विकासन्युज

सुजुकीले ल्यायो ‘डवल मज्जा’ अफर, गाडी खरिदमा ६ लाख रुपैयाँसम्म नगद छुट

काठमाडौं । जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले ‘पर्वोत्सव’ योजना अन्तर्गत ‘डवल मज्जा’ अफर ल्याएको छ । भृकुटीमण्डपमा मंगलबारवाट शुरु भएको नाडा अटो शोको अवसरमा कम्पनीले इग्निस र डिजायर गरी दुई नयाँ मोडलका कार सार्वजनिक गर्दै कम्पनीका सम्पूर्ण गाडीहरुमा ‘डवल मज्जा’ अफर उपलब्ध गराएको हो । नाडा अटो शो मार्फत कम्पनीले स्टल नम्वर एच वानबाट यो सेवा उपलब्ध गराइरहेको छ । यो योजना सुजुकीका देशभरका शोरुमहरुवाट समेत उपलब्ध हुने छ । ‘डवल मज्जा’ अफर अन्तर्गत उपभोक्ताले ६ लाख रुपैयाँसम्म नगद छुट, ५० हजार रुपैयाँ सम्म सटही वोनस, १ लाख रुपौयाँसम्म अतिरिक्त स्क्रयाच कुपन, २ बर्षसम्मकालागि निशुल्क इन्स्योरेन्स सुविधा, रोड ट्याक्स र रजिष्ट्रेशन निशुल्क उपलब्ध गराउने रहेका छन् । यसवाहेक कम्पनीका २०१६ का सम्पूर्ण मोडलहरुमा बिशेष छुट समेत पाउने कम्पनीले जनाएको छ ।

एचटिसीका तीन नयाँ मोडलहरु नेपाली बजारमा, १७ हजारदेखि ७९ हजारमा पाइने

काठमाडौं । नेपालका लागि एचटिसी स्मार्टफोनको एक मात्र आधिकारिक बितरक जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एचटिसी डिजायर ६५०, एचटिसी डिजायर १० प्रो तथा एचटिसी यु ११ बजारमा सार्वजनिक गरेको छ । एचटिसी डिजायर ६५०निलो रंगमा उपलब्ध हुनेछ भने एचटिसी डिजायर १० प्रो गोल्डेन ब्ल्याक रंगमा उपलब्ध हुनेछ । त्यस्तै, एचटिसी यु ११ ब्ल्याक र रेड कलर अप्सनमा उपलब्ध छ । दशैं र तिहारको अवसरमा ग्राहकहरुले प्रतेक एचटिसी फोनहरुको खरिदमा चाँदीको सिक्का निशुल्क प्राप्त गर्नेछन् । एचटिसी डिजायर ६५० एचटिसीको डिजायर ६५०सिरिज सन् २०१७ मा शुरु भएको हो, जसमा नयाँ डिजाईन र सुविधाहरु राखिएको छ । यसको मुख्य विशेषता भनेको ५.० इन्चको आईपिएस एलसीडी क्यपासीटीभ टचस्क्रिन हो, यसमा क्वाड कोर १.६ गीगाहर्ज, ३२ जीबीको रोम र ३ जीबीको र्याम, दुई सिम लाग्ने, १३ मेगापिक्सेलको मुख्य क्यामरा, ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा, झिक्न नमिल्ने ननरिमुभवेल ३००० एमएएचको ब्याट्री, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, पानोरामा तथा मार्शमाल्लो अपरेटिङ सिस्टम राखिएको छ । नेपाली बजारमा यस फोनको मूल्य १७ हजार ८२५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । एचटिसी डिजायर १० यो फोनमा १.८ गीगाहर्जको अक्टा कोर प्रोसेसर युक्त रहेको छ, भने यसमा ४ जीबीको र्याम राखिएको छ । फोनमा आन्तरिक स्टोरेज ६४ जीबीको छ भने फोटोका लागि २० मेगापिक्सेलको मुख्य क्यामरा तथा १३ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । एचटिसी डिजायर १० मा दुई सिम प्रयोग हुन्छ भने ननरिमुभवेल ३००० एमएएचको ब्याट्री, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडिआर, पानोरामा, फिंगर प्रिन्ट तथा एन्टि सेक युक्त छ । नेपाली बजारमा यस फोनको मूल्य २९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । एचटिसी यू ११ यो फोन ५.५ इन्चको सूपर एलसिडी क्यापासिटिभ टच स्क्रीन डिस्प्ले युक्त रहेको छ । फोनमा अक्टा कोर प्रोसेसर युक्त रहेको छ, भने ६ जीबीको र्याम १२८ जीबीको आन्तरिक स्टोरेज रहेको छ । क्यामराको कुरा गर्दा, एचटिसी यू ११ मा १६ मेगापिक्सेलको मुख्य क्यामरा, १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यो फोन ७.१ भर्सनको एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित रहेको छ भने ३,००० एमएएचको ब्याट्री पावर रहेको छ । एचटिसी यू ११ नूगटको फिचर सहित आउँछ भने यसमा स्न्यापड्रागन ८३५, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडिआर र पानोरामा रहेको छ । . बजारमा यसको मूल्य ७९ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

