रजिष्ट्रेशन दस्तुरमा छुटकाे प्रभाव : म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो
म्याग्दी । यहाँका महिलाका घरजग्गामा स्वामित्व बढ्न थालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजाती, सहिद परिवार र अपाङ्गको नाममा घरजग्गा खरिद गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुरमा २५ प्रतिशत राजस्व छुट दिने गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्ला मालपोत कार्यालय म्याग्दीबाट आठ सय ८१ लिखत पारित भएकोमा १८० महिलाको नाममा छ । घरजग्गा खरिद गरेका महिलाले गत वर्ष रजिष्ट्रेशन शुल्कमा रु २४ लाख ४८ हजार ५३० छुट पाएका कार्यालयका प्रमुख साधनाकुमारी श्रेष्ठले जानकारी दिइन् । आर्थिक वर्ष २०८०/८१ मा २४३ महिलाले घरजग्गा आफ्नो स्वामित्वमा बनाएका थिए । महिलाको आर्थिक स्रोतमा पहुँच बढ्नु, चेतनाको विकास, शसक्तिकरण, पुरुष विदेश गएकाले घरको नेतृत्व महिलाले गर्नु र सरकारले दिने छुट सुविधाका कारण महिलाको नाममा घरजग्गाको स्वामित्व बढेको मालपोत अधिकृत श्रेष्ठले बताइन् । गत वर्ष ४१ जना दलित तथा जनजाती, एक जना अपाङ्ग र १२ जना अन्य वर्गकाले घरजग्गा खरिदका लागि छुट पाएका थिए । सबै लक्षित समुदायका ३३४ जनाले रजिष्ट्रेशन शूल्कमा रु. ३१ लाख ६० हजार ८८६ छुट पाएका छन् । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार कूल एक लाख सात हजार जनसङ्ख्या रहेको जिल्लामा महिला जग्गाधनी नौ दशमलब सात प्रतिशत छन् । ११ दशमलब आठ प्रतिशत महिलाको नाममा घरजग्गा दुवै र दुई दशमलब तीन प्रतिशतको नाममा घर मात्रै छ । कूल जनसङ्ख्यामध्य ५१ दशमलब तीन प्रतिशत महिला र ४८ दशमलब सात प्रतिशत पुरुष छन् । यसैगरी घरजग्गा दृष्टिबन्धक राखेर बैङ्क, वित्तीय र सहकारी संस्थाबाट ऋण लिनेको सङ्ख्या पनि उल्लेख्य रहेको मालपोत कार्यालय म्याग्दीका नायव सुब्बा कमलप्रसाद मरासिनीले बताए । आर्थिक वर्ष २०८१/८२मा ९१६ जनाले घरजग्गा रोक्का र एक हजार ४१५ वटा फुकुवा गरेका छन् । आर्थिक वर्ष २०८०/८१मा ८५७ जनाले घरजग्गा धितो राखेर बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएका र एक हजार १६९ जनाले रोक्का राखेको घरजग्गा फुकुवा गरेका थिए । बैङ्क, वित्तीय र सहकारी संस्थामा घरजग्गा धितो राखेर ब्यापार ब्यवसाय, वैदेशिक रोजगारी, शिक्षा, पशुपालन, कृषिमा लगानी गर्नेलाई सजिलो भएको छ । राजस्व सङ्कलन उच्च आर्थिक वर्ष २०८१/८२मा मालपोत कार्यालय म्याग्दीले पछिल्लो सात वर्षयताकै धेरै रु पाँच करोड ८१ लाख पाँच हजार ९११ राजस्व सङ्कलन राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८०/८१मा रु चार करोड ११ लाख १३ हजार ७३२, २०७९/८०मा रु चार करोड ६८ लाख २१ हजार दुई राजस्व सङ्कलन भएको थियो । कोरोना कालमा घटेको घरजग्गा किनबेच विस्तारै लयमा फर्किन थालेपछि राजस्व सङ्कलनमा सुधार भएको मालपोत अधिकृत श्रेष्ठको भनाइ छ । आर्थिक वर्ष २०७८/७९मा रु पाँच करोड चार लाख ८४ हजार ९१०, २०७७/७८ रु पाँच करोड ११ लाख तीन हजार ६०० र २०७६/७७मा रु तीन करोड २९ लाख ४३ हजार ८० राजस्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षमा रजिष्ट्रेशन शूल्क वापत रु दुई करोड आठ लाख ८६ हजार २७२, पुजिँगत लाभकर शिर्षकमा रु दुई करोड ३१ लाख ५५ हजार ४४०, न्यायिक दस्तर, दण्ड जरिवाना, रोक्कावापत रु एक करोड ३९ लाख ८३ हजार ७५६ र सेवाशूल्क र प्रशासनिक दस्तुर शीर्षकमा रु ८० हजार ४४३ राजस्व सङ्कलन भएको छ । रासस
रिला खोलामा बाढी, साँफे–मार्तडी राजमार्ग अवरुद्ध
काठमाडौं । शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बडीमालिका नगरपालिका– ४ रिला खोलामा बाढी आएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार रिला गाउँ माथिबाट पहिरो बगेर खोलामा बाढी आएकाले राजमार्ग अवरुद्ध भएको बताए । खोलामा आएको बाढीका कारण बाटो बनाउनका लागि सडक डिजिभन कार्यालयसँग जेसिवीको पहल भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी चौधरीले बताए । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावतमा समस्या भएको छ । लगातार वर्षा भइरहेकाले बाटोको पहिरो पन्छ्याउँदा पनि माथिबाट पहिरो आइरहेकाले बाटो खुलाउन समस्या भएको प्रहरी निरीक्षक चौधरीको भनाइ रहेको छ ।
