विकासन्युज

एभरेष्ट बैंकको २३ औं साधारणसभा सम्पन्न, ३३ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २३ औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कम्पनीको उक्त सभाले सेयरधनीलाई ३३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । साथै, उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको १.७४ प्रतिशत नगद लाभांश (कार प्रायोजनको लागि) लाई दिने प्रस्ताब अनुमोदन गरेको छ ।३३ प्रतिशत बोनस वितरण पश्चात बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँभन्दा बढि हुने कम्पनीले जनाएकाे छ । बैंकले वार्षिक साधारण सभाको अबसरमा ५ वटा नयाँ शाखासमेत खोलेको छ । महोत्तरीको पिपरा, स्याङ्जाको बिरुवा, नुवाकोटको दुप्चेश्वर, बर्दियाको बनसादी र डोटीको शिखरमा आफ्नो नयाँ शाखा खोलेको हो । साथै, बैंकले मोरङको बिराटचोक, इलामको फिक्कल, रौतहटको गौरादह, कैलालीको लम्की र झलारीमा नयाँ एक्टेन्सन् काउन्टर खोलेको छ । बैंकले साधारण सभाको अवसरमा आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिको लागि केन्द्रिय कार्यालयमा ‘इबिएल ट्रेनिङ एकेडेमी’ समेत संचालनमा ल्याएको छ । प्रविधिमा लगानी बढाउदै बैंकले कर्मचारीको लागि इ लनिङ मोवाइल एप ‘सरस्वति’को समेत सुरुवात गरेको छ । बैंकले आफ्नो २३ औं बार्षिक उत्सबको अवसर पारेर प्रतिबिम्ब “प्रतिबिम्ब” नामक बार्षिक प्रकाशन सुरु गरेको छ । बैंकले आफ्नो ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९५ एटिएम मेशिनहरुबाट दिदै आएको छ । बैंकले निकट भबिष्यमा नै ११ नयाँ शाखा थप गर्दै आफ्नो सेवा बिस्तार गर्ने योजना बनाएको छ ।

जनता बैंकका नवनिर्वाचित अध्यक्ष रायमाझी र ५ संचालकद्धारा सपथ ग्रहण

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडका नवनिर्वाचित अध्यक्ष केशवबहादुर रायमाझीले आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गभर्नर डा.चिरञ्जीवी नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् । गत पुस २९ गते सम्पन्न संचालक समितिको बैठकबाट रायमाझी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका थिए ।  आइतबार बैंकमा आयोजित एक कार्यक्रममा नवनिर्वाचित संचालकहरु लंङ्कबहादुर के.सी., रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, विनितकुमार अग्रवाल र संजिव न्यौपानेलाई संचालक समितिका अध्यक्ष रायमाझीले सपथ ग्रहण गराएका छन् । नवनिर्वाचित संचालकहरुले आजैबाट पदभार ग्रहण गरेका छन् । सपथ ग्रहण पश्चात अध्यक्ष रायमाझीले आगामी ५ बर्ष भित्र जनता बैंकलाई अग्रणी बैंकका रुपमा रुपान्तरण गरीने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बाग्लुङ्गको बुर्तिवाङ्गमा 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ्गमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका चन्द्रप्रसाद ढकाल र बाग्लुङ्ग जिल्ला निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले संयुक्त रुपमा गरेका छन् । त्यस्तै, सोहि शाखामा खोलिएको एटिएम सेवाको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले उद्घाटन गरेका हुन् । उक्त शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले प्रदान गरिरहेका सुबिधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, रेमिट्यान्स सुविधा, होम लोन लगायतका सेवाको माध्यमबाट बुर्तिवाङ्ग क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । ग्लोबल आइएमई बैंकले हालसम्म ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ५९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्ककार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

भूकम्प पीडितले दोश्रो किस्ताका लागि निवेदन दिने म्याद सकियो, कति बने घर ?

