विकासन्युज

ग्राहकलाई खातामा प्यान अपडेट गर्न एनआईसी एशिया बैंकको अनुरोध, प्रमाणपत्र लिन सहजता

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका अनुसार, 'आयकर ऐन २०५८' बमोजिम करकट्टीको विवरण नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक भएको हो । ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको 'प्यान अपडेट' विकल्प प्रयोग गरी वा आफूलाई सुविधाजनक कुनै पनि शाखामा उपस्थित भई प्यान अद्यावधिक गर्न सक्नेछन् । प्यान अद्यावधिक भएपछि निक्षेपकर्ताको ब्याज भुक्तानीमा काटिएको करको विवरण सो प्यानमा प्रविष्ट हुनेछ, जसले गर्दा आयकर प्रणालीले स्वचालित रूपमा करकट्टीको विवरण मिलान गर्नेछ । यसले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न सकिनेछ, साथै बैंकसम्म प्रत्यक्ष जानुपर्ने आवश्यकता हट्नेछ । बैंकले प्यान अद्यावधिक नगरिएकै कारण ब्याज कर दाखिला नहुने वा त्यसमा थप समायोजन गर्नुपर्ने अवस्थामा जिम्मेवारी नलिने स्पष्ट पारेको छ । साथै, यसअघि प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएका ग्राहकहरूले नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्र (फोन : १६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

