सस्तो कर्जाको खोजीमा हुनुहन्छ ? सम्झनुस् स्ट्याण्डर्ड चाटर्डदेखि राष्ट्रिय वाणिज्य र नविलसम्म
काठमाडौं । वाणिज्य बैंक मध्ये सबैभन्दा सस्तो कर्जा स्ट्याण्डर्ड चाटर्ड बैंकको रहेको छ । यसअघि राष्ट्रिय वाणिज्य बैंकको सस्तो ब्याज रहेकोमा चालु आर्थिक वर्षको ६ महिनामा स्ट्याण्डर्डले उसलाई उछिनेको छ । स्ट्याण्डर्डले सोमबार सार्वजनिक गरेको चालु आवको ६ महिनाको वित्तीय विवरणमा आधार ब्याजदर ५.८० प्रतिशत मात्र रहेको जानकारी दिएको छ । चालु आवको पहिलो त्रैमाशमा उसको आधार ब्याजदर ६.४७ प्रतिशत थियो । ३ महिनाकोबीचमा स्ट्याडर्डको आधार ब्याजदर ०.६७ प्रतिशत घटेको छ । स्ट्याण्डर्डलाई ६ प्रतिशत ब्याजमा कर्जा प्रवाह गर्दा फाइदा हुने देखिन्छ । यस्तै राष्ट्रिय वाणिज्यको आधार ब्याजदर ५.९८ प्रतिशत छ । चालु आवको पहिलो त्रैमाशमा उसको आधार दर पनि यही नै थियो । यस्तै सस्तो ब्याजदर दिनेमा नविल बैंक रहेको छ । नविलको आधार दर ६.९२ प्रतिशत छ । त्यसपछि नेपाल बैंक रहेको छ । नेपाल बैंकको आधार दर ६.९३ प्रतिशत छ । स्ट्याण्डर्ड, राष्ट्रिय वाणिज्य नविल र नेपाल बैंकको कर्जा लिदा ब्याजदर सस्तो हुने देखिएको छ । यस्तै एभरेष्ट बैंकको ७.८४ र नेपाल इन्भेष्टमेन्ट बैंकको ९ प्रतिशत रहेको छ । सबैभन्दा महंगो कर्जा कृषि विकास बैंकको देखिएको छ । कृषि विकासको आधार ब्याजदर ११.५३ प्रतिशत रहेको छ । कृषि विकासबाट कर्जा लिदा ब्याजदर १२ प्रतिशत भन्दा बढी पर्छ । स्ट्याण्डर्डको भन्दा कृषि विकासबाट ऋण लिदा ब्याजदर दोब्बर महंगो हुन्छ । आधार दर ११ प्रतिशत बढी हुनेमा सिभिल बैंकको ११.५०, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको ११.४५, सिटिजन्स बैंकको ११, कुमारी बैंकको ११.१७, जनता बैंकको ११.३५, नेपाल बंगलादेश बैंकको ११.३९ र सेन्चुरी बैंकको ११.४३ प्रतिशत रहेको छ । अधिकाँश बैंक तथा वित्तीय संस्थाले माघ १ गतेदेखि नयाँ ब्याजदर लागु गरेका छन् । बजारमा लगानीयोग्य पुँजीको अभाव हुन थालेपछि अधिकाँश वाणिज्य बैंकले महंगो दरमा निक्षेप उठाउदा लागत बढ्न गई यसको असर आधार ब्याजदरमा परेको हो । केही बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशत पु¥याएपछि यसको असर आधार दरमा परेको छ । नेपाल बैंकर्स एसोसियसनको पहलमा बैंकले मुद्धतिमा दिने ब्याजदर ११ प्रतिशत भन्दा नबढाउने आन्तरिक भद्र सहमति गरेका छन् । पछिल्लो समयमा बैंकले मुद्धति निक्षेपको ब्याजदर ११ प्रतिशतसम्म दिने गरी नयाँ मुद्धति योजना पनि सार्वजनिक गरेका छन् । अन्य वाणिज्य बैंकले मुद्दतीको ब्याजदर १३ प्रतिशत पुर्याउदा स्ट्याण्डर्ड चाटर्ड र नेपाल बैंकको १० प्रतिशत छ । अधिक तरलता भएपछि राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर भने बढाएन । मुद्दति निक्षेपको ब्याजदर बढाएपछि अन्य बैंकको कर्जाको ब्याजदर पनि महंगो देखिएको हो ।
४५ वटा डिलर्ससहित एलजी ब्राण्ड थाइल्याण्ड भ्रमणमा
