फ्युचरामा २०२५ सम्पन्न : तीन दिनमा ३५ सय भन्दा बढी युवाको प्रविधि यात्रामा सहभागिता
काठमाडौं । इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमी, काठमाडौंको सहकार्यमा आयोजना गरेको तीन दिने प्रविधि महोत्सव ‘फ्युचरामा २०२५’ साउन २१ देखि २३ गतेसम्म कलेज परिसरमा सम्पन्न भएको छ । महोत्सवमा विद्यार्थीहरूले निर्माण गरेका स्वचालित सवारीसाधन मोडल, रोबोटिक सहायक, कृषक तथा विभिन्न एनिमेशन अनुभवहरूले दर्शकको विशेष ध्यान खिचे । साथै, डिजिटल सुरक्षा, कृत्रिम बुद्धिमत्ता लगायतका विषयमा अन्तरक्रियात्मक बूथ, प्रत्यक्ष प्रस्तुति र कार्यशाला पनि आयोजना गरिएको थियो । मुख्य समन्वयकर्ता अनिशा आचार्यका अनुसार, फ्युचरामाले प्रविधिमा रुचि राख्ने युवालाई प्रयोगात्मक सिकाइको अवसर प्रदान गर्दै आत्मविश्वास, नवीनता र उद्यमशीलताको सोच विकास गर्न मद्दत पुर्याएको छ । कार्यक्रमको अन्तिम दिनमा ‘कफी रेभ’ आयोजना गरिएको थियो । तीन दिनको अवधिमा ३,५०० भन्दा बढी युवाले प्रदर्शनी अवलोकन गरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार, फ्युचरामा २०२५ अन्य प्रमुख शहरहरूमा पनि आयोजना गरिनेछ, जसले देशभरका युवामा प्रविधिप्रतिको सहभागिता र नवीनताको चेतना फैलाउने लक्ष्य राखेको छ ।
४ ट्रिलियन डलर क्लबमा एनभीडीया, एआई क्रान्तिको अग्रणीले रच्यो नयाँ इतिहास
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) चिप निर्माण गर्ने कम्पनी एनभीडीयाले दिनदिनै नयाँ इतिहास बनाउँदै छ । ४ ट्रिलियन डलरको बजार पूँजीकरण (मार्केट क्याप) बनाई विश्वको पहिलो कम्पनी बनेपछि यस कम्पनीले अर्को नयाँ रेकर्ड कायम गरेको हो । अमेरिकाको एसएन्डपी ५०० इन्डेक्समा एनभीडीयाको हिस्सेदारी ८ प्रतिशत पुगेको छ । अमेरिकामा सन् १९८१ मा यस किसिमको रेकर्ड राख्न सुरु भएको थियो यद्यपि अहिलेसम्म कुनै कम्पनी यो स्तरमा पुग्न सकेको थिएनन् । जसरी एनभीडीयाको सेयर बढिरहेको छ त्यसले देखाउँछ कि आगामी दिनहरूमा यो कम्पनीले धेरै नयाँ रेकर्डहरू बनाउन सक्छ । एनभीडीयाको बजार पूँजीकरण अहिले ४.४५५ ट्रिलियन डलर पुगेको छ । अमेरिकाको इतिहासमा यसअघि केवल एक कम्पनी मात्र एसएन्डपी ५०० इन्डेक्समा ७ प्रतिशतभन्दा माथि पुगेको थियो । आइफोन बनाउने कम्पनी एप्पलले सन् २०२३ मा यो उपलब्धि हासिल गरेको थियो । २००० को डट-कम बबलको समयमा समेत कुनै कम्पनीले यसरी एसएन्डपी ५०० इन्डेक्समा आफ्नो प्रभुत्व जमाउन सकेका थिएनन् । सन् १९९९ मा माइक्रोसफ्टको र सन् २००० मा जनरल इलेक्ट्रिकको हिस्सेदारी ४ प्रतिशत थियो भने सन् १९८४ मा आईबीएमको हिस्सेदारी ६ प्रतिशत थियो । विशेषज्ञहरूका अनुसार अहिले विश्वमा एआई क्रान्तिको सुरुवात मात्र भएको छ । आगामी दिनहरूमा जसरी विश्वमा एआईको प्रयोग बढ्नेछ, त्यसैगरी एनभीडीया र चिप निर्माण गर्ने अन्य कम्पनीहरूको सेयरमा पनि तीव्र वृद्धि हुनेछ । विज्ञहरू आगामी दुई वर्षमा एनभीडीयाको सेयर ३०० डलरसम्म पुग्न सक्ने बताउँछन् । केही महिनामै कम्पनीको सेयरमा ठूलो उछाल आएको छ । अप्रिलमा यसको मूल्य करिब ९५ डलर थियो भने अहिले यो करिब १८३ डलरसम्म पुगेको छ । एनभीडीया सन् १९९३ मा अमेरिकामा स्थापना भएको एक प्रख्यात टेक कम्पनी हो जसको सुरुवाती उद्देश्य कम्प्युटर ग्राफिक्सका लागि उच्च प्रदर्शनका ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) विकास गर्नु थियो । समयसँगै यसको प्रविधि केवल गेमिङ र ग्राफिक्ससम्म सीमित रहेन बरु वैज्ञानिक अनुसन्धान, डेटा सेन्टर, स्वचालित सवारीसाधन र हालको एआई क्रान्तिको मेरुदण्ड बन्न पुग्यो । एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङ हुन् । उनी कम्पनीका सह-संस्थापक पनि हुन् । उनले प्राविधिक क्षेत्रमा ऐतिहासिक सफलता हात पारेका छन् । सन् १९६३ मा ताइवानको ताइनानमा जन्मिएका हुआङ ९ वर्षको उमेरमा अमेरिका पुगेका थिए । बाल्यकालमा होटलमा वेटर र विद्यालयमा क्लीनरको काम गर्दै उनले पढाइ जारी राखे । उनले ओरेगन स्टेट युनिभर्सिटीबाट विद्युत इन्जिनियरिङमा स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । सन् १९९३ मा क्रिस मलाचोव्स्की र कर्टिस प्राइमसँग मिलेर हुआङले एनभीडीया स्थापना गरेका थिए । प्रारम्भिक संघर्षपछि कम्पनीले सन् १९९९ मा ‘जिफोर्स २५६’ बजारमा ल्याउँदै जीपीयू प्रविधिमा क्रान्ति ल्याएको थियो । कालो लेदरको ज्याकेट लगाइ सार्वजनिक कार्यक्रममा उपस्थित हुने हुआङलाई उद्योग विश्लेषकहरूले ‘एआई युगको प्रमुख पात्र’ का रूपमा व्याख्या गर्छन् ।
नाइमा मोबिलिटी एक्स्पोमा माज्दा सीएक्स-६० सार्वजनिक, मूल्य १ करोड ५१ लाख
काठमाडौं । नाइमा मोबिलिटी एक्सपो २०२५ मा पारामाउन्ट मोटर्सले माज्दा सीएक्स-६० सार्वजनिक गरेको छ । यो मोडल ‘अल ह्विल ड्राइभ’ सिस्टमसहित नेपाली बजारमा ल्याइएको हो । माज्दा सीएक्स–६० को लम्बाइ ४५५० मिमी, चौडाइ १८४० मिमी र उचाइ १६६० मिमी रहेको छ । यसमा २।५ लिटर क्षमताको इन्जिन प्रयोग गरिएको छ, जसले अधिकतम १८५ बीएचपी पावर र २५० एनएम टर्क उत्पादन गर्छ । गाडीको टप स्पिड १८० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जानकारी दिएको छ । इन्टेरियर डिजाइन प्रिमियम स्तरको छ भने सुरक्षाको दृष्टिकोणले पनि यो गाडी निकै उन्नत छ । माज्दा सीएक्स–६० मा ६ वटा एयरब्याग, भेइकल स्टेबिलिटी कन्ट्रोल ३६० डिग्री क्यामेरा तथा विभिन्न प्रकारका सेन्सरहरू जडान गरिएको छ । कम्पनीले यस एसयूभीको मूल्य १ करोड ५१ लाख रुपैयाँ निर्धारण गरेको छ । नाइमा एक्स्पोबाटै यो गाडी बिक्री गर्न थालेको छ ।
मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै किसान
भोजपुर ।अलैँचीको मूल्य वृद्धि भएपछि भोजपुरका किसान खेती विस्तारमा जुटेका छन् । यसअघि उत्पादन भएको अलैँचीले राम्रो मूल्य पाएपछि किसान अलैँचीखेती विस्तारमा जुटेका हुन् । गत वर्षदेखि मूल्य वृद्धि भएपछि यहाँका किसान नयाँ बगैँचा विस्तारसँगै पुराना बगैँचाको संरक्षणमा जुटेका टेम्केमैयुङ–५ का शिवकुमार विष्टले बताए । गत वर्ष प्रतिमन अलैँची रु एक लाखदेखि रु एक लाख दुई हजारसम्म बिक्री भएपछि किसान उत्साहित भएको उनको भनाइ छ । मूल्य वृद्धि भएपछि परम्परागत बालीलाई हटाएर पुनः अलैँचीखेतीमा जुटेको उनले जानकारी