विकासन्युज

ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा नुमनाथ पौडेल नियुक्त

काठमाडौं । ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा नुमनाथ पौडेल नियुक्त भएका छन् । बैंकको हालै सम्पन्न २८९औँ सञ्चालक समितिको बैंठकले पौडेललाई कम्पनीको उक्त पदमा नियुक्त गरेको हो ।

१६ मेगाफिक्सल फ्रन्ट क्यामेरा भएको ‘प्रो सेभेन’ बजारमा, मूल्य ४७५००

काठमाडौं । चौधरी ग्रुपले मोबाइल उत्पादन गरी नेपाली बजारमा ल्याएको छ । कम्पनीले मेजू प्रो सेभेन, एमफाइभएस लगायत मोबाइल फोनहरु सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको प्रो सेभेनमा १६ मेगाफिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । ४ जीबी र्यामको उक्त मोबाइलमा ६४ जीबीको आन्तरिक सञ्चय क्षमता रहेको छ । ५.२ इन्चको फुल स्कृनको प्रयोग गरिएको यस मोबाइलले कम प्रकाशमा पनि सजिलैसँग फोटो खिच्न सकिने कम्पनीले जनाएको छ । कालो कलरमा उपलब्ध यस मोबाइलको बजार मूल्य कम्पनीले ४७५०० रुपैंया राखेको छ । त्यसैगरी अर्को सार्वजनिक गरिएको मेजू एमफाइभएसमा ५.२ इन्चको एचडी स्कृन प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएको २.५ डी कभर ग्लासले स्मूथकलर प्रदान गर्नुको साथै अध्याँरो भएको समयमा पनि आरामपुर्वक पढ्न सकिन्छ । ३ जीबी र्यामको प्रयोग गरिएको यस मोबाइलमा ३२ जीबीको आन्तरिक सञ्चय क्षमता रहेको छ । यस मोबाइलको मूल्य बजार मूल्य कम्पनीले १९ हजार रुपैंया राखेको छ ।

ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो थप ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले हालै आफ्नो ६६औँ शाखा कपिलबस्तुको जगदिशपुरमा, ६७औँ शाखा नवलपरासीको झ्यालबास र हसौरामा ६८ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो । बैंकले कपिलबस्तुको जगदिशपुरमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय जगदिश गुप्ता, नवलपरासीको झ्यालबासमा खोलिएको सेवाको लागि स्थानिय जुद्घबहादुर थापा र नवलपरासीको हसौरामा खोलिएको सेवाको लागि स्थानिय अमित भण्डारीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । हाल बैंकको ११३ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर सञ्चालनमा रहेका छन् । साथै, बैंकले आजबाट ६८ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्ने भएको छ ।

दोस्रो पुस्ताको राडार आजदेखि सञ्चालनमा, हवाई सेवा सुरक्षित बनाउन एडिएसबी प्रविधि भित्र्याइँदै

