माछापुच्छ्रे बैंकले एकै साथ शुरु गर्यो ११ वटा स्थानबाट बैंकिङ्ग सेवा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकै दिन थप ६ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले दमक, लहान, बर्दिवास, सुर्खेत, महेन्द्रनगर र कोहलपुरमा गरी ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । साथै, साेहि दिन बैंकले सिरहा जिल्लाको कल्याणपुर गाउँपालिका , तनहुं जिल्लाको भिमाद नगरपालिका तथा कंचनपुर जिल्ला आइबिआरडी पुर्नवास नगरपालिकामा एक्स्टेन्सन काउन्टरहरु संचालनमा ल्याएको छ । त्यसैगरी, बैंकले रुपन्देही स्थित गैंडहवा तथा सम्मरीमाई गाउँपालिकाहरुमा शाखा रहित बैकिङ्गसेवा संचालनमा ल्याएको छ । बैंकले शाखा सुभारम्भ भएको उपलक्ष्यमा निश्चित समयको लागि निःशुल्क डेविट कार्ड उपलब्ध गराउने, कर्जा शुल्कमा ०.२५ प्रतिशत छुट दिने र लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने ईत्यादि सुविधा समेत उपलब्ध गराएको छ । त्यसैगरी, बैंकले यी सवै नयाँ शाखा तथा एक्स्टेन्सन काउन्टर खुल्ने स्थानहरुमा विभिन्न सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रमहरु सम्पन्न गरेको छ । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै उक्त शाखाहरुमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । यस बैकले २०७३ साल चैत्र मसान्त सम्म ५८ अर्व ४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, सोही अबधिमा रु. १ अर्व ५१ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । बैकले हालसम्म ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ६८ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ ।
बैंक अफ काठमाण्डू र लाइफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता भए बमोजिम जीवन तरङ्ग र जीवन आनन्द प्लान सेवा उपलब्ध गराइने भएको छ । साथै, यस सम्झौताद्वारा बैंक अफ काठमाण्डूका ग्राहकवर्गले नजिकैको शाखा कार्यलयबाट सजिलै जीवन बीमा सेवा लिन एवम् जीवन बीमा प्रिमियम तिर्न सक्नेछन् ।
तीन अर्ब ३५ करोडको आईपीओ आउँदै, १४ कम्पनीले मागे अनुमति
काठमाडौं । पुँजी बजारमा १४ कम्पनीले झण्डै साढे ३ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । हालसम्म १४ कम्पनीले ३ करोड ३५ लाख १४ हजार २९० कित्ता सेयर निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन् । जसमा १२ वटा विकास बैंक र २ जलविद्युत समूहको साधारण सेयर पाइपलाइनमा रहेका छन् । पाइपलाइनमा रहेका सबै कम्पनीले बोर्डको अनुमति पाएपछि मात्र सो मात्राको साधारण सेयर बजारमा बिक्रीमा आउनेछन् । त्यस्तै, बजारमा पाँच कम्पनीको एक करोड ७१ लाख ३० हजार ७२८ कित्ता थप निष्कासन (एफपीओ) आउने प्रकियामा छन् । प्रिमियर इन्योरेन्स कम्पनीको ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ आउँदै छ । यस कम्पनीको बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । बटवल पावर कम्पनीले ४० हजार ८१ हजार कित्ता एफपीओ एनएमबी क्यापिटल एण्ड लक्ष्मी क्यापिटल मार्केटबाट निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । त्यसैगरी, नेपाल ग्रामीण विकास बैंकको ९ लाख ७५ हजार कित्ता र एनएमबी बैंकको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ आउने प्रक्रियामा छन् । सो मात्राको एफपीओ निष्कासन गर्न यी दुई बैंकले आफ्नो बिक्री प्रवन्धकमा क्रमशः प्रभु क्यापिटल र सिटिजन्स इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेका छन् । आइपीओ अनुमति माग्ने १४ कम्पनी:
काठमाडौंका दुई रुटमा मोनो रेल बनाउन सिफारिस, प्रति किलोमिटर साढे पाँच अर्ब लागत
काठमाडौं । राष्ट्रिय योजना आयोगले काठमाडौंका दुई वटा रुटमा मोनो रेल बनाउन सिफारिस गरेको छ । योजना आयोगको पूर्वाधार हेर्ने सदस्य प्राध्यापक हिरेन्द्र मान प्रधानको अध्ययन समितिले कलंकी, त्रिपुरेश्वर, बानेश्वर, तिनकुने हुँदै एयरपोर्टसम्म र महाराजगञ्ज, रत्नपार्क, जावलाखेल, लगनखेल हुँदै सातदोबाटोसम्म सञ्चालन हुने गरि २ वटा रुटमा मोनो रोलको डिपिआर निर्माणको प्रक्रिया अघि बढाउन सिफारिस गरेको हो । ‘१ नम्बर र २ नम्बर रुटमा मोनो रेल निर्माण गर्न सकिने सम्भावना देखियो, डिपिआर निर्माणका लागि नीतिगत निर्णय गर्न र मोनो रेल निर्माणका लागि वित्तिय श्रोत जुटाउनका लागि बृहत छलफल अघि बढाउन सुझाव दिएका छौं’, अध्ययन समितिका संयोजक तथा योजना आयोगका सदस्य प्राध्यापक हिरेन्द्र मान प्रधानले विकासन्युजँसग भने । यात्रु आवागमन, सडक पुर्वाधार र लगानी उठाउने सम्भावना लगायतका पक्षको आधारमा ती दुई रुटमा मोनो रेल निर्माण गर्न सकिने निष्कर्षमा पुगिएको प्रधानले बताए । जापान अन्तराष्ट्रिय सहयोग नियोग(जाइका), कोरियाली कम्पनी र रेल विभागले यस अघि गरेका सम्भाव्यता अध्ययनहरुलाई समेटेर प्रधान नेतृत्वको समितिले रिपोर्ट तयार पारेको हो । समितिले रिङ रोडमा भने मोनो वा मेट्रो दुबै रेल निर्माण गर्ने सम्भावना नभएको निष्कर्ष पनि निकालेको छ । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले पनि मेट्रो रेल, मोनो रेल र फ्लाई ओभर निर्माणबारे अध्ययन थालेपछि आयोगले दुबै महानगरका प्रमुखलाई बोलाएर छलफल पनि गरिसकेको छ ।‘पुर्वाधार निर्माणका कार्यक्रममा डुब्लिकेशन नहोस भनेर दुबै महानगरका प्रमुखसँग छलफल गरेका छौं, अब कार्यक्रममा डुब्लिकेशन हुँदैन, मेट्रो वा मोनो रेल जे बनाउने हो त्यसको एकिकृत रोडम्याप अनुसार काम हुन्छ’, प्रधानले भने । सम्भाव्यता अध्ययनका क्रममा मोनो रेलको निर्माण लागत प्रति किलोमिटर साढे पाँच अर्ब(५१.५३ मिलियन डलर) लाग्ने प्रक्षेपण गरिएको छ । प्रति घण्टा ८० किलोमिटर दौडने सो मोनो रेलमा रबरबो टायर प्रयोग हुनेछ । मोनो रेलको एउटा प्याक्स(कार)ले प्रतिदिन ३० हजार यात्रु बोक्न सक्नेछ । १ नम्बर रुटको मोनो रेलले सन २०१९ मा दैनिक एक लाख ५८ हजार यात्रु पाउने प्रक्षेपण गरिएको छ भने सन २०४९ मा पुग्दा त्यो संख्या बढेर २ लाख ८१ हजार पुग्ने अनुमान छ । २ नम्बर रुटको मोनो रेलले भने सन २०१९ मा १ लाख १६ हजार यात्रु पाउनेछ भने त्यो संख्या सन २०४९ मा पुग्दा २ लाख ८३ हजार हुने अनुमान छ । १ नम्बर रुट १२ दशमलब १० किलोमिटरको हुनेछ भने २ नम्बर रुटको लम्बाई ११ दशमलब १५ किलोमिटर हुनेछ । आयोगले तयार पारेको रिपोर्टलाई लगानी बोर्डमा पठाइनेछ । लगानी बोर्डले त्यसलाई मन्त्रि परिषदमा लगेर डिपिआर निर्माणको प्रक्रिया अघि बढाउनेछ ।
टेलिकमको ३ जलविद्युत आयोजनामा लगानी