नाडा अटो शोको पहिलो दिनमै १० वटा नयाँ गाडी सार्वजनिक, के के छन् फिचर्स ?

काठमाडौं । नेपाली बजारमा विभिन्न कम्पनीका नयाँ गाडी भित्रिएका छन्। मंगलबार सुरु भएको नाडा अटो शो २०१७ को पहिलो दिनमै १० वटा नयाँ सवारीसाधन ‘लञ्च’ गरिएको हो । शोको पहिलो दिनमा भौतिक पूर्वाधार मन्त्री वीर बहादुर बलायरले गरेका ती दसवटा सवारी साधनको उद्घाटन गरेका हुन् । भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोको अवसर पार्दै धमाधम नयाँ गाडी भित्रिएका हुन्। १ डाट्सनको रेडी गो १.० लिटर नाडा अटो शोमा डाट्सनको नयाँ कार रेडी गो १.० लिटर सार्वजिनक भएको छ । यो कारलाई पायोनियर मोटो कर्प प्रालीले नेपाली बजारमा ल्याएको हो । डाट्सनले रेडी गो दुई वटा मोडलमा लञ्च गरेको हो – रेडि गो टि ‘ओ’ र रेडि गो ‘एस’ । रेडि गो १.० को सुरुवाती मूल्य १९ लाख ७५ हजार रुपैयाँ रहेको छ भने रेडी गो १.० को मूल्य २० लाख २५ हजार रुपैयाँ रहेको छ । नाडा शो अवधीभर दुवै गाडीमा ७५ हजार रुपैयाँ छुट दिइएको छ । ०.९९ लिटरको डिसप्लेसमेन्ट रहेको रेडी गो कारमा ह्विलबेस २३४८ एमएम रहेको छ । यसको न्युनतम ग्राउन्ड क्लियरेन्स १८५ एमएम रहेको छ । यो सिल्भर, ग्रे, रुबी, लाइम र ह्वाइट कलरमा उपलब्ध रहेको छ । २ रिनाल्ट क्विड शोमा रिनाल्टको क्विड लञ्च गरिएको छ । एड्भान्स अटोमोबाइल्स प्रालीले यसलाई सार्वजनिक गरेको हो । एससिई ईञ्जिनबाट सञ्चालिन यो कारले यात्रुलाई प्रत्येक ड्राइभमा मनोरञ्जन प्रदान गर्ने कम्पनीको दाबी छ । यसको बुट स्पेस ३०० लिटर क्षमताको छ । यसको ग्राउण्ड क्लियरेन्स १८० एमएमको छ । ३ हुण्डाईको एलिट आइ २० र एक्ससेन्ट एफएल नाडा अटो शोमा हुण्डाईका दुईवटा नयाँ गाडी लञ्च भएका छन् – एलिड आइ २० र एक्ससेन्ट एफएल । हुण्डाईको आधरिकारिक बिक्रेता लक्ष्मी ग्रुपले दुई नयाँ मोडलका गाडी सार्वजनिक गरेका हुन् ।  एलिट आइ २० आइ २०को स्पोर्ज भेरियन्टको कारको मूल्य ३३ लाख ५६ हजार रुपैयाँ रहेको छ भने आस्टाको ३५ लाख ५६ हजार रुपैयाँ रहेको छ ।  २८५ लिटर क्षमताको बुट स्पेस भएको एलिट आइ २० मा ४५ लिटरको फ्युल ट्यांक क्षमता छ । यसको औसत तौल १५२० केजी रहेको छ । यसको टर्निङ रेडियस ५.२ मिटर छ भने १७० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।  