बैंकको बिजनेसमा उल्लेख्य सुधार, नाफासँगै लाभांश पनि बढ्ने अपेक्षा

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । वित्तीय विवरणलाई लगानीकर्ता तथा सेयरधनीहरूले निकै चासोको रूपमा लिइरहेका छन् । आफूले लगानी गरिरहेको कम्पनी र लगानी गर्ने योजना बनाएका व्यक्ति तथा संस्थाका लागि वित्तीय विवरणहरू मुख्य आधार हुन् । पछिल्लो तथ्याङ्कअनुसार एभरेष्ट बैंक, सानिमा बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक र माछापुच्छ्रे बैंकसहित ७ वटा वाणिज्य बैंकले गत वर्षको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका हुन् । सार्वजनिक तथ्याङ्कका आधारमा ७ वटा बैंकले गत वर्ष २० अर्ब ४६ करोड १ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जबकि अघिल्लो वर्ष तीनै ७ वटा बैंकले १४ अर्ब ४४ करोड ८७ लाख २१ हजार रुपैयाँ खुद नाफा गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष ४१.६० प्रतिशत बढी नाफा गरेका हुन् । गत वर्ष बैंकहरूले ५७ अर्ब ४२ करोड २९ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । अघिल्लो वर्ष ५३ अर्ब ८२ करोड ८२ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । यस्तै, गत वर्ष बैंकहरूको वितरणयोग्य नाफा १६ अर्ब ४४ करोड ७ लाख ४८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ती बैंकहरुको ७ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको थियो । तथ्याङ्कअनुसार गत वर्ष ७ बैंकको औसत खराब कर्जा ३.४९ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ३.२ प्रतिशत औसत खराब कर्जा रहेको थियो । यी ७ बैंकले गत वर्षसम्म १८ खर्ब ५६ अर्ब ९८ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरी १३ खर्ब ८९ अर्ब २९ करोड १३ लाख रुपैयाँ लगानी गरेका छन् । अघिल्लो वर्षसम्म १५ खर्ब ९५ अर्ब ४६ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरी १२ खर्ब ८५ अर्ब २४ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेका थिए ।  एभरेष्ट बैंक  एभरेष्ट बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ३२.८० प्रतिशत बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्ष बैंकको खराब कर्जा घटेको छ । अघिल्लो वर्ष ०.७१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ०.३८ प्रतिशतमा झरेको छ । जसकारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशत बढेर ९ अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ, खुद शुल्क तथा कमिशन आम्दानी १३.८३ प्रतिशत बढेर १ अर्ब ५२ करोड ८९ लाख ४३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १७.४७ प्रतिशत बढेर ११ अर्ब १६ करोड ६४ लाख ३७ हजार रुपैयाँ र सञ्चालन नाफा ३१.६३ प्रतिशत बढेर ७ अर्ब ४५ करोड ४२ लाख ३५ हजार रुपैयाँ गरेको छ ।                                                                     गत वर्ष बैंकको वितरणयोग्य नाफा ५० प्रतिशत बढेर ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले ३८.२७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३० करोड २३ लाख ६९ हजार रुपैयाँ थियो भने लाभांश क्षमता २८.०६ प्रतिशत थियो ।  समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी बढेर १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ, सेयर प्रिमियम २३ करोड ८४ लाख ७० हजार रुपैयाँ र जगेडामा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।  बैंकको निक्षेप संकलन ३८.६२ प्रतिशत बढेर २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी १९.८६ प्रतिशत बढेर २ खर्ब १३ अर्ब ६२ करोड ३५ लाख ४५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ३२ अर्ब ३१ करोड ६६ लाख ५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब २१ करोड ५३ लाख ९९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । सानिमा बैंक सानिमा बैंकको गतमा खुद नाफा ७.२४ प्रतिशत बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ९२.१२ प्रतिशत बढेर २ अर्ब ७८ करोड ७ लाख २० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ४४ करोड ७३ लाख ३७ हजार रुपैयाँ थियो भने लाभांश क्षमता १०.६६ प्रतिशत थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी २.८१ प्रतिशत बढेर ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब १८ करोड १६ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ र जगेडामा ६ अर्ब ५६ करोड ७१ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।  बैंकको निक्षेप संकलन १३.५६ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ९५ करोड ४६ लाख ७९ हजार रुपैयाँ र कर्जा लगानी १०.६८ प्रतिशत बढेर १ खर्ब ७६ अर्ब ४४ करोड ५ लाख ५ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष बैंकको खराब कर्जा बढेको छ । अघिल्लो वर्ष १.७२ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ३.०१ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी ११.७३ प्रतिशत छ । कृषि विकास बैंक कृषि विकास बैंकको गत वर्ष खुद नाफा ४३.३८ प्रतिशत बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष ३.९१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ३.२६ प्रतिशतमा झरेको छ । जसकारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६.९२ प्रतिशत घटेर ९ अर्ब ८२ करोड १४ लाख ८२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ५५ करोड २७ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, बैंकको सेवा शुल्क तथा कमिसन आम्दानी ७.२० प्रतिशत घटेर १ अर्ब ३३ करोड ५८ लाख ७२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १.८३ प्रतिशत घटेर ११ अर्ब ९९ करोड ५८ लाख २१ हजार रुपैयाँ, सञ्चालन नाफा ४१.२८ प्रतिशत बढेर ५ अर्ब ८४ करोड ७६ लाख २७ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १८.