विकासन्युज

एयर काष्टमण्डपको एओसी खारेज, एउटै जहाज दुर्घटनाबाट सकियाे उडान भविष्य

फाइल फाेटाे काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर काष्टमण्डपको उडान अनुमति (एओसी) खारेज गरेको छ । काष्टमण्डपले सन् २००९ मा दुई जहाजमार्फत उडानको लागि अनुमति पाएको थियो । नेपालगन्ज र सुर्खेतबाट कर्णाली क्षेत्रमा चार्टर उडान गर्दै आएको यो काष्टमण्डपको एओेसी गत जेठ २६ मा नै खारेजी भयाे । यसकाे जानकारी प्राधिकरणले तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयलाई दिएको छ । यो वायुसेवासँग २ वटा जहाज भएपनि एउटा जहाज दुर्घटना भएपनि प्राधिकरणले सुरक्षाको लागि उडान अनुमति सस्पेन्समा राखेको थियो । यो वायुसेवाले त्यसपछि अर्को जहाज उडा नै गर्न सकेन र यसको उडान भविष्य नै सकियो । काराेबार दैनिकबाट ।

अर्केको नागरिकताबाट सिमकार्ड निकालेर अपराध गर्नेक्रम बढ्यो

काठमाडौं । सिमकार्ड दुरुपयोग नभएको भए दाङका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणको अनुसन्धान गर्न प्रहरीलाई तीन साता लाग्ने थिएन । अपहरणकारीले अरूको नाममा सिमकार्ड निकालेर प्रयोग गरेका थिए । जसका कारण प्रहरीलाई अनुसन्धान गर्न ठूलै सकस भयो । ‘अपहरणको योजनाकै लागि उनीहरूले अरूको नागरिकताबाट सिमकार्ड निकालेको देखिन्छ,’ दाङका एसपी धीरजप्रताप सिंह भन्छन्, ‘सीमकार्ड वितरण व्यवस्थित नहुुँदा अनुसन्धानमा निकै समस्या भयो ।’ तुलसीपुरका टीकाराम घर्तीले आफ्नै २० वर्षीया छोरी पूजा घर्तीमगरलाई प्रयोग गरी व्यवसायी श्रेष्ठको अपहरण गरी हत्या गरेका थिए । अपहरणकै उद्देश्यले उनीहरूले नचिनेका व्यक्तिहरूको नागरिकताको फोटोकपी प्रयोग गरेको प्रहरीले जनाएको छ । गत २६ जेठमा श्रेष्ठको अपहरण भएकोमा ११ असारमा मात्र अपहरणकारी पक्राउ परेका थिए । अपहरणका मुख्य योजनाकार अझै फरार छन् । पेसेवर आपराधिक समूहबाट हुने धेरैजसो योजनाबद्ध अपराध यसैगरी अन्य व्यक्तिको नाममा सीमकार्ड निकाल्ने गरिएको छ । सीम वितरणमा अपनाइएको सहज प्रक्रियाका कारण दुरुपयोग बढेको हो । यसले अपराध नियन्त्रणमा समस्या भएको प्रहरी अधिकारीहरू बताउँछन् । शुक्रे लामाको समूहसँग दुई दर्जन सिमकार्ड ‘हनी ट्र्यापिङ’ अर्थात् सुन्दर युवती प्रयोग गरी अपहरण गरी पैसा असुल्दै आएको शुक्रे लामाको समूहले अन्य व्यक्तिको नाममा दुई दर्जन सिमकार्ड निकालेको थियो । त्यही सिमकार्डबाट व्यापारीलाई फोन गर्दै नजिकिएर अपहरण गर्दै आएका थिए । अनुसन्धानका क्रममा रसुवाको एक गाउँमा कार्यरत महिलाको नागरिकताबाट उनीहरूले सिम निकालेको खुल्यो । जसकारण अपहरणका गिरोहसम्म पुग्न प्रहरीलाई निकै समस्या भयो । घटनाको ६ महिनापछि सिआइबीले गिरोहका ६ जनालाई पक्राउ गरेको थियो । ‘जभाभावी सिम वितरणले सुरक्षामा ठूलै समस्या निम्त्याएको छ,’ सिआइबीका निमित्त प्रमुख एसएसपी शेरबहादुर बस्नेत भन्छन्, ‘यस्तै हो भने अपराध प्रहरी नियन्त्रणबाहिर जान्छ ।’ सिम वितरणलाई व्यवस्थित गर्न आफूहरूले लामो समयदेखि पहल गर्दै आए पनि सम्बन्धित निकायले चासो नदिएको उनी बताउँछन् । सिम बिक्री गर्दा सम्बन्धित व्यक्तिको विस्तृत विवरणसहित अर्को एक सम्बन्धित व्यक्तिको विवरणसमेत राख्नुपर्ने उनी बताउँछन् । पछिल्लो केही समययता पसल–पसलबाट सिमकार्ड बिक्री हुँदै आएको छ । नागरिकताको फोटोकपीकै आधारमा सजिलै सिमकार्ड किन्न पाइन्छ । कतिसम्म भने नागरिकता सक्कली हो कि नक्कली भन्नेसमेत कुनै ‘क्रसचेक’ हुँदैन । अरूको भेट्टाएको नागरिकताबाट पनि सजिलै सिमकार्ड निकाल्न सकिन्छ । एउटा नागरिकताको फोटोकपीका आधारमा जति पनि सिमकार्ड निकाल्न सकिन्छ । सिमकार्ड दर्ता र वितरण प्रणाली खुकुलो हुँदा अपराधीलाई सहज भएको छ भने अपराध नियन्त्रण गर्न प्रहरीलाई समस्या भएको छ । खासगरी अपहरण, धम्की, ठगीजस्ता अपराधमा नक्कली नागरिकताबाट निकालिएका सिमकार्ड प्रयोग हुन थालेको प्रहरीले जनाएको छ । कल बाइपासका लागि समेत यसरी एउटै नागरिकताबाट सयौँ सिमकार्ड निकालिएका उदाहरण छन् । धेरैजसो एनसेलका सिमकार्ड अपराधमा दुरुपयोग हुने गरेका छन् । निर्देशिकाको तयारी नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल सिमकार्ड दर्ता र वितरणलाई थप कडाइ र व्यवस्थित बनाउने प्रयास भइरहेको बताउँछन् । ‘सिमकार्ड रजिस्ट्रेसन र वितरणसम्बन्धी निर्देशिका बनाउने तयारीमा छौँ,’ उनले भने, ‘त्यसका लागि प्राधिकरणले कार्यदल गठन गरिसकेको छ ।’ राष्ट्रिय परिचयपत्रपछि रोकिनेछ समस्या गृह मन्त्रालयले सुरु गर्न लागेको राष्ट्रिय परिचयपत्र कार्यान्वयनमा आएपछि नक्कली नागरिकता र सिमको दुरुपयोग रोकिनेछ । राष्ट्रिय परिचयपत्र औँठाछापसहितको डिजिटल हुने भएकाले अरूको नागरिकता दुरुपयोगको सम्भावना कम हुन्छ । नयाँ पत्रिका दैनिकबाट ।

भारतमा एटिएम ह्याक, नेपालमा भारु साट्नेको भीड

काठमाडौं । भारतका अधिकांश स्थानमा एटिएम ह्याक हुने समस्या आएपछि यसको मार भारत जाने सर्वसाधारणमाथि परेको छ । भारतमा करिब डेढ महिनादेखि बैंकका एटिएम ह्याक हुने समस्या देखिएको छ । एटिएममार्फत रकम झिकेर काम चलाउने भन्दै भारत पुगेको नेपाली सर्वसाधारण ह्याकको समस्यामा परेका छन् भने, भारत जान चाहनेले पनि नगदै बोक्नुपर्ने भएको छ । यसैबीच भारतमा एटिएममा समस्या आउँदा भारु नोट साट्न आउनेको चाप बढेको छ । भारतभर बैंकका एटिएम नचल्ने भएपछि नेपालबाटै नगद भारु लैजान चाहनेको संख्या बढेको छ । नागरिक दैनिकबाट ।

