७ देशका ५५० अन्तर्राष्ट्रिय इभेन्ट व्यवस्थापक काठमाडौंमा
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय माइस (मिटिङ, इन्सेन्टिभ्स, कन्फेरेनेन्स तथा एक्जिविसन) तथा डेस्टिनेशन वेडिङ पर्यटन बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेको छ । भारतको अग्रणी इभेन्ट तथा वेडिङ उद्योगको संस्था इभेन्ट व्यवस्थापक महासंघ (इएमएफ) ग्लोबलले आफ्नो १३औँ ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड२०२६ पहिलो पटक नेपालमा आयोजना हुँदैछ । ईएमएफ ग्लोबलका संस्थापक अध्यक्ष जयदिप मेहताले यही साउन १५ देखि १७ गतेसम्म काठमाडौंस्थित द सोल्टी होटलमा हुने सम्मेलनमा भारतसहित विभिन्न ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुनेछन् । सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ‘गनेस’ले गर्ने कार्यक्रम रहेको छ । नेपालमा आयोजना हुन लागेको यो सम्मेलनलाई पर्यटन क्षेत्रले उच्च मूल्यका पर्यटक (हाई-भ्यालु टुरिस्ट) आकर्षित गर्ने तथा नेपाललाई अन्तर्राष्ट्रिय सम्मेलन, प्रोत्साहन भ्रमण, लक्जरी वेडिङ र ठूला व्यवसायिक कार्यक्रमहरूको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ । सम्मेलनमा सहभागी प्रतिनिधिहरूले काठमाडौंसँगै पोखरा, जनकपुर, चितवनलगायतका प्रमुख पर्यटन गन्तव्यहरूको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ । यसबाट नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, लक्जरी आतिथ्य सेवा तथा पर्यटन पूर्वाधारलाई अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष रूपमा प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । करिब १५ वर्षअघि स्थापना भएको ईएफमएफ ग्लोबल भारतको इभेन्ट, वेडिङ तथा एक्सपेरिएन्सियल उद्योगको सबैभन्दा प्रभावशाली संस्था भएको पनि अध्यक्ष महेताको दाबी छ । संस्थाले वार्षिक रूपमा आयोजना गर्ने एएमएफ ग्लोबल कन्भेन्सन विश्वका विभिन्न पर्यटन गन्तव्यमा हुँदै आएको छ । प्रत्येक संस्करणले आयोजक मुलुकलाई अन्तर्राष्ट्रिय वेडिङ, कर्पोरेट इभेन्ट तथा माइस बजारमा नयाँ सम्भावनासहित परिचित गराउँदै आएको छ । संस्थापक अध्यक्ष डा. मेहताले नेपाल हिमाली सौन्दर्य, समृद्ध सांस्कृतिक सम्पदा, आध्यात्मिक आकर्षण, स्तरीय होटल पूर्वाधार तथा भारतसँगको सहज पहुँचका कारण दक्षिण एसियाकै उत्कृष्ट डेस्टिनेशन वेडिङ र माइस पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताए । उनका अनुसार नेपालमा सम्मेलन आयोजना गर्नुको उद्देश्य भारतीय तथा अन्तर्राष्ट्रिय इभेन्ट उद्योगलाई नेपालको सम्भावनासँग प्रत्यक्ष जोड्नु, सीमापार व्यावसायिक सहकार्य विस्तार गर्नु तथा नेपालको पर्यटन प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्याउनु हो । सम्मेलनमा अन्तर्राष्ट्रिय स्तरका व्यवसायिक नेटवर्किङ, गन्तव्य प्रस्तुति, उद्योग प्रदर्शनी, ज्ञान आदानप्रदान तथा अवार्ड आयोजना हुनेछन् । साथै बलिउड कलाकार शिल्पा शेट्टी, शक्ति कपूर, विक्रान्त मेसी तथा नेपाली अभिनेत्री मनीषा कोइरालाको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ । यस किसिमका अन्तर्राष्ट्रिय सम्मेलनले होटल, रिसोर्ट, ट्राभल कम्पनी, इभेन्ट व्यवस्थापन, यातायात, सांस्कृतिक प्रस्तुति, स्थानीय उत्पादन तथा सेवा क्षेत्रमा प्रत्यक्ष आर्थिक गतिविधि सिर्जना गर्नुका साथै नेपाललाई भविष्यमा अन्तर्राष्ट्रिय सम्मेलन, कर्पोरेट कार्यक्रम, प्रोत्साहन भ्रमण तथा गन्तव्य विवाहका लागि विश्व बजारमा प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने नेपाल पर्यटन बोर्डका पूर्व पदाधिकारी नन्दिनी लाहे थापाले बताएकी छन् ।