दिए। केही वर्षअघिसम्म मूल्यमा निरन्तर गिरावट आएपछि धेरै किसानले बगैँचा विस्तार गरेका थिएनन् । बजारमा अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसान बगैँचा विस्तारमा लागेका अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेश विष्टले बताए । राज्यले प्राविधिक सहयोग गरेमा किसानले अझ राम्रो आम्दानी लिन सक्ने उनको भनाइ छ । रोग, कीरा नियन्त्रणका लागि प्रत्येक अलैँची जोनमा एक कृषि प्राविधिक राख्न आवश्यक रहेको उनले बताए । 'मूल्य बढेसँगै अलैँचीखेती क्षेत्र विस्तारमा किसान जुटेका छन्', अध्यक्ष विष्टले भने, 'केही ठाउँमा रोग कीराको प्रकोप बढेको छ । राज्यको तहबाट राम्रो प्राविधिक सहयोग भएमा किसानले अझ राम्रो आम्दानी लिन सक्ने थिए ।' माटो परीक्षण गरेर नयाँ नर्सरी स्थापना गर्न सके अलैँची अझ राम्रो आम्दानीको स्रोत बन्ने अध्यक्ष विष्टले बताए । टेम्केमैयुङ–५ मा मात्र करिब एक सय ५० किसानले व्यावसायिक रूपमा अलैँचीखेती गरिरहेका छन् । जिल्लामा अहिले करिब पाँच सय ९७ हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ रामशाही, गोलशाही, डम्बर शाही, जिर्मले जातको अलैँचीखेती हुने गरेको छ । चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ वासिङ्गथर्पु, तिम्मा हेलौछा, गुप्तेश्वरलगायत ठाउँमा अलैँचीको बढी खेती हुने गरेको छ । रासस
महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो
कञ्चनपुर । महेन्द्रनगरस्थित नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढेको छ । उत्कृष्ट सस्तो सेवाका कारण भारतीय आँखाका विरामी समेत यहाँ उपचार गराउन आकर्षित भइरहेका छन् । अस्पतालले आर्थिक वर्ष २०८१/८२ मा २४ हजार ७८० जनालाई आँखासम्बन्धी उपचार सेवा प्रदान गरेको छ । अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीका अनुसार उक्त अवधिमा मोतियाविन्दु भएका छ सय ३४ जनाको शल्यक्रिया गरिएको छभने पाँच हजार ४१३ जनालाई चश्मा वितरण गरिएको छ । आँखा उपचार सेवालाई गुणस्तरीय बनाएका छौँ । उनले भने, 'अन्य स्थानका तुलनामा सेवा सस्तो पनि छ, स्वदेशी वा विदेशी भनेर कुनै विभेद गरिँदैन, सबैलाई समान शुल्क लिएर समान व्यवहार गरी उपचार गरिँदै आएको छ ।' उनका अनुसार यही कारणले अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ । अस्पतालमा सेवा लिनेमा एक हजार ६६७ जना भारतीय नागरिक रहेका छन् । नेत्र अधिकृत धामीका अनुसार भारतीय बिरामीको चाप बढ्नुमा अस्पतालको गुणस्तरीय, विभेदरहित सेवा र अतिरिक्त शुल्क नलिइनेलगायत रहेको छ । 'मोतियाविन्दु, आँखामा मासु पलाएका, नेत्र ज्योतिको समस्या भएका, चश्मा लाग्ने, परेला फर्केकालगायत बिरामीको शल्यक्रिया मेसिनका माध्यमबाट अस्पतालमै गरिँदै आएको छ', उनले भने, 'जलविन्दु भएका, आँखाको नानी (रेटिना) प्रत्यारोपण गर्नुपर्ने जटिल प्रकृतिका बिरामीलाई शल्यक्रियाका लागि गेटा आँखा अस्पतालमा ‘रेफर’ गरिँदै आएको छ ।' उनका अनुसार हाल दैनिक अस्पतालमा एक सय १५ देखि एक सय २० जनासम्म बिरामी आँखा उपचारका लागि पुग्ने गरेका छन् । बिरामीबाट लिने