विकासन्युज

निष्क्रिय कर्जा घटाएर नाफा बढाउदै छौं -गोविन्द गुरुङ, सीईओ-सिभिल बैंक

सन् १९९६ मे महिनामा हिमालयन बैंकबाट बैंकिङ करियर सुरु गरेरका गोविन्द गुरुङ अहिले सिभिल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । एघार वर्ष हिमालयन बैंकमा, तत्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकको पदमा साढे तीन वर्ष र मेगा बैंकमा नायब महाप्रबन्धकको पदमा साढे दुई वर्ष र सन् २०१२ अक्टोबरमा सिभिल बैंकमा वरिष्ठ कार्यकारी अधिकृतको रुपमा काम सुरु गरेका थिए । उनी गत जुलाईदेखि सिईओको रुपमा कार्यभार सम्हाल्दै आइरहेका छन् । दुई दशक बैंकिङ क्षेत्रमा बिताइसकेका गुरुङले सिभिल बैंकलाई सबल र सक्षम बनाउने अठोट कसेका छन् । बैंकको समग्र गतिविधिमा केन्द्रित रहेर सीईओ गुरुङसंग विकासन्युजले गरेका कुराकानीको अंशः गोविन्द गुरुङ, सीईओ-सिभिल बैंक लिमिटेड अन्य बैंकको तुलनामा आजका दिनसम्म सिभिल कुन पोजिसनमा छ ? निक्षेप, कर्जा लगानी र नाफाको हिसाबले बैैकको पोजिसन राम्रो छ । सिभिल नयाँ बैक भएकाले निक्षेप लागत (कस्ट अफ फण्ड), पूँजी परिचालन लगायत विभिन्न तवरले अरु पुराना बैंकसँग तुलना गर्दा चुनौती बढी नै छ । यद्यपी हामी योजनावद्ध ढंगले अगाडी बढेका छौं । हाम्रो पूँजीवृद्धि योजना सफल रुपमा अघि बढेको छ । अहिले हामीसँग ५ अर्ब १८ करोड रुपैयाँ चुक्तापूँजी छ । ४० प्रतिशत हकप्रद सेयर आइसकेको छ । आगामी पुस २७ गतेसम्मका लागि हकप्रद सेयर बिक्री खुला गरेका छौं । त्यसपछि हाम्रो पूँजी ७ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । त्यसबाहेक हामीले पूँजीवृद्धिलाई नै ध्यानमा राखेर पाँचवटा संस्थासंग मर्जर र प्राप्ति (एक्विजिसन) समेत गरेका छौं । ३ वर्षअघि एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तिय संस्थालाई मर्जर गरेका थियौं । राष्ट्र बैंकबाट पुँजी वृद्धिको सर्कुलर आएपछि हामीले इन्टरनेशनल लिजिङ एण्ड फाइनान्सियल कम्पनी लिमिटेड (आएलएफसीएल ) लाई मर्ज गर्‍यौं । युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई एक्वायर गर्यौ । त्यसपछि पुँजी ५ अर्ब १८ करोड रुपैयाँ पुगेको हो । आईएलएफसीएललाई गाभेपछि हामीसंग ५६ करोड २८ लाख रुपैयाँ संचित कोषमा थप भएको छ । गत असार मसान्तमा नाफा ३३ करोड ८१ लाख रुपैयाँ पुगेको थियो । ४० प्रतिशत हकप्रद सेयर निष्कासन, संचित कोषको रकम र असार मसान्तको खुद नाफा समेत जोडेर यो वर्ष पुँजी ८ अर्ब रुपैयाँ पुग्दैछ । यसरी हामी पूँजीगत क्षेत्रमा योजनाबद्ध ढंगले अगाडी बढेका छौं । व्यवसायको आकारका हिसाबले पनि आज राम्रो स्थितिमा छौं । आजको दिनसम्म ३५ अर्ब रुपैयाँ हाराहारीमा निक्षेप परिचालन र करिब साढे ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छौ । अहिलेको अवस्थामा हाम्रा लागि यो आकारको कारोबार राम्रो हो । लाभदायिकताको हिसाबले हेर्दा यो वर्षको पहिलो त्रैमासिकमा ११ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएका छौं । उमेरमा हामी २८ औं कान्छो बैंक भए पनि नाफाको दृष्टिकोणबाट हेर्दा चार