विकासन्युज

६ मेडिकल कलेजले डाक्टर पढ्ने विद्यार्थी पाएनन्, फेरी भर्ना खुलायो

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को कोटा अनुसार विद्यार्थीहरु भर्ना हुन नआएपछि मेडिकल कलेजहरुले पुन भर्ना खुलाएका छन् । नेशनल मेडिकल कलेज वीरगंज, जानकी मेडिकल कलेज जनकपुर लगायतका मेडिकल कलेजहरुले पुन भर्ना खुलाएका हुन् । आइओएमले लिएको परिक्षामा पास भएका ३ हजार ३ सय मध्ये ओपन हाउस काउन्सिलिङमा १ हजार ६ सय विद्यार्थीलाई बोलाएको थियो । विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ८ मेडिकल कलेज मध्ये विद्यार्थीहरुको राोजाइमा महाराजगंज मेडिकल कलेज र सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान परेपछि बाँकी ६ वटा मेडिकल कलेजमा विद्यार्थीहरुले खासै रुचि देखाएका छैनन् । यसअघि खुलाएको भर्नामा नेशनल मेडिकल कजेजमा १ जना पनि भर्ना हुन नआएपछि पुन भर्ना खोलेको छ । ७२ जना कोटा रहेको जानकी मेडिकल कलेजमा पनि २ जनाले मात्र भर्ना गरेपछि पुन भर्ना खुलाएको छ । त्यसैगरी युनिभर्सल मेडिकल कलेज भैरहवामा ९० कोटा रहेकोमा २४, किष्ट मेडिकल कलेजमा ८१ कोटा मध्ये ३४, चितवन मेडिकल कलेजमा ८१ कोटा मध्ये ६२ जनाले भर्ना गरेका छन् भने ८१ जना कोटा रहेको गण्डकी मेडिकल कलेजमा ७ जनाले मात्र भर्ना गरेका छन् । यसअघि डिनको कार्यलयले मेडिकल कलेजहरुलाई तोकिएको मापदण्ड भन्दा बढी शुल्क असुलेको तथ्य भेटेपछि  विज्ञप्ती नै निकालेर बढी शुल्क नलिन चेतावनी दिएको थियो ।  

नेपाल बैंकले पौने २ अर्बको एफपीओ निष्कासन गर्ने, प्रिमियम आम्दानी २ अर्ब नाघ्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले चुक्ता पुँजी वृद्धि गर्न प्रिमियम मूल्यमा पौने २ अर्ब रुपैयाँ बराबरको थप सार्वजनिक निष्कासन(एफपीओ) जारी गर्ने भएको छ । बैंकले एक अर्ब ७६ करोड ८७ लाख ८५ हजार ८०० रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासन पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ हुने छ । एफपीओ पछि सेयर संरचनामा पनि परिर्वतन हुने छ । बैंकका अध्यक्ष जर्नादन आर्चायका अनुसार सरकारको सेयर ५१ प्रतिशत हुनेछ भने सर्बसाधारणको सेयर ४९ प्रतिशत हुनेछ । हाल बैंकको पुँजी ८ अर्ब ३ करोड रुपैयाँ रहेको छ । त्यसमा नेपाल सरकारको ६२ प्रतिशत र सर्बसाधरणको ३८ प्रतिशत सेयर रहेको छ । एफपीओ निष्कासनबाट कम्तिमा २ अर्ब रुपैयाँ प्रिमियम आम्दानी हुने र बैंकको संचित नोक्सान पूर्ती भई बैंक पूर्ण स्वस्थ बन्ने अध्यक्ष आर्चायले बताए । सञ्चालक समितिकाे प्रस्ताव साधारणसभाबाट अनुमाेेदन भएपछि वित्तीय विश्लेषण पछि प्रिमियम निर्धारण गरिने उनले बताए  । उत्त निर्णय सार्वजनिक भए लगत्तै बैंककाे सेयर मूल्यमा गिरावट देखिएकाे छ ।  