एक्सेन्ट एफएल एक्सेन्ट एफएल दुई वटा भेरियन्टमा उपलब्ध छन् – एस र एसएक्स । एस भेरियन्टको कारको मूल्य ३० लाख ९६ हजार रुपैयाँ छ भने एसएक्स भेरियन्टको ३३ लाख ५६ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । २४२५ एमएम को ह्विलबेस रहेको एक्सेन्टमा १६५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । यसको फ्युल क्षमता ४३ लिटरको छ भने बुट स्पेस ४०७ लिटर रहेको छ । यसको डिस्पेस्मेन्ट ११९७ सिसि रहेको छ । ४ फोर्डको मुस्ताङ   फोर्डको नयाँ उत्पादन मुस्ताङ सार्वजनिक भएको छ । गो अटो मोबाइल्स प्रालीले यसलाई नाडा अटो शोमा सार्वजनिक गरेको हो । हाल यसको बिक्री भने सुरु नगरिएको कम्पनीले जानकारी दिएको छ । ५ स्कोडाको न्यु सुपर्ब टिडिआइ एटी एमएडब्लु इन्टरप्राइजेज प्रालीले नेपाली बजारमा स्कोडाको न्यु सुपर्ब टिडिआइ एटी सार्वजनिक गरेको छ । स्टायल एटी मोडलको १९८६ सिसि डिस्प्लेसमेन्टको यो कारको मुल्य १ करोड १६ लाख रुपैयाँ रहेको छ । २८४१ एमएमको ह्विलबेस रहेको यो कारको ग्राउण्ड क्लियरेन्स १४९ एमएम रहेको छ । कारको कुल तौल २०६० केजी रहेको छ । यसको बुट स्पेस ६३५ लिटरको छ भने पाँच वटा सिटिङ क्यापासिटि छ । ६ महिन्द्राको थार अग्नी इकोरपोरेटेड प्रालीले महिन्द्राको थार लञ्च गरेको छ । महिन्द्रको सिआरडीइ फोरडब्लुडि एसटिडीको मूल्य ३७ लाख ८५ हजार रुपैयाँ रहेको छ । यसको डिस्प्लेसमेन्ट २४८९ सिसि क्षमताको छ भने फ्युल ट्यांक क्षमता ६० लिटर छ । २४३० एमएमको ह्विलबेस रहेको थारको ग्राउण्ड क्लियरेन्स २०० एमएम रहेको छ । यसमा एयर कन्डिसनरका साथै हिटरको पनि सुविधा छ । यो गाडी रातो रेज, फियरी ब्ल्याक, मिस्ट सिल्भर, डायमण्ड ह्वाइट र रक्की बिजमा उपलब्ध छन् । ७ नयाँ प्युगोट ५०८ सांग्रिला मोटर्स प्रालीले प्युगोट ५०८ एल्युर ४ डोर सेडान कार सार्वजनिक गरेको छ । यसको मूल्य ९५ लाख रुपैयाँ रहेको छ । २४० एनएम टर्क क्षमताको यो कारको डिस्प्लेसमेन्ट १५९८ सिसि रहेको छ । यसको फ्युल ट्यांक क्षमता ७२ लिटर रहेको छ । यसको कुल तौल २०४५ केजी रहेको छ । यो कारको ह्विलबेस २८१७ एमएम रहेको छ । ८ सुजुकीको इग्निस बहुप्रतिक्षित कार‘जापानी कम्प्याक्ट एसयूभी’ इग्निस नेपाली बजारमा ल्याएको छ । अरुण इन्टरनेशनल ट्रेडर्सले यो कार