सेयर बजारमा सकारात्मक संकेत, दोहोरो अंकको वृद्धि
काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारमा सकारात्मक संकेत देखिन थालेको छ । सोमबार खुल्ने वित्तिकै बढेको बजार ११ः४३ मिनेटमा १८.४३ अंकले बढेको हो । सो अवधीमै बजारमा ३ करोड भन्दा बढि मूल्यको सेयर कारोबार भैसकेको छ । सो अवधीसम्ममा फाइनान्स कम्पनी बाहेक सबैको परिसूचक बढेको देखिन्छ ।
सेयर बजार ओरालो लाग्नुपर्ने कारण छैन, अब बढ्छ-रौनियार
छोटेलाल रौनियार, उपाध्यक्ष-इन्भेष्टर्स फोरम काठमाडौं । मुलुकमा पाँच बर्षसम्म स्थायी सरकार गठन हुने, सरकारका आर्थिक नीतिहरुले निरन्तरता पाउने, विकास निर्माणका कामहरु द्रुतगतिमा अघि बढ्ने सुनिश्चितता भएको बेलामा बजार घटिरहेको छ । सेयर बजार भनेको सम्वेदनशिल क्षेत्र हो तर अब स्थिरता आउँदैछ भन्ने सन्देश फैलिईरहेका बेलामा बजार घटिरहेको छ । अहिले सेयर बजार घट्नुपर्ने कुनै कारण छैन् । बामपन्थी सरकारका कारण सेयर बजार घटेको त्रास पनि देखाउने प्रयास भैरहेको छ । बामपन्थीहरुले नेपालको इतिहासमा पहिलो पटक सरकार बनाउँदै छैनन् । यस अघि उनीहरुले पटक पटक सरकारको नेतृत्व गरिसकेका छन् । बामपन्थीहरुकै सरकार हुँदा सेयर बजारले उच्चतम विन्दुको रेकर्ड कायम गरेको थियो । बामपन्थीहरुले सरकार सञ्चालन गर्दा कुनै पनि समयमा सेयर बजार प्रतिकुल नीति ल्याएका छैनन् र अब पनि ल्याउने सम्भावना छैन् । वास्तवमा यतिबेला बजार घटाउन ब्रोकरदेखि सबै नियामकहरुको हात छ । सबै जना मिलेर बजार घटाउन लागिपरेका छन् । मारवाडी समुदायका लगानीकर्ताहरुले सेयर बेचे भन्ने हल्ला चलाईएको छ । हामीले त्यसरी सेयर बेचिरहेका छैनौं । मेरै कुरा गर्ने हो भने म आजसम्म पनि सेयर बेचिरहेको छैन् । हामी मारवाडीहरुले बामपन्थी सरकारसँग डराउनुपर्ने कुनै कारण नै छैन् । हामीले मात्रै होइन, कसैले पनि नयाँ सरकारसँग डराउनुपर्ने कारण छैन् । प्रदेश र प्रतिनिधी सभाको निर्वाचन सम्पन्न भयो । देश भर उत्साह छाईरहेको छ । वित्तिय क्षेत्रमा पनि निर्वाचनमा खर्च भएको पैसा बैंकिङ च्यानलमा आउँछ भन्ने थियो । त्यसले गर्दा तरलताको अभाव हटेर ब्याजदर कम हुने अपेक्षा पनि थियो । तर अवस्था त्यस्तो भएन, यतिबेला बैंकहरुले पनि ब्याजदरमा कार्टेलिङ गरिरहेका छन् । ब्याजदर घट्ने आस थियो तर त्यो अझै बढ्यो । बामपन्थीहरुको सरकार नबनेर काँग्रेस, माओवादी र मधेशवादीहरुको सरकार गठन हुने हल्ला पनि चलिरहेको छ । फेरी पनि सरकार अस्थिर नै बन्ने भयो भन्ने अलिअलि त्रास भने लगानीकर्तामा पक्कै पनि छ । त्यहि माथी तत्कालै नयाँ सरकार गठन पनि नहुने देखिएको छ । यस्ता सन्दर्भहरुले पनि बजार घटाउन केहि न केहि भूमिका खेलेकै छन् । त्यस्तै अहिले नेप्सेमा बोनस सेयर र राइट सेयर पनि धेरै मात्रामा सूचिकृत भएको छ । जसरी सेयरको आपुर्ति बढिरहेको छ, त्यसरी माग बढाउन नियामकहरुले पनि भूमिका