नेपाली ग्यास बुलेटलाई भारतले अनुमति नै दिएन, एकाधिकार नगुमाउने भारतीय इच्छा

काठमाडौं । खाना पकाउने एलपिजी ग्यास ढुवानीमा भारती निर्भर हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ । नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न अनुमति मागे पनि भारतले अनुमति नदिने संकेत गरेको छ । परराष्ट्रमन्त्री कृष्णबहादुर महाराले नौ महिनादेखि भारतमै रोकिएका नेपाली ग्यास बुलेट सञ्चालन गर्न दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आग्रह गरे पनि उनले घुमाउरो पाराले अस्वीकार गरेकी छिन् । भारत भ्रमणमा रहेका महराले स्वराजसँग भेटमा ग्यास बुलेट सन्चालन अनुमति दिन प्रस्ताव गरेका थिए । बुलेट सन्चालमा प्रतिवद्धता जनाउनुको सट्टा स्वराजले नेपलाकै ग्यास स्टेसनसम्म ढुवानी गरिदिने आवश्वासन दिएकी छने । नागरिक दैनिकबाट ।

जनप्रतिनिधिको तलव अर्थले रोक्यो, हाललाई सेवामात्रै तलब भत्ताको सुविधा छैन

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिलाई मासिक १५ देखि ६० हजार रुपैयाँसम्म पारिश्रमिक दिने गृहकार्य अर्थ मन्त्रालयले रोकिदिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको सुविधा प्रस्ताव रोक्दै अर्थ मन्त्रालयले मंगलबार अर्को निर्देशन दिएको हो । अर्थले जारी गरेको स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक ब्यवस्थापन तथा सम्पत्ति हस्तानतरणसम्बन्धी निर्देशिका मा स्थानीय तहका जनप्रतिनिधको सुविधासम्बन्धी कानुनी ब्यवस्था प्रदेशसभाले गर्ने उल्लेख छ । के भयो हालसम्म – स्थानीयको प्रस्ताव अस्वीकार गर्दै अर्थले ल्यायो निर्देशिका – जनप्रतिनिधिको तलवसुविधा तोक्ने जिम्मेवारी प्रदेशसभालाई – स्थानीय स्रोतबाटै स्थानीय सभाले पारित गरि तत्काललाई सुविधा लिन सकिने – केन्द्रले दिएको बजेटबाट सवारीसाधान खरिदमा रोककान्तिपुर दैनिकबाट ।

स्प्राईटको रोमान्चक अफर अन्तर्गत सामसुङ ग्यालेक्सी जे२ प्रोका बिजेताहरु सार्वजनिक

काठमाडौं । स्प्राईटको रोमान्चक अफर अन्तर्गत हालसम्मका सामसुङ ग्यालेक्सी जे२ प्रो र अन्य उपहारका बिजेताहरु सार्वजनिक भएको छ । यस अन्तर्गत करिब २०० सय भन्दा बढीले मोबाईल जितीसकेको कम्पनीले जनाएको छ । साथै, कम्पनीका अनुसार यो अफर श्रावण १४ गतेसम्म रहने छ ।

बर्दियाका किसानलाई पशुपालनमा सघाउँदै लक्ष्मी बैंक

काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गरिएकाे लक्ष्मी केयर्स “निःस्वार्थ पहल”ले बर्दियाका किसानलाई पशुपालनमा पाँच लाख रुपैयाँ सघाएको छ । लक्ष्मी केयरले बदिर्यामा ३५ भन्दा ज्यादा पशुको खरिद, गोठ व्यवस्थापन एवम् पशुपालन सम्बन्धी आर्थिक/प्राविधिक र शैक्षिक सहयोग प्रदान गरेको छ । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गरिएको एक गैर नाफा मूलक संस्था हो । यस संस्थाको प्रमुख कार्यक्षेत्र भनेको सम्बन्धित क्षेत्रका अनुभवी संस्थाहरुसँग सहकार्य गरी समाजमा वित्तीय साक्षरता तथा महिला शिक्षालाई प्रबर्धन गर्नु हो । यसै सिलसिलामा महिलाहरुले भोग्दै आएको समसामयिक चुनौति, महिला हिंसा तथा आर्थिक रुपमा विपन्न महिलाहरुलाई सहयोग पुर्याउँदै आएको साथी नामक गैरसरकारी संस्थालाई लक्ष्मी केयरस्ले ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

