विकासन्युज

जेबिल्स फाइनान्सको ३ लाख ७२ हजार कित्ता हकप्रद सेयर लिलाम हुदै, माघ १४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन

काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको हकप्रद सेयर लिलाम गर्ने भएको छ । फाइनान्सले कुल ३ लाख ७२ हजार ४२७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । जसअनुसार संस्थापक समूहतर्फ २ लाख ९८ हजार २०६ र सर्वसाधारण समूहको ७४ हजार २२० कित्ता हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो । हकप्रद खरिदका लागि माघ १४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकिएको छ । चुक्तापुँजी बढाउन जेविल्सले असोज १ गतेदेखि कात्तिक २० गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा आवेदन नपरेपछि फाइनान्सले लिलामी गर्न लागेको हो ।  

सानिमामाई हाइड्रोपावरले ११५ मेगावाटका ३ जलविद्युत आयोजनामा १ अर्ब ८ करोड लगानी गर्ने

काठमाडौं । गैरआवासिय नेपालीले प्रवद्र्धन गरेको सनिमामाई हाइड्रोपावर लिमिटेडले ११५ मेगावाट क्षमताका ३ जलविद्युत आयोजना निर्माण गर्न १ अर्ब ८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको शुक्रबार राजधानीमा सम्पन्न छैठौ वार्षिक साधारणसभाले ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनामा ४८ करोड, २८ मेगावाटको लोअर लिखुमा ४५ करोड र १४ मेगावाटको मैलुङखोला जलविद्युत आयोजनामा १५ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव पारित गरेको छ । मध्यतमोर र लोअर लिखुमा हकप्रद सेयर निष्कासबाट प्राप्त रकम र मैलुङखोलामा गत आर्थिक वर्षमा गरेको खुदनाफा संचित कोषमा राखेर लगानी गर्ने भएको हो । गत आवमा कम्पनीले २८ करोड ९९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आवमा गरेको नाफाबाट सेयरधनीले ५ प्रतिशत मात्र लाभांश पाउने अवस्था आएपछि वितरण नगरेको सानिमामाईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुवर्णदाश श्रेष्ठले बताए । गत आवमा गरेको नाफा नयाँ जलविद्युत आयोजना बनाउन पुनरलगानी गर्ने प्रस्ताव सभाले पारित गरेको हो । कम्पनीको पुँजी वृद्धिपछि लाभांश कम आउने भएको हो । सानिमामाईले जलविद्युत्मा थप लगानी जुटाउन भन्दै १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता हकप्रद सेयर बिक्री गरिसकेको छ । अहिले ५ प्रतिशत लाभांश भन्दा लगानीबाट दीर्धकालमा बढी प्रतिफल आउने उनको भनाई छ । कम्पनीले हकप्रद सेयर निष्कासन गरेपछि चुक्तापुँजी बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । जलविद्युत आयोजनामा लगानी गर्नका लागि सानिमामाईले सत्प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । यस्तै सानिमा माई र सुनकोसी आयोजनाको प्रवद्र्धक सानिमा हाइड्रोपावरलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाउन सभाले सञ्चालक समितिलाई सहमति दिएको छ । दुई कम्पनी गाभिएपछि सानिमाको क्षमता अझ विस्तार हुने छ । सभाले साधारण सेयरधनीका तर्फबाट भारतकुमार पोखरेल र आशिषकुमार श्रेष्ठलाई सञ्चालकमा निर्वाचित गरेको छ । सानिमामाईले २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । गत आवमा सानिमामाईले बिजुली बिक्री, ब्याज र विविध शिर्षकबाट गरी ८० करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको थियो । २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको २ आयोजना निर्माण सम्पन्न गरेको छ । नयाँ आयोजनामा संस्थापकको ७०, आयोजना प्रभावित स्थानियबासिन्दाको १० र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ । आयोजना आगामी सन् २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ ।  

