विकासन्युज

प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५ सुरु : फुटबल खेल्ने रोबोटलगायतका ५० परियोजना

काठमाडौं । टेक एवं  बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ काठमाडौंमा सुरु भएको छ । अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौंमा सञ्चालित प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले आयोजित प्रदर्शनी साउन २५ गतेसम्म चल्नेछ । कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजले जनाएको छ ।  कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, इन्टरनेट अफ थिंग्स (आईओटी), साइबर सुरक्षा, स्टक ट्रेडिङ सिमुलेसनजस्ता कार्यशालाहरू, बिजनेस स्टल, क्लबका गतिविधि र रमाइला खेलहरू यसका आकर्षण रहनेछन् । यो कार्यक्रम प्लस टू उत्तीर्ण, स्नातक तहका विद्यार्थी र आइटिमा गहिरो रुचि र चाहना राख्ने विद्यार्थी तथा युवाहरूका लागि लक्षित छ । प्राविधिक सिकाइ, नेटवर्किङ र भविष्यको शिक्षाको झलक दिने यो उत्सवमा प्रवेश निःशुल्क छ ।  विद्यार्थीद्वारा निर्मित परियोजनाको प्रदर्शनी, अमेरिकासँग सम्बद्ध प्रेसिडेन्सियल ग्र्याजुएट स्कूलले बीएससी आइटी, एमएससी आइटी, बीबीए, एमबीए, डाटा एनालिटिक्स र आइटीमा एमबीएजस्ता कार्यक्रम सञ्चालन गर्छ ।  यो इभेन्टमा बीएससी आइटीका अन्तिम वर्षका विद्यार्थीहरूले एआई, सफ्टवेयर र वेब डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियामा आधारित ५० परियोजना प्रदर्शन गरेका छन् । करिब १७० विद्यार्थी संलग्न यी परियोजनाहरूले प्राविधिक र व्यावसायिक सम्भावना बोकेको कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । प्रदर्शनीका केही उल्लेखनीय परियोजनाहरूमा पुष्पवृष्टि गराउने एफ पिभ ड्रोन, रोबो सकर्स (फुटबल खेल्ने रोबोट), डान्सिङ रोबोट (गीतमा नाच्ने), इमोसन डिटेक्शन सिस्टम (एआईद्वारा अनुहारको भावना पत्ता लगाएर सङ्गीत सिफारिस गर्ने) लगायत  छन्। उद्घाटनमा पुष्पवृष्टिका लागि प्रयोग भएको ड्रोन भविष्यमा डेलिभरी सेवामा उपयोगी हुनेगरी विकास गर्ने विद्यार्थीहरूको भनाइ छ । साइबर सुरक्षाका परियोजनाहरूले अनलाइन ठगी, डाटा लिक र बैंक खाताको सुरक्षालाई सम्बोधन गर्नसक्ने कसीले बताए ।  स्मार्ट सिँचाइ, स्मार्ट होम सिस्टम (ग्यास लिक हुँदा स्वचालित अलार्म र कट प्रणाली) र टुरिजम प्रवर्द्धन गर्ने सफ्टवेयरहरू पनि प्रदर्शनमा छन् ।  प्रदर्शनीमा अटोनोमस र ३६० डिग्री क्यामेराद्वारा रिमोटली नियन्त्रण हुने गाडी पनि राखिएको छ । स्कुलको स्टार्टअप इन्कुबेसन सेन्टरले यी परियोजनालाई व्यावसायिक बनाउन सहयोग गर्छ । आइटी र बिजनेस विद्यार्थीहरूको सहकार्यले यी परियोजनालाई बजार र लगानीका लागि तयार पारिन्छ ।  हाल १ हजार २०० विद्यार्थी अध्ययनरत यो स्कुलमा ८० भन्दा बढी प्राध्यापक र २० भन्दा बढी व्यवस्थापन कर्मचारी छन् । प्रेसिडेन्सियल ग्र्याजुएट स्कूलका निर्देशक  तथा प्रिन्सिपल कल्पना गुरुङले वेस्टक्लिफ युनिभर्सिटीको सहकार्यमा क्रेडिट ट्रान्सफर सुविधाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययनको थप अवसर दिने जानकारी दिइन् ।  