काठमाडौं । २०७३ साल पुस मसान्तसम्ममा पहिलो किस्ता रकम लिएका भूकम्प पीडितहरुले दोश्रो किस्ताका लागि निवेदन दिने म्याद सकिएको छ । प्राधिकरणको निर्देशक समितिले २०७३ पुस मसान्तअघि निजी आवास निर्माणका लागि पहिलो किस्ता रकम बुझेका भूकम्प पीडितले २०७४ पुस भित्रै दोश्रो किस्ता रकमका लागि निवेदन दिईसक्नुपर्ने निर्णय गरेको थियो । ‘पहिलो किस्ता लिएर घर बनाउने काम गरुन भन्नका लागि समय सिमा तोकिएको थियो, पहिलो किस्ता लिएर चुप लागेर बस्नेहरुलाई कुरेर बस्ने अवस्था छैन’, पुननिर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले भने । हालसम्म ७ लाख ६७ हजार ७ सय ५ परिवार भूकम्प पीडितहरु लाभग्राहीको सूचिमा परेका छन । तीमध्ये ६ लाख ६८ हजार ९६ परिवारसँग अनुदान सम्झौता गरिएको छ । ६ लख ६६ हजार ९ सय ७७ परिवारले पहिलो किस्ताको रकम लिईसकेका छन् । १ लाख २९ हजार ६ सय ६८ परिवारले दोश्रो किस्ता लिएका छन भने ३१ हजार ५ सय ३५ परिवारले तेश्रो किस्ता समेत लिएका छन् । एक लाख ८६ हजार ४ सय २९ परिवारले दोश्रो किस्ता भुक्तानीका लागि आवेदन दिएका छन् । एक लाख ७१ हजार ४ सय ४८ परिवार भने दोश्रो किस्ता भुक्तानीका लागि प्रमाणिकरणमा परेका छन् । हालसम्म ८३ हजार ७ सय ७० भूकम्प पीडित परिवारले मात्रै नयाँ घर निर्माण सम्पन्न गरेका छन् । २ लाख २४ हजार ६ सय ७ परिवारले भने यतिबेला धमाधम घर निर्माण गरिरहेका छन् । अब के हुन्छ ? प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेका अनुसार २०७३ पुस मसान्त अघि नै पहिलो किस्ता लिएका पीडितहरुले अब के कारणले दोश्रो किस्ताका लागि आवेदन निदएको हो भन्ने कारण खुलाएर स्थानीय तहमा निवेदन दिन सक्नेछन् । तर उनीहरुले दिएको निवेदनको सुनुवाई भने हुन्छ वा हुन्न अझै एकिन भएको छैन् । ‘तोकिएको अवधी भित्र दोश्रो किस्ताका लागि आवेदन नदिएकाहरुले कारण खुलाई स्थानीय तहमा निवेदन दिन सक्नेछन् तर प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिले निर्णय गरेकाले सुनुवाईका लागि पनि फेरी सोही तहको निर्णय हुनुपर्छ’, घिमिरेले भने ।  

नेपाल टेलिकमको ५५ प्रतिशत नगद लाभांश पारित, माघ २ गतेदेखि वितरण गरिने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को सेयरधनीलाई ५५ प्रतिशत नगद लाभांश पारित भएको छ । आइतबार सम्पन्न टेलिकमको १०औँ वार्षिक साधारणसभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको छ । सभाले पारित गरे बमोजिम टेलिकमले आर्थिक वर्ष २०७३/७४ को मुनाफा रकम मध्येबाट ५५ रुपैयाँ प्रतिसेयरका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आगामी माघ २ गते देखि सो मात्राको लाभांश रकम आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भएको छ । कम्पनीले वितरण गर्न लागेको उक्त लाभांश रकम अहिलेसम्म वितरण गरिएको लाभांश रकम मध्ये सबैभन्दा बढी हो । साथै, सभाले सर्वसाधारण शेयरधनी मध्येबाट निर्वाचित हुने सञ्चालकको कार्यकाल ३ वर्ष वा नियुक्ति भएको मिति देखि तीन वटा साधारणसभा बस्ने मिति मध्ये जुन पहिलो हुन्छ, सो मितिसम्म मात्र हुने व्यवस्था गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा खुद मुनाफा १५ अर्ब ३७ करोड रुपैयाँ कमाएको छ । साथै, गत आवको तुलनामा १७.२३ प्रतिशतले ग्राहक संख्यामा वृद्धि भई १ करोड ७६ लाखभन्दा बढी ग्राहकहरूलाई सस्तो तथा भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी सफल भएको सभामा जानकारी गराइएको छ ।

२०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने साधारणसभाको निर्णय, अपी पावरले ल्याउने भयो २ अर्ब २६ करोड हकप्रद सेयर

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । अपीको आइतबार सम्पन्न साधारणसभाले २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न प्रस्ताव पारित गरेको छ । साधारणसभाले पारित गरेकाले कम्पनी व्यवस्थापनलाई हकप्रद निष्कासनको काम अघि बढाउन बाटो खुला भएको छ । अपीले धितोपत्र बोर्डमा हकप्रद निष्कासनका लागि निवेदन दिएको छ । जलविद्युत र सौर्य ऊर्जामा लगानी गर्न अपीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर मध्ये १ अर्ब रुपैयाँ सिद्धकाली पावर लिमिटेडले निर्माण गर्न लागेको त्रिशुली–गल्छी र १ अर्ब २६ करोड ८० लाख रुपैयाँ १८ मेगावाट क्षमताका विभिन्न सौर्य आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर जारी गरेपछि कम्पनीको सेयर संख्या १ करोड १३ लाख ४० हजार रुपैयाँ पुग्ने छ । कम्पनीले निर्माण गर्ने विभिन्न जलविद्युत र सौर्य आयोजनामा लगानीका लागि बैंकबाट ऋण लिने अधिकार सञ्चालक समितिलाई दिनका लागि सभामा प्रस्ताव सभाले पारित गरेको छ । कम्पनीले यसअघि २ अर्ब ११ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । सेयर पुँजी बढाएर हकप्रद निष्कासन रकम बढाएको छ । अपीले हाल ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै ८.५ मेगावाटको नौगाड आयोजना निर्माण गरिरहेको छ । यस्तै ७५ मेगावाटको त्रिशुली गल्छीमा बनाउने भनेपनि बैंकले लगानी नगर्ने भनेपछि सिद्धकालीले क्षमता घटाएर २६ मेगावाटको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि विद्युत विकास विभागमा निवेदन दिएको छ । त्रिशुली गल्छी आयोजना नबन्ने भएमा सो रकम प्रस्तावित ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव सभाबाट पारित भएको सञ्चालक सतिश न्यौपानेले बताए । “सकेसम्म त्रिशुली गल्छीमा नभए माथिल्लो चमेलियमा लगानी गर्ने प्रस्ताव पारित भएको छ” उनले भने ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्गकाे १५ प्रतिशत बोनस सेयर पारित, हकप्रद किन्नेले पनि पाउने

