ग्यास सिलिण्डर चुहावट हुँदा वृद्ध घाइते
सुरुङ्गा । ग्यास सिलिन्डर चुहावट भएर आगलागी हुँदा आज झापाको सुरुङ्गामा ८१ वर्षीया वृद्ध घाइतेभएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्दबहादुर खड्काका अनुसार कनकाई नगरपालिका– ३ सुरुङ्गास्थित ध्रुव श्रेष्ठको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ८१ वर्षीया बाटुलीमाया दाहाल घाइते भएका हुन् । दाहालले खाना पकाउने क्रममा ग्यास चुहावट हुँदा आगलागी भएको थियो । उनको शरीरको विभिन्न अङ्ग जलेको प्रहरीले जनाएको छ । स्थानीयवासी र इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले उनको तत्काल उद्धार गरी कनकाई नगर अस्पताल उपचारार्थ पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज लगेको प्रहरीले जनाएको छ । आगलागीका कारण कोठाभित्र रहेका अन्नपात र लत्ताकपडा सहित अन्य सरसामान जलेर पूर्णरुपमा नष्ट भएको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायब निरीक्षक सुवास ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरीको टोली, स्थानीयवासी र बरुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताइएको छ ।
तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै
दमौली । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट निर्माण गरिएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँध बनाउनका लागि करिब नौ लाख घनमिटर कङ्क्रिट निर्माण गर्नुपर्नेमा हालसम्म ७३ हजार घनमिटरको काम सकिएको हो । मुख्य बाँधको कङ्क्रिटका लागि विसं २०८१ चैत ७ गतेदेखि काम सुरु भएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आयोजनाको ‘प्याकेज-१’ अन्तर्गत व्यास नगरपालिका-५ र ऋषिङ गाउँपालिका-१ स्थित सेती नदी फर्काएर बाँध निर्माणलाई अघि बढाइएको उनले बताए । एक सय ४० मिटर अग्लो बाँध निर्माणअन्तर्गत अहिले बाँधको फाउण्डेसनमाथि औसत १० मिटर उचाइसम्म कङ्क्रिटका ब्लकहरू उठाइसकिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । उच्च बाँधको ठूलो कङ्क्रिटको तापमान नियन्त्रण अत्यन्त संवेदनशील मानिने भएकाले त्यसलाई ख्यालमा राखेर काम भइरहेको उनको भनाइ छ । विसं २०८० कात्तिक २० गतेदेखि जग खन्ने काम सुरु भएकामा विसं २०८१ असारमा सकिएको थियो । ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५ सीमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काएर काम थालिएको भण्डारीले जानकारी दिए । 'डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्र हुँदै पुनः सेती नदीमा खसालिएको थियो । बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्त्वपूर्ण मानिएको छ', उनले भने । विसं २०७८ भदौ १४ गतेदेखि प्याकेज-१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण सुरु भएकामा हालसम्मको प्रगति ४३ दशमलव पाँच प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ । भण्डारीका अनुसार ‘प्याकेज-२’ अन्तर्गतको विद्युत्गृहभित्र संरचनागत कार्यहरू सम्पन्न भएर उपकरण जडान भइरहेको छ । ‘प्याकेज-२’ अन्तर्गत भूमिगत विद्युत्गृहमा ६७ र ‘प्याकेज-३’ अन्तर्गत प्रसारणलाइन निर्माणमा ७४ प्रतिशत प्रगति भएको उनले जानकारी दिए । आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । पुँजी संरचना तथा वित्तीय व्यवस्थापनसहित आयोजनाको कुल लागत (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ । एसियाली विकास बैंक (एडीबी)ले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकारअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजना कार्यालयले जनाएको छ ।
