सिद्धार्थ फाउन्डेसनद्धारा जेष्ठ नागरिक आश्रमलाई २ लाख बराबरको आर्थिक सहयोग
काठमाडौं । सिद्धार्थ बैंकद्धारा प्रवद्धित सिद्धार्थ फाउन्डेसनले गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका वृद्धवृद्धाहरुको सहयोगार्थ २ लाख ११ हजार १११ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम बेनी शाखाको औपचारिक शुभारम्भको अवसरमा माघ २१ गते बैंकका संचालक विरेन्द्रकुमार शाहाले गलेश्वरधाम वृद्धाश्रम व्यवस्थापन समितिका अध्यक्ष्य रुद्रबहादुर कार्कीलाई हस्तान्तरण गरेका छन् । सिद्धार्थ फाउन्डेसनले उक्त आश्रमको नाममा अक्षयकोष स्थापना गरेको छ । उक्त कार्यक्रममा फाउन्डेसनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुमा थप सहभागिता जनाउँदै जाने जानकारी दिएको छ ।
सी-आस्वा फागुन ११ गतेदेखि लागू, अनलाईन र बैंक दुबैबाट सेयर भर्न सकिने
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड धितोपत्र सार्वजनिक निष्कासन केन्द्रीकृत विद्युतीय सेवा सम्बन्धित कार्य सञ्चालन निर्देशिका (सी–आश्वा ) आउदो फागुन ११ गतेदेखि लागु गर्ने भएको छ । नियामक धितोपत्र बोर्डले फागुन ११ गतेदेखि सीआस्वा कार्यन्वयनमा ल्याउन सीडीएसलाई मंगलबार निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्थाले समय मागेपछि बोर्डले सीआस्वाको काम १ महिना रोक्न सीडीएसलाई निर्देशन दिएको थियो । आउदो फागुन ११ गतेदेखि सीआस्वा लागु गर्न निर्देशन दिएको बोर्डका प्रवत्ता निरज गिरीले बताए । उनले सीआस्वा अन्र्तगत सेयर अनलाईका अतिरित्त बैंक तथा वित्तीय संस्थामा गएर पनि भर्न सकिने व्यवस्था गरिएको जानकारी दिए । “सीआस्वा प्रणालीअन्र्तगत अनलाईनबाट मात्र सेयर भर्ने बुझिएको पाइयो” उनले भने “अहिलेको जस्तै बैंकबाट पनि सीआस्वामार्फत सेयर भर्न पाइने छ । अनलाई सेवा नभए बैंक तथा वित्तीय संस्थाबाट पनि आस्वा प्रणालीबाट सेयर भर्न पाइने छ ।” सीआस्वा लागु भएपछि अब घरमै बसेर आइपीओ, हकप्रद सेयर र एफपीओमा आवेदन दिन सकिने छ । सीआस्वामार्फत प्राथमिक निष्काशनको आवेदन घरबाटै गर्न सकिने प्रबन्ध मिलाएको छ ।सीडीएसले एकिकृत सफटवेयर तयार गरी सीआस्वा प्रणालीमार्फत सेयरका लागि आवेदन दिने व्यवस्था गरेको हो । यसअन्र्तगत लगानीकर्ताले खाता भएको बैंक तथा वित्तीय संस्थाबाट अनिवार्य रुपमा सीआस्वा रजिष्ट्रेसन नम्बर लिनुपर्ने व्यवस्था गरिएको गिरीले जानकारी दिए । सो नम्बर लिएर घरमा बसेर सिधै अनलाईनबाट र यदी नभए बैंकमा गएर पनि आवेदन दिने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले सीआस्वा लागु गर्नका लागि समय मागेपछि बोर्डले एक महिना म्याद थप गरेको थियो । बोर्डबाट अनुमती प्राप्त ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको करिव २ हजार ५०० शाखाबाट नेपालभरी आस्वा लागु भैरहेकोमा ती संस्थाका शाखाहरुलाई सीआस्वा प्रणालीमा आवद्ध हुन, पूर्वाधार तयार गरी गराई प्रणाली संचालन सम्बन्धी तालिम लिन केही समय दिनुपर्ने बोर्डले बताएको थियो । सीआस्वाको सदस्यता लिएका बैंक तथा वित्तिय संस्थाहरुले लगानीकर्तालाई दर्ता गराएर मेरो सेयर नामक सेवा मार्फत घरबाटै सेयरमा आवेदन दिने व्यवस्था मिलाउनेछन् । त्यसका लागि इन्टरनेटको पहुँच भने पुगेकै हुनुपर्नेछ ।
महालक्ष्मी विकास बैंकद्धारा वृद्धाश्रमलाई ३० हजार बराबरको खाद्यान्न वितरण
काठमाडौं । महालक्ष्मी बिकास बैंकको महाराजगंज शाखाले हालै बुढानिलकण्ठ नगरपालिकास्थित तपस्थली वृद्धाश्रमलाई ३० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ । तपस्थली वृद्धाश्रममा आयोजित एक कार्यक्रममा महाराजगंज शाखाका शाखा प्रबन्धक दिभा राणाले तपस्थली वृद्धाश्रमका वृद्धाहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेकी हुन् । उक्त आश्रमले आफ्नो घरपरिवारबाट अवहेलीत ६० वर्ष देखी ९७ वर्ष सम्मका २५ वृद्धाहरुलाई आश्रय प्रदान गरिरहेको छ । बैंकले गरेको सहयोग प्रति आश्रमका वृद्धाहरुले खुशी ब्यक्त गरेका छन् । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।
