कामना सेवा विकास बैंकले गर्यो इलाका प्रहरी कार्यालय, बुटवललाई प्रिन्टर हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय, बुटवललाई प्रिन्टर हस्तान्तरण गरेको छ । कामना सेवा विकास बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानालाई हस्तान्तरण गरेका हुन्। बैंकका सञ्चालक भीमप्रसाद तुलाचनको अध्यक्षता र इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी निरिक्षक धर्मराज खत्री र सालिकराम खनाल र बैंकका कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रममा वोल्दै प्रहरी नायब उपरीक्षक रानाले सो प्रिन्टर कार्यालयको महिला, बाल–बालिका तथा जेष्ठ नागरिक सहायता शाखामा प्रयोग गरिने र कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा थप प्रभावकारी बनाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा बोल्दै बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले समुदायप्रति बैंकको उत्तरदायित्व र आगामी दिनहरुमा पनि यस्ता सहयोग जारी रहने तथा नेपाल प्रहरीसँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे। कार्यक्रमको सञ्चालन बैंकका बुटवल क्षेत्रीय प्रमुख हेमन्त बाबु आचार्यले गरेका थिए ।
एलजी नेपालले मनायो ४० औं वार्षिकोत्सव
काठमाडौं । एलजी नेपालले आफ्नो ४०औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा एलजी नेपालले डुराबिलिटी क्याम्पेनको सुभारम्म समेत गरेको छ । यो उपलब्धि चार दशकदेखि नेपाली परिवारहरूसँग कायम रहेको अटुट विश्वास, भावनात्मक सम्बन्ध र साझा यात्राको प्रमाण रहेको एलजी नेपालले जनाएको छ । अत्याधुनिक फ्रिज र वाशिङ मेसिनदेखि ओएलईडी टिभी, एयर कन्डिसनर र साउन्ड सिस्टमसम्म एलजीका सामान रहेका छन् । एलजीका ब्रान्ड प्रबन्धक मुकेशकुमार बैठाले ग्राहकहरूले देखाएको अटुट विश्वासका कारण ४० वर्षको यात्रा सम्भव भएको बताए । नेपालमा एलजीका उत्पादनहरू २० औ वर्षभन्दा बढी ग्राहकहरुले प्रयोग गर्दै आइरहेका छन् । सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको एलजी नेपाल एलजी प्रडक्टको अग्रणी वितरक हो ।
स्मार्ट च्वाईस टेक्नोलोजिजको २४औं वार्षिकोत्सव सम्पन्न, दुई नवीनतम सेवा थप
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) को २४औं वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त वार्षिकोत्सवमा सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, तथा यस संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो । वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज घिमिरेले संस्थाले विगतमा गरेका उपलब्धिहरू र भावी योजनाहरू बारे प्रस्ट पारे । विशेष गरी संस्थाले दिँदै आएका कार्ड सेवा (एससीटी- युनियन पे कार्ड, भिसा कार्ड, नेपालपे कार्ड, आदि), मोबाइल बैंकिङ सेवा (स्मार्ट बैंकिङ, अन्तर बैंक भुक्तानी सेवा (स्मार्ट पे), क्युआर भुक्तानी सेवा (स्मार्ट क्यूआर) र मर्चेन्ट व्यवस्थापन सेवा (स्मार्ट एमएमएस) मा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गरे । वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नवीतम सेवाहरू स्मार्ट क्यूआर साउन्डबक्स र एससीटी हबका बारेमा संस्थाका चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर रजिम अलि मियाले प्रत्यक्ष प्रदर्शन गरे । स्मार्ट क्यूआर साउन्डबक् स्मार्ट च्वाइस टेक्नोलोजिजको नवीन सेवा हो जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू स्मार्ट क्यूआर साउन्डबक्स मार्फत सुन्न सक्नेछन् । स्मार्ट क्यूआर साउन्डबक्सलाई मर्चेन्टहरूले आफ्नो वाईफाईसँग लिंक गरेर वा स्मार्ट क्यूआर साउन्डबक्समै आफ्नो सिम कार्ड राखेर नेटवर्कसँग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी विवरणहरू स्मार्ट क्यूआर साउन्डमार्फत विभिन्न भाषामा सुन्न सक्नेछन्। साथै एससीटी हब स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको नवीनतम प्रविधि हो, जसबाट बैंक तथा वित्तीय संस्थाहरूले एटीएम व्यवस्थापन, कार्ड व्यवस्थापन, विवाद व्यवस्थापन, सतर्कता व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन, रिपोर्ट जेनेरेसनलगायतका विभिन्न सेवाहरू एकै ठाँउबाट प्राप्त गर्न सक्नेछन् ।
पर्सामा अनुचित लेनदेनसम्बन्धी एक हजार ६८९ उजुरी टुङ्ग्याइयो
वीरगञ्ज (पर्सा) । पर्सामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी एक हजार ६८९ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ । साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा दुई हजार ३५८ उजुरी परेका थिए । सोमध्ये चालु आवको साउन २८ गतेसम्मको अवधिमा भने ६३७ मात्रै उजुरी फर्स्यौट गर्न बाँकी छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा आएकामध्ये एक हजार ६८९ थान उजुरी मेलमिलापमार्फत टुङ्गो लगाएको जानकारी दिए । यसअघि जिल्ला प्रशासनबाट एक हजार ७२९ मिटर ब्याजसम्बन्धि उजुरी आएका थिए, यहाँको प्रहरी कार्यालयमा पनि छुट्टै ६२९ उजुरी दर्ता भएका थिए । उनका अनुसार यसअघि जिल्ला प्रशासन कार्यालयले २२० उजुरी मेलमिलापबाट टुङ्गो लगाएको थियो । प्रहरीले भने एक हजार ४६७ उजुरी टुङ्गो लगाएको छ । सूचना अधिकारी लम्सालले मिटरब्याजसँग सम्बन्धित ३२ मुद्दा अदालतमा दर्ता भएको जानकारी दिए । यहाँ मिटरब्याजसम्बन्धी कसुरमा १५ पुरुष र दुई महिला गरी १७ जना पक्राउ परेका छन् । पर्सामा मेलमिलापको बिगो भने २८ करोड ५९ लाख ५५ हजार ५५७ रहेको छ । पर्सा प्रहरीले ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराएको छ । सूचना अधिकारी लम्सालले अनुचित लेनदेनसम्बन्धी उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गर्दै आएको बताए । उनले अनुचित लेनदेनसँग सम्बन्धित उजुरीउपर दुवै पक्षलाई छलफल गराएर टुङ्गो लगाउने प्रयास भइरहेको बताए । जिल्ला प्रहरी कार्यालयमा २०८१ फागुन १ गतेदेखि अनुचित लेनदेनका उजुरी दर्ता गर्न थालेको हो ।
चिकित्सा शिक्षामा थपिए १ हजार ३ सय ५९ सिट
काठमाडौं । सरकारले निजी कलेजमा एमबीबीएस र बीडीएसका लागि सिट संख्या बढाएको छ । चिकित्सा शिक्षा आयोगको २१ औं बैठकले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहका विभिन्न कार्यक्रममा १ हजार ३ सय ५९ सिट संख्या बढाएको हो । एमबीबीएस, बीडीएस, बी फर्मा, एडीएम, एमसीएच लगायतका कार्यक्रममा सिट संख्या बढाइएको हो । जसमा सबैभन्दा धेरै एमबीबीएसमा सिट थप गरेको छ । एमबीबीएसतर्फ प्रति मेडिकल ३० सिट थपी १ सय ३० पुर्याइएको छ । एमबीबीएसमा सबै कलेजमा गरेर कुल ४९५ सिट थप गर्ने निर्णय गरिएको छ । योसँगै अब एमबीबीएसको सिट संख्या २ हजार ६ सय ३५ पुगेको छ । यसअघि एमबीबीएसका लागि २ हजार १ सय ४० सिट थियो । यस्तै, नर्सिङतर्फ बीएस्सी नर्सिङमा ४ सय ४० सिट थप गर्ने निर्णय भएको छ । यसअघि १ हजार ९ सय ९० सिट थियो । सिट थपिएसँगै अब बढेर २ हजार ४ सय ३० पुगेको छ । बीएनएसतर्फ १ सय २२ सिट थप भएको छ । यसअघि ९ सय ४० सिट थियो । अब यो संख्या बढेर १ हजार ६२ पुगेको छ । त्यस्तै, बीपीएचमा यसअघि ६सय ५० सिट रहेकोमा ६२ सिट थप भइ ७ सय १२ पुगेको छ । ६ सय ९५ सिट रहेको बी फार्मेसीमा १ सय ४० सिट संख्या बढेर ८ सय ३५ पुगेको छ भने बीएमएसको सिट संख्या भने घटाउने निर्णय गरेको छ । एक सय सिट संख्या रहेको बीएमएस विषयमा ३५ सिट घटाएर अब ६५ सिट मात्र कायम गरिने आयोगले निर्णय गरेको छ । निजी क्षेत्रमा विद्यार्थीको सिट संख्या बढाइए पनि सरकारी कलेजमा भने यथावत राखिएको छ ।
युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रधानमन्त्री मोदीको प्रतिबद्धता
