विकासन्युज

भदौमा थप घट्यो बैंकको ब्याजदर, १३ बैंकले स्थिर राख्दा संस्थागतको २.७५ प्रतिशतमा झर्याे

काठमाडौं । वाणिज्य बैंकहरुको भदौमा पनि ब्याजदर घटेको छ । भदौ १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।  भदौ महिनाका लागि बैंकहरुको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२० प्रतिशत घटेर औसत ५.५८ प्रपतशतमा झरेको छ । जबकी साउनमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याजदर थियो ।  यस्तै, मुद्दती निक्षेपमा भदौमा संस्थागततर्फ औसत ०.१५ प्रतिशत घटेर ३.९६ प्रतिशतमा झरेको छ । यसअघि साउनमा संस्थागततर्फ औसत ४.११ प्रतिशत ब्याजदर थियो ।  भदौ महिनाका लागि विभिन्न ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक र सानिमा बैंकले ब्याजदर घटाएका छन् ।  कृषि विकास बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.२० प्रतिशत घटाएर ५.२० प्रतिशत र संस्थागततर्फ ०.६५ प्रतिशत घटाएर २.८५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  एभरेष्ट बैंकले मुद्दती निक्षेपमा ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर तोकेको छ ।  कुमारी बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.४० प्रतिशत घटाएर ५.२१ प्रतिशत ब्याजदर तोकेको छ ।  नेपाल एसबिआई बैंकले मुद्दती निक्षेपमा ०.१० प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  स्ट्याण्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ १.१० प्रतिशत घटाएर ५.१३ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत घटाएर २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सिद्धार्थ बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ५.५० प्रतिशत र संस्थागततर्फ ०.७५ प्रतिशत घटाएर ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सानिमा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.४३ प्रतिशत घटाएर ५.७५ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत घटाएर ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि), एनआईसी एशिया बैंकले भने ब्याजदर स्थिर राखेका छन् ।

बीपी राजमार्ग : थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । कार्यालयले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाइएको जनाएको छ । कार्यालयले उक्त निर्णय गर्दै सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अनुरोधसमेत गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले मनसुनको समयमा बिपी राजमार्गमा उच्च जोखिमका कारण रातको समयमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए । उनका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यातायात सञ्चालनमा रोक लगाइएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ । मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म करिब दश घण्टा १५ दिन तथा थप असार मसान्तसम्म र साउन महिनाभर साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो । गतसाल असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडकनै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छ । रासस

एसइईमा उत्कृष्ट अंक ल्याउने ८६ विद्यार्थीलाई ललितपुर महानगरको सम्मानसहित पुरस्कार