पूजा-आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी मनाइँदैछ । ज्ञान योग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरु क्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखार विन्दुबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले कंश, जरासन्ध र शिशु पालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लाग्दछ । यसैगरी राजधानीको उत्तर पूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावना मृत सङ्घ (इस्कोन)को कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभा यात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।
१५.२३ लाख बोरा रासायनिक मल कोलकत्ताबाट नेपाल भित्रिँदै छ : साल्ट ट्रेडिङ कर्पोरेशन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकत्ता बन्दरगाहमा प्राप्त भइसकेको र ती मल धमाधम नेपालस्थित कर्पोरेशनका गोदममा ल्याउने क्रम जारी रहेको जनाएको छ । कर्पोरेशनले हालै मात्र ४ लाख ४० हजार बोरा युरिया र १० लाख ८३ हजार बोरा डिएपी गरी कूल १५ लाख २३ हजार बोरा रासायनिक मल आयात गरेको थियो । गोदाममा आइरहेका उक्त मल कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेको र प्रदेश सरकारहरूद्वारा पालिकालाई कोटा वितरण भइसकेको भन्ने जानकारी कर्पोरेशनलाई प्राप्त भएको पनि संस्थाले स्पष्ट पारेको छ । रासायनिक मलको पछिल्लो अवस्थाका बारेमा कर्पोरेशनद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कर्पोरेशनको मल बिक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरहरूलाई आफ्नो पालिका तथा कर्पोरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटा अनुसारको मल बिक्री वितरण गर्न अनुरोध गरिन्छ ।’ हाल बजारमा रासायनिक मलको अभाव भएको भनी विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्चालनमा समाचार तथा पोष्ट भइरहेकामा कर्पोरेशनले विज्ञप्तिमार्फत् आफ्नो ध्यानाकर्षणसमेत भएको जनाएको छ ।
मनसुनको अवस्था कमजोर, यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागलगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागलगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अमेरिका-रूस शिखर बैठकः वार्ता सकारात्मक, सम्झौता भएन
काठमाडौं । अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज सहरमा सम्पन्न शिखर बैठकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अत्यन्तै फलदायी’ भएको बताए । तर, युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने हासिल हुन सकेन । झन्डै तीन घण्टा लामो वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही महत्वपूर्ण विषयमा सहमति भएको जनाए पनि युद्ध विराम वा अन्तिम समाधानसम्बन्धी ठोस निर्णय सार्वजनिक गरिएको थिएन । राष्ट्रपति पुटिनले वार्तालाई आपसी सम्मान र रचनात्मक वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक रहेको धारणा राखे । साथै, उहाँले द्वन्द्वका ‘मूल कारणहरू’ समाधान नगरी स्थायी शान्ति सम्भव नहुने भन्दै युरोपेली मुलुकहरूलाई उक्साउने प्रयास नगर्न आग्रह गरे । यद्यपि दुबै नेताले संवाद र समझदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ, प्रारम्भिक चरणको यो बैठक तत्कालीक उपलब्धि बिना टुंगिएको देखिएको छ।
अन्ततः रविलाई कारागार सार्न सरकार तयार, उपनिर्वाचनमा कस्तो प्रभाव पर्ला ?
काठमाडौं । सरकारले रवि लामिछानेलाई कारागार सार्न तयार भएको छ । सरकारले रास्वपा सभापति लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको हो । यसअघि नै कारागार सरुवाका लागि लामिछानेले निवेदन दिएका थिए । तर, सरकारले उनको माग सम्बोधन गरेको थियो । धेरैले उनलाई सरकारले अन्याय गरेको धारणा राखेका थिए । उनी हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन् । उनलाई अब नक्खु कारागार ल्याइने भएको हो । अहिले रुपन्देही-३ को चुनावको समय नजिकिँदै गर्दा उनी कारागार सरुवा हुने भएका हुन् । यसलाई धेरैले सो चुनावसँग जोडिरहेका छन् । उनी रुपन्देहीमा हुँदा रास्वपालाई राहत नै हुने विश्लेषण भए पनि अब उनी नक्खुमा हुनेछन् । यसले रास्वपाको चुनावी माहोलमा के कस्तो प्रभाव पर्ला भन्ने विषय नतिजाले नै देखाउनेछ ।
सरकारले पेट्रोलको मूल्य बढायो, यस्तो छ नयाँ मूल्यसूची
काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ । बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएको जानकारी दिँदै निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरिएको बताएको छ । अहिले पेट्रोलको प्रतिलिटर १६१ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ । यसअघि पेट्रोलको प्रतिलिटर १५९ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १५० रुपैयाँ रहेको थियो ।