बाढीपीडितलाई आइएमई फाउन्डेशनद्वारा राहत वितरण
काठमाडौं । साउनको अन्तिम साताआएको अविरल वर्षाका कारणले प्रभावित पूर्वी तराईका विभिन्न स्थानमा आइएमई फाउन्डेशनले प्रभावितहरुको लागि राहत वितरण गरेको छ । बाढीपहिरोले पीडित घर परिवारको दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न–लत्ताकपडा लगायतका सामग्रीहरु आइएमई फाउन्डेशन केन्द्रीय कार्यालयबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यावसायिक साझेदारहरुले स्थानीय दैवीप्रकोप उद्घार समन्वय समितिको रोहबरमा वितरण गरेका हुन् । आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अविरल बर्षाका कारण घरबार विहीन हुनपुगेका पूर्वी तराईका प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गत साउन ३० गते गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि केन्द्रीय तहमा तीन सदस्यीय कार्यदल गठन गरी कार्यालयमा कार्यरत बरिष्ठ अधिकृतहरुलाई सम्बन्धित स्थानमा जिम्मेवारी तोकी पठाइसकिएको छ । आइएमई फाउन्डेशन मिति २०६६ सालमा दर्ता भएको संस्था हो । आइएमई ग्रुपलेसंस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलाप यही फाउन्डेशनमार्फत् गर्दैआएको छ ।
भदौ १६ गतेदेखि सुपथ मूल्यका पसल सञ्चालन हुदै, चिनीमा ५ र चामलमा १० रुपैयाँ छुट दिने
काठमाडौं । सरकारले विगत वर्ष जस्तै दशै र तिहार लगायतका प्रमुख चाडपर्वलाई लक्षित गर्दे भदौ १६ गतेदेखि छठसम्म देशभरी सहुलियत पसल सञ्चालन गर्ने भएको छ । आपूर्ति मन्त्रालय अन्तर्गका साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, नेपाल खाद्य संस्थानले दशै र तिहारमा सहुलियत दरमा नून, चिनी, चामल लगायतका दैनिक उपभोग्य वस्तु सहुलियतमा बिक्री गर्ने भएका हुन् । आयल निगमले पेट्रोलियमको आपूर्ति सहज गर्ने भएको छ । आगामी चाडपर्वमा उपभोक्ताको सहजताका लागि विभिन्न संस्थानमार्फत सहलियतमा दैनिक उपभोग्य वस्तु बिक्रीबितरण गर्न लागिएको आपूर्तिसचिव प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार यसपाली खाद्य संस्थानले उपत्यकाका ११ स्थान तथा मूलुकभरका गोदामबाट सहुलियत दरमा खाद्यान्न बिक्री गर्ने भएको छ । साल्ट ट्रेडिङले उपत्यकाका ९ स्थान तीन वटा घुम्ति पसलबाट सेवा दिनेछ । साल्ट ट्रेडिङले उपत्यका बाहिर ३६ स्थानमा सहुलियत पसल चलाउने मन्त्रालयले जानकारी दिएको छ । साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो २ र चिनीमा प्रतिकिलो ५ रुपैयाँसम्म छुट दिने मन्त्रालयका उपसचिव उर्मिला केसीले बताइन् । खाद्य संस्थानले बिक्री गर्ने बासमती चामल र फापरको पिठोमा प्रतिकिलो १० रुपैयाँका दरले छुट दिने उनले जानकारी दिइन् । मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइने छ । खाद्य संस्थानले बिक्री गर्ने खसी बोका तथा च्यांग्रामा पनि प्रतिकिलो १० रुपैयाँसम्म छुट दिने उनले बताइन् । संस्थानले पश्चिम नेपालबाट १ हजार ५ सय खसीबोका र मुस्ताङबाट १ हजार च्याङ्ग्रा गरेर २ हजार ५ सय साना चौपाया ल्याउने तयारी गरेको छ । चाडपर्वको अवसर पारेर दैनिक उपभोग्य सामानमा कालोबजारी तथा कृत्रिम अभावलाई निरुत्साहित गर्न सहुलियत पसल सञ्चालन गर्न लागिएको केसीले जानकारी दिइन् । प्रत्येक वर्ष संस्थानहरुले उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उलपब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालन गर्दै आएको छ । यसपाली पनि बजारमा कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न कार्यक्रम ल्याउने उनले बताइन् । आयल निगमले दसैं तिहारमा पेट्रोलियम आपूर्तिमा कुनै समस्या नआउने जानकारी दिएको छ । दुध तथा दहीका लागि छलफल गर्ने तयारी चलिरहेको सचिव राईले जानकारी दिए ।
