सोलारको ठेक्का रद्ध गरेर नयाँ प्रक्रिया सुरु गर्न लेखा समितिको निर्देशन
काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले २५ मेगावाट सोलार प्लाण्ट जडानको ठेक्का तोडेर नयाँ प्रक्रिया थाल्न निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकले ठेक्का प्रक्रियामा अनियमितता भएको ठहर गर्दे नयाँ ठेक्काका लागि ग्लोबल टेण्डर आब्हान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको हो । नुवाकोटमा निर्माण गर्ने भनिएको २५ मेगावाटको सोलार प्लान्टको ठेक्का प्रक्रियामा ६८ करोड अनियमितता भएको निष्कर्षसहित लेखा समितिले प्रक्रिया रोक्न भनेको हो । न्युनतम कबोल गरेको कम्पनी भन्दा ६८ करोड बढि प्रस्ताव गरेको कम्पनीलाई ठेक्का दिएको भन्दै समितिमा उजुरी परेको थियो । बोल पत्र मुल्यांकनमा चौथो नम्बरमा रहेको कम्पनीलाई तेश्रो नम्बरमा ल्याएर ठेक्का दिएको देखिन्छ । त्यस अघि दोश्रो नम्बरमा रहेको कम्पनीलाई ठेक्का दिईएको थियो । एउटा कम्पनीलाई ठेक्का दिने निर्णय रद्ध गरेर चौथो नम्बर रहेको कम्पनीलाई तेश्रो नम्बरमा ल्याएर ठेक्का दिईएको थियो । यो प्रकरणमा तत्कालिन उर्जा मन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६८ करोड अनियमितता गरेको आरोप लाग्दै आएको छ ।
विद्युत् महशुल बढ्दै, गृहकार्यमा जुट्यो आयोग
काठमाडौं । विद्युत महशुल निर्धारण आयोगले भाउ बढाउन गृहकार्य थालेको छ । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा २० प्रतिशतसम्म महशुल बढाउन प्रस्ताव गरेपछि आयोगले यस्तो गृहकार्य थालेको हो । सोमबार बसेको बैठकले प्राधिकरणको महशुल वृद्धि विषयमा थप अध्ययन गर्न सदस्यलाई जिम्मेबारी दिएको आयोगका अध्यक्ष जगतकुमार भुसालले बताए । सदस्यबाट अध्ययन प्रतिवेदन प्राप्त भएपछि बैंठक बसेर थप छलफलका लागि काम थाल्ने उनको भनाई छ । प्राधिकरणले उद्योगमा २० प्रतिशत बढाउन प्रस्ताव गरेपनि सर्वसाधारणको महशुलको दर परिमार्जन हुन सक्ने उनको भनाई छ । “हामीले उद्योग मात्र हैन ग्राहस्थाको मूल्य पनि भाउ परिमार्जन गर्नलाई सोचिरहेका छौ” उनले भने । प्रतिवेदन प्राप्त भएपछि आयोगले सार्वजनिक सूचना प्रकाशित गरेर सार्वजनिक सुनुवाई गरेपछि महशुल बढाउने योजना छ । विद्युत प्राधिकरणले संस्थागत संरचना सुधार अन्र्तगत महशुल वृद्धिलाई पनि समावेश गरेपछि महशुल बढाउने प्रक्रिया अघि बढेको हो । प्राधिकरण व्यवस्थापनले हालै संस्थागत पुनसंरचना योजना तयार पारी कार्यन्वयन गर्देछ । उसको पुनसंरचना योजनालाई मन्त्रिपरिषदले स्वीकृति गरिसकेको छ । गत आर्थिक वर्ष ०७३/०७४ साउनदेखि आयोगले न्यूनतम १८.३५ देखि १९ प्रतिशत सम्म बिजुलीका भाउ बढाएको थियो । प्राधिकरणको संचित नोक्सानी बढेर झण्डै ४० अर्ब रुपैयाँ पुगेको छ । ६ वर्ष अघि सरकारले २७ अर्ब ३२ करोड रुपैयाँ संचित नोक्सानलाई अपलेखन गरेर नाफाघाटा बराबरीको अवस्थामा पुर्याएपछि पनि मंहगोमा किनेर सस्तोमा बेच्दा लगातार नोक्सान हुदै आएको प्राधिकरण व्यवस्थापनको जिकिर छ । आव ०७२/०७३ मा मात्र प्राधिकरणको ८ अर्ब ८९ करोड रुपैयाँ नोक्सान भएको थियो । कुलमान घिसिङ कार्यकारी निर्देशक भएपछि उनको कुशल व्यवस्थापनले गर्दा नोक्सान घटेर ९७ करोडमा झरेको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा नोक्सान उल्लेख्य रुपमा घटाउन