विकासन्युज

हाम्रो विकास बैंकले ७.३० प्रतिशत बोनस दिने

काठमाडौं । हाम्रो विकास बैंकले आफ्ना सेयरधनीलाई ७.३० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको गत आर्थिक वर्षको जगेडा तथा कोषबाट सेयरधनीलाई सो मात्राको बोनस दिने निर्णय गरेको छ । उक्त निर्णय माघ २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी ४५ करोड ८७ लाख रुपैयाँ रहेको छ । ७.५० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ४९ करोड ३१ लाख रुपैयाँ हुने छ ।

गोल्डेन गुड शेर्पा कन्सट्रक्सनलाई नलगाड हाईड्रोपावरकाे सडक निर्माण जिम्मा

काठमाडौं । नलगाड हाईड्रोपावर कम्पनी लिमिटेडले पंहुचमार्ग निर्माणका लागि ठेकेदार छनौट गरेको छ । आयोजनास्थल पुग्ने कालीमाटी खानटाकुरा र सिर्के बैकल्पिक पहँच सडक निर्माणका लागि गोल्डेन गुड शेर्पा कन्सट्रक्सनलाई छनौट गरेको हो। कम्पनीले सूचना जारी गर्दै सडक निर्माणको जिम्मा गोल्डेनलाई दिएको जनाएको छ । बोलपत्रदाताहरू मध्ये सबैभन्दा कम मुल्यमा कम्पनीले काम गर्ने भएपछि यो कम्पनी छनोटमा परेको नलगाड हाइड्रोले जनाएको छ । गोल्डेनले १२ करोड ३८ लाख रुपैयाँमा सडकको काम सक्ने प्रतिवद्धता जनाएको छ ।

देह व्यापार र मुकुन्देलाई बिर्सदैँ नयाँ पहिचानमा रत्नपार्क

काठमाडौं । देह व्यापार, मुकुन्देको भाषण र फुटपाथ व्यापारसँग जोडिएको रत्नपार्कको पहिचान अहिले फेरिएको छ । ३ बर्ष पहिलेसम्म एकथरी मानिसहरु रत्नपार्कको नाम सुन्दा नाक खुम्च्याउथे तर आज रत्नपार्क जमघटको एउटा महत्वपुर्ण केन्द्र बन्न सफल भएको छ । पारिवारिक घुमघामका साथै प्रेमिल जोडीहरुका लागि रत्नपार्क एउटा सहज गन्तव्य बन्न सफल भएको छ । आजकल सर्वसाधारणका लागि टोलाउने स्थल मात्रै बनेको छैन् रत्नपार्क, काठमाडौं महानगरपालिकाका लागि आम्दानीको राम्रो श्रोत पनि बनिरहेको छ । २०७२ असार दोश्रो साताबाट रत्नपार्कमा सशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । त्यसपछि रत्नपार्कमा दैनिक एक हजारदेखि १५ सय सर्वसाधारणले शुल्क तिरेरै भ्रमण गर्दै आएका छन् । हेर्दा अरु पार्कहरु भन्दा सरल र सामान्य किसिमको देखिएता पनि यहाँ घुम्न आउने मानिसहरुको कमी कहिल्यै देखिदैन । यहाँ साना बालबालिकादेखि वयस्क हुँदै बृद्धबृद्धाहरुलाई समेत देख्न सकिन्छ । रत्नपार्क प्रवेश शुल्क सर्वसाधारणका लागि २५ रुपैंयाँ तोकिएको छ । वृद्धवृद्धा, फरक क्षमता भएकाहरुले निःशुल्क प्रवेश पाउँछन् भने विद्यार्थीले १५ रुपैंया तिर्नुपर्छ । विदेशी पर्यटकहरुले ७५ रुपैंया शुल्क तिरेर रत्नपार्कको अवलोकन गर्न पाउने पार्ककी लेखापाल हिरा थापाले बताइन् । ७५ लाख लागतमा रत्नपार्कलाई व्यवस्थित बनाएको थियो । हाल दैनिक ५० हजारको हाराहारीमा आम्दानी गरिरहेको छ । रत्नपार्कमा बसेर जाडोमा घामको न्यानो लिन सकिन्छ भने गर्मी महिनामा शितल ताप्न सुबिधा उपलब्ध छ । बाह्रै महिना फुल फुल्ने रत्नपार्कले यतिबेला नयाँ पहिचान मात्रै बनाएको छैन, सर्वसाधारणका लागि शहरको केन्द्र भागमा रमणिय गन्तव्य पनि उपलब्ध गराएको छ । ‘रत्नपार्क भनेर नाक खुम्च्याउनेहरु पनि यतिबेला ओहो यो त राम्रो भएछ भन्दै टिकट काटेर घुम्न छिर्छन’, लेखापाल थापाले भनिन् । काठमाडौं महानगरपालिकाले रत्नपार्क जस्ता अन्य पार्कहरुलाई पनि थप व्यवस्थित गरेर सञ्चालनको तयारी गरिरहेको छ । त्यसले सर्वसाधारणलाई घुमफिर गन्तव्यका साथै महानगरलाई आम्दानीको श्रोत र शहरलाई सुन्दर एंव व्यवस्थित बनाउन पनि सहयोग गर्नेछ ।-प्रशिक्षार्थी

