विकासन्युज

गोल्यान ग्रुपको ६५ वर्ष पूरा : २५ भन्दा बढी व्यवसाय, १० हजार रोजगारी

काठमाडौं । नेपालको एक प्रमुख व्यवसायिक समूह गोल्यान ग्रुपले आफ्नो ६५ वर्ष पूरा गरेको अवसरमा नयाँ ब्रान्ड फिल्म सार्वजनिक गरेको छ । यस फिल्ममा कम्पनीको यात्रासँगै अगाडि बढेका नेपालीहरूको दैनिक जीवनका कथाहरूलाई उजागर गरिएको छ ।  ‘विकासका लागि गोल्यान’ शीर्षक अन्तर्गत बनेको यो फिल्मले कृषि, उत्पादन, रियल स्टेट, आतिथ्य सत्कार र नवीकरणीय ऊर्जा जस्ता क्षेत्रमा गोल्यान ग्रुपले गरेको लगानीले कसरी व्यक्ति, समुदाय र राष्ट्रका लागि वास्तविक अवसरहरू सिर्जना गरेको छ भन्ने कुरालाई देखाएको छ । सन् १९६० मा स्थापित गोल्यान ग्रुप नेपालको एक प्रमुख व्यापारिक समूह हो, जसले देशभर २५ भन्दा बढी व्यवसाय सञ्चालन गर्दै आएको छ । ६ हजारभन्दा बढी कर्मचारी र चार सय मिलियन अमेरिकी डलरभन्दा बढीको वार्षिक आम्दानीका साथ यस समूहको उत्पादन, कृषि, नवीकरणीय ऊर्जा, रियल स्टेट र आतिथ्य सत्कारका क्षेत्रमा बलियो उपस्थिति छ । गोल्यान ग्रुपले आफूहरूको जग नेपालभित्रै मूल्य सिर्जना गर्ने सिद्धान्तमा आधारित छ भन्दै रोजगारी सिर्जना गर्ने, पूर्वाधार निर्माण गर्ने र स्थानीय उत्पादन तथा निर्यातलाई प्रोत्साहन गर्ने कुरा यसअन्तर्गत पर्ने बताएको छ ।  यो ब्राण्ड फिल्मले सोही प्रतिबद्धतालाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको समूहको भनाइ छ । ‘कम्पनीको दृष्टिकोणबाट नभई ती मानिसहरूको आँखाबाट जसको जीवनमा यसले सकारात्मक परिवर्तन ल्याएको छ,’ समूहको भनाइ छ, ‘सौर्य ऊर्जाबाट उज्यालो पाएको बच्चादेखि लिएर उचित बजारसम्म पहुँच पाएका किसान र आर्थिक रूपमा आत्मनिर्भर बनेका कारखानाका मजदुरसम्मको कथालाई यस फिल्मले समेटेको छ ।’ जब विकासले सबैलाई समेट्छ, तब मात्र त्यसको वास्तविक महत्त्व हुन्छ भन्ने कुरा यस ब्राण्ड फिल्मले देखाउँछ ।  गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यान भन्छन्, ‘यो फिल्म हामीबारे होइन । यो ती मानिसहरूबारे हो जसको जीवन र प्रयासले हाम्रो यात्रालाई आकार दिएको छ, जसरी हामीले उनीहरूको जीवनमा योगदान पुर्‍याएका छौं। यो साझा प्रगतिको कथा हो- ती मानिसहरू, समुदायहरू र हाम्रो देशको, जसको हामी गर्विलो हिस्सा हौं ।’ भिडियोमा रहेको सन्देशले गोल्यान ग्रुपको दीर्घकालीन दर्शनलाई प्रतिबिम्बित गर्छ । विगत ६५ वर्षदेखि, यस समूहले नाफाभन्दा माथि उठेर मानिसहरूलाई सशक्त बनाउने, जीविकोपार्जनमा सुधार गर्ने र सबैका लागि दिगो भविष्य निर्माण गर्ने लक्ष्यका साथ आफूहरूले उद्यमहरू खडा गर्दै आएको बताएको छ । गोल्यान ग्रुप साँचो अर्थमा महत्त्वपूर्ण हुने विकासप्रति प्रतिबद्ध छ भन्दै समूहले ‘विकासका लागि गोल्यान’ हो भनेको छ । गोल्यान ग्रुप र यसको नेतृत्वले धेरै सम्मान र पुरस्कारहरू प्राप्त गरेका छन्, जसमा निर्यात र रोजगारीमा उत्कृष्ट योगदानका लागि सरकारद्वारा २०२५ र २०२० मा ‘व्यापारिक रूपमा महत्त्वपूर्ण व्यक्ति’ (सीआईपी) को उपाधि पनि समावेश छ ।  यस समूहले उत्कृष्ट निर्यातक र रोजगारदाता पुरस्कार (२०२५), सर्वोच्च निर्यातक पुरस्कार (२०२४) र औद्योगिक सम्बन्धमा उत्कृष्टता पुरस्कार (२०२२) लगायत अन्य धेरै सम्मानहरू पनि प्राप्त गरेको छ । यी सबै सम्मानले जिम्मेवार र समावेशी विकासका माध्यमबाट आर्थिक प्रगतिमा गोल्यान ग्रुपको निरन्तर भूमिकालाई दर्शाउँछ।  

