अस्थायी शिक्षकको परीक्षा नसर्ने, अब के गर्छन आन्दोलनकारी विद्यार्थी संगठन ?
भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षक व्यवस्थापनका लागि यही चैत २३ गते हुने परीक्षा नरोकिने स्पष्ट पारेको छ । आयोगले पत्रकार सम्मेलन गरि परिक्षा कुनै हालतमा नरोकिने स्पष्ट पारेको हो । आयोगका अध्यक्ष ताना गौतमले परीक्षा अब कुनै हालतमा नसर्ने बताए । परीक्षामा कूल २३ हजार २८६ अस्थायी शिक्षक सहभागी हुनेछन् । शिक्षा ऐनको आठौँ संशोधनले गरेको व्यवस्थानुसार १५ हजार ६८९ शिक्षक र नवौंँ संशोधनले पछि थप गरेको सात हजार ५९७ दरबन्दी गरी कूल २२ हजार ७६ पदका लागि परीक्षा हुने भएको छ । परीक्षाका लागि देशभरका पाँच जिल्लामा ११६ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिँदै कानूनले गरेको व्यवस्थानुसार आयोग परीक्षा तयारीमा जुटेको अध्यक्ष गौतमले बताए । परीक्षामा झापामा २६, काठमाडौंमा ३०, कास्कीमा ३२, बाँकेमा १७ र कञ्चनपुरमा ११ परीक्षा केन्द्र कायम गरिएको छ । विद्यार्थी संगठनहरुले अस्थायी शिक्षकको परिक्षा रोक्न माग गर्दै आन्दोदन गरिरहेका छन् ।
१७ ब्राण्डका मदिरा उत्पादक युनाईटेड स्प्रिट्स्को सेयर स्वामित्व फेरियो, कारोबार रकम गोप्य
काठमाडौं । भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेड अन्तर्गतको युनाईटेड स्प्रिट्स् नेपाल प्रालि नेपाली युवा उद्यमी राजेशवीर सिंह तुलाधारको पूर्ण स्वामित्वमा आएको छ । मोरङको टंकिसिनबारीमा अवस्थित यस कम्पनीले एन्टिक्विटी, सिग्नेचर, म्याकड्वेल्स नम्बर वान ह्विस्की, गोल्डेन ग्रेप ब्रान्डी, ब्लु रिबान्ड जिन लगायतका विभिन्न १७ ब्रान्डका मदिराको उत्पादन गर्दै आएको छ । उक्त कम्पनीको सेयर कारोबारको मूल्य भने गोप्य राखिएको छ । उद्यमी तुलाधरको पूर्ण स्वामित्वमा आएसंगै कम्पनी नेपाल लिकर्स प्रालिको नामबाट सञ्चालन भइरहेको छ । युवा उद्यमी तुलाधर स्व. भक्तविर सिंह तुलाधरका छोरा हुन् । उनका बुवाले भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेडसंगको व्यवसायीक साझेदारको रुपमा ४० बर्षअघि सो व्यवसाय शुरु गरेका थिए ।
स्थानिय तहमा ५७ हजार ३५४ कर्मचारीको दरबन्दी स्वीकृत, केन्द्रमा कटौती
काठमाडौं । सरकारले स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले ८३० स्थानीय तह (७५३ र जिसस ७७)मा खटिने प्राविधिक र प्रशासनिक गरी ५७ हजार ३५४ दरबन्दी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी जानकारी दिएका छन्। केन्द्रको दरबन्दी १८.५९ प्रतिशत कटौती बैठकले संघमा रहने २१ मन्त्रालयको पनि सांगठनिक संरचना र दरबन्दीसम्बन्धी प्रस्ताव पारित गरेको छ । सोअनुसार केन्द्रमा रहँदै आएको ३ हजार २६० दरबन्दीमा १८ दशमलव ५९ प्रतिशत कटौती गरी २ हजार ६५४ कायम गरिएको छ । केन्द्रको मामन्त्रालयमा रहेका हालको कर्मचारी र कटौती गरी कायम गरिएको दरबन्दी १। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय १९८ २३२ २। अर्थ २४० १८ ३। उद्योग, वाणिज्य तथा आपूर्ति २२७ १५२ ४। ऊर्जा, जलस्रोत तथा सिँचाइ ११२ ११७ ५। कानून, न्याय तथा संसदीय ममिला १०४ १०४ ५। कृषि, भूमि व्यवस्था तथा सहकारी ३३५ १७९ ७। गृह ३०७ २२६ ८। परराष्ट्र १४१ १४१ ९। भौतिक पूर्वाधार तथा यातायात १०६ ९४ १०। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक ८० ८६ ११। रक्षा ९८ ९८ १२। वन तथा वातावरण १६१ १३० १३। शहरी विकास १०२ ७७ १४। शिक्षा, विज्ञान तथा प्रविधि २२६ १८७ १५। श्रम, रोजगार तथा सामाजिक सुरक्षा ६७ ७२ १६। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन १०६ ८४ १७। संघीय मामिला तथा सामान्य प्रशासन ३३१ १७४ १८। सञ्चार तथा सूचना प्रविधि ७५ ८५ १९। स्वास्थ्य १११ १०६ २०। खानेपानी ७७ ६८ २१। युवा तथा खेलकुद ६६ ५६ कुल ३,२६० र २,६५४ सरकारले स्थानीय तहमा सेवा प्रवाहसम्बन्धी व्यवस्था, २०७४ समेत पारित गरेको सञ्चार राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए। सरकारले स्थानीय तह र प्रदेशको सहजीकरणका लागि नमूना कानून बनाएर पठाउने निर्णय पनि गरेको छ । बैठकले आर्थिक तथा सामाजिक कार्यक्रमअन्तर्गत जापान सरकारले नेपाल सरकारलाई विपद् व्यवस्थापनअन्तर्गत सेवा र वस्तु खरिद गर्न उपलब्ध गराउन रु ६८ करोड ६० लाख स्वीकार गर्ने निर्णय गरेको छ । ऊर्जामन्त्री वर्षमान पुनको अजरबैजानको वाकुम र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको थाइल्याण्डमा हुने भ्रमणलाई बैठकले स्वीकृति प्रदान गरेको छ । त्यस्तै सरकारले मन्त्रिपरिषद्को विशेषज्ञ चिकित्सकमा डा दिव्यासिंह शाह र डा दिलीप शर्मालाई विशिष्ट श्रेणीको सुविधा दिएर नियुक्त गर्ने निर्णय गरेको छ । रासस
सरकारी बिदा कटौती, यो वर्ष गएको वर्षभन्दा २२ दिन बढी कार्यालय खुल्ने
काठमाडौं । सरकारले २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको हो । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ । राज्यमन्त्री बाँस्कोटाका अनुसार गत साल पूरै बिदा भएका तर यस पटक आंशिक बिदा दिइएको दिन १० छ । यस वर्ष कटौती भएका बिदा १२ दिन छन् । विसं २०७४ को तुलनामा २०७५ सालमा २२ दिन बढी सरकारी कार्यालय खुल्नेछन् । रासस
वृज सिमेन्ट, मिरा हिमालय र पुष्पतारा केडिया फाउन्डेशनबीच सम्झौता, ५ लाख अनुदान सहयोग
काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज, पुष्पतारा केडिया फाउन्डेशन र मिरा हिमालयबीच हितकारी कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा वृज सिमेन्ट तथा पुष्पतारा केडिया फाउन्डेशनको तर्फबाट अध्यक्ष मनोज केडिया र मिरा हिमालयका तर्फबाट संस्थापक एड्रिन हायसले हस्ताक्षर गरेका छन् । प्रर्बतारोहि एड्रिन हायसको नेतृत्वमा मिरा हिमालयले २०७२ सालको भूकम्प पश्चात् हिमाली भेगहरुमा सामान्य औषधी, प्राथमिक उपचार लगायत स्वास्थ्य र सरसफाई सम्बन्धी शिक्षामा काम गर्दै आएको छ । यस कार्यका लागि वृज सिमेन्ट एवं पुष्पतारा केडिया फाउण्डेशनले ५ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । आगामी ३ वर्षसम्मको यस्तो सहयोग निरन्तर केडियाले बताए । वृज सिमेन्ट केडिया समूहको धेरै उद्योगहरु मध्ये एक महत्वपूर्ण उद्योग हो । पुष्पतारा केडिया फाउण्डेशन केडिया समूह अन्तरगतको परोपकारी संस्था हो । नाफारहित यो संस्थाले स्वास्थ्य, शिक्षा, खेलकुद र साँस्कृतिक उत्थानको लागि तत क्षेत्रमा संरक्षण तथा टेवा पुरयाउने कार्य गर्दै आएको छ । मिरा हिमालयले विगत ३ वर्षदेखि नेपालको विकट हिमाली जिल्लाका क्षेत्रहरुमा निःशुल्क औषधी, प्राथमिक उपचार, शुलभ शिक्षा क्षेत्रमा परोपकारी काम गर्दै आएको छ ।
प्राइम लाइफ इन्स्योरेन्सले साढे १२ प्रतिशत बोनश शेयर बाड्ने
काठमडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७३/७४ को वित्तीय विवरणहरु पारित गरिएको छ । जसमा आर्थिक वर्षहरुको मुनाफाबाट हकप्रद शेयर निष्काशन पश्चात हुने चुक्ता पूँजी रू १ अर्ब ५८ करोड ६५ लाख २० हजारको १२ दशमलब ५ प्रतिशत (खूद) का दरले शेयरधनीहरुलाई बोनश शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनश शेयर बितरण तथा हकप्रद शेयर निष्काशन प्रक्रिया पुरा गरे पश्चात कम्पनीको चूक्ता पूँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ हुने बताइएको छ । साधारण सभाबाट संस्थापक शेयरधनीकोतर्फबाट एकजना महिला सञ्चालकको नियूक्ती भएको छ । उक्त इन्स्योरेन्स कम्पनीले देशभरका विभिन्न १२५ भन्दा बढी स्थानहरुबाट जीवनबीमा सेवा उपलब्ध गराई रहेको जनाएको छ । आगामी बर्ष त्यसलाई बढाएर कम्तिमा पनि १३५ स्थानबाट सेवा प्रवाह गर्ने कम्पनीको भनाइ छ । साधारणसभामा कम्पनीको हालसम्मको वित्तीय अवस्था, जीवनवीमा क्षेत्रमा गरेको उपलब्धी लागयतको लसम्बन्धमा जानकारी गराएको थियो ।