नेपाल इस्फ्रास्ट्रक्चर बैंकका संस्थापक विरुद्ध उजुरी आव्हान, वित्तीय स्रोत र नैतिकतामाथि प्रश्न गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वृहत लगानीको नेपाल इस्फ्रास्ट्रक्चर बैंक खोल्न दिने अन्तिम तयार गरेको छ । केन्द्रीय बैंकले इस्फ्रास्ट्रक्चर बैंक स्थापनाका लागि इजाजतपत्र दिनुअघि प्रस्तावित संस्थापकको वित्तीय अनुशासन र स्रोत, इमान्दारिकता र नैतिक पतनदेखिने फौजदारी आभियोग प्रमाणित भएको जानकारी गराउन सर्वसाधारणसंग अनुरोध गरेको छ । राष्ट्र बैंकले १५ दिनभित्र प्रमाणसहित संस्थापक विरुद्ध उजुरी दिन पाइने भनेको छ । यसपछि केन्द्रीय बैंकले बैंक सञ्चालनका लागि अनुमति दिने प्रक्रिया सुरु गर्ने जनाएको छ । राष्ट्र बैंकका सहायक प्रवत्ता राजेन्द्र पण्डितले अनुमति दिने प्रक्रिया सुरु भएका बताए । उजुरीको प्रक्रिया सकिएपछि संस्थापकको योग्यतालगायत विषयमा छलफल हुने, बैंक स्थापनका लागि कुल रकमको ५ प्रतिशत जम्मा गर्नुपर्ने उनले बताए । त्यसपछि बैंकको आवश्यक पुर्वाधार तयारको काम सुरु हुनेछ । बैंकको संस्थापकमा ३९ जना व्यक्ति र २२ वटा कम्पनी रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकमा सरकारको २ अर्ब रुपैयाँ ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंकको १/१ अर्ब, नेपाल पुर्नबीमा कम्पनीको १ अर्ब रुपैयाँ लगानी रहने छ । सिद्धार्थ बैंकले १० करोड लगानी गर्ने भएको छ । बीमा कम्पनीहरुमा प्रुडेन्सियल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी, एशियान लाईफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, एनबी इ्न्स्योरेन्स कम्पनी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लगानी रहेको छ । त्यसबाहेक इमर्जिङ नेपाल, हाथवे लगायत इन्भेष्टमेन्ट कम्पनी तथा प्राइभेट कम्पनीहरुले पनि लगानी गर्नेछन् । व्यक्तिगत तर्फ चन्द्रप्रसाद ढकाल, हेमराज ढकाल, आकाश गोल्छा, हेमन्त गोल्छा, शशिकान्त अग्रवाल, बोधप्रसाद त्रिपाठी, प्रकाश मुन्दरा, सुशील गुप्ता लगायत ३९ जनाले संस्थापक सेयर लिने भएका छन् । गत भदौ १४ गते प्रतिष्ठित व्यवसायी तथा बैंकर्सले इस्फ्रास्ट्रक्चर बैंक राष्ट्र बैंकमा निवेदन दिएका थिए । इस्फ्रास्ट्रक्चर बैंकका अध्यक्षमा डा.विमल कोइराला छन् । मुलुकको पूर्वाधार विकास गर्नका लागि सरकाको सार्वजनिक निजी–साझेदारी प्रारुप अनुरुप यस आर्थिक वर्ष्भित्र पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिवद्धता गरे अनुसार नै उक्त बैंक खोल्न लागिएको हो । प्रस्तावित बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ रहेको छ । बैंकमा सरकारकोे १० प्रतिशतसहित संस्थापक समूहमा ६० प्रतिशत र सर्व–साधारण समूहमा ४० प्रतिशत शेयर रहने प्रस्ताव गरिएको छ । संस्थापक समूहको १२ अर्ब र सर्वसाधारण समूहको ८ अर्ब रुपैयाँ सेयर पुँजी हुने प्रस्ताव गरिएको छ । हाल संस्थापक समूहमा विभिन्न बैंक तथा बीमा कम्पनीहरु, आईएमई समूह, विशाल ग्रुप र प्रभु ग्रुप लगायत प्रतिष्ठित उद्योगी व्यासायीको संलग्नता छ । इस्फ्रास्ट्रक्चर बैंकले देशको पूर्वाधार विकास सम्बन्धी आयोमा कर्जा प्रवाह, कम्पनीहरुको धितोपत्रमा लगानी, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्ने तथा जमानतपत्रहरु जारी गर्ने, राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी स्रोत परिचालन गर्ने, लिजिङ्ग कारोबार गर्ने मुख्य उद्देश्य रहेको छ ।