आर्थिक समृद्धि लघुवित्तले डेपुटी सीइओसहित ४० जना कर्मचारी माग्यो

काठमाडौं। केन्द्रिय कार्यालय तनहुँमा रहेको आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृतसहित ४० जना कर्मचारी मागेको छ । कम्पनीलाई सक्रिय ढङगले अघि बढाउन निश्चित मापदण्ड पुगेका जनशक्ती माग गरेको हो । कम्पनीले केन्द्रीय कार्यालको निमित्त नायक प्रमुख कार्यकारी अधिकृतसहित १० जना शाखा प्रबन्धक र ३० जना कनिष्ठ सहायक माग गरेको छ । कम्पनीले उल्लेखित नायक कार्यकारी अधिकृतको शैक्षिक योग्यतामा लघुवित्त तथा बैंकिंग क्षेत्रमा वरिष्ठ प्रबन्धक र प्रबन्धक पदमा ७ वर्ष काम गरेको हुनु पर्ने जनाएको छ । साथै अर्थशास्त्र, गणित, व्यवस्थापन विषयमा स्नातकोत्तर पास गरेको हुनु पर्ने जनाएको छ । त्यसको लिखित परिक्षा फागुन १९ गते हुने बताइएको छ । त्यस्तै शाखा प्रबन्धकले प्लस टु पास गरी २ वर्ष लघुवित्त वित्तीय क्षेत्रमा काम गरेको र कनिष्ठ सहायकको शैक्षिक योग्यता प्लस टु पास भएको हुनु पर्ने बताइएको छ । उक्त पदको लागि लिखित तथा अन्तरवार्ताद्धारा कर्मचरी छनौट गरिने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार सोको लिखित परिक्षा समेत फागुन १९ गते हुने भनिएको छ । । कम्पनीले उक्त पदहरुमा फागुन १० गतेसम्म दरखास्त गरिसक्नु पर्ने जानकारी दिएको छ ।  

सिमेन्ट उद्योगीको फट्याँई : १२० बढाएर, घटाए २२ रुपैयाँ मात्र

काठमाडौं । उद्योगीले सिमेन्टको भाउ बोरामा १२० बढाएर २२ रुपैयाँ मात्र घटाएका छन् ।  एक्कासी मूल्य बढाएका उद्योगीले चौतर्फी दवावका कारण २२ रुपैयाँ मात्र घटाएका छन् । उद्योगीले बोरामा अझै ९८ रुपैयाँ बढी लिएका छन् । ह्वात्तै बढाइएको सिमेन्ट र डन्डीको भाउ घटाउन उद्योगीले कन्जुस्याई गरेका छन् । बोरामा १२० रुपैया बढाएर शिवम् सिमेन्टले २२ रुपैयाँ ६० पैसा मात्र घटाएको छ । त्यस्तै जगदम्बा स्टीलले डण्डीमा प्रतिकिलो ५ रुपैयाँ ७ पैसा बढाएर किलोमा ५० पैसा मात्र घटाएको छ । सिमेन्ट र डन्डीको मूल्य बढेपछि चौतर्फी आलोचना भएपछि घटाउन वाध्य भएका थिए । अहिले पनि उद्योगीले सिमेन्टमा बढी मूल्य लिइरहेको सरकारको भनाई छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सिमेन्ट र डन्डीको भाउ घटाउन पटक–पटक निर्देशन दिएको थियो । त्यसयता १४ उद्योगले मात्र २० ब्राण्डको सिमेन्टको भाउ घटाएका छन् । भारतबाट क्लिंंकर आयात गर्ने उद्योगले बढाएपछि स्वदेशमा उत्पादन गर्ने उद्योगले पनि सिमेन्टको भाउ बढाएका छन् । विभागका अनुसार केही साताअघि अनुगमनताका शिवम्ले ७९० रुपैयाँ रहेको सिमेन्टको भाउ बढाएर बोराको ९१० रुपैयाँ पु¥याएको थियो । अहिले उसले २२ रुपैयाँ ६० पैसा मात्रै घटाएको छ । त्यस्तै प्रतिबोरा पुरानो मूल्य ६५० रुपैयाँ रहेको अम्बे सिमेन्टले बढाएर ७६० रुपैयाँ पुयाएको थियो । अहिले अम्बेले २० रुपैयाँ मात्रै घटाएको छ । निर्माण सिमेन्टले प्रतिबोरा ८० रुपैयाँ बढाएर १५ रुपैयाँ घटाएको छ । अहिले उक्त सिमेन्टको मूल्य प्रतिबोरा ७०५ रुपैयाँ छ । मारुती सिमेन्टले ५० रुपैयाँ बढाएर २०, अग्नी सिमेन्टले ६९ बढाएर १० रुपैयाँ घटाएको छ । बोरामा १०२ रुपैयाँ ९ पैसा र १२० रुपैयाँ मूल्य बढाएको हेटौडा र शालिमार ओपिसी सिमेन्टले मूल्य घटाउन अटेर गरेको विभागका शाखा अधिकृत रामेशकाजी श्रेष्ठले बिकासन्युजलाई बताए । त्यस्तै जगदम्बाले केही हप्ताअघि किलोको ८० रुपैयाँ २ पैसा पर्ने डन्डीललाई ५ रुपैयाँ ७ पैसा बढाएर ८५ रुपैयाँ ९ पैसा पु¥याएको छ । अहिले जगदम्बाले डन्डीमा ५० पैसा मात्रै भाउ घटाएको छ । हामा र साःख लगायतका विभिन्न डण्डी उद्योगहरुले अझै मूल्य घटाउन अटेर गरेको उनले बताए । डण्डीको मूल्य नघटेपछि विभिन्न डन्डी उद्योगहरुलाई सात दिनभित्र उत्पादनको अवस्था तथा मूल्य, कच्चा पदार्थको मूल्य लगायत सम्बन्धि आवश्यक कागजत विभागमा पेश गर्न निर्देशन दिइएको श्रेष्ठले जानकारी दिए । सिमेन्ट तथा डन्डी उद्योगहरुले कच्चा पदार्थ तथा भाडाको मूल्य बढेको भन्दै मनोमानी ढङ्गले १५ दिनमै ५ पटकसम्म भाउ बढाएका छन् ।

