आरएसडिसी लघुवित्तको भदौ १६ गते बुक क्लोज, हकप्रद सेयर निष्काशन गर्दै
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको आगामी भदौ १६ गते बुक क्लोज हुने भएको छ । हकप्रद सेयर प्रयोजनको लागि सो दिन संस्थाको बुक क्लोज हुने भएको हो । लघुवित्तले सेयरधनीलाई २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ ।
राष्ट्र बैंकको अस्थिर नीतिको परिणाम, अध्यक्ष र सञ्चालकको कार्यकाल सीमा हट्यो
काठमाडौं । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकको नीतिमा अस्थिरता देखिन थालेको छ । पहिला गरेको निर्णयबाट केन्द्रीय बैंक पछि हट्न थालेको छ ।बैंक तथा वित्तीय संस्था ऐन (वाफिया) मा सञ्चाकको कार्यकाल २ वर्ष भन्दा बढी हुनु हुदैन भन्ने व्यापक पहल (लविङ) गरेको राष्ट्र बैंक अहिले नयाँ ऐनमा व्यवस्था नभएको भन्दै सञ्चालक समितिको कार्यकाल सीमा हटाएको हो । यो व्यवस्थाअनुसार जति समय पनि सञ्चालक हुन पाउने भएका छन् । यसअघि एउटा संस्थामा लामो समय एउटै व्यक्ति अध्यक्ष तथा सञ्चालक हुदा समस्या भएको भन्दै निर्देशिका ल्याएर २ कार्यकालको सीमा तोकेको थियो । वाफियामा व्यवस्था नभएपछि राष्ट्र बैंक आफैले नयाँ निर्देशन ल्याएर सञ्चालकको सीमा तोकेको थियो । राष्ट्र बैंक पहिलाको निर्णयबाट पछि हटेपछि उसले निर्णय गलत थियो भन्ने पुष्टि छ । यस्तै नीतिगत दावावमा राष्ट्र बैंक परेको देखिन्छ । कानूनमा नभएपनि राष्ट्र बैंकले आवश्यक परे निर्देशिका ल्याएर नयाँ व्यवस्था गर्न सक्ने अधिकार भएपनि राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको बैंक तथा वित्तीय संस्था सम्बन्धित एकिकृत निर्देशनमा कुनै व्यवस्था नगरी खुला गरिदिएको छ । व्यवस्थापिका संसदको अर्थ समितिमा बैकर साँसदले नै लविङमा लागेर यसलाई हटाएका थिए । समितिले वाफियामा कार्यकारी र सञ्चालकको अघि प्रवन्ध सञ्चालक शब्द थपेर २ वर्ष कार्यकालको सीमा लगाउने व्यवस्था गरिएको छ । वाफिया ऐनले नबोलेपछि राष्ट्र बैंकले एकिकिृत निर्देशनमा यस सम्बन्धित व्यवस्था नगरेर अघोषित रुपमा अध्यक्ष तथा सञ्चालककको कार्यकाल सीमा हटाएको विज्ञको भनाई छ । कानूनमा नभएपनि नयाँ निर्देशन ल्याएर राष्ट्र बैंक तोक्ने व्यवस्था भएपनि राष्ट्र बैंक दवावमा परेर यस विषयमा मौन रहेको देखिन्छ । राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेल वाफियामा भएको व्यवस्था अनुसार सञ्चालककको कार्यकाल हटेको बताउछन् । विकास न्युजसंग कुरा गर्दे पौडेलले कानूनमा जे छ त्यही अनुसार राष्ट्र बैंकले सञ्चालकको विषयमा व्यवस्था गरेको तर्क गरे । यता पुर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सञ्चालककको कार्यकाल सीमा हटाउदा बैंक तथा वित्तीय संस्थामा दीर्धकालमा सुशासन नहुने बताउछन् । “संस्थागत सुशान नहुने भएपछि वाफियामा प्रस्ताव गरिएको थियो” उनले भने “साँसदले नै लविङ गरेर हटाएपछि राष्ट्र बैंक चुप लगाएर बस्नु हुदैन थियो ।” राष्ट्र बैंकले निर्देशनमार्फत यसलाई पुनः कार्यन्वयनमा ल्याउन सकिने आधार हुदाहुदै मौन बसेको उनको भनाई छ । सञ्चालकको सीमा नभएपछि मनोमानी बढ्ने, प्रलोभनमा फस्ने र दीर्धकालमा बैंक तथा वित्तीय संस्था नै संकटमा पर्ने उनको तर्क छ । तत्कालिन पुनरावेदन अदालत पाटनले ऐनमा व्यवस्था नभएपनि सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकाल तोक्ने अधिकार राष्ट्र बैंकसंग रहेको मान्यता स्थापित गरि दिएको छ । कैलाश विकास बैंकका तत्कालिन अध्यक्ष राजेन्द्र गिरीको मुद्धाको फैसला गर्दे यस्तो मान्यता स्थापना गरेको हो । वाफिया एने २०६३ मा कार्यकारी अध्यक्ष र प्रवन्ध सञ्चालकको व्यवस्था भए पनि कार्यकाल र सीमा तोकिएको थिएन् । लामो समय कार्यकारी अध्यक्ष, सञ्चालक हुदा सुशान कमजोर भई वित्तीय समस्या आएपछि राष्ट्र बैंकले सीमा लगाएको हो । अध्यक्ष, सञ्चालक र कार्यकारी प्रमुख अधिकृतको समय सीमा तोएिपछि पछिल्लो समयमा वित्तीय संस्था समस्याग्रस्त भएका छैनन् ।