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार(आज)देखि दोस्रो पुस्ताको राडार औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । प्राधिकरणका अनुसार आज बिहान ६ः३० बजेदेखि उक्त राडार सञ्चालनमा ल्याइएको हो । हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउने लक्ष्यका साथ उक्त राडार सञ्चालनमा ल्याइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान गरिएको उच्च क्षमताका ‘टु जी राडार’ सञ्चालनमा आएसँगै देशको हवाई यात्रालाई सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । प्राधिकरण, जापानी दूतावास र जाइकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले यही माघ १० गते बुधबार प्राविधिक पक्षको स्थलगत अनुगमन गरी राडार सञ्चालनबारे जानकारी लिएको थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाल ६० एरोनटिकल माइल क्षमताको राडार सञ्चालनमा रहेकामा आजदेखि १२० एरोनटिकल माइलमा स्तरोन्नति भएको छ । नयाँ प्रणाली जडानसँगै आकाशमा जहाज ‘होल्ड’ गर्नुपर्ने समस्याको अन्त्य हुनेछ । भट्टेडाँडाको आठ हजार २०० फिट अर्थात् दुई हजार ३०० मिटर उचाइमा जडान गरिएको राडार र अन्तरराष्ट्रि«य विमानस्थलमा जडित नयाँ प्रणालीको परीक्षण सफल भइसकेको प्रवक्ता ठाकुरको भनाइ छ । विगतमा रेडियो तरंगमार्फत वायुयानको जानकारी लिन सकिन्थ्यो भने आजदेखि सञ्चालनमा आएको राडारबाट श्रव्यदृश्यसहितको जानकारी लिन सकिने प्राधिकरणको दाबी छ । नयाँ राडार जडानपछि हवाई यात्रा सुरक्षित बनाउन मद्दत पुग्नेछ । उक्त राडारको लागत रु एक अर्ब छ । आजदेखि सञ्चालनमा आएको राडारको गतिविधिबारे सात दिनसम्म नियमित अनुगमन गरी त्यसबाट प्राप्त भएको तथ्यांकलाई विश्लेषण गरिनेछ । “राडारको कामको सूक्ष्म अनुगमन पछि त्यसको प्रभावकारिता के कति रहेको छ भन्ने जानकारी दिइन्छ । पहिलो दिनमा नै हवाई उडानमा केही सहजता थपिएको छ,” प्रवक्ता ठाकुरले भने। नयाँ राडारबाट काठमाडौँदेखि ४५० किलोमिटरको दूरीमा रहेका जहाजको अवस्थाबारे जानकारी लिन सकिने भएको छ । विभिन्न उचाइमा उडिरहेका जहाजको अवस्थाका बारेमा जानकारी लिन वा दिन सकिने छ । राडार जडानपछि नेपालको बाटो प्रयोग गर्दा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई समेत सहज हुने र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आवतजावत गर्ने सम्पूर्ण विमानको अवस्था जानकारी पाउन सहज हुने उनको भनाइ छ । भट्टेडाँडामा जडान गरिएको ‘इन रुट राडार’ र विमानस्थलमा जडित ‘टर्मिनल राडार’ले हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने प्राधिकरणको भनाइ छ । नयाँ राडार सञ्चालनमा आएपछि देशका धेरै भूभाग समेटिने र उडान थप सुरक्षित हुने प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनले हवाई सुरक्षाको क्षमता अभिवृद्धि भएको र ट्राफिक व्यवस्थापनमा समेत सहजता थपिएको स्पष्ट पारेका छन् । “नेपालको हवाई आकाश सुरक्षित बनाउन यो प्रविधिले ठूलो भूमिका खेल्नेछ,” उनले भने । नेपालको पूर्वका सबै भूभाग र पश्चिममा सुर्खेतसम्मको विमानको गति, उचाइलगायतका विषयमा जानकारी पाउन सकिने प्राधिकरणले बताएको छ । पुरानो राडारले करिब ११० किलोमिटर (६० एरोनटिकल माइल) परसम्मको जहाजको अवस्था थाहा पाउन सकिन्थ्यो भने भट्टेडाँडामा जडान गरिएको नयाँ राडारबाट ४५० किलोमिटर (२५० एरोनटिकल माइल)सम्मको जहाजको सम्पूर्ण जानकारी थाहापाउन सकिन्छ । निर्माणाधीन गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि हाल जडित राडारलाई विस्तार गर्ने योजना अगाडि सारिएको छ । उक्त विमानस्थलमै नयाँ राडार जडान गरेर देशको सबै उडान क्षेत्र समेट्ने तयारी पनि सँगसँगै भइरहेको छ । आगामी डेढ वर्षभित्र उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी छ । एडिएसबी प्रविधि भित्र्याइँदै नेपालको हवाई यातायातलाई भरपर्दो र सुरक्षित बनाउन प्राधिकरणले राडार प्रणालीलाई थप परिष्कृत गर्दै लैजाने सोचका साथ ‘स्वचालित निगरानी संयन्त्र’ (एडिएसबी) जडान गर्ने तयारी गरेको छ । सो प्रणाली काठमाडौं, ललितपुर, नेपालगञ्ज, भैरहवा र पोखरामा जडान गरिने प्राधिकरणका प्रवक्ता श्रेष्ठले जानकारी दिए । नेपालको हवाई मार्ग निगरानीलाई थप परिष्कृत र भरपर्दो बनाउँदै लैजाने ध्येयका साथ पाँच स्थानमा नयाँ प्रविधि जडान गर्न लागिएको हो । विसं २०५७ मा पहिलोपटक नेपाली आकाशलाई सुरक्षित बनाउन जापान सरकारको सहयोगमा राडार जडान गरिएको थियो । उक्त राडार पुरानो प्रविधिको भएकाले नयाँ राडार सञ्चालनमा ल्याइएको हो । थाई एयरको जहाज रसुवाको घोप्टेभिरमा दुर्घटना भएपछि राडार जडान गरिएको थियो । रासस