लुम्बिनी बिकास बैंकको टोखा शाखामा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले आफ्नो टोखा शाखामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले शनिबार लायन्स क्लब इन्टरनेसनल तथा स्थानिय सामाजिक संस्थाहरुसंगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरी कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा ७० जनादाताहरुले रक्तदान गरेका थिए । विकास बैंकले यस कार्यलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लिएको र आगामी दिनहरुमा समेत यस्ता प्रकारका सामाजिक कार्य गर्दै जाने बैंकले जनाएको छ । कार्यक्रममा बैैकका कर्मचारी बर्ग, क्लबका सदस्यहरु, सामाजिक संस्थाका प्रतिनिधीहरु एवं स्थानिय ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सिद्धार्थ बैंकको ‘मेरो शेयर खाता’ सञ्चालनमा, वार्षिक ब्याजदर ६ प्रतिशत
काठमाडौं । सिद्धार्थ बैंकले ‘सिद्धार्थ मेरो शेयर खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले आश्बा मार्फत आइपीओ एफपिओमा आवेदन गर्न इच्छुकहरुका लागि उक्त खाता सञ्चालनमा ल्याएको हो । यस बचत खातामा ग्राहकले ६ प्रतिशत वार्षिक ब्याजदर प्राप्त गर्नेेछन् । बैंकका अनुसार ‘मेरो शेयर खाता’ बाट सरल र सुरक्षित तरिकाले शेयर बजारमा लगानी गर्ने सकिनेछ । बैंकले ‘मेरो शेयर खाता’ मा निःशुल्क अनलाइन आश्बा एप्लिकेशन, निःशुल्क डिम्याट खाता, सिडीएसको अनलाइन एप्लिकेशन र डिम्याट खाताको वार्षिक शुल्कमा छुट प्रदान गरेको छ । साथै, बैंकले पाँच लाख रुपैयाँ सम्मको निःशुल्क दुर्घटना विमा लगायतका अन्य धेरै बैंकिङ्ग सुविधाहरु प्रदान गरेको छ । यो खाता खोल्न आफुलाई पाएक पर्ने सिद्धार्थ बैंकको शाखाहरु तथा सिद्धार्थ क्यापिटल, नारायणचौर नक्सालमा समेत सम्पर्क राख्न सकिनेछ । सिद्धार्थ बैंकले हाल नेपालभर रहेका आफ्ना ७५ शाखा, २ एक्स्टेन्सन काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ सेवा र ४५० भन्दा बढी पीओएस् मार्फत् ग्राहकहरुलाई उच्चस्तरिय बैंकिङ सेवा प्रदान गरी आएको छ ।
सेञ्चुरी बैंकको नयाँ शाखा बाजुराको मार्तडीमा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ शाखा बाजुराको मार्तडीमा सञ्चालन गरेको छ । बैंकले देशको सुदुरपश्चिम भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ सो स्थानमा एटिएम सहितको शाखा कार्यालय आइतबारबाट सञ्चालनमा ल्याएको हो । बैंकले ४० प्रतिशत हकप्रद शेयरको बिक्री गदैंछ भने निकट भविष्यमा नै अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्ससँग एकीकृत कारोबार गर्दैछ । सम्पूर्ण प्राप्तीहरु, हकप्रद तथा चालु आ.व.को मुनाफाबाट सेञ्चुरी बैंकले तोकिएको ८ अर्ब रुपैयाँ पुँजी पुर्याउदै छ । एकीकृत कारोबार पश्चात् देशभर सेञ्चुरी बैंकको शाखाहरु ९० वटा हुनेछन् ।
सोमबारदेखि सवारी साधनमा विद्युतीय नम्बर प्लेट