मोरङमा शुक्रबार सद्भाव र्याली निकालिने
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका कारण उत्पन्न परिस्थितीलाई न्यूनीकरण गर्न सद्भाव र्याली निकाल्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा बिहीबार (आज) बसेको सर्वपक्षीय बैठकले आमनागरिक सम्मेलित सद्भाव र्याली निकाल्ने निर्णय गरेको छ । शुक्रबार अपराह्न ३ः०० बजे निकालिने र्‍यालीमा सबै राजनीतिक दल, नागरिक सामाज, धार्मिक तथा सामाजिक सङ्घसंस्था, सञ्चारकर्मी, युवा, व्यापारिक वर्ग, विभिन्न धार्मिक समुदायलगायत सहभागिता रहने जनाइएको छ । सो र्याली महेन्द्र चोकदेखि, ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर, वडा प्रहरी कार्यालय (क) हुँदै जिल्ला प्रशासन कार्यालय मोरङ आगाडि डाँफे चोकसम्म जानेछ । त्यसैगरी बैठकले साउन १० गते देवानगञ्जमा दुई धर्मावलम्बी समुदायबीच भएको विवादका कारण उक्त घटनामा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घटनामा घाइते भई उपचारमा रहेका व्यक्तिहरूको शीघ्र स्वास्थ्य उपचारका लागि अस्पताल प्रशासनसँग समन्वय गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक सद्भाव विथोलिने खालका कुनै घटना, सूचना तथा अवस्था देखिएमा सबैले त्यस्ता विषयको सूचना समन्वय गर्ने र सामाजिक र धार्मिक सद्भाव कायम राख्न सबैले आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्ने निर्णय गरेको छ ।
सिरहाको गोलबजार घटना छानबिन गर्न प्रदेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन
काठमाडौं । सिरहाको गोलबजारमा गोली लागेर स्थानीय एक व्यक्तिको मृत्यु भएपछि घटनाको छानबिनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन टोली गठन गरेको छ । बिहीबार दिउँसो गोलबजारमा भएको उक्त घटनामा परी स्थानीय गणेश यादवको ज्यान गएको थियो । घटना कसरी र कसको संलग्नतामा भयो भन्नेबारे सत्यतथ्य पत्ता लगाउन मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको कमान्डमा समिति गठन गरिएको हो । गठित छानबिन समितिमा प्रहरी निरीक्षक (इन्सपेक्टर) यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक (असई) गोविन्द झा सदस्य रहेका छन् । टोलीले घटनाबारे सूक्ष्म अध्ययन तथा छानबिन सुरु गरिसकेको जनाइएको छ ।
कप्तानगन्ज घटनाप्रति महासंघको ध्यानाकर्षण, निष्पक्ष छानबिन र शान्ति सुव्यवस्थाको माग
काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिकास्थित कप्तानगन्जमा गत साउन १० गते दुई पक्षबीच भएको विवाद र झाडपपछि उत्पन्न परिस्थितिलाई लिएर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले जारी गरेको विज्ञप्तिमा घटनामा परी ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । साथै, झडपमा घाइते भएका सर्वसाधारण र शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको औषधोपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ । महासंघले कुनै पनि असन्तुष्टि, मतभेद वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने भन्दै