फोनपे नेपालकै पहिलो पीसीआई डीएसएस प्रमाणित पीएसओ बन्न सफल

काठमाडौं । नेपालको भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) फोनपेले विश्वप्रसिद्ध भुक्तानी सुरक्षासम्बन्धी मापदण्ड (पीसीआई डीएसएस) को v4.0.1 Level 1 Certification प्राप्त गरेको घोषणा गरेको छ ।   यसले प्रयोगकर्ता, साझेदार बैंक तथा वित्तीय संस्थाहरू र नियामक निकायहरूको विश्वासलाई थप मजबुत बनाएको छ । पीसीआई डीएसएस लेभल वान भुक्तानी कार्ड डाटा सुरक्षाको सर्वोच्च स्तरको अन्तर्राष्ट्रिय मान्यता हो, जसको पालना गर्नका लागि गम्भीर प्राविधिक संरचना, नीतिहरू र निगरानी प्रणाली आवश्यक हुन्छ ।  फोनपेले यो प्रमाणपत्र प्राप्त गर्नुले कार्डधारकको डाटा सुरक्षित राखेको र सुरक्षा पूर्वाधार बलियो बनाएको स्पष्ट हुन्छ । यो प्रमाणपत्र एक स्वतन्त्र र विस्तृत मूल्याङ्कनपछि प्रदान गरिएको हो जुन पीसीआई डीएसएस संस्था दर्ता सर्टिफाइड क्वालिफाइड सेक्युरिटी एसेसर (क्यूएसए) द्वारा सम्पन्न गरिएको थियो ।  मूल्याङ्कनमा डेटा सुरक्षा, सुरक्षित नेटवर्क संरचना, पहुँच नियन्त्रण, जोखिम व्यवस्थापन र निरन्तर निगरानीलगायत १२ प्रमुख सुरक्षा क्षेत्रहरू समेटिएका थिए ।  फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमोदित तथा इजाजतप्राप्त पेमेन्ट सिस्टम अपरेटर हो ।  यो भुक्तानी सञ्जालले हाल अन्तर बैंक पिअर टु पिअर भुक्तानी, व्यक्ति देखि व्यापारीको लागि क्यूआर प्राप्त गर्ने योजना तथा आफ्नो सहभागी बैंक तथा वित्तीय संस्था र पेमेन्ट सिस्टम प्रोभाइडरहरूलाई लक्षित घरेलु कार्ड योजना प्रदान गरिरहेको छ ।  पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड ९पीसीआई डीएसएस० कार्ड आधारित भुक्तानीको ह्यान्डलिङ, प्रोसेसिङ र सञ्चालनका लागि एक विश्वव्यापी सुरक्षात्मक मापदण्ड हो । पीसीआई डीएसएस सन् २००६ मा प्रमुख भुक्तानी कम्पनीहरूरसंस्थाहरूको सहकार्यमा सुरू गरिएको हो ।  पीसीआई डीएसएसको पालना गर्नु भनेको केवल सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्नु मात्र नभई, प्रयोगकर्ताको कार्ड डाटाको ह्यान्डलिङमा संलग्न जोखिमहरू पहिचान गर्दै, तिनको अभिलेख राख्दै, सुधारात्मक कार्यहरू निरन्तर रूपमा गर्नु पनि हो। 