ललितपुर । ललितपुर महानगरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका ८६ जना विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरेको छ ।  महानगरले २२ वटा संस्थागतका ७८ जना र ६ वटा सामुदायिक विद्यालय ८ जना गरी ८६ विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरेको हो । सामुदायिक विद्यालय तर्फ ३ दशमलव ९५ भन्दा माथि ल्याउने र संस्थागत तर्फ ४ जिपिए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान सहित पुरस्कृत गरेको हो । महानगरले शुक्रबार एक औपचारिक कार्यक्रम आयोजना गरी सामुदायिक र संस्थागत विद्यार्थीका विद्यार्थीलाई जनही दुईलाख हस्तान्तरण गरेको हो । यसैगरी सामुदायिक विद्यालय प्रत्येकलाई ४ लाख दिएको छ । संस्थागत तर्फ धापाखेलको जेम्स स्कुलका १६ जना विद्यार्थीले ४ जिपीए ल्याएका छन् । सामुदायिक तर्फ बुङमतीको आर्दश सौल युवक माध्यमिक विद्यालयका ३ जना विद्यार्थीमध्ये एक जनाले ४ जिपिए र दुई जनाले ९ दशमलव ९६ जिपिए ल्याएका छन् ।  ललितपुर महानगरपालिकामा शैक्षिक सत्र २०८१ को एसइइ परीक्षामा ९१ दशमलव ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालय तर्फ भने ८१ दशमलव ०५ प्रतिशत र संस्थागत तर्फ ९४ दशमलव ९० प्रतिशत उत्तीर्ण भएका छन् ।  महानगर प्रमुख चिरीबाबु महर्जनले एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी संस्थाले महानगर शिक्षाको हब भएको पुष्टि गरेको बताए । उनले भने, ‘यो विद्यार्थी र विद्यालयलाई प्रेरणा र हौसला हो ।’ कोरोनाका कारण विद्यालयको खस्किएको शैक्षिक गुणस्तर उकास्न गरेको निर्णय विद्यार्थी र विद्यालयका लागि हौसला बनेको प्रष्ट पारे । महर्जनले महानगरले गरेका असल अभ्यासमध्ये यो पुरस्कार र सम्मान एक भएको बताउँदै मोफसलका पालिकाहरुले पनि यो अभ्यासलाई अनुसरण गरेको बताए ।  उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पुरस्कृत विद्यालय र विद्यार्थीलाई बधाई दिदैं जीवनका अझैं ठूल्ठूला परीक्षा पास गर्न तयार रहन सुझाव दिइन् ।  प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ विद्यार्थी, विद्यालय र अभिभावकको मिहेनतका कारण सफलता प्राप्त भएका बताइन् । सफल विद्यार्थीलाई शुभकामना दिदैं जीवनमा आइपर्न सक्ने सबै खालका चुनौतीसँग लड्न सक्ने क्षमता विकास गर्नु अहिलेको आवश्यकता भएको बताइन् ।  महानगरका प्रवक्ता एवम् सामाजिक विकास समितिका संयोजक राजु महर्जनले शैक्षिक गुणस्तर सुधारका लागि कोरोना लगत्तै महानगरले  सुरु गरेको सम्मान र पुरस्कारले विद्यार्थी र विद्यालयलाई प्रेरित गरेको बताए । उक्त सम्मान र प्रेरणालाई पुष्टि गर्ने आधारमध्ये एक विद्यार्थीले एसइईमा प्राप्त गरेको जिपिए भएको प्रष्ट पारे ।  जिल्ला समन्वय समितिका सभापति ऋषिदेव फुँयालले महानगरले संस्कृति संरक्षण, हरियाली प्रवद्र्धनसँगसँगै शिक्षा क्षेत्रमा गरेको यो असल अभ्यास भएको बताए ।  ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विद्यार्थीलाई थप उपलब्धिका लागि शुभकामना दिदैं सकारात्मक सोचसहित जिम्मेवार र इमान्दार बन्न अनुरोध गरे । कार्यक्रममा पुरस्कृत विद्यार्थी र अभिभावकले मन्तव्य राखेका थिए ।

काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताएका छन् ।  नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार  प्राधिकरणमा कार्यरत कर्मचारीलाई दिर्घसेवा पदक, अवकाश पदक र अमर विद्युतकर्मीलाई सम्मान कार्यक्रममा बोल्दै उनले काम गर्ने ज्यालादारी कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताएका हुन् ।  'विद्युत क्षेत्रको विकासका लागि ज्यालादारी कर्मचारीले धेरै काम गरेका छन्, ज्यालादारी कर्मचारीले राखेको माग सम्बोधन गर्न प्राधिकरण सञ्चालक समिति लागेको छ,'– उनले भने । श्रमको सम्मान गर्न सञ्चालक समिति लागेको उनको भनाई थियो । उनले विगतमा भएका निर्णयलाई क्रमशः कार्यान्वयन गर्दै लगिने स्पष्ट पारे ।  ऊर्जामन्त्री खड्काले सरकारले सबैभन्दा चाँडो मुलुकलाई समृद्ध बनाउने क्षेत्रका रुपमा उर्जा क्षेत्रलाई देखेकाले यसको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पुरा गर्न विद्युत प्राधिकरणको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।  मन्त्री खड्काले छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा समेत विद्युत विक्री सुरु गरिएको बताउँदै आगामी दिनमा यसलाई झन् फराकिलो बनाउँदै अगाडि बढ्ने उल्लेख गरे । छिमेकी मुलुकबाट विद्युत आयत घटाउँदै निर्यातलाई बढाउँदै लगिएको उनको भनाई थियो ।  उनले गरिब तथा विपन्न नागरिकलाई समृद्ध बनाउन नसकेसम्म मुलुकको विकास हुन नसक्ने भन्दै गरिबका लागि विना धितो जलविद्युतको सेयरमा ऋण उपलब्ध गराउन सरकार लागेको बताए । नेपालसँग भएको स्रोत साधनको उच्च प्रयोग गर्दै सरकार अगाडि बढ्न खोजेको मन्त्री खड्काको भनाई थियो ।  ऊर्जामन्त्री खड्काले बुढीगण्डकी, अप्पर अरुण, तमोर, पञ्चेश्वर, दुधकोशी, पश्चिम सेतीलगायतका ठूला जलविद्युत आयोजनालाई सरकारले चाँडो अगाडि बढाउन खोजेको उल्लेख गरे । उनले प्राधिकरण स्थापनाको ४० वर्षमा पनि उर्जालाई सुरक्षित र भरपर्दो रुपमा विकास गर्न नसकिएको बताए ।  मन्त्री खड्काले उद्योगले प्रयोग गरेको बिजुलीको पैसा टिओडी मिटरका आधारमा असुल गर्ने काम नेपाल विद्युत प्राधिकरणको भएको भन्दै डेडिकेटेड र ट्रंकलाईनको विषयमा अल्मलिएर बस्ने कुनै ठाउँ नभएको उल्लेख गरे ।  कार्यक्रममा उर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणलाई यस स्थानसम्म ल्याउन अहोरात्र खट्नुहुने कर्मचारीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोग पाउने विश्वास व्यक्त गरे ।  कार्यक्रममा ऊर्जामन्त्री खड्काले प्राधिकरणमा २० वर्ष निरन्तर काम गरेका ५९४ कर्मचारीलाई दिर्घसेवा पदक, २९३ अवकाशप्राप्त कर्मचारीलाई अवकाश पदक र अमर विद्युतकर्मीका परिवारलाई सम्मान गरेका थिए ।