एसियन लाइफ इन्स्योरेन्सले फागुन १३ देखि ४० करोड २७ लाखको हकप्रद निष्कासन गर्दै

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन १३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ४० करोड २७ लाख ९६ हजार रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द चैत १८ गते हुने सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो । गत माघ ७ गतेसम्म नेपाल स्कट एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविक सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन पाउने छन् । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब २० करोड रुपैयाँ पुग्ने छ । चालु आर्थिक वर्षको असारसम्म जीवन बीमा व्यवसाय गर्ने कम्पनीले चुक्तापुँजी बढाएर २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था नियामक बीमा समितिले गरेको छ । कम्पनीको चुक्तापुँजी हाल ८० करोड ५५ लाख रुपैयाँ छ ।

१०० मेगावाटकाे सुपर त्रिशुली आयोजना निर्माण कात्तिकदेखि, २०७९ असोजमा बिजुली उत्पादन हुने

काठमाडौं । आगामी २०७५ कात्तिकदेखि १ सय मेगावाटको सुपर त्रिशुली जलविद्युत आयोजनाको निर्माण सुरु हुने भएको छ ।प्रवद्र्धक ब्लु इनर्जी प्रालिले एक साताअघि विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाएपछि आयोजना निर्माण हुने अवस्थामा पुगेको हो । आयोजना स्वदेशी तथा विदेशी संयुक्त लगानीमा निर्माण हुनेछ । आयोजनाबाट २०७९ असोज १४ गते ( सन् २०२२ को अक्टुबर) देखि बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको ब्लु इनर्जीका निर्देशक निरञ्जन रेग्मीले बताए । आयोजनामा सरार्फ ग्रुपको मुख्य लगानी हुने भएको छ । यस्तै, हङकङको डोमिन्स होल्डिङस र नेपाली लगानीकर्ताको स्वपुँजी हुने छ । आयोजनालाई विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) को ऋण लगानी हुने उनले जानकारी दिए । यस्तै नागरिक लगानी कोषले पनि लगानी गर्ने प्रतिवद्धता दिएको उनले बताए । नेपाल विद्युत् प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भएपछि लगानी जुट्ने रेग्मीले बताए । उनकाअनुसार आयोजना बनाउन १५ देखि १६ अर्ब रुपैयाँ लाग्ने प्रवद्र्धक संभाव्यता अध्ययनले देखाएको छ । आयोजनामा स्वपुँजी (इक्विटी) लगानी गर्न हङकको डोमिन्स होल्डिङसंग समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेको छ । यसका अतिरित्त नेपालमा होटल व्यवसाय गर्दै आएको सरार्फ र नेपालीको लगानी हुने भएको छ । सराफ ग्रुपले २३.५ मेगावाटको सोलु आयोजनामा पनि लगानी गरेको छ । हाल सो आयोजना निर्माण भइरहेको छ । यो वर्ष लाइसेन्स लिने, लगानी जुटाउने, आयोजनास्थलमा अस्थाइ क्याम्प बनाउने जस्ता पुर्वनर्माणको काम सक्ने निर्देशक रेग्मीले जानकारी दिए । आयोजनाका लागि आवश्यक पर्ने ७० प्रतिशत जग्गा अधिग्रहण गरिसकेको उनले बताए । नेपाल विद्युत प्राधिकरणसंग विद्युत जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट) भइसकेको छ । पीपीए) को लाइनमा रहेको रेग्मीले बताए । सुपर त्रिशुलीलको लेउ वा देउ (टेक अर पे) मा पीपीए हुनेछ । सुपर त्रिशुलीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) एसएनभी ल्याभिन क्यानाडाले गरेको हो । डीपीआरले आयोजना निर्माण लागत सस्तो पर्ने देखाएको रेग्मीको भनाई छ । डीपीआर अनुसार आयोजनाको प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ छ । ब्लु इनर्जीलाई पब्लिक कम्पनी बनाई सर्वसाधारणमा सेयर निष्कासन गर्ने उनले जानकारी दिए । आयोजनामा ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ । आयोजनामा इक्विटीको समस्या नभएको उनले स्पष्टपारे । काम सुरु गरेको ३ वर्ष ९ महिनामा आयोजना सम्पन्न हुनेछ । आयोजनाको बाँधसंगै विद्युतगृह हुने (ड्याम टोई) प्रकृतिको छ । यस्तो संरचना हुने सुपर त्रिशुली नेपालको पहिलो जलविद्युत आयोजना हुनेछ । यस्तो बाँध भएको सुपर त्रिशुली नेपालको पहिलो आयोजना हुनेछ । नदीको वहावमा आधारित आयोजनाबाट वार्षिक ४० करोड ६७ लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको हेड १४.५ मिटर मात्र हुने छ । होरिजेन्ट एक्सिस भएको बल्ब टर्वाइनमा पानी खसाले आयोजनाबाट बिजुली उत्पादन हुने छ । आयोजनाको मुल संरचना राजधानीबाट १ सय किलोमिटर टाढाको दुरीमा हुने छ । चितवनको दारेचोक र गोरखाको मकैसिंहमा पर्छ । आयोजनाबाट १९ किलोमिटर टाढा आवुखैरनीमा रहेको २२० केभी क्षमताको सवस्टेशनमा बिजुली जोडिने छ ।

सत्यको हत्या र भ्रमको खेती, रक्सि पियर ख्याति पाईन्छ ?