काठमाडौं । यातायात व्यवस्था विभागले सोमबारदेखि सवारी साधनमा विद्युतीय (इम्बोस्ड) नम्बर प्लेट राख्न शुरु गर्दैछ । इम्बोस्ड नम्बर प्लेट राष्ट्रपति, सरकारी, व्यावसायिक र निजी गरी चार प्रकारका हुनेछन् । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राखेपछि सवारी चोरी हुने समस्या र अपराधका काममा प्रयोग हुने घटना रोकिने विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी िदए । “इम्बोस्ड नम्बर प्लेट चम्किलो हुने भएकाले टाढैबाट देखिन्छ, यो नं प्लेट भएका सवारी कहाँ के गर्दैछन् भन्ने पहिचान गर्न उपत्यकाका पाँच नाका र उपत्यका बाहिर पाँच स्थानमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ केन्द्र स्थापना गरिनेछ”–उनले भने । केन्द्रबाट यो नं प्लेट भएका सवारी कहाँ के गर्दै छन् भन्ने जानकारी लिन सकिन्छ । सवारीमा विद्युतीय नं प्लेट राखिसकेपछि दुर्घटना भएमा छिटो पहिचान गरी उद्धार गर्न सकिन्छ । यसका लागि अमेरिका र बंगलादेशको संयुक्त डेटाटोर टाइगर आइटी कम्पनीलाई ठेक्का दिइएको विभागले जनाएको छ । पाँच वर्षमा २५ लाख सवारी साधनमा विद्युतीय नं प्लेट राख्ने विभागको योजना छ । यो नं प्लेट राख्न ठूला चारपांग्रे सवारीका लागि ३ हजार ६००, मझौला चारपांग्रे सवारीका लागि ३ हजार २००, ट्याम्पो, रिक्सालगायत तीनपांग्रे सवारीका लागि २ हजार ९०० र मोटरसाइकललगायत सवारीका लागि २ हजार ५०० रूपैयाँ दस्तुर तोकिएको छ । सोमबार बिहान विभागमा आयोजना हुने विशेष कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सवारीमा इम्बोस्ड नं प्लेट राख्ने कामको शुभारम्भ गरने कार्यक्रम छ ।
तीन कम्पनीको दुई करोड बढी कित्ता हकप्रद सूचिकृत, सबैभन्दा बढी एसबिआई बैंकको
काठमाडौं । आइतबार मात्रै तीन कम्पनीको दुई करोड सात लाख बढी कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । एकै दिन एसबिआई बैंक, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । आइतबार सूचिकृत मध्ये सबैभन्दा बढी एसबिआई बैंकको हकप्रद सेयर सूचिकृत भएको छ । सो बैंकको एक करोड ९९ लाख १९ हजार ४२३ कित्ता हकप्रद सूचिकृत भएको हो । त्यस्तै, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको एक लाख ७ हजार ९४९ कित्ता र ज्योति विकास बैंकको ७ लाख ७२ हजार ०४७ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।
मन्त्रिमण्डल विस्तार, आठ राज्यमन्त्री थपिए
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् ।उनले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गरेका हुन् । प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आज विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्री छन् । मोहम्मद जाकिर हुसेन ९महिला, बालिकालिका तथा समाज कल्याण, रामसिंह यादव स्वास्थ्य, श्यामकुमार श्रेष्ठ ९गृह०, शम्भुलाल श्रेष्ठ ऊर्जा, कर्णबहादुर विक आपूर्ति, छमबहादुर गुरुङ सहरी विकास, गोमा कुँवर पशुपक्षी विकास र ओङ्दी शेर्पाले सामान्य प्रशासन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । उनीहरु सबै नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री देउवाले उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराए । सपथपछि नवनियुक्त राज्यमन्त्रीलाई माला र खादालगाएर प्रधानमन्त्री देउवाले स्वागत अभिवादन गर्नुभएको थियो । रासस