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ ।  काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्सपोमा केभान १ र केभान २ भेरिएन्टका इलेक्ट्रिक भ्यान लन्च गरिएको हो ।  यी भ्यान व्यावसायिक तथा शैक्षिक दुबै क्षेत्रका लागि उपयोगी हुने कम्पनीले विश्वास लिएको छ । भ्यानको मूल्य क्रमशः ५८ लाख ५६ हजार र ६३ लाख ६ हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपालकै लागि भनेर विशेष रुपमा डिजाइन गरिएका यी भ्यान १५ र १६ सिट क्षमतामा उपलब्ध हुनेछन् ।  साथै व्यावसायिक प्रयोजनका लागि आधुनिक खैरो रङमा ‘कमर्सियल भेरियन्ट’ र स्कुल/कलेज प्रयोजनका लागि सुरक्षात्मक पहेंलो रङमा ‘स्कुल भेरियन्ट’ उपलब्ध गराइएको छ । स्कुल भेरिएन्टमा बालिबालिकाको सुरक्षालाई सुनिश्चित गर्न उच्चतम सुरक्षा मापदण्ड र विशेष सुबिधाहरु समावेश गरिएका छन् । यी इलेक्ट्रिक भ्यानमा ५३ किलोवाट आवरको एलएफपी सिएटिएल ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ३०० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्दछ ।  दुवै मोडलमा स्थायी पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर ९पीएमएसएम० जडान गरिएको छ, जसले १३०/२७० एनएमको रेटेडरपीक टर्क र ५०/८० किलोवाटको रेटेड/पीक पावर उत्पादन गर्दछ । क्यारीको यी विद्युतीय भ्यानमा नेपाली सडकका लागि उपयुक्त हुनेगरी १८० एमएमको उच्चतम ग्राउन्ड क्लिरियन्स दिइएको छ । अगाडि डिस्क र पछाडि ड्रम ब्रेक जडान गरिएको यी भ्यानमा एबीएस, ईबीडी र फायर एक्सटिन्गुइसर लगायत सेफ्टी फिचर पाउन सकिन्छ । क्यारी ईभी भ्यानका बारेमा थप जानकारी लिन नाइमा मोबिलिटी एक्सपोको हल डी, स्टल डी–१२ मा आई अवलोकन गर्न कम्पनीले आग्रह गरेको छ । एलएक्सजी मोटर्स प्रालि नेपालको अग्रणी व्यावसायिक समूह लक्ष्मी ग्रुपको एक सहायक कम्पनी हो । कम्पनीले नेपाली बजारमा उत्कृष्ट र वातावरणमैत्री विद्युतीय सवारी साधनहरू भित्र्याएर दिगो यातायातमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

टिकटकले नेपालमा सुरु गर्यो यौन दुर्व्यवहार सम्बन्धी ‘सर्च गाइड’

काठमाडौं । टिकटकले नेपालमा यौन दुर्व्यवहारसम्बन्धी जनचेतना र सहयोगका लागि नयाँ 'सर्च गाइड' सेवा सुरु गरेको छ । बिहीबार सार्वजनिक गरिएको यो सुविधा अन्तर्गत अब प्रयोगकर्ताहरूले यौन दुर्व्यवहारसम्बन्धी विषयमा खोज गर्दा आवश्यक सहायता र सुरक्षा सम्बन्धी जानकारीमा 'रिडाइरेक्ट' हुनेछन् । टिकटकको ‘ट्रस्ट एन्ड सेफ्टी’ विभागका आउटरीच तथा पार्टनरशिप म्यानेजर वास्कितो जटीले भने, 'टिकटकमा प्रयोगकर्ताको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । कठिन परिस्थितिमा प्रयोगकर्ताहरूलाई सही सूचना र सहायता स्रोतमा डोहोर्याउनु हाम्रो दायित्व हो ।' नयाँ सर्च गाइडमार्फत सेक्सुअल एसल्ट, एब्युज, जस्ता शब्दहरू खोज्दा स्थानीय हेल्पलाइन, प्रोफेसनल सहयोगदाताहरू, उजुरी गर्ने तरिका र टिकटकको 'सेफ्टी सेन्टर' मा रहेको यौन दुर्व्यवहार सहयोग पेज देखाइनेछ । उक्त पेजमार्फत यौन हिंसाका स्वरूपहरू (जस्तै : बाल यौन शोषण, सहमति बिना गरिने यौन क्रियाकलाप, बहकाउने व्यवहार) बारे जानकारी दिइनेछ । साथै, उजुरी प्रणाली, ट्रमा व्यवस्थापन, कानुनी सहयोग, पीडितको गोपनीयता, र पुनःस्थापनासम्बन्धी सहायता संस्थाहरूको डेटाबेस पनि समेटिएको छ ।