अमेरिकन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर स्वीकृत, न्युनतम ४० देखि ७० रुपैयाँसम्म

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी(मेटा लाइफ) ले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले न्युनतम ४० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने जानकारी दिएको छ । नियामक निकाय बीमा समितिले स्वीकृति दिएपछि अमेरिकन लाईफले नयाँ बोनस दर सार्वजनिक गरेको हो । आर्थिक वर्ष ०७३/०७४ देखि हालसम्म बीमांङकीय मूल्याँकनअनुसार नाफामा सरिक हुने सबै जीवन बीमा लेखका लागि उक्त अवधिको प्रति वर्ष प्रति १ हजारमा नयाँ बोनस दर कायम गरेको कम्पनीले जनाएको छ । अमेरिकन लाईफकाअनुसार सावधिक जीवन बीमाअन्र्तगत १ देखि १५ वर्षसम्म वार्षिक प्रतिहजार ४५, १६ देखि २० सम्म ५५ र २१ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनस दर कायम गरेको छ । यस्तै ३ किस्तामा भुक्तानी योजनाअनुसार ४०, ५० र ६० बोनसदर कायम गरिएको छ । शिक्षा संरक्षण योजनाअन्र्तगत ४५,५५ र ७० रुपैयाँ बोनस कायम गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले मृत्युदावी, समपर्ण मूल्य दावी, चुक्तामूल्य दावी, अवधि भुक्तानी दावी र चालु बीमालेखहरुमा लागु हुने जानकारी दिएको छ । शाखा कार्यलयनको रुपमा नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएको अमेरिकन लाइफले कम्पनीको रुपमा कारोबार गर्नुपर्ने भएको छ । समितिले पुँजीवृद्धिको नयाँ योजना ल्याएपछि अमेरिकनले कम्पनी स्थापना गर्न लागेको छ । उसले पुँजीवृद्धिको नयाँ योजना ल्याएको छ । आउदो असारसम्म जीवन बीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीले बढाएर २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्ने छ ।