मेरो मनमा पलाएको एउटा जिज्ञासा यहाँ प्रस्तुत गर्न मन लाग्यो । कडा दुःख र परिश्रम गरेर माथि पुगेका, मेहेनतकै भरले उचाइ चुमेका, कठोर समस्यासँग जुधेर बिशिष्टता हासिल गरेका, आफुले पीडा सहेर अन्यलाई मदत गरेका मान्छेका कथाहरु दूर्लभ बस्तु भएका छन् हाम्रो देशमा । कुनै ब्यापारी वा लेखक वा कवि, संगितकार वा गायक, कलाकार वा फिल्म निर्देशक वा निर्माता, खेलाडी वा प्रशिक्षक, कुनै प्राबिधिक वा आविष्कारक, बगैचे वा कुनै पसले वा अन्य कुनै क्षेत्रमा लागेका मानिसले आफ्नो प्रगति र उत्थानको लागि गरेको दुःख,वेदना,कष्ट वा मेहेनतको कथा खासै सुन्न पाइदैन यहाँ । यस्तोमा कलम चलाउनेहरुको पनि खडेरी नै छ । मलाई लाग्छ, यो बिडम्बनापूर्ण अवस्था हो, देश उँभो लाग्ने संकेत हैन । अन्य देशमा यस्ता सफलताको नेपथ्यका कथाहरु वा आत्मकथाहरु प्रसस्तै पढ्न पाइन्छ जसले मान्छेमा परिश्रम गरेर कहीँ पुगी छाड्ने जाँगर र हिम्मत पलाउँछ । अन्यलाई सहयोग गर्ने प्रेरणा दिन्छ । नेपालका अन्य पेशा वा क्षेत्रको भन्दा राजनीतिक नेताहरुको हकमा चाहिँ खुब लेखिएका छन् – जेल परेको र त्यहाँ पाइएको दुःखहरु, पुलिसले पिटेका घटनाहरु । तर नेताहरुको त्यस्तो दावि हालको नेपालको अवस्थामा धेरै हदसम्म अप्रासंगिक भइसके, म्याद नाघेको औषधि जस्तै । नयाँ पुस्ताका युवाहरु अब जेल बसेर आफ्नो जीवन छोट्याउने वा निष्कृय पार्ने बारेमा सोच्न सक्दैननन्, जेल बसिसकेकाहरु प्रति नतमष्तक पनि देखिदैनन् । बरु जेल बसेर समय काट्नेहरु प्रति नकारात्मक धारणा राख्लान् । द्रुत गतिमा परिवर्तन भइरहेको यस संसारले देखेका नयाँ नयाँ आबिस्कारसँग आफ्नो सम्बन्ध गाँस्न उत्सुक नयाँ पुस्ता अब जेलमा बिना अर्थको दुःखको कथा सुन्न चाहदैनन् । मेरो आंकलन हो यो । नेताहरुले यसलाई आफ्नो गौरवपुर्ण गाथाको रुपमा बेच्ने काम नगर्दा राम्रो हुन्छ । तर यहाँको अहिलेको चर्चा गैर-राजनीतिक हो । गएको शनिवार माघ २० गते मात्र कथाकार मनु ब्राजाकीको निधनको खबर आयो । उहाँको परिवार प्रति हार्दिक सम्बेदना अर्पण गर्छु । निधनको खबर सँगै राजधानीबाट प्रकाशित दैनिक अखबारहरुमा मनुजीको बारेमा धेरैले कलम चलाए । लेख्नमा ‘उहाँ राम्रो कथाकार हुनुहुन्थ्यो, बेजोडको कथा लेख्नुहुन्थ्यो’ भनिएको छ । तर राम्रो कथाकार