सामाजिक तथा साम्प्रदायिक सद्भाव खलल पुर्याउने गतिविधि नगर्न सबै नागरिक, धार्मिक तथा सामाजिक व्यक्तिलाई अपिल गरेको छ । कुनै पनि प्रकारको उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न महासंघले आग्रह गरेको छ । यसैगरी, महासंघका विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न, पीडित पक्षलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरूको निशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ । सुनसरीको घटनाका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत विभिन्न जिल्लाहरूमा विरोधका कार्यक्रमहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै महासंघले शान्ति सुव्यवस्था कायम गरी सार्वजनिक यातायात निर्बाध रूपमा सञ्चालन हुने वातावरण बनाइदिन तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज, आम सञ्चार माध्यम र सम्बद्ध सबै पक्षहरूसँग अनुरोध गरेको छ ।
शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै घटेका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । चेम्बरले वर्तमान परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रह गरेको छ । चेम्बरद्वारा बिहीबार (आज) जारी वक्तव्यमा नेपाल विभिन्न धर्म, संस्कृति तथा समुदायबीचको आपसी सम्मान, सद्भाव र सहअस्तित्वको भावनामा आधारित राष्ट्र भएको उल्लेख गर्दै यही विविधता देशको सबैभन्दा ठूलो शक्ति रहेको जनाएको छ । चेम्बरले सामाजिक सद्भाव र सहिष्णुताको संरक्षण तथा प्रवर्द्धन गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको जनाएको छ । चेम्बरले संवेदनशील परिस्थितिमा अफवाह, भ्रामक सूचना तथा कुनै पनि प्रकारका हिंसात्मक गतिविधिबाट टाढा रहन नागरिकलाई अपिल गरेको छ । वक्तव्यमा कुनै पनि असहमति वा मतभेद मानव जीवन, सामाजिक सद्भाव र राष्ट्रिय एकताभन्दा ठूलो हुन नसक्ने उल्लेख गरिएको छ । नेपाल चेम्बर अफ कमर्सले शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, प्रतिपक्षी दल तथा समुदायका अगुवाहरूले गरिरहेका प्रयासहरूको प्रशंसा गरेको छ । साथै, सबै सम्बन्धित पक्षलाई खुला संवाद, पारदर्शिता, निष्पक्षता तथा आपसी सम्मानका आधारमा निरन्तर समन्वय र सहकार्य गर्न आग्रह गरिएको छ । वक्तव्यमा धार्मिक अगुवा, सामाजिक सङ्घसंस्था, युवा समूह, नागरिक समाज, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई सामाजिक सद्भाव अभिवृद्धि गर्न, सबै धर्म र समुदायप्रति सम्मानको भावना विकास गर्न तथा एकतामूलक वातावरण निर्माणमा सक्रिय योगदान दिन अनुरोध गरिएको छ । दिगो शान्ति र स्थायित्व सबैको साझा प्रयासबाट मात्र सम्भव हुने चेम्बरले उल्लेख गरेको छ । चेम्बरले आर्थिक समृद्धि र सामाजिक सद्भाव एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै स्थिर र सुरक्षित वातावरणमा मात्र व्यवसाय, उद्योग तथा लगानी विस्तार हुनसक्ने जनाएको छ । समुदायबीचको एकताले परिवार, समाज र अर्थतन्त्रलाई बलियो बनाउने चेम्बरको विश्वास छ । चेम्बरले प्रभावित व्यवसायको पुनःस्थापना, समुदायबीच सहकार्य तथा जनविश्वास पुनर्निर्माणका लागि आवश्यक सकारात्मक पहलमा साथ दिन सदैव तयार रहेको प्रतिबद्धता जनाएको छ । सरकार, स्थानीय समुदाय तथा सरोकारवालासँगको सहकार्यमार्फत निजी क्षेत्रले पुनर्निर्माण, पुनरुत्थान तथा दीर्घकालीन