डीएभी कर्पोरेट फुटसल सम्पन्न : खेलमार्फत उद्योग र शिक्षाबीचको सहकार्यलाई मजबुत बनाउँदै
ललितपुर । डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्सेज सोसाइटी नेपालको संयुक्त आयोजनामा सम्पन्न दोस्रो डीएभी कर्पोरेट फुटसल प्रतियोगिता २०२५ ले उद्योग र शैक्षिक क्षेत्रबीचको सहकार्यलाई खेलकुदमार्फत सशक्त बनाएको छ । जुलाई ३० देखि अगस्ट २ सम्म सञ्चालित प्रतियोगितामा बैंकिङ, बीमा, आईटी, अटोमोबाइल, उत्पादन र ट्रेडिङ क्षेत्रका ३२ कर्पोरेट टोली सहभागी भएका थिए । प्रतियोगिताले मित्रता, समूहगत भावना, व्यावसायिक सञ्जाल विस्तार तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो । भव्य उद्घाटन समारोहमा नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान भरत खवास, ह्युमन रिसोर्सेज सोसाइटी नेपालका अध्यक्ष टेकराज शर्मा र डीएभी बिजनेस स्कुलका अध्यक्ष अनिल केडियाले खेलकुदको भूमिका, सहकार्य र व्यावसायिक एकताका सन्दर्भमा मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताको फाइनल खेल डिश होम र कोड हिमालयबीच रोमाञ्चक रूपमा सम्पन्न भयो। डिश होम विजेता बन्दै १ लाख रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्न सफल भयो भने कोड हिमालय उपविजेता बन्दै ५५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल जित्न सफल भयो । सहभागी सबै टोली, प्रायोजक, रेफ्री र स्वयंसेवकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। डीएभी बिजनेस स्कुलले सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी संस्करणलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
मध्यनेपाल । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यहाँको मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा बिहीबार बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएसँगै सवारीसाधनहरू पोखरादेखि बेँसीसहर आवतजावतका लागि वैकल्पिक बाटो काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै सञ्चालन हुन थालेका छन् । इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले पहिरो तत्कालै हटाउन नसकिने अवस्थाको रहेको जानकारी दिए ।
नेक्सजेन म्यानेजमेन्ट पब्लिक कम्पनीमा रुपान्तरण, निष्कृय कर्जा व्यवस्थापनमा केन्द्रीत हुने
काठमाडौं । सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स् पुँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयको गत आषाढ २७ को निर्णयबाट कम्पनीको अधिकृत पुँजी १ अर्ब र जारी पुँजी ५० करोड पुगेको छ । त्यसै गरी सोही मितिबाट कम्पनी पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको छ । २०८२ बैशाख २२ मा सम्पन्न कम्पनीको विशेष साधारण सभाले पुँजी वृद्धिसहित लिमिटेड कम्पनीमा परिवर्तन हुने निर्णय गरेको थियो । नेक्सजेन म्यानेजमेन्ट बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा र गैह्र बैंकिङ्ग सम्पत्ति व्यवस्थापन गर्ने गरी पूर्व बैंकरहरूबाट संचालित कम्पनी हो । पूर्व बैंकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह कम्पनीको अध्यक्षत