सोल्टी होटलको नाफा भारी गिरावट
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सोल्टी होटल लिमिटेडको खुदनाफामा भारी गिरावट आएको छ । चालु आवको ३ महिनामा होटलले ३५ लाख ३५ हजार रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा होटलले ३ करोड १५ लाख रुपैयाँ खुदनाफा गरेको थियो । हिमालयन विंग भवनमा रहेका १७७ कोठाको स्तरोन्नेती तथा भित्री सजावटका लागि बन्द भएपछि आम्दानीमा गिरावट आएको होटलले जनाएको छ । समीक्षा अवधिमा होटलले २६ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा होटलको आम्दानी २९ करोड ४१ लाख रुपैयाँ थियो ।
समिट माइक्रो फाइनान्सको हकप्रद लिलामी हुदै, प्रस्ताव पैश गर्ने मिति मंसिर ११ सम्म
काठमाडौं । समिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको संस्थापक र साधारण हकप्रद सेयर लिलामी हुने भएको छ । बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेडले मंसिर ११ गतेसम्म बोलपत्र पेश गर्न समय दिएको छ । संस्थापक तर्फ २२ हजार ४६७ र साधारण समूहतर्फको ४ हजार ८२ कित्ता गरी २६ हजार ५४९ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । बैंकले चुक्तापुँजी बढाउन भदौ २९ गतेदेखि कात्तिक १ गतेसम्म हकप्रद बिक्री खुला गरेकोमा आवेदन नपरेको हकप्रद लिलामी गर्न लागेको हो ।
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर विरामी, नर्भिक अस्पतालमा उपचार हुदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल गम्भीर बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । प्रकाशलाई आइतबार बिहानै काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । प्रकाशको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ । यस विषयमा अस्पतालले आधिकारिक धारणा सार्वजनिक गरेको छैन् । वेहोस अवस्थामा भेटिएका प्रकाशलाई बिहान करिब ४ बजे अस्पताल ल्याइएको थियो । पुष्पकमल दाहाल हेलिकोप्टरबाट राजधानी फर्कंदै छन् । प्रकाश प्रचण्डका एक मात्र छोरा हुन् ।
रौतहटको चन्द्रपुरमा बम बिस्फोट, २ जना गम्भिर घाइते
काठमाडौं । रौतहटको चन्द्रपुरमा बम बिस्फोट भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा नेकपा(एमाले)को वडास्तरिय कार्यकर्ता भेलामा बम बिस्फोट भएको हो । बिस्फोटनमा परि एक जना बालक र एक जना महिला गम्भिर घाईते भएको सो क्षेत्रका निवर्तमान सांसद रामकुमार भट्टराईले बताए । भट्टराईले नै घाइतेहरुको उद्धार गरि अस्पताल पठाएका थिए । अन्य पाँच जना कार्यकर्ता पनि घाइते भएको उनले जानकारी दिए । घट्नास्थलमा भर्खरै मात्र प्रहरी पुगेको छ ।
बुढीगण्डकी आयोजनाले जग्गाको मुआब्जा लिन फेरी बोलायो, रोपनीको ८ लाख ३५ हजारसम्म दिने
काठमाडौं । बुढीगण्डकी जलसाययुक्त आयोजनाले डुवानबाट प्रभावित हुने गोरखाका जग्गाधनीलाई मुआब्जा लिन बोलाएको छ । जिल्ला प्रशासन कार्यलय गोरखामार्फत बुढीगण्डकी आयोजना विकास समितीले साविकका फुजेल, नाम्जुङ, बुंकोट, अस्राङ, बोर्लाङ, धावा, तान्द्राङ, आरुपोखरी, आरुचनौटे, आरुआर्वाङ र थुमिका डुबानमा पार्न जग्गाको मुआब्जा लिनका लागि बोलाएको हो । सरकारले ५ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ । आरुघाट बजार र आरखेत बजारमा पछि