१० कित्ता मात्र पाइने लगानीकर्तामा मनोवैज्ञानिक प्रभावले बीपीसीको एफपीओका लागि १ अर्ब १८ करोड मात्र आवेदन
काठमाडौं । १० कित्ता मात्र पाइने मनोवैज्ञानिक प्रभावले बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) मा आधा भन्दा केही बढी मात्र आवेदन परेको छ । सोमबारसम्म बीपीसीको १ अर्ब १८ करोड ७४ लाख रुपैयाँ बराबरको ८० हजार १३९ वटा एफपीओ खरिदका लागि आवेदन परेको छ । आइतबारको तुलनमा सोमबार बीपीसीको एफपीओका लागि ३ करोड रुपैयाँ मात्र थप आवेदन परेको देखिएको छ । १० कित्ता मात्र एफपीओ पाउने मनोवैज्ञानिक असर वीपीसीको एफपीओमा परेको निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीजेस घिमिरे बताउछन् । “८३ हजार बढी आवेदन पर्दा १ अर्ब १८ करोड रुपैयाँ मात्र परेको छ” उनले भने “ धरै नपर्ने आशंकामा लगानीकर्ताले बढीमा २० कित्ताको मात्र आवेदन हालेको देखिन्छ ।” १० कित्ता मात्र आवेदन दिनेले थप्न माग गरेको उनले सुनाए । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको एफपीओ आब्हान हुदा ५ गुणा आवेदन परेको थियो । गत साता प्रिमियरको एफपीओ बाँडफाँड गर्दा १० कित्ता मात्र परेको उनले सुनाए । “बीपीसीमा धेरै रकमको आवेदन पर्ने अनुमान सबैले गर्दा यसको असर परेको देखिएको छ” उनले भने “यस विषयमा सोच्नु पर्ने अवस्था आएको छ ।” यता नियामक धितोपत्र बोर्ड पनि थोरै पर्ने भएपछि लगानीकर्ताले कम रकमको मात्र आवेदन हालेको देखिएको बताएका छन् । विकास न्युजसंग कुरा गर्दै बोर्डका निर्देशक निरन्जय घिमिरेले १० कित्ता मात्र पाइने संभावनाका आधारमा सबैले कम आवेदन दिएको अनुमान गरिएको बताए । यता बीपीसीका वित्त विभागका भाइस प्रेसिडेन्ट राधेश्याम श्रेष्ठ पनि ठुलो परिमाणमा आवेदन परेपनि सबैले कम रकमको एफपीओ भर्दा निर्धारित समयमा बिक्री नभएको बताउछन् । ८० हजार बढीको आवेदन पर्दा रकमका आधारमा आधा भन्दा केही बढी देखिएको उनको भनाई छ । पहिलो पटक निष्कासन बन्द हुने तोकिएको मिति आइतबार नै सकिएको छ । हालसम्म २३ लाख ७० हजार ५९ कित्ता एफपीओ बिक्री भएको एनएमबी क्यापिटलले जनाएको छ । बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो । अझै ८७ करोड रुपैयाँको एफपीओ बिक्रि हुन बाँकी नै छ । बीपीसीले प्रिमियमसमेत गरी प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासन बन्द ढिलोमा फागुन १५ गतेसम्म तोकिएको छ । एफपीओ निष्कासनपछि बीपीसीको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । बीपीसीको सेयर मूल्य घटेर प्रतिकित्ता ५५७ रुपैयाँमा झरेको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको छ । पछिल्लो समयमा बीपीसीको विषयमा विभिन्न टिकाटीप्पणी आएपछि बजारमा मूल्य घटेको हो । बीपीसीले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमश घट्दै गएको छ । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।एफपीओमा न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने बीपीसीले जनाएको छ ।
नबिल फाउण्डेसनद्धारा नुवाकोटका ५ विद्यालयमा शैक्षिक सामाग्री वितरण
काठमाडौं । नबिल बैंकद्वारा प्रवद्धित नबिल फाउण्डेसनले शिवपुरी गाउँपालिका वडा नं. २, नुवाकोट स्थित ५ वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । हालै नुवाकोटमा आयोजित एक कार्यक्रममा नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा नबिल बैंकका कमचारीले करिब ३८० बालबालिकाहरुलाई स्कूल ब्याग, कापी, कलम, सिसाकलम आदि शैक्षिक सामाग्रीहरु वितरण गरेका छन् । नुवाकोट स्थित श्री बोर्लाङ्ग भुमे निम्न माध्यमिक विद्यालय, श्री शान्ति बुद्ध आधारभूत प्राथमिक विद्यालय, श्री शिवपूरी महादेव आधारभूत विद्यालय, श्री नवदिप ज्योति आधारभूत विद्यालय र श्री चाँपावोटे आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरुको शैक्षिक विकासमा योगदान पुर्याएकोमा ती सबैे विद्यालयहरुका प्राचार्यहरुले नबिल फाउण्डेसनलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै, नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवालले पनि शिक्षा क्षेत्रमा केही सहयोग गर्न सकिएकोमा खुशी व्यक्त गरेका छन् ।
