ज्योति विकास बैंकको नयाँ शाखा ठमेलमा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय ठमेलमा उद्घाटन गरेको छ । बिहीबार एक कार्यक्रमका बिच काठमाडौं नगरपालिकाका अध्यक्ष ख्यामराज तिवारी तथा बैंकका अध्यक्ष हरीचन्द्र खड्काले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । बिहीबार बिहान बैंकका कर्मचारीले ठमेल सरसफाई कार्यक्रम गरे पश्चात उक्त शाखाको उद्घाटन भएको हो । साथै, बैंकले निकट भविष्यमानै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य राखेको छ । हाल बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबीएस सेवा समेत उपलब्ध गराएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ्को सीईओमा दिनेशलाल श्रेष्ठ नियुक्त
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेशलाल श्रेष्ठ नियुक्त भएका छन् । गत माघ १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई फाइनान्सको सिईओमा नियुक्त गरेको हो । उक्त सञ्चालक समितिले आगामी ४ वर्षको लागि फाइनान्सको सीईओ पदमा श्रेष्ठलाई नियुक्त गरेको हो । नवनियुक्त सीईओ श्रेष्ठले माघ १७ गतेदेखि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालिसकेका छन् ।
विश्व बैंकले नेपाललाई दिने सहायता रणनीति बनाउँदै, आगामी वर्षदेखि सहयोग रकम बढ्ने
काठमाडौं । विकास साझेदार विश्व बैंकले आगामी ४ वर्षका लागि नेपाललाई दिने ऋण सहयोगको विषयमा छलफल थालेको छ । आगामी सन् २०१९ देखि ०२२ सम्म ४ वर्षका लागि नेपालका विभिन्न विकास आयोजनामा गर्न सकिने सहयोगको विषयमा विश्व बैंकले सरोकारवालासंग छलफल थालेको हो । सन् २०१४ देखि सुरु भएको बैंकको ५ वर्षे नेपाल सहायता रणनीति (कन्ट्रि पार्टनरसिप फ्रेमवर्क) को समय यो वर्ष सकिदै छ । आगामी वर्षदेखि रणनीति ४ वर्षकाे बनाउने भएको छ । आगामी वर्षदेखि नेपाललाई दिने नयाँ सहयोग रणनीति बनाउनका लागि छलफल सुरु भएको अर्थ मन्त्रालय अन्तराष्ट्रिय आर्थिक समन्वय सहायता महाशाखाका उपसचिव टेकबहादुर खत्रीले बताए । उनका अनुसार आगामी वर्षदेखि सहायता रकम बढ्ने संभावना छ । अहिले छलफल चलिरहेको खत्रीको भनाई छ । “विश्व बैंकले जति पनि सहयोग गर्न तयार छ, तर हामीले खर्च गर्न सकेका छैनौ उनले भने । खत्रीकाअनुसार बैंकले हाल छलफल गरिरहेको छ । दाताले दिएको सहयोग खर्च हुन सकेको छैन । विश्व बैंकले मुलत पुर्वाधार र सामाजिक गरी ६ वटा क्षेत्रमा सहयोग गर्दै आएको छ । उसले ऊर्जा, प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग गर्दै आएको छ । बैंकले नेपाललाई विभिन्न किसिमको विकास आयोजना सञ्चालन गर्न वार्षिक ४० करोड अमेरिकी डलर (करिव ४० अर्ब रुपैयाँ) सहयोगको प्रतिवद्धता गर्दै आएको छ । आगामी वर्षदेखि सहयोग बढाउने तयारी बैंकको रहेको छ । बैंकले ५ वर्षयता नेपाललाई दिँदै आएको अर्बौ रुपैयाँ अनुदान कटौती गरेको छ । बैंकले नेपाललाई सहुलियत दरमा ऋण सहयोग गर्दै आएको छ । विश्व बैंकले ऋण सहयोग गरेवापत सेवा शुल्क र प्रतिवद्धता शुल्क मात्र लिँदै आएको छ । बैंकले भूकम्पबाट भत्किएका विद्यालयलाई ठुलो रकम सहयोग गरेको छ । विश्व बैंकले हालसम्म भूकम्पबाट भत्केका घर बनाउन, शिक्षा क्षेत्र विकास, कावेली ए जलविद्युत आयोजना, नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजना, गरिवी निवारण कोष, कावेली प्रसारणलाइन, मानव विकास र सामाजिक, सडक क्षेत्र सुधार, टेलिकम, नारायणी र महाकाली सिंचाइ जस्ता वृहत आयोजनामा सहयोग गरेको छ ।