विपी राजमार्ग विस्तारको विकल्पः खुर्काेट देखि सिन्धुलीसम्म ४ किलोमिटरको सुरुङ

काठमाडौं । काठमाडौंबाट पुर्वी तराई जोड्ने सबै भन्दा छोटो विपी राजमार्गको विस्तारबारे बिभिन्न विकल्पमाथी छलफल सुरु भएको छ । खुर्काेटदेखि सिन्धुली बजारसम्मको ३६ किलोमिटर खण्डमा सडक विस्तार गर्न नमिल्ने भएपछि सुरुङको विकल्पबारे छलफल सुरु भएको हो । १५८ किलोमिटर लामो विपी राजमार्गको खुर्काेट देखि सिन्धुली बजारसम्मको ३६ किलोमिटर खण्डलाई सबै भन्दा जोखिमपुर्ण मानिन्छ । सो खण्डमा सडक विस्तार गर्नै नमिल्ने गरि एउटा सडकको किनारामा अर्काे सडकको जग अड्याइएको छ । खुर्काेटबाट सुरु हुने विपी राजमार्गको अप्ठेरो बाटो सिन्धुली बजार नजिकै पुगेर टुंगिन्छ । ‘खुर्काेटदेखि सिन्धुली बजारको फेदीसम्म ३६ किलोमिटर लामो कठिन सडकलाई छिचोल्न खुर्काेटबाट सुरुङ खन्ने हो भने चार किलोमिटरमा पुगिन्छ’, सिन्धुलीका सांसद गणेश पहाडीले भने । उनले सो खण्डमा सुरुङ बनाउन सके विपी राजमार्गलाई पनि चार लेनसम्म विस्तार गर्न सकिने दावी पनि गरे । सडक विभागको सुरुङ फाँटका प्रमुख सञ्जय कुमार श्रेष्ठले पनि खुर्काेटदेखि सिन्धुली गढीको दक्षिण फेद निस्कने गरि सुरुङ बनाउन सकिने बताए । त्यसबारेमा जापानी सहयोग नियोग(जाइका)सँग प्रारम्भिक चरणको छलफल समेत भैसकेको उनले बताए । ‘खुर्काेटदेखि सिन्धुली गढीको दक्षिण फेदसम्म सडक चौँडा गर्न सकिन्न, त्यसकारण पनि सुरुङको विकल्प छैन, हामीले छलफल अघि बढाईसकेका छौं’, श्रेष्ठले भने । एउटा सडकको किनाराबाटै वाल उठाएर सडक लगिएकाले विस्तार असम्भव भएको उनले बताए । जाईकासँग बिभिन्न चरणमा छलफल भएको र सडक विभागले नै पनि अध्ययन अघि बढाउने तयारी गरेको पनि उनले जानकारी दिए । जापानी सहयोगमा २५ अर्ब खर्चेर निर्माण गरिएको बीपी राजमार्ग साघुँरो भएको र दुर्घटना पनि बढेको भन्दै ठुला सवारी साधन गुडाउन रोक लगाइएको छ । ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएपछि नागरिकले राजमार्गबाट लाभ लिन नसकेको गुनासो बढिरहेको छ । ३६ किलोमिटर अप्ठेरो सडकमा सुरुङ खनेर अन्य खण्डमा सडक विस्तार मार्फत वीपी राजमार्गको स्तरोन्नति आवश्यक रहेको सांसद पहाडीले बताए ।