प्रधानमन्त्री देउवा नयाँ दिल्ली प्रस्थान, भारतीय प्रम मोदीले भोली भेट्ने
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् । प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठले बिदाइ गरेका थिए । प्रधानमन्त्री देउवाको बिदाइका लागि मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि विमानस्थल पुगेका थिए । सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री देउवा नेपाल वायुसेवा निगमको उडानबाट त्यसतर्फ गएका हुन्। परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार आज नयाँ दिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि प्रधानमन्त्री देउवाले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् । प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीको साझा संस्था एसोसिएटेड चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीज अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई आजै सम्बोधन गर्नेछन् । बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्नेछन् । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर उहाँले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवासँग बिहीबारै भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराजले शिष्टाचार भेट गर्नुहुनेछ भने त्यसलगत्तै हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच सहयोगीरहित एक्लाएक्लै भेटवार्ता हुनेछ । दुई देशका सरकार प्रमुखबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ भने नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ । दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्नुहुने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुनुछन् । सोही दिन अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । त्यसैगरी, नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री देउवासँग भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतको राजकीय भ्रमण पूरा गरेर उहाँ यही भदौ ११ गते स्वदेश फर्कनेछन् ।
एउटै वडाबाट एकसय ४७ मेगावाट विद्युत्
बेनी, म्याग्दी । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १४७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । छिमेकी दानामा निर्माणाधीन अवस्थामा रहेको २२० केभी विद्युत् प्रसारण लाइनको निर्माण कार्य तीव्रगतिमा अगाडि बढेपछि जलविद्युत् उत्पादनमा प्रचुर सम्भावना रहेको नारच्याङमा लामो समयसम्म लाइसेन्स ओगटेर बसेका कम्पनीले समेत लगानी जुटाएर काम शुरु गरेका छन् । नारच्याङमा रहेका विभिन्न खोलाबाट धमाधम आयोजनाका काम शुरु भएपछि स्थानीयले रोजगारका अवसरका साथै आर्थिक कारोबारसमेत बढेको छ । नारच्याङमा रोवर्ट्स इनर्जी प्रालिको ४२ मेगावाटको म्रिस्ती खोला जलविद्युत् आयोजनाको दुई हजार ३०० मिटर लामो टनेलमा ९७० मिटर, पावर हाउस, बालुवा थिग्राउने दुईवटा पोखरी, पेनस्टकलगायतका निर्माण कार्यले तीव्रता पाएको छ । उता निलगिरि खोलाबाट पहाडको भित्र ड्याम राख्ने निलगिरि खोला हाइड्रोपावरले ६२ मेगावाट र हुवाखोला जलविद्युत् आयोजनाले ३८ मेगावाट उत्पादन लक्ष्यसहित सडक, मजदुरलाई आवासगृहलगायतका संरचना निर्माण कार्य शुरु गरेको छ । अन्नपूर्ण बेसक्याम्पको फेदमा बाँध राख्ने तयारी गरिएको आयोजनाले हुवाखोलादेखि छोटेपासम्म ३८ र म्रिस्ती खोला र निलगिरि खोलाको दोभिल्लाबाट ६२ मेगावाट उत्पादनको लक्ष्य राखिएको छ । यी दुवै आयोजना निलगिरि हाइड्रोपावरले सञ्चालन गर्ने अनुमति पाएको छ । त्यस्तै, पाँच मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाले समेत सर्वे, पानी जाँचलगायतका काम गरिरहेको छ ।
तीजमा कसरी हुँदैछ उपत्यकाको ट्राफिक व्यवस्थापन ?