सफल भएको छ । चुहावट नियन्त्रण, व्यवस्थापनमा सुधार, आयोजना पूर्ण क्षमतामा सञ्चालन र भारतबाट सस्तो दरमा बिजुली खरिद गर्दा नोक्सान ७ अर्ब ९२ करोड रुपैयाँ घटेको हो । गत वर्ष विद्युत प्राधिरकरणले बिजुली बिक्री र अन्य स्रोतबाट गरी ५० अर्ब २२ करोड रुपैयाँ कारोबार गरेको छ । गत वर्ष ४७ अर्ब ८२ करोड रुपैयाँ खर्च भई २ अर्ब ४० करोड रुपैयाँ सञ्चालन नाफा भएको छ । गत वर्ष ३८० मेगावाट बिजुली भारतबाट आयात भएको थियो । यो वर्ष थप २ सय मेगावाट आयातका लागि आवश्यक संरचना तयार भइसकेको छ । कटैया–कुसाह, परवानीपुर–रक्सौल १३२ केभी लाइनबाट १ सय र ढल्केबरमा सवस्टेशन निर्माणपछि थप १ सय गरी कुल २ सय मेगावाट बिजुली भारतबाट आयात गर्ने संरचना तयार भएको हो । एक वर्षमा बिजुली चुहावट ३ प्रतिशत घटेर २२.९ प्रतिशतमा सीमित भएको छ । हाल चुहावट २२.९ प्रतिशत छ । प्रतिव्यक्ति बिजुली खपत १७० युनिट पुगेको छ ।
कामना सेवा विकास बैंकले शुक्रबारदेखि एकिकृत कारोबार गर्दै
काठमाडौं । पुँजी बढाउन दुई विकास बैंक एकआपसमा गाभिएर (मर्जर) शुक्रबारदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । कामना विकास बैंकमा सेवा विकास बैंक गाभिएर कामना सेवा विकास बैंकको नाममा एकिकृत कारोबार हुन भएको हो । राष्ट्रियस्तरको विकास बैंक बन्नका लागि साढे २ अर्ब रुपैयाँ पुँजी आवश्यक भएपछि दुई संस्था गाभिएर एकिकृत कारोबार गर्न लागेका हुन् । कारोबारका लागि नियमक नेपाल राष्ट्र बैंकले स्वीकृत दिइसकेको छ ।
चिनियाँ अनुदानमा १ मेगावाट सोलारले झिलिमिली बन्दै सिंहदरबार(फोटो फिचरसहित)
काठमाडौं । आगामी चार महिनाभित्रै सिंहदबारमा १ मेगावाट क्षमताको सोलार जडान हुने भएको छ । सिंहदरबार परिसरमा चिनियाँ अनुदानको सोलार जडान गरेर पुसको दोस्रो सातासम्म बत्ति बाल्ने तयारी गरिएको हो । यतिबेला चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पाेरेशनले सिंहदरबार परिसरमा धमाधम सोलार प्यानल झारिरहेको छ । उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेका अनुसार शतप्रतिशत चिनियाँ अनुदानमा जडान हुने सोलार प्यानलले सिंहदरबारभित्रको विद्युत खपतलाई बिबिधिकरण गर्नेछ । हालसम्म सिंहदरबारभित्र नेपाल विद्युत प्राधिकरणको डेडिकेटिड फिडरबाट ५ मेगावाट विद्युत खपत हुँदै आएको छ । सिंहदरबारका बिभिन्न भवनका छाना, खाली जमिन र बाटोका छेउछाउमा सोलार प्यानल जडान गरिने उनले बताए । सबै भवनका छानामा सोलार राख्न उपयुत्त नभएकाले जमिनमा पनि जडान गरिने घिमिरेको भनाई छ । गत बर्ष भारतले नाकाबन्दी लगाएपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ सहयोगमा सिंहदरबार भित्र सोलार प्यानल जोड्न चिनियाँ सहयोग मागेका थिए । यतिबेला चीनमा निर्मित सोलार प्यानल र त्यसका उपकरण धमाधम सिंहदरबारमा झारिँदैछ । ‘शतप्रतिशत चिनियाँ अनुदानको सोलार हो, केहि भवनका छत र अन्य खाली ठाउँमा जडान हुन्छ’, प्रवक्ता घिमिरेले भने । चिनियाँ कम्पनीले भारतीय सवारी साधनमा सोलार प्यानल र त्यसका उपकरण ढुवानी गरिरहेको छ । सिंहदरबार परिसरमा त्यस्ता सोलार प्यानल र उपकरणहरु भण्डारण गरेर राखिएका छन् । एक मेगावाट क्षमताको सोलार प्यानल जडान भएपछि राष्ट्रिय प्रसारण लाइनमा एक मेगावाट विद्युत थपिनेछ । यसले बिजलुली खपत कम गरी लोडसेडिङ न्युनिकरणमा सघाउ पुर्याउनेछ । ऊर्जा मिश्रण गर्न सरकारले सोलार प्रविधिबाट बिजुली उत्पादनको प्रक्रिया अघि बढाएको छ । विश्व बैंकको ऋण सहयोगमा नुवाकोटमा २५ मेगावाट सोलार प्लाण्ट जडान हुदैछ । यस्तै निजी क्षेत्रबाट ६१ मेगावाट सोलारबाट उत्पादन हुने बिजुली खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