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को सेयरधनीलाई १५.७९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । आइतबार(आज) सम्पन्न संस्थाको १६औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे बमोजिम संस्थाले आ.व. २०७३/०७४ को नाफाबाट १५.७९ प्रतिशत बोनस सेयर दिने भएको छ । उक्त सेयर हालै निष्काशन भई बाडँफाँड गरिएको ४० प्रतिशत हकप्रद सेयरमा समेत प्रदान हुने गरी पारित भएको सभामा जानकारी गराइएको छ । अर्थात संस्थाकाे ४० प्रतिशत हकप्रद किन्नेले पनि सो मात्राको बोनस सेयर पाउने संस्थाले बताएको छ । उक्त बोनस पश्चात संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ । हाल सम्ममा निक्षेप २ अर्ब ७७ करोड रुपैयाँ तथा कर्जा २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । साथै, सोही अवधिमा संस्थाले १ करोड ३९ लाख रुपैयँँ संचालन मुनाफा कमाउन सफल भएको संस्थाबाट जारी विज्ञप्तीमा उल्लेख छ । हाल सम्म यस संस्थाको आठ वटा शाखा कार्यालय रहेको छ । साथै, संस्थाले आगामी दिनमा थप दुई शाखा कार्यालयहरु खोल्ने तयारी गर्दैछ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको ६५ प्रतिशत लाभांशले लगानीकर्ता लोभिए, आइतबार सबैभन्दा बढी कारोबार

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ६५ प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ता लोभिएका छन् । लाभांश सार्वजनिक भएपछि आईतबार नेपाल स्टक एक्चेन्ज लिमिटेडमा फरवार्डको सबैभन्दा बढी सेयर किनबेच भएको छ । अघिल्लो साता संस्थाले गत आर्थिक वर्षमा गरको नाफाबाट सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता झुम्मिएका हुन् । फरवार्डले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । आइतबार फरवार्डको प्रतिकित्ता ३ हजार ३८१ रुपैयाँमा १ करोड ९३ लाख ८५ हजार रुपैयाँ बराबर ५ हजार ६३८ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ता लोभिए पनि फरवार्डको सेयर मूल्य प्रतिकित्ता १२३ रुपैयाँ घटेको छ । बिहीबार फरवार्डको सेयर मूल्य प्रतिकित्ता ३ हजार ५०४ रुपैयाँ थियो । चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको संस्थाको बोनस सेयर वितरणपछि पुँजी ३० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले गतबर्ष मात्र साधारण सेयर (आइपीओ) निष्कासन गरेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । फरवार्डको संचित कोषमा ६६ करोड ७६ लाख १६ हजार रुपैयाँ छ । संस्थाको सेयर मूल्य धेरै भएकाले बोनस पाउने लोभमा सेयर खरिद गर्नु पछिका लागि फाइदा नहुने संभावना त्यत्तिकै छ । केही महिना अघिसम्म फरवार्डको सेयर मूल्य प्रतिकित्ता ४ हजार रुपैयाँ थियो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर १ हजार ७८६ रुपैयाँमा १ करोड ५२ लाख ४० हजार रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो साता प्रतिकित्ता १ हजार ८८९ रुपैयाँसम्म पुगेको नेपाल लाइफको सेयर मूल्य घटेको छ । पछिल्लो समयमा नेपाल लाइफका लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँ गुमाएका छन् । बढी लाभांश दिने हल्ला चलेपछि नेपाल लाइफको सेयर कारोबार बढी हुदै आएको छ । सानिमामाई हाइड्रोपावर लिमिटेडले थप आयोजना बनाउन लगानी बढाउने भएपछि यसको पनि कारोबार धेरै भएको छ । आइतबार सानिमाको प्रतिकित्ता ४५१ रुपैयाँमा १ करोड ४२ लाख ८५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।