विकासन्युज

फोटोन टोटल केयरको मेगा मनसुन सर्भिस क्याम्प छिट्टै सुरू हुँदै

काठमाडौं । फोटोन टोटल केयरले आउँदो साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्न लागेको छ । एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुने यो विशेष पहल अन्तर्गत फोटोन सवारीधनीहरूले सुरक्षित र ढुक्कको यात्राका लागि वर्षायामका चुनौतीहरूको सामना गर्न गाडीको आवश्यक मर्मतसम्भार गर्न सक्नेछन् भने विशेष छुट र थप सेवाहरू समेत पाउन सक्नेछन् । मनसुनको वर्षा नजिकिँदै गर्दा अचानक तपाईंको गाडी बिग्रेर हैरानी बेहोर्नुपर्ने अवस्था नआओस् भन्नका लागि मेगा मनसुन सर्भिस क्याम्पले सवारीधनीहरूलाई आफ्ना गाडी लिएर सर्भिस सेन्टरमा पुग्ने, विज्ञ सेवा प्राप्त गर्ने र उपलब्ध विशेष छुट तथा सुविधाहरूको फाइदा उठाएर पैसा बचत गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मेगा मनसुन सर्भिस क्याम्पको मुख्य आकर्षण फोटोन सवारीहरूमा हुने बम्परदेखि बम्परसम्मको निःशुल्क चेकजाँच हो । यो बम्परदेखि बम्परसम्मको चेकजाँचले सबै फोटोन सवारीधनीहरूलाई फाइदा पुर्‍याउँछ, किनभने यसमार्फत गाडीको सम्पूर्ण अवस्था परीक्षण गरिन्छ । यस अन्तर्गत गाडीका मेकानिकल, इलेक्ट्रिक र स्ट्रक्चरल भागहरूको प्रत्यक्ष निरीक्षण गरिन्छ, जसले गाडी ठीकसँग काम गरिरहेको छ कि छैन र सुरक्षाको दृष्टिले उपयुक्त छ कि छैन भन्ने सुनिश्चित गर्छ । त्यसैगरी, ग्राहकहरूले निःशुल्क वास र ग्रिजीङ सेवा पनि प्राप्त गर्नेछन्, जसले मनसुनको मौसममा गाडीलाई खिया लाग्नबाट जोगाउनुका साथै चलायमान भागहरूको दीर्घायु र दक्षता कायम राख्न मद्दत पुर्‍याउँछ । साथै, यस मेगा मनसुन सर्भिस क्याम्पमा स्पेयर पार्ट्स, लेबर चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशत छुट पनि उपलब्ध छ । ग्राहकहरूले यी अफरहरूको लाभ उठाएर आफ्नो गाडीको लामो आयु बढाउन सक्नेछन् र अकस्मात बिग्रने सम्भावना घटाउनेछन्, जसले यात्रालाई अझ सुरक्षित र ढुक्क बनाउँछ । यो सर्भिस क्याम्प नेपालभरि फोटोनका ट्रक, भ्यान र अन्य कमर्सियल गाडीहरूका लागि मात्र उपलब्ध हुनेछ । इच्छुक ग्राहकहरूले ९८०२३६७५०१ वा ९८५१४१७१२२ मा फोन गरेर अग्रिम बुकिङ गर्न सक्नुहुन्छ जसले गर्दा धेरैबेर नपर्खी प्राथमिकता अनुसार सर्भिसको सुविधा पाउन सकिन्छ ।

वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–७ रेश घर भएका चेतबहादुर थापाको रोजगारीको सिलसिलामा २०७२ सालमा साउदीमा मृत्यु भयो । उनको मृत्युपछि परिवारले १० वर्षसम्म कुनै क्षतिपूर्ति तथा राहत पाएनन् । तर आप्रवासी स्रोत केन्द्रको पहलमार्फत थापाको परिवारले १० वर्षपछि राहत रकम प्राप्त गरे । साउदी सरकारले व्यक्तिको विवरण पत्ता लगाउन नसक्दा भएको समस्या केन्द्रले समन्वय गरी पत्ता लगायो । वैदेशिक रोजगारीमा गएर अंगभंग भएका परिवारले उपचारका लागि आवश्यक सहयोग, शव झिकाउने, क्षतिपूर्ति दिलाउने र मनोपरामर्शजस्ता काममा केन्द्रको सक्रियता देखिएको छ । केन्द्रले यहाँ एक वर्षमा १२८ वटा वैदेशिक रोजगारीसँग सम्बन्धित घटना दर्ता भएकामा ५८ वटा समस्या समाधान गरेको केन्द्रका सूचना तथा परामर्शकर्ता गंगा शर्माले बताए। उनले ७२ वटा वैदेशिक ठगीमध्ये २२ वटा ठगीको उजुरी समाधान भएर ठगिएको ५५ लाख १५ हजार फिर्ता भएको जानकारी दिए। सम्पर्कविहीन, कागजपत्र नभएको, विदेशमा जेल जीवन बिताउँदै आएका २५ वटा उजुरी दर्ता भएकामा १३ वटा समस्या समाधान भएको बताए। त्यसैगरी एक वर्षमा १० जना विदेशमा मृत्यु भएकाको शव ल्याउने र राहत रकम परिवारलाई भुक्तानी गरेको छ । दश मृत्यु तथा छ वटा अंगभंग भएका उजुरीमध्ये १३ वटाको समस्या समाधान गरिएको र परिवारले रु ६७ लाख छ हजार राहत रकम प्राप्त गरको शर्माले बताए । आप्रवासी स्रोत केन्द्र बागलुङका प्रमुख मीन उपाध्यायले वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएकाले ठगी, अंगभंग, मृत्यु तथा जेल पर्नेजस्ता घटनाको संख्यामा वृद्धि भएको बताए । उनले काम, दाम, कम्पनी फरक र पासपोर्ट जफतलगायतका १५ वटा उजुरी दर्ता भएकामा १० वटा उजुरीको समस्या समाधान गरिएको बताए । उपाध्यायले जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा कन्सुलर सेवा विभागबाट प्राप्त रु २१ लाख ३० हजार २५४ वैदेशिक रोजगारीसँग सम्बन्धित पीडितलाई उपलब्ध गराइएको बताए । रासस

विश्व बैंकको अनुदान प्राप्त सडक स्तरोन्नतिमा ढिलाइ

तनहुँ । विश्व बैंकबाट अनुदान प्राप्त यहाँका व्यास र शुक्लागण्डकी नगरपालिकाका दुई सडक स्तरोन्नतिमा ढिलाइ भएको छ ।  सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत सञ्चालित ती सडक आयोजना निर्माणमा ढिलाइ भएको हो ।  चालु आर्थिक वर्षको पुस महिनाभित्र सम्पन्न हुने गरी काम गर्न बजेट विनियोजन गरिएको छ । व्यास नगरपालिकामा पराशर मार्ग र शुक्लागण्डकी नगरपालिकामा दुलेगौडा–लामागाउँ स्तरोन्नति भइरहेका छन् । ती सडक अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्न सम्झौता भएको थियो ।  व्यासका वडा नं ७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माणका लागि खुलेका ती ट्रयाकमा स्तरोन्नति भइरहेको नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले  बताए । निर्धारित पुस महिनासम्ममा काम पूरा गर्न नगरपालिकाले सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।  बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती जोडिने सो सडक खण्डमा १०.५५ किलोमिटर दूरी कालोपत्र हुनेछ । उक्त सडकको हालसम्म १८.२९ प्रतिशत मात्र काम भएको छ ।  विसं २०८२ असारसम्म सम्पन्न गर्ने गरी काम अघि बढाइएकोमा काम पूरा नभएपछि छ महिना म्याद थप भएको व्यास नगरपालिकाका सिनियर डिभिजन इञ्जिनियर डा राजु पौडेलले जानकारी दिए ।  सडक स्तरोन्नतिका लागि रु४० करोड ८३ लाख ३५ हजार ९२१ मा निर्माण कम्पनी बिकेएचटिडिसीएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो ।   त्यसैगरी दुलेगौंडा–लामागाउँ सडकखण्डमा ४५ प्रतिशत भौतिक प्रगति भएको छ । अबको ६१ दिनमा काम पूरा गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए ।  यो सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले विसं २०८० चैत २५ गते सम्झौता गरेको थियो । मोटरमार्ग ७।१ किलोमिटर दूरी कालोपत्र गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए । लामादेका अनुसार उक्त ठेक्काको रकम रु २७ करोड ३४ लाख ७९ हजार ८३४ रहेको छ ।   शुक्लागण्डकी–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी ८, ९ र १२ वडालाई जोडिनेछ । दुलेगौडास्थित बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लीलाचोकसम्म कालोपत्र हुनेछ ।  

कर्णाली विकास बैंक घोटाला प्रकरणमा ३ जनालाई थुनामा पठाउने आदेश

काठमाडौं । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।  राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जनाएको छ । 'उहाँले धरौटी बुझाउन नसकेकाले तत्काल थुनामा पठाइएको छ तर धरौटी बुझाएमा उहाँलाई छाडिने छ,' उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले भने। उनका अनुसार बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सो आदेशमा फरार रहेका १०० भन्दा बढी प्रतिवादीको हकमा म्याद तामेली पठाउने उल्लेख छ । बैंक सञ्चालक समितिका दुई पूर्वअध्यक्ष र एक कर्मचारीलाई अहिल्यै छाड्दा मुद्दा प्रभावित पार्न सक्ने आँकलन गरी अदालतले तीन जनालाई थुनामा राख्ने आदेश सुनाएको बताइएको छ । अदालतका न्यायाधीशद्वय चन्द्रबहादुर सारू र पुनमसिंह चन्दको इजलासले बैंकका पूर्वअध्यक्षसहित चार जना प्रतिवादीविरूद्धको रकम घोटाला प्रकरणको सुनुवाइ सकेर बुधबार सो आदेश सुनाएको थियो । बैंकको तीन अर्ब २० करोड हिनामिना प्रकरणमा कुल १०९ जनालाई प्रतिवादी बनाइएको थियो । तीमध्ये १०३ जना अझै फरार छन् । विभिन्न समयमा पक्राउ परेका दुई जना सञ्चालक समितिका पूर्वअध्यक्षसहित चार जना प्रतिवादीमध्ये साउन १४ गते सिआइबीले आफ्नो अनुसन्धान प्रतिवेदनमा आर्थिक अनियमिततामा दोषी करार गर्दै जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । सिआइबीले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहित १०९ जनाबाट रु तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ बिगो माग दाबी गर्दै मुद्दा दायर गर्नुपर्ने सुझाव दिएको थियो । सिआइबीको सोही अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले उच्च अदालत तुलसीपुर नेपालगञ्जमा मुद्दा दायर गरेको थियो । अदालतका सूचना अधिकारी विष्टका अनुसार चार जना प्रतिवादीमध्ये बैंकका संस्थापक अध्यक्षसमेत रहेका राजेन्द्रवीर रायसँग रु दुई अर्ब ६३ करोड ३२ लाख १६ हजार ५९७ रूपैयाँ बिगो र जरिवाना माग दाबी गरिएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्रसँग रु ८२ करोड ४६ लाख २९ हजार बिगो र जरिवाना मागदाबी गरिएको थियो । बैंकका तत्कालीन वित्त विभाग प्रमुख वेदप्रकाशसिंह ठकुरीसँग रु २४ करोड ६३ लाख ९९ हजार बिगो र जरिवाना मागदाबी गरिएको थियो । राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतसँग रु १० करोड ८९ लाख २५० बिगो र जरिवाना मागदाबी गरिएको थियो ।

कुमारी बैंकको नाफा ४५ हजार ८२९ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । कुमारी बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ४५ हजार ८२९ प्रतिशत बढेर २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशत वृद्धि गरी ११ अर्ब ५५ करोड ४३ लाख ९४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ८० करोड ३३ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  गत वर्ष बैंकको कुल सञ्चालन आम्दानी १०.९७ प्रतिशत बढेर १५ अर्ब १३ करोड ३० लाख ५२ हजार रुपैयाँ, सञ्चालन नाफा ५२९.८७ प्रतिशत बढेर ६ अर्ब १३ करोड ४४ लाख ९१ हजार रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी २७.४४ प्रतिशत बढेर २ अर्ब ६७ करोड ३८ लाख १९ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड ४० लाख २० हजार रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३६ करोड ७४ लाख २४ हजार रुपैयाँ ऋणात्मक थियो ।  बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ र जगेडा कोषमा १३ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको निक्षेप संकलन ९.४६ प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ र कर्जा लगानी २.७८ प्रतिशत घटेर २ खर्ब ६० अर्ब ९४ करोड ८३ लाख रुपैयाँ छ ।  नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ८.०७ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी ०.०२ रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ १४२.१९ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ५.९६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ६.४२ प्रतिशत पुगेको छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७५.७३ प्रतिशत, आधार दर ६.४४ प्रतिशत रहेको छ । 