बन्नको लागि मनुजीले कति र कस्तो मेहेनत गर्नु भो, कति अनुसन्धान गर्नु भो, कथा लेख्ने क्रममा कहाँ कहाँ पुगेर तथ्याङ्कहरु संकलन गर्नु भो, कति दुःख झेल्नु भो, कति ह्युमिलेसन सहनु भो, कतिले गरेको हेँलालाई पचाउनु भो, कतै पनि पढ्न पाइएको छैन । यसको सट्टामा बरु ‘उनी खुब रक्सी पिउँथे, मसँग पैसा मागिरहन्थे, मलाई भेट्न घरमा आइराख्थे, भट्टिमा हाम्रो भेट हुन्थ्यो’ भन्ने नितान्त वैयक्तिक बखानको ब्याख्या गर्ने वाक्यांसहरु खुबै पढ्न पर्‍यो। सार्वजनिक उपभोगका दृष्टिले सर्बथा अनाबश्यक र अनुपयुक्त वाक्यहरु जोडेर लेखको रुप दिइन्छ जसमा मेहेनतको अंश कम, लेखक हुने आकांक्षा बढी प्रतिबिम्बित हुन्छ । त्यस्ता लेखमा केही हदसम्म रुपलाई ध्यान दिइएको हुन सक्ला, तर सार भने शुन्य प्रायः हुन्छ । यसै गरी माघ २१ गते आइतबारको साप्ताहिक ‘नेपाल’ को अंकमा भूपी शेरचनको बारेमा एक संस्मरणत्मक लेख प्रकाशित भएको छ । यस लेखमा नेपालका सर्बाधिक लोकप्रिय कवि बन्नको लागि भूपी शेरचनले गर्नु भएको दुःखको बारेमा उल्लेख छैन, रक्सी खाने उहाँको बानीको खुबै चर्चा छ । संस्मरणमा ‘पिउन थालेपछि भूपी बेहिसाब पिउथेँ’, ‘कोही मानिस अगाडि नहुँदा पनि भूपीले एक दिन नयाँ सडकमा गाडिको हर्न बजाएको बजायै गरे’ भनिएको छ । कुनै दुःखै नगरी, मेहेनतै नगरी भूपीका कविताहरु हिट भएका होलान् त ? नाम कमाउने काम सजिलो त पक्कै छैन । लामो समयसम्मको निरन्तर कठोर मेहेनतबाट मात्र नाम कमाइन सम्भव हुन्छ, यो सबैको हकमा लागु हुन्छ । मेहेनत बिना नाम कमाइन्छ भने त्यसलाई अनर्थ मान्नु पर्छ । मानव जीवनका यावत पक्षमा दुःख र मेहेनतका साथ हासिल भएका सफलताका कथाहरु जुन सुकै समाजमा पनि पछिल्लो पुस्ताको लागि प्रेरणाको श्रोत बन्छन् । कलिला बाल बच्चाले कुन नेपालीको जीवन भोगाइ र विताइलाई हेरेर वा पढेर आफ्नो लक्ष निर्धारण गर्ने ? हाम्रा छोरा छोरीहरुको रोल मोडेल हुन सक्ने व्यक्तित्व के हाम्रो देशमा हुँदै नभएको हो ? के त हाम्रो नेपालमा कुनै दुःख वा मेहेनतै नगरी नाम कमाइन्छ ? प्रेसले उछालेकै भरमा कोही तलबाट एक्कासी माथि पुग्छ ? कि ती नाम कमाउनेहरुले गरेको दुःख र मेहेनतको बारेमा हामीले ध्यान नदिएको हो ? कुन सत्य हो, कृपया भनिदिनुस न साथी हो, म अलि अलमलमा परेँ ।