शान्ति र समृद्धि स्थापनामा महत्वपूर्ण भूमिका खेल्नसक्ने विश्वास वक्तव्यमा व्यक्त गरिएको छ । चेम्बरले वर्तमान समय विभाजनभन्दा सहिष्णुता, टकरावभन्दा संवाद र मतभेदभन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिने समय भएको उल्लेख गर्दै सबै नेपालीलाई सद्भाव, सहिष्णुता र सामाजिक एकताको गौरवशाली परम्परालाई थप सुदृढ बनाउन आह्वान गरेको छ । चेम्बरले सरकार, प्रतिपक्षी दल, निजी क्षेत्र, समुदायका अगुवा, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनताबीचको सहकार्य, विश्वास र एकतामार्फत प्रभावित क्षेत्रमा चाँडै नै शान्ति पूर्ण रूपमा पुनःस्थापित हुने तथा ती क्षेत्र अझ एकताबद्ध, सुदृढ र समृद्ध बन्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।
तराईको सद्भाव बिगार्ने गतिविधि रोक्न पूर्वराजा ज्ञानेन्द्रको अपिल
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीमा भएको साम्प्रदायिक तनाव र त्यसको प्रभाव तराईका विभिन्न क्षेत्रमा फैलिएको घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपालीबीच सद्भाव, एकता र मेलमिलाप कायम राख्न सबैलाई आग्रह गरेका छन् । बिहीबार (आज) सद्भाव सन्देश जारी गर्दै उनले नेपाल निर्माणकालदेखि नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका नेपालीहरू आपसी प्रेम, सद्भाव र सहअस्तित्वका साथ बस्दै आएको उल्लेख गरेका छन् । यही बहुजातीय, बहुभाषिक, धार्मिक तथा सांस्कृतिक विविधताले नेपाललाई विश्वमा विशिष्ट पहिचान दिलाएको भन्दै यसमा कुनै पनि प्रकारको खलल पुग्न नदिन सबै सचेत हुनुपर्ने उनको भनाइ छ । पूर्वराजा शाहले केही दिनअघि सुनसरीका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति हुनुका साथै त्यसको असर कोशी क्षेत्र र तराईका अन्य भागसम्म फैलिनु दुःखद रहेको बताएका छन् । समाजका सबै समुदायबीच सद्भाव कायम रहेको नेपालमा यस्ता अप्रिय घटना हुनु चिन्ताको विषय भएको उनको धारणा छ । उनले यस्ता गतिविधि नेपालको मौलिक मूल्य, मान्यता र सामाजिक सहिष्णुताविपरीत रहेको उल्लेख गर्दै जुनसुकै भूभागमा बसे पनि सबै नेपालीबीच आपसी भाइचारा, मेलमिलाप र सहिष्णुता कायम राख्न आग्रहसमेत गरेका छन्। उनले राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन सबै नेपालीलाई संयमता अपनाउन आह्वान गरेका छन् ।
लघुवित्त पीडितसँग पहिलो चरणको वार्ता सकारात्मक, शुक्रबार फेरि छलफल
काठमाडौं । अर्थ मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार (आज) भएको पहिलो चरणको वार्ता सकारात्मक रहेको मन्त्रालयले जनाएको छ । दुवै पक्षबीच विभिन्न माग र त्यसको सम्बोधनका उपायबारे छलफल भएपछि वार्तालाई निष्कर्षमा पुर्याउन शुक्रबार पुनः बस्ने सहमतिसहित आजको बैठक स्थगित गरिएको हो । वार्ताका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । समितिलाई गठनसँगै आन्दोलनरत लघुवित्त पीडितसँग तत्काल वार्ता सुरु गर्न निर्देशन दिइएको थियो । समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन् । अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव तोकिएका छन् । समिति गठनलगत्तै अर्थ मन्त्रालयमा वार्ता सुरु भएको थियो । पहिलो चरणको छलफल सकारात्मक बनेपछि दुवै पक्षले बाँकी विषयमा सहमति जुटाउने उद्देश्यले शुक्रबार पुनः वार्ता गर्ने सहमति गरेका छन् ।