खेलिरहेका छैनन् । धितोपत्र बोर्ड, केन्द्रिय बैंक, ब्रोकर, बैंकहरु सबैले मिलेर सेयर बजार घटाउन भूमिका खेलिरहेका छन् । हाम्रो सेयर बजार भनेको नाका बन्दी र भूकम्प थेगेको बजार हो । नाका बन्दी र भूकम्पले हल्लाउन नसकेको बजार अहिले किन अनावश्यक रुपमा घटिरहेको छ ? यो प्रश्नको उत्तर खोजिनुपर्छ । अहिले बिशेषगरि साना लगानी कर्ता पनि धेरै डराएका छन् । साना लगानीकर्ताहरु हल्लाको पछाडी लाग्छन् । बलियो कम्पनीको सेयर किनेर बस्यो भने कुनै समस्या छैन् । अर्काे कुरा भनेको सेयर बजार घटे पनि कारोबार रकम भने खासै घटेको छैन् । यसले पनि बजार तत्काल बढ्न सक्छ भन्ने सन्देश दिईरहेको छ । फेसबुकहरुमा बनाईएका ग्रुपहरु मार्फत पनि बजार घटाउने चलखेल भैरहेको छ । यस्ता ग्रुपहरुमा आउने अनावश्यक सन्देशबाट पनि हामीले जोगिनुपर्छ । सेयर बजार घट्नुपर्ने कुनै कारण छैन । अहिले बजार घट्नु भनेको अप्राकृतिक हो, त्यसैले बजार बढ्छ ।(कुराकानीमा आधारित)
नेपाली मुद्रासंग डलर कमजोर, १ डलर बराबर १०२.५०
काठमाडौं । नेपाली रुपैयाँसंग अमेरिकी डलर कमजोर भएको छ ।नेपाल राष्ट्र बैंकले सोमबारका लागि बिक्रीदर १ डलर बराबर १०२ रुपैयाँ ५० पैसा तोकेको छ । एक महिनाअघि १ डलर बराबर १०४ रुपैयाँ २३ पैसा थियो । एक महिनामा नेपाली रुपैयाँ १ रुपैयाँ ७३ पैसा बलियो भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय अर्थतन्त्र बलियो हुदै गएका कारण भारु रुपैयाँ मजवुत भएपछि यसको प्रभाव नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु मजवुत हुन साथ नेपाली रुपैयाँ पनि बलियो र डलर कमजोर हुन्छ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले सोमबार १ डलर बराबर ६३ रुपैयाँ ९२ पैसा भारु बिक्री दर तोकेको छ । २०७४ असार मसान्तको तुलनामा २०७४ कात्तिक मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग १.१ प्रतिशत अवमूल्यन भएको थियो । ०७४ कात्तिक मसान्तमा १ डलरकोे खरिद विनिमय दर १०४.०४ रुपैयाँ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर १०२.८६ रुपैयाँ थियो ।गत मंसिरमा डलर मजवुत भएपछि ११० रुपैयाँ २६ पैसासम्म पुगेको थियो । पछिल्ला महिनामा निरन्तर डलर कमजोर हुदै गएको छ । ५ वर्षअघि अर्थात सन् ०१२/०१३ मा १ डलर बराबर ८७ रुपैयाँ ९६ पैसा थियो । आजको दिनमा आउदा नेपाली रुपैयाँ डलरसंग साढे १४ रुपैयाँले अवमूल्यन भएको छ । डलर कमजोर हुदाका फाइदा डलर कमजोर भएपछि आयातित वस्तुको लागत सस्तो हुन गई उपभोक्ता मूल्य घट्छ । यसले गर्दा उपभोक्तालाई फाइदा हुन्छ । गत आर्थिक वर्षमा उपभोक्ता मूल्यवृद्धि कम गराउने एउटा तत्व डलर कमजोर भएकाले हो । गत वर्ष उपभोक्ता मूल्यवृद्धि ४ प्रतिशत तल रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सरकारले साढे ७ प्रतिशतमा सीमिति गर्ने भनेको थियो । यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि कम हुन्छ । डलर कमजोर भएका कारण गत आर्थिक वर्षमा विभिन्न दातालाई दिने सावाँ र ब्याज फिर्ता १६ अर्ब रुपैयाँ कम भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकट सस्तो हुने गरेको छ । विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि कम हुन्छ । गत वर्ष नोक्सान कम हुनुको एउटा कारण डलर कमजोर हुनु हो । डलर कमजोर हुदाका वेफाइदा आयात बढेर भुत्तानी सन्तुलनमा असर पर्छ । वैदेशिक रोजगारीमा जानेले पठाउने रेमिट्यान्स आप्रवाहमा कमी आउने र कामदारलाई नोक्सान हुने देखिन्छ । यस्तै विदेशबाट प्राप्त हुने पेन्सनवापतको रकम आप्रवाहमा कमी हुन्छ । निर्यातबाट प्राप्त हुने डलर आम्दानी कम हुन्छ । सरकारको भन्सार राजश्वमा कमी, पर्यटकलाई नोक्सान हुने देखिन्छ । यस्तै ठुला होटलको आम्दानीमा केही कमी हुन्छ ।
नेपाल टेलिकमले बैंकबाट सवा ८ अर्ब निक्षेप फिर्ता लिदै, तरलता समस्या झन जटिल बन्ने
काठमाडौं । बैकिङ क्षेत्रमा तरलता अभावको संकट गहिरदै गएको बेलामा नेपाल टेलिकमले विभिन्न बैंकबाट ८ अर्ब २५ करोड रुपैयाँ निक्षेप निकाल्ने भएको छ । त्यस मध्ये ७ अर्ब ९२ करोड रुपैयाँ सरकारलाई बुझाउने छ । १५ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीले ५५ प्रतिशत नगद लाभांश दिदैछ । यस कम्पनीमा करिव ९६ प्रतिशत सेयर सरकारको भएकोले कम्पनीले नाफा वापतको ७ अर्ब ९२ करोड रुपैयाँ सरकारलाई बुझाउने छ । अघिल्ला वर्षहरुमा चैत महिनामा साधारणसभा गर्दै आएको नेपाल टेलिकमले यस पटक तीन महिनाअघि अर्थात आगामी पुस ३० गते गर्दैछ । सञ्चालक समितिको प्रस्ताव साधारणसभाबाट अनुमोदन भएको भोलिपल्ट देखि नै सेयरधनीलाई लाभंश वितरण गर्ने कम्पनीको अभ्यास भएको सो कम्पनीको सूचना अधिकारी शोभन अधिकारीले बताए । कम्पनीले गत आर्थिक वर्षको नाफा विभिन्न बैंकमा निक्षेपको रुपमा राखेको छ । सरकारले लाभांश लैजादा सो रकम राष्ट्र बैंकमा जम्मा हुन जान्छ । पुस मसान्तमा ६० देखि ७० अर्ब रुपैयाँ राजश्व वापत जम्मा हुने अनुमान गरिएको छ । त्यसमाथि टेलिकमबाट करिव ८ अर्ब रुपैयाँ सरकारको खातामा जाँदा बजारमा तरलताको संकटमाथि थप दवाव पर्ने जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत (सीइअाे) परशुराम क्षेत्रीको भनाई छ । हाल सरकारको खातामा करिव ३५७ अर्ब रुपैयाँ जम्मा भएको छ । यो बैंक तथा वित्तीय संस्थामा जम्मा भएको कुल निक्षेपको १८ प्रतिशत हो । तरलता संकट गहिरीदै जाँदा बैंकहरूले निक्षेप र कर्जा दुबैकाे व्याज बढाउँदै अाएका छन् । त्यसकाे कर्जाकाे व्याजदर पनि बढ्दै गएकाे छ । उच्च व्याजदरले अर्थतन्त्र महँगाे हुने र त्यसले उत्पादन लागत बढाउने र उपभाेक्ता मुल्य पनि बढाउने विश्लेषकहरूकाे भनार्इ छ । पुसमा करको रुपमा अर्बौ रुपैयाँ राज्यको ढुकुटीमा जाने भएपछि बजारमा लगानीयोग्य पुँजीको अभाव हुने बैकरले बताएका छन् । सरकारले खर्च बढाउन नसके बैंकिङ प्रणालीमा ठुलो समस्या आउने संभावना रहेको माछापुच्छे बैंकका सीईओ निरजकुमार श्रेष्ठ बताउछन् ।