महालेखा परीक्षकको कार्यालयमा ७५ जिल्लामा १७८ जनालाई कर्मचारी अावश्यक, स्थानीयबासीलाई उच्च प्राथमिकता दिने
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले छोटो अवधिको लागि १७८ जना कर्मचारी नियुक्त गर्न लागेको छ । महालेखाले ७५ वटै जिल्लाका स्थानीय तह तथा निकायको आर्थिक वर्ष २०७३/७४ को लेखापरीक्षण गर्न लेखापरीक्षण सहायक माग गरेको हो । उक्त पदका लागि चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी ३ वर्षको अनुभव हासिल गरेकाले आवेदन गर्न सक्नेछन् । एक महिना अवधिको लागि मात्र लिइने उक्त पदको लागि साउन ३१ गतेभित्र आवेदन गर्नु पर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
नेप्सेले माग्यो नयाँ प्रमुख कार्यकारी अधिकृत, कार्य योजनासहित गोप्य आवेदन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का लागि नयाँ प्रमुख कार्यकारी अधिकृतको खोजी सुरु भएको छ । अर्थ मन्त्रालयले १५ दिन भित्रै आफ्ना योजनासहित दरखास्त दिन आवेदन खुल्ला गरेको हो । असार २५ गते तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको म्याद सकिएको थियो । प्रमुख कार्यकारी अधिकृत बिहिन भएको करिब तीन सातापछि मन्त्रालयले नयाँ नेतृत्वका लागि आवेदन खुल्ला गरेको हो । बाणिज्य, अर्थशास्त्र, वित्तिय वा कानुन बिषयमा स्नातकोत्तर उतिर्ण गरेर धितोपत्र बजार, पुँजी बजार, बैंकिङ वा वित्तिय क्षेत्रमा ५ बर्षको अनुभव भएकाहरुले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदकहरुले नेप्से सञ्चालन गर्ने आफ्ना गोप्य योजनासहित आवेदन दिन सक्नेछन् । पाँच हजार शब्दमा आफ्ना व्यवसायीक योजना समेटेर अर्थ मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन महाशाखामा पेश गर्नुपर्नेछ ।
श्रीको आवश्यक प्रक्रिया सबै पूरा, जहाज आएको साढे तीन महिना हुँदापनि एओसी दिन आनाकानी
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले आफ्नो तर्फबाट आवश्यक सबै प्रक्रिया पूरा गरेको छ । यो वायुसेवाले हिजो सोमबार इमर्जेनन्सीको अवस्थामा कसरी अवतरण गर्ने भन्ने विषयमा गरिएको अभ्यास सफल भएको छ । अब यो वायुसेवाले उडान अनुमति पाउनुअगाडि गनुपर्ने प्रुभिङ फ्लाइट मात्रै बाँकी छ । त्यो फ्लाइट पनि हामी १ दूई दिनमै गर्न सकिने श्री एयरलाइन्सका कर्पोरेट प्रमुख अनिल मानन्धरले बताए । उनका अनुसार हामीले आफ्नो तर्फबाट गनुपर्ने सबै प्रक्रिया पूरा गरेका छौं । अब एउटा प्रुभीङ फ्लाईट मात्रै बाँकी छ । यो फ्लाइट गरेपछि बल नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको कोर्टमा जान्छ । हामीलाई एसोसी दिन कि नदिने भन्ने विषयको निर्णय अब भने हामीले उतैबाट पर्खनुपर्ने भएको मानन्धरले जानकारी दिए । उनका अनुसार वायुसोव कम्पनीले प्राधिकरणले भने अनुसार र नियम तथा प्रक्रिया सबै पूरा गरेको छ । अब एसोसी दिनुपर्ने उनको बुझाइ छ । उडान अनुमति दिनुपर्ने नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अझै