निर्धारण भएको मुल्याँङकनका आधारमा मुआब्जा वितरण हुने प्रशासन कार्यलयले जनाएको छ । आयोजनाले जग्गालाई ११ किसिममा बिभाजन गरी सोही अनुसार मुआब्जा प्रतिरोपनी न्यनतम ५ लाख २५ हजार रुपैयाँदेखि अधिकतम ८ लाख ३५ हजार रुपैयाँ तोकेको जनाएको छ । जसअनुसार बाक्लो वस्ती मुल सडकसंग जोडिएको सडक वरिपरिको जग्गाको मूल्य प्रतिरोपनी ८ लाख ३५ हजार, मुल मोटरबाटोसंग जोडिएको दायाँ र बाँया पर्ने जग्गा ८ लाख ४ हजार, अन्य घरवस्ती क्षेत्र र सहायक मोटरबाटोमा पर्ने जग्गालाई ७ लाख ७३ हजार रुपैयाँ मूल्य तोकिएको छ । यस्तै खेत अब्बल प्रतिरोपनी ७ लाख ४२ हजार, खेत दोयम ७ लाख ११ हजार, खेत सिम ६ लाख ८० हजार, खेत चाहर ६ लाख ४९ हजार, बारी अब्बल ६ लाख १८ हजार, बारी दोयम ५ लाख ८७ हजार, बारी सिम ५ लाख ५६ हजार र बारी चाहर ५ लाख २५ हजार रुपैयाँ तोएिको छ । समितिले एक चरणको मुआब्जा वितरणको काम सकेको छ । आयोजनाबाट डुवान हुने क्षेत्रको मुआब्जा वितरणका लागि ६१ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजना बनाउनका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ प्रदुषण शुल्क लगाएर हालसम्म १३ अर्ब रुपैयाँ असुली गरिसकेको छ । फ्रान्सको ट्रयाक्टवेल इन्जिनियरिङले बुढीगण्डकीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । डीपीआर अनुसार आयोजनाको मुल बाँधको उचाई २६३ मीटर हुने छ । बाँधको आकार डबल आर्क ग्राभिटी रहने परामर्शदाताले तयारको विस्तृत इन्जिनियरिङले देखाएको छ । जलासय क्षेत्रमा ६३ वर्गकिलो मिटर लामो ताल बन्ने छ । आयोजना सम्पन्न गर्न २ खर्ब ५० अर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ । आयोजना बनाउन प्रतिमेगावाट लागत २१ करोड २५ लाख रुपैयाँ पर्ने देखिएको छ । यस्तै बिजुली उत्पादन लागत प्रतियुनिट ७ रुपैयाँ ३५ पैसा छ । यसअघिको सरकारले १ हजार २ सय मेगावाटको बुढीगण्डकी बनाउन चाइना गेजुवा ग्रुप लिमिटेडसंग वितृत डिजाइन, निर्माण र लगानीसमेत हुनेगरी (इपीसीएफ) खाकामा बनाउने सहमति गरेको थियो । एक साताअघि सरकारले गुजुवासंग गरेको सम्झौता रद्ध गरेको छ ।
सत्र किलो सुनसहित एक युवक पक्राउ
रसुवा । अवैध तरिकाले चीनको केरुङ नाकाबाट नेपाल भित्र्याइएको सुनसहित शनिबार बिहान एक युवकलाई सीमा प्रहरीचौकी टिमुरेले पक्राउ गरेको छ । सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक रञ्जनकुमार दाहालका अनुसार अवैध रुपमा ल्याएको १७ किलो सुनसहित पार्वतीकुण्ड गाउँपालिका अन्तर्गत चिलिमेका ३१ वर्षीय कारसाङदावा तामाङलाई बिहान ९ः३० बजे रसुवागढी नाकामा पक्राउ गरिएको हो । सुन ल्याउन प्रयोग भएको बा ११ च ७९१८ नं को बोलोरो जिप समेत नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक दाहालले बताउनुभयो । रासस