काठमाडौं । एलजी ब्राण्डले “इन्जोए एण्ड ह्याभ अ ग्रेट ट्रीप टू थाइल्याण्ड २०१८” नाराका साथ ४५ डिलर्सहरुलाई थाइल्याण्ड भ्रमणमा लगेको छ । एलजीले आफ्ना डिलर्सहरुलाई पाँच दिनको लागि थाइल्याण्ड भ्रमणमा लगेको हो । प्रत्येक वर्ष नेपालभरिका एलजीका डिलर्सहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्राण्डको प्रबद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ । यस परम्परालाई निरन्तरता दिने उद्देश्यकासाथ एलजीले हरेक वर्ष झैं यसपाली पनि आफ्ना डिलर्सहरुलाई थाइल्याण्ड भ्रमणमा लगिएको बताएको छ । नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. हो ।
कैलाश विकास बैंकको ४३औँ शाखा कैलालीको धनगढीमा, थप चार शाखा खोल्ने तयारी
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ४३औँ शाखा कैलाली जिल्लाको धनगढीमा विस्तार गरेको छ । बैंकले सोमबारदेखि उक्त शाखाबाट कारोवारको शुभारम्भ गरेको छ । उक्त शाखाको शुभारम्भ नेपाल राष्ट्र बैंकका कामु. निर्देशक रमेश आचार्यले एकसमारोहका बिच सम्पन्न गरेका छन् । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४२ पुगेका छन् भने एटीएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा रुपन्देही जिल्लाको भैरहवा, झापा जिल्लाको दमक, मोरङ्ग जिल्लाको विराटनगर तथा पर्सा जिल्लाको विरगंजमा गरी थप चार शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ । हाल यस विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यस संस्थाले हाल सम्म १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।
माथिल्लो तामाकोशी आयोजनामा चिनियाँ इन्जिनियरको मृत्यु
चरिकोट । दोलखाको लामाबगरमा निर्मार्णाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत एक चिनियाँ इन्जिनियरको मृत्यु भएको छ । बिगु गाउँपालिका वडा नं १ स्थित आयोजनाको ड्यामसाइडमा साइड इन्जिनियरका रुपमा कार्यरत ४९ वर्षीय चिनियाँ नागरिक सुन लिङ लङले काम गरिरहेको अवस्थामा सोमबार बिहान ११ बजेतिर ड्यामको बाहिरपट्टिबाट अचानक खसेको ढुंगा लागेका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । इन्जिनियर लङ गम्भीर घाइते भएपछि उपचारका क्रममा बाटोमा ल्याउँदा ल्याउँदै मृत्यु भएको उनले जानकारी दिएका छन् । आयोजनामा उनले ग्राउण्डिङ सर्किटको काम गर्दै आएका थिए । रासस
कृषि विकास बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार कृषि विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ । समायोजन पश्चात यस बैंकको सेयर मूल्य प्रतिकित्ता ३४६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४३३ रुपैयाँ रहेको थियो ।
अनमोल केसीले गरे बेनेली लियोंसिनोको उद्घाटन, मोटरसाईकलको सुरुवाती मूल्य ८ लाख ९९ हजार