चार वर्षमै फल दिन थालेपछि गाजनेका कृषक स्याउखेतीतर्फ आकर्षित

म्याग्दी (बेनी) । म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँमा परीक्षणको रूपमा गरिएको स्याउखेतीले उत्पादन दिन थालेपछि कृषकहरू उत्साहित भएका छन् । समुद्री सतहदेखि दुई हजार ५० मिटर उचाइमा रहेको गाजनेमा चार वर्षअघि स्थानीयले परीक्षणका रूपमा स्याउका बिरुवा रोपेका थिए । चौबीस घरधुरीको बसोबास रहेको गाजने गाउँमा रोपेका १०० वटा स्याउका बोटमध्ये अधिकांशले फल दिन सुरू गरेको स्थानीय नीलकण्ठ शर्माले बताए । ‘गाउँमा अधिकांशले पाँचदेखि १५ बोटसम्म स्याउका बिरुवा लगाएका थियौँ, बिरुवा रोपेको चार वर्षदेखि नै बोटमा फल लागेको छ, हामीले परीक्षणका रूपमा सुरू गरेको स्याउखेती सफल भएको छ, अब गाउँभर यसलाई व्यावसायिक रूपमा विस्तारमा लाग्छौँ’, शर्माले भने । मुस्ताङबाट गोल्डेन र रेड डेलिसियस प्रजातिको स्याउका बिरुवा ल्याएर लगाइएकामा अधिकांश बोटले उत्पादन दिन सुरू गरिसकेका छन् । गाउँमा काम गर्ने जनशक्तिको अभावले खेतीयोग्य जमिन बाँझिने समस्या बढिरहेको समयमा नगदे बालीका रूपमा स्याउखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने स्थानीयको योजना छ । गाउँमा स्याउखेतीको परीक्षण सफल भएकाले अन्नबालीको विकल्पको रूपमा स्याउखेतीलाई विस्तार गर्ने तयारी गरेको स्थानीय कृषक गङ्गादक्त पौडेलले बताए । ‘पाँच वटा स्याउको बोट लगाएको थिएँ, बिरुवा हुर्किदै जाँदा उत्पादन दिन सुरू गरिसकेको छ, फलेको स्याउ स्वादिलो र रसिलो छ, यो वर्ष तीन रोपनी जग्गामा स्याउलाई विस्तार गर्ने योजना बनाएको छु’, पौडेलले भने । गाजने गाउँमा यसअघि विसं २०४२ मा समेत स्याउखेती गरिएको थियो । सार्वजनिक पाखोमा सामूहिक रूपमा गरिएको स्याउखेती तत्कालीन समयमा मलजल र स्याहारको अभावले मासिएको थियो । चिसो हावापानी रहेकाले यस क्षेत्रमा स्याउखेतीको सम्भावना रहेको छ । अन्नबाली लगाउनका लागि श्रमशक्तिमा लगानी धेरै र उत्पादनबाट लाभ कम हुने भएकाले स्याउखेतीलाई गाजनेका स्थानीयले अन्नबालीको विकल्पमा व्यावसायिक खेतीको रूपमा स्याउखेती गर्ने तयारी गरेका छन् । म्याग्दीमा यसअघि गुर्जा र राम्चेमा परीक्षणको रूपमा स्याउखेती गरिएको छ । हिउँदयाममा हिमपात हुने भू–भागमा स्याउखेती फस्टाउने कृषि प्राविधिक बताउँछन् । रासस

रजिष्ट्रेशन दस्तुरमा छुटकाे प्रभाव : म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

