विकासन्युज

सवारी लाइसेन्स वितरण र नविकरण गर्ने सबै काम बन्द

काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयका कर्मचारी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिएपछि सवारी अनुमतीपत्र (लाइसेन्स) वितरण सेवा स्थगित भएको छ । यातायात कार्यालयका कर्मचारी तथा ट्राफिक प्रहरी चुनावका लागि मतदान स्थल  र केन्द्रमा खटिएपछि त्यसको प्रभाव हजारौं सेवाग्राहीमा परेको छ। लाइसेन्सका लागि दिन यातायात कार्यालय पुगेका सेवाग्राही ट्रायल नदिई फर्कन बाध्य छन् । देशैभर विभाग अन्तर्गत २३ वटा यातायात व्यवस्था कार्यालयहरु छन् । यातायात व्यवस्था कार्यालयहरुमा कार्यरत ९० प्रतिशत कर्मचारी निर्वाचनमा खटिएको यातायात विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । ‘देशकै ठुलो पर्वजस्तो बेलामा कर्मचारी खट्नु स्वभाविक पनि हो,’ उनले भने, ‘ लिखित परीक्षा लिने कर्मचारीदेखि ट्राफिक प्रहरीसम्म चुनावमा खटिएका छन् । कोही कर्मचारी नभएपछि चुनावसम्मका लागि लाइसेन्सको काम स्थगित गरेका छौं ।’ पुरानो लाइसेन्स नविकरणको काम भइरहेको भट्टराईले बताए । उनका अनुसार शुक्रबारदेखि नविकरणको काम पनि बन्द हुनेछ भने आइतबारदेखि राजश्व उठाउने काम पनि स्थगित गरिनेछ । उनले भने, ‘आउदो आइतबारदेखि सार्वजनिक सूचना जारी गर्दै सम्पूर्ण सेवा स्थगित गर्नेछौं ।’ निर्वाचनमा कर्मचारी तथा ट्राफिक प्रहरी खटिनुपर्ने भएकोले नयाँ आवेदन दर्ता, लिखित परीक्षा, रिट्रायल  मंसिर २१ गते सम्मको लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ। अधिकांश कर्मचारी चुनावमा खटिएकाले सेवा केही हदसम्म प्रभावित भएको भट्टराईले बताए। ‘चुनावमा कर्मचारी खटिँदा केही समस्या परे पनि विभागले सेवा दिइरहेको छ’, उनले भने, ‘यद्यपी आइतबारदेखि कर्मचारी नहुँदा स्थगित नै गर्नुपर्ने बाध्यता छ।’

इटहरीको भलाद्मी टोलमा बम विष्फोट, नाबालक सहित तीन घाईते

इटहरी । सुनसरी क्षेत्र नं ३ का नेपाली काग्रेसका उम्मेदवार बिजय गच्छदारलाई लक्षित गरी राखेको बम बिष्फोट हुदा इटहरीमा तिन जना घाइते भएका छन् । विष्फोटमा परी एक नावालक सहित ३ जना घाईते भएका छन । स्थानीय धनबहादुर श्रेष्ठ, सम्रिना अधिकारी र नावबलक योवन न्यौपाने घाईते भएको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर चिरन्जिबी दाहालले बताएका छन् । इटहरी ९ मा रहेको भलाद्मी टोलमा रहेको कार्यक्रममा उपप्रधानमन्त्री तथा क्षेत्र नं ३ का उम्मेदवार विजय गच्छदारको श्रीमती निर्मला गच्छदार, क्षेत्रनम्वर ३ क का उम्मेदवार कुमार थापाको श्रीमती शान्ता थापा, राज्यमन्त्री सुमित्रा विस्वास र पूर्व संसद कल्पना चौधरी लगायत सहभागी हुने कार्यक्रम थियो । नेपाली काग्रेसका महिलाहरुले चुनावी सभा आयोजना गरेका थिए । त्यो सभामा बिजय गच्छदार आउने अनुमानले बम राखिएको हुनसक्ने आशंका गरिएको छ । कार्यक्रमस्थल नजिकै वम विष्फोट भएको हो । बमको छर्राले नेपाली काग्रेसका जिल्ला सदस्य दिपक ढकालको आखामा पनि चोट लागेको छ । अस्ती पनि इटहरी १२ को खनार चौकमा आयोजित बिजय गच्छदार सहभागि कार्यक्रममा बम भेटिएको थियो । त्यस बेला सुरक्षाकर्मीले बम डिष्पोज गरेर मानबीय क्षति हुनबाट जोगाएका थिए । बुधबार मात्रै उदयपुरमा काग्रेस उम्मेदवार नारायण कार्कीलाइ लक्षीत गरेर थापेको धरापमा परि उम्मेदवार कार्की सहित ४ जना घाइते भएका थिए।

आजदेखि बाघको गणना सुरु, कति छन् त नेपालमा बाघ ?

