विकासन्युज

गोदरेजका माइक्रोवेभ ओभेन नेपाली बजारमा, ९ हजारदेखि २० हजार रुपैयाँमा पाइने

काठमाडौं । विस्वस्तरीय डिजाईन र सुविधा सम्पन्न उत्पादनको लागि प्रख्यात गोदरेज ब्राण्डले लामो समय देखि नेपाली ग्राहकहरुको आवश्यता अनुसारको उत्पादन गरिरहेको छ । कम्पनीले नेपाली बजारमा २० लिटरको(सोलो) ओभन ९ हजार १ सय रुपैयाँ, २० लि.(ग्रील) १० हजार ९ सय ९० रुपैयाँ, २३ लि. को (कनभेक्सन) १८ हजार ९ सय ७० रुपैयाँ र ३० लि. कै ( कनभेक्सन) २० हजार ६ सय ९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ । ३०३ इन्स्टा कुक मेन्यु, एक्प्रेस कुकिङ, स्टिेन्लेस स्टिल क्याभिटि, जेट डिफ्रोस्ट जस्ता विशेषता रहेको गोदरेजका माइक्रो वेभ ओभन चौधरी समुह अन्तर्गतको इ.ओ.एल. प्रा.लि. ले नेपाली बजारमा ल्याएको हो ।

महिन्द्रा केयूभी१०० को एक्स्चेन्ज मेला भोलिदेखि शुरु, पाँच आउटलेटहरुमा उपलब्ध

काठमाडौं । महिन्द्रा गाडीहरुको नेपालकालागि एकमात्र आधिकारिक विक्रेता तथा अग्नि ग्रुप अन्तर्गतको नेपालकै अग्रणी कम्पनीहरु मध्ये एक अग्नि इन्कर्पाेरेटेडले केयूभी१०० गाडीको लागि महिन्द्रा केयूभी १०० एक्सचेन्ज अफर शुरु गरेको छ । उक्त अफर काठमाडौं उपत्यका, चितवन, पोखरा, भैरहवा तथा बुटवल अवस्थित कम्पनीका आधिकारिक आउटलेटहरुमा उपलब्ध हुनेछ । यहि जेठ २५गते देखि २७ गतेसम्म चल्ने यस अफरमा सहभागी भई कम्पनीले आफ्ना ग्राहकहरुलाई “दयंग एस यु भी” केयूभी१०० सँग अपग्रेड गर्न आह्वान गरेको छ । यस अवसरमा कुनै पनि पुरानो गाडि ल्याई सबैभन्दा उत्कृष्ट मूल्याङ्कनका साथ ग्राहकहरुले नयाँ महिन्द्रा केयूभी१०० गाडी चढेर जान सक्नेछन् । यस अफर अवधि भरी ग्राहकहरुले विभिन्न सुविधाहरु पनि पाउने कम्पनीले जनाएको छ । जस्तै :इजीफानान्सिङ्ग, आकर्षक क्यास् डिस्काउन्ट, उत्साहजनक एक्स्चेन्ज् बोनस तथा तुरुन्त सबैभन्दा उत्कृष्ट मूल्याकंनका साथै, ग्राहकहरुले हरेक टेस्ट ड्राइभमा विभिन्न उपहार समेत प्राप्त गर्नसक्नेछन् । अफरले सम्पूर्ण सेवाग्राहीहरुलाई महिन्द्रा परिवारमा जुड्न थप उत्साह प्रदान गर्ने भएकोले समयमै यस अवसरको लाभ लिन आग्रह गरेको छ ।

मैलुङ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि स्थानीय बासिन्दा उत्साहित

रसुवा। चिलिमे जलविद्युत् कम्पनीबाट विगतमा वितरित सेयरबाट फाइदा पुगेपछि मैलुङ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि स्थानीय बासिन्दा उत्साहित भएका छन् । सेयरको महत्व र फाइदाको विषयमा जानकारी लिएपछि स्थानीयवासी मैलुङखोला जलविद्युत् आयोजनाको सेयर खरिदका लागि खाता खोल्ने तथा सेयर फारम भर्ने कार्यमा लागेका छन् । मैलुङखोला जलविद्युत् कम्पनीले अतिप्रभावित पार्वतीकुण्ड र उत्तरगयाका बासिन्दालाई एक लाख ८४ हजार ७२ कित्ता र जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि सोही बराबरको कित्ता छुट्टयाएको छ । गत जेठ १७ गतेदेखि सेयर बिक्रीको आह्वान गरेपछि सयेर भर्नेको सङ्ख्या बढ्दै गएको जनता बैंक धुन्चे शाखाका प्रमुख सुभाष पराजुलीले जानकारी दिए । धुन्चेस्थित जनता बैंक, स्याफ्रुबेँसीमा रहेको प्रभु बैंक, कालिकास्थानस्थित आइसिएफसी सहकारी र बेत्रावतीस्थित हिमालय बैंकबाट सर्वसाधारणले सेयर फारम भरिरहेका छन् । रासस

