विकासन्युज

आर्थिक अपराधमा तीव्र वृद्धि, ६ हजारभन्दा बढी बैंकिङ कसुर मुद्दा

काठमाडौं । पछिल्लो समय आर्थिक अपराधमा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सबैभन्दा बढी मुद्दा दर्ता बैंकिङ कसुरमा हुने गरेका छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मुख्य १० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दालाई विश्लेषण गर्दा बैंकिङ कसुर पहिलो नम्बरमा रहेको बताए ।  बुधवार परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले गत आर्थिक वर्ष २०८१/०८२ मा ६ हजार ५ सय ५३ वटा मुद्दाहरु बैंकिङ कसुरका दर्ता भएको जानकारी दिए ।  गतवर्ष १२ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएका थिए । उनका अनुसार बैंकिङ कसुरपछि अभद्र व्यवहारका मुद्दा १ हजार ९ सय ५३ वटा रहेका छन् । त्यसपछि क्रमशः चोरी, ठगी, लागुऔषध, आत्महत्या, जबरजस्तीकरणी, ज्यान मार्ने उद्योग, सवारी ज्यान र अंगभंगका घटनाहरु रहेको उनले जानकारी दिए । चोरीका ९५१, ठगीका ७४७, लागूऔषधका ४३१, आत्महत्याका ३३२, जबर्जजस्ती करणी २४४, ज्यान मार्ने उधोग १४०, सवारी ज्यान १०० र सवारी अंगभंग ७४ वटा मुद्दा दर्ता भएका छन् ।  औसतमा दैनिक ३५ वटा मुद्दा दर्ता भएको देखिएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए । उनका अनुसार यी १० प्रकारका मुख्य संख्याका अपराधहरूले जम्मा मुद्दाको ८९ प्रतिशत हिस्सा ओगटेका छन् ।  यस्तै, उनले काठमाडौं जिल्लामा ८ सय १५ जना प्रहरी दरबन्दी रिक्त रहेको पनि जानकारी दिए । काठमाडौं जिल्लाको लागी कुल दरबन्दी कुल दरबन्दी ४ हजार १६ भएपनि हाल ३ हजार २ सय ३३ जना प्रहरी जनशक्ति कार्यरत रहेको उनले बताए ।  जिल्ला प्रहरी परिसर काठमाडौंले गतवर्ष फैसला कार्यान्वयनतर्फ ५ हजार ५ सय १२ जनाबाट २४ करोड २० लाख ९४ हजार ८५९ रुपैयाँ जरिवाना असुल गरेको छ ।  यस्तै, ६ करोड ८५ लाख ५० हजार १०६ रुपैयाँ बराबरको हुण्डी रकम बरामद गरेको छ । कार्यालयले १२ करोड ७५ लाख ८ हजार ८ सय २८ रुपैयाँ राजस्व दाखिला समेत गरेको छ । 

माउन्ट एभरेष्ट डिष्टिलरीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।  कम्पनीले कुल १२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । यस सम्बन्धमा साउन २८ गते, काठमाडौंको नक्साल स्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुबै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको हो ।  सम्झौतापत्रमा माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडका प्रबन्ध सञ्चालक सतीश कुमार कर्ण र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

याडियाको भेलक्स स्कुटरमा ४० हजारको छुट

काठमाडौं । याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले ‘विशेष सीमित स्टक अफर’ अन्तर्गत भेलक्स इलेक्ट्रिक स्कुटरमा ४० हजार रुपैयाँ नगद छुट दिने घोषणा गरेको छ । यो छुटपछि २ लाख ८५ हजार रुपैयाँ पर्ने भेलक्स स्कुटर अब ग्राहकले २ लाख ४५ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार यो अफर सीमित स्टकका लागि मात्र हो र स्टक सकिएपछि स्कुटर पुरानै मूल्यमा बिक्री हुनेछ । याडिया भेलक्समा ३ हजार २०० वाटको शक्तिशाली इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले १७२ एनएम टर्क उत्पन्न गर्छ । यसको अधिकतम गति ६२ किलोमिटर प्रतिघण्टा रहेको छ । स्कुटरमा २.१ किलोवाट आवरको लिथियम-आयोन फस्फेट ब्याट्री छ । कम्पनीका अनुसार एक पटकको फुल चार्जमा यसले १०० किलोमिटरको रेन्ज प्रदान गर्छ । यो ब्याट्रीले उच्च सुरक्षा, थर्मल स्थिरता र लामो आयु सुनिश्चित गर्ने कम्पनीले बताएको छ । यसमा ग्राउन्ड क्लियरेन्स १७० एमएम, थप सुरक्षाका लागि फ्रन्ट र रियर दुवैमा सीबीएससहितको डिस्क ब्रेक, सजिलो पार्किङ र ह्यान्डलिङका लागि उपयुक्त छ । यसका साथै यसले लामो यात्रालाई आरामदायी बनाउने कम्पनीको दाबी छ ।  कम्पनीले भेलक्सको ब्याट्री र मोटर दुवैमा ३ वर्ष वा ५० हजार किलोमिटर (जुन पहिले आउँछ) को वारेन्टी प्रदान गरेको छ ।

