विकासन्युज

वैकल्पिक ऊर्जाले लघु तथा साना आयोजनाका लागि माग्यो प्रस्ताव

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले चालु आर्थिक वर्षमा लघु तथा साना जलविद्युत आयोजना निर्माणका लागि प्रस्ताव मागेकोे छ । राष्ट्रिय प्रसारणलाइनको पहुँच भन्दा बाहिरका जनतालाई बिजुली सेवा दिनका लागि आवश्यक आयोजना निर्माण गर्न केन्द्रले प्रस्ताव आब्हान गरेको हो । क्षेत्रमा निर्माण निर्माण हुने सामुदायिक वा सहरी वा निजी वा सार्वजनिक निजी साझेदारी स्वामित्वमा आधारित लघु तथा साना जलविद्युत आयोजना निर्माण गर्न इच्छुक प्रवद्र्धकलाई केन्द्रमा सम्पर्क गर्न भनेको छ । पा्ररम्भिक संभाव्यता अध्ययन तथा बिस्तृत संभाव्यता अध्ययन केन्द्रले तोकेको मापदण्ड अनुसार हुनपर्ने केन्द्रले जनाएको छ । साथै, सो सम्बन्धि आवेदन फारम, मापदण्ड केन्द्रको वेभसाइटबाट प्राप्त गर्नुपर्ने जानकारी दिएको छ । इच्छुक प्रवद्र्धकहरुले केन्द्रको स्वस्कृत ढाँचाको आवेदन तथा प्रारम्भिक संभाव्यता अध्ययन प्रतिवेदन पेश गर्नुपर्ने केन्द्रले जाकारी दिएको छ । साथै, प्रवद्र्धक आफैँले केन्द्रले तोकेको मापदण्ड अनुसार बिस्तृत संभाव्यता अध्ययनको प्रतिवेदन तयार गरी अनुदान माग गर्न सकिने व्यहोरा समेत जानकारी गराएको छ ।  

परनिर्भरताले व्यापार घाटा बढेर ९ खर्ब १७ अर्ब पुग्यो, ७ प्रतिशत मात्रै निर्यात

काठमाडौं । मूलुकमा बढ्दो आर्थिक परनिर्भरताका कारण वैदेशिक व्यापारतर्फको घाटा बढेको छ । एक वर्षमा वैदेशिक व्यापार अन्तर्गतको वस्तु व्यापार घाटा ३०.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । निर्यातको तुलनामा आयात धैरैले बढेका कारण व्यापार घाटा बढेको हो । आर्थिक वर्ष २०७३/२०७४ मा व्यापार घाटा बढी ९ खर्ब १७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो व्यापार घाटा दुई प्रतिशतले बढेको थियो । आर्थिक बर्ष २०७४ मा कुल वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि भएको छ । तर आयात भने २८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा ७३ अर्ब पाँच करोड रुपैयाँको निर्यात हुँदा ९ खर्ब ९० अर्बको आयात भएको छ । अर्थात वैदेशिक व्यापारमा निर्यातको अंश करिब ७ प्रतिशत मात्रै देखिएको छ । आर्थिक वर्ष २०७२/२०७३ निर्यातमा १७.८ प्रतिशतले ह्रास आएको थियो । तथापि यस्तो निर्यात आर्थिक वर्ष २०७१÷७२ को ८५ अर्ब ३२ करोड रुपैयाँको स्तरभन्दा न्यून नै छ । गत वर्ष निर्यात–आयात अनुपात ७.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.१ प्रतिशत रहेको थियो । व्यापार घाटा कुल गार्हस्थ उत्पादन (जिडिपी) अनुपात अघिल्लो वर्षको ३१.३ प्रतिशतबाट बढेर गत आवमा बर्षमा ३५.३ प्रतिशत पुगेको छ । एक वर्षमा भारततर्फ ५ प्रतिशत, चीनतर्फ १.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.३ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, जुटका सामान, जि.आई.पाईप लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, ऊनी गलैचा, तयारी पोशाक, पोलिष्टर धागो लगायतका वस्तुहरुको निर्यात घटेको छ । जिडिपीमा कुल वस्तु निर्यातको अनुपात अघिल्लो बर्ष ३.१ प्रतिशत रहेकोमा समीक्षा बर्षमा २.८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा कुल वस्तु आयात २८ प्रतिशतले बढेर ९ खर्ब ९०अर्ब ११ करोड रुपैयाँ पुगेको छ । पछल्लिो वर्ष यस्तो आयात ०.१ प्रतिशतले घटेको थियो । गत वर्ष भारतबाट भएको आयात ३२.८ प्रतिशत, चीनबाट भएको आयात १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटपुर्जा, एम.एस. विलेट, सिमेन्ट लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, ड्राईसेल ब्याट्री लगायतका वस्तुहरुको आयात घटेको छ । कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु आयातको अनुपात अघिल्लो वर्ष ३४.४ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ३८.१ प्रतिशत रहेको छ । अघिल्लो बर्ष १ खर्ब ४० अर्ब ४२ करोड रुपैयाँको उच्च बचतमा रहेको चालू खाता समीक्षा वर्ष वस्तु आयात उच्च दरले बढेको कारण १० अर्ब १३ करोड रुपैयाँले घाटामा गएको छ । निर्यातको तुलनामा आयातमा उच्च वृद्धि भएकोले अघिल्लो वर्ष उल्लेख्य बचतमा रहेको चालू खाता समीक्षा वर्षमा घाटामा गएको हो । त्यसैगरी, अघिल्लो वर्ष १ खर्ब ८८ अर्ब ९५ करोड रुपैयाँले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा वर्षमा ८२ अर्ब १५ करोड रुपैयाँले बचतमा रहेको छ ।  