नेपाल लाइफको लिडरसीप एक्सीलेन्स अवार्ड सम्पन्न, ४४० भन्दा बढी अभिकर्ता सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘लिडरसीप एक्सीलेन्स अवार्ड २०२५’ सम्पन्न भएको छ । 'लायन वर्षः लिड, रोअर, रिपिट' नारासहित साउन १६ देखि १८ गतेसम्म द सोल्टी काठमाडौंमा सम्पन्न कार्यक्रममा देशभरिबाट छानिएका ४४० उत्कृष्ट एजेन्सी तथा एजेन्सी मेनेजरहरूको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक विमल ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा कम्पनीका अध्यक्ष, सञ्चालक, कार्यकारी प्रमुख, सेल्स प्रमुख तथा पेशागत बीमा संघका प्रतिनिधिहरूले नेपाल लाइफले आर्थिक वर्ष २०८१/८२ मा पहिलो बीमा शुल्कमा १० अर्ब रुपैयाँको ऐतिहासिक उपलब्धि हासिल गरेकोमा अभिकर्ता र कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्षका रणनीति र लक्ष्य साझा गरेका थिए । तीन दिने कार्यक्रमको दौरान उत्कृष्ट कार्य सम्पादन गर्ने १११ एजेन्सी मेनेजर र ३२९ व्यक्तिगत कोडधारी अभिकर्तालाई सम्मान गरिएको थियो । यसै क्रममा ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक र २५७ जनालाई समृद्धि पदकबाट विभूषित गरिएको थियो । एजेन्सी मेनेजरतर्फबाट मदन भट्ट (प्रथम), स्नेहा भट्ट (द्वितीय) र बसन्ती शर्मा (तृतीय) तथा व्यक्तिगत कोडतर्फबाट सुमित्रा भट्ट (प्रथम), अर्बिन राजबंशी (द्वितीय) र आयुष कुँवर (तृतीय) बन्न सफल भए । उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । कार्यक्रममा मोटिभेशनल स्पीकर तथा हास्य कलाकार सन्दीप क्षेत्रीको विशेष प्रस्तुति रहेको थियो, जसले समापन समारोहमा उत्साह थपेको थियो । नेपाल लाइफले बीमा अभिकर्ता र कर्मचारीहरूको क्षमता अभिवृद्धि, प्रेरणा, संरचना सुधार र सेवाको चुस्त व्यवस्थापनमार्फत कम्पनीलाई अझ सबल बनाउने प्रतिबद्धता दोहोर्याएको छ ।