मन्त्रीहरुको भ्रमणमा आकर्षक भत्ता, ऐन नै संशोधन

 काठमाडौं । सरकारले मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९ मा संशोधन गर्दै भ्रमणमा पनि आकर्षक भत्ता पाउने व्यवस्था गरेको छ ।  ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपति रामचन्द्र पौडेलले यही साउन १४ गते प्रमाणीकरण गरेसँगै अब प्रधानमन्त्री तथा मन्त्रीहरूले भ्रमण गरेबापत भत्ता पाउने भएका हुन् । सो ऐनको दफा ३ को उपदफा १ को सट्टा मन्त्रीहरूलाई सरकारी कामको सिलसिलामा नेपालभित्र वा नेपाल बाहिर भ्रमण गर्दा भ्रमणको भत्ता सम्बन्धी प्रचलित कानुनमा निर्धारण भए बमोजिम दैनिक तथा भ्रमण भत्ता दिइने व्यवस्था गरिएको छ ।  २०७७ सालमा स्वीकृत कार्य सञ्चालन निर्देशिकामा उल्लेख भए अनुसार प्रधानमन्त्रीले मासिक तलब ९४ हजार २ सय ८० रुपैयाँ छ । उनले स्वदेशमा भ्रमण गर्दा तीन हजार रुपैयाँ पाउँछन् । प्रधानमन्त्रीले पारिश्रमिक ७७ हजार २८०, महँगी भत्ता २ हजार, सञ्चार सुविधा ५ हजार, मासिक मसलन्द तथा अतिथि सत्कार अन्तर्गत १० हजार रुपैयाँ पाउँछन् । प्रधानमन्त्रीले मासिक ३ सय ६ लिटर पेट्रोल, वार्षिक ४० लिटर मोबिल पाउँछन् ।  उपप्रधानमन्त्रीको मासिक पारिश्रमिक ७५ हजार ६ सय ४० हो । यसमा मसलन्द, महँगी भत्ता र सञ्चारसमेत जोड्दा मासिक ८४ हजार ६ सय ४० तलब हुन आउँछ । अब उनले स्वदेशमा तथा विदेशमा भ्रमण गर्दा पनि भत्ता पाउनेछन् । उपप्रधानमन्त्रीले मासिक ३ सय ६ लिटर पेट्रोल पनि पाउँछन् ।  मन्त्रीहरूको हकमा मासिक पारिश्रमिक, मसलन्द तथा अतिथि सत्कार ३ हजार ५ सय, महँगी भत्ता १ हजार, सञ्चार सुविधा ३ हजारसमेत गरी जम्मा ७९ हजार २ सय ३० पाउँछन् । मन्त्रीहरूले पनि अब भ्रमण भत्ता पाउनेछन्। 

गोगोरो स्कुटर अब झनै मुल्यवान, नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