काठमाडौं । नेपाली चलचित्रका नायक अनमोल केसीले बेनेली ब्राण्डका लियोंसिनो मोटरसाईकलको उद्घाटन गरेका छन् । उनी बेनेली नयाँ ब्रान्डका प्रतिनिधि हुन् । मोटरसाईकल इस्क्राम्बल शैलीको छीटो, छरितो र सानदार रहेको कम्पनीको भनाइ छ । मोटरसाईकलमा १७ इञ्चको मिश्रधातुले बनेको पांग्रा जडान गरिएको छ । यसको अगाडी १२०/७० ‘जेडआर’–१७ र पछाडी १६०/६० ‘जेडआर’–१७ पांग्रा रहेको छ । जसले जस्तोसुकै अवस्थामा पनि सन्तुलन रक्षको ग्यारन्टी दिने कम्पनीको दावी छ । त्यस्तै मोटरसाईकलको अप्साइड डाउन ४५ एमएमफोर्क जुन ३२० एमएम डिस्कलाई पकडमा राखेको ४ पिस्टन ब्रेक क्यालिपर्ससँग जोडिएको छ । ब्रेकिंग सिंगल पिस्टन क्यलिपररहित २६० एमएमको डिस्कले नियन्त्रण गर्ने बताइएको छ । मोटरसाइकल ५ सय सिसिको लिकुइडमा प्रस्तुत गरिएको छ । जसले ८५०० आरपिएममा ४८ सिभी अधिकशक्ति र ४५०० आरपिएममा ४६ एनएम (४.६ केजी) को अधिक टोर्क रहेको जनाइएको छ । हरेक सिलिन्डरमा ४ भल्भ, हाइड्रोलिक क्लच र ६ इस्पिडको गियर बक्स, इस्टिल ट्रेलिस फ्रेमले अत्याधिक भर्सट्यालिटी र मनुभरेबिलिटीको ग्यारन्टी दिने कम्पनीले बताएको छ । रातो, सिल्भर र कालो रंगमा उपलब्ध मोटरसाईकलको सुरुवाती मूल्य ८ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ कम्पनीले जानकारी गराएको छ ।
केएलमा सुरु भयो ‘दामीसेल’ मेला, ५ हजारको सामान खरिदमा दुईवटा फिल्म टिकट सित्तैमा
काठमाडौं । राजधानीको चाबहिल स्थित केएल टावरमा ‘दामी ‘सेल’ मेला सुरु भएको छ । ठूला किसिमका सेल मेलामध्ये एक मानिएको यस दामीसेल मेलामा ४५ वटा पसलहरू सहभागी छन् । तीन हजारभन्दा बढी सामानहरू डिस्प्लेमा राखिएको छ । ती सामानहरुको खरिदमा५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । शनिबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्म चल्नेछ । ५ हजार रुपैंयाको सामान खरिदमा दुईवटा फिल्म टिकट निःशुल्क उपलब्ध हुने मेलाको आयोजकले जनाएको छ । साथै पाँच सय वा सोभन्दा बढीको खरिदमा दैनिक पाँच हजार रुपैयाँ बराबरको उपहार दुई जनालाई, बम्पर उपहार लक्की ड्रमार्फत् एक जनालाई दिइने टावरले जनाएको छ । मेला अवधिभर केएल टावरमा विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुनेछन् । फेस पेन्टिङ, फेसन शो, म्यूजिकलइभेन्ट, बीबाइङ, हिपहपलगायत कार्यक्रमहरूका साथै भ्यालेन्टाइन दिवसमा स्पेशल कार्यक्रम समेत गरिने बताइएको छ । हालकेएल टावरमा ५० बढी पसलहरू छन् । मोबाइल हब, डिपार्टमेन्ट स्टोर, सर्टिङ-सुटिङ, रेडिमेट गार्मेन्ट्स, लत्ताकपडा, जुत्ता, सिनेमाहल, फुटकोर्ट, खेल स्थान, बैंक, ट्राभल एजेन्सी लगायत सबैखाले सेवा-सुविधाहरू एकै छानामुनि उपलब्ध छन् ।
सानिमा बैंकले खोल्यो थप चार नयाँ शाखा, शाखा सङ्ख्या ५१ पुग्यो
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो थप चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पोखराको अमरसिंह, बगर, बिरौटा र दाङ्गको तुलसीपुर गरी ४ वटा नयाँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा थप बिस्तार गरेको छ । पोखराको शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा गरेका थिए । साथै, दाङ्गको तुलसीपुर शाखा कार्यालयको उद्घाटन् बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा बरिष्ठ कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताएका छन् । हाल बैंकको ५१ शाखा, १ एक्सटेन्सन काउन्टर र ६० एटीएम सेवा सञ्चालनमा रहेको छ ।