म्याग्दी । यहाँका महिलाका घरजग्गामा स्वामित्व बढ्न थालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजाती, सहिद परिवार र अपाङ्गको नाममा घरजग्गा खरिद गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुरमा २५ प्रतिशत राजस्व छुट दिने गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्ला मालपोत कार्यालय म्याग्दीबाट आठ सय ८१ लिखत पारित भएकोमा १८० महिलाको नाममा छ । घरजग्गा खरिद गरेका महिलाले गत वर्ष रजिष्ट्रेशन शुल्कमा रु २४ लाख ४८ हजार ५३० छुट पाएका कार्यालयका प्रमुख साधनाकुमारी श्रेष्ठले जानकारी दिइन् । आर्थिक वर्ष २०८०/८१ मा २४३ महिलाले घरजग्गा आफ्नो स्वामित्वमा बनाएका थिए । महिलाको आर्थिक स्रोतमा पहुँच बढ्नु, चेतनाको विकास, शसक्तिकरण, पुरुष विदेश गएकाले घरको नेतृत्व महिलाले गर्नु र सरकारले दिने छुट सुविधाका कारण महिलाको नाममा घरजग्गाको स्वामित्व बढेको मालपोत अधिकृत श्रेष्ठले बताइन् । गत वर्ष ४१ जना दलित तथा जनजाती, एक जना अपाङ्ग र १२ जना अन्य वर्गकाले घरजग्गा खरिदका लागि छुट पाएका थिए । सबै लक्षित समुदायका ३३४ जनाले रजिष्ट्रेशन शूल्कमा रु. ३१ लाख ६० हजार ८८६ छुट पाएका छन् । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार कूल एक लाख सात हजार जनसङ्ख्या रहेको जिल्लामा महिला जग्गाधनी नौ दशमलब सात प्रतिशत छन् । ११ दशमलब आठ प्रतिशत महिलाको नाममा घरजग्गा दुवै र दुई दशमलब तीन प्रतिशतको नाममा घर मात्रै छ । कूल जनसङ्ख्यामध्य ५१ दशमलब तीन प्रतिशत महिला र ४८ दशमलब सात प्रतिशत पुरुष छन् । यसैगरी घरजग्गा दृष्टिबन्धक राखेर बैङ्क, वित्तीय र सहकारी संस्थाबाट ऋण लिनेको सङ्ख्या पनि उल्लेख्य रहेको मालपोत कार्यालय म्याग्दीका नायव सुब्बा कमलप्रसाद मरासिनीले बताए । आर्थिक वर्ष २०८१/८२मा ९१६ जनाले घरजग्गा रोक्का र एक हजार ४१५ वटा फुकुवा गरेका छन् । आर्थिक वर्ष २०८०/८१मा ८५७ जनाले घरजग्गा धितो राखेर बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएका र एक हजार १६९ जनाले रोक्का राखेको घरजग्गा फुकुवा गरेका थिए । बैङ्क, वित्तीय र सहकारी संस्थामा घरजग्गा धितो राखेर ब्यापार ब्यवसाय, वैदेशिक रोजगारी, शिक्षा, पशुपालन, कृषिमा लगानी गर्नेलाई सजिलो भएको छ ।  राजस्व सङ्कलन उच्च आर्थिक वर्ष २०८१/८२मा मालपोत कार्यालय म्याग्दीले पछिल्लो सात वर्षयताकै धेरै रु पाँच करोड ८१ लाख पाँच हजार ९११ राजस्व सङ्कलन राजस्व सङ्कलन गरेको छ ।  आर्थिक वर्ष २०८०/८१मा रु चार करोड ११ लाख १३ हजार ७३२, २०७९/८०मा रु चार करोड ६८ लाख २१ हजार दुई राजस्व सङ्कलन भएको थियो । कोरोना कालमा घटेको घरजग्गा किनबेच विस्तारै लयमा फर्किन थालेपछि राजस्व सङ्कलनमा सुधार भएको मालपोत अधिकृत श्रेष्ठको भनाइ छ । आर्थिक वर्ष २०७८/७९मा रु पाँच करोड चार लाख ८४ हजार ९१०, २०७७/७८ रु पाँच करोड ११ लाख तीन हजार ६०० र २०७६/७७मा रु तीन करोड २९ लाख ४३ हजार ८० राजस्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षमा रजिष्ट्रेशन शूल्क वापत रु दुई करोड आठ लाख ८६ हजार २७२, पुजिँगत लाभकर शिर्षकमा रु दुई करोड ३१ लाख ५५ हजार ४४०, न्यायिक दस्तर, दण्ड जरिवाना, रोक्कावापत रु एक करोड ३९ लाख ८३ हजार ७५६ र सेवाशूल्क र प्रशासनिक दस्तुर शीर्षकमा रु ८० हजार ४४३ राजस्व सङ्कलन भएको छ । रासस

रिला खोलामा बाढी, साँफे–मार्तडी राजमार्ग अवरुद्ध

काठमाडौं ।  शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बडीमालिका नगरपालिका– ४ रिला खोलामा बाढी आएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार रिला गाउँ माथिबाट पहिरो बगेर खोलामा बाढी आएकाले राजमार्ग अवरुद्ध भएको बताए । खोलामा आएको बाढीका कारण बाटो बनाउनका लागि सडक डिजिभन कार्यालयसँग जेसिवीको पहल भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी चौधरीले बताए । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावतमा समस्या भएको छ । लगातार वर्षा भइरहेकाले बाटोको पहिरो पन्छ्याउँदा पनि माथिबाट पहिरो आइरहेकाले बाटो खुलाउन समस्या भएको प्रहरी निरीक्षक चौधरीको भनाइ रहेको छ ।

पूजा-आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं ।  ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी मनाइँदैछ । ज्ञान योग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्‍टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।  यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरु क्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखार विन्दुबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले  कंश, जरासन्ध र शिशु पालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लाग्दछ ।  यसैगरी राजधानीको उत्तर पूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावना मृत सङ्घ (इस्कोन)को कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभा यात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।