आशा लघुवित्तको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर निष्कासन तथा कम्पनीको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । आइतबार सम्पन्न नियुक्ति सम्बन्धी सम्झौतामा आशा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल तथा शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका तर्फबाट महा-प्रबन्धक सुजिन शाक्यले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात प्रभु क्यापिटलमार्फत कम्पनीले ३ लाख कित्ता कित्ता ३ लाख कित्ता कित्ता शेयर निष्काशन गर्ने भएको छ । सो मात्राको आइपीओ पश्चात कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ ।
लगानीयोग्य पुँजीको समस्या समधान गर्न राष्ट्र बैैंकले बुधबार थप १० अर्ब बैंकिङ प्रणालीमा पठाउने
काठमाडौं । वाणिज्य बैंकहरुले धेरै रकम मागेपछि नेपाल राष्ट्र बैंकले बुधबार पुनः १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत राष्ट्र बैंकले बुधबार पुनः १० अर्ब रुपै बैंकिङ प्रणालीमा पठाउने भएको हो । आइतबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गरेकोमा १९ अर्ब रुपैयाँ माग भएपछि थप रकम पठाउन लागेको हो । आइतबार २१ वाणिज्य बैंकले १९ अर्ब रुपैयाँ मागेका थिए । राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ आइतबार बैंकलाई दिएको छ । राष्ट्र बैंककाअनुसार आइतबारसम्म बैंकिङ प्रणालीमा ३३ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । अधिक तरलता भएपनि केही बैंकमा लगानीयोग्य पुँजीको समस्या देखिएपछि तत्कालका लागि राष्ट्र बैंकले ऋणपत्र जारी गरेको हो । विकास ऋणपत्रको समयसम्म यो कायम हुने राष्ट्र बैंकले जनाएका छ । यो दीर्धकालिन तरलता प्रवाह हो । यता बैंकले मुद्दती निक्षेपको ब्याज दर नबढाउने आन्तारिक सहमति गरेका छन् । मुद्दतीको ब्याजदर बढ्दा कर्जा धेरै महंगो हुने भएपछि नेपाल बैंकर्स एसोसियसनको पहलमा बैठक गरी ब्याजदर अब नबढाउने सहमति गरेका हुन् । हाल मुद्धति निक्षेपमा १२.२५ प्रतिशतसम्म ब्याज दिने गरी बैंकले योजना ल्याएका छन् । बैंकले साधारण वचतमा भने ६ प्रतिशत हारहारीमा मात्र ब्याज दिइरहेका छन् । ब्याजदर बढेपछि यसको असर सेयर बजारमा पनि परेको छ । राष्ट्र बैंकले गत वर्ष पनि यस्तै समस्या आएपछि सिधै विकास ऋण खरिद उपकरणमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो । सरकारले खर्च गर्न नसक्दा ढुकुटीमा अझै झण्डै साढे ३ खर्ब रुपैयाँ वचत रहेको छ । यो महिना अर्बौ रुपैयाँ करको रुपमा ढुकुटीमा थपिदै छ । यसले गर्दा बजारमा अझै लगानी गर्न पुँजीको संकट बढ्ने संभावना छ ।
बृद्धाश्रम निर्माणका लागि नेपाल बङ्गलादेश बैंकको आर्थिक सहयोग