काठमाडौं । गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले नेपालमै पहिलो पटक विद्युतीय दुईपांग्रे सवारीका लागि बाइब्याकग्यारेन्टी कार्यक्रम सुरु गरेको छ । कार्यक्रमले ग्राहकहरूलाई थप भरोसादिलाउँदै नेपालीबजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता पनि देखाएको छ । कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित रिसेल भ्यालु दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ । कार्यक्रम साउन १९ गतेदेखि आधिकारिक रूपमा लागू भएको छ । यस अन्तर्गत गोगोरोले अब आफ्ना स्मार्ट स्कुटर किन्नेहरूलाई ढुक्क बनाउने गरी ५ वर्ष वा ४० हजार किलोमिटर अवधिभित्र १ लाख रुपैयाँको बाइब्याक भ्यालु ग्यारेन्टी गर्नेछ । कम्पनीका अनुसार विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूको मुख्यचिन्ता भनेको ब्याट्री बिग्रँदै जानु हो । जसले रिसेल भ्यालु घटाउँछ । तर गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ । परम्परागतईभीहरुमा ब्याट्री सवारीधनीकै हुन्छ भने गोगोरोमाग्राहकले ब्याट्री किन्ने होइन, बरु गोगोरोद्वारा नै सञ्चालित ब्याट्री स्वाप स्टेशनमा स्वाप गर्ने हो । यसकै परिणामस्वरूप, गोगोरो बाइब्याकग्यारेन्टी दिन सक्ने स्थितिमापुगेको छ र नेपालको विद्युतीय यातायात बजारमा भरोसा र दीर्घकालीन मूल्यको नयाँ मापदण्ड स्थापना गरेको छ । 'गोगोरो नेपालको यातायातको भविष्य हो' नेब्युलाइनर्जीका जनरल म्यानेजर चिरञ्जीवीशाहले भने,'सुरुदेखि नै हामीले गरेको लगानीले यही प्रतिबद्धता झल्काउँदै आएको छ । हामीले काठमाडौंभर ४५ वटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सञ्चालन सुरु गरेकाथियौं । आजहामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदैछौँ ।'

फक्सवागनका दुई मोडल भर्टुस र टाईगुन नेपाली बजारमा

काठमाडौं । नेपाली उपभोक्ताको मागलाई मध्यनजर गरी जर्मन ब्राण्ड फक्सवागनको लागि नेपालको एक मात्र आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले नाइमा अटो शोमा भर्टुस सेडान र नयाँ टाईगुन गाडीको लञ्च गरेको छ ।  यी दुवै गाडीहरूमा यस सेग्मेन्टको सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर इन्जिन जडान गरिएको छ । अत्याधुनिक प्रविधिद्वारा सुसज्जित यी दुवै गाडीहरूमा पावरको आवश्यकता अनुसार दुई वा चारै सिलिन्डरद्वारा चल्ने १५०० सी.सी. बाट १५० हर्ष पावर उत्पादन गर्न सक्षम फ्युल इफिसेन्ट इन्जिन रहेको छ ।  वट्रस जी टी सेडान र टाईगुन एसयूभी विश्वकै उच्च स्तरको सुरक्षा मापदण्ड एन क्यापमा पाँच तारा पाएका मोडल हुन् । फक्सवागन भर्टुस सेडान भएता पनि हाल नेपालमा उपलब्ध धेरै एसयूभीभन्दा पनि बढी अर्थात् १८० मि.मि. को ग्राउण्ड क्लियरेन्सका साथ आउँछ । बलियो च्यासिस, पावरफुल इन्जिन तथा उच्च ग्राउण्ड क्लियरेन्सले गर्दा सहर होस् वा ग्रामीण सडक सबै ठाउँमा यो गाडी लान सकिन्छ । नेपालको बाटोमा सुहाउँदो, १८८ एमएमको ग्राउण्ड क्लियरेन्स तथा अत्याधुनिक सेभेन स्पिड गियरबक्सका साथ लञ्च गरिएको यस एसयूभीमा सम्पूर्ण सुरक्षा तथा कम्फर्टटका फिचरहरू राखिएको छ । उदाहरणका लागि ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्टायविलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल इत्यादि दुवै मोडलमा राखिएको छ । 

जब बेरोजगार युवकको खातामा अर्बौं रुपैयाँ आयो...

