विकासन्युज

सरकारले पेट्रोलको मूल्य बढायो, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ ।  बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ ।  इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएको जानकारी दिँदै निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरिएको बताएको छ ।  अहिले पेट्रोलको प्रतिलिटर १६१ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ । यसअघि पेट्रोलको प्रतिलिटर १५९ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १५० रुपैयाँ रहेको थियो ।  

६ महिनाभित्र फाइभजी सञ्चालनमा आउने, गण्डकी र लुम्बिनीमा ब्रोडब्यान्ड विस्तार गर्न टेलिकमलाई जिम्मा

काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेशमा ब्रोडब्यान्ड विस्तार गर्ने महत्त्वपूर्ण परियोजनाको जिम्मेवारी नेपाल टेलिकमलाई दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच उक्त परियोजनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।   प्राधिकरणले टेलिकमलाई यो परियोजना निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक एक अर्ब ७७ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ । यसअघि यूटीएललाई यो परियोजना दुई अर्ब एक करोड रुपैयाँमा दिइएको थियो । १० वर्षअघि परियोजनाको कुल दूरी २ हजार १ सय १७ किलोमिटर रहेकोमा यसबिचमा टेलिकमले आफ्नो नेटवर्क विस्तार गरेकाले अब १ हजार ९ सय १५ किलोमिटर मात्र नयाँ नेटवर्क निर्माण गर्नुपर्ने छ । दूरी घटेसँगै परियोजनाको लागत पनि कम भएको प्राधिकरणले जनाएको छ । समझदारी अनुसार टेलिकमले यो वर्षबाट काम थालेर आगामी तीन वर्षभित्र परियोजना सम्पन्न गर्नुपर्नेछ । यो प्याकेज अन्तर्गत दुई प्रदेशका २३ जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिनेछ । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौं र पोखरामा फाइभजी सेवा सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले नेपाल टेलिकममा सर्वसाधारणको सेयर हिस्सा ८ प्रतिशतबाट ३० प्रतिशत पु¥याउने र पारदर्शिता तथा जवाफदेहितालाई केन्द्रमा राखेर काम गर्ने बताए । यस्तै, मन्त्री गुरुङका अनुसार लागत घटाउन तराईको सट्टा प्राकृतिक रूपमा चिसो र जलविद्युत नजिक रहेका पहाडी क्षेत्रमा डाटा सेन्टरहरू निर्माण गरिनेछ ।  साइबर अपराध, दुर्व्यवहार र गलत सूचना नियन्त्रण गरी सभ्य समाज निर्माणका लागि सामाजिक सञ्जालको नियमन आवश्यक रहेको तर यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहारको रूपमा बुझ्न नहुने उनको भनाइ छ। विगतमा हुने गरेका ‘कोठे सम्झौता’ को परम्परा तोड्दै यो कार्यक्रमलाई सार्वजनिक रूपमा आयोजना गर्नुको मुख्य उद्देश्य पारदर्शिता सुनिश्चित गर्नु र सम्बन्धित निकायलाई जनताप्रति प्रत्यक्ष जवाफदेही बनाउनु रहेको उनको भनाइ छ ।  मन्त्री गुरुङले भने, ‘यो कुनै नाटक होइन । ठेकेदार, इन्जिनियर र सरकारी अधिकारीलाई जनताको अगाडि उभ्याउँदा उनीहरूमा नैतिक दबाब सिर्जना हुन्छ र जिम्मेवारी बोध बढ्छ । साँचो लोकतन्त्र भनेको यही हो । ’ विगतमा निजी कम्पनीहरू (यूटीएल र स्मार्ट) ले यी प्रदेशमा काम अलपत्र पारेर भागेको तितो अनुभवका कारण यसपटक सरकारी स्वामित्वको नेपाल टेलिकमलाई नै विश्वास गरिएको मन्त्री गुरुङको भनाइ थियो ।   ‘टेलिकमले काममा ढिलाइ गरे पनि जिम्मेवारीबाट भागेको छैन । त्यसैले लामो प्रक्रियामा अल्झिनुभन्दा उसैलाई कमजोरी सुधार्ने अवसर दिएका हौं,’ उनले भने ।  यो ब्रोडब्यान्ड विस्तार परियोजनालाई ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनको एक महत्त्वपूर्ण कडीको रूपमा लिइएको छ । यसले घर–घरमा इन्टरनेट पुर्‍याएर ई–गभर्नेन्स लागू गर्न, राजस्व वृद्धि गर्न, सेवा प्रवाह छिटो बनाउन र भ्रष्टाचार न्यूनीकरणमा सघाउने विश्वास व्यक्त गरिएको छ ।  संयुक्त राष्ट्रसंघले समेत इन्टरनेट पहुँचलाई मौलिक अधिकार मानेकाले सबै नागरिकसम्म यो सुविधा पु¥याउनु सरकारको दायित्व भएकोमा जोड दिइएको छ । 

