विकासन्युज

बाढी पहिरोका कारण एक्लिदै काठमाडौं

काठमाडौं । अबिरल वर्षाको कारण तराई क्षेत्र डुवानमा र पहाडी क्षेत्र पहिरोको चपेटामा पररेसँग मानवीय जनजीवन कष्टकर बन्दै गएको छ । अहिले तराईका अधिकांश भूभाग जलमग्न भएको छ । घरबस्ती डुवानमा परेका छन् । कोशीको वहाव अझ बढ्दो छ । कोशीको अन्य वाँकी ढोका खोल्न भारत सरकारसँग अनुरोध गरिएपनि हालसम्म सप्तकोशीको ३५ वटामात्र ढोका खोलिएका छन् । राजमार्गहरूका पुलहरू भत्कदा बाटामै गन्तव्यसम्म यात्रुहरू पुग्न नसकेर यात्रुहरू अलपत्र परेका छन् । बाढीका कारण ३० जनाभन्दा बढीले ज्यान गुमाइ सकेका छन् भने कति उच्च जोखिममा परेका छन् । नदी किनारमात्रै होइन सदरमुकाम समेत जलमग्न भएको छ । देश जलमग्न भई बाढी पहिरोको चपेटामा परेपछि काठमाडौं एक्लदै गएको छ । देशभर परेको अविरल वर्षापछि आएको बाढीका कारण कम्तीमा ३० जनाको ज्यान गएको गृहमन्त्री जनार्दन शर्माले बताइसकेका छन् । २० जना बेपत्ता भएका छन् । बिहीबारदेखि लगातार परेको पानीले पूर्वमा झापादेखि पश्चिम बर्दियासम्मको तराईको अधिकांश भूभाग जलमग्न भएका छन् । पहाडी क्षेत्रमा पहिरो जाँदा जनधनको क्षति भएको छ । तराईको लाइफलाइन पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । अबिरल वर्षा कै कारण दुर्घटनाहरू बढी रहेका छन् । सो कारण परिवारजनले नै ज्यान गुमाउनु परेको छ भने कयौं धनमालको क्षति भएको छ । औद्योगिक करिडोरहरूमा पानीका कारण विद्युत आपूर्ति बन्द हुँदा उद्योगधन्दा संचालन हुन सकेका छैनन् । बुटवल-नारायणगढ सडकको बर्दघाटदेखि दुम्किवाससम्म ७ बढी स्थानमा गएको पहिरो हटाउन नपाउँदै पुन सडक भाँसिन गएपछि अवरुद्ध सडक तत्काल संचालनमा नआउने देखिएको छ । ठाउँ ठाउँमा सडकहरू भासिएका छन् । चितवनको पर्यटकीय क्षेत्र सौराह, बर्दिया तथा जनकपुरलगायतका सदरमुकाम डुवानमा परेको छन् । बाढीले जीप बगाउदा रौतहटमा सुत्केरी गराउन स्वास्थ्य संस्थामा जादै गर्दा एक्कै परिवारको छ जनाको मृत्यु भएको छ । राजपुर गापालिका-३ स्थित बमनहरको बाध भत्किदाँ उनीहरु चढेको जीप बगाएको थियो । मृत्यु हुनेमा परोहा गाउपालिका ३ लौकाहाका ३२ वर्षीय चन्दन यादव, उनको श्रीमती सर्मिला यादव, आमा सुमित्रादेवी, भाउजु ललिता देवी, भतिजा सरोज यादव र छोरी छोटु यादवको बाढीले बगाउदा मृत्यु भएको स्थानीय शेष वकिलले जानकारी दिएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर-दाङ सडक सडकखण्डका पुलहरु ठाउँठाउँमा भत्किएका छन् । पुल भत्किँदा शनिबारदेखि हजारौँ यात्रु बाटोमै अलपत्र परेका छन् । शनिबार राजमार्गको गन्धौली खोलाको पुल भत्किएको थियो । पुल भत्किएपछि खोलामा बनाइएको अस्थायी बाटो पनि खोलाले बगाएको छ । त्यस्तै अगैयास्थित गावर खोलाको पुल पनि पूरै भत्किएको छ । राजमार्गका दुई मुख्य पुलहरु भाँचिएपछि अहिले पूर्वपश्चिम रागमार्ग पूरै अवरुद्ध भएको छ । पूर्वपश्चिम जोड्ने राजमार्ग महोत्तरी र धनुषाको बीचमा पर्ने रातु खोलाको पुल भाँसिएको छ । अविरल बर्षासँगै पूर्व नेपाललाई काठमाडौंसँग जोड्ने रातु खोलाको पूल भाँसिएको हो । शनिबार साँढे ६ बजेको समयमा रातु खोलामा आएको भिषण बाढीले खोलाको पूल भाँसिदा यातायात सेवा प्रभावित बन्न पुगेको छ । सात वटा पिलर मध्ये चौंथौ पिलर भाँसिएको छ । १९९० साल तिर निर्माणधिन रातु पुलको महोत्तरी तिरको दुई वटा पिलर भाँसिएको दुई बर्षा नबित्दै पुलको चौथौं फिल भाँसिएको हो । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि परेको अबिरल वर्षा सोमबार केही मर्थर हुने जनाएको छ । उसको यो अनुमानलाई मान्दा पनि सो अवधिसम्म कतिको ज्यान जाने हो र कति धनमालको क्षति हुने हो सो आँकलन गर्न नसक्ने अवस्थामा गृह मन्त्रालय पुगेको छ । चारै तिरको बाटो अवरुद्ध भएपछि काठमाडौंमा खाद्यन्नलगायत तरकारीको भाउ माथि उक्लन थालेको छ ।