काठमाडौं । भारतको उत्तर प्रदेशको दनकौर गाउँमा बस्ने एक बेरोजगार युवकको बैंक खातामा अचानक अर्बौं रुपैयाँ जम्मा भएको अनौठो घटना सार्वजनिक भएको छ । २० वर्षका दीपू उर्फ दिलीप सिंहले दुई महिनाअघि कोटक महिन्द्रा बैंकमा आफ्नो खाता खोलेका थिए । अगस्ट २ मा दिलीपले बैंकको मोबाइल एपमा लगइन गर्दा उनको होस उड्यो । मुटु तेज गतिमा धड्किन थाल्यो। खातामा देखिएको रकम थियो- १०,०१,३५,६०,००,००,००,००,००,००,०१,००,२३,५६,००,००,००,००,२९९ भारु । दिलीपले मोबाइल एप बारम्बार बन्द गरे, पासवर्ड फेरे, तर खाताबाट त्यो अर्बौं भारु हराउन मानेन । बीबीसीसँगको कुराकानीमा उनले भने, ‘रकम यति ठूलो थियो कि म गन्नै सकिनँ । बस यति बुझें कि यो ३७ अङ्कको संख्या हो । गुगलमा पनि अनुवाद गर्न खोजें, तर त्यहाँबाट पनि केही सहायता मिलेन ।’ दिलीप भन्छन्, ‘मैले धेरैलाई देखाएँ तर कोही पनि त्यत्रो ठूलो रकम गन्न सकिरहेका थिएनन् ।’ क्यामरा अगाडि जब दिलीप आफैले रकम गन्ने प्रयास गर्छन्, उनी दश अर्बसम्म गनेपछि हार मान्छन् र भन्छन्, ‘यसपछि त मलाई गन्न आउँदैन ।’ दिलीपले कक्षा १२ सम्म पढेका छन् र हाल बेरोजगार छन् । उनी केही समयदेखि कामको खोजीमा छन् । बैंक खातामा अर्बौं रुपैयाँ देखेपछि दिलीपलाई सुरुमा लाग्यो कि यो कुनै प्राविधिक त्रुटि हुनसक्छ, तर बारम्बार जाँच गर्दा पनि उही रकम देखिइरहेको थियो । दिलीप भन्छन्, ‘मलाई लाग्यो- यत्रो पैसा छ भने केही त प्रयास गरौं अनि १० हजार रुपैयाँ अर्को खातामा ट्रान्सफर गर्ने प्रयास गरें । तर, सकिनँ, बैंकले मेरो खाता फ्रीज गरिदियो ।’ ‘म त्यत्रो पैसा देखेर छक्क परें । एकछिन त लाग्यो लटरी लागेको हो, तर लटरी पनि यत्रो ठूलो त पक्कै हुँदैन,’ उनले थपे । जब दिलीप सिंहसँग सोधियो कि अर्बौं रुपैयाँ आउनु अघि खातामा कति पैसा थियो, उनले भने, ‘१०–२० रुपैयाँ मात्र थियो ।’ दिलीपले आफैले कोटक महिन्द्रा बैंकमा अनलाइन सेभिङ खाता खोलेका थिए । जब खातामा अर्बौं रुपैयाँ देखियो, उनी आफै बैंक गइ खबर गरे । बैंकले उनलाई भने, ‘डराउनु पर्दैन । जुन रकम देखिएको छ त्यो वास्तवमा रुपैयाँ होइन, यो एउटा प्राविधिक त्रुटि हो ।’ दनकौर थानाका सब इन्स्पेक्टर सोहनपाल सिंहले बीबीसीसँग भने, ‘पुलिसले अनुसन्धान गरिसकेको छ । फोनपे र बैंक स्टेटमेन्ट जाँच गर्दा युवकको खातामा शून्य रुपैयाँ देखिएको छ ।’ उनले थपे, ‘पुलिसले बैंकसँग पनि सम्पर्क गरेको छ। प्राविधिक त्रुटिका कारण एउटा विशेष एपमा यस्तो रकम देखिएको हो, तर वास्तविकतामा खातामा एक रुपैयाँ पनि छैन ।’ दिलीपको खातामा अर्बौं रुपैयाँ आएको खबरले दनकौर सहरभर चर्चा पाएको छ । विगत केही दिनदेखि पत्रकारहरू पनि लगातार दिलीपसँग भेट्न आइरहेका छन् । दिलीपका एक छिमेकी भन्छन्, ‘मेरो नाम पनि दिलीप हो । त्यसकै कारणले गर्दा मानिसहरूले मलाई पनि फोन गरिरहेका छन् । यहाँ धेरैजसो जनता गरिब छन् । यत्रो रकम खातामा देखेपछि सबैजना चकित छन् ।’ उनी थप्छन्, ‘दिलीपका साथीहरू बैंकको ब्यालेन्स स्क्रिनशट लिएर आफ्ना सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । केही पोस्ट त भाइरल समेत भएका छन्। ’