विश्वास बहुउदेश्यीय सहकारी १९ औं वर्षमा, पूँजी १९ करोड ३४ लाख पुग्यो

काठमाडौं । विश्वास बहुउदेश्यीय सहकारी संस्था १९ औं वर्षमा प्रवेश गरेको छ । राजधानीमा संस्थाले आफ्नो स्थापना दिवस मनाउँदै १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । हालसम्म संस्थाले १९ करोड ३४ लाख सेयर पूँजी संकलन गर्न सफल भएको संस्थाका अध्यक्ष रमेश गौतमले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डेले सरकारले सहकारी संस्थाहरुलाई व्यवस्थित गर्नको लागि सहकारी नीति बनाउँदा विज्ञहरुलाई समेट्नु पर्ने कुरामा जोड दिए । मन्त्री पाण्डेले नीतिनियम बनाउँदा विज्ञलाई नसमेटीएकोले रहेक निकायको नीति फितलो भएको कुरा औल्याए । मन्त्री पाण्डेले सहकारीले जनताको पैंसा जोखिममा पर्न नदिन लगानीको विकल्प खोज्न पनि आग्रह गर्दै सबै निकायको जिम्मेवार सरकार भएकाले सहकारीको समस्यालाई सरकारले नै छलफल गरि निराकरण गर्नुपर्ने बताए । मन्त्री पाण्डेले सरकारले खर्च गरे मात्र जनताको धन बचत र लागानी हुने बताए । मन्त्री पाण्डेले सहकारीको विकासले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको स्पष्ट पार्दै सहकारीको समस्यामा आफु र सरकार पनि जिम्मेवार पूर्वक लाग्ने बताए ।