शुःल्कबापतको रकम बचत गरी अस्पताल सञ्चालनमा खर्च गरिँदँ आएको उनको भनाइ छ । आर्थिक वर्ष २०८१/८२ मा विद्यालय र दुर्गम स्थानमा आँखा शिविर सञ्चालन गरी थप सेवा प्रवाह गरिएको छ । विद्यालयस्तरका छ शिविरमार्फत एक हजार ९०० विद्यार्थीलाई सेवा दिइएको थियो भने स्थानीय तहस्तरमा आयोजित शिविरबाट तीन हजार ९०० जनाले सेवा लिएका छन् । विसं २०४२ मा आँखा उपचार केन्द्रका रुपमा उक्त अस्पतालको स्थापना गरिएको थियो । पछि २०७० सालमा १० शय्याको आँखा अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो । अस्पताल सञ्चालन हुँदै आएको भवनमा शल्यक्रिया गर्न अप्ठेरो हुन थालेपछि भवन निर्माणका लागि नगरपालिका र प्रदेश सरकारलाई आग्रह गरेका छौँ, अश्वासन पाएका छौँ, अहिलेसम्म बजेटको टुङगो नलागेको नेत्र अधिकृत धामीले बताए । हाल वायु प्रदूषणका कारण आँखा पाक्ने (भाइरल) रोगको सङ्क्रमण बढेको उल्लेख गर्नुहुँदै सर्वसाधारणलाई यस रोगबाट बच्न दैनिक सफा पानीले आँखा सफा राख्ने, घरभन्दा बाह्य क्षेत्रमा जाँदा क्याप टोपी, कालो चश्माको प्रयोग गर्न उनले सल्लाह दिएका छन् । रोगको सङ्क्रमण भइहाले आँखा अस्पतालमा पुगेर चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्ने उनी बताउँछन् । विसं २०३५ मा स्थापना भएको नेपाल नेत्रज्योति सङ्घ नेपालकै अग्रणी गैर–सरकारी संस्था हो । यसले सुलभ र गुणस्तरीयय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत सङ्घले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ, भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ । रासस
मेकानिकल इञ्जिनियरिङमा अध्यापन गराउँदै पोखरा विश्वविद्यालय
गण्डकी । पोखरा विश्वविद्यालयमा स्नातक तहमा मेकानिकल इञ्जिनियरिङ विषयको पढाइ यसै वर्षदेखि सुरु हुने भएको छ । विश्वविद्यालयले पाठ्यक्रम तयार गरी पहिलोपटक यस शैक्षिकसत्रका लागि भर्ना खुलाएको विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्कायका डिन सहप्राध्यापक बुद्धिराज जोशीले जानकारी दिए । विश्वविद्यालयले समयानुकूल आवश्यकता समेतलाई दृष्टिगत गर्दै नवीनतम् प्रविधियुक्त विषयको पठनपाठन बढाउने योजनाअनुुरुप नै मेकानिकल इञ्जिनियरिङको पठनपाठन सुरु गर्न लागेको उनको भनाइ छ । नेपालका विद्यार्थीहरूलाई स्वदेशमै उच्च गुणस्तरीय मेकानिकल इञ्जिनियरिङ शिक्षाको सुविधा उपलब्ध गराउने उद्देश्यका साथ यस विषयको पठनपाठन सुरु गरिएको भर्ना समितिका संयोजक सह प्रा डा सुरेश बरालले जानकारी दिए । यसअघि विश्वविद्यालयमा सबै प्रमुख इञ्जिनियरिङ शाखाहरू भए पनि मेकानिकल इञ्जिनियरिङको अभाव थियो । नेपालमा जलविद्युत्, ऊर्जा, डिजाइन, स्वचालन, म्यानुफ्याक्चरिङ र औद्योगिक क्षेत्रमा मेकानिकल इञ्जिनियरको माग तीव्र रूपमा बढिरहेकाले विश्वविद्यालयले यस आवश्यकतालाई सम्बोधन गर्ने गरी पहल बढाएको हो । यस कार्यक्रमको पाठ्यक्रमले परम्परागत विषयमात्र नसमेटी आधुनिक प्रविधियुक्त अटोमेसन र रोबोटिक्स, इण्डस्ट्री ४.