नाडेप लघुवित्तले ४ करोड ८० लाखको आइपीओ जारी गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले ४ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँका दरले ४ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ले गर्ने छ । यस संस्थाले चुक्ता पुँजी वृद्धि गर्ने क्रममा सो मात्राको साधारण सेयर जारी गर्न लागेको हो ।
सेञ्चुरी कमर्सियल बैंकले १० प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ८ अर्ब नाघ्ने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । बैंकले हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ८ अर्ब नाघ्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले हालको चुक्ता पुँजीको ५ प्रतिशत अर्थात ३८ करोड ३९ लाख ७३ हजार रुपैयाँ बराबरको नगद लाभांश(कर सहित) वितरण गर्ने भएको छ । सो मात्राको लाभांश दिने निर्णय बिहीबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको यस निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गर्नुपर्ने छ ।
विद्युत चोरी गर्न नछाडे ललितपुरमा ‘ब्ल्याक आउट’
काठमाडौ । नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे संगठितरुपमा विद्युत चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षौंदेखि संगठितरुपमा विद्युत चोरी भएको क्षेत्रका उपभोक्तालाई विद्युत चोरी नगर्न र गरेको पाइएमा त्यसलाई हटाउन १५ दिनको समय दिएर आग्रह गरिएको बताए । ‘राजधानीकै उपभोक्ता संगठित रुपमा विद्युत चोरीमा संलग्न हुनु मुलककै लागि दुर्भाग्य र बेइजती हो, १५ दिनभित्रमा चोरी नियन्त्रणमा सहयोग नगरेमा हामी ब्ल्याक आउट गर्न बाध्य हुने छौं,घिसिङले भन्ने,‘त्यसपछि जस्तो जुकै ठूलो दबाब आए पनि हामी निर्णयबाट पछि फर्कने छैनौं, राजधानीलाई विद्युत चोरीमुक्त बनाउन सबैको सहयोग र साथ चाहिन्छ ।’ ललितपुरको भित्री सहरी क्षेत्र पर्ने पाटन स्थानीय फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछे लगाएतका स्थानमा संगठितरुपमा विद्युत चोरी भइरहेको छ । गोदावरीतर्फ विद्युत आपूर्ति हुने फिडर अन्तर्गत हरिसिद्धी,गुहीटोल, ठैव, वांडेगाउ, लुभ जाने फिडर अन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभुबजार, लाकुरी भञ्ज्याङमा विद्युत अत्याधिक विद्युत चोरी हुने क्षेत्र हुन् । यसैगरि, चापागाउं जाने फिडर अन्तर्गत पर्ने सुनाकोठी, ठेचो, लेले, चापागाउं लगायतका क्षेत्रका बासिन्दाले संगठितरुपमा विद्युतचोरी गरेको फेलापरेपछि यसलाई नियन्त्रण गर्न ब्ल्याक आउट गर्न लागिएको घिसिङले बताए । ती क्षेत्रमा औसत विद्युत चोरी ५० प्रतिशत छ । प्राधिकरणले चोरीका कारण यी स्थानहरुबाट मात्रै वार्षिक करिव ५० करोड रुपैयाँ राजश्व गुमाइरहेको छ । उपभोक्ताले जोखिमपूर्ण रुपमा विद्युतको प्रयोग गरिरहेका छन् । यसरी प्रयोग गरिएको विद्युत असुरक्षित हुने हुँदा ठूलो दुर्घटनासमेत हुने सम्भावना उत्तिकै रहेको प्राधिकरणले जनाएको छ । विद्युत वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारी किला हालेर घुम्न नदिने, कर्मचारीलाई मिटर रिडिङ गर्न नदिने लगायतका काम संगठितरुपमै भइरहेको प्राधिकरण लगनखेल बितरण केन्द्रका प्रमुख विरेन्द्र सिंहले बताए । ‘चोरीका यस्ता क्रियाकलाप नियन्त्रण गर्न जाँदा स्थानीयबाट संगठितरुपमै हाम्रा कर्मचारीमाथि आक्रामण हुने गरेको छ’,उहाँले भन्ने,‘यसमा स्थानीय राजनीतिक र प्रशासनिक नेतृत्वको सहयोग पनि उत्तिकै चाहिन्छ ।’ प्राधिकरणकाअनुसार, चोरी नियन्त्रणका लागि विद्युत वितरणको नांगो तारको सट्टा माइन्सुलेटेड एबीसी केवल फेर्ने, सडक वत्ति मिलाउने, ट्रान्सफर्मर फेर्ने लगायतका काम व्यापकरुपमा भइरहेको छ । चोरी नियन्त्रणका लागि कार्यकारी निर्देशक घिसिङ आफैं अग्रसर भएर अभियानमा सहयोगको आग्रह गर्दै ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, प्रमुख जिल्लाअधिकारी महादेव पन्थ, प्रहरी प्रमुखसँग छलफल गरेका छन् । उनले ललितपुरलाई विद्युत चोरी मुक्त जिल्ला बनाउन र चोरी नियन्त्रणमा प्राधिकरणले चालेका कदममा पूर्णरुपमा सहयोग गर्न आग्रह गरिएको बताए । ‘चोरी नियन्त्रणका लागि आवश्यक प्रणाली सुधारका लागि व्यापक कदम चालिएको छ’उहाँले भने ,‘स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र प्रशासनले पनि सहयोग गरिदिनु पर्यो ।’ प्राधिकरणले उपभोक्तालाईसमेत विद्युतचोरी नगर्न र गरिएको फेला पारेमा कानुनी कारबाही गरिने चेतावनी दिंदै पोष्टर टाँस्ने, माईकिङ लगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ललितपुरमा जस्तै भक्तपुर क्षेत्रमा पनि चोरी व्यापक रहेको र यस क्षेत्रमा पनि क्रमिकरुपमा चोरी नियन्त्रणका आक्रामक कार्यक्रमहरु संचालन गरिने घिसिङले जानकारी दिए । गत असारसम्ममा प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत चुहावट छ । चालु आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । प्रणालीमा रहेको चुहावटमध्ये बितरणतर्फ रहेको १६.८२को चुहावटलाई चालु आर्थिक वर्षमा ३.६४ प्रतिशतले घटाएर १३.१८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ ।
राष्ट्रिय बाणिज्य बैंकमा मर्ज हुँदा एनआइडीसीको साधारण सेयर के हुन्छ ? के बाणिज्य बैंक नेप्सेमा आउला ?
काठमाडौं । एनआइडीसी डेभलपमेन्ट बैंकलाई पुर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा गाभ्दा साधारण सेयर के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । सर्वसाधारणको समेत सेयर रहेको एनआइडीसी लामो समयदेखि नेप्सेमा सूचिकृत छ र सेयर कारोबार समेत भैरहेको छ । तर राष्ट्रिय बाणिज्य बैंक भने पुर्ण सरकारी स्वामित्वको बैंक हो र उसको सबै सेयर प्रमोटर मात्रै छ । बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन(बाफिया)ले सरकारी स्वामित्वको एउटा बैंकले सर्वसाधारणलाई सेयर जारी गर्नु नपर्ने सुबिधा दिएको छ । तर बाणिज्य बैंकमा गाभिन लागेको एनआइडीसीमा रहेको साधारण सेयरले बाणिज्य बैंकलाई पनि नेप्सेमा सूचिकृत हुनै पर्ने बाध्यात्मक अवस्था सृजना गर्छ वा गर्दैन् ? प्रश्न खडा भएको हो । हाल साधारण सेयरलाई संस्थापक सेयरमा रुपान्तरण गर्न पाउने कानुनी व्यवस्था छैन् । ‘संस्थापक सेयरलाई साधारण बनाउन त मिल्छ तर साधारण सेयरलाई संस्थापक बनाउन मिल्दैन्, त्यसकारण बाणिज्य बैंक पनि नेप्सेमा सूचिकृत हुनै पर्ने बाध्यतामा आईपुगेको छ’, एनआइडीसी बैंक श्रोतले भन्यो । सो बिषयमा मर्जर कमिटीमा समेत प्रारम्भिक छलफल भएको छ तर ठोस निष्कर्ष भने निकालिएको छैन् । एनआइडीसीमा सर्वसाधारणको ३० लाख ९१ हजार बराबरको ३० हजार ९ सय १ कित्ता सेयर रहेको छ । एनआइडीसीमा एक कित्ता मात्रै सेयर भएका लगानीकर्ता पनि छन् । ‘एक कित्ता, २ कित्ता, ५ कित्ता, १० कित्ता र ५० कित्तासम्म सेयर हुने लगानीकर्ताको संख्या संख्या ४५० को हाराहारीमा छ । ५० कित्ता भन्दा बढि सेयर हुनेहरुको संख्या करिब एक सय जना छ ।’