कमिसन कटौतीका कारण नेप्सेको नाफा घट्यो

काठमाडौँ, शेयर दलाललाई दिइँदै आएको कमिसनमा व्यापक कटौती गरिएसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)को नाफा खस्किएको छ । नेप्सेले आव २०७३/७४ मा  ३७ करोड २० लाख ८५ हजार  रूपैयाँ खुद नाफा गरेकाे छ । आव २०७२/७३ मा नेप्सेले  ४७ करोड ४९ लाख ६० हजार  रूपैयाँ  नाफा गरेको थियो । ब्रोकर कम्पनीलाई दिइँदै आएको कमिसनमा ३० प्रतिशतको कटौतीका कारण नेप्सेको नाफामा कमी आएको हो । नेपाल धितोपत्र बोर्डले शेयर दलाल कम्पनीलाई शेयर कारोबारबापत दिइँदै आएको कमिसनमा भारी कटौती गरेपछि नेप्सेको नाफा घटेको प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए ।  नेप्सेले गत आवमा  ४६ करोड ७८ लाख २३ हजार ६७ धितोपत्र कारोबारबाट आम्दानी गरेको छ भने अघिल्लो वर्ष  ६९ करोड ६१ लाख ९४ हजार रूपैयाँ आम्दानी गरेको थियो । गत आवमा १०१ वटा संगठित संस्थाले धितोपत्र निस्काशन गरी  ५९ अर्ब ३९ करोड ५४ लाख रूपैयाँ बराबरको पूँजी परिचालन गरेका छन् । प्राथमिक बजारतर्फ रकमका आधारमा अघिल्लो आवको तुलनामा परिचालित रकममा करिब २१२ .६३ प्रतिशतले वृद्धि भएको छ भने पूँजी परिचालनकर्ता संगठित संस्थाको संख्यामा ८३.६४ प्रतिशतले वृद्धि भएको छ । यस्तै दोस्रो बजारमा आव २०७२/७३ मा १ खर्ब ६३ अर्ब ९५ करोड रूपैयाँ बराबरको धितोपत्रको कारोबार भएकोमा आव २०७३/७४ मा २४.९० प्रतिशतले वृद्धि भई र२ खर्ब ४ अर्ब ७९ करोड रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । परिणामस्वरुप दैनिक औषत कारोबार अघिल्लो वर्षको तुलनामा  ७० करोड ३६ लाखबाट बढेर  ८९ करोड तीन लाख रूपैयाँ पुगेको छ । कारोबार संख्यातर्फ आव २०७२/०७३ मा ८ लाख ३६ हजार ९०२ वटा कारोबारबाट ३० करोड २० लाख २० हजार कित्ता शेयर खरिद बिक्री भएकोमा आव २०७३/७४ मा १३ लाख ५५ हजार ५८५ कित्ता शेयर कारोबारबाट ३९ करोड ३५ लाख ३८ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । अघिल्लो आवको तुलनामा ६९.९८ प्रतिशतले वृद्धि भएको छ भने कारोबार भएको शेयर कित्तामा गणना गर्दा २९.९९ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ । घट्यो बजार पूँजीकरण  आव २०७२/७३ मा १८ खर्ब ९० अर्ब रूपैयाँ  रहेको नेपालको धितोपत्र बजार पूँजीकरणका १.७९ प्रतिशतले कमी आई आव २०७३/७४ मा  १८ खर्ब ५६ अर्ब रूपैयाँ कायम भएको छ । आव २०७२/ ७३ मा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २२९ रहेकोमा आव २०७३/७४ मा थप १२ कम्पनी सूचीकृत भएका छन् । यस्तै ३३ कम्पनी एक आपसमा गाभिएर तथा प्राप्ति भई उक्त संख्या २०८ कायम भएको छ । समीक्षा वर्षमा कूल १७३ कम्पनीको रु ३५ अर्ब १७ करोड बोनस शेयर र ७३ कम्पनीको  ३० अर्ब ४६ करोड ४८ लाख रूपैयाँ बराबरको हकप्रद शेयर सूचीकृत गरिएको छ । परिणामस्वरुप समीक्षा वर्षको अन्त्यमा कूल १ खर्ब ३६ अर्ब ३४ करोड ६९ लाख बराबरका शेयर सूचीकृत भएका छन् । यस अवधिमा ३ अर्बको तीन वटा सामूहिक लगानी कोषको एकाइ, ५७ करोड २२ लाख बराबरको तीन कम्पनीका थप शेयर र ६२ अर्बको तीन प्रकारका सरकारी ऋणपत्रसमेत सूचीकृत भएको नेप्सेले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । नेप्सेमा आव २०७२/ ७३ मा १३१ सूचीकृत कम्पनी क वर्गमा वर्गीकृत भएकोमा आव २०७३/७४ मा १११ कम्पनी क वर्गमा वर्गीकृत छन् । आव २०७२/७३ को अन्त्यमा १ हजार ७१८ दशमलव १५ पुगेको नेप्से परिसूचक समीक्षा वर्षको अन्त्यमा १ हजार ५८२ दशमलव ६७ झरेको छ । उक्त परिसूचक अघिल्लो आवको तुलनामा ७.८९ प्रतिशतले घटेको हो । पचास प्रतिशत नगद लाभांश बाँडिदै  नेप्सेको ३६ औँ वार्षिक साधारणसभाले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार आजको साधारणसभाले  १५ करोड लाभांश वितरण गरेको छ । जसअनुसार सरकारलाई कूल लाभांशको ५८ प्रतिशतअर्थात ८ करोड ७० लाख रूपैयाँ जानेछ । यसैगरी नेपाल राष्ट्र बैंकले कूल लाभांशको ३५ प्रतिशत अर्थात ५  करोड ३५ लाख पाउने छ भने एनआइडिसी डेभलपमेन्ट बैंकले ६  प्रतिशतअर्थात ९० लाख नाफा पाएको छ ।  नेप्सेमा सरकार, राष्ट्र बैंक र एनआइडिसी डेभलपमेन्ट बैंकसहित केही शेयर दलालको शेयर रहेको छ । रासस