वटा बैंकभन्दा अगाडी अर्थात २४ औं स्थानमा पुगेका छौं । शाखा सञ्जालको कुरा गर्दा पूर्व मेचीदेखि महाकालीसम्म हामीसँग अहिले ५३ वटा शाखा, ९ वटा शाखारहित बैंकिङ सेवा तथा ३८ वटा एटिएम सेवा छ । यसपाली हामी २५ वटा थप शाखा विस्तार गर्दैछौं । बैंकिङ क्षेत्रमा सबैभन्दा महत्वपूर्ण पाटो नियन्त्रण र परिपालन नै हो । यसमा हाम्रो बैंक सहज ढंगले सञ्चालन भइरहेको छ । परिपालनमा हामी निकै जोड दिइरहेका छौं । संस्थागत सुशासनामा पनि हामीले सबै किसिमका जोखिमलाई कम गर्ने उद्येश्यका साथ कार्यक्रम अगाडी बढाइरहेका छौं । हाम्रा सम्बन्धित सञ्जाल पनि नेपालका ठुला पुराना बैंकहरु सरह छन् । अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा जनशक्ती पनि हो । अहिले हामीसँग ५३६ जना दक्ष जनशक्ती छन् । सबैको कार्य सम्पादन राम्रो छ । त्यसलाई अझ परिष्कृत गर्दै लैजानका लागि हामीले प्रशिक्षणमा बढी जोड दिएका छौं । यी सबै कारणले हाम्रो स्थिती राम्रो छ । भोलीका दिनमा अग्रणी बैंकका रुपमा अघि बढ्न यी आधारहरुले सहयोग गर्नेछ भन्ने विश्वास लिएका छौं । बैंकको निष्क्रिय कर्जा घट्नुको सट्टा बढेको देखिन्छ । यसको कारण के होला ? यसपछाडी दुईवटा कारण छन् । पहिलो कारण हामीले पाँच वटा कम्पनी मर्ज गर्र्यौं । तिनै संस्थामा भएको निष्क्रिय कर्जाले गर्दा बढ्नमा योगदान पुगेको छ । त्यसमा पनि मर्जरबाट एक थरी निष्क्रय कर्जाको रुपमा आएका थिए । विकास बैंक र वाणिज्य बैंकको काम गर्ने तरिकाबीचको अन्तर अर्को कारण हो । स्थापनाकालदेखि सिभिलले कारोबार बढाउन पुराना बैंक तथा वित्तिय संस्था मर्ज गरेर ल्याउँदा केही खराब कर्जाहरु आएका छन् । प्रमुख कारण चाँही कारोबार बढाउने चाप नै हो । निष्क्रिय कर्जा अनुपात बढ्दा हाम्रो लाभदायिता पनि प्रभावित भएको छ । हिजोको दिनमा हामी २८ औं पोजिसनमा थियौं भने अहिले २४ औंमा पुगेका छौं । निष्क्रिय कर्जाको मार खेप्नु नपर्ने हो भने हामी अझैं अगाडी हुन्थ्यौं । यही त्रैमासिकको मात्र हेर्ने हो भने हामीले थप ३१ करोड रुपैयाँ प्रोभिजनिङ गर्यौं । ३१ करोड रुपैयाँ निष्क्रिय कर्जा असुली गरेका थियौं । यद्यपी प्रोभिजनिङका कारण यसको सुविधा उपभोग गर्न पाएनौं । राइट ब्याकको उपभोग गर्न पाएको भए हामी निकै अगाडी बढ्थ्यौं । हामीले प्रोभिजनिङमा १ अर्ब ८६ करोड राख्या छौं । बैंकको रिजर्भमा मात्र पुरा रकम छ जसले एनपिएलाई पुर्णरुपमा थेग्न सक्छ । बैंकको समग्र वित्तिय पोजिसन अत्यन्तै राम्रो अवस्थामा छ । हामीले केन्द्रिय बैंकको मापदण्ड अनुसार हकप्रद सेयर पनि जारी गरेका छौं । आगामी असार मसान्तसम्ममा खराब कर्जा घटाएर कतिमा झार्दै हुनुहुन्छ ? गत असारसम्म यस्तो कर्जा ४ प्रतिशत मात्र थियो । यो त्रैमासिकमा बढेर ४.