पोखरामा बीवाईडीको नयाँ शोरुम

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले पर्यटकीय नगरी पोखरामा नयाँ बीवाईडी शोरुम सञ्चालनमा ल्याएको छ ।  यसका साथै गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ लाई सार्वजनिक गरिएको छ । पोखरा महानगरपालिकाका मेयर  धनराज आचार्यले शोरुमको उद्घाटन गरे । बुद्धचोक, पोखरामा अवस्थित नयाँ शोरूमलाई बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटीरभिजुअल आइडेन्टिटी मापदण्डअनुसार पूर्ण रूपमा अपडेट गरिएको छ ।  शोरूमको ठीक पछाडि निर्माण भैरहेको अत्याधुनिक सर्भिस सेन्टरले बिक्री पछिको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने कम्पनीको विश्वास छ । पोखरामा रहेका सम्पूर्ण बीवाईडी सर्भिसमा संलग्न कर्मचारीहरुले बीवाईडी हेडक्वाटरका प्रतिनिधिहरूबाट तालिमप्राप्त गरी आधिकारिक प्रमाणपत्र हासिल गरिसकेका छन् ।

प्रभु बैंकका ग्राहकलाई मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच सेवा छुटसम्बन्धी सम्झौता भएको छ । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंक लिमिटेड तर्फबाट बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत राजुराना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपलब्ध विभिन्न सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।  विशेष गरी बैंकका कर्मचारी तथा ग्राहकहरूलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजनाअन्तर्गत यो छुट उपलब्ध गराइएको हो । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरू प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

साउदी अरेबियाबाट श्रम वैधानिकीकरण सुरु

काठमाडौं । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकहरूको श्रम वैधानिकीकरण सुरु भएको छ ।  शुक्रबार रियादस्थित नेपाली दूतावासले आयोजना गरेको एक समारोहमा आठ वर्षदेखि रियादमा कार्यरत अजय दङ्गालको बायोमेट्रिक लिएर राजदूत डा नरेशविक्रम ढकालले श्रम वैधानिकीकरण औपचारिक रुपमा सुरु गरे ।  कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम स्वीकृति बिना विदेशमा काम गर्ने श्रमिकलाई वैधानिकीकरण गर्ने अभियानमा नेपाली दूतावास साउदी अरेबियाको प्रयास सराहनीय भएको बताए । श्रम स्वीकृति नहुँदा वैदेशिक रोजगारमा रहेका श्रमिक स्वदेश फर्किन नसक्ने नभएकाले वैधानिकिकरण अभियान सुरु गरिएको उनले जानकारी दिए । साउदी अरेबियासँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी दिँदै मन्त्री भण्डारीले दूतावासले दिने आगामी सेवा प्रविधिमा आधारित हुने बताए । राजदूत डा ढकालले श्रम वैधानिकिकरणलाई अभियानकै रूपमा सञ्चालन गरिने बताए । उनले यस कार्यमा विभिन्न सङ्घ संस्थाहरुको समन्वय र सहकार्य जरुरी रहेको उल्लेख गरे ।  राजदूत डा ढकालका अनुसार सन् २०२४ सेप्टेम्बर ३० भन्दा अघि वैदेशिक रोजगारीका लागि साउदी अरबियामा आएका नेपाली श्रमिकहरूले श्रम स्वीकृतिका  लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।  

कुमारी बैंकका ग्राहकलाई इन्द्रप्रस्थ अपोलो हस्पिटल, नयाँ दिल्लीमा छुट

काठमाडौं । कुमारी बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पाेरेशन लिमिटेड), नयाँ दिल्लीबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने स्वस्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई भर्ना तथा बहिरङ्ग/ओपीडी सेवा सुविधामा अधिकतम १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ ।  विगत २४ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंकले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभर रहेका ३०२ शाखा, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।  ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीको रूपमा लिँदै बैंकले देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग छुटसम्बन्धी सम्झौताहरू गर्दै आएको छ ।   

टेकुमा डेंगी संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत २४ वर्षीया युवतीको डेंगी सङ्क्रमणबाट मृत्यु भएको जनाइएको छ ।  अस्पतालमा उपचाररत अन्य ४ जना संक्रमितको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।  त्यस्तै, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडिका अनुसार २४ घण्टामा थप २१ जना नयाँ संक्रमित थपिएका छन् भने एक सातामा १ सय ६८ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ ।  योसँगै गएको पुसयता देशका ७४ जिल्लामा २ हजार ९ सय ८४ जनमाा डेंगी संक्रमण पुष्टि भएको छ ।

माघभित्रै फाइभजी लञ्च हुन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्रै फाइभजी लञ्ज हुने बताएका छन् । उनले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।  गुरुङका अनुसार काठमाडौं र पोखरामा पहिलो चरणमा फाइभजी सार्वजनिक हुनेछ । २ हजार ६०० मेगाहर्ज स्पेक्ट्रममा फाइभजी लञ्च हुन लागेको हो ।