छन् । कम्पनीको व्यवस्थापन पूर्व बैंकर तथा पूर्व बीमक रमेशकुमार भट्टराईले नेतृत्व गरिरहेका छन् । सम्पत्ति व्यवस्थापन कम्पनी ऐन नआउन्जेल यसले निष्कृय कर्जाको समस्यामा परेका ऋणीहरू तथा पुँजी विस्तार गरी उद्योग व्यवसाय राम्ररी चलाउन चाहने व्यवसायीलाई कर्पोरेट एडभाइजरीको सेवा प्रदान गरिरहेको र कम्पनी विगत तीन वर्षदेखि लगातार खुद नाफामा सञ्चालन भईरहेको प्रबन्ध सञ्चालक रमेशकुमार भट्टराईले बताए । बैंक वित्तीय संस्थामा निष्कृय कर्जाको समस्या चुनौतीको रुपमा रहेको विद्यमान अवस्थामा यसको समाधानको लागि नेपाल राष्ट्र बैंक र सरकार दुवै सम्पत्ति व्यवस्थापन कम्पनी ऐन ल्याउन लागि परेका छन् । ऐनको मस्यौदा तयार भइसकेको भएता पनि पुँजी कति राख्ने भन्ने विषयमा द्विविधामा रहेको देखिन्छ । छिमेकी मुलुक र अन्तर्राष्ट्रिय अभ्यास अनुसार खर्वौको निष्कृय कर्जा व्यवस्थापन गर्न कर्जाको प्रकृति र साइज अनुसार साना ठूला कम्पनी आवश्यक पर्दछ । नेपालको “क”, “ख”, “ग”, “घ” वर्गको वित्तीय स्वरूप हेर्दा सम्पत्ति व्यवस्थापन कम्पनी पनि साना, मध्यम र ठूला पुँजी हुने सबै प्रकारका कम्पनी आवश्यक पर्ने देखिन्छ । नेक्सजेन म्यानेजमेन्टले यहि आवश्यकता महसुस गरेर पूर्व तयारीको लागि हाललाई एक अर्ब सम्म जाने गरी पूँजी वृद्धि गरेका कम्पनीका प्रबन्ध सञ्चालक भट्टराईले बताए । साथै भविष्यमा आवश्यकता अनुसार सर्वसाधारणलाई पनि यो कम्पनीमा समावेश गर्ने गरी ३० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्ट्याएको उनले बताए । कम्पनीले कार्यक्षेत्र विस्तारको क्रममा भविष्यमा विभिन्न सहायक कम्पनीहरू स्थापना गर्दै सम्पत्ति व्यवस्थापन कम्पनीलाई सशक्त र प्रभावकारी संस्था बनाउने लक्ष्य राखेको उनले बताए ।
थुनामुक्त गर्न माग गर्दै रविले दिए रुपन्देही जिल्ला अदालतमा निवेदन
बुटवल । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले थुनामुक्त गराउन माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् । राजनीतिक प्रतिशोधका आधारमा आफूलाई थुनामा राखिएको दाबी गर्दै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् । निवेदनमा उनले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंकमा जमानत राखेर थुनामुक्त हुन पाउनुपर्ने उल्लेख छ । रास्वपाको केन्द्रीय सचिवालयका अनुसार यो निवेदन साउन १९ गते अदालतमा दर्ता गरिएको भए पनि विषयलाई तीन दिनसम्म सार्वजनिक गरिएको थिएन । पार्टीका रुपन्देही जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माले बिहीबार मात्रै निवेदनबारे जानकारी पाएको बताएका छन् । लामिछाने हाल रुपन्देही कारागारमा चैत २५ गतेदेखि थुनामा छन् । उनलाई काठमाडौं सरुवा गराउने प्रयास भएको भए पनि गृह मन्त्रालयले रोकेको थियो । यसअघि जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी प्रकरणमा लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, उच्च अदालतले उक्त आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा राख्न निर्देशन दिएको थियो । निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार अदालतले धरौटी, जमानत वा बैंक जमानतमा अभियुक्तलाई थुनामुक्त गराई तारिखमा राख्न सक्ने कानुनी व्यवस्था उल्लेख गर्दै त्यसै आधारमा रिहा गरिनुपर्ने माग गरिएको छ । रविले यसअघि पनि सोही प्रकरणमा ८४ दिन हिरासतमा बसेपछि रिहा भएका थिए भने त्यसपछिका २५ दिनमात्र बाहिर बसेका थिए ।
नाइमाको प्रर्दशनी अब ८ बजेसम्म चल्ने, ७ बजेसम्म टिकट पाइने
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पहिलो दिन १५ हजारभन्दा बढी दर्शकको आगमनले प्रदर्शनी स्थलमा दिनभरि उत्सवको माहोल छायो । उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी तथा अटोमोबाइल क्षेत्रका अग्रज व्यक्तिहरूको उपस्थितिमा उद्घाटन सम्पन्न भएपछि सर्वसाधारणका लागि प्रदर्शनी खोलिएको थियो । उद्घाटन समारोहका प्रमुख अतिथि उप–प्रधानमन्त्री तथा अर्थमन्त्री माननीय श्री विष्णु प्रसाद पौडेलले नेपालमा भएको भौतिक विकासको चर्चा गर्दै सरकार उद्योग मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । कार्यक्रममा नाइमाका अध्यक्ष ऋतु सिंह वैद्य र एक्स्पो समितिका प्रमूख शिरीष कुमार मुरारकाले पनि मन्तव्य दिँदै नेपालको अर्थतन्त्रमा अटो मोबाइल उद्यमीहरुको भूमिका, नवप्रवर्तन र सार्वजनिक–निजी साझेदारीको महत्त्वमाथि प्रकाश पारिन् । पहिलो दिनको उत्साहजनक उपस्थितिपश्चात नाइमाले प्रदर्शनी ८ बजेसम्म खुला रहने र सात बजेसम्म टिकट पाइने जनाएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि खुला हुनेछ ।
याडियाको ‘भेलाक्स सिरिज’ इलेक्ट्रिक स्कुटर बजारमा, मूल्य २ लाख ८५ हजारदेखि सुरु
काठमाडौं । याडिया ब्रान्डका अत्याधुनिक इलेक्ट्रिक स्कुटरहरू अब नेपाली बजारमा सार्वजनिक भएका छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्सपो’को अवसरमा याडियाले ‘भेलाक्स सिरिज’का तीन नयाँ मोडल नेपाली बजारमा भित्र्याएको हो । याडियाका लागि नेपालमा आधिकारिक वितरक कुजु नेपाल प्रालिले स्कुटर सिरिज सार्वजनिक गरेको हो । ‘भेलाक्स फास्ट चार्जिङ’, ‘भेलाक्स यु’ र ‘भेलाक्स एच’ नामका ती मोडलहरू आ–आफ्नै विशेषता बोकेका छन् । भेलाक्स फास्ट चार्जिङ मोडल व्यस्त जीवनशैली अपनाउनेहरूका लागि लक्षित गरिएको छ । ७६ भोल्ट ३० एएच एलएफपी ब्याट्रीसहितको यो स्कुटरले ११० किमी सम्म रेन्ज दिन सक्छ । यसले २० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमता राख्दछ । ३२०० वाटको मोटर, ६२ किमी प्रतिघण्टा टप स्पिड र १७२ एनएम टर्क यसमा उपलब्ध छन् । भेलाक्स यु मोडल डुअल ७४ भोल्ट २० एएच ब्याट्री प्रणालीमा आधारित छ र एक पटकको चार्जमा १४० किमी रेन्ज प्रदान गर्छ । यो मोडलमा ४९०० वाटको शक्तिशाली मोटर, ८० किमी प्रतिघण्टा गति र १७६ एनएम टर्क रहेको कम्पनीले जनाएको छ । भेलाक्स एच मोडल दैनिक प्रयोगकर्तालाई ध्यानमा राखी सुलभ मूल्यमा डिजाइन गरिएको हो। यसमा ७२ भोल्ट ३० एएच ब्याट्री, १०० किमी रेन्ज, ३२०० वाट मोटर, ६२ किमी प्रतिघण्टा गति र १७२ एनएम टर्क प्रदान गर्ने क्षमता रहेको छ। 'एचु' को अर्थ ‘हाई परफमेन्स’ रहेको कम्पनीको भनाइ छ । तीनै मोडलमा क्रुज कन्ट्रोल, रिभर्स मोड, किलेस स्टार्ट, स्मार्ट अनलक, मोबाइल एप इन्टिग्रेसन, रिजेनेरेटिभ ब्रेकिङ, यूएसबी चार्जिङ पोर्ट, एलईडी लाइट र फुल्ली डिजिटल ड्यासबोर्डजस्ता अत्याधुनिक फिचरहरू समावेश छन् । भेलाक्स सिरिजको मूल्य २ लाख ८५ हजार रुपैयाँदेखि सुरु हुन्छ । स्कुटरहरूमा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी पनि प्रदान गरिनेछ । देशभर रहेका १२ भन्दा बढी आधिकारिक डिलरमार्फत टेस्ट राइड, प्रि–बुकिङ र फाइनान्सिङ सुविधा उपलब्ध गराइसकिएको कम्पनीले जनाएको छ ।