६५ प्रतिशत पुगेको छ । त्यसैले गर्दा पनि प्रोभिजनिङ बढेको हो । आगामी असार मसान्तसम्ममा यसलाई २ प्रतिशतमा झार्ने योजना छ । निष्क्रिय कर्जा असुली लिगल मिटिगेसन सिस्टमबाट जाने भएकाले समय लाग्छ । आगामी वर्षसम्म बैंकको नाफा कति पुर्याउने लक्ष्य छ ? यसरी आधिकारिक रुपमा रणनीतिक कुरा भन्न सकिदैन । आन्तरिक बोर्डमा छलफल गर्ने पाटो फरक हो । तर गत वर्षको तुलनामा राम्रो गर्ने लक्ष्य लिएका छौं । सिभिल सेयरको मूल्य अन्य बैंकको भन्दा निकै कम छ । यस्तो कसरी हुन गएको हो ? कान्छो बैंक भएपछि पाउने प्रतिफल पनि कम हुन्छ, त्यसैले पनि सेयरको मूल्य कम भएको होला । एकातर्फ सेयर बजार घट्दो क्रममा रहेको अवस्था छ । सेयरमा विश्वास कम भएर वा लगानी कम भएर सेयरको परिसुचक नै तल छ । भर्खरै मात्र हामीले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेका कारण सेयर मूल्य समायोजन (एडजस्टमेन्ट) हुँदा सेयरको मुल्य घटेको हो । हकप्रद निष्कासन गर्नुअघि सेयरको मूल्य २३० रुपैया थियो । अहिले धेरै बैंक तथा वित्तीय संस्थाको हकप्रद सेयर बिक्री नभएर लिलाममा गइरहेको छ । सिभिल बैंकको पनि लिलामी गर्नुपर्ने संभावना कतिको छ ? सबै बैंकको केही सेयर लिलाममा गइरहेकै छन् । यसमा दुईवटा कारण छन् । पहिलो रकम नपुगेर हकप्रद सेयर हाल्ने कमै छन् । हाम्रो ६० हजार भन्दा बढी सेयर सदस्य छन् । पैसा हाल्ने ईच्छा हुँदाहुँदै पनि थाहा नपाएर हकप्रद खरिद गर्न नपाउने धेरै छन् । हामीले पनि लिलाममा जानुपर्छ की भन्ने आँकलन चाँही गरेका छौं । हकप्रद किन्नेले बोनस सेयर पाउछन ? हकप्रद सेयर किन्नेले बोनस अवश्य नै पाउँछ । किनभने हामीले राष्ट्र बैंकमा वित्तीय विवरण पठाइसकेका छौं । अहिले त्यो विचाराधिन छ । हकप्रद सेयर बन्द गरेपछि बल्ल हाम्रो वार्षिक साधारणसभा आउँछ । यसको अर्थ जो जसले हकप्रद सेयर हालेका छन् उनीहरुले बोनस पाउने निश्चित नै छ । सेयर संख्या बढिरहे पनि बैंकले नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी पनि घट्दै गएको छ । आगामी दिनेमा तपाईलाई चुनौती छैन र ? सिभिल बैंक इपिएस बढ्नेमा सबैभन्दा अगाडी रहेको छ । यो एउटा मोमेन्टम तयार भएको छ । यसलाई व्यवस्थापन गर्दै दिगो रुपमा अगाडी बढाउनुपर्ने चुनौती त छँदै छ । कारोबार यही हिसाबले बढ्दै गयो भने यसले इपिएसलाई पनि दिगोरुप बढाउँदै जानेछ । गत साल यही समयमा ‘तरलता अभाव’ सुरु भइसकेको थियो । यसपालीको अवस्था के छ ? आजका दिनसम्म त यस्तो समस्या छैन । चुनावसम्म त्यती समस्या नदेखिने हामीले अनुमान गरेका छौं । २र३ अर्ब पूँजी पनि बढेकै छ । मुद्रास्फिती कम हुनु, सरकारको खर्च तथा आय स्थिर भएको र घरायसी आम्दानी बढ्नु नै कारण हो । त्यस्तै चुनावमा अनौपचारिक माध्यमबाट आउने रकम पनि बैंकिङ च्यानलबाट आउने सम्भावना छ । स्थानीय तहका लागि २३८ अर्ब रूपैयाँ बजेट छुट्याए अनुसार खर्च हुन लागेको छ । यसले गर्दा वित्तिय प्रणालीमा त्यो पैसा पनि आउछ । यी सबै कारणले गर्दा तरलता माघसम्म सहज हुन्छ । त्यसपछि प्रादेशिक सरकार बन्ने क्रम सुरु हुन्छ, जुन हाम्रा लागि थप अवसर हो । किनभने चालु आर्थिक वर्षमा विकास निर्माण शिर्षकमा ३ खर्ब ३५ अर्ब रुपैयाँ विकास खर्चलाई विनियोजन गरिएको छ । अहिले जम्मा ६ प्रतिशत मात्र खर्च भएको छ । २४१ अर्ब चाँही सरकारकै ढुकुटीमा थन्किरहेको छ । यो रकम बढ्दै गएर समयमा नै सरकार नबन्ने र बनेपछि पनि प्रभावकारी