सुजुकीको पहिलो विद्युतीय कार ‘ई-भिटारा’ सार्वजनिक हुँदै

काठमाडौं । मारुती सुजुकीको पहिलो विद्युतीय सवारीसाधन ईभी ‘ई-भिटारा’ नेपालमा सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले यसलाई आगामी शुक्रबार सार्वजनिक गर्न लागेको हो । यो मोडल मारुती सुजुकीले गत जनवरीमा सम्पन्न ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२४’ मा पहिलो पटक प्रदर्शन गरेको थियो ।  ई-भिटारामा अत्याधुनिक एलएफपी ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ । यो गाडी ४९ किलोवाट आवर र ६१ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार एक पटकको फुल चार्जमा यसले ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । फ्रन्ट–ह्विल ड्राइभ प्रणालीमा आधारित यो कार १०६ किलोवाट, १२८ किलोवाट र १३५ किलोवाटका तीन फरक मोटर विकल्पमा उपलब्ध छ । ई-भिटाराको लम्बाई ४ हजार २७५ एमएम, चौडाइ १ हजार ८०० एमएम र उचाइ १ हजार ६३५ एमएम रहेको छ । यसको क्याबिनमा नयाँ अपरेटिङ सिस्टमसहितको डुअल–स्क्रिन लेआउट र विस्तृत जानकारी दिने डिजिटल डायल जस्ता आधुनिक फिचरहरू छन् ।  गाडीमा १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीको दावी छ । गाडीको पछिल्लो भागमा स्प्लिट-फोल्डिङ सिट, एड्जस्टेबल हेडरेस्ट, सबै यात्रुका लागि थ्री-पोइन्ट सिटबेल्ट र आइसोफिक्स चाइल्ड सिट माउन्ट जस्ता व्यावहारिक सुविधाहरू पनि दिइएका छन् ।  सुरक्षाका लागि यसमा अत्याधुनिक फिचरहरूको लामो सूची छ । सबैभन्दा महत्त्वपूर्ण रूपमा यसमा लेभल २ को एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध छ । जसमा लेन किप असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल र ब्लाइन्ड स्पट मनिटरिङ सिस्टम जस्ता फिचर रहेका छन् ।  यसका साथै गाडीमा ७ वटा एयरब्याग, ३६०-डिग्री क्यामरा, टायर प्रेसर मनिटरिङ सिस्टम, अगाडि र पछाडि पार्किङ सेन्सर, अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, ड्राइभ मोड, हिल डिसेन्ट कन्ट्रोल, वायरलेस फोन चार्जर र हिटेड मिरर जस्ता अन्य महत्त्वपूर्ण सुरक्षा तथा सुविधाका फिचरहरू पनि समावेश छन् ।

काठमाडौंको एभरेस्ट कलेजलाई आईएलटीएस परीक्षा सञ्चालनको अनुमति

काठमाडौं । काठमाडौंमा रहेकाे एभरेस्ट कलेजले आधिकारिक रूपमा आईएलटीएस परीक्षा सञ्चालनको अनुमति पाएको छ । २७ वर्षदेखि शिक्षण क्षेत्रमा सक्रिय रहेको एभरेस्ट कलेज अब आधिकारिक ब्रिटिश काउन्सिल आईएलटीएस परीक्षा केन्द्र बनेको हो । यस सुविधाले अन्तर्राष्ट्रिय अध्ययन र रोजगारीका अवसर खोज्ने विद्यार्थीलाई तयारीदेखि परीक्षा सम्मको सम्पूर्ण प्रक्रिया स्थानीयस्तरमै सहज र विश्वासिलो बनाउन मद्दत गर्ने कलेजको विश्वास छ । अन्तर्राष्ट्रिय आईएलटीएस तयारीमा संलग्न विद्यार्थीका लागि कलेजले थापाथलीस्थित आफ्नो क्याम्पसमा सम्पर्क गर्न आह्वान गरेको छ ।