पुल निर्माणमा बजेट अभाव, माग ७७ अर्ब, निकासा ३ अर्ब मात्र

काठमाडौँ  । बजेट अभावका कारण देशभर निर्माणाधीन ९०० भन्दा बढी पुल समयमै सम्पन्न गर्न समस्या खडा भएको छ । चालु आवमा सडक विभाग मातहतका पुल महाशाखाअन्तर्गत ३ अर्ब रूपैयाँ मात्रै बजेट विनियोजन गरिएको छ । तर निर्माण गर्नुपर्ने पुलको संख्या भने ९०० बढी रहेका छन् । महाशाखाले ६२ अर्ब रूपैयाँ बराबरको ठेक्का लगाएको छ । तर बजेट भने असाध्यै कम भएका कारण निर्माणाधीन पुल तोकिएको समयमा सम्पन्न गर्न समस्या हुने भएको छ । ठेक्का पूरा भई निर्माण भइरहेका ९११ वटा पुलको लागत मात्रै ६२ अर्ब भन्दा बढी रहेका छन् । राजमार्गमा २७६ वटा पुल निर्माण भइरहेको छ । सो को लागत १५ अर्ब रूपैयाँ छ । महाशाखाका अनुसार कूल  ७७ अर्ब रूपैयाँ  बढीको पुल निर्माणमा छन् । ठेक्का सम्झौताअनुसार तीनदेखि चार वर्षमा सबै पुल निर्माण गरिसक्नुपर्ने हुन्छ । विभागका उपमहानिर्देशक एवं पुल माहाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार  ६२ अर्बको पुल निर्माण गर्न वर्षेनी  १६ अर्ब रूपैयाँ  आवश्यक हुन्छ । “पुल निर्माणको मूलभूत समस्या भनेको बजेटको अभाव हो, राजनीतिक दलले प्राथमिकतताअनुसारको पुल निर्माणका लागि माग गर्दैनन्, निर्वाचन क्षेत्र र आफन्तका घर बस्ती जोड्न पुल माग्ने गरेका छन्” उपमहानिर्देशक थापाले भने। निर्माण व्यवसायी दैनिकजसो महाशाखामा रकम भुक्तानीका लागि आउने गरेको भए पनि बजेट अभावमा दिन नसकिएको उनकाे भनाइ छ । बजेट अभावमा पुल निर्माणले समयमै गति नलिएपछि जनस्तरबाट आक्रोशसमेत व्यक्त हुने गरेको छ । बजेट अभावका कारण चार वर्षे ठेक्का पूरा हुन दश वर्षसम्म लाग्ने गरेको छ । जसका कारण लागत बढ्नुका साथै जनस्तरबाट समेत विरोध हुने गरेको छ । “यो यर्थाथ हो, केहीलाई यर्थाथ तितो लाग्न सक्छ, बजेट नभएकै कारण हामीले पुल निर्माणलाई सोचेजति गति दिन सकेनौँ” थापाले भने । देशभर नै पुल निर्माणका लागि दैनिकजसो माग आइरहने र सरकारले समेत पुल निर्माणलाई विशेष प्राथमिकतामा राखेका कारण महाशाखालाई बजेट एवं जनशक्ति परिचालनमा समेत समस्या भएको छ । नयाँ नयाँ सडक बनीरहेको, सोही आधारमा पुलको मागसमेत बढिरहेको अवस्थामा बजेटको अभावका कारण आफूहरुलाई नयाँ पुल निर्माणमा समस्या उत्पन्न भएको महाशाखाका प्रमुख तथा विभागका उपमहानिर्देशक थापाले जानकारी दिए । “देशभर नै पुलको माग अत्यधिक छ, राजनीतिक नेतृत्वले पनि पुलकै माग गर्ने गरेका छन्, हामीसँग स्रोत र साधनको अभाव देखिएको छ” उपमहानिर्देशक थापाले भने ।