मंगलबार नाडा अटो शोको अवसरमा सार्वजनिक गरेको हो । ईग्निस उत्कृष्ट डिजाइन, एण्ड्रोइड अटो र एप्पल कारप्ले रहेको यो कारले स्मार्टफोन अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । कारमा यात्रा गर्ने सबैको सुरक्षालाई विशेष ध्यानमा राखि ईग्निसको निर्माण सुजुकी टोटल इफेक्टिभ कन्ट्रोल प्रविधि (टीइसीटी) प्ल्याटफर्ममा आधारित रहेको छ । कारमै जडान गरिएको ट्याब्लेट, त्यसको लुक, फिल र पोजिसनिङले ईग्निसको स्टाइल निकै आकर्षक बनाइदिएको छ । एण्ड्रोइड अटो, एप्पल कारप्ले र मिरर लिंक सहितको ईन्फोटेनमेण्टको सुविधा कारमै उपलब्धगरिएको छ । यसरी उपलब्धगरिएका सुविधाले नयाँ पुस्ताको यूवालाई आवश्यकताअनुसार स्मार्टफोनको प्रयोग कारमै गर्न सघाव पुर्‍याउँछ । कारमा रहेको २ सय ६५ लिटरको ठूलो बुट स्पेशका कारण यसमाभारी तथा ठूला लगेज समेत सजिलै अटाउन सकिन्छ । साथै अतिरिक्त स्थानको आवश्यकता परेका बेला ६०:४० रियर स्प्लिट सम्म बुटस्पेस बढाउन सकिन्छ । कारमा रहेको हाई आई प्वाइन्टका कारण सहर, हाइवे लगायत स्थानमा समेत आवश्यकता अनुसार कार चलाउन र नियन्त्रण गर्ने सहजता प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले ईग्निसलाई दुई भिन्न ईञ्जिनअप्सनका साथमा उपलब्ध गराएको छ । कारमा पेट्रोल जडित प्रमाणित भीभीटी ईञ्जिन (१.२ लिटर)ले ६ हजार आरपीएम र ४ हजार २ सय आरपीएममा १ सय १३ एनएम टर्क र ६१ किलोवाटको शक्ति उत्सर्जन गर्ने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । ९ सुजुकीको एक्सेस स्कुटर भीजी अटोमोबाइल प्रालीले सुजुकीको नयाँ स्कुटर एक्सेस डिस्क सार्वजनिक गरेको छ । १२५ सिसि डिसप्लेसमेन्ट रहेको यो स्कुटरको मूल्य करिब दुई लाख रुपैयाँ रहेको छ । १० सानयाङको फिडल थर्ड श्रेष्ठ कम्पनी प्रालीले सानयाङको नयाँ स्कुटर फिडल थर्ड सार्वजनिक गरेको छ । नाडा अटो शोमा लञ्च भएको यो स्कुटरको मूल्य दुई लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीले अटो शोदेखि दसैंसम्मका लागि यो स्कुटरमा दस हजार रुपैयाँको छुट दिएको छ । १२५ सिसिको डिस्प्लेस्मेन्ट रहेको यो स्कुटरमा ६.५ लिटरको फ्युल क्षमता छ । १३२० एमएमको ह्विलबेस रहेको यो स्कुटरको अधिकतम टर्क क्षमता १० एनएम रहेको कम्पनीले जानकारी दिएको छ ।