काठमाडौं । भारतले ७९ औं स्वतन्त्रता दिवस भव्यताका साथ मानिरहेको छ । दिल्लीको लालकिल्लाबाट प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गरे । प्रधानमन्त्री नरेन्द्र मोदीको आजको सम्बोधन ऐतिहासिक पनि छ । प्रधानमन्त्री मोदीको लालकिल्लाबाट यो १२ औं पटकको सम्बोधन हो । साथै प्रधानमन्त्री मोदीले १०३ मिनेट लामो भाषण गरे । जुन भारतको इतिहासमा कुनैपनि प्रधानमन्त्रीले स्वतन्त्रता दिवसको अवसरमा दिएको सबैभन्दा लामो भाषण पनि हो । प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा ‘आत्मनिर्भर भारत’ र सन् २०४७ सम्म ‘विकसित भारत’ को दृष्टिकोणलाई जनतासामु राखेका छन् । प्रधानमन्त्री मोदीले देशभित्र रोजगारी प्रवद्र्धन गर्नका लागि ‘प्रधानमन्त्री विकसित भारत रोजगार योजना’ नामको नयाँ योजनाको पनि शुरुवात गरिएको घोषणा गरे । एक लाख करोड रुपैयाँ खर्च हुनेगरी बनाइएको रोजगार योजनामा निजी क्षेत्रमा पहिलो रोजगारी पाउने युवायुवतीलाई १५ हजार भारतीय रुपैयाँ दिने घोषणा गरे । रोजगारी दिने कम्पनीहरुलाई पनि प्रोत्साहनस्वरुप सहयोग गरिने प्रधामन्त्री मोदीले बताए । प्रधानमन्त्री विकसित भारत रोजगार योजनाले ३ करोड ५० लाख बढी युवा युवतीलाई नयाँ रोजगारको अवसर प्रदान गर्ने बताए । आफ्नो लामो भाषणमा उनले पाकिस्तान र अमेरिकाको पछिल्लो कदमको आलोचना गरेका छन् । देशको आत्मनिर्भरता केबल रुपैयाँ वा आयात–निर्यातमा सिमित नभएको बताउँदै प्रधामन्त्री मोदीले अब पनि अन्य देशहरूमा निर्भर रहनु विनाशको बाटो भएको बताए । प्रत्यक्ष रुपमा संयुक्त राज्य अमेरिकाको नाम नलिइकनै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको ५० प्रतिशत शुल्क (ट्यारिफ) लगाउने धम्कीको जवाफ दिँदै आफू ‘पर्खाल बनेर उभिने’ र भारतीय किसानको हितको रक्षा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
टप इण्ड टी २० : अस्ट्रेलियामा एनटी स्ट्राइक विरुद्ध भिड्दै नेपाली राष्ट्रिय क्रिकेट टिम
काठमाडौं । अस्ट्रेलियाको डार्विनस्थित डिएक्ससी एरिनामा शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टिमले टप इण्ड टी २० मा आफ्नो पहिलो खेल खेल्दैछ । पहिलो खेलमा नेपाल घरेलु टिम नर्दन टेरीटोरी स्ट्राइक विरुद्ध प्रतिस्पर्धामा उत्रिन लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो २ बजेर १५ मिनेटमा सुरु हुनेछ । डेब्यू जितको लक्षसहित अष्ट्रेलियन टोलीसँग आमनेसामने हुँदै गरेको नेपाली टोली आईसीसी टी २० विश्वकप छनोटको तयारी स्वरूप प्रतियोगितामा सहभागिता भएको हो । यो प्रतियोगिता नेपालका लागि अस्ट्रेलियामा पहिलो आधिकारिक अन्तर्राष्ट्रिय सिरिज हो । प्रतियोगितालाई आगामी टी २० विश्वकप क्वालिफायरको तयारीको रूपमा हेरिएको छ । उक्त सिरिजमा नेपालसहित पाकिस्तान शाहीन्स, बंगलादेश ए, अमेरिकी क्लब शिकागो किङ्ग्समेन र अष्ट्रेलियाका बिबिएल फ्रेन्चाइज टिमहरू प्रतिस्पर्धा गर्दैछन् । नेपालले आजको खेलपछि १६ अगस्टमा बंगलादेश ए र १८ अगस्टमा मेलबर्न स्टार्स एकाडेमीसँग खेल्नेछ । कुल ६ खेलको राउन्डरबिन चरणपछि शीर्ष ४ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुवर्ड लले यसअघि नै रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेका थिए । नेपाली टोलीमा कप्तान पौडेलसहित दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, आरिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र अहाब आलम रहेका छन् ।
एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा छुट
काठमाडौं । एनआईसी एशिया बैंक र अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्सबीच समझदारी भएको छ । बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो । यस सम्झौतासँगै बैंकका ग्राहकले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा विभिन्न सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले इन हाउस प्याथोलोजी, आउटसोर्सिङ टेस्ट, रेडियोलोजी, एम्बुलेन्स, जनरल बेड चार्ज, आईसीयू/सर्जरी चार्ज सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्नसक्ने बैंकले जनाएको छ । उक्त अस्पतालसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरूलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।