४२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब १३ करोड ६० लाख ८७ हजार रुपैयाँ थियो । सो आधारमा लाभांश क्षमता १३.०६ प्रतिशत थियो ।  गत वर्ष बैंकको चुक्ता पुँजी २.१३ प्रतिशत बढेर १९ अर्ब २८ करोड ७९ लाख ३६ हजार रुपैयाँ र जगेडा कोष १२.३७ प्रतिशत बढेर १६ अर्ब ९९ करोड २६ हजार रुपैयाँ पुगेको छ ।  निक्षेप संकलन २०.५० प्रतिशत बढेर २ खर्ब ९३ अर्ब ५७ करोड ४८ लाख ४३ हजार रुपैयाँ र कर्जा लगानी ४.६७ प्रतिशत बढेर २ खर्ब १३ अर्ब १४ करोड २८ लाख ९ हजार रुपैयाँ गरेको छ ।  सिटिजन्स बैंक सिटिजन्स बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा निक्षेप संकलन ११.७६ प्रतिशत बढेर २ खर्ब ११ अर्ब ५० करोड ७ लाख ९३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ८९ अर्ब २३ करोड ६६ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।  गत वर्ष बैंकको कर्जा लगानी १०.१८ प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ९५ करोड ६८ लाख १८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ५३ अर्ब ३४ करोड ३६ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशत बढेर ६ अर्ब ३६ करोड ४९ लाख ७३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७२ करोड ३८ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  यस्तै, बैंकको सेवाशुल्क तथा कमिसन आम्दानी १९.७४ प्रतिशत बढेर १ अर्ब ३४ करोड ७० लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.१२ प्रतिशत बढेर ८ अर्ब १२ करोड ४४ लाख १० हजार रुपैयाँ, सञ्चालन नाफा २.३२ प्रतिशत घटेर २ अर्ब ९ लाख ७५ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा २६.४५ प्रतिशत बढेर ७७ करोड ५४ लाख ५२ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले ५.२५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ६१ करोड ३२ लाख ४२ हजार रुपैयाँ थियो । सो आधारमा लाभांश क्षमता ४.३२ प्रतिशत थियो ।  गत वर्ष बैंकको चुक्ता पुँजी ३.९९ प्रतिशत बढेर १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँ र जगेडा कोष ९.६० प्रतिशत बढेर ७ अर्ब ४० करोड ९४ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।  गत वर्ष बैंकको खुद नाफा भने २ प्रतिशत घटेर १ अर्ब २९ करोड ३२ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष ४.१० प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.९४ प्रतिशत पुगेको छ । सिद्धार्थ बैंक  सिद्धार्थ  बैंकको गत वर्षमा खुद नाफा १०.२३ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशत बढेर ८ अर्ब ४३ करोड रुपैयाँ, खुद शुल्क तथा कमिसन आम्दानी १५.०८ प्रतिशत बढेर १ अर्ब ६४ करोड १५ लाख रुपैयाँ, सञ्चालन आम्दानी ११.८२ प्रतिशत बढेर ११ अर्ब १६ करोड रुपैयाँ गरेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २२० प्रतिशत बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । सो आधारमा बैंकको लाभांश वितरण क्षमता १३.२२ प्रतिशत रहेको छ । गत वर्ष बैंकको चुक्ता पुँजी १४ अर्ब ९ करोड रुपैयाँ र जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन १६.१६ प्रतिशत बढेर २ खर्ब ८० अर्ब रुपैयाँ र कर्जा लगानी ९.७६ प्रतिशत बढेर २ खर्ब १४ अर्ब रुपैयाँ गरेको छ ।  कुमारी बैंक कुमारी बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ४५ हजार ८२९ प्रतिशत बढेर २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशत वृद्धि गरी ११ अर्ब ५५ करोड ४३ लाख ९४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १०.९७ प्रतिशत बढेर १५ अर्ब १३ करोड ३० लाख ५२ हजार रुपैयाँ, सञ्चालन नाफा ५२९.८७ प्रतिशत बढेर ६ अर्ब १३ करोड ४४ लाख ९१ हजार रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी २७.४४ प्रतिशत बढेर २ अर्ब ६७ करोड ३८ लाख १९ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड ४० लाख २० हजार रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३६ करोड ७४ लाख २४ हजार रुपैयाँ ऋणात्मक थियो ।  बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ र जगेडा कोषमा १३ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको निक्षेप संकलन ९.४६ प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ र कर्जा लगानी २.७८ प्रतिशत घटेर २ खर्ब ६० अर्ब ९४ करोड ८३ लाख रुपैयाँ छ । अघिल्लो वर्ष ५.९६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ६.४२ प्रतिशत पुगेको छ ।    माछापुच्छ्रे बैंक  माछापुच्छ्रे  बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ९२.४४ प्रतिशत बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी १५.४० प्रतिशत ५ अर्ब ७५ करोड ६७ लाख १६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत बढेर ७ अर्ब ४४ करोड ६ लाख ७४ हजार रुपैयाँ, सञ्चालन नाफा ९९.९१ प्रतिशत बढेर ३ अर्ब ३३ करोड २ लाख ३८ हजार रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी १८.१६ प्रतिशत बढेर १ अर्ब २८ करोड ५१ लाख ७६ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड २९ लाख ३५ हजार रुपैयाँ रहेको छ । गत वर्षको वितरणयोग्य नाफाका आधारमा बैंकले ९.२३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३५ करोड ९८ लाख रुपैयाँ ऋणात्मक थियो ।  गत वर्ष बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ, सेयर प्रिमियम ३ करोड ८ लाख ८१ हजार रुपैयाँ र जगेडा कोष ६ अर्ब ३१ करोड १० हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको निक्षेप संकलन १६.०९ प्रतिशत बढेर १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँ र कर्जा लगानी ११.७४ प्रतिशत १ खर्ब ४१ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३.८६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ३.८३ प्रतिशतमा झरेको छ।  