नाडा अटो शोमा नयाँ स्कोडा सुपर्ब सार्वजनिक, मूल्य एक करोड १६ लाख रुपैयाँ

काठमाडौं । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले आफ्नो निकै सफल र रुचाइएको मोडेल सुपर्बको तेस्रो पुस्तालाई १४ नाडा अटो शोमा सार्वजनिक गरेको छ । एमएडब्लुले नाडा अटो शोमा १८०० सीसी भएको स्कोडा सुपर्बको ‘स्टाइल’ भेरियन्टलाई प्रदर्शनीमा राखेको हो । सुपर्बको तेस्रो पुस्ता हालसम्मकै शक्तिशाली भए पनि अत्याधुनिक इन्जिन र सुध्रित एरोडाइनामिक्सका कारण यसको फ्युल इफिसेन्सी ३० प्रतिशतले बढी रहेको छ । स्कोडा सुपर्ब क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, म्याग्नेटिक ब्राउन र बिजनेस ग्रे गरी चार रंगमा उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य एक करोड १६ लाख तय गरिएको कम्पनीले जनाएको छ । निकै स्पेसियस, नविनतम सुरक्षा प्रणाली, आरामदायी फिचर, पावरफुल इन्जिन र ‘सिम्प्ली क्लेभर’ सुविधाले भरिएको सुपर्बले एक पटक फेरि आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको अपेक्षा रहेको छ । स्कोडाको नयाँ कार ‘स्पेसियसनेस र प्राक्टिकेबिलिटी’ जस्ता ब्रान्डको मुख्य विशेषता रहेकाे कम्पनीले बताएको छ  । नयाँ स्कोडा कारमा २.० टिडीआई/१३२ किलोवाट (१७७ पीएस)को इन्जिन रहेको छ । ‘नयाँ सुपर्ब बार स्कोडा ब्रान्ड डिजाइन र इन्जिनियरिङमा निपुण छ भन्ने तथ्यको बलियो प्रमाण हो । ग्राहकले यसमा अतुलनीय प्रविधि, र अद्वितीय सुरक्षा व्यवस्था र आरामदायी सुविधाको अनुभव गर्न पाउनुहुनेछ,’ स्कोडा एमएडब्लुका चिफ जेनेरल म्यानेजर सुरज मानन्धरले भने, ‘हाम्रा ग्राहकको विश्वास हाम्रो सबैभन्दा बलियो आधार हो । नयाँ सुपर्बले यो विश्वासलाई अझ मजबुत बनाउनेमा हामी विश्वस्त छौं ।’ स्कोडा एमएडब्लुले सुपर्बमा चार वर्षको अवधि वा एक लाख किलोमिटरसम्म वारेन्टी दिने घोषणा समेत गरेको छ । सुपर्बको इन्टेरियर र एक्सटेयरियरमा क्रिस्टलाइन डिजाइन ल्याङवेजलाई पछ्याएको छ । यसको बडी म्याकफर्सन फ्रन्ट स्टर्ट र मल्टी–लिंक एक्सलमा निर्माण गरिएको छ जसले चुनौतीपूर्ण अवस्थामा पनि सन्तुलनलाई ग्यारेन्टी गर्छ । कम्पनीका अनुसार नयाँ सुपर्बमा मल्टि–कोलिन ब्रेकसहितको इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, , इलेक्ट्रिोनिक टायर प्रेसर मोनिटरिङ, आठ वटा एयर ब्याग, फास्टेनिङ एलर्ट जडान भएको पाँच वटा थ्रि–प्वाइन्ट सिट बल्ट, इलेक्ट्रिोनिक डिफेरेन्सियल लक सुविधा भएको एक्सडीए प्लस जस्ता सुरक्षा व्यवस्था राखिएका छन् । साथै, यसमा नविनतम लाइटिङ सिस्टम, बएएफएस फंक्सन र लि डेलाइट रनिङ लाइट भएको बाइ–जेनन ल्याम्प पनि रहेको छ जसले रातिको समयमा गाडी चलाउन निकै सहज पार्छ । यसमा सेग्मेन्टकै सबैभन्दा ठूलो बुट (६२५ लिटर) रहेको छ । साथै, यसमा इनबिल्ट रियर भ्यु क्यामेरा मात्र होइन पुरानो शैलीको ह्यान्ड ब्रेकलाई हटाएर अटोमेटिक इलेक्ट्रोमेकानिकल पाकिङ बै्रक जडान गरिएको छ । नयाँ स्कोडा सुपर्बमा थ्रि जोन एयर कन्डिसनिङ छ जसले कारभित्र एकै नासको तापक्रम कायम गर्छ । यो कारमा इलेक्ट्रिोनिक पनोरमिक ग्लास रुफ, अक्जिलरी हिटिङ, वायरलेस हिटेड विन्ड स्क्रिन, हिटेड वासर जेट जस्ता फिचर पनि रहेका छन् । साथै, ड्राइभिङ कम्फोर्टको लागि यो गाडीमा रेन/लाइट सेन्सर वाइपर राखिएको छ । मोबाइल फोनलाई मिरर लिंक/एप्पल कारप्ले वा एन्ड्रोइड अटोमार्फत कारको सिस्टममा जोड्न सकिन्छ । यसमा ६.५ इन्चको टच स्क्रिन समेत रहेको छ । स्कोडाको नयाँ कारमा यात्रालाई आरामदायी बनाउन २९ वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन । पछाडिको सिटमा ट्याब्लेट होल्डर, अगाडि जम्बो बक्स, युएसबी पोर्ट र २३० भोल्टको सकेट पनि रहेको कम्पनीले बताएको छ ।

