भारी वर्षाले धेरै स्थानमा विद्युत आपूर्ति बन्द, प्राधिकरण भन्छ-सुचारुको प्रयास जारी छ
काठमाडौं । अविरल वर्षादले विद्युत वितरण प्रणालीमा समस्या आई धेरै स्थानमा आपूर्ति अवरोध भएको छ । अविरल वर्षाले गर्दा प्रशारणलाइन, सबस्टेशन तथा वितरण प्रणाली लगायतका संरचनामा ठुलो क्षति भएकोले विधुत वितरणमा समस्या आएको प्राधिकरणले जनाएको छ । केही स्थानका सव–स्टेशन जलमग्न भई विद्युत आपूर्ति बन्द भएका छन् । दुहबी स्थित १३२ केभी. सब–स्टेशन जलमग्न भएको प्राधिकरणले जानकारी दिएको छ । यस्तै अनारमनी–कावेली १३२ केभी प्रसारणलाइनको टावर ढलेको छ । खिम्ती–ढल्केबर १३२ केभी. प्रसारणलाइनमा समस्या आएको प्राधिकरणले जनाएको छ । हेटौंडा–चन्द्रनिगाहपुर–ढल्केबर प्रसारणलाइनमा ठुला रुखहरु ढलेकाले विधुत आपूर्तिमा अवरोध उत्पन्न भएको प्राधिकरणले स्पष्ट पारेको छ । समस्या आएका स्थानमा विद्युत आपूर्ति सुचारु गराउन तदारुकताका साथ मर्मत कार्य भै रहेको प्राधिकरणले जानकारी गराएको छ ।
चार अर्बको सेयर कारोबार
काठमाडौ। धितोपत्र बजारमा यस साता तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १६८ कम्पनीको एक करोड २१ लाख तीन हजार ५८० कित्ता शेयर कारोबार भएको हो ।गत साता १६७ कम्पनीको पाँच अर्ब २५ करोड २४ लाख १५ हजार बराबरका एक करोड पाँच लाख ८० हजार ४९० कित्ता शेयर खरिद बिक्री भएका थिए । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव ५२ अङ्कले घटेर अन्तिम दिन एक हजार ६५३ दशमलव ५३ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २ दशमलव ०८ अङ्कले घटेर ३४७ दशमलव ०३ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा नागरिक लगानी कोष अग्रस्थानमा छ । सो कोषको रु १९ करोड ५३ लाख १० हजारको कारोबार भएको छ । यस्तै शेयर संख्याको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा छ । सो स्किमको ३१ लाख २७ हजार कित्ता शेयर कारोबार भएको थियो । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ । यस साता जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र हिमालयन पावर पार्टनरको बोनस र साधारण शेयर स्टकमा सूचीकृत भएका थिए । रासस
विदेशबाट फर्किएका युवाद्वारा सामूहिक कृषि शुरु
लमजुङ । विभिन्न २४ जिल्लाका ९४ जना युवा मिलेर लमजुङमा सामूहिक कृषि शुरु गरेका छन् । इजरायलमा अध्ययन र प्रयोगात्मक सीप सिकेर नेपाल फर्किएका ती युवाले सामूहिक कृषि व्यवसाय शुरु गरेका हुन् । सुन्दरबजार नगरपालिका–३, चन्द्रेश्वरमा आरभा नेपाल मोर्डन एग्रिकल्चर नामक कम्पनी सञ्चालनमा ल्याई सामूहिक कृषि पेशा शुरु गरेका हुन् । आधुनिक कृषिका लागि युवालाई आकर्षण गर्ने गरी कार्य शुरु गरिएको कम्पनीका अध्यक्ष विनोद घिमिरेले बताए। अध्ययनका लागि इजरायल पुगेका युवाले प्रयोगात्मक सीपका लागि आरभा मरुभूमिमा काम गर्दाको अनुभवले नेपालमा फर्किन उत्प्रेरित भएको बताएका छन् । त्यहाँको प्रविधि अपनाउँदै नेपालमा नमूना