नेपाल बंगलादेश बैंकमा चुनाव लाग्यो, ७ जनाको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडका सेयरधनीलाई चुनाव लागेको छ । यस बैंकमा ६ जना सञ्चालकको लागि मंसिर ३ गते निर्वाचन हुँदैछ । संस्थापक सेयरधनी समूहबाट आईएफआईसी बैंक, बंगलादेशबाट तीन जना आउने भएका छन् । यस बैंकमा आईएफआईसीको ४१ प्रतिशत सेयर छ । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकका लागि सर्वसहमति भएको निर्वाचन अधिकृत बालकृष्ण ढकालले जानकारी दिए । तीन पदका लागि तीन जनाको मात्र उम्मेदवारी परेको छ । संस्थापकबाट जलान अहमेद, एम शाह अलाम सरवार र मोनिरुल स्लाम सञ्चालन हुने भएका छन् । । उनीहरु वहालवाला सञ्लालक पनि छन् र तीनै जना बंगाली हुन् । नेपाली संस्थापक सेयरधनीतर्फ यस बैंकमा एनबी समूहको करिव ७ प्रतिशत र विष्णु अधिकारीको करिब ३ प्रतिशत सेयर छ । करिव १० प्रतिशत सेयर नेपाली प्रमोटरको भए पनि उनीहरुको उम्मेदवारी परेन । अहिलेको सेयर संरचना यथावत रहेमा बंगलादेशी लगानीकर्ताको विश्वास नजितेसम्म नेपाली संस्थापक सेयरधनी यस बैंकको सञ्चालक बन्न सक्ने अवस्था देखिदैन । सर्वसाधारणतर्फबाट प्रतिनिधित्व गर्ने तीन सञ्चालक पदका लागि ४ जनाले उम्मेदवारी दिएको ढकालले जानकारी दिए । यसमा वहालवाला सञ्चालकहरु दीपक कार्की र मुकुन्दनाथ ढुंगेल पुनः प्रतिस्पर्धा गर्दैछन् । त्यसबाहेक इन्द्रबहादुर थापा र हेमन्त बस्याल संचालक बन्ने दौडामा छन् । सबै उम्मेदवारहरुले आफूले ३० लाख भन्दा बढी प्रोक्सी संकलन गरेको दावी गरेको छन् । यस बैंकका हाल करिव ३ लाख ४५ हजार कित्ता साधारण सेयर रहेको छ । आगामी साधारणसभामा बैंकले १२ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । उक्ता बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८ रुपैयाँ हुने बैंकले जनाएको छ ।
जाइकाले वेगनास र रुपातालमा १५० मेगावाटको पम्पस्टोरेज आयोजना अध्ययन गर्ने
काठमाडौं । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले कास्कीको वेगनास र रुपातालमा पम्प स्टोरेज जलविद्युत आयोजना बनाउन संभाव्यता अध्ययन गर्ने भएको छ । जाइकाले पम्पस्टोरेजको प्रारम्भीक अध्ययन गर्न लागेको हो । अध्ययनका लागि प्राविधिक टोली खटिने क्रममा रहेका छन् । प्रारम्भीक अध्ययनपछि मात्र आयोजनाको लागत र क्षमताको निर्धारण हुने छ । सरकारले नेपाल विद्युत प्राधिकरणलाई ‘पम्प स्टोरेज’ जलाशय जलविद्युत आयोजना बनाउनका लागि अध्ययन अनुमतिपत्र (लाइसेन्स) दिएपछि संभाव्यता अध्ययनको प्रक्रिया अघि बढेको हो । आयोजनाको क्षमता १५० मेगावाट हुने संभाव्यता अध्ययनले देखाएको छ । सरकारले पम्प स्टोरेज आयोजनालाई लाइसेन्स दिएको पहिलो हो । लेखनाथको सुन्दरीडाँडास्थिति बेगनासको पानी रुपा तालमा खसालेर विद्युत उत्पादन गर्न सकिने संभाव्यता अध्ययनले देखाएको छ । जलासययुक्त आयोजना हुने भएकाले विद्युतको उच्च माग हुने साँझमा सञ्चालन गर्न सकिने देखिएको छ । साँझको बिजुली माग पुरा गर्न सरकारले यो आयोजना अघि बढाउन लागेको हो । आयोजनाबाट वार्षिक २१ करोड ९० लाख युनिट बिजुली उत्पादन हुने अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली ४ किलोमिटर दूरीको २२० केभी लेखनाथ सबस्टेसनमा जोडिने छ । आयोजनाको लागत १३ करोड डलर अर्थात झण्डै १४ अर्ब रुपैयाँ लाग्ने संभाव्यता अध्यनले देखाएको छ । प्राधिकरणका अनुसार यो लागतमा आयोजना निर्माण हुँदा प्रतिकिलोवाट ८७० डलरमा पूरा हुन्छ । जाइकाको सहयोगमा १४० मेगावाटको तनहुँ सेती अर्धजलासययुक्त आयोजना निर्माण हुदै छ । यस्तै १०४ मेगावाटको तल्लो तनहुँ आयोजनाको संभाव्यता अध्ययन हुदैछ । संभाव्य देखिएमा पम्पस्टोरेजमा पनि जाइकाले लगानी गर्ने संभावना छ ।