ठूलो बाढी पस्दा सौराहाका होटल डुबे

चितवन । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् । कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको उनले बताए । सौराहामा रहेका ११० वटा होटलमा अधिकांशमा पानी पसेको घिमिरेको भनाइ छ । भुइँतलामा रहेका पर्यटकलाई माथिल्लो तल्ला एवं अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पार्किङ गरिएका गाडी, मोटरसाइकल, साइकललगायत सवारीसाधन सबै डुबेका छन् । विसं २०५९ यताको यो नै सबैभन्दा ठूलो बाढी रहेको घिमिरेले बताए । त्यतिबेला सौराहामा बाढी पसेर होटलमा बालुवा भरिएपछि ठूलो क्षति भएको थियो । सौराहा जाने चित्रसारी पुल नजिकै रहेको प्रहरी चौकी डुबानमा परेपछि स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख दीपक थापाले बताए । सौराहामा रहेको प्रहरी चौकी पनि डुबानमा परेको छ । राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो । यसैगरी, राप्ती, कयरखोला, लदरी, पम्फा खोलाको बाढी गाउँ पसेपछि पूर्वी चितवनको खैरहनी, पर्सा, भण्डारा र रत्ननगरलगायतका क्षेत्रमा डुबान भएको प्रहरी उपरीक्षक थापाले बताए । राप्तीकै पानी पसेपछि पश्चिम चितवनको पटिहानी, जगातपुर र मेघौलीका नदी तटीय क्षेत्र डुबानमा परेका छन् । नदी छेउमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थापाले बताए । नारायणी, राप्ती, रिउलगायतका नदी बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैमा अपिल गरेको छ । रासस –––––––

५ अर्बको विकास ऋणपत्र सोमबार निष्कासन हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आगामी १२ वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्रको अवधी ०८६ साल साउनसम्म रहेको छ । सावाँ भुक्तानी ०८६ साउन ३२ गते हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर-बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउने छन् । प्रत्येक ६ महिनामा ऋणपत्रको ब्याज भुक्तानी हुने व्यवस्था गरिएको छ । आन्तरिक ऋण उठाउन सरकारले राष्ट्र बैंकमार्फत विकास ऋणपत्र बिक्री गर्न लागेको हो । चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये विकास ऋणपत्र बिक्रीबाट मात्रै ७२ अर्ब रुपैयाँ उठाउने छ ।