कृषि परियोजना सञ्चालन गर्न लागेको उनीहरुको भनाइ छ । “आरभा मरुभूमि हो, जहाँ माटो, पानी अर्कै ठाउँबाट ल्याइन्छ”, अध्यक्ष घिमिरेले भने, “हामीसँग मरुभूमिमा फल फलाएको अनुभव छ, अब आफ्नै माटोमा पनि फलाउँछौँ ।” तरकारीखेतीका साथै गाई, बाख्रा, कुखुरा, हाँस माछापालन कृषि तालीम केन्द्र सञ्चालन गर्ने योजना रहेको घिमिरेको भनाइ छ । व्यावसायिक र सामूहिक कृषिसँगै कृषि पर्यटनको विकास गर्ने लक्ष्य रहेको घिमिरेले बताउछन्। १७ करोड लगानी गर्ने योजना रहेको सो व्यवसायका लािग तीन करोड रूपैयाँ भन्दा बढीको भौतिक संरचना निर्माण भइसकेको छ । कृषि व्यवसायका लागि २२० रोपनी जग्गा खरिद गरी भौतिक संरचना निर्माण गरिएको छ । कृषि फार्ममा एकसय गाई पाल्न सक्ने गोठ, ३०० बाख्रा पाल्न सक्ने आधुनिक खोर, १० हजार कुखुरा पाल्न सक्ने कुखुराको खोर निर्माण गरी सकिएको कम्पनीका सञ्चालक कृष्णप्रसाद बजगाईंले जानकारी िदए । नेपाल फर्किएपछि देशका लागि कृषि क्षेत्रमा केही नमूना काम गर्ने लक्ष्यसहित इजरायलमा कृषि अध्ययनकै क्रममा यो परियोजनाको खाका तयार पारिएको सञ्चालक देवराज आचार्यले बताए। पछिल्लो समय स्थानीयवासीले शेयरको नाममा जग्गा पनि प्रदान गरेका छन् । लमजुङको परियोजना सञ्चालनपछि १० वर्षभित्रमा सातवटै प्रदेशमा यस्ता कृषि परियोजना स्थापना गरी कृषि क्षेत्रमा नयाँ आयाम ल्याउने कम्पनीको विश्वास छ । रासस
प्रधानमन्त्रीको भ्रमणमा विगतका सहमति कार्यान्वयन प्राथमिकतामा ः राजदूत उपाध्याय
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी भारत भ्रमणका अवसरमा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनको विषयलाई प्राथमिकताका साथ उठाइने भएको छ । ललितपुरमा आज आयोजित साक्षात्कारमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले भने, “विगतमा भएका सहमति र समझदारी कुन अवस्थामा रहेका छन् त्यो हेर्ने, पुनरावलोकन गर्ने तथा हुन सक्ने कुरालाई अलमल नगरी कार्यान्वयनमा लैजाने विषयमा गम्भीरतापूर्वक छलफल गरिनेछ । प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला उठाइने र सहमति हुने विषयवस्तुको कार्यसूचि बनाउने अन्तिम चरणमा रहेको बताउँदै भारतको तर्फबाट राजनीतिक तहमा भ्रमणप्रति ठूलो सद्भाव रहेको आफूले पाएको जानकारी दिए । अरुण तेस्रो, माथिल्लो कर्णाली र पञ्चेश्वर जलविद्युत् आयोजना अघि बढाउन सकियो भने मुलुकको विकासमा कायापलट हुने बताउँदै उनले भने हाम्रो तर्फबाट कार्यसूची टुंग्यायाैं अरुण तेस्रोको शिलान्यास दुवै प्रधानमन्त्रीबाट हुनुपर्छ भन्नेमा सामाजिक र राजनीतिक तहबाट बल पु¥याउन आवश्यक छ । रासस
दरमखोला लघुजलविद्युत् अायोजना अवरुद्ध
