सानिमा बैंकको नयाँ शाखा महाराजगंजमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले महाराजगंजमा आफ्नो ४६औँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका ब्राण्ड प्रवद्र्धक कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी) द्धारा संयुक्त रुपमा भएको छ । उक्त उद्घाटन कार्यक्रममा सानिमा बैंकका संचालक डा. सुवर्णदास श्रेष्ठले समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताएका छन् । त्यसैगरी सोही बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा मह जोडीले महाराजगंजमा सानिमा बैंक संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरेका छन् । हाल बैंकले ४६ वटा शाखा तथा ५३ वटा ए.टि.एम. बाट सेवा दिँदै आइरहेको छ ।
नेप्सेमा ३ करोड ६९ लाख कित्ता सेयर सूचिकृत, एक करोड २५ लाखको इकाई पनि
काठमाडौं । यस सातामा ३ करोड ६९ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो अवधिमा विभिन्न चार वटा कम्पनीको हकप्रद र साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । बजारमा तीन कम्पनीको हकप्रद सेयर र बाँकी एक कम्पनीको साधारण सेयर सूचिकृत भएको छ । महाकाली विकास बैंकको एक लाख ४८ हजार २९२ कित्ता, लक्ष्मी बैंकको २ करोड ७९ लाख ०३ हजार ८७३ कित्ता र एनआईसि एशिया बैंकको ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । त्यस्तै, छ्याङ्दी हाइड्रोपावरको २१ लाख ६० हजार कित्ता साधारण सेयर नेप्सेमा थिपिएको छ । साथै, लक्ष्मी इक्विटी फण्डको एक करोड २५ लाख इकाई नेप्सेमा सूचिकृत भएको छ ।
अनलाईन सेयर ट्रेडिङः भदौंमा परीक्षण, कात्तिकमा पूर्ण कार्यान्वयन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आगामी भदौंदेखि अनलाईन सेयर कारोबार परिक्षण आरम्भ गर्ने भएको छ । नेप्सेका लागि स्वचालित अनलाइन कारोबार प्रणाली निर्माण गरिरहेको वाइको प्रालिले आगामी भदौ महिनाबाट प्रणालीलाई परीक्षणमा लैजाने गरी कार्य भइरहेको जानकारी दिएको हो । वाइको कम्पनीका परियोजना व्यवस्थापक संजय चौधरीले नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया र उच्च अधिकारीहरु समक्ष परियोजनाको प्रगतिबारे जानकारी दिँदै भने–‘प्रस्तावित प्रणालीको विभिन्न मोडुलहरुमा समानान्तर ढंगले काम भइरहेको छ,’उनले भने,‘आगामी कात्तिकको तेस्रो साता प्रयोगकर्ताले नयाँ प्रणालीबाट कारोबार गर्न सक्नेछन् ।’ चौधरीले कारोबार, राफसाफ तथा फछ्र्यौट, सुपरिवेक्षण तथा अनुगमन, जोखिम व्यवस्थापन लगायत प्रस्तावित प्रणालीमा रहेका विभिन्न मोडुलहरुको विकास कुनकुन चरणमा छ भन्ने जानकारी गराएका थिए । उनले प्रस्तावित प्रणालीका लागि आवश्यक सम्पूर्ण हार्डवयर उपलब्ध गराइसकेको पनि जानकारी दिए । ‘हामी निर्धारित समयभित्रै अल्फा, बिटा टेस्टमा जान्छौं,’ उनले भने ।
मल्टिक्सको थ्री-इन-वन भेहिकल नेपाली बजारमा, मूल्य १२ लाख ५० हजार रुपैयाँ मात्र
काठमाडौं । नेपालमा मल्टिक्स ब्राण्डका गाडिहरुको एक मात्र बिक्रेता बाबा समूह अन्तर्गतको बाबा अटोमाटा ट्रेडिङ प्रालिले मल्टिक्स ब्राण्डका गाडिहरु नेपालमा औपचारिक रुपमा बिक्री शुरु गरेको छ । यस गाडिको उत्पादक भारतको आइसर पोलारिस प्रालिका प्रमुख कार्यकारी अधिकृत पञ्कजदुवे र बाबा समूहका निर्देशक विशाल शाहले बिहीबार संयुक्त रुपमा यसको उद्घाटन गरेका हुन् । व्यक्तिगत देखि व्यवसायीक प्रयोजनका लागि निकै उपयोगी मल्टिक्समा रहेको इन्डेपेन्डेन्ट सस्पेन्सनले नेपालका तराईदेखि पहाडी जुनसुकै उबड खावड बाटोमा सजिलै गुड्न सक्ने क्षमता राख्ने कम्पनीले बताएको छ । १८ लाख किलोमिटरसम्म कच्ची सडकमा निरन्तर परिक्षणबाट यसको सुरक्षा र दिगोपना प्रमाणित गरिएको छ । गाडि पल्टि हाल्दा पनि यसको ट्यूबलर फ्रेम बडीका कारण ठूलो क्षति