स्वदेशमा मलखाद उत्पादन गर्न कारखाना स्थापना हुदै

काठमाडौं । कृषि विकासमन्त्री रामकृष्ण यादवले नेपालमै रासयनिक मलखाद उत्पादन गर्नका लागि कारखाना स्थापनको तयारी भएको बताएका छन् । स्वदेशमा कारखाना नहुँदा मलखाद खरिदमा वर्षेनी अर्बौ रुपैयाँ विदेशिएको भन्दै उनले यसलाई रोक्न सरकारी तवरबाट मलखाद कारखाना स्थापना हुन लागेको जानकारी दिए । कृषि उत्पादन बढाउन गोठे प्राङ्गगारिकसँगै रासायनिक मलको अति आवश्क रहेको उनले बताए । “मुलुकमा ७ लाख २३ हजार मेट्रिक टन रासायनिक मलको आवश्यक रहेपनि सरकारी तवरबाट साढे ३ लाख मेट्रिक टन मलमा अनुदान दिइएको छ,” मन्त्रीयादवले भन्नु भने “मुलुकमा रासायनिक मलखादको कारखाना नहुँदा वर्षेनी अरबौ रुपैयाँ बाहिरिएको छ ।” मन्त्रीयादवले मुलुकमा मागको ६० प्रतिशत मल सरकारी र बाँकी गैरकानुनी तवरबाट आयात भइरहेको बताए । कृषि र मलखाद एक अर्काेको परिपुरक भएकाले पनि उत्पादन बढाउनका लागि मलखाद आवश्यक पर्ने भन्दै मन्त्री यादवले यसको विस्तारको लागि लागिरहेको बताए । यता निजी व्यवसायीले पनि रासायनिक मलको कारोबार गर्न पाउनुपर्ने माग गरेका छन् । हाल सरकारले सहकारी संस्थाबाट वितरण गदै आएको रासायनिक मललाई निजी व्यवसायीले पनि बेच्न पाउनुपर्ने उनीहरुको भनाई छ । मलखाद व्यवसायी संघ नेपालको राजधानीमा भएको महाधिवेशमा व्यवसायीले सहकारी सरह निजी व्यवसायीले पनि मल बेच्न पाउने व्यवस्था हुनुपर्ने बताएका हुन ।  कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट्र टे«डिङ्ग कर्पाेरेशनले रासायनिक मल आयात गरी सहकारीमार्फत किसानलाई वितरण गदै आएका छन् । मन्त्रालयका सहसचिव डा. योगेन्द्र कार्कीले खाद्यान्न उत्पादन बढाउन सिचाई, उन्नत बीउ, प्रविधिसँगै मलखादको पनि अति आवश्यक रहेको बताए । खाद्यान्न उत्पादन भएमात्र ग्रामीण अर्थतन्त्र सुधार हुन सक्ने भन्दै उनले यसका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । मल, बीउ,प्रविधिलाई तालमेल गर्न सके कृषि क्षेत्रको आधुनिकरण र व्यवसायीकरण नभई उत्पादकत्व बृद्धि हुन नसक्ने भन्दै सहसचिव कार्कीले कृषिको व्यवसायिकरण गर्न १ खर्ब ३० अर्ब रुपैयाँ लागतमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना सञ्चालन गरिएको बताए । मलखाद व्यवसायी संघ नेपालका अध्यक्ष चन्द्रकान्त डल्लाकोटीले सरकारले निजी व्यवसायीलाई पनि रासायनिक मलको विक्रि गर्न पाउनुपर्ने बताए । कृषिलाई चाहिने १६ तत्व मध्ये युरिया, डिएपी र पोटास सरकारले अनुदान दिएपनि बाँकी तत्वहरु निजी व्यवसायीले विक्रि गरिरहेकाले निजी क्षेत्रलाई पनि रासायनिक मल विक्रि खुला गर्नुपर्ने उनको भनाई छ ।  

दशैंको अवसरमा टाटाले ल्यायो नयाँ योजना, कार खरिदमा १० तोलासम्मको सुन उपहार

काठमाडौं । नेपालका लागि टाटा मोटरका अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ्गले चाडपर्वको अवसर पारेर आफ्नो नयाँ योजना “दशैंमा १० सै तोला” नेपाली बजारमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टाटा कारको खरिदमा १० तोलासम्मको पक्का सुन प्राप्त गर्नेछन् । बिक्रि, सेवा र स्पेयर पार्टस्मा नेपालकै सबै भन्दा ठूलो संजाल रहेको सिप्रदी ट्रेडिङ्गले टाटा कारहरु स्ट्रोम, बोल्ट, टियागो र जेस्टको खरिदमा ग्राहकहरुलाई क्रमशः १० तोला, ७ तोला, ६ तोला र ५ तोला पक्का सुन उपहार स्वरुप प्रदान गर्नेछ । त्यसैगरी, टाटा टिगोरको खरिदमा ग्राहकहरुले १ तोला सुन प्राप्त गर्नुका साथै ९.९९ प्रतिशतको न्यूनतम ब्याजदरको सरल कर्जामा समेत उक्त कार खरिद गर्न सक्नेछन् ।