मंगलबारको सेयर कारोबारमा उच्च गिरावट, नेप्से परिसूचक १४०० अंक तल
काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य अंकले घटे पनि कारोबार रकममा भने उच्च गिरावट भएको छ । बजारमा जम्मा २४ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन, अघिल्लो दिनको तुलनामा ६ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन(सोमबार)को बजारमा भने ३० करोडको सेयर किनबेच भएको थियो । गत शुक्रबार ४१ करोड ७० लाख रुपैयाँको कारोबार भएको बजारमा मंगलबार भने उच्च गिरावट आएको छ । बजारमा कुल १५२ कम्पनीको ७ लाख ९ हजार कित्ता सेयर बिक्री भएका छन् । सबैभन्दा बढी लक्ष्मी विकास बैंकको ५० हजार कित्ता सेयर किनबेच भएका छन् । त्यस्तै गरी सबैभन्दा बढी सानिमा माई हाइड्रोपावरको एक करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । मंगलबारको परिसूचक अघिल्लो दिनको तुलनामा सामान्य अंकले झरेर बिन्दु १४ सय अंक तल पुगेको छ । समग्रमा नेप्से परिसूचक ६.०२ अंकले झरेर १३९४.०३ अंकमा पुगेको छ । त्यस्तै, कारोबारमा आएका सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमासमूहको सूचक ३० अंकले ओरालो लागेको छ । मंगलबार ९ समूहको मात्र बजारमा कारोबार भएको छ ।
कलंकीको नेसनल अस्पतालको सबै सेवा बन्द गर्न विभागको आदेश
काठमाडौं। काठमाडौं स्थित कलंकीमा रहेको नेपाल नेसनल अस्पताललाई आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ७ दिनभित्र अस्पतालको सबै सेवा बन्द गर्न आदेश दिएको छ । अस्पतालको प्ररम्भीक अनुसन्धानबाट उक्त अस्पतालले सम्बद्ध निकायबाट अनुमती नलिई सेवा सञ्चालन गरेको पाएपछि विभागले सेवा बन्द गर्न निर्देशन दिएको हो । विभागले पुस १८ गते सो अस्पतालको अनुगमन गरेको थियो । विभागका शाखा अधिकृत रामकृष्ण श्रेष्ठले अस्पतालले आवश्यक अनुमति नलिइ सेवा सञ्चालन गरेको देखिएको जनाए । त्यसैले उपभोक्ता संरक्षण ऐन, स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धि निर्देशिका लगायत बमोजिम ७ दिनभित्र अस्पतालको सबै सेवा बन्द गरी विभागलाई जानकारी अराउन आदेश दिइएको उनको भनाइ छ ।
एकीकृत ग्रामीण विकासका लागि एक अर्ब दुई करोड रुपैयाँ अनुदान
काठमाडौं । कोरिया सरकारले एकीकृत ग्रामीण विकासका लागि एक अर्ब दुई करोड रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । विज्ञान प्रविधिको क्षेत्रमा नवीनतम खोज एवं अध्ययन गरी नेपालको सामाजिक, आर्थिक विकासमा सघाउन कोरिया सरकारले काठमाडौं विश्वविद्यालयलाई उक्त रकम प्रदान गर्न लागेको हो । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थ सचिव शंकरप्रसाद अधिकारीले अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । कोरियाली सहयोग नियोग (कोइका) र उक्त विश्वविद्यालयले संयुक्त रुपमा आगामी पाँच वर्षभित्रमा सो परियोजना कार्यान्वयन गर्ने छन् । त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत पार्कले परियोजनाबाट नेपालको प्राविधिक क्षमता अभिवृद्धिका साथै ग्रामीण भेगका जनाताको जीवनस्तरमा सकारात्मक परिवर्तत भई आर्थिक उन्नयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सचिव अधिकारीले कोरिया सरकारले नेपालको सामाजिक आर्थिक विकासमा निरन्तर सहयोग गर्दैै आएकामा हार्दिक आभार व्यक्त गर्दै उक्त मुलुकबाट विशेष गरी शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा प्राविधिक सहायता प्राप्त भइरहेको बताए । निजी क्षेत्रको अग्रणी विश्वविद्यालयका रुपमा स्थापित उक्त शैक्षिक प्रतिष्ठानले विज्ञान, प्रविधि र अन्वेषणका क्षेत्रमा दूरगामी महत्वका कार्य गर्ने अपेक्षा नेपाल सरकारले गरेको छ । रासस