुटेका छन् ।-रासस
मुक्तिनाथ विकास बैंकको नयाँ शाखा दाङ्को तुलसीपुरमा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको नयाँ शाखा दाङ्को तुलसीपुरमा विस्तार भएको छ । उक्त शाखाको विस्तारसँगै दाङ क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य हिराचन्द्र केसीले उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको मन्तव्य राखेका थिए । केसीले यस क्षेत्रमा वित्तीय संस्थाहरुबीच प्रतिस्पर्धा धेरै भएतापनि यस विकास बैंकको सेवा र वित्तीय आँकडा राम्रो देखिएकोले सबैले खाता खोली कारोबार गर्न अनुरोध गरे । साथै, अबको राष्ट्रिय एजेण्डा आर्थिक समृद्धि भएको हुनाले बैंक जस्ता वित्तीय संस्थालाई तुलसीपुरमा स्वागत गर्न पाउँदा खुसी भएको र सफलताको शुभकामना व्यक्त गरेका छन् ।
नगरपालिकाले बनायो मदिराको कारोबारसम्बन्धी कार्यविधि
काठमाडौं । भीमदत्त नगरपालिकाले कानून मिचेर मदिरा कारोबार गर्ने व्यवसायीको इजाजत पत्र खारेजीका लागि सिफारिस गर्ने भएको छ । नगरपालिकाले जरिवाना गरिएका व्यवसायीले फेरि कानून उलंघन गरेमा सम्बन्धित निकायलाई इजाजत खारेजीका लागि सिफारिस गर्ने कानूनी व्यवस्था गरेको हो । भीमदत्त नगरपालिकाले मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन कार्यविधि– २०७४ मा कारबाही सम्बन्धी यस्तो व्यवस्था गरेको छ । कार्य विधिमा मदिरा सेवन गरी अशान्ति फैलाउने कार्यमा संलग्न व्यक्तिलाई पनि जरिवानाको व्यवस्था गरिएको छ । पहिलो पटक रु एक हजार, दोस्रो पटक रु दुई हजार, तेस्रो पटक रु पाँच हजार र त्यसभन्दा माथि रु १० हजार जरिवाना तोकिएको छ । नगर कार्यपालिकाबाट पारित भएर कार्यविधि स्थानीय राजपत्रमा प्रकाशित गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मदिरा कारोबारलाई व्यवस्थित गर्नका लागि कार्यविधि बनाएर लागू गरिएको बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत स्थानीय तहले पाएको अधिकारका आधारमा मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन कार्यविधि बनाइएको उनले बताए । कार्य विधिको दफा १२ को उप दफा ३ मा जरिवाना तिर्न आनाकानी गरिए वडा र नगरपालिका कार्यालयबाट प्रदान हुने सेवा सुविधा रोक्का गरी कारबाही गर्ने प्रावधान राखिएको छ । नगरपालिकाले मदिरा कारोबारलाई व्यवस्थित गर्न नगर प्रमुखको संयोजकत्वमा मदिरा बिक्री वितरण व्यवस्थापन तथा नियमन मूलसमिति गठन गरिने व्यवस्था कार्यविधिमा छ । मदिरा कारोबारका लागि समय अवधि पनि तोकिएको छ । थोक बिक्रेताले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म, खु्द्रा बिक्रेताले ९ बजेदेखि साँझ ८ बजेसम्म, बिर्को खोली बिक्री गर्ने व्यवसायीले दिउँसो २ बजेदेखि राति ९ बजेसम्म कारोबार गर्न पाउने व्यवस्था गरिएको छ । भीमदत्त नगरपालिकाको बजार क्षेत्र बाहेक सार्वजनिक स्थान, विद्यालय, स्वास्थ्य संस्था, मन्दिर लगायतका धार्मिक स्थानबाट दुई सय मिटर टाढा मात्रै कारोबार गर्न पाउने नियम बनाइएको छ । कार्य विधिले किराना, खाद्यान्न, तरकारी, औषधि, मासु, कपडा, फलफूल पसलमा मदिरा कारोबार गर्न नपाइने प्रावधान कार्य विधिमा छ । यसैगरी, होटल रेस्टुरेन्टमा बाहिर प्रदर्शन नहुने गरी मदिरा राख्न समेत नपाइने नियम बनाइएको छ । १८ वर्ष मुनिका व्यक्तिलाई मदिरा कारोबारमा लगाउन नपाइने र अनुमति लिएका होटलमा खाना र बास क्षेत्र बाहेक छुट्टै मदिरा रेस्टुरेन्ट राख्नुपर्ने नियम बनाइएको छ ।-रासस
सर्पोट माइक्रोफाइनान्सको चैत १६ गतेदेखि बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै
काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी चैत १६ देखि २९ गतेसम्म बुक क्लोज हुँदैछ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि उक्त १४ दिन बुक क्लोज गर्नको लागेको हो । यस संस्था चैत २९ गते तेश्रौँ वार्षिक साधारणसभामा जाँदै छ ।
५ बैंकको ऋण नतिर्ने ९ जनालाई अदालत उपस्थित गराउँदै न्यायाधिकरण
काठमाडौं । ऋण असुली न्यायाधिकरणले ५ बैंकको ऋण नतिर्ने ९ जनालाई अदालत उपस्थित गराउने भएको छ । नविल, प्रभु, एनआइसी एसिया, माछापुच्छ्रे र सनराइज बैंकको ऋण नतिर्ने ९ जनालाई न्यायाधिकरणले अदालत उपस्थित हुन गराउन लागेकाे हो । बैंकहरुले ऋण असुली गर्न न्यायाधिकरणमा उजुरी गरेपछि प्रतिवादीहरुलाई १५ दिन भित्र अदालत उपस्थित हुन आग्रह गरिएको न्यायाधिकरणका श्रेस्तेदार भेषराज कोइरालाले बताए । ५ बैंकहरु वादी रहेको मुद्दामा नविल बैंकको चेतन खतिवडा, कुमार खतिवडा सहित ४ फरक मुद्दाका प्रतिवादी रहेका छन् । त्यसैगरी प्रभु बैंकको सुरेन्द्र बहादुर थापा क्षेत्री नेपाल ट्रेड कन्र्सन प्राली सहित ३ फरक मुद्दाका प्रतिवादी रहेका छन् । एनआइसी एसिया बैंकको भुलकुन यादव, कमार यादव प्रतिवादी रहेका छन् । यस्तै माछापुच्छ्रे बैकको सन्दिपमान श्रेष्ठ सहित २ फरक मुद्दाका प्रतिवादी रहेका छन् । सनराइज बैंकका सरोजा राजभण्डारी सहित २ फरक मुद्दाका प्रतिवादी रहेका छन् । न्यायाधिकरणका लेखा शाखा प्रमुख प्रकाश पराजुलीका अनुसार तोकिएको मितीमा प्रतिवादीहरुले प्रतिउत्तर पेश नगरेमा उनीहरुको कानूनी उपचारको बाटो सकिनेछ । साथै ऋण असुली ऐन अनुसार कारवाहि प्रक्रिया अघि बढ्नेछ ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा यस्ता छन् रेलका तीन एजेण्डा
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा रेलमार्ग सम्बन्धी तीन एजेण्डा उच्च प्राथमिकतामा पर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले नेपाल भारत जोड्ने रेलमार्गका तीन वटा एजेण्डालाई प्रमुखताका साथ उठान गराउने तयारी थालेको हो । श्रोतका अनुसार ओलीको भ्रमणमा जनकपुर–जयनगर रेलमार्गको सञ्चालन मोडालीटी, काठमाडौं बिरगञ्ज विद्युतिय रेलमार्गको निर्माण र गड्डाचौकी–खटिमा रेलवे लाइन जोड्ने बिषयमा छलफल हुनेछ । ‘प्रधानमन्त्रीको भारत भ्रमणमा रेलमार्ग सम्बन्धी एजेण्डा उच्च प्राथमिकतामा छन्, हामीले रेलका तीन वटा एजेण्डा प्राथमिकताका साथ उठाउने तयारी गरिरहेका छौं’, श्रोतले भन्यो । परराष्ट्र मन्त्रालयले भौतिक पुर्वाधार मन्त्रालय तथा रेल विभागका अधिकारीहरुसँग प्रधानमन्त्रीको भारत भ्रमणमा उठाउनुपर्ने एजेण्डाबारे ब्रिफिङ लिइसकेको श्रोतले बतायो । भारत सरकारले १० अर्बको लागतमा जयनगर-जनकपुर-कुर्तासम्मको ३६ किलोमिटर रेलवे निर्माण गरिदिएको छ । सो रेल वे लाइनमा ६ वटा डब्बा तान्न सक्ने गरि २ वटा इञ्जिन राख्ने तयारी भैरहको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सो रेल वे सञ्चालनको मोडालिटीबारे छलफल हुनेछ । नेपालले इञ्जिन र जनशक्ति आउट सोर्सिङ गरेर २ बर्षभित्र आफ्ना जनशक्ति तयार पार्न प्रस्ताव अघि सार्ने श्रोतले बतायो । त्यस्तै, काठमाडौं-बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणका बिषयमा पनि महत्वका साथ कुरा उठाउने तयारी नेपालको छ । हाल रेल विभागले काठमाडौं-बिरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनी छनौटको काम अन्तिम चरणमा पुर्याइसकेको छ । त्यस बाहेक कञ्चनपुरको गड्डा चौकी–खटिमा जोड्ने रेलवे लाइनको अनुमति पनि नेपालले माग्नेछ । भारतले पुर्वश्चिम रेलमार्गका लागि जलपाइगुडी–काकडभिट्टा जोड्ने लाइनको अनुमति दिएको छ । तर नेपालबाट बाहिरिने गड्डाचौकी–खटिमा लाइनमा भने अझै अनुमति दिएको छैन् । हाल नेपाल र भारत जोड्ने बिभिन्न पाँच नाकामा रेलमार्ग निर्माण अघि बढिसकेको छ ।