नाइमा मोबिलिटी एक्स्पोमा नयाँ गाडीको आकर्षण र विशेष अफरको होडबाजी

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो २०२५ मा विद्युतीय सवारीसाधन (ईभी) लाई लिएर  विशेष रौनक छाएको छ ।  एक्स्पोमा विश्व प्रसिद्ध अटोमोबाइल कम्पनीहरूका नयाँ मोडल, अत्याधुनिक प्रविधि र आकर्षक छुटका साथ ग्राहकहरूलाई आकर्षित गर्न प्रतिस्पर्धा गरिरहेका छन् । यही भीडमा बीवाईडी, हुन्डाई, महिन्द्रा, प्रोटोन र ओमोडा जस्ता ब्रान्डहरूले पनि नयाँ गाडी सार्वजनिक गर्नुका साथै विशेष अफरहरू पनि रहेका छन् ।  बीवाईडीः विश्वकै उत्कृष्ट ह्याचब्याक नेपालमा पहिलो पटक साईमेक्सकी शोरुम म्यानेजर सन्ध्या श्रेष्ठका अनुसार बीवाईडीले यो एक्स्पोलाई लक्षित गरी विश्वकै उत्कृष्ट ह्याचब्याक मध्येको एक मानिने ‘एटो वान’ नेपालमा पहिलो पटक सार्वजनिक गरेको छ ।  ‘यो गाडी नेपालमा पहिलो पटक आएको हो । ग्राहकहरूको अत्यधिक माग र अनुरोधपछि हामीले नाइमालाई नै सही समय मानेर यो गाडी लन्च गरेका हौं,’ श्रेष्ठले भनिन् ।  एटो वान दुई भेरियन्टमा उपलब्ध छ जसको मूल्य २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । बीवाईडीको सबैभन्दा ठूलो विशेषता यसको ‘ब्लेड ब्याट्री टेक्नोलोजी’ र ‘ई–प्लेटफर्म ३.०’ हो । यी दुवै विशेषता एटो वानमा उपलब्ध छ । एटो वानको खरिदमा डेढ लाख बराबरको बेनिफिट प्याकेज दिइएको छ । जसमा बीमा, सडक कर, एसेसरिज र पोर्टेबल चार्जर समावेश छन् । त्यस्तै, ७५ लाख पर्ने बीवाईडी सिलमा ‘अर्ली बर्ड बुकिङ’ अफर अन्तर्गत ७२ लाखमा गाडी पाउनुका साथै बीमा, कर र अन्य एसेसरिजहरू पनि उपलब्ध छन् ।  हुन्डाईः नेपाली सडक सुहाउँदो ‘क्रेटा ईभी’ हुन्डाईका सेल्स इन्चार्ज सुरेश श्रेष्ठले एक्स्पोमा ‘क्रेटा ईभी’ मुख्य आकर्षण बनेको जानकारी दिए । ‘हामीले क्रेटा ईभी, क्रेटा पेट्रोल, भेन्यू, ग्रान्ड आईटेन र आयोनिक फाइभ जस्ता पाँचवटा गाडी राखेका छौं । तर सबैभन्दा बढी माग क्रेटा ईभीको छ,’ उनले भने । क्रेटा ईभी ५१ लाख ९६ हजारबाट सुरु भई ७७ लाख रुपैयाँसम्मको पाँच भेरियन्टमा उपलब्ध छ । यसको सुरुवाती तीन भेरियन्टले एक पटकको चार्जमा ३५० किलोमिटर रेन्ज दिन्छ भने टप दुई भेरियन्टले ४७० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ ।  श्रेष्ठका अनुसार गाडीमा २०० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।’ ब्याट्रीको आयु लगभग १४–१५ वर्षसम्म रहने दावी उनले गरे ।  एक्स्पोमा गाडी बुक गर्ने ग्राहकका लागि आकर्षक नगद छुट, एक वर्षको कम्प्रिहेन्सिभ बीमा, सडक कर र लक्की ड्र मार्फत भियतनाम टुरको अवसर जस्ता विभिन्न सुविधा छन् ।  महिन्द्राः अत्याधुनिक प्रविधिसहितको नयाँ ईभी अग्नि महिन्द्रा ग्रुपका ईभी सेल्स म्यानेजर सागर भट्टराईले एक्स्पोमा तीनवटा नयाँ गाडी लन्च गरेको जानकारी दिए ।  