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक अवरुद्ध

चितवन । अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख, कालीखोला, चोर खोला, भालुखोला, सेतीदोभान, भोर्लेलगायतका क्षेत्रमा पहिरो खसेको छ । शनिबार दिउँसो २ बजेपछि वर्षात्सँगै ती ठाउँमा पहिरो खसेको हो । पानी परिरहेको र पहिरो खसिरहेकाले बाटो सफा गर्न नसकिएको उनले बताए । ठूला पहिरा नभएकाले पानी रोकिएमा दुईदेखि तीन घण्टामा सडक सफा गरी सवारी सञ्चालनमा ल्याइने यादवले बताए । सडक अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका छन् । यस्तै, पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा १४ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र झाका अनुसार सो सडकको फिस्लिङ, कुरिनटार, मजिम्टार, जोगिमारा, बेनीघाटलगायतका १४ स्थानमा पहिरो खसेको छ । शनिबार साँझ ६ बजेपछि ती ठाउँमा पहिरो खसेका हुन् । गएराति २ बजे पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको भएपनि पुनः पहिरो ठाउँठाउँमा खसेपछि सडक अवरुद्ध बनेको झाले बताए । तीनवटा लोडरले पहिरो पन्छाउने काम गरिरहेको झाले बताए । रासस ––––––––

अटोलोनको सीमावृद्धि नीति अलपत्र, नाडा ओटो शो प्रभावित हुन सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आवश्यक निर्देशन जारी नगर्दा निजी प्रयोजनका सवारी साधनमा हुने कर्जाको सीमा वृद्धि सम्बन्धी मौद्रिक नीतिले गरेको नयाँ व्यवस्था अलपत्र परेको छ । राष्ट्र बैंकले असार २५ गते नै मौद्रिक नीति मार्फत निजी प्रयोजनका सवारी साधनमा बैंक तथा वित्तिय संस्थाले ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था ल्याएको थियो । त्यसअघि बैंक तथा वित्तिय संस्थाले त्यस्तो कर्जामा ५० प्रतिशत मात्रै लगानी गर्न पाउने व्यवस्था थियो । मौद्रिक नीति आएको एक महिना नाघि सक्दा पनि केन्द्रिय बैंकले अझै आवश्यक निर्देशन जारी नगरेको बैंकहरुले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ठप्प गरेका छन् । ‘नेपाल राष्ट्र बैंकले निजी प्रयोजनका सवारी साधनमा कर्जाको सीमा त बढायो तर बैंकहरुले कर्जा दिन मानिरहेका छैनन्’ नाडा अटोमोबाइल एसोसियसन नेपालका अध्यक्ष अञ्जन श्रेष्ठले भने । बैंकहरुले कर्जा प्रवाहमा खुकुलो नीति नअपनाउकोले यस क्षेत्रको व्यापार विस्तार हुन नसकेको उनले बताए । ‘निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्यांकनको अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्न सक्ने व्यवस्थालाई ६५ प्रतिशत पुर्याइएको छ । साथै, व्यक्तिगत विद्युतिय सवारी साधनको हकमा उक्त सिमा ८० प्रतिशत काम गरिएको छ’– आर्थिक वर्ष २०७४÷७५ को लागि जारी गरेको मौद्रिक नीतिमा उल्लेख गरिएको छ । मौद्रिक नीतिले निजी प्रयोगका सवारी साधनमा कर्जाको सीमालाई १५ प्रतिशत बढाउने व्यवस्था गरेसँगै उत्साहित बनेका अटोमोबाइल व्यवसायी उक्त नीति कार्यान्वयनमा नआउँदा निरास देखिन्छन् । मौद्रिक नीतिमा उल्लेख गरिएको नीतिगत विषयमा राष्ट्र बैंकले आवश्यक निर्देशन जारी गरेपछि मात्र त्यसको कार्यान्वय गर्ने अभ्यास भएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल केशरी साहले बताए । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने सर्कुलर चाँडै जारी हुने बताए । ‘मौद्रिक नीति तयार हुँदा नै कुन सर्कुलर कति बेला जारी गर्ने भन्ने कार्य तालिका बनेको हुन्छ, सोही अनुसार त्यसको कार्यान्वयन हुने हो, अटोलोनमा दिइएको सुबिधा सम्बन्धी सर्कुलर पनि सोही कार्य तालिका अनुसार आउँछ’, राष्ट्र बैंकका सहायक प्रवक्ता पण्डितले भने । उनले चाँडै सर्कुलर जारी हुने पनि स्पष्ट पारे ।‘केन्द्रिय बैंकले सम्पूर्ण जोखिम र अवसरहरुलाई हेरेर मौद्रिक नीति बनाउँछ, त्यसको कार्यान्वयनको योजना पनि बनाएको हुन्छ, त्यसै अनुसार सर्कुलरहरु आउने हुन, अटोलोनका सवालमा पनि त्यहि हुने हो’, पण्डितले भने । सवारी कर्जा नीति खुकुलो बनाउने नीति कार्यान्वन गर्न आवश्यक निर्देशन ढिलाई गरेमा भदौं १३ देखि हुन लागेको नाडा अटो शो निकै प्रभावित हुने भएको छ । ‘सवारी किन्ने मध्ये अधिकांशले बैंकबाट कर्जा लिने हो, बैंकको कर्जा नीति खुकुलो नभएसम्म नयाँ सवारी किन्न ग्राहक तयार हुँदैन’ सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाजु श्रेष्ठले भने ।