उडान अनुमति दिन आनाकानी गरिरहेको छ । प्राधिकरणले आवश्यक सबै प्रक्रिया पूरा गरेको र उडान अनुमति पाउने वित्तिकै तत्काल नियमति उडानमा प्रयोग गर्न सक्ने जहाजलाई महिनौदखि एओसी अड्काएर राखेको छ । यो वायुसेवा कम्पनीलाई उडान अनुमति दिने विषयमा प्राधिकरण र हवाई उडान सुरक्षा विभागको मात्रै नभएर इयू, आइकाओले पनि अनुमति दिनुपर्ने भन्दै हवाइ उडान सुरक्षा विभागका प्रमुख भेषराज सुवेदीले पन्छिए । उनले भने एओसी दिन आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ । यो वायुसेवाले हिजो इमर्जेन्सी लिडिङको काममा सफलता पाएको छ । अब यसले पूरा गरेको चेकलिष्ट देखाउनुपर्छ । उक्त चेकलिष्टलाई हामी अध्ययन गर्ने, र स्टेपवाई स्टेप पूरा भएको अवस्थामा मात्रै एओसीको प्रक्रिया अगाडि बढ्ने दाबी सुवेदीको छ । उनले आफूले मात्रै निर्णय नगर्ने भएकोले प्राधिकरणको हेड अफिसबाटै जानकारी लिनुपर्ने भन्दै पन्छिए । यो वायुसेवाले जहाज छिटो ल्याएको र आवश्यक तयारी ढिलो भएकोले लामो समय जहाज थन्किएको दाबी पनि उनको छ । उनका अनुसार एक साता अगाडि जहाज ल्याएको भए यति लामो समय बस्नुपर्ने थिए । उनका अनुसार प्राधिकरणले दिएकै अनुमति अनुसार जहाज ल्याएको भएपनि आवश्यक प्रक्रिया पूरा गर्न समय लागेकोले पनि अनुमति दिन ढिलो भएको बताए । यो वायुसेले अवाश्यक सबै प्रक्रिया पूरा गरेकोले अब एसोसीको दिन मात्रै बाँकी रहेको पनि उल्लेख छ । यो वायुसेवाले तीन वटा जहाज महिनौदेखि विमानस्थलमै थन्किँदा श्री एयरलाइन्सलाई करोडौ घाटा लागेको छ । १७ वर्षदेखि नियमित रुपमा हेलिकोप्टर उडान गरिरहेको श्रीले पहिलोपटक नियमित उडानमा जाने गरी फिक्स विंग्स (पंखा जडित) तीन वटा जहाज ल्याएको हो । यसले पहिलो जहाज चैत ३० दोस्रो बैशाख १६ र तेस्रो जहाज असार पहिलो साता नै काठमाडौं ल्याइसकेको छ । जहाज ल्याएको साढे तीन महिनासम्म पनि उडान अनुमति नपाउँदा र जहाजलाई विमानस्थलमा थन्काउनुपर्दा कम्पनीले करोडौ घाटा खानुपरेको छ । यो वायुसेवाले साढे तीन महिनादेखि विमानस्थलमा गरेको जहाज ल्याण्डिङ पार्किङमै करोडौ रुपैयाँ खर्च गर्नुपरेको छ । दुई वटा जहाज काठमाडौंमा छ भने एउटा विराटनगरमा लगेर राखेको छ ।
ओम डेभलपमेन्ट बैंकले कमायो ४३ करोड ३४ लाख, ४६ प्रतिशतले नाफा बढायो
काठमाडौं । ओम डेभलपमेन्ट बैंकले एक वर्षमा ४३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैकले गरेको यस्तो नाफा अघिल्लो आव २०७२ ७३ को तुलनामा ४३ प्रतिशतले बढि हो । अघिल्लो वर्ष यो बैंकले २९ करोड ६५ लाख रुपैयाँ यस्तो नाफा आर्जन गरेको थियो । यो बैंकले गत असार मसान्तसम्मको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ छ । यसको उक्त अवधिसम्मको संचित कोषमा ७५ करोड ८६ लाख रुपैयाँ जम्मा गरेको छ । यो विकास बैंकले गत असार मसान्तसम्ममा निक्षेप संकलन १६ अर्ब ६ करोड रुपैयाँ संकलन गरेको छ भने १४ अर्ब ५ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले हालसम्म ६७ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात शुन्य दशमलव ९० प्रतिशत रहेको छ । बैकको प्रति सेयर आम्दानी २६ रुपैयाँ ३७ पैसा रहेको छ । यो बैंकको सीडी रेसियो ७५ दशमवल २३ प्रतिशत रहेको छ । यसको प्रति सेयर नेटवर्थ १६० रुपैयाँ ४३ पैसा रहेको छ ।