नाइमा एक्स्पोमा बीवाईडी एट्टो वान करिब ६ सय युनिट बुकिङ

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा बीवाईडी एट्टो वान करिब ६ सय युनिट बुकिङ भइसकेको बीवाईडीकी सेल्स म्यानेजर सन्ध्या श्रेष्ठले बताएकी छन् । उनले हिजाे (आइतबार) मात्रै २ सय ५० गाडी बुकिङ भइसकेको बताइन् । बीवाईडीको स्टलमा मानिसहरूको भीड व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परिरहेको छ । भर्खरै सार्वजनिक भएको बजेट ईभी ‘एट्टो वान’  हेर्न, बुझ्न र तुरुन्तै बुकिङ गर्नेहरूले स्टलमा भीड भएको हो । श्रेष्ठले एक्स्पोको अन्तिम दिनमा पनि उस्तै भीड भएको बताइन् । उनले यतिधेरै बुकिङ हुनु आफैमा रेकर्ड भएको बताइन् ।  कम्पनीका अनुसार यो सफलता रातारात मिलेको होइन । यो वर्षौंदेखिको उपभोक्ताको माग र कम्पनीको सही समयको रणनीतिको परिणाम हो । ‘साढे दुई/तीन वर्षदेखि नै उपभोक्ताहरूले एउटा सानो, गुणस्तरीय र बजेटमा अटाउने विद्युतीय कारको माग गरिरहेका थिए,’ बीवाईडीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘एट्टो(वानले त्यही माग पूरा गरेकाले यति धेरै माया पाएका छौं ।’ सेल्स म्यानेजर श्रेष्ठका अनुसार एट्टो–वानको सफलताको पछाडि यसको कम्प्याक्ट साइज, आधुनिक फिचर र सबैभन्दा महत्त्वपूर्ण– आकर्षक मूल्य र फाइनान्सिङ सुविधाको व्यवस्था छ ।  यसको स्ट्यान्डर्ड रेन्ज (डाइनामिक भेरियन्ट) को मूल्य २८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । यो कार किन्न चाहनेले सुरुमा ११ लाख ५८ हजार रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार बाँकी १७ लाख ३७ हजार रुपैयाँ बैंकबाट ७ वर्षको लागि कर्जा लिन सकिन्छ। अहिलेको औसत ७.५ प्रतिशत  ब्याजदरमा हिसाब गर्दा यसको मासिक किस्ता करिब २६ हजार ६५० रुपैयाँ मात्र पर्न आउँछ । यो रकमले मध्यमवर्गीय परिवारलाई पनि विद्युतीय कारको मालिक बन्ने सपना पूरा गर्न सहज बनाएको छ । एट्टो–वान एउटा अर्वान ह्याचब्याक हो, जसलाई विशेषगरी सहरको घुम्ती र चापयुक्त सडकका लागि डिजाइन गरिएको छ । यसमा ३०.०८ किलोवाट आवरको सुरक्षित र टिकाउ (लिथियम आइरन फस्फेट) ब्लेड ब्याट्री छ । यसले एक पटकको फुल चार्जमा २३० किलोमिटरको रेन्ज दिन्छ, जुन दैनिक सहर यात्राका लागि पर्याप्तभन्दा बढी हो । यसमा ४५ किलोवाटको मोटर छ, जसले सहरभित्र आवश्यक पर्ने शक्ति र गति सजिलै प्रदान गर्छ ।  ३९२० एमएम लम्बाइ र २५०० एमएमको ह्वीलबेसले यसलाई साँघुरो ठाउँमा पनि चलाउन र पार्किङ गर्न सजिलो बनाउँछ । बजेट कार भए पनि एट्टो(वानले फिचरमा कुनै सम्झौता गरेको छैन । यसको क्याबिन आधुनिक र प्रविधिमैत्री छ । कारभित्र पस्नासाथ तपाईंलाई हाइटेक स्मार्ट ककपिट ले स्वागत गर्छ । ड्यासबोर्डको बीचमा १०।१ इन्चको ठूलो टचस्क्रिन छ ।  जसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो दुवै सपोर्ट गर्छ । यसले नेभिगेसन, संगीत र अन्य स्मार्ट फिचरहरूलाई सहज बनाउँछ । चालकको अगाडि ७ इन्चको डिजिटल डिस्प्ले छ, जसले गति, ब्याट्री लेभल र रेन्ज जस्ता महत्त्वपूर्ण फिचरले ग्राहकलाई आकर्षित गरिरहेको छ।

नेपालगञ्ज-नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीले नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरिएको हो । मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए । उनले नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायत काममा चासो दिन आग्रह गरे ।  