प्राइम लाइफ इन्स्योरेन्सको नाफा ४०० प्रतिशत बढ्यो

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नाफा ४०० प्रतिशत बढाएको छ ।  चालु आर्थिक वर्षको ६ महिनामा प्राइमले ११ करोड ५१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ गरेको थियो । गत आवको तुलनामा चालु आवमा कम्पनीले नाफा झण्डै ९ करोड रुपैयाँ बढाएको छ । प्राइमले बुधबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा आम्दानी बढाएर १५ करोड ४८ लाख रुपैयाँ पुर्याएको जानकारी दिएको छ । गत आवको सोही अवधिमा कम्पनीको आम्दानी ८ करोड ७५ लाख रुपैयाँ थियो । कम्पनीले यो वर्ष १ अर्ब २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हालसम्म प्राइमले १० अर्ब ८३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको जानकारी दिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७६ पैसाँ छ । समीक्षा अवधीसम्म प्राइमले १ अर्ब ५५ करोड ६६ बीमालेख जारी गरेको छ । हालसम्म कम्पनीले १५ करोड ६६ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीको घोषित बोनस प्रतिहजार वार्षिक न्युनतम ३५ देखि ७५ रुपैयाँ छ । गत वर्ष यस्तो बोनस दर २९ देखि ६३ रुपैयाँ थियो ।

१० लाखको शर्त मानेसँगै अदुवाको अबरोध हट्यो, मंगलबार मात्रै ३६४ टन भारत निकासी

काठमाडौं। भारतले शुक्रबारदेखि तेस्र्याएको १० लाख भारूको शर्त आयातकर्ताले मानेसँगै अदुवाको अबरोध हटेको छ । मंगलबारदेखि झापाको काँकडभिट्टाबाट अदुवा निर्यात सुरु भएको हो । शुक्रबार नेपालको अदुवा खरिद गर्ने भारतीय व्यापारीले त्यहाँको भन्सारमा १० लाख भारु जम्मा गरेपछि मात्र नेपाली अदुवा निर्यात गर्न पाउने शर्त भारत सरकारले अघि सारेको थियो । नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका कार्यबाहक अध्यक्ष तोम राजबंशीले मंगलबारदेखि भारततर्फ अदुवा निकासी हुन थालेको जानकारी दिए । उनले दिउसो १२ बजेदेखि निकासी सुरु भएको बताए । ‘मंगलबार २६ ट्रक अदुवा बोकेको गाडी भारत पास भइसकेको छ,’ उनले भने ‘यद्यपि उक्त शर्त अनुसार ३ महिना मात्र भारतीय सरकारले निकासीको सुबिधा दिएको  बताएको छ ।’ हाल अदुवाको सिजन भएकोले दैनिक मात्रामा अदुवाको निकासा हुने उनको भनाइ छ। व्यवसायीहरुका अनुसार एउटा ट्रकमा करिब १४ टन अदुवा अट्छ । जसअनुसार २६ ओटा ट्रकमार्फत ३६४ टन अदुवा निकासी भएको छ । उक्त परिमाण अनुसार करिब ९१ लाख रुपैयाँ बराबरको अदुवाको निकासी मंगलबार भएको  छ । संघका अनुसार गएको दुई हप्तादेखि भारतले अदुवा निर्यातमा अबरोध गरेको थियो । नेपालबाट भारतमा अदुवा आयात गर्न भातरको बाणिज्य मन्त्रालयसँग त्यहाँका आयाकर्ताले कोटा लिन पर्ने कानुन बनेसंगै निर्यातमा अबरोध देखिएको हो । संघकाले अझै १२४ ट्रकको हाराहारीमा अदुवा अलपत्र अवस्थामा रहेको जनाएको छ  । जसमध्ये २५ देखि ३० ट्रक बिग्रिसकेको छ । मुलुकभर अहिले करिब ६ हजार ट्रक अदुवा निकासीको पर्खाइमा रहेको संघको भनाइ छ ।