ढंगले खर्च गर्न नसक्ने अवस्था रह्यो भने चाँही ितरलता अभाव जटिल नबन्ला भन्न सकिदैन । सिभिलको पूँजी पर्याप्तता १९ प्रतिशत हारहारीमा छ । परिचालनतर्फ बैंकले किन ध्यान दिदैन ? पूँजी ४०० प्रतिशतले बढ्ने र कारोबार नबढ्ने समस्या छ । हाम्रो ८ अर्ब रुपैयाँ पूँजीलाई हेरेर नाफा बढाउन ८० अर्ब रुपैयाँको कर्जा लगानी हुनुपर्छ । यसमा पनि कतै १५० प्रतिशत पूँजी आवश्यक होला भने कतै ६० प्रतिशत होला । तर सरदरमा ८० अर्ब रुपैयाँको कारोबार गर्नुपर्ने हुन्छ । अब ३२ अर्ब रुपैयाँ कारोबार गरिरहेको बैंकले तत्काल कारोबार बढाएर ८० अर्ब रुपैयाँको पुर्याउन सक्दैन् । यो क्रमिकरुपमा बढ्दै जान्छ । अन्य बैंक भन्दा सिभिलले आफना ग्राहकलाई दिने फरक सुविधा के हो ? सिभिलको मुख्य पहल सेवामा नै केन्द्रित छ । सिभिलले चुस्त र दूरुस्त रुपमा सेवा दिन्छ । अर्को कुरा हामी नयाँ बैंक भएकाले डिपोजिट बढाउनका लागि अधिकतम लाभ दिइरहेका छौं । आजको दिनमा तपाईले हेर्नुभयो सिभिलको सेभिङ रेट उच्च छ । हामीले कम मार्जिनमा काम गरेर डिपोजिटरलाई अधिकतम लाभ दिइरहेका छौं । हामीले क्रेडिटलाई पनि डिजिटल प्रविधि मार्फत सेवा प्रदान गरेका छौं । हामीले मास्टर कार्डमा क्रेडिटको सुविधालाई समेटेका छौं । हामी अन्य सेवालाई पनि प्रविधि मार्फत प्रदान गरिरहेका छौं । अरु बैंकमा जानुपर्यो भने छुट्टै क्रेडिट कार्ड लिनुपर्ने बाध्यता छ । तर सिभिल बैंकमा एउटै कार्डलाई डेबिट र क्रेडिट दुवै कार्डको रुपमा प्रयोग गर्न सकिन्छ । आधार ब्याजदर यहाँहरु ११.५५ प्रतिशतमा देखिएको छ । यहाँहरुले पाउने कर्जा धेरै महंगो छ । कहिलेदेखि घट्छ ? निक्षेमा उच्च ब्याजदर दिएको कारण आधार ब्याजदर बढी देखिएको हो । आजको दिनमा हाम्रो निक्षेप लागत भनेको सवा ८ प्रतिशतको हाराहारीमा छ । यसकारण आधार दर बढी भएको हो । कर्जा लिने ग्राहकलाई यसले मार पारेको छ । तर कर्जा पनि प्रतिस्पर्धी ढंगले गइरहेका छौं । महंगो भनेर धेरै महंगो पनि छैन । कहिलेदेखि सेवाग्राहीले सस्तोमा कर्जा पाउलान् त ? यसका लागि त हाम्रो निक्षेप लागत घट्नुपर्छ । जसका लागि हामीले बचतमा नै जोड दिइरहेका छौं । त्यो हुँदै गएपछि स्वचालित ढंगले कर्जाको दर चाँही घट्दै जान्छ । त्यसबाहेक हाम्रो सञ्चालन खर्च गर्नुपर्ने कुरा पनि छ । यसको एउटै उपाय भनेको कारोबार बढाउनुपर्ने हो । यसले सम्पूर्ण सञ्चालन खर्चलाई घटाउदै लैजान्छ । यद्यपी यो तुरुन्तै हुने कुरा होइन । आगामी वर्ष बैंकले सेयरधनीलाई दिने प्रतिफल कतिसम्म बढ्ला ? ठ्याक्कै यतिउती भन्न मिल्दैन । तर पुँजी बढेकाले गर्दा सबै बैंकको चाँही प्रतिफल विगतका तुलनामा कम नै हुने देखिन्छ । सेयर पनि घटिरहेको छ । ठुलो बैंकको कुरा गर्दा पनि २ अर्ब कमाउँदा २ अर्ब पुँजीलाई नै बाड्नुपर्ने देखिन्छ । त्यसकारण प्रतिशतका हिसाबले घट्छ नै । हामी जस्तो नयाँ बैंकको चाँही बढ्न पनि सक्छ । हाम्रो क्यापिटल बढेकाले त्यही अनुपातमा त नबढ्ला । सिईओ भएपछि कतिको तनाव बेहोर्नुपरेको छ ? सिईओ भएपछि स्वभाविकरुपमा तनाव त हुने नै भयो । त्यही तनाव लिएर सबै सेयरहोल्डरलाई