हुनबाट रोक्छ । फोर स्ट्रोक डाइरेक्ट इन्जेक्शनडिजल इन्जिन रहेको यो साधनले सजिलै २५ देखि ३० किलोमिटरको माइलेज दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १७२ एमएम तथा २२४ एमएमसम्मको हाइ ग्राउण्ड क्लियरेन्स रहेको मल्टिक्सको बढी अत्यधिक टिकाउ सामग्री फ्लेक्सि टपले बनेको छ । पाँच सिट क्षमताको मल्टिक्समा परिवारका सदस्यहरु आरामसँग बस्न र घुम्न सक्दछन् । साथै एक हजार ९१८ लिटरसम्म बोक्न सक्ने क्षमता भएकाले यो साधन व्यवसायिक यात्राको लागि समेत उत्तिकै उपयोगी छ । तुरुन्तै सिट फोल्ड गरेर सामानहरु राख्न पर्याप्त स्पेस निर्माण गर्न सकिने मल्टिक्स ब्राण्डका गाडिहरु व्यवसायमा संलग्न परिवारको आवश्यकता पूर्ति गर्ने उद्देश्यले नै सन् २०१२ मा निर्माण गरिएको हो । मल्टिक्सका दुई मोडल र विभिन्न चार रंगमा बजारमा उपलब्ध छन् । साथै, यसले तीन किलोवाटसम्म विद्युत उत्पादन गर्नसक्ने भएकाले यसलाई फ्यामिली, विजनेश र पावर जेनरेटर (थ्रीइनवान) भनिएको हो । यसको बिजुलीले घरलाई सजिलै उज्यालो बनाउन, सार्वजनिक कार्यक्रममा म्युजिक सिस्टम देखि कृषियन्त्रहरु सञ्चालन गर्ने आदि काममा वैकल्पिक उर्जाको स्रोतको रुपमा सजिलै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाली बजारमा यस गाडीको मूल्य १२ लाख ५० हजार रुपैयाँ रहेको छ । साथै, कम मूल्यमा यसको मर्मत र स्पेयर पार्टसहरु खरिद गर्न सकिन्छ । नेपालमा यसको स्पेयर पार्टसहरु सजिलै उपलब्ध हुन्छ । बाबा ग्रुपका डाइरेक्टर विशाल शाहाका अनुसार परिवारदेखि व्यवसायमा प्रयोग गर्न सकिने मल्टिक्सले नेपालमा जुनसुकै पिच तथा अफ रोडमा शानदार क्वालिटी र भरोशा दिलाउँछ । मूल्यका हिसावले पनि नेपालका हरेक बर्गको पहुँचमा यो साधन पर्ने शाहले बताए ।
ऐन सच्याएरै भएपनि सेयरमा भ्याट लाग्न दिँदैनौंः बोर्ड
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुनै हालतमा सेयरमा भ्याट लाग्न नदिने स्पष्ट पारेको छ । राजधानीमा आयोजीत एक कार्यक्रममा बोर्डका निर्देशक डा. नवराज अधिकारीले भने–‘सेयरमा भ्याट लगाउने कुरा कुनै हालतमा स्विकार्य हुन्न, ऐन सच्याएर भएपनि सेयरमा भ्याट लगाउने योजना रोकिन्छ’, डा. अधिकारीले भने । उनले नेपाली सेयर बजारको लागत एसिया क्षेत्रमै महंगो रहेको बताउँदै त्यसमा भ्याटको बोझ थपिए बजार उठ्नै नसक्ने गरि थला पर्ने पनि बताए ।‘एसिया क्षेत्रमै हाम्रो कारोबार लागत बढि छ, त्यसमा पनि भ्याट थपियो भने हाम्रो बजार कहिल्यै उठ्न सक्दैन, त्यसैले ऐन संसोधन गरेरै भएपनि भ्याट रोक्छौं’, डा. अधिकारीले भने । उन सेयर बजार पनि वित्तिय कारोबार नै भएकाले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को छुट पाउने सूचिमा सेयर कारोबारलाई पनि समावेश गराउने प्रक्रिया अघि बढाएको पनि जानकारी दिए । ब्रोकरहरुले असार १५ गते सेयर कारोबार बन्द गरेर गम्भिर गल्ति गरेको बताउँदै उनले त्यस्ता कम दोहोर्याए कडा कारवाही गर्ने चेतावनी पनि दिए ।‘एक्कासी बजार बन्द गरेर हिड्न कस्ले भनेको थियो ? नियम कानुन मिचेर कारोबार रोक्ने अधिकार कस्ले दियो ? हामीले एक पटकलार्ई छुट दिएका हौं, त्यस्ता हर्कत दोहोरिए कडा कारवाही हुन्छ’, अधिकारीले भने । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बोर्डलाई अटेर गरिरहेको आरोप पनि लगाए । नेप्सेले धितोपत्र बोर्डसँग सत्रुतापुर्ण सम्बन्ध राखेकाले पनि पुँजी बजारको विकासमा सहयोग नपुगेको आरोप लगाए । कार्यक्रममा ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले कानुनी झमेलाका कारण ब्रोकरहरु भ्याटमा दर्ता हुनै पर्ने बाध्यात्मक परिस्थिती आएको बताएका थिए । उनले सेयरमा भ्याट लागु हुँदा सेयर कारोबार लागत बढ्ने तथ्यलाई बुझेर भ्याट लगाउने कर प्रशासनको निर्णय फिर्ता हुनुपर्ने बताए । तर कर प्रशासनले भ्याट लगाउने निर्णय गरिसकेकाले ब्रोकरहरु भ्याटमा जान बाध्य रहेको उनको भनाई थियो ।