१६ प्रतिशत हिस्सा ओगट्दै आइटेल

काठमाडौं। आइटेल ब्राण्डले नेपाली मोबाइल बजारमा १६ प्रतिशत हिस्सा ओगटेको जनाएको छ । ट्रान्ससन् होल्डिङ मोबाइलले आइटेल ब्राण्ड नेपाली बजारमा सार्बजनिक गरेको हो । गएको वर्षको सेप्टेम्बरमा कम्पनी विधिवत रुपमा नेपाली बजारमा प्रवेश गरेको हो । विगत ३ महिनाको दौरानमा आइटेल ब्राण्डले १६ प्रतिशत बजार अंश ओगटेको कम्पनीको दावी छ । ट्रान्ससन् नेपालले करिब ४ महिना अघि आइटेल, टेक्नो मोवाइल र ओराइमो सेट बजारमा भित्र्याएको थियो । यी तीन ब्राण्डहरुले बजारमा आफ्नो हिस्सा उल्लेखनीय रुपमा बढाइरहेको कम्पनीको भनाइ छ । कम्पनीले पछिल्लो समय क्यामन आई ब्राण्डका नयाँ मोबाइल सेटहरु बजारमा बिक्री गर्न सुरु गरिसकेको जनाएको छ । क्यामन आई सिरिजका नयाँ सेटमा १३ मेगापिक्सेलको रियर क्यामेरा, क्वाड एलइडी लेन्स् फ्ल्यास लगायतका विशेषतारु रहेको जनाइएको छ । ३ जिबी रर्याम, ३२ जीवी रोम रहेको उक्त मोबाइल सेटको मूल्य रू. १८ हजार ५ सय कम्पनीले तोकेको छ ।