निर्जीबन बीमा लाईसेन्सप्रति बीमा समिति अनुदार, १३ वर्षदेखि निर्जीवन कम्पनी थपिएनन्

काठमाडौं । एउटै अविभावकले आफ्ना दुई सन्तानलाई फरक फरक नजरले हेर्दैनन् भन्ने नैतिक मान्यता समाजमा स्थापित छ । तर त्यहि समाजमा एउटा नियामक निकायले आफूले नियमन गर्ने २ प्रकारका संस्थालाई भने भिन्दै नजरले हेर्दै आएको छ । पछिल्लो समय नयाँ लाईसेन्सको प्रतिक्षामा बसेको निर्जीवन बीमा कम्पनीहरुले आफूहरुलाई बीमा समितिले उपेक्षा गरेको महसुश गरिरहेको छ । ६ वटा जीवन बीमा कम्पनीले लाइसेन्स पाउँदा एउटा पनि निर्जीवन बीमा कम्पनीलाई लाईसेन्स नदिएकोमा उनीहरुले बीमा समितिप्रति गुनासो गर्न थालेका छन् । बीमा क्षेत्रको नियमन गर्ने अधिकार पाएको बीमा समितिले जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुलाई फरक फरक ढंगको व्यवहार गर्दै आएको छ । त्यस्तो व्यवहारको प्रमाण हो नयाँ बीमा कम्पनीलाई दिइएको लासेन्स प्रकरण । ‘६ महिनाअघि आवेदन गर्ने जीवन बीमा कम्पनीलाई बीमा समितिले लाईसेन्स दिईसक्यो । हामीले २०६४ सालमा लाइसेन्सका लागि आवेदन दिएको, १० वर्षमा पनि पाउन सकेका छैनौं’ प्रक्रियामा रहेका एक कम्पनीको लगानीकर्ताले भने । जीवन बीमा कम्पनीलाई लाइसेन्स दिन अर्थ मन्त्रालयको स्वीकृति चाहिन्छ तर निर्जीवन बीमा कम्पनीलाई समिति आफैंले लाइसेन्स दिन सक्छ । आफ्नै हातमा अधिकार हुँदा हुँदै पनि बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स नदिएर निजीवन कम्पनीमा लगानी गर्ने लगानीकर्ताको मनोवल गिराउने काम गरेको उनको टिप्पणी छ । यतिबेला मनकामना इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी नेपाल र सानिमा इन्स्योरेन्सले लाइसेन्स पर्खिरहेका छन् । तर समितिले एउटा कमिटी बनाएर थप अध्ययन गरिरहेको बताएको छ । ‘अहिले १७ वटा निर्जीवन बीमा कम्पनी छन, ४ वटाले लाइसेन्सका लागि आवेदन दिएका छन, हामीले एउटा कमिटी बनाएर अध्ययन गरिरहेका छौं’, बीमा समितिका एक अधिकारीले भने । बीमा समितिले १३ वर्षयता निर्जीबन बीमा कम्पनीलाई लाईसेन्स दिएको छैन । १३ वर्षअघि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी खुलेको थियो । यसबीचमा जीवन बीमातर्फ चार वटा कम्पनी थपिएर कारोबार गर्दै आएको छन् । हालै मात्र ६ वटा जीवन बीमा कम्पनीहरुले लाईसेन्स पाएका छन् भने निटक भविष्यामा थप ४ वटा कम्पनीले लाईसेन्स पाउने सम्भावना छ ।