उनका अनुसार चालु आवमा ५० वटा पुल निर्माण सम्पन्न हुने छन् । सरकारले आवको अन्त्यमा हरेक पटक रकमान्तर गरेर भए पनि बजेट उपलब्ध गराउने गरेको जानकारी दिँदै उपमहानिर्देशक थापाले सडक विभागले हरेक वर्ष कूल बजेटको ९० प्रतिशतभन्दा बढी रकम खर्च गरेको दाबी गरे । महाशाखाका अनुसार हाल देशभर २ हजार ९ वटा पुल निर्माणाधीन रहेको छ । त्यसमध्ये नयाँ निर्माण भएका सडकमा ५०० वटा नयाँ पुल बनाउन माग भई आएको छ । यस्तै ३०० वटा सहायक तथा पहुँचमार्गमा पुल निर्माण गर्नुपर्नेछ । यस्तै स्थानीय सडकमा पनि ९०० वटा पुल निर्माण गर्नुपर्ने देखिएको छ । महाशाखाको अलावा भारतीय आयात निर्यात बैंक, चिनियाँ आयात निर्यात बैंक, एशियाली विकास बैंक, विश्व बैंकलगायतको सहयोगमा समेत केही पुल निर्माणका क्रममा छन् । अब बन्ने पुल चार लेनका महाशाखाले आगामी दिनमा निर्माण हुने पुल चार लेनको बनाउने तयारी गरेको छ । भारत जोड्ने महाकाली नदी माथिको पुल चार लेनको बनाउन ठेक्का सम्झौता भइसकेको छ । बढ्दो शहरीकरण, सवारीसाधनको वृद्धि तथा जनजीवन सहज बनाउनका लागि पुल चार लेनको बनाउन थालिएको सिनियर डिभिजनल इञ्जिनियर नरेशमान शाक्यले जानकारी दिए । महाशाखाले जनकपुर–जटहीमा छ लेनका सडकमा तीन वटा, भैरहवा– बुटवल सडकखण्डमा चार लेनका दुई वटा, नेपालगञ्ज– सुर्खेत सडकखण्डमा चार लेनका पाँच वटा, वीरगञ्ज–पथलैया छ लेनको एउटा, पथलैया–दुधौरा चार लेनको एउटा पुल निर्माण शुरु भएको छ । ती सबै पुल सरकारको पाँच वर्षे रणनीतिक योजनाअन्तर्गत पर्छ । यस्तै नारायणगढ– बुटवल, बुटवल कोहलपुर सडक खण्डको विस्तारसँगै पुल पनि सोही लेनका आधारमा निर्माण गरिने छ । सो सडक खण्ड छ लेनको बनिरहेको छ । यस्तै काठमाडौँ– पोखरा सडकखण्ड चार लेनको बनाउने तयारी भएपछि पुलसमेत चार लेनकै बनाउने गरी नक्सा तयार गर्न थालिएको सिनियर डिभिजनल इञ्जिनियर शाक्यले जानकारी दिए । चीनसँग जोडिएका सबै सडक मार्ग डबल लेन बनाउने गरी तयारी भएकाले पुल समेत डबल लेनमा नै निर्माण गरिनेछ । उपमहानिर्देशक थापाले सडकको चौडा विस्तार सँगसँगै पुललाई पनि सोहीअनुसार पुनःनिर्माण तथा नवनिर्माण गर्न लागिएको जानकारी दिए । नारायगढ– बुटवल सडकखण्डमा एशियाली विकास बैंकले रु सात अर्ब सडक निर्माणमा खर्च गर्ने तयारी गरेको छ । रासस

