हिमालयन बैंकको नाफा २ अर्ब १७ करोड
काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष ०७३/०७४ मा खुद नाफा २५ करोड रुपैयाँ बढाएको छ । गत आवको असारसम्म बैंकले २ अर्ब १७ करोड ६४ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले आइतबार सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार खुदनाफा, निक्षेप परिचालन र कर्जा लगानीमा विस्तार भएको जानकारी दिएको छ । गत असारसम्म बैंकले ९२ अर्ब ८८ करोड ११ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८७ अर्ब ३३ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत वर्ष बैंकले ६ अर्ब रुपैयाँ मात्र निक्षेप बढाएको छ । समीक्षा अवधिमा बैंकले ७७ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६७ अर्ब ७४ करोड ५९ लाख रुपैयाँ लगानी गरेको छ । एक वर्षको अवधिमा बैंकले कर्जा लगानी ११ अर्ब रुपैयाँ बढाएको छ । बैंकको खराव कर्जा १ प्रतिशत तल रहेको छ । पुँजीगत लागत ३.९९, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९ र आधार दर ९.५७ प्रतिशत रहेको बैंकले जनाएको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ५३ पैसा छ । बैंकको चुक्तापुँजी साढे ६ अर्ब रुपैयाँ पुगेको छ । बैंकको बचत ५ अर्ब २७ करोड ४४ लाख रुपैयाँ छ ।
उद्धारका लागि टेलिफोन सेवा सुचारु राख्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले टेलिफोन सेवा सुचारु राख्न सेवा प्रदायकलाई निर्देशन दिएको छ । गत शुक्रबारदेखिको अविरल वर्षाले भिषण बाढी र पहिरोले ठुलो धनजनको क्षति भएको भन्दै सेवा सुचारु राखी आकस्मिक रुपमा गर्नुपर्ने सबै काम गर्न भनेको छ । उद्धार र राहतमा दुरसञ्चार सेवा नियमित सुचारु आवश्यक भएको भन्दै प्राधिकरणले निर्देशन दिएको हो ।
पुर्चौडीको बजेट रु ४५ करोड ४३ लाख
बैतडी । पुर्चौडी नगरपालिकाले ४५ करोड रूपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिकामा सम्पन्न नगर परिषद्मा र ४५ करोड ४३ लाख सात हजार रूपैयाँको बजेट नगरप्रमुख रणबहादुर कुँवरले सार्वजनिक गरेका हुन्। चालूतर्फ पाँच करोड छ लाख ३६ हजार र पूँजीगततर्फ २२ करोड ८९ लाख ९० हजार र विषयगततर्फ २२ करोड ८९ लाख ९० हजार रूपैयाँ विनियोजन गरेको छ । नगरकार्यपालिकाबाट नगरसभामा पेश हुने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । यस अनुसार नगरभित्रका सडक सञ्जाललाई प्राथमिकतामा राखिएको छ । नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडकलगायतका विभिन्न विकास निर्माणका कार्यक्रम रहेका छन् । रासस
धनुषा र महोत्तरी जोड्ने रातोपुल पुनः भासियो
महेन्द्रनगर (धनुषा), २८ साउन । विगत चार दिनदेखि भएको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषा र महोत्तरी जोड्ने रातो पुल पुनः भासिएको छ । तीन वर्ष पहिले पनि यो पुल भासिएको थियो । पूर्वलाई काठमाडौंसँग जोड्ने प्रमुख पुलको रुपमा यो पुल रहेको छ । पुल भासिएपछि पुलमा भारी सवारी निषेध गरिएको छ । हलुका सवारी मात्र जान दिइएको प्रहरीले जनाएको छ । पुल ४–५ इन्च भन्दा धेरै भासिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक सालिकराम शर्माका अनुसार आइतबार प्राविधिक जाँच पछिमात्रै अन्य सवारीलाई खोल्ने वा नखोल्ने टुंगो लाग्नेछ । खोलामा पानीको बहाब उच्च भएपछि पहिले डाइभर्सन दिएको स्थानमा अलि भासिएकाले सवारीसाधन आवागमन बन्द गरिएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय, बर्दिबाससँग समन्वय गरी साँझ ७ बजेदेखि सवारीसाधन आउजाउ बन्द गरिएको उहाँले बताउनुभयो । पुलको अवस्था हेरेर मात्र साना सवारीसाधनहरु आउन जान सक्ने वा नसक्ने विषयमा विचार गरेर मात्र सञ्चालन गर्न दिने प्रहरीले जनाएको छ । सवारीसाधन सञ्चालनमा रोक लगाएपछि राजधानीसहित देशको विभिन्न ठाउँ जाने रात्रिकालीन बस सेवाका एक हजारभन्दा बढी गाडी र हजाराँै यात्री अलपत्र परेका छन् । रासस
आइतबार पनि भारी वर्षा ः सोमबारबाट मौसम सुधार
काठमाडौ। मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ । बिहीबारदेखि सक्रिय यो प्रणालीले देशभर बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज पनि देशभर वर्षात् भएको र यो क्रम भोलि पनि जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पश्चिमका केही स्थानबाहेक देशभर बदली छ भने अधिकांश स्थानमा वर्षात् भइरहेको छ । आइतबार देशैभर वर्षात् हुने तथा विशेषगरी मध्य र मध्यपश्चिम नेपालका तराई क्षेत्रमा भारी वर्षात् हुने मौसमविद् सुवेदीको भनाइ छ । तुलनात्मकरुपमा पूर्वी क्षेत्रमा कम वर्षात् हुनेछ । सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाइएको छ । आज पनि काठमाडौँ उपत्यकासहित देशभर वर्षात् भएको छ । धेरै स्थानमा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमरामा २१७ र सबैभन्दा कम दीपायलमा पाँच मिलिमिटर वर्षात् भएको छ । नेपालगञ्जमा १६९, दाङमा १६७ र जनकपुरमा १३७ मिलिमिटर वर्षात् भएको छ । काठमाडौँमा ३० मिलिमिटर वर्षात् भएको छ । आज काठमाडौँ उपत्यकाको अधिकतम २६ र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ । दुई दिनदेखि लगातार परेको वर्षा खासगरी पूर्वी, पश्चिम र मध्यपश्चिमका तराई भेगमा बाढीको डुबान छ भने पहाडी भेगमा पहिरोले धनजनको क्षति गरेको छ ।गृह मन्त्रालयका अनुसार घटनामा परी हालसम्म ३० जनाभन्दा बढीको मृत्यु र दसभन्दा बढी मानिस बेपत्ता भएका छन् । रासस