बीई ६, एक्सईभी नाइन ई र पेट्रोल गाडी एक्सयूभी थ्री एक्स ओ । बीई ६ को मूल्य ५७ देखि ६८ लाखसम्म छ भने एक्सयूभी नाइन ईको मूल्य ६९ देखि ९५ लाखसम्म रहेको छ । यी गाडीहरूमा ‘इन्टेलिजेन्ट एड्याप्टिभ सस्पेन्सन’ जडान गरिएको छ जुन नेपालको खाल्डाखुल्डी बाटोका लागि निकै उपयोगी छ ।   साथै क्वालकमको स्न्यापड्र्यागन प्रोसेसर, १ हजार ४०० वाटको हार्मन कार्डन स्पिकर, ३६० डिग्री क्यामेरा र गाडी आफै पार्क हुने ‘अटो पार्क’ जस्ता अत्याधुनिक फिचरहरू छन् । टप मोडलले एक पटकको चार्जमा ४५० किलोमिटरको रेन्ज दिने भट्टराईले दावी गरे। नाईमा एक्स्पोमा गाडी बुक गर्नेहरूका लागि भेरियन्टअनुसार २ लाखसम्मको नगद छुटको व्यवस्था गरिएको छ । प्रोटोनः शून्य प्रतिशत ब्याजदरको अनौठो अफर जगदम्बा मोटर्सका सेल्सका सुजन श्रेष्ठले मलेसियन ब्रान्ड प्रोटोनले ‘ई–मास सेभेन’ का दुई भेरियन्ट रहेको जानकारी दिए–  प्राइम र प्रिमियम । प्राइमको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ छ भने प्रिमियमको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ रहेको छ । प्राइमले ३४५ किलोमिटर प्रिमियमले ४१० किलोमिटर रेन्ज दिन्छ । गाडी घरको सामान्य चार्जरबाट ६-७ घण्टामा फुल चार्ज हुन्छ भने डीसी फास्ट चार्जरबाट मात्र २० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । प्रोटोनले एक्स्पोका लागि सबैभन्दा फरक अफर ल्याएको छ । गाडीको कुल मूल्यको ६० प्रतिशत रकममा चार वर्षका लागि शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराइएको छ । साथै ब्याट्रीमा आठ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी दिइएको छ । जुन पहिले १ लाख ६० हजार किलोमिटरमा सीमित थियो ।  ओमोडाको जेको जे- ५ नाइमा एक्स्पोमा ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन एसयुभी ‘जेको जे–५’ राखेको छ । यो प्रिमियम एसयुभी भेरियन्ट हो । कम्पनीका अनुसार जे–५ लाई एडभेन्चरस यात्राका लागि उपयुक्त हुने गरी रगेड डिजाइनमा तयार पारिएको छ ।  यसमा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), प्यानोरोमिक सनरुफ, ५४०–डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता सुविधा उपलब्ध छन् ।  यो एसयुभीमा १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ ।  कम्पनीले एक पटकको फुल चार्जमा यसले ४०२ किलोमिटरको डब्लुएलटीपी प्रमाणित रेन्ज दिने दाबी गरेको छ।  सुरक्षाका लागि जेको जे-५ मा लेभल २ एडास अन्तर्गतका विभिन्न फिचरहरू छन् । यसमा फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल र स्वचालित आपतकालीन ब्रेकिङ सहित १९ भन्दा बढी सुरक्षा प्रविधि रहेको जनाइएको छ ।  एक्स्पोको अवसरमा यो गाडी ग्राहकले ५६ लाख ९९ हजार रुपैयाँमै पाउनेछन् । यो गाडी ६० लाख ९९ हजार रुपैयाँको मूल्यमा सार्वजनिक भएको थियो । नाडा मोबिलिटी एक्स्पो नयाँ गाडीहरूको प्रदर्शनी मात्र नभएर ग्राहकका लागि उत्कृष्ट डिल र अफर प्राप्त गर्ने अवसर पनि बनेको छ । कम्पनीहरूबीचको यो प्रतिस्पर्धाले नेपाली अटोमोबाइल बजारलाई थप प्रतिस्पर्धी र ग्राहकमुखी बनाएको छ ।