नाट्टामा पाण्डे विजयी

काठमाडौ  । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन । नाट्टाको ५१औँ साधारणसभापछि शुक्रबार राति भएको निर्वाचनको आज बिहान आएको मत परिणामअनुसार पाण्डेले निकटतम प्रतिद्वन्द्वी दीपेन्द्रकुमार शर्मालाई ६ मतले पराजित गरे।   कूल ४२० मत खसेकामा पाण्डेले २१२ र शर्माले २०६ मत प्राप्त गरेका िथए  । ४६७ मतदाता रहेको नाट्टामा ४२० मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।  प्रथम उपाध्यक्षमा अच्युत शर्मा गुरागाईं, द्वितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा रमेश थापा, सचिवमा सविता भट्टराई, कोषाध्यक्ष रामप्रसाद श्रेष्ठ र सहकोषाध्यक्षा सुरेन्द्र भट्टराई निर्वाचित भएका छन् । यस्तै सदस्यमा सुदर्शन नेपाल, देवकी गुरुङ, फुरी ग्याल्जेङ शेर्पा, अमृतकुमार ढकाल, रमेश पौडेल, राजु ढकाल, इनु थापा र गीता ढकाल निर्वाचित भएको निर्वाचन समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।  पचास वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता सङ्ंगठन नाट्टामा भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन् । रासस

कलर्सले ल्यायो सेल्फी दुई क्यामेरा भएको स्मार्टफोन, मूल्य साढे १२ हजार

काठमाडौं । कलर्स मोबाइलले अगाडी दुई क्यामेरा भएको ‘एस ११’ स्मार्टफोन बजारमा ल्याएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रमबीच कम्पनीले उक्त मोबाइल सार्वजनिक गरेको हो । एस सिरिज समूह अन्तर्गत मोबाइल नयाँ ढाँचाको अत्याधुनिक रहेकोे कम्पनीको भनाइ छ । कम्पनीको अनुसार फोनमा मेडियाटेक ६७३७ डब्लु चिपसेट जडान गरिएको छ । फोनको मुख्य विशेषताको रुपमा ८ मेगापिक्सल क्षमताको दुई सेल्फी क्यामेरा हो । ती क्यामेराहरुको सहयोगले सेल्फी पारखीहरुले बृहत चौडाई फोटो लिन सक्ने कम्पनीले बताएकोे छ । फोनको पछाडीको क्यामेरा ८ मेगापिक्सेलको छ । फोनको अन्य विशेषताहरुमा ३ जिबी रर्याम र १६ जिबी रोम रहेको छ । फोनको सञ्चालन एण्ड्रोइड एन (नउगाट ७.०) बाट गरिएको टेलिटक प्रालिका निर्देशक प्रतिक जालानले कार्यक्रममा बताए । उनका अनुसार अत्यन्त चौडाई उक्त फोन ५.२ इन्चको स्क्रिनमा उपलब्ध छ । एउटा एसडि कार्डसहित डुवेल सिम फोनमा प्रयोग गर्न सकिन्छ । मिडिया टेक इन्कर्पोरेडका एशिया र अफ्रिकाको कर्पोरेट सेल्स एण्ड बिजनेश डेभलपमेन्टका उपमहाप्रबन्धक आर्थर वाङ, टेलिटकका निर्देशक जालान र दराज केमू प्रालीका प्रबन्ध निर्देशक राजीव अमात्यले संयुक्त रुपमा फोन सार्वजनिक गरेका थिए । सोही अवसरमा दराजका प्रबन्ध निर्देशक अमात्यले फोनको अधिकतम् बजार मूल्य १६ हजार ४९५ रहेको बताए । त्यसको बाबजुत पनि दराज डट कम डट एनपि अनलाईनमार्फत खरिद गरेमा १२ हजार ४९५ मा उपलब्ध गराउने उनले बताए । ‘साथै ग्राहकले १२०० एमबि एनसेल डाटा एवं दराजमा अर्को पटकको खरीदमा २५० रुपैयाँ छुटको गिफ्ट भाउचर समेत सित्तैमा ग्राहकलाई उपलब्ध गराउनेछौं,’ उनले भने ‘अर्को हप्ताको सुरुदेखि दराजले मोबाइल डेलिभरि गर्न प्रारम्भ गर्नेछ ।’