स्पावेक स्किन केयर नेपाली बजारमा, १३१ देखि १२७८ रुपैयाँसम्ममा उपलब्ध

काठमाडौं । भास्कर ट्रेडिङले कस्मेटिक उत्पादन स्पावेक स्किन केयर नेपाली बजारमा ल्याएको छ । महिला ग्राहकवर्गमा लक्षित यो उत्पादन प्रोडक्टहरु एक सय ३१ रुपैयाँदेखी अधिकतम १२ सय ७८ रुपैयाँसम्म पर्ने कम्पनीले जानकारी दिएको छ । बुधबार चर्चित गायिका इन्दिरा जोशीले यो उत्पादनको उद्घाटन गरेकी हुन् । जापानी कम्पनी कोस कर्पोरेसनको स्पावेक ब्राण्डका उत्पादनहरुमा स्पावेक ह््वाइट्नीङ त्रिपल केयर सेरम एण्ड स्पावेक एज सोलुसन इन्टेन्सिभ सेरम रहेको कस्मेटिक कम्पनीले जानकारी दिएकोे छ । उत्पादित सो प्रोडक्टमा जापानको रेमिनीन्सससेन्ट स्पावेकको सबै प्रोडक्टमा जापानको सहयोग र समुन्द्रको नुन समावेश गरिनुको साथै माइन कस्मेटिक इन्ग्रिडेन्ट समावेश गरिएको कम्पनीले जनाएको छ । स्पावेकले वातावरणका हानिकारक प्रभाव विरुद्ध महिलाको छाला जोगाउने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा भाष्कर ट्रेडिङका निर्देशक विकास पालीके भने, “हाम्रो समन्वय स्पावेकसँग भएकोमा हामी अत्यन्तै गौरवान्वित छौं ।” जापानी प्रविधिबाट निर्मित यो उत्पादन भारतपछि नेपाली बजारमा ल्याइएकाे कम्पनीले जनाएकाे छ ।

काँग्रेस नेता निधि कार्यबाहक सभापति

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई तोकेका छन् । भारतको पाँच दिने राजकीय भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेका सभापति देउवाले भारतबाट फिर्ता नहुँदासम्मका लागि नेता निधिलाई कावा सभापति तोक्नुभएको पार्टी कार्यालयले जनाएको छ । त्यसैगरी सभापति देउवाले आजै नेपाली काँग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा २१ (ठ) बमोजिम हरिप्रसाद नेपाल (पाल्पा) राधेचन्द्र यादव (बारा) र अमृत अर्याल (मोरङ) तथा विधानको धारा २१ (झ) बमोजिम ध्यानगोविन्द रञ्जित (काठमडौं) लाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा काँग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्रराज पाण्डे हृदयराम थानी सदस्य रहेको पार्टी केन्द्रीय अनुशासन समिति समेत गठन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नयाँदिल्ली जानुभएका प्रधानमन्त्री देउवा पाँच दिने राजकीय भ्रमण सम्पन्न गरी यही भदौ ११ गते स्वदेश फर्किनेछन् । रासस

दुई सातादेखि अवरुद्ध विद्युत् सुचारु

भदौ । गुल्मीको मुसिकोट नगरपालिका बामीमा गत दुई सातादेखि अवरुद्ध बनेकोे विद्युत् बुधबार बिहानदेखि सुचारु भएको छ । अविरल वर्षाका कारण दुई साताअघि बामी नजिकै गएको पहिरोले विद्युत् नहर बगाउँदा उक्त क्षेत्रमा लामो समयदेखि विद्युत् सेवा अवरुद्ध बनेको थियो । एक सय ३५ किलोवाट क्षमताको उक्त विद्युत् स्थानीय परोपकार बहुउद्देश्यीय सहकारी संस्था वामीटक्सारद्वारा सञ्चालनमा आइरहेको थियो । विद्युत् सेवा अवरुद्ध बनेपछि त्यस क्षेत्रका एक हजार ८०० भन्दा बढी घरधुरीका उपभोक्ता लामो समयसम्म अध्यारोमा बस्न वाध्य भएका थिए । लामो समयसम्म विद्युत् अवरुद्ध हुँदा मुसिकोट नगरपालिकाको बामी टक्सारलगायत त्यस वरिपरीका बासिन्दाले मोबाइल चार्ज गर्नसमेत पाएका थिएनन् । विद्युत् बन्द भएसँगै नेपाल टेलिकमको जिएसएम, सिडिएमए, ल्याण्डलाइन, वाइम्याक्सलगायत एडिएसएल सेवासमेत ठप्प भएको थियो । दुई सातापछि विद्युत् सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रका बासिन्दा यतिबेला निकै खुसी बनेका छन् । रासस