काठमाडौं । नेपाली महिलाहरुको चाड हरितालिका तीजमा हुने ट्राफिक जामको समस्या समाधान गर्न ट्राफिक प्रहरीले व्यवस्थापन योजना बनाएको छ । ट्राफिक प्रहरीले बिहिबारका लागि तिनकुनेबाट गौशाला हुँदै चक्रपथ परिक्रमा गर्ने सवारी साधनलाई बानेश्वर हुँदै माइतीघर तर्फ लैजाने भएको छ । त्यस्तै, गोपीकृष्णबाट चावहिल हुँदै चक्रपथ आउने सवारी साधनलाई पनि सुकेधाराबाटै फकाईनेछ ।
आरएमडिसीको ८७ हजार कित्ता सेयर लिलामीमा
काठमाडौं । रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड(आरएमडिसी)को ८७ हजार कित्ता संस्थापक सेयर लिलामी हुने भएको छ । नेपाल ग्रामिण विकास बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसीको ८७ हजार ५ सय ६४ दशमलब ७४ कित्ता संस्थापक सेयर मूल्य बढाबढमा लिलामी गर्न लागेको हो । आरएमडिसीको सो सेयर खरिदका लागि भदौ १५ गतेदेखि २३ गतेसम्म प्रति कित्ता न्युनतम ४०१ रुपैंयाँ भन्दा बढि कबोल गरेर आवेदन दिन सकिनेछ । न्युनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिनेछ । आरएमडिसीको सेयर खरिदका लागि एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धक तोकिएको छ ।
माछापुच्छ्रे बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन
काठमाडौं । माछापुच्छ्रे बैंकको हकप्रद सेयरको निष्काशन आजबाट बन्द हुँदैछ । बैंकले जेठ १६ गतेसम्म सेयर खरिद गरेका लगानी कर्ताका लागि १० कित्ता बराबर १ दशमलब २ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । माछापुच्छ्रे बैंकले साउन ५ गतेदेखि एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धक तोकेर हकप्रद सेयर खुल्ला गरेको थियो । आज बैंकिङ समय भित्रै हकप्रद सेयरका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।
महासंघले सुरु गर्यो राहत वितरण, रौतहट, सप्तरी र धनुषा जिल्लामा पठायो राहत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बाढी प्रभावित जिल्लाहरुमा राहत सामग्री पठाउन थालेको छ । महासंघले खाद्यान्न, त्रिपाल, औषधि,पानी लगायतका राहत सामग्री रौतहटको गौर, सुनसरीको इनरुवा, धनुषाको जनकपुरमा पठाएको हो । महासंघले पठाएका ती राहत सामग्रीहरू नेपाल सरकारको स्थानीय दैवि प्रकोप उद्धार समितिको समन्वयमा महासंघको स्थानीय उद्योग वाणिज्य संघहरूले प्रभावित जनताहरूलाई वितरण गर्ने कार्यक्रम छ । ३ वटा ट्रक मार्फत पठाइएका राहत सामग्रीहरूमा प्रति ट्रक १ सय २० वटा बक्स रहेको छ भने प्रत्येक बक्समा चामल २५ केजी, दाल ५ केजी, खानेतेल १ लिटर, गरम मसला १ पाकेट, नुन १ किलो, वाईवाई ३० प्याकेट, नेविको विस्कुट २० प्याकेट, सोयाविन १ किलो, डिटोल सावुन १ पिस, लुगा धुने सावुन १ पिस, पियूस पानी शुद्धिकरण १ पिस, चिनी १ केजी, जीवनजल ५ पाकेट, चिउरा ५ केजी गरी प्रतिपरिवारलाई एक महिनाका लागि खाद्यान्न राखिएको छ । त्यसैगरी महासंघले रौतहट, सुनसरी र धनुषा जिल्लामा औषधि र एम्बुलेन्स सहितको डाक्टरहरूको टीम समेत पठाइसकेको छ । त्यसैगरी त्रिपाल, लत्ताकपडा समेत ती जिल्लाहरूमा यस अघिनै पठाई सकिएको छ । महासंघ र ब्रोडकाष्टिङ एसोसिएसन नेपालको संयुक्त पहलमा बाढी प्रभावित जिल्लाहरूमा जनचेतनामुलक रेडियो संदेश प्रचार प्रसार गरिनुका साथै सामाजिक संजाल, इमेल, फेसवुट, ट्वीटर, गो फण्ड मार्फत अन्तराष्ट्रिय सहयोग परिचालनमा समेत कार्य भैरहेको छ । प्रभावित जिल्लामा महासंघका सदस्य उद्योग वाणिज्य संघहरूले अग्रस्थामा रहेर सहयोग गरीरहेका छन् । महासंघले राहत वितरण कार्यक्रमलाई नियमितरुपमा अझ प्रभावकारी ढंगबाट अगाडी बढाउने योजना समेत बनाएको छ । बाढी प्रभावितहरुको सहयोगार्थ प्रभावकारी ढंगले काम गर्न महासंघले महासंघको सामाजिक सेवा फोरमका सभापति जय प्रसाद सिवाकोटीको संयोजकत्वमा १७ सदस्यीय बाढी पहिरो व्यवस्थापन कार्यदल २०७४ गठन गरी कार्य गरीरहेको छ ।