‘हामी पनि सेयरमा भ्याट लाग्नु हुन्न भन्ने पक्षमै छौं तर कानुनले हामीलाई भ्याटमा दर्ता हुन र पुरानो बेरुजु तिर्न बाध्य पारिरहेको छ’, अध्यक्ष रेग्मीले भने । उनले असार १५ गते सेयर कारोबार रोक्नु आफुहरुको बाध्यता भएको पनि बताएका थिए । कार्यक्रममा सेयर लगानी कर्ता संघका अध्यक्ष उत्तम अर्यालले पनि सेयरमा भ्याट लागु भएमा नेपालका सेयर बजार डुब्ने खतरा रहेको बताएका थिए । उनले असार १५ गते सेयर कारोबार रोकेर ब्रोकरहरुले लाखौं लगानी कर्तामाथी अन्याय गरेको आरोप पनि लगाएका थिए
छात्रवृत्ति परियोजनाका लागि जापान सरकारले २५ करोड ७० लाख सहयोग गर्ने
काठमाडौं । जापान सरकारले जनशक्ति विकास छात्रवृत्ति परियोजनाका लागि नेपाल सरकारलाई २५ करोड ७० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ । यो परियोजनाअन्तर्गत जापानमा स्नातकोत्तर तह अध्ययनका लागि २० सरकारी अधिकृत छनोट गरिनेछ । जापानका विभिन्न विश्वविद्यालयमा स्नातकोत्तर तह अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराई नेपाली अधिकारीको दक्षता अभिवृद्धि गर्ने यो परियोजनाको उद्देश्य हो । पाँच वर्ष लामो यो परियोजनाअन्तर्गत आर्थिक नीति, अन्तर्राष्ट्रिय सम्मेलन, औद्योगिक विकास नीति र कानुनी तथा न्यायिक पद्धति जस्ता समाज विज्ञानका विषयका शोधार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने छ । यससम्बन्धी सम्झौतापत्रमा जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावा र नेपाल सरकारको तर्फबाट अर्थसचिव शान्तराज सुवेदीले आज अर्थमन्त्रालयमा हस्ताक्षर गरेका छन् । रासस
जापानको फुकुओकामा आइएमई क्योदाईको नयाँ शाखा
जापान । आइएमई क्योदाई रेमिटेन्सले जापानस्थित फुकुओकाको हाकातामा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले आफ्नो सञ्जाल बढाउने क्रममा उक्त स्थानमा नयाँ शाखा संचालनमा ल्याएको हो । आइएमईका प्रमूख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदाई रेमिटेन्सका प्रमुख याचिरो किमोतो र एनआरएन जापानका उपाध्यक्ष टक गैरे लगायतको उपस्थितिमा नयाँ शाखाको शुभारम्भ भएको छ । शाखा कार्यालय उद्घाटनका क्रममा आइएमईका प्रमुख कार्याकारी अधिकृत सुमन पोखरेलले विदेशबाट पैसा पठाउने भन्ने बित्तिकै आइएमईको नाम आउने हुँदा यसको छुट्टै पहिचान रहेको बताएका छन् । हकाता शाखा प्रमुख रामकृष्ण श्रेष्ठले टोकियो पछि नेपाली विद्यार्थीहरुको बाहुल्यता फुकुओकामा रहेको हुनाले नेपाली विद्यार्थी सहित सबैको लागि सहज होस् भन्ने उदेश्यले फुकुओकामा शाखा विस्तार गरिएको बताए । साथै, उनले नयाँ शाखा विस्तारसँगै क्योदाई रेमिटेन्स ले फुकुओकामा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुको लागि विशेष अवसरमा हुने छलफलमा निशुल्क बैठक हल उपलब्ध गराउने समेत बताए । कम्पनीले हाल सम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ५५ आईएमई सेन्टर सहित ७५ जिल्लाका ६ हजार १०० सयभन्दा बढी सव-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् छिटो र छरितो सेवा दिँदै आईरहेको छ।
नेपाल हाइड्रो डेभलपरलाई ३ करोड ९० लाखको आइपीओ निष्कासन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल हाइड्रो डेभलपरलाई ३ करोड ९० लाख रुपैयाँको आइपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको छ । बोर्डले दिएको अनुमति अनुसार कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरको ३ लाख ९० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । साथै, सो मात्राको आइपीओ निष्कासन गर्न कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।