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको इटहरी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माया घर नेपाललाई बृद्धाश्रम निर्माणका लागि ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक आज बैंकका शाखा प्रमुख बिष्णुराज रायमाझीले संस्थाका कोषाध्यक्ष शान्ता न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । इटहरीमा सामाजिक कार्यका क्षेत्रमा सकृय महिला दिदी बहिनीहरुको अगुवाईमा स्थापित उक्त सामाजिक संस्था माया घर नेपाल ले इटहरी उपमहानगरपालिका वडा नं.२, हवाई चोकमा बृद्धाश्रम बनाउने उद्धेश्यले यहि मिति २०७४ साल पौष ८ गते देखि १५ गते सम्म श्रीमद् भागवत जीवनदर्शन ज्ञान महायज्ञ संचालन गरिरहेकोमा उक्त सहयोग बैंकका शाखा प्रमुखले सोही महायज्ञ स्थल गएर प्रदान गरेका हुन् ।
‘एभरेष्ट प्रिमियर लिग टी-२०’को उपाधि विराटनगर वारियर्सलाई
काठमाडौं । “एभरेष्ट प्रिमियर लिग टी-२०” क्रिकेट प्रतियोगिता (ईपीएल)को उपाधि विराटनगर वारियर्सले हात पार्न सफल भएको छ । एनआईसी एशिया बैंकले मुख्य प्रायोजन गरेको विराटनगर वारियर्सले जितसँगै ट्रफी र नगद २१ लाख पुरस्कार प्राप्त गरेको छ । साथै, उक्त प्रतियोगिताको म्यान अफ दि सिरिजको पुरस्कार समेत सर्वाधिक रन बनाउन सफल विराटनगर वारियर्सकै बाबर हायातले हातपारेका छन् ।उक्त प्रतियोगिता अवधिभर बनेको कुल १४ अर्धशतकमा बाबरले ७ खेलमा ३ अर्धशतक प्रहार गर्दै कुल ३ सय १३ रन बनाएका थिए । कीर्तिपुरस्थित त्रि.वि.क्रिकेट मैदानमा पुस ३ गते देखि सञ्चालन भई शनिबार उपाधिका लागि भएको विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सबीचको फाईनल खेलमा विराटनगर वारियर्सले १ रनको रोमाञ्चक जित हातपारी उपाधि कब्जा गर्न सफल भएको हो । एनआईसी एशिया बैंकले स्थानीय खेलाडीहरुलाई अवसर प्रदान गर्न तथा खेलकुद क्षेत्रबाट पनि देशकालागि महत्वपूर्ण योगदान पुगोस् भन्ने उद्देश्यले यस पटक विराटनगर वारियर्सका लागि मुख्य प्रायोजन गरेको जानकारी दिएको छ । नेपालको खेल क्षेत्रको विकाशकालागी यो मुख्य प्रायोजन एक उदाहरणीय कदम भएको, साथै बैंकले खेल क्षेत्रमा अझ उल्लेखनिय योगदान गर्दै अगाडी बढने लक्ष्य लिएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत, स्वास्थ्य, शिक्षा, वातावरण, समाजमा पिछडिएका, गरीब, असहाय, उत्पीडित वर्ग र जनतालाई सहयोग पुर्याउन छात्रवृत्ति, अनाथाश्रम तथा वृद्धाश्रमलाई आर्थिक सहयोग, दुर्गम र पिछडिएको क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालनजस्ता महत्वपूर्ण कार्यक्रमहरु गर्दै आइरहेको बैंकले जानकारीे दिएको छ । साथै, दैवीप्रकोपबाट प्रभावित जनतालाई राहत वितरण, ऐतिहासिक एवम् सांस्कृतिक महत्वका मठमन्दिरको जीर्णोद्धार, ग्रामीण बाटो निर्माण एवम् पूर्वाधार निर्माणजस्ता कार्यमा उदाहरणीय रूपमा सहयोग गरेको छ ।