सामसङको ‘ग्यालेक्सी ए८ प्लस’ नेपाली बजारमा, मूल्य ५९ हजार ९९० रुपैयाँ

काठमाडौं । सामसङले हालै ‘ग्यालेक्सी ए८ प्लस’ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । आकर्षक डिजाइन तथा थुप्रै विशेषताहरु भएको यस फोनको मूल्य बजारमा ५९ हजार ९९० रुपैयाँ ताेकिएकाे छ । उक्त ग्यालेक्सी ए८ प्लसमा ६ जिबी र्याम, ६४ जिबी इन्टरनल मेमोरि तथा अतिरिक्त मेमोरिकार्डको प्रयोग गरी २५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको छ । यो सामसङको पहिलो डुयल क्यामरा युक्त स्मार्टफोन हो । यसमा ठूलो डिस्प्ले तथा एग्रोनोमिक डिजाइन रहेको छ । कम्पनीका अनुसार ग्यालेक्सी ए८ प्लस फोनमा ठूलो स्क्रिन रहेको छ, जुन अगाडि तथा पछाडि एग्रोनोमिक कर्भ ग्लास रहेको छ । आकर्षक ग्लास तथा मेटल फ्रेममा उपलब्ध यो फोनमा सहजै रुपमा हेर्न वा फोनमा भएका सामग्रीहरुसँग सहजै रुपमा अन्तक्र्रिया गर्न सकिन्छ । १८ः५ः९ रेसियोको डिस्पेले गर्दा ग्राहकले पूरै स्क्रिनमा सिनेमाको जीवन्त अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सामसङ ग्यालेक्सीको ए८ प्लसमा १६ मेगा पिक्सल तथा ८ मेगापिक्सलका क्यामरा रहेका छन् । यसमा एफ १.९ को डुयल क्यामरा, १६ मेगा पिक्सल एफ १.७ रियर क्यामरा लगायत थुप्रै विशेषता रहेको छ । साथै, यस फोनलाई अनलक नै नगरी मोबाइलमा आएका जानकारीहरुको विवरण प्राप्त गर्न सकिन्छ । यो आइपी६८ बाट प्रमाणित र धुलो तथा पानी प्रतिरोधी बनेको छ । ए सिरिजमा पहिलो पटक गियर भिआर पनि प्रयोग गर्न सकिने उक्त फोन कालो र सुनौलो गरी दुई रंगमा नेपाली बजारमा उपलब्ध छ ।

नेपाल बैंकको ६ महिनाको प्रगतिले लगानीकर्तालाई लोभ्यायो, ४ करोड २७ लाखको सेयर कारोबार