वामी (गुल्मी) । मुसिकोट नगरपालिकाको वडा नं ७ स्थित दरमखोला लघुजलविद्युत् परियोजनाको नहर पहिरोले बगाएपछि आज बिहान अायाेजना अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बसेरीमा झण्डै २०० मिटरमाथिबाट खसेको पहिरोले नहरको बाँध भत्काएर पुरेको हुँदा विद्युत् अवरुद्ध भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए। विद्युत् नहरको निर्माणकार्य तथा मर्मत संहार गरी सञ्चालन गर्न अझ केही दिन लाग्ने उनले बताए। ८५ किलोवाट क्षमता भएको सो विद्युत् परियोजना अवरुद्ध भएसँगै नगरपालिकाको वडा नं २, ७, ८ र छिमेकी जिल्ला बागलुङको वडिगाड गाउँपालिकाको वडा नं ३ गरी चार वडाका ९०० घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् अवरुद्धपछि कलकारखाना उद्योगधन्दा, सञ्चार क्षेत्र प्रभावित भएका छन् । रासस
विद्युत महशुल निर्धारण आयोग खारेज हुदै
काठमाडौं । लामो समयदेखि सञ्चालनमा रहेको विद्युत् महशुल निर्धारण आयोग खारेज हुने भएको छ । व्यवस्थापिका संसदले विद्युत नियमन आयोग गठन सम्बन्धित विद्ययेकलाई पारित गरेपछि महशुल निर्धारण आयोग खारेज हुने भएको हो । जलविद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापारलाई नियमित र व्यवस्थित गर्न आयोग स्थापना गर्न सरकारलाई बाटो खुलेको छ । हाल ऊर्जा मन्त्रालयले गर्दे आएको अधिकाँश काम आयोगले गर्ने छ । नियमन आयोग विद्ययेकलाई संसदले पारित गरेकाले अब केही समयपछि महशुल निर्धारण आयोग खारेज हुने ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले बताए । ऐनलाई राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि आयोग गठन हुने र त्यसपछि महशुल आयोग स्वतः खारेज हुने उनले जानकारी दिए । नियमन सम्बन्धित कानून बनेपनि खारेज गर्न केही प्रक्रियागत कारणले केही दिन ढिलाइ हुने देखिएको उनले स्पष्टपारे । आयोग विधेयकलाई सर्वसम्मतिले पारित गरेपछि त्यस्तो आयोग गठन हुने भएको हो । सरकारले आदेशको भरमा महसुल निर्धारण गर्न हाल गठन भएको हो । आयोगले समग्र ऊर्जा क्षेत्रलाई नियमन गर्ने छ । यस्तै विद्युतको गुणस्तर, महसुल दर निर्धारण, उपभोक्ताको हक र हितको संरक्षणका साथै प्रतिस्पर्धा कायम गठन हुने आयोगले गर्ने छ । मुलुकमा विद्युत् सेवासम्बन्धी ग्रिड संहिता जारी गर्ने, अनुगमन गर्ने, विद्युत् सेवाको सञ्चालन तथा मर्मतसम्भारको स्तर कायम गर्ने, राष्ट्रिय विद्युत् प्रणालीको गुणस्तर तथा सुरक्षास्तर कायम राख्न आवश्यक मापदण्ड बनाउने, विद्युत् प्रणाली सञ्चालकको दायित्व निर्धारणसमेत आयोग मार्फत हुनेछ । यस्तै विद्युत सर्वेक्षण र उत्पादन अनुमतिपत्र (लाइसेन्स) पनि आयोगले दिने छ । यसैगरी आयोगले विद्युत् महसुल निर्धारण, विद्युत् खरिद बिक्री (पीपीए) को नियमन, प्रसारण तथा वितरण दस्तुर निर्धारण गर्ने, लागू गराउने अधिकार दिइएको छ । हाल विद्युत् चुहावट करिब २३ प्रतिशतको हाराहारीमा रहेको छ । यसलाई नियन्त्रण गर्ने काम आयोगले गर्ने छ । अब नेपाल विद्युत् प्राधिकरणले नयाँ पीपीए दर तोक्न आयोगबाट स्वीकृति लिनुपर्ने भएको छ । हाल आफुखुसी ऊर्जा उत्पादकसंग पीपीए गर्दे आएको छ । नेपाल विद्युत प्राधिकरणले पुनः २० प्रतिशत महशुल वृद्धिको प्रस्ताव गरेको छ । नियमन आयोग विद्ययेक पारित भएकाले अब गठनपछि उसैले यस विषयमा निर्णय लिने भएको छ । मस्र्यौदा तयार पारेको झण्डै एक दशकपछि नियमन आयोग विद्ययेक संसदबाट पारित भएको हो ।
