विकासन्युज

खल्ती र ओयोबीच सम्झौता, होटल बुकिङ्ग गर्न सजिलो

काठमाडौं । नेपाली बजारमा चल्तिमा रहेको डिजिटल वालेट एवम् पेमेन्ट गेटवे खल्ती र चेन होटल सर्भिस ओयोबीच सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत नेपालीहरुलाई होटल बुकिङ्गमा निकै सजिलो हुने छ । साथै, यस सम्झौताले ओयोका नेपालमा रहेका ग्राहकवर्गलाई होटलको बुकिङ्ग र भुक्तानी खल्ती एप र वेभसाईट दुबै माध्यमबाट गर्न मिल्ने कम्पनीले जनाएको छ । यी दुई बीचको सहकार्यद्धारा छिटो र सुरक्षित डिजिटल पेमेन्टले नेपालीहरु माझ होटल बुकिङ्गमा रहेको मुख्य चुनौति समाधान हुने कम्पनीको विश्वास छ ।

साल्ट ट्रेडिङले स्वदेशी उद्योगसँग २० हजार टन चिनी किन्दै

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले स्वदेशी उद्योगीहरुसँग २० हजार टन चिनी खरिद गर्न बोलपत्र आब्हान गरेको छ । ट्रेडिङले आइतबार चिनी खरिद गर्न बोलपत्र अह्वान गरेको हो । ट्रेडिङका महाप्रबन्धक कुमार राज भण्डारीले कुनै पनि समय चिनीमा हुनसक्ने अभाव तथा मूल्यको उत्तरचढाबलाई नियन्त्रण गर्न कम्पनीले मौज्जादको लागि चिनी खरिद गर्न लागेको बताए । ‘गएको वर्ष स्वदेशी उद्योगसँग चिनी खरिद गरेनौ, यस वर्ष गर्न लागेका हौं,’ उनले भने ‘हामीले विगतदेखिनै स्वदेशी उद्योगहरुसँग चिनी खरिद गर्दै आएका छौं । कम्पनीका अनुसार जारी गरेको बोलपत्रको मितिबाट एक महिनाको अवधिमा उद्योगहरुले आवेदन सक्नेछन् । आएका बोलपत्रहरुलाई छनौट गरी चिनी खरिद गरिनेछ । चैत्रभित्रमा चिनी खरिद गरिसक्ने कम्पनीको लक्ष्य छ । बजार मूल्य, चिनीको गुणस्तर लगायतलाई मूल्याङ्कन गरी कम्पनी छनौट गरिनेछ । उद्योगीले काम सुरु गरेको ३० दिनभित्रमा १० हजार टन र ६० दिन भित्रमा सम्पुर्ण परिमाणको चिनी उपलब्ध गराउनु पर्नेछ । हालसम्म साल्ट ट्रेडिङमा करिब १८ हजार टन चिनी स्टक रहेको छ ।  