सेयर बजारमा १० अर्बको कारोबार, रिभर फल्स पावरमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले घटेर २८२२ बिन्दुमा झरेको छ । आज ३० कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको मूल्य घटेको छ । सोमबार ३२४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा १० अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम्को ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ४२ करोड, हिमालयन रिइन्स्योरेन्सको ४२ करोड, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३६ करोड, साहस उर्जाको ३६ करोड र बुटवल पावर कम्पनीको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आजको कारोबारमा अधिकांश समूहका सूचक घटेका छन् । माइक्रोफाइनान्स र विकास बैंक समूह सबैभन्दा धेरै घटेका छन् । माइक्रोफाइनान्स २.३५ तथा विकास बैंक २.३१ प्रतिशतले घटेको छ । बैंकिङ ०.४१, फाइनान्स १.२७, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर १.४१, लगानी १.१७, जीवन बीमा ०.८०, उत्पादन तथा प्रशोधन ०.७५, निर्जीवन बीमा १.२४ तथा व्यापार समूह १.४४ प्रतिशतले घटेको छ । अन्य समूह ०.३१ प्रतिशत बढेको छ । आज रिभर फल्स पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

मानवअधिकार आयोग भन्छ- रवि बसेको कोठामा एसी छैन

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा एसी नभएको बताएका छन् ।  आयोगका प्रतिनिधिहरूले कारागारको अनुगमनपछि कारागारमा एसी नभएको बताएका हुन् । साथै उनीहरूले कारागारभित्र आधारभूत सुविधाहरूको अभाव रहेको टिप्पणी गरेका छन् । नयाँपत्रिकाले रविलाई आधारभूत सुविधा पनि नदिइकन राखेको समाचार प्रकाशित भएपछि आयोगका प्रतिनिधि रवि बसेको कारागारको अनुगमनमा गएका हुन् । यद्यपि अर्को सञ्चारमाध्यम अन्नपूर्णले भने रवि एसीसहितको कोठामा बसेको भन्दै समाचार सम्प्रेषण गरेको थियो । दुई सञ्चारमाध्यममा फरक-फरक खालका समाचार सम्प्रेषण भएपछि याे विषयले सामाजिक सञ्जाल तताइरहेको छ । धेरैले मिडियाले विश्वास गुमाउँदै गएकाे टिप्पणी गरेका छन् ।