रुरल माइक्रोफाइनान्सले १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने भएको छ । शुक्रबार सम्पन्न कम्पनीको १९औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको सो प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा मिलनकुमार राई र भिमप्रसाद तिमल्सिनालाई निर्विरोध चयन गरेको छ । यस संस्थाको अधिकृत पुँजी एक अर्ब रुपैयाँ र चुक्ता पुँजी ७२ करोड ६७ लाख रुपैयाँ रहेको छ । माइक्रोफाइनान्सले आव २०७३/७४ को अन्तसम्ममा २१ अर्ब ३९ करोड ऋण लगानी गरेको छ ।

एनसेल मेला शनिबार ललितपुरकोे जाउलाखेलमा, बिहान ११ बजेदेखि सुरु

काठमाडौं । एनसेलले शनिबार (पुष २९) ललितपुरको जाउलाखेल फुटबल मैदानमा “एनसेल मेला २०७४” आयोजना गर्दैछ । विराटनगर र पोखरामा भव्यरुपमा आयोजना पश्चात यो मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सहित जाउलाखेलमा आयोजना गर्न लागिएको हो । गीत(संगीत लगायत सबै उमेर समुहका दर्शकहरुका लागि विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे सुरु भई कम्सर्ट सहित साँझ ६ बजे सम्म चल्ने छ । चर्चित कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरु कबवेभ र द एजले मेलामा सहभागी सबै दर्शकलाई आ-आफ्ना प्रस्तुतीहरु मार्फत मनोरञ्जन प्रदान गर्नेछन् । मेलाको अरु आकर्षणहरुमा विभिन्न गेम स्टलहरु, किडस् जोन, फोरजीजोन र फुड स्टलहरु पनि रहेनछन् । एनसेल मेलामा स(सानाबालबालिकाहरुको गायन प्रतिभा उर्जागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ । त्यसैगरी बालबालिकाकालागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकर्षणहरु रहनेछन् । आगन्तुकहरुलाई मनोरञ्जन प्रदानगर्नका लागि मेलामा फोरजी थिममा आधारित पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस जस्ता गेम्स्, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेमहरु पनि रहनेछन् । प्रवेश निःशुल्क हुने यस मेलामा रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाउनेछ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । “पोखरा र विराटनगरमा भव्य रुपमा मनोरञ्जन प्रदानगर्न सफल एनसेल मेलाले काठमाडौं उपत्यकामा पनि दर्शकहरुलाई आ(आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्न राम्रो अवसर प्रदानगर्ने कुरामा हामी विश्वस्त छौं,” एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने । “मेलामा आगन्तुकहरुले कम्पनीले २१ शहरमा प्रदान गर्दै आएको देशकै वृहद नेटवर्क भएको फोरजी सेवालगायत अन्य सेवा र सुविधाहरुका बारेमा पनिजानकारी लिन सक्नेछन् ।” यस अघि एनसेलले पोखरामा पुष ८ गते र विराटनगरमा पुष १५ गते एनसेल मेला २०७४ को आयोजना गरेको थियो । पोखराबाट शुरु भएको यो एनसेल मेला २०७४ शनिबार ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ ।