विकासन्युज

एक भोटको मूल्य ४ हजार ९२३ रुपैयाँ, तपाईंले कति पाउनुभयो ?

काठमाडौं । के तपाईंले गएको स्थानीय तहको निर्वाचनमा भोट हाल्नुभो ? भोट खसालेबापत कति रकम पाउनुभयो ? अधिकांश मतदाताले एक रुपैयाँपनि नलिई भोट खसाले । मत खसाल्न जाँदा उल्टै मतदाताले आफ्नो गोजीबाट बाटो खर्च बेहोरे । के तपाईंलाई थाहा छ – तपाईंको एक भोटका लागि उम्मेदवार र सरकारले कति खर्च गरेका छन् ? निर्वाचन आयोगका अनुसार सरकार र उम्मेदवारले एक भोट बराबर चार हजार ९ सय २३ रुपैयाँ खर्च गरेका छन् । जसमध्ये सरकारले मात्रै १ हजार ३ सय ९ रुपैयाँ खर्चिएको छ । गत स्थानीय चुनावमा ७० अर्ब रुपैयाँ खर्च भएको छ । गत स्थानीय तहको चुनावमा निर्वाचन आयोग, सरकार र उम्मेदवारबाट ६९ अर्ब ४२ करोड रुपैयाँ बराबरको खर्च भएको निर्वाचन आयोगको जानकारी दिएको छ । स्थानीय तह निर्वाचन २०७४ को सिलसिलामा निर्वाचन प्रचार प्रसार अभियानमा निर्वाचन आयोग, सरकारका सम्बद्ध निकायहरु तथा उमेदवारहरुबाट भएको खर्चको अध्ययन गरि “स्टडी अल द इलेक्सन क्यापेन फाइनान्स अफ लोकल इलेक्सन्स २०१७ इन नेपाल’ को अध्ययन प्रतिवेदन आज अन्नपूर्ण होटेलमा आयोजित एक सार्वजनिक कार्यक्रमबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सार्वजनिक गरेका छन् । प्रतिवेदनअनुसार आयोगले स्थानीय तहको चुनावका लागि ७ अर्ब ३ करोड रुपैयाँ खर्च गरेको थियो । यसमा सरकारको खर्च १८ अर्ब ४६ करोड रुपैयाँ निस्किएको छ भने उम्मेदवार तथा तिनका दलबाट ५० अर्ब ९६ करोड रुपैयाँ बराबरको खर्च भएको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदन सार्वजनिक गर्दै आयुक्तले यस किसिमको अध्ययन लोकतन्त्र सवलिकरणको लागि सहायक हुने व्यहोरा बताउदै निर्वाचन आयोग समेत निर्वाचन सम्बन्धि खर्चको अध्ययन गराउनु पर्ने विषयमा चिन्तनशील रहेको समेत बताए । अध्ययन प्रतिवेदनले प्रस्तुत गरेको निष्कर्ष एवंम् सुझावका सम्बन्धमा अध्ययन टोलीका संयोजक विनोदबिक्रम सिजापतिले कार्यपत्रको रुपमा प्रस्तुत गरेका थिए । निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदिप पोखरेलको सभापतित्वमा भएको समारोहमा राष्ट्रिय अन्तर्रा्ष्ट्रिय संघ संस्था एवंम् कुटनीतिक नियोगका पदाधिकारीहरु, उद्योगी व्यवसायिहरु, सामाजिक संस्थाका पदाधिकारीहरु, नागरिक अभियन्ताहरु लगायत संचारकर्मीहरुको समेत उपस्थिती थियो । संख्या शिर्षक  करोडमा (रुपैयाँ) १ जम्मा खर्च  ६९४२ २  मतदाताको संख्या (करोडमा) १.४१ ३ प्रति मतदाता खर्च (रुपैयाँमा) ४९२३ ४ बदर भोट  ०.१७ ५ बदर भोटमा खेर भएको खर्च ११८०

साझा यातायातले ल्यायो अशोक लेलैण्डका नयाँ डिलक्स बसहरु

काठमाडौं । साझा यातायातले नेपालका लागि अशोक लेलैण्ड भेकल्सका नयाँ डिलक्स बसहरु नेपाल बजारमा ल्याएको छ । बिहीबार आईएमई मोर्टस् प्रालि र साझा यातायात सहकारी संस्थाबीच सुविधा सम्पन्न उक्त बसहरु खरिद गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा आईएमई मोर्टसका प्रमुख कार्याकारी अधिकृत कपिल शिवाकोटी र साझा यातायात सहकारीका का.मु.प्रमुख कार्याकारी अधिकृत महेन्द्र पाण्डेले हस्ताक्षर गरेका हुन् । कम्पनीका अनुसार उक्त बसहरुमा १८० एचपी इन्जिन, एयर सस्पेन्सन भएको लक्जेरियस बस, इन लाइन एफआईपी रहेको छ । यस बसका मुख्य विशेषता भनेको एउटा इन्जिनले एसी र गाडी एकैसाथ चल्ने, न्यूनतम इन्धन खर्चमा उच्च प्रर्दशन गर्नु हो । साथै, यस बसहरुले हाल बजारमा भएका बसहरुको भन्दा छिटो यात्रा समय तथा राम्रो सुविधा दिने छ । उक्त बसहरुमा कम लागत, आरामदायी यात्रा र सुविधा तथा नौलोपन यात्रुहरुले अनुभुती गर्न पाउने कम्पनीले जनाएको छ । नेपालका लागि अशोक लेलैण्ड भेकल्सको आधिकारीक विक्रेता आईएमई मोर्टस् प्रा.लि. (नेपालको एक प्रमुख व्यापारिक समूह आईएमई ग्रुपको एक भगिनी संस्था) हो ।

कर दिवसमा सरकारलाई निजी क्षेत्रको सुझाव: करको दर होइन दायरा बढाउ, धरौटी हटाउ

काठमाडौं । निजी क्षेत्रका प्रतिनिधीमुल संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले सरकारलाई सुझाव दिएको छ । शुक्रबार आन्तरिक राजश्व विभागद्वारा छैठौं कर दिवसका अवसरमा आयोजित कार्यक्रममा महासंघले करको प्रशासकिय पुनरावलोकन र राजश्व न्यायधिकरणमा लाग्ने धरौटीको व्यवस्था हटाउन माग गरेको छ । आयकर र मूल्य अभिवृद्धिकरमा  प्रशासनिक अधिकृतले गरेको निर्णय विरुद्ध प्रशासनिक पुनरावेदनका लागि निवेदन दिँदा एक तिहाई धरौटी राख्नुपर्ने र राजश्व न्यायाधीकरणमा पुनरावेदन गर्दा ५० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था छ । अबदेखि निवेदन दिँदा धरौटी राख्नैपर्ने व्यवस्था हटाउनुपर्ने महासंघको माग छ । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने, ‘यो सरासर अव्यवहारिक छ । यसमा ठुलो रकम निस्क्रिय बनाउने खतरा छ ।नहटाइएमा धरौटीको ब्याज चाहिन्छ । ब्याजमा ऋण काढेर धरौटी राख्नुपर्छ । एउटा मुद्दा फछ्र्यौट हुन १०औ वर्ष लाग्छ ।’ प्रशासकिय पुनरावलोकन र राजश्व न्यायधिकरणमा धरौटी राख्नु नियम हटाउनुपर्ने महासंघको माग छ । महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले अर्थ तथा राजश्व सचिवका अगाडी लामो सुझाव पढेरै सुनाएका थिए । त्यस्तै न्यायालयमा जानका लागि उद्योगी तथा व्यवसायीले बुझाउनुपर्ने ५० प्रतिशत धरौटी व्यवस्था हटाउनुपर्ने महासंघको माग छ । ‘संविधानले नेपाली नागरिकलाई न्यायालय जानपाउने अधिकार दिएको छ,’ उनले भने, ‘तर, उद्योगी व्यवसायीले न्यायालयमा जान निश्चित प्रावधान राखेको छ । प्रावधान अनुसार उद्योगी तथा व्यवसायी ५० प्रतिशत धरौटी राखेर मात्र न्यायालय जान पाउने छन् । धरौटी राख्नसक्नेले मात्र न्यायालयको ढोका ढकढकाउन पाउछन् । यसमा सुधार ल्याउनुपर्ने देखिन्छ ।’ स्थायी प्रकृतीको कर निरुपण गर्नका लागि एउटा निकाय आवश्यक रहेको उनले बताए । त्यस्तो निकायको सञ्चालन गर्न सकेमा धेरै समस्याको सम्बोधन हुन सक्ने महासंघले जनाएको छ । ‘राजश्व न्यायधिकरणलाई स्वतन्त्र अंग बनाउनका लागि राजश्व न्यायधिकरण ऐन संशोधन हुनुपर्छ,’ उनले भने, ‘त्यस्तै घरबहाल तथा स्थानीय निकाय र आन्तरिक राजश्वलाई एकत्रित रुपमा सञ्चालन गर्नुपर्छ ।’ जिल्लाका साना व्यवसायी कर तथा लेखा सम्बन्धी ज्ञानको अभावमा जरिवाना तथा कारबाहीमा पर्नेगरेको गोल्छाले गुनासो राखेका छन् । त्यसका लागि करदाता शिक्षालाई अझ व्यापक बनाउनुपर्ने कुरा आवश्यक रहेको उनले बताए । उनले भने, ‘हुन त गत वर्ष पनि सरकार र महासंघ मिलेर चलाएको थियो । र, यसबाट धेरैले लाभ पनि नलिएका होइनन् । यसलाई अझ व्यापक बनाउनुपर्ने जरुरी छ ।’ मुलुक संघियतामा रुपान्तरण भएर राजनीतीक परिवर्तन भइरहेको अवस्थामा आर्थिक विकासले पनि स्थान पाउनुपर्ने महासंघको जोडदार माग रहेको उनले बताए । संघियता कार्यान्वयनका क्रममा व्यवसायीलाई दोहोरो करको भार नपार्न उनले अनुरोध गरेका छन् । उनले भने, ‘करको दर होइन दायरा बढाउनुपर्छ । अनौपचारिक व्यवसायलाई करको दायरामा ल्याउनुपर्छ ।’ परम्परागत कर प्रणालीले उद्योगलाई सताएको र सुधार गर्नुपर्ने ठाँउ पनि धेरै रहेको उनले बताए । उनले भने, ‘कर प्रणालीलाई पनि सूचना-प्रविधिसँग जोड्दै जानुपर्ने देखिएको छ ।’ उनले उद्योग व्यवसायको विकास गरेर राष्ट्रलाई योगदान दिन तयार रहेको बताए । ‘धेरैभन्दा धेरै कर तिर्न तयार छौं,’ उनले भने, ‘तर उद्योग व्यवसायलाई नियमन गर्ने निकाय धेरै भएको छ । नियमन गर्ने धेरै निकाय छन् तर सहजीकरणका लागि विशेष निकाय छैन । कर छल्ने हाम्रो मनोशाय छैन ।’ नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आगामी साढे सात देखि दस वर्षमा गरिबी निवारण गर्न संकल्प लिन सरकारलाई सुझाव दिएका छन् । उनले भने, ‘विभिन्न देशले यस्तो संकल्पले प्रगती गरेको थुप्रै ईतिहास छ । हामीले पनि यस्तो संकल्प लिन सकिन्छ ।’

१२ कम्पनीका २९ करोड १८ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, कसको कति ?

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न १२ कम्पनी(ऋणपत्र सहित)का २९ करोड १८ लाख २० हजार ५५० कित्ता सेयर सूचिकृत भएका छन् । सो अवधिमा साधारण, हकप्रद र बोनस सेयर गरी सो मात्राको सेयर सूचिकृत भएका हुन् । कुल सूचिकृत सेयर मध्ये २८ करोड १४ लाख कित्ता साधारण सेयर, १३ लाख ६४ हजार २०४ कित्ता बोनस सेयर र ९० लाख ५६ हजार ३४६ कित्ता हकप्रद सेयर रहेका छन् । साताभर विभिन्न ६ वटा विकास ऋणपत्रको साधारण सेयर, ४ बैंक तथा फाइनान्सको हकप्रद र २ बीमा कम्पनीको बोनस सेयर थपिएका छन् । यस साता सेयर सूचिकृत भएका १२ कम्पनी:

आजदेखि १५ औं हस्तकला व्यापार मेला सुरु,राष्ट्रपतिले गरिन् मेलाको उद्घाटन

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा भृकुटीमण्डपमा १५ औं हस्तकला व्यापार मेला सुरु भएको छ । नेपालमा उत्पादन भएका हस्तकलाबाट निर्मित वस्तुहरुको बिक्री तथा प्रवर्धन गर्ने उद्येश्यसहित आजेदेखि मेला सुरु भएको हो । मेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् । दिउसो २ बजे मेला उद्घाटन गर्न पुगेकी राष्ट्रपतिले सबै स्टलको अवलोकन गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकासका लागि हस्तकलाका सामग्रीको प्रवद्र्धनमा जोड दिएकी छिन् । उनले भनिन्, ‘हस्ताकलाको विकासले मात्र देशको आर्थिक समृद्धि र गरिबी निवारणमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।’ राष्ट्रपति भण्डारीले परम्परागत हस्तकलाका ज्ञान र सीपलाई प्रवद्र्धन गरी युवा पुस्तालाई यससम्बन्धी आकर्षण गर्न आवश्यक रहेकामा जोड दिँदै नेपाली हस्तकलाका सीप र कलाले अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचानलाई उजागर गरेको बताइन् । सो अवसरमा उनले उत्कृष्ट हस्तकलाका निर्यातकर्तालाई प्रमाणपत्रसमेत वितरण गरेकी छिन्। आयोजकका अनुसार काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृति करेसा र वाँसका सामानहरुसाथै जडिवुटी, अर्थोडक्स चिया लगायतका वस्तु प्रदर्शनीमा राखिएका छन् । मेलामा २ सय ५० भन्दाबढी प्रदर्शकहरुले सहभागीता जनाएका छन् । महासंघको निवर्तमान अध्यक्ष तथा मेला आयोजक समितिको संयोजक हेमरत्न शाक्यले भने, ‘मेलामा झण्डै १ लाख आगन्तुक आउने अनुमान गरिएको छ भने १० करोडभन्दा बढीको कारोवार हुने अपेक्षा छ ।’ व्यापार मेला अवलोकन गर्नको लागि प्रवेश टिकटको दर ५० निर्धारण गरिएको छ । त्यसमा विद्यार्थीलाई ५० प्रतिशत सहुलियतको व्यवस्था र वृद्धवृद्धालाई निशुल्क गरिएको महासंघले जनाएको छ । १० हजार मान्छेको लागि टिकट फ्रिको व्यवस्था गरिएको बताइएको छ । व्यापार मेलमा सहभागी भएका फर्म कम्पनीहरुको ब्यवसाय प्रवद्र्धन एवं विकास गर्न मेला अवधिभर बिभिन्न स्वदेशी एवं बिदेशी क्रेताहरु र विक्रेता र्फम कम्पनीहरुबीच मेला स्थलमा क्रेता बिक्रेता वैठक (विटूबी) आयोजना गरिने भएको छ । यसै गरि मेलाको दोस्रो दिन अर्थात मंसिर २ गते अन्नपूर्ण होटलमा पनि विदेशबाट आएका क्रेताहरु र मेलामा सहभागी लगायत महासंघका निकासीकर्ता सदस्य बिक्रेताहरु बीच भेला गराई क्रेता बिक्रेता भेला गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

डा. महत र घर्तिमाथी भएको आक्रमणको माधव नेपालद्धारा निन्दा

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले काँग्रेस नेता डा. रामशरण महत र माओवादी नेतृ ओनसरी घर्तिमाथी भएको आक्रमणको निन्दा गरेका छन् । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर २ को युवा संघ र वाइसिएलको संयुक्त चुनावी भेलालाई थलीमा सम्बोधन गर्दै उनले भने–‘डा. रामशरण महत र ओनसरी घर्तिमाथीको आक्रमण भनेको लोकतन्त्र माथीकै आक्रमण हो, हामी त्यस्ता आक्रमणहरुको भत्सर्ना गर्छाै, एमाले पार्टी र मेरो व्यक्तिगत तर्फबाट आक्रमणको निन्दा गर्न चाहान्छु’, नेता नेपालले भने । उनले घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको काम समेत गरेका थिए । निर्वाचनमा सुरक्षा चुनौती थपिँदै गएकाले संयमित भएर सबै राजनीतिक दलहरुले जनता समक्ष आफ्ना कुरा राख्नुपर्नेमा उनको जोड थियो । फरक प्रशंगमा एमाले बरिष्ठ नेता नेपालले बाम गठबन्धनको सरकार काँग्रेसको भन्दा भिन्न हुने दावी समेत गरे । ‘काँग्रेसकै जसरी देश चलाउन बाम गठबन्धन गरिएको होइन, जनतालाई विकास, समृद्धि र समानताको महशुस हुने गरि राज्य सञ्चालन गर्छाै’, नेता नेपालले भने । उनले बाम गठबन्धन दुई तिहाई बहुमत नजिक पुगिसकेको पनि बताए । ‘हामी दुई तिहाई नजिक पुगिसकेका छौं, नयाँ सरकार दुई तिहाईकै बन्छ, तर त्यसले संबिधानलाई तलमाथी हुन दिँदैन, हामी लोकतन्त्रलाई थप बलियो बनाउन एक भएका हौं’, नेता नेपालले भने । बाम गठबन्धनले लोकतन्त्र कमजोर पार्छ भन्ने काँग्रेसको आरोपलाई उनले पराजित मानसिकताको उपज भएको पनि बताए ।

नेप्से परिसूचक १२ अंकले उकालो, दुई अर्ब ९२ करोडको सेयर कारोबार

काठमाडौं । साताको नेप्से परिसूचक करिब १२ अंकले उकालो लागेको छ । यस साता नेप्से पहिलो दिनको तुलनामा ११.९२ अंकले उकालो लागेर १४८९.०६ अंकमा पुगेको छ । गत सातको तुलनामा बजारमा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । यस साता नेपाल स्टक एक्स्चेञ्जमा दुई अर्ब ९२ करोड रुपैयाँ बराबरका सेयर कारोबार भएका छन् । जुन रकम गत साताको भन्दा १५.६ प्रतिशत बढी हो । यस साता बजारमा १८० कम्पनीका २७ हजार ६ सय कित्ता सेयरहरु बिक्री भएका छन् । यसैगरी, समूहगत परिसूचकहरुमा उतारचढाव रहेको छ । ९ समूहको कारोबार भएको यस साता ४ समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ५ वटा समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी उत्पादनमूलकको परिसूचक ७०.७१ अंकले उकालो लागेको छ । त्यस्तै, जलविद्युत ६०, अन्य समूह २६ र वाणिज्य बैंक समूहको परिसूचक ८ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४५ अंकले घटेको छ । सातामा चिलिमे हाइड्रोपावर कम्पनीको सबैभन्दा बढीको सेयर कारोबार भएको छ । सो अवधिमा यस कम्पनीको १६ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसैगरी, प्रभु बैंकको ६ लाख ९८ हजार कित्ता प्रमोटर सेयर बिक्री भएका छन् । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.५८ अंकले बढेर ३१३.१२ अंकमा आईपुगेको छ । नियमित पाँच दिन कारोबार खुला रहेको बजारमा ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

थपियो नयाँ रेटिङ कम्पनी, केयर रेटिङलाई धितोपत्र बोर्डको लाइसेन्स

काठमाडौं । नेपालमा कम्पनीहरुको स्तर निर्धारण (रेटिङ) को काम गर्न केयर रेटिङ नेपाल लिमिटेड सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले रेटिङको काम गर्न केयर रेटिङ नेपाललाई शुक्रबार अनुमतिपत्र (लाइसेन्स) दिएको हाे। हाल नेपाल इक्रा लिमिटेडले मात्र कम्पनीको रेटिङको काम गरिरहेको छ । केयर समेत गरी नेपालमा रेटिङ व्यवसाय गर्ने २ वटा कम्पनी भएका छन् । भारतको केयर रेटिङस लिमिटेड तथा नेपाली बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र व्यवसायीक प्रतिष्ठानको संयक्त लगानीमा केयरको स्थापना भएको हो । कम्पनीले ३ करोड रुपैयाँ माथि पुँजी भएका कम्पनीको साधारण सेयर (आईपीओ) को स्तर निर्धारण, ऋणपत्र, डिबेन्चरर्स, सामूहिक लगानी कोष (म्युचल फन्ड) र अग्राधिकार सेयर निष्कासन गर्न रेटिङको काम गर्ने छ । कम्पनीमा केयर रेटिङस भारतको ५१ प्रतिशत स्वामित्व रहेको छ । व्यवसायीक प्रतिष्ठान विशाल ग्रुप लिमिटेडको १०, इमर्जिङ नेपाल लिमिटेडको १०, ग्लोबल आईएमई बैंक, नेपाल पुर्नबीमा कम्पनी लिमिटेड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्रमश ५/५ प्रतिशत स्वामित्व रहेको छ । केयर रेटिङ नेपाल गत मे मा कम्पनी रजिष्टारको कार्यलयमा दर्ता भएको हो । मुनासिव र प्रतिस्पर्धी मुल्यमा नेपालमा रेटिङको काम गर्ने कम्पनीका निर्देशक विनोद आत्रेयले बताए । उनले अब कम्पनीले छिट्टै रेटिङको काम थाल्न जानकारी दिए । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा साजन गोयल नियुक्त भएका छन् ।