किसानको पक्षमा मोदी, अमेरिकासँग कृषिमा सम्झौता नगर्ने अडान

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा ५० प्रतिशत कर लगाउने घोषणा गरेको एक दिनपछि प्रधानमन्त्री नरेन्द्र मोदीले कृषि क्षेत्रमा सम्झौता नगर्ने बताएका छन् । नयाँदिल्लीले रूसी तेल खरिद गरेको भन्दै वासिङ्टनले बुधबार कर वृद्धि गर्ने घोषणा गरेको थियो । रुसी तेल युक्रेनमा मस्कोको युद्धका लागि प्रमुख राजस्व स्रोत हो । नयाँदिल्लीका लागि व्यापार वार्तामा एउटा मुख्य अड्चनको बिन्दु भनेको भारतको विशाल कृषि र दुग्ध बजारमा पहुँच गर्ने वासिङ्टनको माग रहेको छ । भारत आफ्नो श्रमप्रधान कृषि क्षेत्रप्रति दृढ रहेको छ तथा शक्तिशाली मतदाता समूह किसानहरूलाई रिसाउने जोखिम मोल्न चाहँदैन । ‘हामी हाम्रा किसानहरू, हाम्रो दुग्ध क्षेत्र, हाम्रा माछा मार्नेहरूको हितसँग सम्झौता गर्दैनौं,’ मोदीले नयाँदिल्लीमा एक सम्मेलनमा भने ।  उक्त टिप्पणीलाई व्यापक रूपमा भन्सार शुल्कप्रति उनको पहिलो सार्वजनिक प्रतिक्रियाका रूपमा हेरिएको छ । ‘मलाई थाहा छ मैले यसका लागि व्यक्तिगत मूल्य चुकाउनु पर्नेछ, तर म यसका लागि तयार छु,’ उनले भने । भारतले पनि आनुवंशिक रूपमा परिमार्जित उत्पादनहरूको आयातलाई अनुमति दिन अस्वीकार गरेको छ । थप रूपमा, दुग्ध उत्पादनहरूको आयातलाई अनुमति दिएर गाईलाई पवित्र मान्ने भारतका बहुसङ्ख्यक हिन्दूहरूको सांस्कृतिक र धार्मिक संवेदनशीलतालाई बिगार्न सक्छ भन्ने नयाँदिल्लीलाई डर छ । यो भारतको विशेष भन्सार शुल्क व्यवहारको प्रारम्भिक आशाबाट धेरै फरक देखिन्छ। फेब्रुअरीमा, ट्रम्पले मोदीलाई आफूभन्दा ‘धेरै कडा वार्ताकार’ का रूपमा प्रशंसा गर्दै वासिङ्टन भ्रमण गर्दा मोदीसँग ‘विशेष सम्बन्ध’ पाएको बताएका थिए । विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या भएको राष्ट्र र पाँचौं ठूलो अर्थतन्त्र भारतलाई अमेरिकी प्रशासनहरूले लगातार शक्तिशाली चीनको सामना गर्न समान विचारधाराका हितहरू भएको मुख्य साझेदारका रूपमा हेरेका छन् । भारत र छिमेकी चीन लामो समयदेखि दक्षिण एसियामा रणनीतिक प्रभावका लागि प्रतिस्पर्धा गर्ने तीव्र प्रतिद्वन्द्वी रहिआएका छन् । भारतीय मिडियाका अनुसार मोदीले अगस्टको अन्त्यमा चीन भ्रमण गर्नसक्ने बताएका छन् । यो सन् २०१८ पछि उनको पहिलो भ्रमण हुनेछ । मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तिम पटक सन् २०२४ को अक्टोबरमा रुसमा भेट गरेका थिए ।

आरआरए क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू हुँदै, १५ छात्र टिमको सहभागिता रहने

काठमाडौं । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा पहिलोपटक आयोजना गरिने ‘आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता’ सोमबारदेखि सुरू हुँदैछ । चारदिने यो प्रतियोगिता सानेपामै रहेको रेडियन्ट क्रिकेट एकेडेमीको मैदानमा हुनेछ । प्रतियोगितामा आयोजक एकेडेमीका दुई टिमसहित कुल १५ छात्र टिमको सहभागिता रहनेछ । एकेडेमीका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराउँदै सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट प्रारूपमा खेल संचालन गरिने बताए । समूह ‘ए’ मा एलआरआई, डिएभी, संस्कृति र ब्लु बर्ड रहेका छन् भने समूह ‘बी’ मा अपी, ग्यालेक्सी, मनकामना र विश्व निकेतन प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, समूह ‘सी’ मा भ्याली पब्लिक, गेट्वे, मोक्षदा र रेडियन्ट ‘बी’ रहेका छन् भने समूह ‘डि’ मा बालकुञ्ज, मृगसिरा वर्ल्ड स्कूल र आयोजकको अर्को टिम रेडियन्ट ‘ए’ रहेका छन् । प्राविधिक प्रमुख रविन्द्र गुप्ताका अनुसार खेल १० ओभरको हुनेछ । प्रत्येक टिममा १० खेलाडी रहने र आठ जना खेलाडीले मैदानमा खेल्ने व्यवस्था मिलाइएको छ । प्रतियोगिताका विजेताले ३० हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता संयोजक तथा संस्थापक प्रिन्सिपल ढुंगानाले विद्यार्थीलाई अध्ययनसँगै खेलकुदमा पनि प्रोत्साहन गर्न रेडियन्टले निरन्तर पहल गर्दै आएको बताए । उनले क्रिकेट प्रतियोगिताले खेलको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा प्रतियोगितालाई अझ व्यापक बनाउने योजना रहेको जानकारी दिए ।