रत्ननगर । दुर्लभ जातका रोयल बंगाली बाघको गणना आजदेखि सुरु भएको छ । भारत र नेपालमा एकैचोटी बाघको गणना सुरु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । उक्त गणना दुई दक्षिण एशियाली मुलुकबीचका तराई भेग अन्तर्गतका दर्जनौं जंगलहरुमा गरिनेछ । यो परियोजनाले रोयल बेंगल बाघहरुको संख्या पत्ता लगाउनेछ । ९ सय ५० किलोमिटर क्षेत्रफलमा फैलिएको तराई भेग भारतको बिहार, उत्तरप्रदेश र उत्तराखण्ड र नेपालको दक्षिण भेगमा अवस्थित छ । उक्त क्षेत्रमा संसारकै बाक्लो ५००को हाराहारीमा बाघहरु रहेको वर्ल्ड वाइड फण्ड फर नेचर (डब्लुडब्लुएफ) को तथ्यांकले देखाएको छ । विभागका अनुसार क्यामराको सहायतबाट बाघको गणना गरिदैछ । बाघ हिड्ने बाटोहरुमा क्यामरा राखिएको हुन्छ । सोही क्यामरा मार्फत कति बाघ छन् तथ्यांक संकलन गरिने विभाले जानकारी दिएको छ । विभागका कार्यकारी निर्देशक गोपाल प्रसाद भट्टराईले १५० वटा क्यामरा सहित करिब २ सय जनशक्तीको सहायताबाट बाघको संख्या आकन गर्ने बताए । क्रमिक रुपमा गरिने गणनाबाट एउटै बाघ दोहोरिने सम्भावन कम हुने उनले बताए । सन् २०१३ मा नेपालमा बाघको संख्या १९८ वटा थियो । जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, सुख्लाफाँटमा १७, पर्सामा ७ र बांकेमा चारवटा थिए ।

स्थानीय तहको वेबसाइट र नक्साको पोर्टल सार्वजनिक

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको नक्सासहित वेबसाइट र नक्साको पोर्टल सार्वजनिक गरेको छ । मुलुकका ७५३ स्थानीय तहलाई सूचना प्रविधिमैत्री बनाउन मन्त्रालयले ती तहका वडा तहसम्मका सबै विवरण वेबसाइटमा प्राप्त गर्न सन्छि । यो अन्तरक्रियात्मक जिइआइएस पोर्टलमा आधारित छ । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहलाई सूचना प्रविधिमा आधारित सूचनामैत्री बनाउन तथा सूचना प्रविधिलाई आत्मसात् गरी सुशासन र पारदर्शी सेवा दिन पोर्टलले सहयोग गर्ने बताउँदै स्थानीय तहले आफ्नो आवश्यकतानुसार वेबसाइट र नक्सामा आफ्ना विवरण थपघट गर्न सक्ने जनाए । मन्त्रालयले सबै तहलाई सूचना प्रविधिको तालीमका लागि प्रतितह रु छ लाख अनुदान र एक एक सूचना प्रविधि अधिकृत उपलब्ध गराएको छ । वेबसाइटसँगै मन्त्रालयका लागि मोबाइल एप्स पनि तयार गरिएको छ । रासस

५० प्रतिशत हकप्रद निष्काशन गर्दै एनसीसी बैंक, धितोपत्र बोर्डमा जाने तयारी

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले चुक्तापुँजी बढाउन ५० प्रतिशत हकप्रद सेयर निष्काशनको तयारी थालेको छ । बैंकले २ बराबर १ अनुपातमा २ अर्ब ३४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा जान लागेको हो । धितोपत्र बोर्डमा जानका लागि तयारी पुरा गरेको र केही दिनभित्र निवेदन दिने एनसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्यालले बताए । हकप्रद निष्कासन बोर्डको स्वीकृतिमा निर्भर रहने बताउदै उनले अनुमति पाउन साथ निष्कासनको प्रक्रिया थालिने जानकारी दिए । एनसीसीले गत वर्ष नै चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । गत वर्षको नाफा र हकप्रदपछि चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने उनले जानकारी दिए । २८ मध्ये २७ वाणिज्य बैंकले पुँजी बढाइसकेको अवस्थामा एनसीसीले मात्र बाँकी छ । नेपाल राष्ट्र बैंकले दिएको समयसीमा भित्रै चुक्तापुँजी पुर्याउने अर्यालको भनाई छ । गत आर्थिक वर्षको लेखापरीक्षणको काम भइरहेकाले सकिन साथ वार्षिक साधारणसभाको मिति तय हुने उनले जानकारी दिए । ४ वटा विकास बैंकलाई प्राप्ति गर्दा पनि बैंकको चुक्तापुँजी ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ मात्र छ । गत आर्थिक वर्ष ०७३/०७४ मा नाफा र हकप्रदबाट बैंकले चुक्तापुँजी ८ अर्ब रुपैयाँ पु¥याउने योजना सार्वजनिक गरेको छ । ४ वटा विकास बैंकलाई प्राप्ति गरेपछि गत आवमा बैंकको खुदनाफा बढेर १ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले ७० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले १६ करोड ४५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १२ करोड ९० लाख रुपैयाँ खुदनाफा गरेको थियो । एपेक्स डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा पनि असुली भइरहेको अर्यालले बताए । एनसीसीले हकप्रद सेयर निष्कासन तथा गत आवको लाभांश घोषणा गर्न बाँकी भएपछि केही दिनयता बढी सेयरको मूल्य बढ्नुका साथै कारोबार बढी हुन थालेको छ । बैंकको सेयर बढेर प्रतिकित्ता ३६५ रुपैयाँ पुगेको छ ।  

हिमालयन बैंकमा सञ्चालक विवादको अन्त्य, साधारणसभा गर्न बाटो खुल्यो

काठमाडौं । हिमालन बैंकमा सञ्चालकको विषयमा देखिएको विवाद समाधान भएको छ । उच्च अदालत पाटनले सञ्चालक समितिमा म्युचल ट्रेडिङ कम्पनीलाई पनि प्रवेश दिनुपर्ने पक्षमा फैसला गरेपछि विवाद समधान भएको हो । विवाद समधान भएपछि बैंकलाई साधारणसभा गर्नका लागि बाटो खुला भएको छ । उच्च अदालतले संस्थापक म्युचल ट्रेडिङलाई प्रतिनिधित्व गराउनुपर्ने नैतिक दायित्व रहेको ठहर गर्दै साधारणसभा गर्न आदेश पनि दिएको छ । बैंकमा आफ्नो ठुलो हिस्सा सेयर भएको भन्दै प्रतिनिधित्व पाउनका लागि म्युचल ट्रेडिङकातर्फबाट पीपी खेतानले उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए । बुधबार अदालतले बैंक सञ्चालक समिति तथा म्युचुअल ट्रेडिगं कम्पनीका प्रतिनिधिलाई उपस्थित गराई छलफल गरेको थियो । बैंकमा म्युचल ट्रेडिङको ११.८५ प्रतिशत स्वामित्व छ । साधारण सभाको प्रकृया अघि बढिसकेको सन्दर्भमा अदालतले केही निर्णय गर्नु नपर्ने भन्दै सोही तालिका अनुसार साधारणसभा सम्पन्न गर्न अदालतले बैंकलाई आदेश दिएको छ । बैंक तथा वित्तीय संस्था ऐन (वाफिया) मा संस्थाको सेयर संरचनाअनुसार संस्थापक लगानीकर्ता, साधारणको संख्या घटाएपछि समस्या आएको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । यस्तै बैंकले सञ्चालक समितिमा नयाँ नेतृत्व चयन हुने छ । बैंकको चुक्ता पूँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनसपछि बैंकको पूँजी ८ अर्ब ११ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।

यूनिलिभरको प्रबन्ध निर्देशकमा आशिष राई नियुक्त

काठमाडौं । यूनिलिभर नेपालको प्रबन्ध निर्देशकमा आशिष राई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले राईलाई प्रबन्ध निर्देषकमा नियुक्त गरेको हो । बैठकले मंसिर १२ गतेदेखि नै लागू हुने गरि राईलाई कम्पनीको निर्देषकमा नियुक्त गरेको हो ।

युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा पुस ७ मा, ५ प्रतिशत नगद लाभांश पारित गर्ने

  काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।  आउदो पुस ७ गते हुने वार्षिक साधारण सभामा सेयरधनीलाई लाभांश दिने प्रस्ताव पेश हुने भएको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट युनाइटेडले सेयरधनीलाई ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । सभामा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने १ जना र सर्वसाधारणबाट २ जना गरी ३ जना सञ्चालकको चयन गर्ने कार्यसुचि रहेको छ । यस्तै १ जना महिला सञ्चालकका लागि पनि आरक्षणको व्यवस्था गरिएको छ । १ जना स्वतन्त्र सञ्चालक नियुत्त गर्न सञ्चालक समितिलाई अख्तियारी दिने सभामा प्रस्ताव पेश हुने छ ।