सीमामा रहेका बाँधको ढोका खोल्न भारतलाई आग्रह
काठमाडौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–भारत सीमाका नदीमा रहेका बाँधको आवश्यक सबै ढोका खोल्नका लागि नेपालस्थित भारतीय राजदूतमार्फत भारत सरकारलाई आग्रह गर्नुभएको छ । उपप्रधानमन्त्री महराले नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई आज टेलिफोन गरेर शुक्रबारदेखि जारी वर्षाका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको भन्दै भारतीय पक्षले आवश्यकताअनुसार सीमाका बाँधको ढोका खोल्नका पहल गरिदिन आग्रह गर्नुभएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । डुबानका कारण तराईमा जनधनको क्षति भएको तथा जनजीवन पूर्णरुपमा प्रभावित भएकाले थप क्षति हुन नदिन बाँधको ढोका खोल्न आग्रह गरिएको हो । सप्तकोशी, लक्ष्मणपुरलगायत ब्यारेजको ढोका आवश्यकताअनुसार भारतीय पक्षले नखोलिदिँदा नेपालतर्फ डुबान बढ्दै गएपछि मन्त्री महराले सो आग्रह गर्नुभएको हो । रासस
पुल बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
नेपालगन्ज । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत कोहलपुर–कुसुम क्षेत्रमा पर्ने गाभर खोला र गन्धैली नालाको पुल बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ । शुक्रबार रातभरि परेको अबिरल वर्षाका कारण आएको बाढीले सो पुल बगाउँदा अहिले सडक वारीपारी दुवैतर्पmका यात्रु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालयले भत्केको पुलको छेउबाट डाइभर्सन बनाउने तयारी गरे पनि पानीको भेलका कारण त्यो सम्भव हुन सकेको छैन । त्यसैगरी अबिरल वर्षाका कारण जिल्लाको राप्ती र डुडुवा नदीमा आएको भीषण बाढीका कारण राप्ती–सोनारी गाउँपालिकाअन्तर्गतका गाउँहरु अहिले डुबानमा परेका छन् । बाढी र डुबानका कारण सो गाँउपालिका–४ लालपुर गाउँका कमीलाल थारुको घर भत्किँदा तीन बालबालिकाको मृत्यु भएको छ भने आमालाई बाढीले बगाएको जिल्ला प्रहरी प्रमुख टेकबहादुर तामाङले जानकारी दिए । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काका अनुसार बाढीमा फसेका नागरिकको उद्धारका लागि सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपथ प्रहरीसहितको उद्धार टोली परिचालन गरिसकिएको छ । अबिरल वर्षाका कारण बैजापुर, बिनौना, फत्तेपुर, होलिया, बेतहनी बनकट्टी, कम्दी गाउँ डुबानमा परेका छन् । त्यसैगरी किरण नालामा आएको बाढीले कोहलपुर र खजुरा क्षेत्रका बस्ती पनि प्रभावित भएका छन् । स्थानीय प्रशासनले बाढीबाट बिस्थापितलाई सुरक्षित स्थानमा राख्ने, खाद्यान्न सामग्री उपलब्ध गराउने, उचित बसोबासको व्यवस्था मिलाउने, उपचार सेवा उपलव्ध गराउनेलगायत तत्काल राहतको चाँजोपाँजो मिलाएको जनाएको छ । रासस
हिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ को सेतीदोभान भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । दिनभरको अविरल वर्षापछि पहिरोको जोखिम हुनसक्ने भन्दै अपराह्न २ बजेदेखि सवारी आवागमन रोकिएको थियो । त्यसको केही समयमा मुग्लिनबाट नौ किलोमिटर नारायणगढतर्फ सेतीदोभान नजिकै पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताए । त्यसैगरी, मुग्लिनको मुखैमा, भालुढुंगा, भोर्लेलगायत ठाउँमा पनि पहिरो खसेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार बीचसडक क्षेत्रमा पुग्न नसकेकाले अन्य के–कति ठाउँमा पहिरो खसेको छ जानकारी हुन सकेको छैन । यद्यपि ठूला पहिरो कुनै पनि नभएकाले पहिरो रोकिएमा सफा गर्न भने समय नलाग्ने उनले बताए । पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको उनले जानकारी िदए । ती ठाउँमा माथिबाट ढुंगा र लेदो माटो खसिरहेको छ । सडक अवरुद्ध भएपछि दिउँसोदेखि यात्रु अलपत्र परेका छन् । पहिरो खस्न रोकिएमा सडकका बीचमा रहेका सवारीलाई गन्तव्यतर्फ पठाउन सडक खुलाउने प्रयासका लागि तयारी अवस्थामा उपकरण र जनशक्ति राखिएको खनालले बताउनुभयो । रातको समयमा सो सडकमा आवागमन रोकिँदै आएको छ । रासस –––––––