राम्रो प्रतिफल दिनुपर्छ भनेर नै यो पोजिसनमा आएको छु । प्रोफेसनल तनाव भन्दा पनि बजारले पार्ने प्रभावका कारण बढी तनाव दिएको हुन्छ । जस्तो सरकारले समयमा बजेट खर्च गरेन भने अर्को समस्या देखिन्छ । जुन मेरो नियन्त्रणभन्दा बाहिरको कुरा भयो । मलाई व्यवस्थापन नै गर्न गाह्रो हुन्छ । त्यसपछि मैले कि त कारोबार वा कर्जा लगानी खुम्च्याउनुपर्ने हुन्छ । कर्जा खुम्च्याउदा लक्ष्य नपुग्ने हुन्छ । बाहिरी कारणले गर्दा आउने समस्याले बढी प्रभाव पर्छ । त्यो सबै सिईओमा लागू हुने कुरा हो । त्यस्तै अन्तराष्ट्रिय व्यापारमा अवरोध आयो भने पनि समस्या देखापर्छ । हाम्रो नियन्त्रण भन्दा बाहिरको कुरामा व्यवस्थापन मात्र गर्न सकिन्छ । त्यसलाई परिवर्तन गर्न भने सकिदैन । व्यवस्थापन गर्नका लागि नै हामी बसेका छौं ।

माग व्यवस्थापन गर्न पूर्वबाट ३० मेगावाट बिजुली ल्याउने प्राधिकरणको तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माग व्यवस्थापन गर्न कोसीपुर्वको बिजुली पश्चिमतर्फ ल्याउने तयारी थालेको छ । पूर्वक्षेत्रमा बिजुली बढी भएपछि कोसी पश्चिममा आपूर्ति गर्ने प्राधिकरणले तयारी थालेको हो । सबैभन्दा बढी बिजुली खपत मध्यक्षेत्रमा हुने गरेको छ । पूर्वको बिजुली पश्चिममा ल्याउन प्राविधिक अध्ययन भइरहेको प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्ण श्रेष्ठले बताए । प्रसारणलाइनमा केही सुधारको काम गरे पूर्वबाट थप ३० मेगावाट बिजुली आपूर्ति गर्न सकिने उनको भनाई छ । प्रसारणलाइन सानो क्षमताको भएकाले पूर्वबाट पश्चिम धेरै बिजुली आपूर्ति हुन सकेको छैन् । हाल पूर्वक्षेत्रमा भारतबाट १२५ मेगावाटसम्म बिजुली आयात भइरहेको छ । यस्तै सानिमामाई, हेवाखोलालगायत अन्य साना आयोजनाबाट बिजुली आपूर्ति भइरहेकाले  बढी हुने बिजुली पश्चिमतर्फ ल्याउन तयारी थालिएको श्रेष्ठले जानकारी दिए । उनले विद्युतभार कटौती (लोडसेडिङ) हुन नदिनका लागि प्राधिकरणले आन्तरिक तयारी गरिरहेको उनले जानकारी दिए । प्राधिकरणले शुक्रबारदेखि औद्योगिक क्षेत्रमा साँझ ५ देखि राती ८ बजेसम्म लोडसेडिङ गर्न लागेको छ । यसअघि साँझ साढे ५ देखि राती साढे ८ सम्म लोडसेडिङ हुदै आएको छ । बढी बिजुलीको माग हुने समय साँझमा विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ३ घण्टा लोडसेडिङ गर्दै आएको छ । पहिलाको भन्दा आधघण्टा अघि औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने भएको छ । आन्तरिक उत्पादन घट्न थाल्यो सुख्खायाम सुरु भएपछि नदीमा जलप्रवाहमा कमी आएपछि बिजुली उत्पादन पनि क्रमश कम हुदै गएको छ । अहिले प्राधिकरणका आयोजनाबाट दैनिक २८० र निजी क्षेत्रबाट २९० मेगावाटको हारहारीमा बिजुली आपूर्ति भइरहेको श्रेष्ठले जानकारी दिए । यस्तै कुलेखानी कहिलेकाही आवश्यकता अनुसार मात्र सञ्चालन हुने गरेको छ । भारतबाट ३२५ मेगावाटसम्म आपूर्ति भइरहेको छ । १४४ मेगावाटको कालिगण्डकी ९८, ७० मेगावाटको मध्यमस्र्याङदी ४८, ६९ मेगावाटको मस्र्याङदी ५२ र ६० मेगावाटको खिम्ती ५४ मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।