० र मेसिन लर्निङजस्ता क्षेत्रहरुलाई पनि समेटेको छ । यो विषयको अध्ययनसँगै विद्यार्थीले परियोजना आधारित शिक्षण, हातको अभ्यास र राष्ट्रिय तथा स्थानीय उद्योगसँगको प्रत्यक्ष सम्पर्कमार्फत व्यावहारिक सीप हासिल गर्ने उनले जानकारी दिए । कार्यक्रमले विद्यार्थीहरू शिक्षितमात्र नभई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको बताउँदै उनले यसबाट नेपालको पूर्वाधार र प्रविधिको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको उनले जानकारी दिए । पाठ्यक्रम संरचना कुल चार वर्षमा संरचित र यसका लागि विश्वविद्यालयले अध्ययन शुल्क रु पाँच लाख ८७ हजार २०० निर्धारण गरिएको उपप्राध्यापक ऋषभ खनालले जानकारी दिए । उनका अनुसार आठ सेमेस्टरमा समेटिएको यस कार्यक्रममा १३० घण्टा कक्षा भार (क्रेडिट आवर) तय गरिएको छ । पाठ्यकमअनुसार सुरुमा इञ्जिनियरिङ ड्रइङ, थर्मोडायनामिक्स, मेकानिक्स र वर्कशप प्रविधिजस्ता आधारभूत विषय पढाइन्छ भने पछिल्ला वर्षहरूमा (फेम) रोबोटिक्स, अटोमोटिभ प्रविधि, ऊर्जा तथा वातावरण र डिजाइनसँग सम्बन्धित उन्नत विषयहरू पढाइन्छ । 'तीन वैकल्पिक पाठ्यक्रम, एक माइनर प्रोजेक्ट, दुई भागमा हुने मेजर प्रोजेक्ट र १२ हप्ता अनिवार्य इन्टर्नसीप पनि समावेश गरिएको छ', उनले भने । यस विषयले विद्यार्थीलाई समसामयिक प्रविधिको ज्ञान दिने मात्र नभई व्यावसायिक, अनुसन्धान तथा उद्यमशीलताका लागि समेत सक्षम बनाउने लक्ष्य राखेको खनालको भनाइ छ । अध्ययनसँगै विद्यार्थीले नेपालभित्र जलविद्युत्, उत्पादन, पूर्वाधार निर्माण र नवीकरणीय ऊर्जा क्षेत्रमा रोजगारी पाउने सम्भावना राख्ने उल्लेख गर्दै उहाँले अन्तरराष्ट्रिय रूपमा पनि अटोमोटिभ, एयरोस्पेस, रोबोटिक्स र स्मार्ट म्यानुफ्याक्चरिङजस्ता क्षेत्रमा यस विषय पढेका जनशक्तिको माग रहेको बताए । यस विषयमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विश्वविद्यालयले अनलाइन आवेदन माग गरिसकेको र आवेदन दिने अन्तिम मिति आगामी भदौ १२ सम्म र प्रवेश परीक्षा भदौ १३ गते हुने जनाइएको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्यापन हुने यस विषयका लागि ४८ जनाको कोटा रहेको र त्यसमध्ये नौजना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए ।
१ रुपैयाँमै घरको इस्टिमेसन, १० लाख रुपैयाँसम्म जोगिने
काठमाडौं । घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्दै आएको कम्पनी घरदबारले १ सय रुपैयाँमा कुनै पनि प्रकारको घरको लागत विवरण प्रदान गर्ने भएको छ । निर्माण क्षेत्रमा विगत सात वर्षदेखि काम गर्दै आएको सो कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्त्व अन्तर्गत सो अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार पहिलो चरणमा १ सय वटा घरको लागत अनुमान विवरण प्रदान गरिनेछ । वार्षिक ५० वटा बढी घर निर्माण गर्दै आएको घरदबारले निर्माण क्षेत्रमा रहेको अनियमितता हटाउन तथा घरधनीलाई निर्माणसम्बन्धी सबै जानकारी दिनका लागि सो अफर ल्याइएको जनाएको हो । घर तथा भवन निर्माणको योजना बनाएका र निर्माणको काम गरिरहेकाहरुको लागि घर निर्माणमा हुने अनावश्यक खर्चको कटौती तथा कम लागतमा कसरी गुणस्तरीय काम सम्पन्न गर्ने भन्नेबारे