क्लियर स्याम्पु ब्रान्ड मार्फत इङ्लिस प्रिमियर लिग प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । युनिलिभर नेपालले आफ्ना प्रमुख हेयर केयर ब्रान्ड ‘क्लियर’ मार्फत इङ्लिस प्रिमियर लिगलाई नेपाली दर्शकमाझ प्रत्यक्ष रूपमा ल्याउने रोमाञ्चक सहकार्यको घोषणा गरेको छ । यो साझेदारी युनिलिभरको विश्वव्यापी फुटबलप्रतिको प्रतिबद्धता र उपभोक्तासँग अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने लक्ष्यको प्रतिविम्ब हो । युनिलिभरको पर्सनल केयर डिभिजन सन् २०२७ सम्मका लागि फिफाको आधिकारिक ग्लोबल पार्टनर रहँदै आएको छ, जसमा २०२६ को फिफा वल्र्ड कपसहित प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समावेश छन् । यस्ता सहकार्यहरूले खेलकुदको शक्ति समुदायलाई एकताबद्ध गर्न र आत्मविश्वास जगाउन मद्दत पुर्‍याउने कम्पनीको विश्वास छ । इपीएल साझेदारीअन्तर्गत, क्लियरले विश्व फुटबलका स्टार क्रिस्टियानो रोनाल्डो र एरलिङ हालान्डसँगको सहकार्यमार्फत आत्मविश्वास र प्रदर्शनको सन्देश फैलाउँदै आएको छ। अब नेपाली दर्शकहरूले कान्तिपुर मिडिया ग्रुपका टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष रूपमा रोमाञ्च अनुभव गर्न सक्नेछन् । युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले नेपाली दर्शकमाझ ल्याउन पाउँदा गर्व लागेको बताए । 'फुटबल केवल खेल मात्र नभई साझा भावना हो, जसले सीमाना नाघेर मानिसहरूलाई जोड्छ,' उनले भने । कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वरले पनि यो सहकार्यलाई नेपाली दर्शकका लागि उच्चस्तरीय फुटबल मनोरञ्जन उपलब्ध गराउने महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे ।  

अमेरिकी सेयर बजार पहिलोपटक ६ हजार ४०० अंक पार, १३.५ ट्रिलियन डलरको नाफा

काठमाडौं । अमेरिकी सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । मंगलबार एसएण्डपी ५०० र न्यास्ड्याक कम्पोजिट नयाँ रेकर्डमा पुगेका छन् । जुलाईमा महङ्गी दर अनुमानभन्दा राम्रो आउनुले आगामी महिना फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्ने सम्भावना बढाएको छ । यसले सेयर बजारमा थप वृद्धि ल्याएको हो । एसएण्डपी १।१३ प्रतिशत वृद्धि भई ६ हजार ४४५.७६ अंकमा बन्द भयो भने टेक सेयरको दबदबामा रहेको न्यास्ड्याकमा १.३९ प्रतिशत उछाल आई २१ हजार ६८१.९० अंकमा पुग्यो । डाउ जोन्स इन्डस्ट्रियल एभरेज पनि ४८३.५२ अंक (१.१० प्रतिशत) बढेर ४४ हजार ४५८.६१ मा बन्द भयो । एसएण्डपी अप्रिलको न्यूनतम स्तरबाट ३३ प्रतिशत बढिसकेको छ । यस अवधिमा लगानीकर्ताको कुल सम्पत्तिमा १३.५ ट्रिलियन अमेरिकी डलरको वृद्धि भएको छ । लगानीकर्ताहरू ट्यारिफले देशमा महङ्गी बढाउने डरमा थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धेरै देशहरूमा उच्च ट्यारिफ लगाएका छन् ।  भारत र ब्राजिल जस्ता प्रमुख व्यापार साझेदारमा ५० प्रतिशतसम्मको ट्यारिफ लगाइएको छ । तर मंगलबार सार्वजनिक भएको महङ्गीको तथ्याङ्कले लगानीकर्ताको विश्वास फर्काएको छ । डाउ जोन्सले जुलाईमा महङ्गी दर २.८ प्रतिशत हुने अनुमान गरेको थियो, तर उपभोक्ता मूल्य सूचकांक (सीपीआई) २.७ प्रतिशत मात्र बढ्यो । दर कटौतीको माग यो रिपोर्ट आएपछि ब्याजदर कटौतीको आशा बढेको छ । व्यापारीहरूको भनाइमा ब्याजदर घट्ने सम्भावना ९४ प्रतिशत छ, जुन रिपोर्ट आउनुअघि ८५ प्रतिशत मात्र थियो । अक्टोबर र डिसेम्बरमा पनि दर कटौतीको अपेक्षा छ।  ट्रम्पले फेडरल रिजर्भसँग ब्याजदरमा ३ प्रतिशत कटौतीको माग गरेका छन् । अमेरिकी इतिहासमा एकैपटक यति ठूलो कटौती पहिले कहिल्यै भएको छैन । ट्रम्पको भनाइमा उच्च ब्याजदरका कारण अमेरिकाले आफ्नो ऋणमा ब्याजको रूपमा धेरै रकम तिर्नु परेको छ ।