काठमाडौं । सेयर बजार ७ अंकले बढ्दा लगानीकर्ता नेपाल बैंकमा झम्मिएका छन् । बिहीबार मात्रै  यस बैंकको ४ करोड २७ लाख ८० हजार रूपैयाँ सेयर कारोबार भएको छ । जुन रकम उक्त दिनको कारोबारका हिसावले सबैभन्दा बढी हाे । चालु आर्थिक वर्षको ६ महिनामा राम्रो नाफा गरेपछि लगानीकर्ताको आकर्षण नेपाल बैंकमा परेको हो । चालु आवको पुससम्म बैंकले १ अर्ब ६७ करोड रुपैयाँ खुदनाफा गरेको छ । नाफाको हिसावमा नेपाल बैंक चाथौ स्थानमा छ । बिहीबार नेपाल बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ३६५ रुपैयाँमा कारोबार भएको छ । साे दिन बैंकको १ लाख १७ हजार ३३८ कित्ता सेयर किनबेच भएको छ । बैंकको सेयर सस्तो हुनुका साथै राम्रो प्रतिफल दिने आशामा लगानीकर्ताको आर्कषण बढेको एक ब्रोकरले बताए । “नाफा बाहेक बैंकको सेयर कारोबार बढ्नु अन्य कुनै कारण देखिएको छैन” उनले भने । एक महिनाको सेयर कारोबार हेर्दा नेपाल बैंकको सेयर मूल्य बढ्दै गएकाे देखिन्छ । यस्तै लक्ष्मी बैंकको पनि प्रतिकित्ता २७९ मा ३ करोड ३४ लाख २२ हजार रुपैयाँमा सेयर किनबेच भएको छ । यस्तै तेस्रो स्थानमा सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेड छ । सानिमाको प्रतिकित्ता ३१९ रुपैयाँमा २ करोड ८५ लाख ६८ रुपैयाँको सेयर किनबेच भएको छ । सानिमाईको सेयर मूल्य घटेका छ । संस्थापक सेयर सबै साधारण भएपछि एक महिनादेखि सानिमामाईको बढी सेयर कारोबार भएको छ । समग्रमा बिहीबारको बजार ७ दशमलब ०३ अंकले बढेर १४११ .५२ अंकमा पुगेको छ । सो दिनको बजारमा कुल १५७ कम्पनीका ४१ करोड ७० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, साेही दिन जलविद्युत बाहेक बैंक, वित्त, होटल, बीमा, लघुवित्त र उत्पादन सबै समूहको परिसूचक उकालाे लागेका छन् । सबैभन्दा बढी बीमा समूहकाे सूचक १६ अंकले उकालाे लागेका छ भने जलविद्युत समूह १.४९ अंकले घटेको छ ।

व्यापारमा मुलुकलाई दैनिक पौने ३ अर्ब घाटा

काठमाडौं । अहिले व्यापार घाटा बढेर दैनिक २ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अबधिमा मुलुकको व्यापार घाटा ४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ । जबकी गएको आर्थिक २०७३/०७४ को सोही अबधिमा उक्त घाटा ४ खर्ब २७ अर्ब रुपैयाँ मात्रै थियो । गएको वर्षभन्दा यस वर्ष साढे १५ प्रतिशत घाटा बढेको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा देखिन्छ । निर्यातभन्दा आयात बढेकोले व्यापार घाट पनि बढेको हो । त्यस्तै वितेको ६ महिनामा ५ खर्ब ३५ अर्ब रुपैयाँको विभिन्न मुलुकहरुदेखि आयात भएको देखिन्छ । गएको वर्ष सोही अबधिमा ४ खर्ब ६३ अर्ब रुपैयाँको मात्रै आयात भएको थियो । तुलनात्मक रुपमा गएको वर्षभन्दा यो वर्ष १५ प्रतिशत आयात बृद्धि भएको छ । यसैबीच गएको वर्षको तुलनामा केही मात्रामा निर्यात बढेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४१ अर्ब १६ करोड रुपैयाँको निर्यात भएकोमा गएको सोही अबधिमा ३६ अर्ब १९ करोड रुपैयाँको मात्र निर्यात भएको थियो । गएको वर्षभन्दा यस बर्ष १३ प्रतिशत निर्यात बढेको छ । विभागको अनुसार हाल निर्यातभन्दा आयातको अन्तर १३ गुणा छ । जुन गएको वर्षभन्दा बढी हो । गएको वर्ष सोही अबधिमा उक्त अन्तर १२.८ प्रतिशत थियो । त्यस्तै कुल व्यापारमा आयातको हिस्सा ९३ प्रतिशत छ ।    

एनएमबिले ल्यायो डिलाइट सेभिङ अकाउन्ट योजना, जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्ने

काठमाडौं । एनएमबि बैंकले नेपालको एकमात्र विशेष सुबिधा भएको “एनएमबि डिलाइट सेभिङ अकाउन्ट” नामक नयाँ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहले यस बैंकको डिलाइट सेभिङ अकाउन्टको एटीएम कार्डमार्फत जुनसुकै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने बैंकले जनाएको छ । यसका साथै, निशुल्क मोबाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग तथा आर्कषक ब्याजदर यस डिलाइट सेभिङ अकाउन्टको अन्य बिशेषताहरु हुन् । हाल यस बैंकले ९४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।