शिखर इन्स्योरेन्सको साधारणसभा पुस ७ गते, ३० प्रतिशत लाभांश दिने प्रस्ताव पेश हुदै

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारणसभा पुस ७ गते हुने भएको छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुक्तापुँजीका २९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ । यस्तै कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुने छ । यस्तै साधरण सेयरधनीको हिस्सा बढाएर ४४ प्रतिशत पुर्याउने प्रस्ताव गरिएको छ । हाल साधरण सेयरधनीको हिस्सा ३० प्रतिशत छ । यसका लागि संस्थापक सेयर साधारणमा परिणत गरिने भएको छ ।

सामसङ ग्यालेक्सी ट्याब ए २०१७ नेपालमा, इन्टरनेट, क्यामरा र गेम लन्चरका लागि उत्कृष्ठ

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ट्याव ए २०१७ नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी ट्याबए २०१७ पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस भएको, इन्टरनेट चलाउने, फोटो खिच्न र गेम लन्चरको लागि यो डिभाईस उत्कृष्ट उत्पादन भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा ८ इन्टको डिस्प्ले तथा पूरै दिनभर चल्ने ब्याट्रिको क्षमताले गर्दा तपाइँको इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्न सक्दछ । यो आफैमा एक इन्टरटेनमेन्टको पावर हाउस हो, ग्यालेक्सी ट्यावए २०१७ मा शानदाश ८ इन्चको ४८० निट ब्राइट डिस्प्ले रहेको छ जसले गर्दा बाहिर घाममा पनि सहजै रुपमा देख्न सकिन्छ । लामो समयसम्म चल्ने ५००० एमएएच व्याट्री जसले मल्टीमिडिया प्रयोग गर्दा पनि १४ घण्टसम्म निरन्तर चलाउन सकिन्छ । ग्यालेक्सी ट्याव ए २०१७मा सामसङगको उत्कृष्ट फिचर बिक्सबीहोम पनि समावेश गरिएको छ, जसबाट उपभोक्ताहरुले कुनै एप नै नखोली एक स्वाइपका भरमा ट्यावमा कुनै पनि कुरा सहजै खोज्न सक्नेछन् । ‘बिक्सबीले तपाइँको रुटिन जान्दछ, र तपाइँलाई आवश्यकभएको कन्टेन्ट तत्काल उपलब्ध गराउँदछ । यसको प्रयोगबाट तपाइको समय र स्थानको आधारमातपाइँलाई के चाहिएको छ त्यो पनि यसले आफै पहिचान गर्दछ, यसरी तपाइले यो डिभाइसको पूरा उपयोग गर्न सक्नुहुन्छ’ सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने “हामीले उपभोक्ताद्वारा प्राप्तभएको कयौं फिडब्याकहरुलाई ध्यानपूर्वक मनन गरी उपभोक्ताहरुका चाहना एवं आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्द्रिंत रहेका छौं । ग्यालेक्सी ट्याव ए २०१७मा शानदार डिस्प्ले, पावरफुल परफर्मेन्स तथा मल्टीमिडिया एक्स्पीरियन्सको राम्रो समिश्रण रहेको छ । यो क्वालिटि इन्टरटेनमेन्ट एक्सपिरियन्स खोज्ने ग्राहकहरुका लागि उत्कृष्ट छ । ग्यालेक्सी ट्याव ए ले नेपालमा पनि आफ्नो मजबूत पकड जमाउन मद्दत गर्ने छ ।” यो ट्याबमा “किड्स मोड” को सुविधाउपलब्ध रहेको छ । यो एउटा यस्तो डिजिटल प्ले ग्राउन्ट हो जुन पूर्ण रुपमा सुरक्षित छ र बच्चाहरुले खेल्दा खेल्दै सिक्न सक्छन्– कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सानिमा इक्वीटी फण्डको आवेदन गर्ने म्याद १८ गतेसम्म