११ प्रकारका सामान भित्र्याउँदा गुणस्तर प्रमाण चिह्न अनिवार्य लिनुपर्ने

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशमा उत्पादित ११ प्रकारका सामग्री भित्र्याउँदा नेपाल गुणस्तर प्रमाण चिह्न अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । विभागले साधारण पोर्टल्यान्ड सिमेन्ट, साधारण स्लाग, पोर्टल्यान्ड पोजोलोना सिमेन्ट, एलपीजी सिलिन्डर, ड्राइसेल एन्ड ब्याट्री, फलामे छड, जिआइ वायर, कम्पोजिट ग्यास सिलिन्डर तथा ट्युब्स, पिभीसी केवल, एलपीजी रेगुलेटर र भल्व फिटिङ्ससम्बन्धी सामग्री भित्र्याउँदा अनिवार्य नेपाल गुणस्तर प्रमाण चिह्न लिनुपर्ने व्यवस्था गरेको हो । विभागका प्रवक्ता रोमी मानन्धरले विदेशमा उत्पादित वस्तु विदेशबाटै नेपाल गुणस्तर प्रमाण चिह्न लगाएर नेपाल ल्याउने व्यवस्था गरिएको जानकारी दिए । उनले भने, “अहिलेसम्म विदेशी सामान नेपालमा ल्याएर गुणस्तर प्रमाणपत्र दिने व्यवस्था थियोे अब विदेशबाटै लगाएर ल्याउनुपर्ने व्यवस्था गरेका छौँ ।” उनले गुणस्तर चिह्न प्रयोग नगरी सामान नेपाल भित्र्याएमा भन्सार कार्यालयको सहयोगमा कारबाही गरिने स्पष्ट पारेका छन् । अहिलेसम्म नेपालमा ६१ वस्तु र २०३ उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न पाएका छन् । रासस

शेरबहादुरलाई पत्याएन सेयर बजारले, परिसूचक दोहोरो अंकले ओरालो

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ ग्रहण गरेको दिन सेयर बजार ओरालो लागेको छ । मंगलबार दोहोरो अंकले उकालो लागेको परिसूचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार परिसूचक १४ दशमलब २४ अंकले घटेर १६२३ अंकमा झरेको छ । बजारमा नेप्से परिसूचकका साथै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिन ७६ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १५ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन (मंगलबार) बजारमा ९१ करोड रुपैयाँमाथिको सेयर किनबेच भएको थियो । सो दिन १४९ कम्पनीको १२ लाख ७९ हजार ५०७ कित्ता सेयर किनबेच भएको छ । बुधबार कारोबार भएका प्राय सबैसमूहको परिसूचक राताप्मे भएका छन् । सो दिन उत्पादनमूलक समूहको परिसूचक ९ अंकले उकालो लागेको छ भने बाँकी समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ओरालो लागेको छ ।

देउवा सरकारको अर्थमन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की, गच्छदार, श्रेष्ठ र महरा उपप्रधान मन्त्री

काठमाडौं । शेर बहादुर देउवा सरकारको अर्थमन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले सपथ ग्रहण गरे लगत्तै शिलत निवासमै आयोजित समारोहमा कार्कीले अर्थ मन्त्रीको सपथ लिएका हुन् । देउवा सरकारको उप प्रधान तथा परराष्ट्र मन्त्रीमा निवर्तमान अर्थमन्त्री कृष्ण बहादुर महराले सपथ लिएका छन । त्यस्तै, गृह मन्त्रीमा निवर्तमान उर्जा मन्त्री जनार्दन शर्माले सपथ लिएका छन् । विजय कुमार गच्छदारले  उपप्रधानसहित संघिय मामिला तथा स्थानीय विकास मन्त्री  र गोपालमान श्रेष्ठले उपप्रधान तथा शिक्षा मन्त्रीको सपथ लिएका छन भने फरमुल्लाह मन्सुरले श्रम मन्त्री र प्रभु शाहले विना विभागिय मन्त्रीको सपथ लिएका छन् ।  

नवनिर्वाचित प्रधानमन्त्री देउवाद्धारा सपथ ग्रहण

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

चालु आर्थिक वर्षमा आठवटा खानेपानी योजना सम्पन्न, ४४७ घरधुरी लाभान्वित

म्याग्दी। जिल्लामा चालु आर्थिक वर्षमा आठवटा खानेपानी योजना सम्पन्न भएका छन् । जिल्ला समन्वय समिति अन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाबाट यस वर्ष जिल्लामा १६ वटा नयाँ खानेपानी आयोजनासहित थप २० वटा खानेपानी योजनामा निर्माण र त्यसपछि मर्मतका लागि योजना छनोट गरिएको थियो । यसै वर्षदेखि निर्माण शुरु गरिएका नयाँ १६ वटा खानेपानी आयोजनामध्ये अहिलेसम्म आठवटा आयोजना निर्माण भएको परियोजनाका सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार, आगामी असार महिनाभित्र थप दुईवटा खानेपानी आयोजना निर्माण हुनेछ भने हाल बाबियाचौरको पात्लेपानी खानेपानी तथा सरसफाइ योजना, ओखर बोटको खालखोला, बिमको ओख्ले बिम्वाङ, घारको विरौटा, अर्मनको पिपलबोट, रुमको सेउलुङ अधिभारा, बङरजाको बाघ हान्ने गौँडा र डेगखोला खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएका हुन् । त्यस्तै पाखापानीको कालाबाङ र ओखरबोटको कालपोहर खानेपानी तथा सरसफाइ योजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण भएका आठवटा खानेपानी आयोजनाबाट ४४७ घरधुरी लाभान्वित भएका छन् । चालु आर्थिक वर्षमा सो परियोजनाले जिल्लाका १६ वटा खानेपानी आयोजना र २० वटा योजनाका लागि नेपाल सरकार, फिनल्यान्ड सरकार, जिल्ला समन्वय समिति, वडा कार्यालयको आर्थिक अनुदान र उपभोक्ताको श्रमदान गरी कुल रु पाँच करोड ५७ लाख २२ हजार लागेको थियो रासस