जानकारी प्रदानका लागि यो अफर ल्याइएको घरदबारले जनाएको छ । काठमाडौंको थापाथलीबाट आफ्नो सेवा प्रदान गर्दै आएको घरदबारको यो अफरमार्फत सेवाग्राहीले १० लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् भने लागत घटाउने विभिन्न उपायबारे जानकारी प्राप्त गर्न सक्नेछन् । घरको डिजाइन सम्पन्न भएर पनि सन्तुष्ट हुन नसकेकाहरुले यो अफरमार्फत लागत अनुमान तथा निर्माण सुरुदेखि अन्त्यसम्मका आवश्यक सम्पूर्ण परामर्श पाउन सक्नेछन् । घर निर्माणमा हुने अनावश्यक खर्च घटाउन अपनाउन सकिने उपायबारे घरदबारले परामर्श प्रदान गरिने जनाएको छ । घर निर्माण सुरु गरेकाहरूको डिजाइनका आधारमा लाग्ने खर्च निर्धारण हुनेछ । सेवा लिन चाहनेले घरको ‘टु डी’ वा ‘थ्री डी’ डिजाइनको आधारमा लागत सम्बन्धी सम्पूर्ण जानकारी प्रदान गरिने घरदबारले जनाएको छ । पछिल्लो समय घर तथा भवन निर्माणमा प्रयोग हुने कमसल सामाग्री र निर्माणकर्ताको लापरबाहीले संरचना कमजोर हुने, निर्माण कार्य ढिलो हुने तथा लागत समेत बढ्दै गइरहेको अवस्थामा सार्वजनिक भएको यो अफरले धेरैलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ । घरदबारले १ सय दिनसम्म प्रदान गर्ने यो अफरमा १ सय जनाले परामर्श प्राप्त गर्नेछन् । विशेषगरी लागत विवरण तयार पारि निर्माणको काम गरिरहेका तर चित्त नबुझेका घर निर्माणकर्ताले यो अफरको फाइदा लिन सक्नेछन् ।
ग्लोबल आइएमई लघुवित्तको नाफामा १२१.९० प्रतिशत उछाल, ईपीएस ३८.११ रुपैयाँ
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८१÷८२ मा खुद नाफा १२१.९० प्रतिशत बढेर २३ करोड ५८ लाख ७२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष लघुवित्तले १० करोड ६२ लाख ९४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । लघुवित्तको खराब कर्जा ह्वात्तै घटेपछि नाफा बढ्न पुगेको हो । अघिल्लो वर्ष ४.०७ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ३.६२ प्रतिशतमा झरेको छ । गत वर्ष लघुवित्तले ७५ करोड ९७ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ६३ करोड १४ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष लघुवित्तले ८ करोड ५२ लाख ४ हजार रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी, ८४ करोड ४९ लाख ३१ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी, ३३ करोड ७२ लाख ३० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्ष लघुवित्तको वितरणयोग्य नाफा १७ करोड १९ लाख ९ हजार रुपैयाँ रहेको छ । गत वर्ष लघुवित्तले ३३ करोड ७६ लाख १६ हजार रुपैयाँ कर्मचारी खर्च, ६ करोड ३९ लाख ३३ हजार रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ । ६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७१ करोड ३९ लाख १० हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १७.१६ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको लघुवित्तको गत वर्ष दोब्बर बढेर ३८.११ रुपैयाँ पुगेको छ । लघुत्तिको मूल्य आम्दानी अनुपात ३४.६५ गुणा छ भने प्रतिसेयर नेटवर्थ २१५.३५ रुपैयाँ रहेको छ ।