५ करोड ९५ लाखमा बनेका ४७ मुसहर परिवारलाई सुन्दर घर

रौतहट । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेकोे ‘सन्तपुर एकीकृत नमूना बस्ती’ का सुन्दर घरमा मंगलबारदेखि ४८ माझी परिवारले बास पाएका छन् । चन्द्रपुर नगरपालिका–८ स्थित विशेष समारोहबीच सन्तपुर एकीकृत नमूना बस्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गरेर बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई हस्तान्तरण गरेपछि आजदेखि उनीहरुले ती घरमा बस्न पाउने भएका हुन् । गत साउनमा आएको बाढीका कारण माझी बस्ती डुबानमा परी घरबारविहीन भएका थिए । प्रत्येक वर्ष साउने बाढीले कमजोर घर भत्काउने र बस्ती नै घरबारविहीन हुने अवस्था थियो । वर्षौंदेखिको डुबानको समस्यालाई पक्का सुन्दर नमूना बस्तीले केही हदसम्म पूरा गरेको छ । फाउन्डेशनले ५ करोड ९५ लाख रुपैयाँको लागतमा निर्मित भएको सो बस्ती निर्माण फाउन्डेशनका अध्यक्ष तथा कलाकार कट्टेल गत असोज २८ गतेदेखि त्यही बसेर आफै खटेर निर्माण गरिएको हो । कलाकार कट्टेलले भने, “दशैँ, तिहार, छठ नभनी परिवारको कुनै परबाह नगरी बस्ती निर्माणमा लागेको देख्दा म धेरैपटक भक्कानिएकोे थिए, २६१ कामदार दिनरात, घामपानी केही नभनी काम गरेर ११५ दिनमा बस्ती निर्माण सफल भयो, यो निकै खुशीको दिन हो ।” एकीकृत बस्तीका घरहरु निकै सुन्दर छन् । कलाकार कट्टेल र कुञ्जना घिमिरेको पहलमा देश विदेशबाट आर्थिक संकलन गरी बनाएका भूकम्प प्रतिरोधात्मकका साथै सुविधा सम्पन्न तरिकाले निर्माण गरिएको छ । नमूना बस्तीमा ४७ घर, एक सामुदायिक भवन, मन्दिर, क्लब, दृश्यावलोकन स्तम्भ निर्माण भएको छ । जसले बस्तीको सुन्दरतालाई थप आकर्षक बनाएको छ । नमूना एकीकृत बस्तीको अवलोकनपछि राष्ट्रपति भण्डारीले जनता आवास कार्यक्रममार्फत सरकारले नमूना बस्ती बनाउने कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिइन् । धुर्मस–सुन्तली फाउन्डेशनजस्ता निजीस्तरबाट भएका प्रयासलाई पनि राज्यले सहयोग गर्नुपर्छ, नमूना बस्ती निर्माण ज्यादै ठूलो र अतुलनीय काम हो” उनले भनिन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले सरकारका तर्फबाट भूकम्पपश्चात घर निर्माण हुने काम प्राधिकरणमार्फत भइरहेको र फाउन्डेशनसँग पनि एकीकृत नमूना बस्ती निर्माणमा भूकम्प प्रभावित जिल्लामा सहकार्य गरेर अघि बढेको सुनाए। फाउन्डेशनका सल्लाहकार कलाकार मदनकृष्ण श्रेष्ठले भने, “कला क्षेत्रका धुमुर्स र सुन्तलीले तोकिएको समयमा, तय गरेको बजेटमा सुन्दर बस्ती निर्माण गर्नु सानो कुरा होइन, यो पवित्र कार्यले कला क्षेत्रको नै प्रतिष्ठा बढाएको छ ।” फाउन्डेशनका सल्लाहकार कलाकार हरिवंश आचार्यले पछाडि परेका बस्तीमा ब्यँझिएर बस्ती निर्माण गर्ने सपना देखेको हुनाले सफल भएको भनाइ छ । बस्ती निर्माणले नयाँ घर मात्र नभई नयाँ सोच र व्यक्तित्व विकास गर्ने उनको विश्वास छ । फाउन्डेशनको चौथो परियोजनाअन्तर्गत डुबान पीडित तथा पछाडि परेका सन्तपुरका दलित माझी बस्तीमा नमूना बस्ती निर्माण गरिएको हो । त्यसअघि फाउन्डेशनले महोत्तरीको बर्दिबासको मुसहर बस्ती, काभ्रे पहरी बस्ती र सिन्धुपाल्चोकमा एकीकृत नमूना बस्ती निर्माण गर्ने काम सम्पन्न गरेको छ । आफ्नो कलाकारिता पेशालाई दाउमा राखेर देश÷विदेशमा सहयोग मागी बस्ती निर्माण गर्नु आफँैमा सुन्दर काम हो । रासस