काठमाडौं महानगरले गर्‍यो २७१ मापदण्डविपरीतका पानीका जार नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूको अनुगमनलाई तीव्रता दिएको छ । बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न महानगरले प्रशोधित पिउने पानीको अनुगमनलाई तीव्र बनाएको हो ।  एक हप्ताको अवधिमा विभिन्न क्षेत्रहरूमा गरिएको अनुगमनका क्रममा मापदण्डविपरीतका २७१ वटा जार बरामद गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ । यस्तै, महानगरले आषाढ र श्रावण महिनामा गरी जम्मा १३९ वटा गाडीहरूबाट ४५६ वटा जार बरामद गरी नष्ट गरेको छ । साथै, पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक तथा जैविक परीक्षणका लागि नमुनाहरू प्रयोगशालामा पठाइएको छ । चालु आर्थिक वर्ष सुरु भएपछि महानगरपालिकाले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु, कोटेश्वर लगायतका स्थानमा अनुगमन गरेको कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले बताए । कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको सहकार्यमा विभिन्न स्थानहरूमा चेकपोस्ट राखेर खानेपानी बोक्ने गाडीहरूको अनुगमन गरिएको हो ।   'हामीले बर्खायाममा पानीजन्य रोगहरूको जोखिमलाई मध्यनजर गर्दै प्रशोधित पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिएका छौँ । मापदण्ड विपरीतका जारहरूले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । त्यसैले हामीले यस्ता जारहरू तत्काल जफत गरी नष्ट गर्ने र कम्पनीहरूलाई कडा निर्देशन दिने काम गरिरहेका छौँ' न्यौपानेले बताए  । उनका अनुसार जारहरू नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ। विभागले साउन २० गते काठमाडौं महानगरपालिका–१४, बल्खु क्षेत्रमा गरिएको अनुगमनका क्रममा ८ वटा विभिन्न कम्पनीका पानी बोक्ने सवारी साधनहरूको जाँच गरिएको थियो । उक्त अनुगमनमा ५९ वटा जारहरू कुच्चिएको, फुटेको र अपारदर्शी अवस्थामा भेटिएका थिए, जुन मापदण्ड विपरीत थिए ।  त्यसैगरी, साउन २१ गते वडा नम्बर ७, चाबहिल–चुच्चेपाटी क्षेत्रमा १९ वटा सवारी साधनहरूको अनुगमन गरिएको थियो । यस क्रममा ६७ वटा मापदण्ड विपरीतका जारहरू बरामद गरिए । यी जारहरू पनि नष्ट गर्न महानगर प्रहरीलाई हस्तान्तरण गरिएको छ । साथै, ३ वटा २० लिटरका जारहरू भौतिक तथा जैविक परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । साउन २३ गते वडा नम्बर १६, माछापोखरी–बालाजु क्षेत्रमा २० वटा सवारी साधनहरूको अनुगमन गरियो । यस अनुगमनमा ६८ वटा जारहरू मापदण्ड विपरीत भेटिए, जुन नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइयो ।  साउन १८ गते वडा नम्बर ३२, कोटेश्वर क्षेत्रमा १५ वटा सवारी साधनहरूको अनुगमन गरिएको थियो । यस क्रममा ७७ वटा मापदण्ड विपरीतका जारहरू बरामद गरिए, जुन नष्ट गर्न महानगर प्रहरीलाई हस्तान्तरण गरियो । अनुगमनका क्रममा मापदण्ड विपरीतका जारहरू बिक्री–वितरण नगर्न, जारमा स्पष्ट लेबल राख्न, कम्पनीले जारी गरेको बिल–बिजक सवारी साधनमै लिएर हिँड्न र पानीको गुणस्तरमा संवेदनशील हुन पानी उत्पादक कम्पनीहरूलाई निर्देशन दिइएको विभागका प्रमुख नुरनिधि न्यौपानेले बताएका छन् । नागरिकको स्वास्थ्यप्रति गम्भीर रहँदै पानीजन्य रोगहरूको जोखिम कम गर्न यस्ता अनुगमनलाई निरन्तरता दिने उनको भनाई छ ।  यस्तै, फुड टेक्नोलोजिस्ट अशोक पराजुलीले पानीको गुणस्तरबारे भन्छन्, 'प्रशोधित पिउने पानीको जारहरूको भौतिक र जैविक गुणस्तर जाँच्नु अत्यन्त महत्त्वपूर्ण छ । हामीले प्रयोगशालामा पठाइएका नमुनाहरूको परीक्षणबाट पानीको शुद्धता र सुरक्षितता सुनिश्चित गर्नेछौँ । नागरिकको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो ।' आगामी दिनहरूमा पनि पानी उत्पादन, ढुवानी र वितरण प्रणालीको नियमित अनुगमनलाई निरन्तरता दिने पराजुलीले बताए । साथै, समुदायस्तरमा पानीको नमुना परीक्षण र अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्ने तयारी भइरहेको छ। विशेषगरी, बल्खु, कालीमाटी र टङ्केश्वर जस्ता क्षेत्रहरूमा विगतमा हैजा रोगका बिरामी भेटिएकोले यस्ता जोखिम कम गर्न महानगरपालिका संवेदनशील बनेको उनको भनाई छ ।  महानगरले जरमा राखिएको पानीलाई वर्षा याममा विशेष गरी राम्रोसँग उमालेर मात्र पिउन अनुरोध गरेको छ ।  

विदेशमा जन्मिएका सन्तानलाई पनि आमाको स्वघोषणाको आधारमा अंगीकृत नागरिकता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्न लागिएको बताएका छन् । सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले बुबाको मृत्यु भएको, जीवित रहँदा पनि नागरिकता प्राप्तिमा सहयोग नगरेमा तथा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको उल्लेख गरे ।  गृहमन्त्री लेखकले बुबाले सन्तानलाई अपनत्व नदिएको वा आवश्यक स्नेह नदिएको अवस्थामा बाबुलाई बाबु मान्नैपर्छ भन्ने बाध्यता रहेको समेत स्पष्ट पारे । उनले आमाको नामबाट नागरिकता उपलब्ध गराउने विषयमा सर्वोच्च अदालतबाट समेत सरकारको निर्देशकात्मक आदेशका आधारमा सरकारले विधेयक अगाडि बढाएको बताए ।  आमाको नामबाट नागरिकता दिँदा आमाले स्वघोषणा गरे मात्रै पनि हुने बताए । उनले विदेशमा सन्तान जन्मिने वा गर्भावस्थामा आमा स्वदेश फर्किने तर बुबाको पत्ता नलागेको अवस्थामा आमा र सन्तानको अधिकार सुनिश्चित गर्न आमाको स्वघोषणाको आधारमा अंगीकृत नागरिकता दिने व्यवस्था गरिएको जानकारी दिए । उनले सन्तानले आमा नामबाट नागरिकता लिँदा बुबा नाम राख्न नचाहेको अवस्थामा समेत नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।