नेशनल लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस र ६० प्रतिशत हकप्रद पास

काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २६.३२ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको २९औं वार्षिक साधारणसभाले यो बोनस पारित गरेको हो । २५प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलब ३२ प्रतिशत गरी २६.३२ प्रतिशत लाभांश पारित गरेको हो । योसँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड ६० लाख पुगेको छ।बोनशपछि हुन आउने चुक्ता पूँजी ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । यो हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६४ करोड ९६ लाख पुग्ने कम्पनीले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ३६ करोड खुद मुनाफा गरेको छ । कम्पनीले ३ अर्ब ८५ करोड बीमा शुल्क संकलन भएको र १ अर्ब ७ करोड खुद दाबी भूक्तानी गरेको जनायो । कम्पनीको कुल लगानी २० दशमलब १० प्रतिशत वृद्धि भएर १४ अर्ब २० करोड पुगेको छ भने कम्पनीको बीमा कोष २२ दशमलब ९४ प्रतिशत वृद्धि भएर अघिल्लो असार मसान्तसम्म १४ अर्ब १८ करोड पुगेको छ।सिंहले अघिल्लो आर्थिक वर्षमा नाकाबन्दी र अत्याधिक तरलताका कारण निक्षेप ब्याजदरमा ह्रास आएकोले जीवन बीमा प्रभावित भएको बताईन् ।

जनता बैंकको नाफा ३९२ प्रतिशत बढ्यो

काठमाडौं । जनता बैंकको नाफा ३९२ प्रतिशतले बढेको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकलाई अक्वायर र त्रिवेणी डेभलपमेन्ट बैंकसँग मर्ज भएसँगै बैंकको नाफा ६४ करोड पुगेको हो । गत आवको सोही अवधीमा बैंकले जम्मा १३ करोड मात्रै नाफा कमाएको थियो । जनता बैंकले २ अर्ब ८४ करोड ब्याज आम्दानी गरेको देखिन्छ भने ब्याज खर्च १ अर्ब ६९ करोड गरेको छ । बैंकले ४८ अर्ब निक्षेप संकलन गरेर ४५ अर्ब कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २ दशमलब शुन्य ९ प्रतिशत रहेको छ । ९ रुपैंयाँ १८ पैसा प्रति सेयर आम्दानी गरेको बैंकको प्रति सेयर नेटवर्थ भने १२६ रुपैंयाँ शुन्य ५ पैसा रहेको छ । ६ अर्ब ९९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।