जगदम्बा सिमेन्टद्धारा विश्वस्तरीय प्रविधी भीआरएम जडान, उत्पादनमा दोब्बर वृद्धि हुने
काठमाडौं । जगदम्बा सिमेन्टले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनी एफएल इस्मिथ(डेनमार्क र इन्डिया)को अत्याधुनिक प्रविधि भर्टिकल रोलेल मिल्स(भीआरएम) जडान गरी उत्पादन शुरु गरेको छ । सिमेन्टले उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले उक्त विश्वस्तरीय प्रविधि जडान गरेको हो । हालको उत्पादन ४५,००० बोरा प्रतिदिन रहेकोमा भीआरएम प्रविधि जडान पश्चात कम्पनीको उत्पादन करिव करिव दोब्बरको हाराहारीमा पुग्ने कम्पनीले जनाएको छ । भीआरएम प्रविधि पश्चात कम्पनीको उत्पादन ८०,००० बोरा प्रतिदिन उत्पादन हुनेछ । भीआरएम प्रविधि नेपालमा भित्र्याउने जगदम्बा सिमेन्टको दोस्रो कंम्पनी हो भने यो प्रविधि जगदम्बा सिमेन्टको विरगञ्ज स्थित शुभश्री जगदम्बा सिमेन्ट मिल्स् प्रा.लि मा जडान गरिएको छ । त्यस्तै, यही प्रविधि जडान गरी कम्पनीले आफ्नो तेस्रो उद्योग नेपाल जगदम्बा सिमेन्ट ई.प्रा.लि बाट पनि चाडै नै उत्पादन शुरु गर्ने जनाएको छ । तेस्रो उद्योग संचालन पश्चात कम्पनीको उत्पादन प्रतिदिन १,१०,००० बोरा रहने कम्पनीले जनाएको छ । देशको बढ्दो सिमेन्टको मागलाई सम्बोधन गर्दे सिमेन्ट उद्योगलाई नै आत्मनिर्भर हुन टेवा दिइरहेको छ । त्यस्तै, ग्राहक तथा उपभोक्ताको गुणस्तर प्रतिको चाहनालाई आत्मसाथ गर्दे उपलब्धताको सुनिश्चितता प्रदान गरेको छ । यसरी नै आगामी दिनहरुमा आफ्ना सम्पूर्ण उद्योगलाई प्रविधी मैत्री बनाउने कम्पनीको प्रतिबद्धता छ ।
निर्वाचन आयोगको बेरुजु फछ्र्योट ५९.८२ प्रतिशत
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन बुझाउँदै आयोगले आफ्नो कार्यव्यवस्था प्रभावकारी बनाउन दोस्रो रणनीतिक योजना (२०७१/०७२–२०७५/०७६) अन्तर्गत मतदाता शिक्षा र लैङ्गिक तथा समावेशीकरण नीति र रणनीति जारी गरी सोहीबमोजिम सरोकार भएकाहरुसँगको सहकार्यमा प्राथमिकताप्राप्त क्रियाकलाप सञ्चालन गरिरहेको अवगत गराएका छन् । गत आवमा आयोगले ६४ दिन मात्रै बाँकी रहेको चुनौतीपूर्ण अवस्थामा पनि स्थानीय तह निर्वाचन, २०७४ को व्यवस्थापन गर्ने क्रममा निर्वाचनसँग सम्बन्धित चार नियमावली र १६ निर्देशिका जारी गर्नाका साथै गत आवअन्तर्गत विसं २०७४ वैशाख ३१ र असार १४ गते दुई चरणमा ६१७ स्थानीय तहमा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको थियो । स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी विसं २०७३ कात्तिक २६ गतेदेखि २०७४ माघ मसान्तसम्म विशेष कार्यक्रम सञ्चालनमार्फत मतदाता नामावली संकलन र अद्यावधिक तथा एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नामावली तयार गरी वेबसाइटमार्फत सार्वजनिक गरिएको उनले जानकारी दिए । गत आवमा आयोगका नाममा कायम रहेको बेरुजु ४७ करोड ८९ लाख ६३ हजार रूपैयाँमध्ये २८ करोड ६५ लाख तीन हजार रुपैयाँ फछ्र्योट गरी ५९.८२ प्रतिशत बेरुजु फछ्र्योट गरिएको जनाइएको छ । प्रतिवेदनमा गत आवमा आयोगले सम्पादन गरेका कार्य उल्लेख छन् । नेपालको संविधानको धारा २९४ अनुरुप आयोगले आफूले गरेका कामकारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने र आयोग ऐन, २०७३ को दफा ४५ बमोजिम सार्वजनिकसमेत गर्नुपर्ने व्यवस्था छ । रासस