भारतको विद्युत व्यापार निर्देशिकाले नेपालको जलविद्युत उत्पादनमा असर गर्छ

काठमाडौं । नेपालमा अधिकांश जलविद्युत आयोजनाहरु नदिको वहावमा आधारित(आरओआर) नै छन् । यस्ता आयोजनाले मात्रै हाम्रो उर्जाको मागलाई परिपुर्ति गर्न सक्ने अवस्था रहँदैन् । सुख्खा समयमा नदिको वहावमा आधारित आयोजनाको विद्युतले मात्रै हामीलाई पुग्दैन् । भारतले सुख्खा समयमा हामीलाई ठुलो मात्रामा विद्युत उपलब्ध गराईरहेको छ । त्यसका लागि भारतलाई धन्यवाद नै दिनुपर्छ । आरओआरका परियोजनाहरुमा निजी क्षेत्रको ठुलो लगानी छ । जलासययुक्त आयोजनामा भने सरकारले नै लगानी गर्नुपर्छ । त्यसमा आम नागरिक र निजी क्षेत्रको पैसा पनि लगाउन चाँही सकिन्छ । बुढीगण्डकी जस्ता ठुला आयोजना सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा बनाउन सकिन्छ । लागत बढि लाग्ने र ढिलो गरि प्रतिफल पाइने भएकाले जलासययुक्त आयोजनालाई सरकारले नै उच्च प्राथमिकतासहित निर्माण अघि बढाउनुपर्छ । नेपालका लागि ट्रान्समिसन लाइन ठुलो समस्याका रुपमा रहेको छ । कतिपय निर्माण सम्पन्न भैसकेका आयोजनाहरु पनि ट्रान्समिसन लाइनका कारण राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिएको छैन् । कतिपय आयोजनाको काम ट्रान्समिसन लाइनकै कारण द्रुतगतिमा अघि बढ्न सकिरहेको छैन् । भर्खरै अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन(एमसीसी)ले नुवाकोटको लप्सीफेदी देखि रातामाटे– दमौली हुँदै भारतसम्म जोड्ने क्रस बोर्डर प्रसारण लाइन बनाउने भन्ने योजना अघि बढेको छ । ट्रान्समिसन लाइनहरुको निर्माण सरकारले गरिदिनु पर्छ । निजी क्षेत्रलाई आयोजना पनि बनाऔं, ट्रान्समिसन लाइन पनि बनाऔं भन्न मिल्दैन् । साना तथा मझौला खाले जलविद्युत आयोजनाहरु निजी क्षेत्रले बनाउनु पर्छ । सरकारले प्रसारण लाइन र ठुला आयोजनाको निर्माण गर्नुपर्छ । जमिन अधिग्रहण, स्थानीय अवरोध लगायतका समस्या जलविद्युत क्षेत्रको विकासमा देखिएका छन् । ती अवरोधहरु हटाउन सरकारले बिशेष काम गर्नुपर्छ । यति बेला प्रोजेक्ट मेनेजमेन्ट कानुन(प्रोजेक्ट मेनेजमेन्ट एक्ट) ल्याउने तयारी भैरहेको छ । त्यसको मस्यौदामाथी यतिबेला घनीभूत छलफल भैरहेको छ । त्यो ऐन आएपछि पनि जलविद्युत सहित ठुला विकासका आयोजनाको निर्माणमा महत्वपुर्ण भूमिका खेल्नेछ । भारतले बनाएको विद्युत खरिद गाइडलाईनले नेपाललाई समस्या पारेको छ । त्यो गाइडलाईनले नेपालमा निजी क्षेत्रको अगुवाईमा ठुला आयोजना बन्न निरुत्साहित गर्छ । सरकारले भारतीय नेतृत्वसँग उच्चस्तरमा छलफल गरेर यो समास्याको तत्काल समाधान खोज्नुपर्छ । बंगलादेशले ५ सय मेगावाट विद्युत खरिद गर्छाै भनेको छ । त्यसका लागि हामीले उत्पादन र प्रसारण लाइनको कामलाई द्रुतगतिमा अघि बढाउनुपर्छ । हामीले बंगलादेशलमा जलविद्युत निर्यात गर्ने भनेको भारतीय ग्रीडबाट नै हो । अहिलेसम्म हामी जलविद्युत उत्पादनको वित्तिय व्यवस्थापनको पाटोमा मात्रै केन्द्रिय भएका छौं । जलविद्युत क्षेत्रका लागि वित्तिय पाटो मात्रै होइन प्राबिधिक र व्यवस्थापनको पक्ष पनि महत्वपुर्ण हुन आउँछ । आयोजनाको प्रबिधी र व्यवस्थापन पनि साह्रै महत्वपुर्ण कुरा हुन् । हामीसँग कति प्राबिधिक जनशक्ति छ, व्यवस्थापन गर्न सक्ने जनशक्ति कति छ र थप कति आवश्यक पर्छ ? लगायतका कुरामा पनि हामीले बिशेष ध्यान दिनुपर्ने देखिन्छ । पछिल्लो समयमा सौर्य उर्जाको विकास र प्रयोग व्यापक बन्दै गएको छ । सौर्य उर्जा सस्तो पनि बन्दै गएको छ । सौर्य उर्जाको न्युन मूल्यले जलविद्युतको विकासमा समस्या पार्छ । हामीले हाम्रा जल विद्युत आयोजनाहरुलाई मूल्यमा प्रतिष्पर्धी बनाउन आवश्यक छ । त्यसका लागि सरकार र उत्पादक कम्पनीहरुका बिचमा घनिभूत छलफल गर्नुपर्छ ।( राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका निमित्त सचिव,  अर्यालले नेपाल उर्जा लगानी सम्मेलनमा व्यक्त गरेको विचार)