, बैंक श्रोतले भन्यो । एनआइडीसीले एक बराबर एक कित्ताको स्वाप रेसियोमा चित्त नबुझे प्रति कित्ता ४४८४ रुपैंयाँ दिएर सर्वसाधारणको सेयर किन्ने भनेको छ । तर त्यसरी पैसा दिँदा पनि सो सेयरको स्वामित्व साधारण हुने वा प्रमोटर हुने भन्नेबारे भने केहि उल्लेख गरिएको छैन् । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले मर्जरपछि एनआइडीसीको सेयर नेप्सेमा कारोबार नहुने बताए । ‘एनआइडीसीमा रहेका सर्वसाधारणको सेयर सरकारले खरिद गरिदिन सक्छ तर मर्जपछि नेप्सेमा कारोबार हुन्न’, राष्ट्र बैंकका सहायक प्रवक्ता पण्डितले विकासन्युजसँग भने । उता, कम्पनी रजिष्ट्रारको कार्यालयका कानुन तर्फका उप रजिष्ट्रार राजेन्द्र थापाले भने मर्जरपछि पनि सर्वसाधारणको नेप्सेमा कारोबार भैरहने बताए । ‘साधारण सेयरलाई प्रमोटर बनाउन मिल्दैन, एनआइडीसीको सेयर नेप्सेमा कारोबार भैरहन्छ, तर बाणिज्य बैंकले थप सेयर भने नेप्सेमा सूचिकृत गर्नु पर्दैन’, उप रजिष्ट्रार थापाले विकासन्युजसँग भने । राष्ट्रिय वाणिज्यका अध्यक्ष रविन्द्र पाण्डेले एनआईडीसीमा भएको साधारण सेयर रहिरहने बताए । सेयर कारोबारका विषयमा धितोपत्र वोर्डको अन्तिम निर्णय हुने उनको भनाई छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले पनि मर्जरपछि एनआइडीसीको सेयर नेप्सेमा सूचिकृत हुने वा नहुने भन्नेबारे एकिन नभएको बताए । एनआइडीसीले मर्जर र स्वाप रेसियो लगायतका प्रस्ताव पास गराउन माघ १९ गते बिशेष साधारण सभा बोलाएको छ । सभाले यसअघि वाणिज्य बैंकसंग भएको स्वाप रेसियो र अन्तिम सम्झौता अनुमोदन गर्ने छ । दुबै बैंक एकआपसमा गाभिनका लागि मूल्याँकनकर्ता नियुक्त गर्ने प्रस्ताव पारित गर्ने कार्यसुची रहेको छ । गत भदौमा दुई बैंक एकआपसमा गाभिने विषयमा सम्झौता भएको थियो । दुबै बैंक गाभिएर माघ १ गतेदेखि एकिकृत बैंकिङ कारोबार सुरु गर्ने भने पनि ढिलाइ भएको छ । २०७३ माघ १४ गतेको मन्त्रीपरिषद बैठकले एनआईडिसीलाई वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको थियो ।हाल राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । एनआईडीसीको ४१ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी छ ।
सेवा विस्तार गर्दै साझा यातायात, २९ वटा बस थप गर्ने
ललितपुर । साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ । उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए। उपत्यका भित्रन लागेको नयाँ बसमध्ये एउटा अपाङ्गतामैत्री होचो बससमेत रहेको छ । अपाङ्तामैत्री बस र डिलक्स बस भित्रने क्रममा रहेको छ भने सिटी बसको टेण्डर प्रक्रिया सकिएको छ । डिलक्स बस उपत्यकाबाहिर चल्नेछ भने सिटी बसलाई माग भएका र आवश्यकता बढी भएका ठाउँमा चलाइने उनी बताउछन् । उनले भने, “बस उपत्यका आएपछि प्राविधिक जाँच गरेर यातायात व्यवस्था कार्यालयमा दर्ता हुन्छ र त्यसपछि नै रुट कता लिने भन्ने हुन्छ ।” काठमाडौँ उपत्यकाबाहिर अहिले साझाका २ वटा बस काठमाडौँ–बाग्लुङ रुटमा गुडिरहेका छन् । डिलक्स बस यही रुटमा थप्ने वा अन्य जिल्लामा भन्ने निर्णय भइसकेको छैन । काठमाडौँ उपत्यकामा चल्ने सिटी बसका लागि भने धेरै ठाउँबाट माग भएको छ । नयाँ बनेका नगरपालिकाले समेत साझाको शेयर खरिद गर्न र आफ्नो ठाउँमा साझा बसको सेवाका लागि इच्छुक देखिएका छन् । उनले भने, “काठमाडौँ उपत्यका र उपत्यकाबाहिर दुबैतिर साझाको माग छ ।” काठमाडौँ उपत्यकामा ४४ र उपत्यकाबाहिर २ वटा गरेर अहिले साझाका ४६ वटा बस सञ्चालनमा छन् । रासस