मानवसेवा आश्रमलाई नेपाल एसबिआई बैंकको सहयोग, खाद्यान्न र नगद सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले मानवसेवा आश्रम, धनगढी (कैलाली)लाई अत्यावश्यक सामग्री र नगद आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले यस प्रकारको सहयोगमार्फत सडकमा बसोबास गर्ने घरबारविहीन, शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई राहत प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रमका क्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले आश्रमका सुदूरपश्चिम प्रदेश संयोजक आदर्श ढकाललाई सामग्री तथा सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख जोखिम अधिकृत विष्णुदेव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत रोशन कोइरालासहित बैंक तथा आश्रमका अन्य वरिष्ठ पदाधिकारीहरू समेत उपस्थित थिए । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायस्तरमा यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पुनः प्रस्ताव गर्छौ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ऐतिहासिक तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ताव पेश गर्ने जानकारी दिएका छन् । बुधबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले युनेस्कोको आगामी ४८ औँ वल्र्ड हेरिटेज कमिटीको बैठकमा तिलौराकोटको प्रस्ताव पुनः प्रस्तुत गरिने बताएका हुन् । मन्त्री पाण्डेका अनुसार, यसअघि ४७ औं बैठकमा तिलौराकोटलाई सूचीमा समावेश गराउने नेपाल सरकारको प्रयास प्राविधिक कमजोरी र कूटनीतिक असहमतिका कारण सफल हुन सकेन । उनले भने, 'भारतले प्रस्तावित स्थलका सम्बन्धमा ३३ बुँदे असहमति राखेको थियो, जसका कारण प्रक्रिया जटिल भयो । तर नेपालसँग तिलौराकोटको ऐतिहासिकता पुष्टि गर्ने पर्याप्त प्रमाणहरू छन्, अब समस्या आउँदैन ।' त्यसैगरी, मन्त्री पाण्डेले लुम्बिनीलाई युनेस्कोको ‘खतरा सूची’मा पर्न नदिन भारतले सहयोग पुर्याएको तथ्य समेत सार्वजनिक गरे । यद्यपि, लुम्बिनी विकास कोषले अपेक्षाअनुसार काम गर्न नसकेको उल्लेख गर्दै उनले केही सुधारात्मक कामहरू अगाडि बढेको र आगामी दिनमा योजनाहरू थप व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता पनि व्यक्त गरे ।

अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी हुने

काठमाडौं । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यु आरमार्फत डिजिटल भुक्तानीको व्यवस्था मिलाउन भनेको हो ।  मन्त्री पौडेलले अस्पतालहरुमा हुने भीड व्यवस्थापनका लागि नौ बुँदे सुधार योजना कार्यान्वयनमा लैजान पहल गरेका थिए । मन्त्री पौडेलले नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सके सम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन अधिकारीहरुलाई भनेका थिए ।  यसअन्र्तगत डिजिटल पेमेन्टलाई समेत अघि बढाइने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमन समेत गर्ने तयारी गरेको छ ।  मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालहरुले मन्त्रालयसमक्ष जनाएको नौबुँदे प्रतिबद्धता अन्तर्गत नै भीड व्यवस्थापन गर्ने विषय समेत रहेको उल्लेख गर्दै अब अनुगमनमा कडाइ गर्ने बताए ।