ग्लोबल आइएमई बैंकद्धारा वित्तिय साक्षरता कार्यक्रमको आयोजना, थप नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो ११ औँ वार्षिकोत्सवको अवसरमा बाग्लुङ्ग जिल्लाको बुर्तिबाङ्गमा “वित्तिय साक्षरता कार्यक्रम” संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकका “तालिम तथा बैंक बिज्ञ” पुर्णमान नापितले बुर्तिबाङ क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तियको बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति थियो । साथै, बैंकले माघ १३ गते (शनिबार) देखि नै बाग्लुङ्ग जिल्लाको जुग्गाखोलामा आफ्नो ६५ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय अनिल कुँवरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि दुवै क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । बैंकले हालसम्म ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६५ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

काबुलमा यस वर्षकै ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते

काबुल । अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ । काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थान लक्ष्य गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट गराइँदा कम्तीमा ९५ जनाको मृत्यु भएको बताइएको छ । घटनामा परी अन्य १५८ जना घाइते भएका र तीमध्ये केहीको अवस्था गम्भीर रहेको हुनाले मृतकको सङ्ख्या बढ्नेसमेत प्रहरीको अनुमान रहेको छ । घाइतेको सङ्ख्या बढी भएकाले स्थानीय अस्पतालहरुमा उपचारमा समस्या भएको पनि उनीहरुले जानकारी दिएका छन् । विद्रोही र इस्लामिक स्टेट (आइएस) लडाकू समूहले बेलाबेलामा आक्रमण गरिरहने भएकाले काबुलका आमनागरिकका लागि अत्यन्त प्राणघातक भएको छ । यद्यपि एएफपीका संवाददाताले जामुरिते अस्पतालमा मृत्यु हुने र घाइते हुनेहरुको संख्या अत्यधिक देखेको बताएका छन् । अस्पतालका स्वास्थ्यकर्मीहरुले रक्तपातपूर्ण घाइतेहरुलाई अस्पतालको गल्लीमा समेत राखेर उपचार गरी जीवन जोगाउने संघर्ष गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद माजरोहले भने, “अहिलेसम्म मृत्यु हुनेहरुको संख्या ९५ पुगेको छ, १५८ जना घाइते भएका छन् । यसअघि गृह मन्त्रालयले ६३ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । काबुलको मध्य भागमा पर्ने सिदारात स्क्वायरमा स्थानीय समयानुसार दिउँसो करिब १२ः५० मा घटना भएको अधिकारीहरुले बताएका छन् । विस्फोट भएको क्षेत्रमा गृह मन्त्रालयको पुरानो कार्यालय, युरोपेली संघलगायतका विभिन्न उच्च महत्वका संघसंस्था र कार्यालय रहेका छन् । काबुलका लागि युरोपेली संघका प्रतिनिधिहरु सुरक्षित रहेको र कुनै मानवीय क्षति नभएको अधिकारीहरुले एएफपीलाई जानकारी दिएका छन् । एम्बुलेन्स आक्रमणको तालिवान लडाकू समूहले जिम्मेवारी लिएको छ । घटनापछि सरकारी सुरक्षाकर्मीहरुले घटनास्थल आफ्नो नियन्त्रणमा लिएर दोषीहरुको खोजी कार्य तीव्र पारेको जनाएका छन् । काबुलमै रहेको एक होटलमा गत आइतबार तालिवान लडाकूहरुले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको थियो । रासस/एएफपी

सिद्धार्थ फाउन्डेसनद्धारा नेपाल कुष्टरोग निवारण संघलाई आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंकद्धारा प्रवद्धित सिद्धार्थ फाउन्डेसनले खोकना आरोग्य आश्रमका कुष्टरोगीहरुको प्रयोगार्थ तीनवटा पानी टंकी जडान गर्न ६७ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम एक समारोहका बीच शुक्रबार बैंकका नायव महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले नेपाल कुष्टरोग निवारण संघका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायव महाप्रबन्धक बस्यालले आगामी दिनहरुमा पनि सिद्धार्थ फाउन्डेसनले यस्तै प्रकारका विभिन्न कार्यहरुमा सहभागिता जनाउँदै जाने जानकारी गराएका छन् ।