काठमाडौं । दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले ३ वटा जलविद्युत कम्पनीमा लगानी गरेको छ । सरकार स्वामित्वको टेलिकमले आफनो लगानीलाई विविधिकरण गरी निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनामा लगानी गरेको हो । यस्तै टेलिकमले नेपाल विद्युत विकास कम्पनीमा पनि लगानी गरेको छ । विद्युत् विकासमा १० प्रतिशत लगानी गरेको छ । माथिल्लो तामाकोसीमा ६ प्रतिशत अर्थात ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताईन् । निर्माणको तयारीमा रहेको त्रिशुली ३ बीमा ३० प्रतिशत लगानी गरेको छ । यस्तै जलविद्युत विकास कम्पनीमा १० प्रतिशत लगानी गरेको उनले जानकारी दिइन् । माथिल्लो तामाकोसीको ९० प्रतिशत काम सकिएको छ । अब १० प्रतिशत मात्र काम बाँकी छ । आउदो ०७५ को असारसम्म पाँच मध्ये एउटा युनिटबाट बिजुली उत्पादन गर्ने तयारी भइरहेको छ । बाँकी ४ वटा युनिट सोही वर्षको मंसिरसम्म सञ्चालनमा ल्याउने प्रवद्र्धक अपर हाइड्रोपावर लिमिटेडको तयारी छ । यस्तै त्रिशुली ३ बी आयोजनाको सिभिल ठेकेदार छनौट अन्तिम चरणमा पुगेको छ । आउदो कात्तिकदेखि आयोजनाको सिभिल निर्माण सुरु हुने त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ । माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि वर्षादमा हुने विद्युतभार कटौतीका साथै भारतबाट बिजुली आयात बन्द हुने छ ।
डलर कमजोर, नेपाली रुपैयाँ मजवुत बन्दै
काठमाडौं । केही दिनयता नेपाली रुपैयाँसंग अमेरिकी डलर कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि १ डलर बराबर १०२ रुपैयाँ ९५ पैसा तोकेको छ । केही साताअघि १ डलर बराबर १०४ रुपैयाँ थियो । भारतीय रुपैयाँ मजवुत भएपछि यसको सकरात्मक प्रभाव नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु मजवुत हुन साथ नेपाली रुपैयाँ पनि बलियो हुने गरेको छ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले सोमबार १ डलर बराबर ६४ भारु तोकेको छ । डलर मजवुत हुदै गएपछि १ डलर बराबर ६९ भारुसम्म पुगेको थियो । गत मंसिरमा डलर मजवुत भएपछि १११ रुपैयाँसम्म पुगेको थियो । पछिल्ला महिनामा निरन्तर डलर कमजोर हुदै गएको छ । गत पुससम्म १ डलर बराबर औसत १०६ रुपैयाँ ३५ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ । गत जुनमा पनि १ डलर बराबर १०३ रुपैयाँ १२ पैसा थियो । डलर कमजोर भएपछि आयातित वस्तुको लागत सस्तो हुन गई उपभोक्ता मूल्य घट्छ । यसले गर्दा उपभोक्तालाई फाइदा हुन्छ । गत जेठसम्म उपभोक्ता मूल्यवृद्धि ३ प्रतिशत तल रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि कम भएको छ । डलर कमजोर भएका कारण गत आर्थिक वर्षमा विभिन्न दातालाई दिने सावाँ र ब्याज फिर्ता १६ अर्ब रुपैयाँ कम भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । डलर मजवुत हुदा निकासीकर्ता र रेमिटेयान्स पठाउनेलाई फाइदा हुन्छ ।
नेप्से ९ अंकले उक्लियो, पाँच कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । सोमबार नेप्से परिसूचक ९ दशमलब ४१ अंकले उकालो लागेर १६५२ दशमलब ६९ अंकमा पुगेको छ । बजारमा एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५५ कम्पनीको १६ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ । सोमबार ५ कम्पनीका सेयर मूल्य झण्डै १० प्रतिशतले बढेका छन् । सो दिन नेशनल फाइनान्स वित्तिय संस्थाको र तारागाउँ रिजेन्सि होटल दुबै संस्थाको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै, हिमालयन डिस्टिलरी, श्री इन्भेष्टमेन्ट फाइनान्स र ओरियन्टल होटलको सेयर मूल्य ९.९५, ९.९१ र ९.८९ प्रतिशतले बढेको छ । त्यस्तै, बजारमा सबैभन्दा बढी सानिमा बैंकको ४ करोेड ५१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२९७ रुपैयाँ रहेको छ ।
घर बनाउँंदै हुनुहुन्छ ? क्यान्सर होला नि !