काठमाडौं । सानिमा इक्वीटी फण्डमा आवेदन गर्ने म्याद १८ गतेसम्म थपिएको छ । फण्डका लागि आवेदन दिने अन्तिम म्याद तोकिएको १५ गतेका दिन सार्वजनिक विदा परेकाले १८ गतेसम्म पुगेको हो । सरकारले १५ गते शुक्रबार सार्वजनिक विदा दिएको छ भने आइतबार पनि सार्वजनिक विदा नै परेको छ । अब सानिमा इक्वीटी फण्डमा १८ गते सोमबार पनि आवेदन दिन सकिनेछ । कम्पनीले ढिलोमा २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ । लगानी कर्ताको राम्रो रेस्पोन्स आईरहेकाले १८ गतेभित्रै सबै इकाई खरिद भैसक्ने सानिमा क्यापिटलका इभेष्टेमन्ट हेड सन्दिप लुइँटेलले विकासन्युजलाई जानकारी दिए । ‘लगानी कर्ताको रेस्पोन्स राम्रो पाईरहेका छौं, ठ्याक्कै कति आवेदन आयो भनेर तथ्यांक चाँही निकालेका छैनौं’, लुइँटेलले भने । सानिमा क्यापिटलले एक अर्ब २० करोडको सानिमा इक्वीटी फण्ड ल्याएको छ । सानिमाले १० रुपैंयाँ मूल्य अंकित १२ करोड ईकाईको सात बर्षे इक्वीटी फण्ड ल्याएको हो । कुल इकाईको १५ प्रतिशतले हुने एक करोड ८० लाख ईकाई सानिमा बैंकका लागि सुरक्षित गरिएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि छुट्याईएको छ । लगानीकर्ताले न्युनतम १०० ईकाईदेखि अधिकतम २४ लाख ईकाईसम्म खरिद गर्न सकिनेछ । आश्वा प्रणालीको सदस्य रहेका सबै बैंक तथा वित्तिय संस्थाहरुबाट सानिमा इक्वीटी फण्डमा लगानी गर्न सकिने व्यवस्था गरिएको छ । सानिमा क्यापिटलका स्किम मेनेजर जनार्दन आचार्यले ७ बर्षमा १२८.१५ प्रतिशत प्रतिफल दिने गरि इक्वीटी फण्ड तयार पारिएको बताए ।

अनावश्यक सार्वजनिक विदाप्रति निजी क्षेत्रको आपत्ति, सामाजिक सञ्जालमा व्यापक विरोध

काठमाडौं । सरकारले अनावश्यक रुपमा सार्वजनिक विदा दिएको भन्दै निजी क्षेत्रले आपत्ति जनाएको छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य प्रबलजंग पाण्डेले अपर्झट सार्वजनिक विदा दिँदा मुलुकको अर्थतन्त्रमा ठुलो क्षति पुग्ने बताए । उनले त्यस्ता विदाका कारण पुग्ने आर्थिक क्षतिको कस्ले मूल्यांकन गर्ने ? भन्दै प्रश्न समेत उठाएका छन् । नेपाल वित्त कम्पनी संघका अध्यक्ष समेत रहेका गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिृकत सरोजकाजी तुलाधारले विदाको आलोचना गरेका छन् । उनले गृह मन्त्रालयले विदा दिने सूचना निकालेको र राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्था खोल्न निर्देशन दिएको आश्चर्य समेत प्रकट गरेका छन् । पुर्व अर्थमन्त्री डा. रामशरण महतले केहि दिन अघि नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा नेपाल संसारमै धेरै सार्वजनिक विदा दिने मुलुक बनेको टिप्पणी गरेका थिए । उनले अनावश्यक रुपमा सार्वजनिक विदा दिन सरकारहरुले प्रतिष्पर्धा गर्दै आएको आरोप समेत लगाएका थिए । डा. महतले धेरै विदा दिने मुलुकहरुले प्रगति नगर्ने भन्दै विदा कटौती गरेर काम गर्ने दिन बढाउनुपर्ने बताए ।नेपाल चेम्बर अफ कमर्शले पनि केहि समय अघि विज्ञप्ति नै प्रकाशित गरेर अनावश्यक रुपमा सार्वजनिक घोषणा नगर्न भनेको थियो । सरकारले छठ पर्व सकिएको दिन पनि सार्वजनिक विदा घोषणा गरेपछि चेम्बरले आपत्ति जनाएको थियो । सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले पनि व्यापार बिरोध गरेका छन् । उनीहरुले देश विकासका लागि सार्वजननिक विदाहरु बाधक हुने पनि बताएका छन् ।    