असार १ गते प्रदेश अर्थमन्त्रीले बजेट ल्याउने

काठमाडौं । प्रदेश अर्थमन्त्रीले प्रत्येक वर्षको असार १ गते आर्थिक वर्षको राजश्व र आम्दानीको व्यय अनुमान (बजेट) पेश गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले तयार पारेको प्रदेश आर्थिक कार्यविधि ऐनको मस्र्यौदामा प्रदेश आर्थिक विकास मन्त्रीले वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।   अर्थले मस्र्यौदाको अन्तिम रुप दिएको छ । व्यवस्थापिका संसदबाट पारित भएपछि ऐनको रुपमा कार्यन्वयनमा आउने छ । प्रदेशको बजेटमा अघिल्लो वर्षमा गरिएको अनुमानअनुसार राजश्व संकलन भएनभएको विवरण सहित गैरकर छुट दिएको विवरण समावेश गर्नुपर्ने प्रस्तावित ऐनको मस्र्यौदामा उल्लेख गरिएको छ । यस्तै मध्यकालिन खर्चको संरचना तयार, अनुदान र सार्वजनिक ऋण लगानी सम्बन्धित नीति बजेटमा समावेश गरिएको हुनुपर्ने छ । प्रदेश सरकारले घाटाको बजेट पेश गर्न सक्ने व्यवस्था प्रस्तावित मस्र्यौदामा गरिएको छ । ३ वर्षको आम्दानी र खर्चको स्रोतको प्रक्षेपण सहित मध्यकालिन खर्च संरचना तयार गर्नुपर्ने छ । यस्तो खर्च संरचना बनाउदा आवधिक विकास योजनालाई मार्ग निर्देशनका रुपमा लिनुपर्ने छ । प्रदेश अर्थ मन्त्रालयले यस्तो बजेट ल्याउदा घाटा पुर्ति गर्ने स्रोत र सोको स्पष्ट आधार खुलाउनु पर्नेछ । प्रशासनिक खर्च ब्योहर्न घाटाको बजेट पेश गर्न नपाइने व्यवस्था गरिएको छ । आगामी आवको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनाका लागि उपलब्ध हुने स्रोत तथा खर्चको सीमा प्रदेश अर्थ मन्त्रालयले चालु आवको माघ मसान्तभित्र गरिसक्नु पर्ने छ । प्रदेशको स्रोत अनुमान समितिले गत आव र चालु आवको ६ महिनामा समष्टिगत आर्थिक परिसूचकहरु आगामी आवमा उपलब्ध हुन सक्ने राजश्व, अनुदान विकास सहायता र आन्तरिक ऋण रकमका आधारमा स्रोतको अनुमान गर्नुपर्ने व्यवस्था गरिएको छ । मध्यकालिन खर्चको संरचनाका आधारमा आगामी वर्षका लागि गर्न सकिने खर्चको सीमा निर्धारण गर्नुपर्छ । प्रदेश अर्थ मन्त्रालयले स्रोत अनुमान समितिले निर्धारण गरेको स्रोत तथा खर्चको अनुमान सीमामा रही बजेट सीमा र मार्गदर्शन फागुनको दोस्रो साता सम्बन्धित मन्त्रालय र सचिवालयमा पठाउनु पर्नेछ । संविधानमा प्रत्येक वर्षको १५ गते केन्द्रीय बजेट र स्थानिय तहले असार १५ गते आयव्यय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रदेशसभाको गठन हुदै छ । आउृदो फागुनदेखि प्रदेशसभाको बैठक बोलाइएको छ ।  

सनराइज बैंकको नयाँ शाखा रुकुमको सानीभेरीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो नयाँ शाखा रुकुमको सानीभेरीमा स्थापना गरी बैंकिङ्ग सेवा शुरु गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन आइतबार बैंकका नायब महाप्रबन्धक अपछकुमार यादब र सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले एक औपचारिक कार्यक्रमका बीच गरेका थिए । यस नयाँ शाखा समेत गरी बैंकको शाखा संख्या ७६ वटा पुगेको छ । साथसाथै, बैंकको नेपाल अधिराज्य भर ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालनमा ल्याउने बैंकले जनाएको छ ।