एनआईसी एशिया बैंकले २१ दशमलव ०५ प्रतिशत लाभांश दिने, २० प्रतिशत बोनस सेयर
काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश) बितरण गर्ने निर्णय गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंंकको २० औं वार्षिक साधारण सभाको स्वीकृति सेयर धनीले लाभांश पाउने बैंकका प्रमुख सूचना अधिकृत रोशन कुमार न्यौपानेले जनाए ।
चार अर्बको फर्निचर कारोबार
काठमाडौँ, २८ साउन । नेपाल फर्निचर तथा फर्निसिङ संघले स्वदेशी फर्निचर उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले आगामी भदौ ३ देखि ७ गतेसम्म स्थानीय भृकुटीमण्डपमा फर्निचर प्रदर्शन गर्ने भएको छ । ‘जेन फ्लोरिङ प्रिजेन्ट फर्निसिङ’ नाम दिइने उक्त प्रदर्शनीमा ४७ ठूला उद्योगका बिक्री कक्ष तथा १९ साना कक्ष राखिने छ । पाँच वर्षदेखि वर्षमा एक पटक फर्निचर प्रदर्शनी गरिँदै आएको छ । दैनिक जीवनमा उपभोग हुने काठ तथा काष्ठजन्य विभिन्न सामग्रीबाट बनेका आकर्षक दराज, टेबल, कुर्सी, पलङलगायत फर्निचर प्रदर्शन तथा बिक्री गरिने छ । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेश अग्रवालले फर्निचरका क्षेत्रमा पर्याप्त सम्भावना रहेको बताउँदै त्यस क्षेत्रमा क्रियाशील उद्यमी तथा उपभोक्तालाई एउटै थलामा ल्याएर अन्तरक्रिया गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको जानकारी दिनुभयो । मुलुकलाई आवश्यक पर्ने फर्निचर स्वदेशमा उत्पादन गरी आत्मनिर्भर बनाउन सकिने बताउँदै उहाँले मुलुकमा वन संरक्षण तथा काठ उत्पादनको प्रष्ट नीति भएमा उद्योगले ठूलो रोजगारी सिर्जना गर्ने बताउनुभयो । काठमाडौँ उपत्यकामा मात्र वर्षेनी करिब रु चार अर्बको फर्निचर कारोबार हुने बताइएको छ । रासस ‘जेन फ्लोरिङ प्रिजेन्ट फर्निसिङ’ नाम दिइने उक्त प्रदर्शनीमा ४७ ठूला उद्योगका बिक्री कक्ष तथा १९ साना कक्ष राखिने छ । पाँच वर्षदेखि वर्षमा एक पटक फर्निचर प्रदर्शनी गरिँदै आएको छ । दैनिक जीवनमा उपभोग हुने काठ तथा काष्ठजन्य विभिन्न सामग्रीबाट बनेका आकर्षक दराज, टेबल, कुर्सी, पलङलगायत फर्निचर प्रदर्शन तथा बिक्री गरिने छ । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेश अग्रवालले फर्निचरका क्षेत्रमा पर्याप्त सम्भावना रहेको बताउँदै त्यस क्षेत्रमा क्रियाशील उद्यमी तथा उपभोक्तालाई एउटै थलामा ल्याएर अन्तरक्रिया गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको जानकारी दिनुभयो । मुलुकलाई आवश्यक पर्ने फर्निचर स्वदेशमा उत्पादन गरी आत्मनिर्भर बनाउन सकिने बताउँदै उहाँले मुलुकमा वन संरक्षण तथा काठ उत्पादनको प्रष्ट नीति भएमा उद्योगले ठूलो रोजगारी सिर्जना गर्ने बताउनुभयो । काठमाडौँ उपत्यकामा मात्र वर्षेनी करिब रु चार अर्बको फर्निचर कारोबार हुने बताइएको छ । रासस