८ दिन लगातार शैक्षिक संस्थाहरु बिदा, वर्षभरीमा ५५ प्रतिशत समय छुट्टी

काठमाडौं । शुक्रबारदेखि आठ दिनसम्म लागि देशभरका शैक्षिक संस्थाहरु बिदा हुनेभएको छ । सरकारले आवश्यकताभन्दा बढी बिदा दिएकाले शैक्षिक गुणस्तरमा ह्रास आउने देखिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले जनाएको छ । प्याब्सनका उप महासचिव राजेन्द्र बानियाँका अनुसार अनावश्यक बिदाका कारण यो वर्ष शैक्षिक सत्रको मापदण्डअनुरुप कोटा नपुग्ने देखिएको छ । उनका अनुसार वर्षभरीमा करिब ५५ प्रतिशत समय विद्यार्थीको समय बिदामा बस्ने देखिएको छ । उनले यसपाली १ सय ७० दिन पनि शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताए । सरकारको शैक्षिक सत्र योजना अनुसार वर्षमा १९२ दिन कक्षा सञ्चालन गर्नुपर्ने र २२० दिन शैक्षिक संस्था खोल्नुपर्ने उल्लेख छ । शुक्रबार सरकारले ईस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललल्लाहो अलैह वोसल्लमको जन्मदिनको (बाह्र रव्विउल) को अवसरमा भोली मंसिर १५ गते शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । १६ गते शनिबार परेको छ भने आइतबार किरात धर्मावलम्बीहरुको चाडपर्व उधौली पर्व रहेको छ । त्यस्तै १८ गतेदेखि २२ गतेसम्म गृह मन्त्रालयले निर्वाचनका लागि बिदा दिने घोषणा गरिसकेको छ । लामो समयको सार्वजनिक बिदाको नकारात्मक प्रभाव आगामी एसईई परीक्षामा पनि देखिने बानियाँले बताए । उनले भने, ‘विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने समयमा यत्रो लामो बिदा दिदाँ परिणाम नराम्रो भोग्नुपर्ने निश्चित नै छ ।’ यो वर्ष  माओवादी द्वन्द्वकालपछिको सबैभन्दा बढी बिदा हुने वर्ष भएको बानियाँको दाबी छ । उनले भने, ‘यो वर्ष सबैभन्दा खराब शैक्षिक सत्रको रुपमा देखापरेको छ ।’ सरकारले निर्वाचनका नाममा अनावश्यक बिदा दिएको भन्दै उनले चुनावमा दिने बिदाको भत्सर्ना गरेका छन् । निर्वाचनका लागि विद्यालयलाई मतदान स्थलको रुपमा प्रयोग गर्नु गलत रहेको उनले बताए ।  ‘दशैंतिहारको लामो बिदासँगै यसपाली निर्वाचनको पनि छुट्टै बिदा थपिएको छ । संसारमा काँहीपनि विद्यालयलाई निर्वाचन मतदानस्थलको रुपमा प्रयोग गर्ने चलन छैन,’ उनले भने ।

सार्वजनिक विदाको दिन शनिबार र आइतबार बैंक खुल्ने

काठमाडौं । आउदो शनिबार र आइतबार सार्वजनिक विदाका दिनमा पनि बैंक खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्वाचन हुने ४५ जिल्लामा मंसिर १६ गते शनिबार र आइतबार बैंक खोल्न बिहीबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचनका क्रममा खटिने कर्मचारीलाई तलव भत्ता वितरण गर्नुपर्ने भएपछि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई कारोबार गर्न भनेको हो । आइतबार उद्यौली पर्व भएकाले सार्वजनिक विदा दिएको हो ।