स्वावलम्बन विकास केन्द्रको ३४औं वार्षिकोत्सव सम्पन्न, लघुवित्त क्षेत्रमा उत्कृष्ट योगदानकर्तालाई सम्मान

काठमाडौं । स्वावलम्बन विकास केन्द्रले आफ्नो ३४औं वार्षिकोत्सव काठमाडौंमा एक समारोहबीच सम्पन्न गरेको छ । अध्यक्ष शंकर मान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोर्ड सदस्य, संस्थागत तथा गैर–संस्थागत सदस्यका प्रतिनिधि र विभिन्न सरोकारवालासहित ७७ जना अतिथिहरूको उपस्थिति रहेको थियो । समारोहका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरे । मन्त्री गुरुङले चीन र स्विजरल्याण्ड भ्रमणको उदाहरण दिँदै 'स्वावलम्बन विकास केन्द्रको दृष्टिकोण ‘साना चीजहरू सुन्दर छन्’ भन्ने भनाइसँग मेल खान्छ' भन्दै व्यवसाय सुरु गर्न ठूलो लगानी वा आकारको आवश्यक नपर्नेमा जोड दिए । अध्यक्ष श्रेष्ठले केन्द्रले ३४ वर्षदेखि विपन्न समुदायलाई सेवा प्रदान गर्दै आएको र लघुवित्त मात्र होइन, समग्र सामाजिक–आर्थिक रूपान्तरणमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए । उनले नेपालको १५औं सामाजिक व्यवसाय राष्ट्रिय फोरममा सर्वसम्मतिले तयार गरिएको ९ बुँदे कार्ययोजनाबारे जानकारी दिँदै 'सिकाइ र कमाइ कार्यक्रम', फलफूलका बिरुवा रोपण र वातावरणमैत्री स्वावलम्बी गाउँलाई प्राथमिकतामा राखिएको बताए । कार्यक्रममा २०७९ सालमा स्थापित शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कार २०८०/८१ मोरङ, धनपालथान गाउँपालिका–२ का प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डललाई प्रदान गरियो। यस पुरस्कारमा रु २ लाख नगद र कदरपत्र समावेश छ । साथै, उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कार २०८०/८१ सल्यानकी आशा बुढामगर, सर्लाहीकी जमुना घिमिरे र नवलपरासीकी विमला थारूलाई प्रदान गरियो, जसमा प्रत्येकले ५० हजार र प्रशंसा पत्र प्राप्त गरे । त्यस्तै, लघुउद्यमशीलता विकास पुरस्कार २०८०/८१ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्रदान गरिएको थियो। यस पुरस्कारमा २ लाख नगद र प्रशंसा पत्र समावेश छ । कार्यक्रममा लीला नाथ श्रेष्ठ, भगवती चौधरी, योगेन्द्र मण्डल, पूर्व राष्ट्र बैंक गभर्नर दीपेन्द्र बहादुर क्षेत्री लगायतको सहभागिता थियो।