बीमा कार्यक्रम थप सात जिल्लामा विस्तार हुँदै, हेरौँ कहाँ कहाँ हुँदै छ ?

काठमाडौं । स्वास्थ्य मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रममा रहेको स्वास्थ्य बीमा कार्यक्रम आगामी असोज महिनादेखि थप सात जिल्लामा लागू हुने भएको छ । चालू आवको नीति तथा कार्यक्रममा सो कार्यक्रम क्रमशः सबै जिल्लामा सञ्चालनमा ल्याउने उल्लेख छ । झापा, सुनसरी, सोलुखुम्बु, सिन्धुली, रोल्पा, बर्दिया र सुर्खेत जिल्ला समेटिएपछि योसँगै सो कार्यक्रम लागू हुने जिल्लाको संख्या २२ पुगेको छ । बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले छनोटमा परेका जिल्लामा कार्यक्रम कार्यान्वयन गर्न काम भइराखेको जानकारी दिए । आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकारलाई कार्यान्वयनमा ल्याउन सो कार्यक्रम महत्वपूर्ण मानिन्छ । यसै कुरालाई ध्यान दिई स्वास्थ्य मन्त्रालयले विसं २०७२ चैतदेखि कैलाली जिल्लाबाट सो कार्यक्रम प्रारम्भ गरेको थियो । निर्देशक डा लोहनीका अनुसार बीमा कार्यक्रममाा आबद्ध प्रतिपरिवार (पाँचजनासम्म)ले वार्षिक रुपमा दुई हजार ५०० रुपैयाँ प्रिमियम तिर्दा ५० हजार रुपैयाँसम्मको उपचार व्यहोर्ने व्यवस्था छ । पाँचजनाभन्दा बढीको परिवारका सदस्य भएमा प्रतिव्यक्ति थप ४२५ तिनुपर्ने र थप १० हजार रुपैयाँका दरले उपचार खर्च बढ्दै जाने छ । हाल सो कार्यक्रम कैलाली, बागलुङ, इलाम, बैतडी, अछाम, पाल्पा, कास्की, म्याग्दी, चितवन, मकवानपुर, गोरखा, तनहुँ, जुम्ला, जाजरकोट र भक्तपुरमा सञ्चालित छ । रासस

चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती

काठमाडौं । काठमाडौं उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक किनारमा राखिएका पोल सार्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले मंगलबार केही स्थानमा विद्युत् कटौती गरेको छ । प्राधिकरणका अनुसार आज दिनभरजसो महाराजगञ्ज वितरण केन्द्र मातहतका सबै स्थानमा विद्युत् कटौती गर्न लागिएको हो । ट्राफिक प्रहरीले अभियानका रुपमा नै अगाडि बढाएको चक्रपथ सुधार तथा विस्तार कार्यमा प्राधिकरणको पोलले अवरोध गरेपछि त्यसलाई हटाउन ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनालले पोल हटाइदिन प्राधिकरणलाई आग्रह गरेका थिए । सडक विस्तार तथा चक्रपथ सुधार कार्यलाई व्यवस्थित बनाउन सहयोग गर्ने लक्ष्यका साथ आज दिनभर विद्युत् कटौती गर्न लागिएकाले आज दिनभर महाराजगञ्ज क्षेत्र प्रभावित हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार टोखा रोड ग्राण्डी, गंगालाल र न्यूरो अस्पताललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ । यस्तै सामाखुसी चोक, टोखा रोड, टोखा बजारलगायत फिडरबाट वितरण भएका विद्युत्समेत कटौती हुनेछ । त्यसैगरी चक्रपथ चोक, धापासी, वसुन्धारा चोक आसपासका क्षेत्रमा समेत विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । रासस