प्रधानमन्त्रीको भारत भ्रमणपछि थपिँदैछ ५० मेगावाट बिजुली आयात, मोदी र देउवाले संयुक्त शुभारम्भ गर्ने

काठमाडौं । बिहीबारदेखि कटैया–कुसाह अन्तर्गत १३२ केभी क्षमताको दोस्रो प्रसारणलाइनबाट बिजुली आयात हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार दुरनियन्त्रित यन्त्रबाट (स्वीच थिचेर) बिजुली आयातको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । वार्तापछि दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर प्रसारणलाइन सुचारु गर्ने छन् । औपचारिक रुपमा भारतबाट थप ५० मेगावाट बिजुली आउने छ । प्रसारणलाइन निर्माण भएपनि सञ्चालमा ल्याइएको छ्रैन् । कटैया–कुसाह अन्र्तगत अर्को प्रसारणलाइनबाट बिजुली आपूर्ति भइरहेको छ । यो लाइन भारतको सहयोगमा निर्माण भएको हो । यस्तै परवानीपुर–रक्सौल १३२ केभी प्रसारणलाइन पनि सम्पन्न भएको छ । भारतको मोतिहारीमा सवस्टेशनको काम भइरहेकाले केही महिनापछि मात्र सञ्चालनमा आउने छ । यो लाइनबाट पनि ५० मेगावाट आउने छ । हालै भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत विद्युत आदनप्रदान समिति (पीईसी) बैठकले कटैया–कुसाह र परवानीपुर– रक्सौल प्रसारणलाइनबाट गरी थप १ सय मेगावाट बिजुली आयात गर्ने सहमति गरेको छ । आउदो हिउँदमा विद्युतभार कटौती (लोडसेडिङ) हटाउन यी दुई लाइनबाट १ सय मेगावाट बिजुली आयात गर्ने तयारी भएको हो । यो वर्ष ५ सय मेगावाटसम्म बिजुली आयात हुने छ । गत वर्ष ३८५ मेगावाटसम्म बिजुली आयात भएको थियो । गत वर्ष ०७३/०७४ गत वर्ष भारतबाट २ अर्ब १७ करोड ५० लाख ४० हजार युनिट बिजुली आयात भएको छ । अघिल्लो आवमा प्राधिकरणले १ अर्ब ७७ करोड ७६ लाख ८० हजार युनिट बिजुली आयात गरेको थियो । गत आवमा प्राधिकरणले १४ अर्ब २० करोड रुपैयाँ बराबरको बिजुली आयात भएको थियो । गत वर्ष ग्रीड प्रणालीमा उपलब्ध कुल ऊर्जा मध्ये भारतबाट आयातित बिजुलीको हिस्सा बढेर ३४.७६ प्रतिशत पुगेको छ । विद्युत प्राधिकरणको आफनो उत्पादनको ३८.८४ र निजी क्षेत्रको २८.४० प्रतिशत मात्र छ । गत वर्ष विद्युत प्राधिकरणका आफना आयोजनाबाट उत्पादन हुने बिजुली परिमाण ८ प्रतिशत बढेर २ अर्ब ३० करोड ५१ लाख ७० हजार युनिट पुगेको छ । अघिल्लो वर्ष २ अर्ब १३ करोड ३४ लाख ४० थियो । प्राधिकरणले भारतको एनपीटीसी विद्युत व्यापार निगमको ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट १४५ र पीटीसी इन्डिया लिमिटेडको टनकपुरबाट ३५ मेगावाट बिजुली खरिद गरिएको जानकारी दिएको छ । २ सय मेगावाट भन्दा बढी विहार र उत्तरप्रदेशबाट विद्युत आदनप्रदान सम्झौता अनुसार आयात भइरहेको छ ।  

नेको इन्स्योरेन्सको सञ्चालकमा भट्टराई नियुक्त

काठमाडौं । नेको इन्स्योरेन्सको सञ्चालकमा रोहितकुमार भट्टराई नियुक्त भएका छन् । भदौ ६ गते बसेको कम्पनीे सञ्चालक समितिको बैंठकले भट्टराईलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।