मोबिलिटी एक्स्पो पहिलो दिन १५ हजार बढीले गरे अवलोकन

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पहिलो दिन १५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । उद्घाटन सम्पन्नपछि सर्वसाधरणलाई खुला गरिएको एक्स्पोमा १५ हजार भन्दा बढीले अवलोकन गरेको जनाएको छ ।  नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले मोबिलिटी एक्स्पो २०२५ ले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १२ लाख ४० हजारभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्ने बताइन् । साथै, राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा ७.१३ प्रतिशतको योगदान पुर्याउने उनीहरुको दाबी छ ।  उनका अनुसार हाल नेपालमा ५५ लाखभन्दा बढी सवारी साधन दर्ता छन्, जसले बिक्री, मर्मत, लजिस्टिक्स र पूर्वाधारका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको छ ।

न्युजिल्यान्डमा बेरोजगारी दर ५.२ प्रतिशत, श्रम बजार थप कमजोर

काठमाडौं । न्युजिल्यान्डको बेरोजगारी दर सन् २०२५ को दोस्रो त्रैमास (अप्रिल-जुन) मा बढेर ५.२ प्रतिशत पुगेको छ । श्रम बजारमा लगातार कमजोरी देखिँदै गएको राष्ट्रिय तथ्यांक विभाग स्ट्याटस एनजेडले बुधबार जानकारी दिएको छ । मार्चमा बेरोजगारी दर ५.१ प्रतिशत थियो भने अघिल्लो वर्षको यही अवधिमा ४.७ प्रतिशत थियो । अहिले देशभर १ लाख ५८ हजार व्यक्ति बेरोजगार छन्, जुन अघिल्लो वर्षको तुलनामा १६ हजारले (११ प्रतिशतले) बढी हो । स्ट्याटस एनजेडका श्रम विश्लेषक जेसन एट्टवेलका अनुसार, पछिल्ला केही वर्षमा श्रम बजारको अवस्था उल्लेखनीय रूपमा कमजोर हुँदै गएको छ । सन् २०२२ को जुन यता बेरोजगारी दरमा १.९ प्रतिशत अंकको वृद्धि भएको छ । बेरोजगारी मात्र होइन, श्रम बजारको समग्र अवस्थालाई देखाउने अन्डरयुटिलाइजेसन दर पनि बढेर १२.८ प्रतिशत पुगेको छ । यो दर मार्च त्रैमासमा १२.४ प्रतिशत थियो भने एक वर्षअघि ११.९ प्रतिशत थियो । यद्यपि तलब वृद्धि भइरहेको छ, यसको गति भने सुस्ताएको छ । वार्षिक तलब वृद्धि दर ४.३ प्रतिशतबाट घटेर २.४ प्रतिशतमा झरेको छ । औसत घण्टाको तलब ४.५ प्रतिशतले बढेर ४३.३९ न्युजिल्यान्ड डलर (लगभग २५.६६ अमेरिकी डलर) पुगेको छ । श्रम बजार कमजोर बनेपछि धेरै युवा शिक्षातर्फ फर्किएका छन् । १५ देखि २४ वर्ष उमेर समूहका विद्यार्थीको संख्या ५ प्रतिशतले बढेर ३ लाख ७९ हजार नौ सय पुगेको छ । युवाको रोजगार र सहभागिता दर घटेर क्रमशः ५३.१ र ६२.३ प्रतिशतमा झरेका छन्। तर, रोजगार, शिक्षा वा तालिममा नरहेका (नीट) युवाको दर भने १२.२ प्रतिशतमै स्थिर रहेको स्ट्याटस एनजेड ले जनाएको छ ।

सिटिजन्सको १५.७९ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सिटिजन्स सेयर ब्रोकर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन २० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित १५.७९ प्रतिशतका दरले ३ करोड १५ लाख ७८ हजार ९४७ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले भदौ १३ गते बिहान ८ बजे प्रधान कार्यालय कुपण्डोल ललितपुरमा तेस्रो वार्षिक साधारण सभा समेत आह्वान गरेको छ ।  सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।  कम्पनीको नियमावली अनुसार सञ्चालक नियुक्त अनुमोदन गर्ने र प्रबन्ध पत्रमा आवश्यक संशोधन प्रस्ताव पारित गर्नेछ ।