काठमाडौं । सरकारले एस्बेष्ट्स् (निर्माण सामाग्रीमा हुने हानिकारक तत्व) भएको निर्माण सामाग्रीमाथि कडाइकासाथ रोक लगाउने भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले एस्वेष्ट्स् भएको सिमेन्ट वोर्ड र प्रिफयाव बोर्डलाई आयत हुनबाट रोक लगाएको हो । विभागले एस्वेष्ट्स् नभएको प्रिफयाब बोर्ड, सिमेन्ट वोर्ड, रुफिङ सिटलाई मात्रै आयत गर्न दिने भएको हो । यसका लागि विभागले सवै भन्सार कार्यालयहरुलाई परीक्षण पश्चात मात्रै भित्राउन निर्देशन दिएको छ । प्रयोगशाला परीक्षण गरेर मात्रै जाँंचपास गर्न विभागले देशभरका भन्सार कार्यालयहरुलाई निर्देशन दिएको हो । भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले एस्बेष्ट्स भएको निर्माण सामाग्रीका कारण स्वास्थ्यलाई पुयाउन सक्ने हानीनोक्सानीलाई ध्यान दिएर सवै भन्सार कार्यालयहरुलाई निर्देशन जारी भइसकेको जनाए । विभागका सूचना अधिकारी कुलराज ज्ञवालीले भारतलगायतका देशहरुबाट एस्बेष्ट्स् भएको निर्माण सामाग्री भित्रिने गरेका कारण त्यसमाथि नियन्त्रण जमाउन यसो गरिएको जनाए । एस्बेष्ट्स् भन्नाले निर्माण सामाग्रीमा हुने क्यान्सरसम्म हुनसक्ने डरलाग्दो खनिज पदार्थ हो । सिमेन्ट वोर्डलगायत रुफिग वोर्ड बनाउँंदा प्रयोग हुने यो एक प्रकारको आँखाले नदेखिने फाइबर हो । दशकौदेखि युरोपलगायत विकशित मुलुकहरुमा क्यान्सरजस्ता रोग निम्त्याउने खतरा भएको भन्दै यसलाई प्रतिवन्ध लगाइएको छ । तर छिमेकी मुलुक भारतमा भने पूर्ण बन्देज छैन । भारतबाटै यहाँं यस्ता निर्माण सामाग्री भित्रिने गर्दै आएको छ । अमेरिकामा तीसवर्ष अगाडि नै एस्बेष्ट्स्लाई प्रतिवन्ध लगाए पनि अहिले पनि क्यान्सर रोगको मुख्य कारण एस्बेष्ट्स् रहेको अमेरिकास्थित एस्वेट्स् रोग सचेतना संगठनले जनाएको छ । सन १९७९ मा एस्बेष्ट्स्लाई मार्गनिर्देशन जारी गरे पनि तत्पश्चात ४५ हजार अमेरिकनहरु एस्बेष्ट्स्सँंग सम्वन्धित रोगले मृत्यु भएको मेसोथेलोमिया बेवसाइटमा उल्लेख छ । नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्रका अनुसार प्रिफयाब, सिमेन्ट वोर्ड, रुफिग वोर्डलगायत अन्य निर्माण सामाग्रीमा हुने एस्बेष्ट्स्सँंग लामो समय निरन्तर सम्पर्कमा ररिहरहँदा यसबाट क्यान्सरसम्मको खतरा हुनसक्छ । यसलाई विचार गरेर सरकारले गरेको यो कदम स्वागगयोग्य भएको डा मिश्रले बताए । स्वदेशमै एस्बेष्ट्स् नभएको निर्माण सामाग्री पनि उत्पादन हुँंदै आएको छ ।